पोखरा: एघारौं पोखरा महोत्सवमा मयुरटाइम्स न्युज प्रा.लि.ले फोटोेग्राफी पार्टनरको रुपमा साथ दिने भएको छ । आगामी पुष २७ देखी माघको ९ गते सम्म पोखराको अमरसिंह चौरमा आयोजना हुने एघारौं संस्करणको पोखरा महोत्सवमा मयुरटाइम्स न्युज प्रालिले आधिकारिक फोटोग्राफीको जिम्मा पाएको हो । मंगलबार एक कार्यक्रमकाबीच मयुरटाइम्स न्युजका संचालक प्रविन मगर र एघारौ पोखरा महोत्सवका फोटो तथा भिडियोग्राफी उपसमिति संयोजक जयराम आचार्यबीच सम्झौता पत्रमा हस्ताक्षर गरिएको छ । सो अवसरमा वोल्दै मयुरटाइम्स न्युजका संचालक प्रविन मगरले पोखरा महोत्सवका सम्पूर्ण गतिविधीहरुलाई फोटोग्राफीमार्फत महोत्सवलाई सहयोग गर्ने प्रतिवद्धता जनाए । पोखरा महोत्सव आफैमा ब्राण्ड र यसले गर्ने सामाजिक काममार्फत सम्पूर्ण पोखरेलीको मन जित्न सफल भएकाले आफ्नो संस्थाले पोखरा महोत्सवको फोटोग्राफी पार्टनरको रुपमा काम गर्न पाउदा खुसी लागेको मगरको भनाइ रहेको थियो । त्यस्तै पोखरा महोत्सवका फोटो तथा भिडियोग्राफी उपसमिति संयोजक जयराम आचार्यले पोखरा महोत्सवका सम्पूर्ण गतिविधीहरुलाई फोटोग्राफीको माध्मबाट संचित गर्न आफुहरु यसअघिको महोत्सवहरुमा सफल भएको बताउदै मयुरटाइम्सलेसमेत त्यसलाई निरन्तरता दिन आग्रह गरे । पोखरा महोत्सवको सम्पूर्ण गतिविधीहरुआयोजकको पेज तथा मयुरटाइम्स न्यूज र लोडिङ नेपालको पेजबाट हेर्न सकिने बताइएको छ ।
पोखरा: तमु समुदायको महान चाड, नयाँवर्ष तमु ल्होछार तमु धिं नेपालले विविध कार्यक्रम गरी मनाउने भएको छ। बाह्रवटा ल्हो(वर्ग)हरु मध्ये यसवर्ष तो ल्हो(बाघ वर्ग)को विदाई र हि ल्हो(बिरालो वर्ग)को आगमनको अवसरमा पुस १४ देखि १६ गतेसम्म विविध कार्यक्रम गर्ने भएको हो। १४ र १५ गते तमु धिं नेपालले विविन्न समाजहरुसहित र १६ गते तमु धिं नेपाल र तमु प्ये ल्हु संघ केन्द्रिय समितिको मुख्य आयोजनामा पोखरामा बृहत शुभकामना र्यालीसहित अमरसिंहचौरमा विशेष कार्यक्रम गर्ने बताइएको छ। तमु धिं नेपालले पुस १४ गते बेलुका हि ल्हो(बिरालो वर्ग)लाई स्वागतका निम्ती पोखरा १७ विरौटास्थित तमु ह्युलचोकमा दिप प्रज्वलनसहित जलपान र शुभकामना आदानप्रदान कार्यक्रम गर्ने, पुस १४ गते राती १२ बजे हि ल्होलाई स्वागतका लागि तमु प्ये ल्हु संघ फलिना क्होइबोमा बोनफायरमा सहभागी हुने भएको छ। यसरी नै पुस १५ गते बिहान पल टासि छ्योएलिङ गोपाल गुम्बा, बौद्ध अर्घौ सदन रामघाट गुम्बा र फलिना क्होइबोमा पुजा, ग्रहशान्ती, पितृका नाममा बत्ती बाल्ने, रिप लगाउने, गुरु खेगीहरु र मान्यजनहरुसँग आर्शिवाद ग्रहण गर्ने कार्यक्रम तय गरेको छ। यसरी नै दिनको १ बजे तमु धिं नेपालमा शुभकामना आदानप्रदान, सम्मान एवम पुरस्कार