काठमाडौं: नेपाल प्राज्ञ-प्रतिष्ठानले यही आसार ९ गते आयोजना गर्न लागेको राष्ट्रिय कविता महोत्सवमा यस दशककै सर्वाधिक कविताहरू दर्ता हुन आएका छन् । महोत्सवमा इमेलबाट ८४८ र प्रत्यक्ष ४४ वटा गरी ८९२ वटा कविता प्रतिष्ठानमा दर्ता हुन आएका छन् । २०२२ सालदेखि सुरु गरिएको राष्ट्रिय कविता महोत्सवको इतिहासमा यो पछिल्लो दशक यता निरन्तर खस्किरहेको कविहरूको आकर्षण यसपल्ट एक्कासि उक्सिएको छ । ५८ वर्षे लामो राष्ट्रिय कविता महोत्सवको परम्परा र प्रतियोगितात्मक ढाँचालाई परिवर्तन गरेर यस पटकदेखि प्रज्ञा-प्रतिष्ठानले समावेशी सहभागितामूलक सिद्धान्तअनुसार सबै “नेपाली भाषा/मातृभाषा/कविताहरूलाई आह्वान गरेको थियोे । “सबै भाषा सबै ज्ञान, सबैको प्रज्ञा–प्रतिष्ठान’’ भन्ने नाराका साथ प्रज्ञा–प्रतिष्ठानलाई सारा नेपालीको साझा थलो बनाउने योजनाको प्रमुख कडी भनिएको छ । यस राष्ट्रिय कविता महोत्सवको यही नारालाई आत्सात् गरेर यस पटक यो दशककै सर्वाधिक सङ्ख्यामा कविहरूले महोत्सवमा सहभागिता जनाउन लागेका हुन् । यसपटक राष्ट्रिय कविता महोत्सवमा नेपाली, संस्कृत, डोटेली, वाम्बुले राई, वान्तवा राई, लिम्बु, कुलुङ, अवधी, मगही, मगर(खाम), राजवंशी, उरावँ, मैथिली, ल्होमी, धिमाल, माझी, कठरिया(थारू), पुमा राई, गुरूङ, नाछिरिङ, वायुङरबाहिङ, सामपाङ, नेपालभाषा, चाम्लिङ राई, तामाङ, ताजपुरिया, शेर्पा, थुलुङ, दुङ्माली, खस हुम्ली, घले गुरुङ, भोजपुरी, मध्य पूर्वीय थारू, पूर्वी थारू, थारू र दमाई लगायतका ३६ वटा भाषामा रचिएका कविताहरू राष्ट्रिय कविता महोत्सवका लागि प्राप्त भएका छन् ।
काठमाडौं: यस वर्षबाट सुरु भएको ‘मिस मगर इन्टरनेशनल २०२३’ प्रतिमा आलेमगरले घोषित हुनुभएको छ । यहाँ शनिबार साँझ आयोजित अन्तिम प्रस्तिस्पर्धामा १२ जनालाई पछि पार्दै उहाँले नगद रु चार लाख पुरस्कारसमेत प्राप्त गर्नुभयो । कार्यक्रमको निर्णायकमध्येकी एक माल्भिका सुब्बाले सामाजिक सञ्जालको तर्फबाट तपाईँले मगर संस्कृतिलाई कसरी प्रचार गर्नुहुन्छ रु भनेर सोधिएको प्रश्नमा सटिक उत्तर दिएसँगै मगर विजेता घोषित हुनुभएको थियो । विजेता बनेसँगै मगरले सपनाको एउटा खुड्किलो उक्लिएको बताउनुभयो । “पहिलो सिजनमै विजेता बने, दायित्व पनि महसुस भएको छ । संस्कृतिको प्रवर्द्धनमा मेरो भूमिका हुनेछ”, उहाँले भन्नुभयो । यस्तै अन्तिम प्रतिस्पर्धामा स्मृति ठाडामगर उपविजेता र क्लिया थापामगर दोस्रो बन्नुभयो । उहाँहरूले क्रमशः रु दुई लाख र एक लाखसमेत प्राप्त गर्नुभयो । कार्यक्रममा सुब्बासँगै अभिनेत्री मिरुना मगर, अभिनेता अनुपविक्रम शाही, मोडल रिना थापामगर, हिमाल राना, सङ्जोग लाफामगर, अलिगिभा पुनमगर र रुद्र श्रीस मगरले निर्णायकको भूमिका निर्वाह गर्नुभएको थियो ।
