पोखरा: साहित्यकार सरुभक्त श्रेष्ठका ६ बाल पुस्तकको एकसाथ लोकार्पण गरिएको छ । सूर्य नेपाल गाथा नेपाल लिटरेचर फेस्टिभलका अवसरमा शुक्रबार बाल पुस्तकहरुको लोकार्पण गरिएको हो । उपन्यास ‘अध्याँरो कोठा’, नाटक संग्रह ‘राक्षस र बालबालिका’, चित्रकथा ‘गाँडाहरुको गाउँ’, ‘पशुपंक्षीको जुलुस’, कथा संग्रह ‘नातीका कथा’, ‘झ्याउँ झ्याउँ झ्याँकिरी’ कविता संग्रह लोकार्पण भएको छ । सरुभक्तसँगै साहित्यकार ध्रुव घिमिरे, बालपाठक मनुषी भण्डारी, पुस्तकका चित्रकार पल्पसा मानन्धर, अर्पिता शाक्य र प्रकाशन गृह परिचय पब्लिकेशनका निर्देशक दीपेन्द्र भट्टले पुस्तकको लोकार्पण गरे । लोकार्पण भएको ‘अध्याँरो कोठा’ को केही भाग यस अगावै प्रकाशन भएको थियो । बाल्यकालमा सुनेका कथा कविता गीतबाट आफु आकर्षित भएर साहित्यमा लागेको सरुभक्तले बताए । बालबालिकाकको साहित्यमा अभिरुची हुने भएकाले बाल सहित्यका कृति सिर्जना गर्ने उनको भनाइ छ । ‘आफैंलाई बालक उमेरदेखि नै बाल साहित्यमा अभिरुची हुन्छ भन्ने मनभित्रबाट भावना उत्पन्न भएको थियो । त्यो भावनको कारणले बेलाबेलामा विभिन्न व्यस्तताको बीचमा पनि बाल साहित्यका कृति सिर्जना गरेको छु’, उनले भने । उनले प्रत्येक दिन जसो राती सुत्ने बेला नातिलाई कथा सुनाउने गरेको स्मरण गरे । ‘आफुले देखेका, भोगेका र पढेका विभिन्न सन्दर्भहरु जोडेर तत्काल कथाहरु सिर्जना गरेर नातिलाई सुनाउथें । नाति मेरो कथा सुन्दासुन्दै कतिखेर निदाइसक्थ्यो । पछि यी कथाहरु मैले कति पटक दोहो¥याएर नातिलाई सुनाए कि मलाई कण्ठस्थ भो’, उनले भने, ‘एक दिन मैले के सोचे भने यी कथाहरुलाई यत्तिकै छोड्नुभन्दा लिपिबद्ध गरे अरु नातिनातिनाहरुका लागि पनि उपयुक्त हुन्छ होला भन्ने हो । ती कथाहरुमध्यबाट केही छानेर यो पुस्तक जन्मेको छ ।’ उनले धेरैजसो साहत्यिकारले बाल साहित्यलाई अपहेलना गरेको सुनाए । बालसाहित्यलाई महत्वपूर्ण रुपमा लिनुपर्ने साहित्यकार सरुभक्तको भनाइ छ । बाल पाठक कुमुदिनी होम्सकी विद्यार्थी मानुषी भण्डारीले रुची अनुसारको विषयबस्तु पाठ्यक्रममा नहुने भएकाले साहित्यिक पुस्तक पढ्ने बताइन् । ‘जान्न र बुझ्न मन लागेका विषय पाठ्यपुस्तक भन्दा फरक पुस्तकबाट पाइन्छ’, उनले भनिन् । उनले सामाजिक सञ्जालको प्रयोगले पुस्तक छान्ने उल्लेख गरिन् । साहित्यकार ध्रुब घिमिरेले बालबालिका केन्द्रित पुस्तक लेख्नु भविष्यका लागि लेख्नु काम भएको उनले बताए । बाल साहित्यले बाल मनोविज्ञानलाई ध्यान दिनुपर्ने उनको भनाइ थियो । मास मिडियाले बाल