वितरण, विविध साँस्कृतिक कार्यक्रम, गुरुङ संग्रहालय उदघाटनसँगै स्योकैं आयोजना गरिएको तमु धिं नेपालले जनाएको छ। यसरी नै हि ल्हो आगमनको अवसरमा तमु धिं नेपाल केन्द्रिय समिति र तमु प्ये ल्हु संघ केन्द्रिय समितिको मुख्य आयोजनामा सम्पुर्ण तमु समाज, संघ संस्थाहरुको सहभागीतामा पुस १६ गते महेन्द्रपुलबाट शुभकामना र्याली शुरुभई चिप्लेढुंगा–न्युरोड–सभागृहचोक–लखनचोक–बुद्धचोक हुदै अमरसिंहचौमा विशेष कार्यक्रम गरिने बताइएको छ। उक्त कार्यक्रममा शुभकामना आदानप्रदान, नवनिर्वाचित सांसदहरुलाई बधाई सम्मान, विशेष साँस्कृतिक कार्यक्रम र छेलो प्रतियोगिता गरिने भएको छ। हि ल्हो तमु ल्होछारको शुभकामना व्यक्त गर्नुहुदै उक्त तिनदिने कार्यक्रमहरुमा सहभागिताका लागि तमु धिं नेपालका अध्यक्ष हुमबहादुर गुरुङले आग्रह समेत गर्नुभएको छ।
पोखराः बुकवर्म फाउन्डेसनको आयोजनामा नेपाल लिटरचेर फेस्टिभलको दशौं संस्करण पुस ६ गतेदेखि सुरु हुने भएको छ । बुकवर्म फाउन्डेसनको आयोजनामा सञ्चालन हुने फेस्टिभल यही पुस ६ देखि ११ सम्म वाराहीघाट, लेकसाइड पोखरामा हुने शनिबार पत्रकार सम्मेलन गरेर जानकारी दिएको हो । यस वर्षको फेस्टिभलको सहआयोजक गण्डकी प्रज्ञा प्रतिष्ठान छ । यसैगरी फेस्टिभलको प्रर्वद्धकमा पोखरा महानगरपालिका र सहयोगी संस्थाका रुपमा पोखरा प्रज्ञा प्रतिष्ठान रहेको आयोजक संस्था बुकवर्म फाउन्डेसनले जनाएको छ । फेस्टिभलका अघिल्ला संस्करणझैं यस वर्ष पनि देशविदेशका करिब दुई सय साहित्यकार, राजनीतिज्ञ, लेखक, पत्रकार, कलाकार, सम्पादक एवम् विशिष्ट व्यक्तित्वको उपस्थिति रहनेछ । फेस्टिभलमा ५० भन्दा बढी सेसन, सांगीतिक साँझ र थप रोचक सामग्री समावेश गरिनेछन् । फेस्टिभलमा दैनिक हजारौ साहित्यानुरागी भेला हुने आयोजकको आकलन छ । यस वर्ष फेस्टिभलमा सन् २०२२ का बुकर पुरस्कार विजेता श्रीलङ्काली लेखक सेहान करुणातिलका, लेखक एवम् पत्रकार अक्षय मुकुल, सह प्राध्यापक एवम् लेखक सुकेतु मेहता, लेखक एवम् फिल्म निर्माता सवा करिम खान, लेखक श्रेयना भट्टाचार्यलगायत अन्तर्राष्ट्रिय चर्चित व्यक्तित्वहरूको सहभागिता हुँदै छ । साथमा पूर्वप्रधानमन्त्री केपी शर्मा ओली, नेताहरू गगन थापा, विश्वप्रकाश शर्मा, सिके राउत, गभर्नर महाप्रसाद अधिकारी, डा। भगवान कोइराला, मास्टरसेफ सन्तोष साह, पत्रकार एवम् लेखक विजय कुमार, लेखक सम्राट उपाध्याय, लेखक बुद्धिसागर, सुविन भट्टराई, संगीतकर्मी रज्जित गजमेर, अभिनेत्री स्वस्तिमा खड्का, पत्रकार रमा सिंह, गायिका कुमा लिम्बूलगायत विशिष्ट व्यक्तित्वको सहभागिता रहनेछ । साथै यस वर्ष फरक क्षमता भई अब्बल रहेको व्यक्तित्वहरु, दार्चुला, गोरखा मनाङका स्थानीय जनप्रतिनीधिहरुको