पोखरा: गायिका तथा नायिका पार्वती थापा र दिपेश लामाको आवाजमा ‘जुग जाने मायाँ’ बोलको गीत सार्वजनिक भएको छ । कमल बहादुर गुरुङको निर्देशनमा निर्मित उक्त म्युजिक भिडियो दिपेश लामाको अफिसियल युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको हो । उक्त भिडियोमा हिरा बहादुर गुरुङ र मोनीका गुरुङ लगायतका कलाकारहरुको अभिनय रहेको छ । गायिका पार्वती थापाको शब्द र दिपेश लामाको संगीत रहेको उक्त गीतलाई दिक्षित पौडेलले संगीत संयोजन गरेका छन् । कास्कीको पर्यटकीय माछापुच्छ्रे गाउँपालिका –२ चौरागाउँमा दिपेश केसीको छायांकन गरेको भिडियोको सम्पादन नेत्र गुरुङले गरेका हुन् । भिडियो:
बागलुङ: गायक, कलाकार तथा सज्जन कुमार सिंहको नयाँ गीत 'पोखरामा...' सार्वजनिक भएको छ । ‘पोखरामा दुई कुराको भर हुन्न रे एउटा पानीको अर्को नानीको’ शिर्षभाकमा रहेको म्युजिक भिडियो इलाका खबर युट्युब च्यानल मार्फत सार्वजनिक गरिएको हो । सो म्युजिक भिडियोमा गायक सज्जन, जुना गुरुङ र सरिता धनकोटीको अभिनय रहेको छ भने अस्मिता अधिकारी र सज्जनले स्वर भरेका छन् । इश्वर बाबुले निर्देशन र सम्पादन गरेका छन् भने राजेश घिमिरेको छायांकन गरेका छन् । यस्तै बिनोद बाजुरालीले एरेन्ज गरेका छन् । गायक सज्जन पत्रकारितामासमेत सक्रिय छन् । भिडियो:
पोखरा: पोखराको अमरसिंह चोकमा रहेको लेकाली सेकुवा रेष्टुरेण्ट एण्ड बारमा आज (शनिबार) चर्चित लोकदोहोरी गायक प्रकाश सपुतको प्रस्तुती रहने भएको छ । अमरसिंह चोकमा रहेको होटल टास्कको तेस्रो आउटलेट लेकाली सेकुवा रेष्टुरेण्ट एण्ड बारको ग्राण्ड ओपनिङ तथा फुड कार्निभलमा चर्चित लोकदोहोरी गायक तथा मोडल प्रकाश सपुतको प्रस्तुती रहने भएको संचालक मीन गुरुङले जानकारी दिए । होटल टास्कको तीनवटै आउटलेटबाट MRP (न्युनतम खुद्रा मुल्य) मा बियर बिक्री वितरण गर्दै आइरहेकोमा तेस्रो आउटलेट लेकाली सेकुवा रेष्टुरेण्ट एण्ड बारको ग्राण्ड ओपनिङको अवसर पारी शनिवार अपराह्न ४ बजेदेखी विशेष सांगीतिक कार्यक्रमको आयोजना गरिएको हो । सो अवसरमा पछिल्लो समय चर्चित सकम्बरी गीतका गायक प्रकाश सपुतको प्रस्तुती संगै युवापुस्तालाई लक्षित गरी स्थानिय ब्ल्याक फेदर ब्याण्डको लाइभ प्रस्तुती, लोकदोहोरी गायिका बत्ती थापा र प्रकाश सपुतको प्रत्यक्ष दोहोरी प्रस्तुती संगै तमु प्ये ल्हु संघ केन्द्रीय युवा समितिबाट नृत्य प्रस्तुत गरिने छ । कोभिड १९ का कारण आर्थिक मन्दी भई जनमानसमा पर्याप्त आम्दानी नभइरहेको बेला सेवामुलक व्यवसायमार्फत ग्राहकहरुलाई सर्वसुलभ मुल्यमा बियर र खानाका परिकारहरु पस्कदै आइरहेको छ । “सबैको लागि लेकाली, संधैको लागि लेकाली” भन्ने उद्घोषका साथ सञ्चालित लेकाली सेकुवा रेष्टुरेण्ट एण्ड बार गण्डकी प्रदेशको एकमात्र MRP (न्युनतम खुद्रा मुल्य) बियर रेष्टुरेण्ट हो । यस रेष्टुरेण्टमा गोर्खा बु्रअरीको उत्पादन टुबोर्ग, गोर्खा (प्रिमियम), काल्सबर्ग संगै बाह्रसिंगे, अर्ना र बर्डवाइजर बियरहरु MRP (न्युनतम खुद्रा मुल्य) मा