साहित्यलाई समेट्न नसकेको घिमिरे बताउँछन् । ‘अहिले जमाना मास मिडियाको हो । मास मिडियामा विभिन्न किसिमका खबरहरु पुग्ने क्रममा बाल साहित्यको खबर पु¥याउन प्रयोग हुनुपर्ने’, उनले भने, ‘एउटा फेसबुक पेजबाट पनि सूचनाहरु प्रकाशन गर्न सक्छौं अथवा एफएमहरु । यत्तिका एफएमहरु छन केहीले मात्रै बालबालिकाको कार्यक्रमहरु सञ्चालन गरेका छन् । टेलिभिजनको कुरा गर्दा पनि बाल कार्यक्रम कम भएका छन् ।’ नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानका पूर्व कुलपति सरुभक्त श्रेष्ठको ३ दर्जन बढी पुस्तक प्रकाशित छन् । उनको पागल बस्ती उपन्यास निकै प्रख्यात छ । यस अगाडि सरुभक्तले बाल साहित्यका पुस्तक बजारमा ल्याएका थिए । परिचय प्रकाशनले यस लगत्तै सरुभक्तको ९ पुस्तक बजारमा ल्याउनेछ । नेपाल लिटरेचर फेस्टिबलमा यो संस्करणमा बालबालिका केन्द्रित सेसनहरुलाई प्राथमिकता दिएको छ ।
पोखरा: ‘म त रित्ता हातमा हतियार बनाइदिन्छु तिमी होली भन म दिवाली बनाइदिन्छु शब्दका पोखरी यसरी खनाइदिन्छु मेरै कुरामा हो हो बनाइदिन्छु ’ कक्षा ११ मा अध्ययन गर्दै गर्दा शिक्षकले घमण्डी भनेपछि रचना भएको शब्द हो यो । कानुन विद्यार्थी अञ्जनालाई शिक्षकले घमण्डी भनेर गाली गरेपछि उनको मनमा लाग्यो । त्यसपछि उनले यो शब्दको रचना गरेकी हुन् । लयात्मक रुपमा भावना पोख्ने सजिलो माध्यम हो कविता । भाव मिलाएर कविताले प्रहार गर्छ । कुण्ठा पोख्ने सरल र आक्रोशपूर्ण बाटो कविता नै हो । विम्बको प्रयोग गरेर कविताले प्रहार गर्छ । यो कलात्मक लयले चोटिलो प्रहार गर्छ । अञ्जना सुबेदी पनि कुण्ठा पोख्ने सकरात्मक माध्यम कविता रहेको सुनाउँछिन् । सूर्य नेपाल गाथा नेपाल लिटरेचर फेस्टिभलको दोस्रो दिनको सेसन ‘विद्यार्थीका कविता कुरा’ सत्रमा बोल्दै उनले सो विचार राखेकी हुन् । सत्रमा साहित्यमा लागेका ७ विद्यार्थीसँग विमर्श गरिएको थियो । कानुन अध्यनरत अञ्जनालाई सत्र सहजकर्ता अव्यग्र अस्मितको प्रश्न थियो –कानुन र साहित्य फरक विषय लाग्छ यसलाई कसरी सँगसँगै लैजानुभएको छ ? कानुन र साहित्य भिन्न नभएको उनको विचार थियो । दुबै हाम्रो जीवनमा अपरिहार्य विषयवस्तु रहेको सुनाउँछिन् उनी । ‘मैले कानुन र साहित्यलाई फरक भन्नै सक्दिनँ । साहित्य हुँदैनथ्यो भने कानुनकै एउटै शब्द छ गालीबेइजती सायद गाली बेइजतीले धेरै व्यक्तिहरु जेलमा हुन्थे होला, उनले भनिन्,‘ साहित्यकै मार्फत विभिन्न विम्ब प्रतिकको प्रयोग गरेर आफनो रिस क्रोधलाई पनि सकरात्मक रुपमा प्रस्तुत गर्न सकिन्छ भन्ने लाग्छ ।’ अञ्जना जस्तै सहारा खतिवडा पनि साहित्य हरेक विधामा समावेश हुने सुनाउँछिन् । साहित्यमा रुची राख्ने सहाराको साहित्यीक यात्रा उस्तै रोचक छ । खेलकुदमा क्रियाशिल उनी सानैदेखि हरेक प्रतियोगितामा प्रथम आउँथिन् । विद्यालयका सबै प्रतियोगितामा प्रथम हुने सहारा ६ कक्षमा हुँदा प्रथम उपराष्ट्रपति कपमा तेस्रो आइन् । यसको चोट उनको मनमा यति गहिरो बन्यो । कापीमा शब्द पोखिए । मनका भावना पोख्दा कविता बने । ‘एकैपटक तेस्रो भएँ । यस्तरी धक्का लाग्यो मेरो मनमा त्यहाँबाट कलम चल्यो वेदना पोख्दा पोख्दै कविता बन्यो । त्यसरी सुरु भयो साहित्य,’उनले सुनाईन् । सानै उमेरदेखि कविता लेख्न थालेकी उनलाई थाहा थिएन आफूले लेखेको कविता हो भनेर । सामान्य ‘नोट प्याड’ लाग्थ्यो उनलाई । कक्षा ११ मा आएपछि विद्यालयमा कविता प्रतियोगिता भयो । प्रतियोगितामा सहभागि भइन् । त्यसपछि आफनो साहित्यक यात्रा सुरु गरेकी सहारा कविता होइन भावना लेख्ने बताउँछिन् । ‘मेरो विचारमा कलम चल्नका लागि कि त एकदम खुशी हुनुपर्ने रहेछ कि त एकदम नै दुखी तब मात्र कुनै कुराको रचना गर्न सहज हुने रहेछ । म यो शिर्षकमा लेख्छु भनेर लेख्दिनँ म भावना पोख्छु,’उनले भनिन् । कविताको रचना लय सबैको फरक हुन्छ । कोही गद्यमा रचना गर्छन् कोही छन्दमा । आशिष पौडेल पद्य कविता लेख्न रुचाउँछन्् । आफनो रुची अनुसार कविता लेख्न सकिने भनाइ राख्छन् उनी । ‘कसैलाई छन्द ज्ञान भएपनि गद्यमा लेख्न मनपर्छ आफूलाई जस्तोमा लेख्न मनपर्छ रुची जे मा छ त्यसमा लेख्दा हुन्छ म चाहिँ पद्यमा लेख्न रुचाउँछु,’उनले भने । कविताले शब्द मार्फत समाजपनि देखाउँछन् । व्यक्तिको चिन्तन विकास गर्ने अनुपम रिजाल बताउँछन् । सहजकर्ताको प्रश्न ‘कविताको महत्व कति छ पठनपाठन ?,’प्रश्नमा उत्तर दिँदै अनुपम रिजाल कविताले मानिसको चिन्तन विकासमा भूमिका खेल्न सुनाए । पाठ्यपुस्तकमा भएका कविताले समाजको चिन्तन विकास सिकाउने उनको भनाइ छ । ‘पाठ्यकपुस्तकमा कविताहरु राखिन्छ नि त्यसको भूमिका धेरै छ । कक्षा १० बाट कक्षा ११ जाँदा अंग्रेजी पुस्तकमा भएको कविता देखेर म झसंग भएको थिएँ यो लेबलको कविता । १० सम्म पढेको कविता सामान्य लागेका ११ मा गएर लेबल अप भयो भिन्न लाग्यो त्यो किसिमको शब्द चयन चिन्तनले भूमिका खेल्छ । समाजको चिन्तन हुन्छ,’उनले प्रश्नको उत्तर दिँदै भने । चाहे पाठ्यपुस्तक मार्फत होस् वा विभिन्न कविता प्रतियोगिता । त्यसले विद्यार्थीलाई साहित्यमा तानिरहेको छ । जसैमध्येकी एक हुन् बिना घिमिरे । विद्यालय स्तरको