पनि उपस्थिती रहनेछ । फेस्टिभलमा हरेक दिन सांगीतिक प्रस्तुती रहेका छन् । फेस्टिभलको पूर्व सन्ध्यामा कवि नवराज पराजुली र उज्ज्वल सागरको प्रस्तुती रहेको छ फेस्टिभलको पहिलोदिन गोपाल योन्जनको सम्झनामा गोपालय सांगीतिक प्रस्तुती रहेको गोपालय गीतकार, गायक तथा संगीतकार गोपाल योन्जनको स्वगारोहणकी २५ वर्षमा उहाँप्रति फेस्टिभलको सम्मान हो यस्तै गण्डकी प्रज्ञा प्रतिष्ठानको सहकार्यमा नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानको आयोजनामा आधुनिक संगीतमा १०० वर्ष, अनिल शाही र उनको समूहको विशेष साङ्गीतिक प्रस्तुति र रैथानको प्रस्तुती रहेको छ फेस्टिभलको अन्तिम दिन प्रदिप रोदनको महफिल रहने छ । यस्तै फेस्टिभलमा शिक्षा ३ समहरु रहेका छन् साथै फेस्टिभलका ४ दिन बिहान ९ बजेदेखि १०ः ३० बजेसम्म कक्षा ९ देखि १२ सम्मका बालबालिकाको लागि वक्तित्वकला प्रतियोगिताको कार्यक्रम पनि रहेको आयोजक टोलीका विकास रोकामगरले बताए । “शब्दशक्ति उत्सवको एक दशक नारा रहेको दशौं संस्करणको फेस्टिभलको उद्घाटन सत्रमा अर्थशास्त्री एवं काठमाडौ विश्वविद्यालयका रजिस्ट्रार अच्युत वाग्लेको विद्वत्प्रवचन रहनेछ । उनले ’नेपाल २०९० शीर्षकमा प्रवचन दिने कार्यक्रम छ । पत्रकार सम्मेलनमा फेस्टिभलका सह–निर्देशक सुजाता खत्रीले दशौं संस्करणको फेस्टिभल आफूहरूका लागि थप विशेष भएको बताए । ‘हामीले गत वर्ष फेस्टिभल आयोजना गर्न पाएनौं । तर यस वर्षको फेस्टिभललाई हामीले विशेष बनाउन खोजेका छौं । त्यसमाथि यस वर्ष दशौ संस्करणको फेस्टिभल हो,’ उनले भनिन्, ‘देशविदेशबाट पाल्नुहुने हाम्रा सबै पाहुनाहरूलाई हामी सुन्दर नगरी पोखरामा स्वागत गर्न आतुर छौं।’ पत्रकार सम्मेलनमा आयोजक संस्थाकै भरत कोइरालाले सहरको समृद्धि भौतिक पूर्वाधारले मात्र नहुने भन्दै साहित्य पनि समृद्ध हुनुपर्ने बताए । पोखरा र नेपाल लिटरेचर फेस्टिभल पर्याय बनिसकेको कोइरालाले बताए । यस फेस्टिभललाई पोखरावासीहरूले उत्साहपूर्वक प्रतीक्षा गरिरहेको उनको भनाइ छ । आयोजक संस्थाकै केशवशरण लामिछानेले पनि नेपाल लिटरेचर फेस्टिभलले पोखरालाई सुसंस्कृत, व्यवस्थित बनाउन सकिन्छ भन्ने बहस छेड्ने गरेको बताए । तालको सहर, हिमालमुनिको सहर आदि विभिन्न विशेषताले चिनिरहेको पोखरालाई साहित्यको पनि सहर बनाउन फेस्टिभलको महत्वपूर्ण भूमिका रहेको उनको भनाइ छ । ‘यस्ता फेस्टिभल अरु पनि यहाँ आयोजना हुनुपर्छ । यसले पोखरालाई फरक पहिचान दिन्छ । हामीले भनिरहेको हिमाल, ताल र सौन्दर्यको सहर पोखरालाई साहित्यको सहर पनि बनाउन फेस्टिभलले सघाइरहेको छ,’ लामिछानेले भने । नेपाल लिटरेचर फेस्टिभलका निर्देशक नीरज भारीले नाम लिटरेचर फेस्टिभल