ग्राहकहरुले उपभोग गरी बियरको मज्जा लिन सक्नेछन । त्यसैगरी रेष्टुरेण्टमा बियर संगै पोर्क (कालो धराने बंगुरको परिकारहरु) मटन, चिकन र बफका परिकारहरुको समेत स्वाद लिन सक्नेछन । रेष्टुरेण्टबाट स्थानीय उत्पादन कोदोको रक्सी (नारे पा) समेत प्रवद्र्धन गर्दै आइरहेको छ । गोर्खा ब्रुअरिको सहकार्य रहेको उक्त कार्यक्रमको उद्घाटन गण्डकी प्रदेशका प्रदेश प्रमुख पृथ्वीमान गुरुङले गर्नेछन ।
काठमाडौं: वर्षा र सहकालका देवता रातो मच्छेन्द्रनाथको भोटो आज देखाइने भएको छ । भोटो जात्रालाई करिब आठ सय वर्षअघिसम्म जावलाखेल जात्रा भनिन्थ्यो । जा (भात)वला (छर्ने) भएकाले यसलाई जावलाखेल जात्रा भन्ने गरिएको रातो मच्छेन्द्रनाथको भोटो जात्राको साइत हेर्ने काममा सक्रिय हुँदै आउनुभएका नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका पूर्वसदस्य कीर्तिमदन जोशीले राससलाई जानकारी दिनुभयो । भूत, प्रेतलाई खाना दिन यो जात्रा गरिएको विश्वास छ । भोटो जात्रा सुरु भएको यकिन तिथिमिति अहिलेसम्म पत्ता नलागेको उहाँले बताउनुभयो । मच्छेन्द्रनाथको यात्रा भने करिब एक हजार तीन सय वर्ष अघि नै सुरु भएको हो । किम्वदन्तीअनुसार यो यात्रा सुरु भइसकेपछि नागराज कर्कोटककी रानीको आँखा दुख्यो । कर्कोटक वैद्यको खोजीमा लागे । खेतमा काम गरिरहेका किसानलाई वैद्य ठानी नागलोकअर्थात् टौदह लगे । डराएका किसानले मच्छेन्द्रनाथको प्रार्थना गरी हात माडेर मयललाई औषधिका रुपमा कर्कोटकलाई दिए । औषधिले रानीको आँखा दुख्ने रोग निको भयो । पुरस्कारस्वरुप मणि माणिक्यले युक्त भोटो किसानलाई दिएर मनुष्यलोकमा फर्काइयो । किसानले भोटो खेतको डिलमा राखेर काम गर्न थाले । मनुष्यरुपी भूत आएर भोटो लग्यो । किसानले खोजे । पाएनन् । मच्छेन्द्रनाथको जात्रा हेर्न जाँदा आफूले पुरस्कारस्वरुप पाएको भोटो मनुष्यका रुपमा आएको भूतले लगाएको देखेर किसानले दाबी गरे । भूतले दिन नमानेपछि विवाद भयो । कर्कोटक नागलाई समेत बोलाएर सोधखोज गरियो । अन्तिममा भोटोको अधिकारी दुवै हुन नसक्ने निष्कर्ष निकाली मच्छेन्द्रनाथको जिम्मा लगाइयो । आधिकारिक प्रमाणसहित आउनेलाई भोटो दिन रातो मच्छेन्द्रनाथको रथ यात्रा सकेपछि भोटो जात्रा गर्ने परम्परा बस्यो । त्यो वर्षदेखि प्रत्येक साल साइत हेरेर भोटो देखाउने गरिएको जनविश्वास छ । अहिलेसम्म कसैले प्रमाण जुटाएर भोटो लैजान नसकेको किम्बदन्ती छ । पछिल्लो समय गुठी संस्थान ललितपुरका प्रतिनिधिले राष्ट्राध्यक्षको उपस्थितिमा भोटो देखाउने जात्रा गरिँदै आएको छ । यो जात्रा हेर्न आइतबार राष्ट्रपति रामचन्द्र पौडेल जानुहुनेछ । यस अवसरमा सरकारले आज उपत्यकामा सार्वजनिक बिदा दिएको छ ।