कविता प्रतियोगिताले उनलाई साहित्यमा रुची दिलायो । ‘एन प्याब्सनको बाल वृहत कविता प्रतियोगितामा भाग लिएको थिएँ । मैले पनि त्यहाँ वााचन गर्ने मौका पाएँ । वाचन गरेर प्रथम स्थानमा आइपुग्दा खुशी लाग्यो । सोचेको पनि थिईन्ँ । साहित्यमा नजिकिएको व्यक्तिपनि थिईनँ । दगं परेँ । मलाई कविताप्रति रुची बढ्यो । हजुरबुबा पनि कवि नै हुनुहुन्छ,’ उनले सुनाईन् । साहित्यले जीवनमा पनि परिवर्तन ल्याउने विद्यार्थीले सुनाएका थिए । जीवनको बुझाइ साहित्यले सजिलो ढंगले सिकाउने उनीहरुको भनाइ थियो । अलिमियाँ कक्षमा भएको विद्यार्थीका कविता सत्रमा बिना घिमिरे, लिना गुरुङ, अनुपम रिजाल, अन्जना सुबेदी, आशिष पौडेल, करुणा विश्वकर्मा र साहारा खतिवडा वक्ताको रुपमा थिए ।
जीवनका कहानी अनेकौं होलान् प्रेमका परिभाषा र पात्र पनि धेरै होलान् तर हामीबीच सम्बन्ध सधैं हामी नै रहन्छौं हामी नै हुन्छौं चाहे जीवनले नयाँ अध्याय शुरु गरोस् या नयाँ बोटो रोजोस् ! सदियौं पुरानो प्रेमिल यात्राको पनि पूर्णविराम रहोस् यद्यपि जिवन्त प्रेम गर्न पाइयोस आशातीतमा म... हुन्थ्यौ भने तिमी गणित किताबको फर्मुला म उहिल्यै भुलिसक्थे हुन्थेउ भने तिमी विज्ञान किताबको परिभाषा म उहिल्यै भुलिसक्थे हुन्थेउ भने तिमी आमाले गरेको गाली बा’ले कुटेको क्षण म उहिल्यै भुलिसक्थे तिमीलाई तर ... तिमी त हौ बेस्सरी दुखेको दिन बेस्सरी रोएको रात तिमी त हौ मुटु छेडेको सम्झना श्वास अँठ्याउने याद... अब भन कहिले मनको मझेरीमा कहिले मस्तिष्कको आँगनमा र कहिले कलेजीको गुन्द्रीमा वर्षौदेखि नाची बसेकी तिमीलाई म भुलौं कसरी..? -इश्वरजंग गाहा थापामगर (कावासोती -२, नवलपुर)
पोखरा: एक महिने सारंगी प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ । गण्डकी प्रज्ञा–प्रतिष्ठानले हेम्जा साहित्य प्रतिष्ठानसँगको सहकार्यमा कास्कीको हेम्जामा यो कार्यक्रम आयोजना गरेको थियो । प्रशिक्षण कार्यक्रममा गन्धर्व समुदायका २५ जना बालबालिकाको सहभागी बनेका थिए । उनीहरुलाई स्थापित सारंगी बाधक सम्मर बहादुर गायकले सहजीकरण गरेका हुन् । समापन कार्यक्रमा आफूले सिकेका ज्ञानलाई उनीहरुले दुईवटा गीतमा सारंगी बजाएर प्रस्तुत समेत गरेका थिए । गण्डकी प्रदेश सामाजिक विकास तथा स्वास्थ्य मन्त्रालयका सचिव प्रकाश पौडेलको प्रमुख आतिथ्यतामा भएको समापन कार्यक्रमा बोल्दै उनले वैदिक काल भन्दा अगाडि सारंगीको उत्पत्ति भएको बताए । एक तार हुँदै आज सारंगीको विकसित रुप चार तारसम्म आइपुगेको उनको भनाई थियो । ऐतिहासिक महत्व बोकेको सारंगी गन्धर्व समुदायसँग जोडिनु खुशीको कुरा भएको उनले सुनाए । नेपाली लोक भाकामा प्रयोग गरिने सारंगी बाजा मात्र नभएर व्यवसाय पनि भएको भन्दै नयाँ पिढीले यसको संरक्षण प्रर्वद्धनका साथै व्यवसायसँग पनि जोड्नुपर्नेमा जोड दिए । एक महिनासम्म सिकेका कुरालाई प्रयोगात्मक रुपमा देखाएकोमा उनले बालबालिकाको प्रशंसा समेत गरे । तपाईहरुले सारंगी बजाएर देखाउनुभयो, म तपाईहरुप्रति विश्वस्त भए, अब तपाइहरु जस्तो नयाँ पिढीले सारंगीको गर्विलो इतिहास जोगाउनु हुनेछ’ उनले भने । सचिव पौडेलले मन्त्रालयले गर्नुपर्ने सहयोगमा आफू सदैव तयार रहेको समेत खुलाए । प्रशिक्षण कार्यक्रमका सहजकर्ता सम्मरबहादुर गायकले यस्तो प्रकारको प्रशिक्षणले नयाँ पिढीलाई आर्कषण गरेको बताए । एक महिनको समय अवधि कम भएको भन्दै यस्ता प्रशिक्षण कार्यक्रम निरन्तर आयोजना भैरहनुपर्नेमा उनको जोड थियो । गण्डकी प्रज्ञा–प्रतिष्ठानका सदस्य सचिव मनकुमार श्रेष्ठले प्रज्ञा प्रतिष्ठानको काम नै जातजातिका विभिन्न मौलिक संस्कृति जर्गेना गर्ने भएको बताए । पछिल्लो समयमा नयाँ पुस्ता आफ्नो भाषा, बाजा, वेषभूषा र संस्कृति प्रति उदासिन बन्दै गइरहेको भन्दै उनले चिन्ता व्यक्त गरे । ‘यो डर लाग्दो अवस्था हो, तसर्थ नयाँ पुस्तालाई क्रमिक रुपमा आफ्नो भाषाप्रति, आफ्नो बाजाप्रति, संस्कार संस्कृति प्रति आर्कषित गराउनु छ, त्यसका लागि प्रज्ञा प्रतिष्ठान कटिबद्ध छ’ उनले भने । हेम्जा साहित्य प्रतिष्ठानका अध्यक्ष बलराम पौडेलको अध्यक्षतामा भएको समापन समारोहमा प्रशिक्षार्थीलाई प्रमाणपत्र समेत वितरण गरिएको थियो । कार्यक्रममा पोखरा २५ हेम्जाका वडाध्यक्ष मोतिलाल तिम्सीना, गण्डकी प्रज्ञा प्रतिष्ठानका प्राज्ञ कृष्ण प्रसाद पौडेल, प्राज्ञ डिल कुमारी पौडेले लगायत सहभागी भएका थिए । एक महिने सारंगी प्रशिक्षण कार्यक्रम गत पौष २७ गतेबाट सञ्चालन भएको गण्डकी प्रज्ञा–प्रतिष्ठानका सदस्य सचिव मनकुमार श्रेष्ठले जनाए।
पोखरा: साहित्यकार दीपक समीपको तेस्रो कृति ‘नदीको राजमार्ग’ शनिवार पोखरामा गृह विमोचन गरिएको छ । आयोजक पोखरेली युवा सांस्कृतिक परिवारका अध्यक्ष उपेन्द्र पौडेलको अध्यक्षतामा भएको कार्यक्रममा साहित्यकार सरुभक्त, तीर्थ श्रेष्ठ, उषा शेरचनलगायतले कृतिको विमोचन गरे । कार्यक्रमका प्रमुख अतिथि रहेका सरुभक्तले फुर्सद भएकाले छोटा विधा लोकप्रिय भएको भन्नु भ्रम मात्रै भएको बताए । उनले जुनसुकै छोटा विधाका रचना लेख्न पनि पनि उत्तिकै मिहिनेत लाग्ने धारणा राखे । कृतिको सङ्ख्या कति पुग्यो भन्ने कुराभन्दा कति ओजिलो छ भन्ने कुराले महत्व राख्ने सरुभक्तको भनाइ थियो । उनले दीपक समीपलाई लामो सोचविचार गरेर लेख्ने साहित्यकारका रूपमा आफुले चिनेको बताए । कृतिको समीक्षा गर्दै डा. ईश्वरमणि अधिकारीले ६६ ओटा लघुकथा समेटिएको ‘नदीको राजमार्ग’ नेपाली लघुकथाकै एक मुख्य राजमार्ग भएको दाबी गरे । अर्की समीक्षक सरस्वती प्रतीक्षाले समीपका लघुकथा सामाजिक यथार्थवादी धारामा केन्द्रित रहेको बताइन् । कतिपय सूत्रकथा जस्ता लाग्ने लघुकथा समेटिएको कृतिका अधिकांश लघुकथा सबैलाई मन पर्ने उनको भनाइ थियो । ‘नदीको राजमार्गमा समेटिएका लघुकथाको प्रमुख विशेषता नै मुक्तिकिलो झट्का दिनु हो’ प्रतीक्षाले भनिन्, हास्यव्यङ्ग्यको प्रचूर प्रयोग भए पनि चुट्किला बन्नबाट समीपका लघुकथा जोगिनुले उनलाई परिपक्व लघुकथाकारका रूपमा स्थापित गरेको छ ।’ कथाकार समीपले लघुकथा लेख्नु अलि उमेर पुगेपछिका मानिसले सियोमा धागो छिराए जस्तै भएको धारणा राखे । भने, ‘छोटो लेख्नु ज्यादै कठिनसाध्य काम हो, लघु आकारको कथामा सिङ्गो वैचारिक झट्का दिनु सजिलो छैन ।’ वि.सं. २०५४ र २०५५ मा राष्ट्रव्यापी लघुकथा प्रतियोगितामा उत्कृष्ट लघुकथाकारको पुरस्कार जितेका समीपले आफूले साथीहरूको हौसलाबाट सिङ्गो कृतिलाई पुग्ने लघुकथा लेख्न सकेको अनुभव सुनाए । यसअघि उनका भूगोलभित्र नकोरिएको देश (गजल सङ्ग्रह, २०६२) र अक्षर अक्षरमा देश (मुक्तक सङ्ग्रह, २०७८) प्रकाशित छन् । पोखरेली युवा सांस्कृतिक परिवार र गजल सन्ध्याका पूर्व अध्यक्ष उनी लघुकथा प्रतिष्ठानका संस्थापक कोषाध्यक्ष हुन् । साहित्यकार जीवन सागर भण्डारीले स्रष्टा परिचय दिएका कार्यक्रममा साहित्यकार तीर्थ श्रेष्ठ, उषा शेरचन, हरिदेवी कोइराला, प्रकाशक पेज टर्नरका जयराम तिमिल्सिनालगायतले शुभकामना दिएका थिए । कार्यक्रमको सञ्चालन पोखरेली युवा सांस्कृतिक परिवारकी उपाध्यक्ष रीता अधिकारीले गरेकी थिइन् ।
पोखरा: फागुन ११ गतेदेखि नेपाली हलमा प्रदर्शन हुन लागेको गोर्खा वारियर फिल्मी निर्माता टोली प्रचारप्रसार गर्दै आज (शुक्रबार) पोखरा आइपुगेको छ । ‘कथा हाम्रो व्यथा पुर्खाको’ गोर्खा वारियरको प्रदर्शन मिति नजिकिएसँगै निर्देशक मिलन चाम्स प्रचारप्रसार गर्न देश दौदहामा निस्किएका हुन् । शुक्रबार पोखरा आइपुगेका गोर्खा वारियरका निर्देशक मिलन चाम्सले पत्रकारहरुसँग गफिदै करिव ७० वर्ष अगाडिको इतिहासलाई चलचित्रमा समावेश गरिएको सुनाए । ‘कथा हाम्रो व्यथा पुर्खाको हो । गोर्खालीहरुको करिव २ सय ९ वर्षको इतिहाससँग जोडिएका धेरै विरताका कथाहरु छन्, यो करिव सातौ पुस्ताको कथालाइ चलचित्रमा समावेश गरेका छौं, निर्देशक चाम्सले भने, ‘जंगलवारको युद्धमा गोर्खाली सेनाहरुको वास्तविक कथावस्तुमा आधारित करिव ७०÷८० वर्ष अगाडिको इतिहासलाई चलचित्रमा समावेश गरेका छौं ।’ नेपाली चलचित्र क्षेत्रको इतिहासमा पहिलो जंगलवार चलचित्र भएको निर्देशक चाम्सले बताए । ‘नेपाली चलचित्र क्षेत्रको इतिहासमा पहिलो जंगलवार मुभी, यता बित्रिसमा हेर्ने हो भने त जंगलवार पहिलो मुभी हो ।’ उनले भने । उनले जंगलवारमा गोर्खालीको इतिहास, बहादुर र हाम्रा पुर्खाले भोगको दुःख कष्ट र त्यसबेलाको नेपालको परिवेश झल्किने गरी चलचित्र निर्माण गरेकोसमेत बताए । ‘गोर्खा वारियर चलचित्रमा पुर्खाको कथालाई समावेश गरेका छौं । गोर्खालीको इतिहास, बहादुर र हाम्रा पुर्खाले भोगेको दुःख कष्ट र परिवेशलाई समेटेका छौं, उनले भने, ‘यस सिनेमाले आम नेपाली जनता यो देशको रक्षक हौं भन्ने विषय समेटेको छ, सिनेमा मात्र बोल्दैन, कल्चर मात्र बोल्दैन ।’
पोखरा: पोखराको गन्धर्व नाटकघरमा यतिबेला ‘धनिरामको गोरु’ नाटक मञ्चन भइरहेको छ । पद्याप्रेम थिएटरको प्रस्तुतिमा नाटककार केदारनाथ पौडेलद्वारा लिखित एवम् कपिल शर्माद्वारा निर्देशित नाटक यही माघ २७ गतेसम्म चल्नेछ । नाटकको मुख्य पात्रका रुपमा दिलप्रसाद गुरुङलाई देख्न सकिन्छ । यस्तै विभुप्रसाद भुसाल, सावित्रा पाठक, ज्योति हमाल, शीतला अधिकारी, सुमना कार्की, रामहरि अधिकारी, दिव्य अमृत, अर्जुन गुरुङ, पवन बिक र अभिषेक भुसालको अभिनय हेर्ना पाइन्छ । गैह्रापाटनको गन्धर्व थ्रिएटरमा गत बिहीबारदेखि सुुरु नाटक हरेक दिन बेलुका ५ बजे र शनिबार दिउँसो १ बजे पनि नाटक मञ्चन हुनेछ । नाटकमा नेपाली ग्रामीण समाज, त्यहाँका किसान र उनीहरूका वास्तविक भोगाइलाई समेटिएको छ । यसलाई रोमाञ्चक बनाउन हास्यब्यङ्ग्यले दरिलो साथ दिएको छ । जसका कारण करिब १ घण्टा १५ मिनेट लामो यो नाटक सकिएको पत्तो हुदैन । थप तस्बिर:-
पोखरा: गण्डकी प्रदेशका सांसद विन्दुकुमार थापाले चलचित्र निर्देशक राजु गिरीको नयाँ सिनेमा “इश्वर” को शुटिङ शुभारम्भ गरेका छन् । सोमबार साँझ विन्ध्यवासिनमी मन्दिरमा इश्वरको छायाँकन शुभारम्भ गर्दै पूर्वमन्त्री समेत रहेका थापाले सिनेमामार्फत पोखराको प्रचारप्रसारमा टेवा पुग्ने विश्वास व्यक्त गरे । ‘पोखरा सुन्दर नगरी हो । यहाँ अक्सर थुप्रै सिनेमाहरु छायाँकन भइरहेका हुन्छन् । पोखराको प्रचारप्रसारमा सिनेमा क्षेत्र मार्फत महत्वपूर्ण योगदान मिलेको छ ।’