भएपनि समाजका सबैजसो क्षेत्रका बारेमा बहस गरिने बताए । फेस्टिभल झम्सिखेलको ज्ञान मण्डलाबाट पोखराको बाराहीघाटमा आइपुगेको बताए । फेस्टिभलमा हुने सामाजिक बहस र विमर्शले देशका उच्चपदस्थ व्यक्ति एवम् सरोकारवालालाई जबाफदेही बनाउन सघाउँछ । साथै सचेत समाज निर्माणमा पनि यसले विशेष भूमिका निर्वाह गर्ने उनको भनाइ छ । समाजलाई मार्गदर्शन गर्नुका साथै लोकतन्त्रलाई शक्तिशाली बनाउन पनि यस्ता फेस्टिभलले सहयोग पुयाउने उनले बताए । ‘कोभिडका कारण यसअघिको संस्करण आयोजना गर्न नपाए पनि यस वर्षको फेस्टिभल आयोजना गर्न पाउँदा हामीलाई हर्षित तुल्याएको छ,’ उनले भने । फेस्टिभल दक्षिण एसियाकै एउटा समावेशी मञ्च बन्दै गएकामा आफूहरू गौरवान्वित भएको पनि उनले बताए । ‘जहाँ शब्दहरू जीवन्त हुन्छन्’ भन्ने मूल नाराका साथ सुरु भएको नेपाल लिटरेचर फेस्टिभलले कला, साहित्यको मात्रै प्रवर्द्धन नभई विचार निर्माण र समाजको आलोचनात्मक चेतलाई समेत उचाइ दिँदै आएको आयोजकको अनुभव छ ।
पोखराः छायांनक नहुदै कलाकारको हेरफेर गरेको फिल्म प्रसाद २ मा महेश त्रिपाठीको इन्ट्री हुने भएको छ । त्रिपाठीको अभियनको शैली देखेर निर्देशक निमार्ताहरुले त्रिपाठीलाई प्रसाद २ मा अफर गरेका हुन् । त्रिपाठीले यस अघि नै अमेरिकाको हुयुस्टन फिल्म फेस्टिभलमा नेपाली फिल्म हल्काराबाट उत्कृष्ट अभिनेताको अवार्ड जितेका थिए । त्रिपाठीलाई त्यस पश्चात एक पछि अर्को गरी फिल्मका अफरहरु आइरहेका छन् । निमार्ण पक्षले छायाँनकन सुरुवात नहुदै कलाकारहरुको विवाद रहेका कारण रोकीएको छायाँकनमा त्रिपाठीलाई अभियनको लागी अनुरोध गरेको थियो । यतिवेला सर्वाधीक फेम याक्टर महेश त्रिपाठी समेत प्रसाद २ मा अनुवन्दीत भएको कुरा निमार्ण पक्षले जनाएको छ । अन्तरजातीय विवाहको सामाजिक प्रभाव र प्रेमकथामा बन्ने यो फिल्मको अघिल्लो भागलाई दर्शकहरुले निकै रुचाएका थियो । तिन वर्ष देखि निमार्ण गर्ने भनिएको फिल्ममा कोरोना र कलाकारका कारण समयमै छायाँनकन हुन नसकेको निर्माता सुवास थापाले बताएका छन् । सुरुमा प्रमुख कलाकारको रुपमा घोषणा गरिएका नम्रता श्रेष्ठ र राज कटुवालले ‘प्रसाद २’ छाडेका छन् । नम्रताले फिल्म नगर्ने टुंगो लागेपछि उनको ठाउँमा केकी अधिकारी भित्रिएकी छन् । कलाकार हेरफेरसँगै फिल्मम ‘प्रसाद’को दोस्रो श्रृंखलाको छायांकन बिहीबार देखिसुरु भएको छ । कास्कीको माछापुच्छ्रे गाउँपालिकाबाट सुटिङ सुरु भएको छ । ४० दिनको छायांकन तालिका छ । फिल्म सुटिङ सुरु हुने बेला विवाद निम्तिएपछि फिल्मको निर्माण अन्योलमा थियो ।