पोखरा: पछिल्लो समय नेपाली सांगीतिक क्षेत्रमा छोटो समयमा ठूलो सेंसेशन बनाएका समिर श्रेष्ठले पोखराको क्याटवाक क्लबमा साङ्गीतिक प्रस्तुति दिने भएका छन् । लेकसाइडस्थित क्लब क्याटवाकमा जेठ २० गते समिर श्रेष्ठ र क्रिसेन्ट्सको प्रस्तुती राख्न लागेको क्याटवाकका सञ्चालक गुप्त लामाले जानकारी दिए । समीरको ‘थामन हात, तिमि भएर, कुरी बसेछु, हेरन, चार देवार लगायतका गीत चर्चित छन् । कार्यक्रमको टिकट अनलाइन पेमेन्ट सिस्टम इसेवा र पोखराको ओपन हाउसमार्फत् विक्री वितरण भइरहेको लामाले जानकारी दिए । करिब ९ महिना अघिदेखि सञ्चालनमा रहेको क्याटवाकमा एकैपटक २ हजार भन्दा बढीले सेवा लिन पाउछन् । सो क्लबमा अन्तर्राष्ट्रिय स्तरको डान्स फ्लोर, म्युजिक सिस्टम र सुरक्षा व्यवस्था चुस्त रहेको क्लबले जनाएको छ ।
पोखरा: सञ्चारकर्मी गोविन्द थापा सिञ्जालीद्धारा निर्देशित डकुमेन्ट्री चित्रेभञ्ज्याङ पोखरा सम्पर्क मञ्च कास्कीको आयोजनामा पोखरामा भोलि प्रर्दशनको हुने भएको छ । कृष्णचरीत्र ,ठाडोभाका ,भैरमथानको यात्रा ,बाजेबज्यै पूजा ,तलु ,रेडियो नेपाल पोखराको परिचय लगायतका डकुमेन्ट्री प्रर्दशनको तयारी पूरा भएको सञ्चारकर्मी एवम् निर्देशक सिञ्जालीले जानकारी दिए । पोखरा महानगरपालिका ४ गैह्रापाटन स्थित पोखरा थिएटरमा प्रदर्शन हुने चित्रेभञ्ज्याङ पोखरा सम्पर्क मञ्च कास्कीका अध्यक्ष वुद्घिराम लम्सालले जानकारी दिए । डकुमेन्ट्री मौलिक संस्कार ,संस्कृति संरक्षणका लागि प्रर्दशन गर्ने लागिएको उनको भनाई छ । साथै चर्चित कलाकारहरुको गायन तथा नृत्य प्रस्तुति र चित्रेभञ्याङको मौलिक कौराहा समेत प्रर्दशन हुने उनले बताए । यसअघि हरीनास सिर्जनशील समूह पोखराले असोज १५ गते सिञ्जालीद्घारा निर्दशित १५ वटा डकुमेन्ट्री तथा भिडियोहरुको प्रर्दशनी गरेको थियो ।
पोखरा: मिस्टर नेपालको गण्डकी प्रदेश अडिसन जेठ ६ गते हुने भएको छ । १५ औं संस्करणको मिस्टर नेपालका लागि यसपटक क्षेत्रीय अडिसन गर्न लागिएको हो। पोखरा अडिसन चिप्लेडुंगा स्थित क्लाउड नाइन रेस्ट्रोमा आयोजना गरिएको मिस्टर नेपाको गण्डकी प्रदेश निर्देशक आशिष पुरीले जानकारी दिए । पुरीका अनुसार अडिसनमा पोखरा लगायत छिमेकी जिल्ला स्याङ्गजा, तनहुँ, गोर्खा, बागलुङ्गबाट पनि सहभागी हुनेछन् । चितवन अडिसनबाट करिब १० देखि १५ जना छनौट गरिने र उनीहरुले फेरि काठमाडौंमा अडिसन दिनेछन् । देशभरका अडिसनबाट छनौट भएकाहरुबीच काठमाडौंमा पुनः अडिसन हुनेछन् । जहाँबाट २५ जना छनौट हुनेछन् । उनीहरुलाई एक महिनाको प्रशिक्षण दिइनेछ । प्रशिक्षणपछि काठमाडौंको याक एण्ड यतिमा ग्राण्ड फिनाले हुनेछ । पोखराबाहेक बुटवल, चितवन, दमक र विराटनगरमा अडिसन सम्पन्न भइसकेको छ। मिस्टर नेपालको विजेताले पाँच लाख बराबरको पुरस्कार प्राप्त गर्नेछन् । यस्तै मिस्टर नेपालले मिस्टर वर्ल्डमा सहभागी हुने अवसर प्राप्त गर्नेछन् भने फर्स्ट रनरअपले मिस्टर ग्लोबक तथा सेकेन्ड रनरअपले मिस्टर टुरिजममा सहभागी हुने अवसर प्राप्त गर्नेछन् । मिस्टर नेपाल सन् २००२ देखि आयोजना हुँदै आएको छ ।