निर्माता सुवास थापा र विपिन कार्की विच मंसिर ७ गतेदेखि छायांकन गर्ने लिखित सहमति निर्माता संघमा भएको थियो । सोही सहमतिअनुसार नै सुटिङ अघि बढेको हो । एसजी फिलीम्स र सुलभ थापा प्रोडक्सनले फिल्म निर्माण गर्न लागेका हुन् । सुदर्शन बस्नेत निर्माता र सुवास थापा प्रस्तुतकर्ता हुन् । अर्पण थापा, कमलमणि नेपाल, प्रकाश घिमिरे, विशाल पहाडी लगायतको फिल्ममा अभिनय हुनेछ । राजेश श्रेष्ठको छायांकन, उत्तम न्यौपानेको पाश्र्वध्वनि, राजनराज सिवाकोटीको संगीत रहनेछ । पटकथा सुशील पौडेलले लेखेका हुन् । अघिल्लो सिक्वेललाई दिनेश राउतले निर्देशन गरेका थिए । दोस्रो श्रृंखलालाई सुदर्शन थापाले निर्देशन गर्दै छन् । सुटिङ सकिएपछि प्रदर्शन मिति तय गरिने निमार्ण पक्षले जनाएको छ ।
झापाः झापा बिर्तामोडका योगश मगरलाई भ्वाइस अफ नेपाल सिजन ४ को विजेता बनाउन उनका साथीहरु एकजुट भएका छन् । भ्वाइस अफ नेपाल सिजन ४ को टप ८ मा पर्न सफल झापा बिर्तामोडका मगरलाई जिताउन उनका साथीहरु एकजुट भएका हुन् । झापाको बिर्तामोडमा पत्रकार सम्मेलन गर्दै स्थानीय युवाहरुले समिति बनाएरै अभियान सञ्चालन गरिरहेको छन् । बिर्तामोडमा योगेश मगरको सांगीतिक समूह हो, पन्छी एण्ड द सन ब्रस्ट ब्याण्ड । उनी त्यस ब्याण्डका गायक हुन्, यसै कारण पनि योगेश मगरलाई ‘पन्छी’को उपनामले पनि चिनिन्छ । उनकै ब्याण्डका सदस्यहरु मिलेर अहिले योगेश मगर जिताउ अभियानमा लागेका छन् । १७ सदस्यीय अभियानको संयोजकमा राहुल राई रहेका छन् । समितिको सदस्यमा प्रकाश तामाङ, जितेन पाँचकोटी, हिलिहाङ इजम, अपेक्षा राई, आर्यन बराइली, आशा गुरुङ, आदर्श खाती, नाम्ग्येल तामाङ, नसिब मगर, सेवासी मगर, प्रभाष मगर, किरण गुरुङ, खुम खड्का, रमेश शेर्पा, योगेश लिम्बू र योगेन्द्र थापा रहेका छन् । योगेशले टप १० मा आशिष रायामाझीलाई इलिमिनेट गरेका थिए । कोच प्रमोद खरेलको समूहमा रहेका योगेशले ब्लाइन्ड अडिसनमा सुरुको १ मिनेटभित्रै चारै जना कोचको कुर्सी घुमाएर थिए । भ्वाइस अफ नेपाल सिजन ४ का सम्भावित विजेता योगेशको पूख्र्यौली घर कुम्मायक गाउँपालिकाको यासोक पाँचथर हो भने हाल बिर्तामोडमा बस्दै आएका छन् । भ्वाइस अफ नेपालका प्रतियोगीमध्ये कम उमेरका योगेशलाई जिताउन झापाका विभिन्न स्थानमा अभियानले कार्यक्रम गर्दै आएको छ । भर्सटाइल गायक योगेश मगर फ्यान फलोइङ बढेर अहिले नै सेलिब्रेटी बनिसकेका छन् । उनलाई भोट गर्नका लागि खल्ती एप डाउनलोड गरी प्रमोद खरेललाई सेलेक्ट गर्नुपर्छ । उनको भोटिङ कोड १२ रहेको छ । बिर्तामोडका युवा जुटेर यसअघि नेपाल आइडलमा राम लिम्बूलाई जिताएका थिए भने अर्को सिजनमा नाम्ग्येल तामाङ रनरअप भएका थिए । अभियानका अगुवा प्रकाश लिङदेनले बिर्तामोडका युवाले अभिभावकत्व भूमिका निर्वाह गर्दै आएको सुनाए ।
काठमाडौं: लोकदोहोरी गीतको रियालिटी शो ‘दोहोरी आइडल’ आयोजना हुने भएको छ । शो डिएआर मुभिजले आयोजना गर्न लागेको हो । नेपालका प्रतिष्ठित ४२ कलाकारहरू बीच प्रतिस्पर्धा रहने बताइएको शो को निर्णायकमा पुरुषोत्तम न्यौपाने, राजु परियार, घमेश दुलाल र रिता थापा रहनेछन् । नेपालमा पहिलो पटक हुन लागेको दोहोरी रियालिटी शो स्तरीय र निकै आकर्षक बनाइने कार्यक्रमको संयोजक अमृत खातीले जानकारी दिए । शोका विजेताले नगद १५ लाख र कार जित्नेछन् भने दोस्रो हुनेले नगद ७ लाख र तेस्रो हुनेले नगद ५ लाख प्राप्त गर्नेछन् । माघबाट सुरु हुने दोहोरी आइडल नेपाल नेटवर्क टेलिभिजनमा प्रशारण हुने डीएआर मुभिजका निर्देशक श्याम धितालले जानकारी दिए ।
पोखरा: शिक्षा, स्वास्थ्य, खेलकुद र पर्यटन प्रवद्र्धनका लागि खुल्ला चिडियाखाना निर्माणमा पहलकदमी संगै सेती नदी संरक्षणमा काम गर्दै आइरहेको युनाईटेड क्लबले एघारौं पोखरा महोत्सवबाट सेती नदी एक पर्यटकीय गन्तब्य निर्माणमा पहलकदमी थाल्ने भएको छ । महोत्सवकै आयोजना गरी प्रति टिकटबाट एक रुपैया छुट्याउदै आएको युनाईटेड क्लबले अगामी पुष २७ देखी माघ ९ गते सम्म पोखराको अमरसिंह चौरमा आयोजना गर्ने एघारौं पोखरा महोत्सवबाट बचत भएको रकम मध्ये केही रकम सेती नदी एक पर्यटकीय गन्तब्य निर्माणका लागि छुट्याइने भएको हो । बिहीबार सम्पन्न एघारौं पोखरा महोत्सवको सल्लाहकार तथा महोत्सव उपसमिति संयोजकहरुको बैठकले एघारौं पोखरा महोत्सवबाट सेती नदी एक पर्यटकीय गन्तब्य निर्माणका लागी युनाईटेड क्लबले पहलकदमी थाल्ने निर्णय गरेको हो । स्थापना कालदेखीनै पोखरामा खुल्ला चिडियाखाना निर्माणमा पहलकदमी थाल्दै आएको क्लबले दशौ पोखरा महोत्सव सम्म आइपुग्दा ५८ लाख ८५ हजार २ सय तीस रुपैया हस्तान्तरण गरिसकेको र चिडियाखाना निर्माणको सम्पूर्ण जिम्मेवारी गण्डकी प्रदेश सरकारलाई हस्तान्तरण गरिसकेको छ । हाल आएर चिडियाखाना राष्ट्रिय गौरवको योजना अन्तर्गत रही यसको निर्माणको जिम्मा गण्डकी प्रदेश सरकार मातहतमा रही जिल्ला डिभिजन बन कार्यालय कास्कीले लिइसकेकाले क्लबले चिडियाखाना निर्माण पहलकदमीको एजेण्डालाई आगामी दिनमा सेती नदी एक पर्यटकीय गन्तब्य निर्माणमा पहलकदमी थाल्न लागेको क्लबका अध्यक्ष राजु श्रेष्ठले जानकारी दिए । त्यसैगरी क्लबले एघारौ पोखरा महोत्सवबाट क्लवको जग्गा भएको स्थान पोखरा महानगरपालिका वडा नम्बर २६ अर्चलेमा रहेको जग्गामा भौतिक निर्माणका लागि समेत रकम छुट्याइने अध्यक्ष श्रेष्ठले बताए । यसवाहेक क्लबले गर्दै आइरहेको सामाजिक क्षेत्रका कामहरु शिक्षा, स्वास्थ्य, खेलकुदमा समेत रकम छुट्याइ काम गरिने भएको छ । एघारौ पोखरा महोत्सवमा ४० देखी ५० वटा स्टल निशुल्क रुपमा प्रदान गरिने भएको छ । जुन गैर नाफामुलक संस्थाहरु, पर्यटन सम्बन्धी स्टल, होम स्टेको प्रचार प्रसारका स्टल, सचेतनामुलक स्टलहरु निशुल्क उपलब्ध गराइने प्रचार प्रसार संयोजक दिनेश सुनारले जानकारी दिए । महोत्सवमा २ सय ५८ स्टल रहने छन । त्यसैगरी महोत्सवमा साधारणका लागि ८० रुपैया र विद्यार्थीका लागी ६० रुपैया टिकट दर कायम गर्ने निर्णय संगै जेष्ठ नागरिक, एकल महिला, अपांग, सुरक्षाकर्मी, पत्रकार र विदेशी पर्यटकलाई निशुल्क प्रवेशको ब्यवस्था मिलाईएको समेत प्रचार प्रसार संयोजक सुनारले जानकारी दिए । महोत्सवमा ख्याति प्राप्त लोकदोहोरी गायक गायिका संगै ख्यातिप्राप्त ब्याण्डहरु, नेपाली संसकृति झल्कने झांकी तथा नृत्यहरुको समेत प्रस्तुती रहने छन । सो कार्यक्रममा क्लवका वरिष्ठ उपाध्यक्ष लोक बहादुर थापाले स्वागत मन्तब्य राखेको कार्यक्रममा क्लबका संस्थापक अध्यक्ष हिमालय बख्रेल, निवर्तमान अध्यक्ष लालकाजी गुरुङ, पूर्व अध्यक्ष सुक बहादुर गुरुङ, सल्लाहकारहरु तीर्थलाल श्रेष्ठ, भरत केसि, तेज बहादुर गुरुङ, मेजर हितमान गुरुङ, दीपक थापा, लिलाधर अधिकारी, रमेश बहादुर काकी, पवित्रा देवी गुरुङ, महोत्सव हस्तकला उपसमिति संयोजक सविता श्रेष्ठ रञ्जित लगायतले महोत्सवलाई भब्य सभ्य रुपमा सम्पन्न गर्नका लागि सवैले आ आफ्नो ठाउबाट लाग्नुपर्ने बताए ।
पोखरा: ‘मानवताका लागि सांगीतिक’ भन्ने नारासहित देश दौडाहामा रहेको नेपथ्यले आगामी पुष १२ गते पोखरामा कन्सर्ट गर्ने भएको छ । आयोजकका अनुसार पोखरा ९ नयाँबजारस्थित प्रदर्शनी केन्द्रमा अपह्रान्ह ४ बजे कन्सर्ट सुरु हुनेछ । मानव सेवा आश्रमले भवन निर्माण तथा कोष स्थापनार्थ नेपथ्यको टोली साँगीतिक यात्रामा रहेको पोखराको प्रचारप्रसार संयोजक दिनेश शर्माले बताए । उनका अनुसार अहिलेसम्म नेपालको चर्चित सांगीतिक समूह नेपथ्यका अमृत गुरुङले विराटनगर, वीरगञ्ज, हेटौँडा र नारायणघाटमा प्रस्तुती राखिसकेका छन् भने आज (बिहिबार) नेपालगञ्जमा हुदैछ । सांगीतिक यात्रामा रहेको नेपथ्यले नेपालगञ्जपछि पुष ३ गते धनगढी, ६ गते सुर्खेत, ९ गते बुटवल, १२ गते पोखरा र १६ गते काठमाडौंमा कन्सर्ट गरेर साँगीतिक यात्रा समापन गर्ने शर्माले बताए । उनका अनुसार टिकटदर १ हजार कायम गरिएको छ भने इसेवा, खल्ती, फोन पे मार्फत टिकट बुकिङ गर्न सकिने छ । आश्रमको भवन निर्माणार्थ कन्सर्ट पोखरा महानगरपालिका वडा नं. २५ हेम्जा बाबियतरामा लक्ष्मीनारायण सनातन संस्कार प्रतिष्ठानको ६३ रोपनी जग्गामा निर्माणाधिन भवन सम्पन्न गर्न नेपथ्यको कन्सर्ट आयोजना गरिएको पोखराका प्रचारप्रसार संयोजक दिनेश शर्माले बताए । उनका अनुसार देश दौडाहामा रहेको सांगीतिक समुह नेपथ्यको कन्सर्टबाट संकलित रकम आश्रमको भवन निर्माणमा खर्च गरिने छ । उक्त भवन निर्माणलाइ पूर्णता दिनका लागि मानवताका लागि संगीत भन्ने नारासहित देश दौडाहामा रहेको उल्लेख गरे । ‘अहिले बनिरेको भवनलाई पूर्णता दिनका लागि नेपथ्य लाइभ कन्सर्टको आयोजना गरिएको हो, उनले भने, ‘अन्य शहरमा जस्तै पोखरामा आयोजना हुने कार्यक्रमबाट दर्शकको राम्रो साथ समर्थन प्राप्त हुनेछ ।’ यसैगरि मानव सेवा आश्रमका केन्द्रीय कोषाध्यक्ष होमनाथ तिमिल्सिनाले पोखराको कन्सर्टमा करिब ८ हजार दर्शकको अपेक्षा रहेको सुनाए । ‘पोखरा नेपथ्यको होमटाउन पनि हो, त्यसैले सबैभन्दा बढी करिब ८ हजार जति दर्शकको अपेक्षा गरेका छौ, उनले भने, ‘त्यसबाट सबै खर्च कटाएर २५ लाख जति बचत गरेर भवन निर्माणमा खर्च गर्ने योजना बनाएको छौ ।’ निर्माणाधिन भवनमा हालसम्म ५ करोडको काम सम्पन्न भइसकेको छ । तिमिल्सिनका अनुसार ४८ कोठासहितको तीन तले भवन निर्माण हुनेछ । सो भवनको एक कोठा निर्माण सम्पन्न गर्न ५ लाख १ हजार १ सय ११ रुपैयाँ लाग्ने उनले बताए । ‘एउटका कोठा बन्न करिब ५ लाख लाग्छ अहिलेसम्म केही संस्था र दाताहरुले कोठा निर्माण गर्ने प्रतिबद्धता जनाइसक्नुभएको छ ।’ उनले भने । उक्त भवन निर्माण भइसकेपछि करिब २ सय जनालाई सेवा प्रदान गर्न सकिने उनले बताए । तिमिल्सिनाका अनुसार हाल देशैभर गरेर झण्डै एक हजार ६ सय सडक आश्रित मानवहरुले सेवा पाइरहेका छन् । हेटौंडामा मुख्य कार्यालय रहेको मानवसेवा आश्रमले हालसम्म १९ जिल्लाका २३ सेवा केन्द्रबाट सेवा प्रवाह गरिरहेको छ । गण्डकी प्रदेशको गोरखा, लमजुङ, बागलुङ र कास्कीमा गरि ४ जिल्लामा मानव सेवा आश्रमले सेवा दिइरहेको छ । पोखरामा भएको मानवसेवा आश्रममा १०२ पुरुष र ६३ जना महिला गरी १६५ जना आश्रित छन् ।
काठमाडौं: यस्तो लाग्छ, ‘भ्वाइस अफ नेपाल’को फिनाले नहुँदै आशिष महर ‘स्टार’ भइसके । धनगढीमा जारी ‘सुदूरपश्चिम महोत्सव’को चौथो दिन महरले सांगीतिक प्रस्तुतिमार्फत दर्शकलाई जुरुकजुरुक पारे । महोत्सवको भीडमा एक्ला आकर्षण बनेका महरलाई हेर्न र छुन भीड उर्लिएको थियो । उनका समर्थक आशिष महरलाई जिताऊँ लेखिएको ब्यानरसहित त्यहाँ उपस्थित थिए । सञ्चालिका मञ्जु पौडेलले महर आउन लागेको माइकबाट बताएपछि भीड उर्लिएको थियो । आशिषको पक्षमा फ्यानले हुटिङ समेत गरे । आशिषको भीडलाई थाम्न प्रहरीलाई हम्मे समेत पर्यो । महरले भ्वाइस अफ नेपालमा गाएका गीतसँगै देउडा गाएर दर्शकलाई मन्त्रमुग्ध तुल्याए । उनले आफूलाई भोट गरेर जिताउन समेत आग्रह गरे । ‘अझै पनि मलाई तपाईंको साथ र सहयोग चाहिन्छ,’ उनले भने । द भ्वाइस अफ नेपालको अन्तिम आठमा प्रवेश गरेका आशिष कोच प्रमोदको टिमबाट प्रतिस्पर्धा गरिरहेका छन् ।