, उनले भने । सिनेमा सम्बन्धि गतिविधि बढाउन प्रदेश सरकारलाई घच्घच्याउन सिनेकर्मीको साथमा आफु पनि रहेको उनले बताए । सिनेमा इश्वरले समसामयिक विषयहरुलाई उठान गरि दृश्य मार्फत सकरात्मक सन्देश प्रवाह गर्नेमा आफु विश्वस्त रहेको भनाई उनको छ । आफु मन्त्री हुँदा प्रदेशमा चलचित्र विकास बोर्ड गठन गर्ने प्रक्रियाको सुरुवात भई नीति तथा कार्यक्रममा समेत समेटिएको र पछि राजनीतिक उताडचढावका कारण अगाडि बढ्न नसकेको उनले उल्लेख गरे । चलचित्रकर्मीहरुले पहल गरे प्रदेशमा विकास बोर्ड गठन पनि हुने उनले बताए । जसका लागि आफु सदैव साथमा रहेको भनाई उनको छ । कलाकार सुनील थापाले विन्ध्यवासिनी मन्दिरमा आफुले चिनो सिनेमाको छायाँकन पछि पाइला टेकेको सम्झना गरे । इश्वरको स्किृप्ट मन परेकाले आफु अनुबन्धित भएको भनाई उनको छ । माओत्से गुरुङले पोखरामा पछिल्लो समय एक पछि अर्को सिनेमा छायाँकन भइरहेको र यो पोखराका लागि राम्रो कुरा भएको बताए । काठमाडौंबाट मात्रै सिनेमा निर्माण हुन्छ भन्ने धारणालाई चिर्दै इश्वर माथि उठ्नेमा उनी विश्वस्त छन् । माओत्से गुरुङद्वारा निर्देशित सिनेमा “दयारानी” माघ २६ बाट अल नेपाल रिलिज हुँदैछ । इश्वर सिनेमाका नायक ध्रुव बहादुर थापाले सिनेमामा आउने सानै देखिको रहर बल्ल पुरा भएको उल्लेख गरे । आफ्नो अभिनयलाई लिएर उनी आशावादी देखिन्छन् । समाजको वेथिति, विसंगति, मायाप्रेम र जीवन संघर्षका कथा सिनेमामा रहेको उनले जानकारी गराए । नायिका कृष्टी गुरुङले सिनेमाबाट आफुले राम्रो तारिफ पाउने बताइन् । गुरुङ सिनेमामा अभिनय गरेकी उनी पहिलो पटक नेपाली सिनेमाको नायिकाको रुपमा देखिदैछिन् । निर्देशक राजु गिरीले इश्वरको कथा आफ्नोपनको कथा भएको उल्लेख गरे । कमेडी, लबस्टोरी र एक्शनमा सिनेमा बन्ने उनले जानकारी गराए । सिनेमाको सम्पूर्ण छायाँकन पोखरा र कास्की मादी गाउँपालिकाको याङ्गजाकोटमा हुनेछ । लक्ष्मी कुँवर थापाको प्रस्तुतिमा निर्माण हुने सिनेमाको मुख्य भुमिकामा कलाकार माओत्से गुरुङ, पृथ्वीराज प्रसाई, सुनिल थापा, शिशिर वाङ्देल, बुद्धि तामाङ, रविन्द्र झा, सविन बास्तोला र गिता अधिकारीको पनि अभिनय रहनेछ । दिव्या कंगना फिल्मस्को ब्यानरमा निर्माण हुने सिनेमाको पटकथा एवम् संवाद भोजराज देवकोटाले तयार पारेका हुन् । हरिबहादुर थापा र शंकर गिरी निर्माता रहने सिनेमा राजेन्द्र बजगाई र बीपी वाग्लेको संगीत, कविराज गहतराज, देवेन्द्र पाण्डे र सुरेश पाण्डेको कोरियोग्राफी, रामेश्वर हुँमागाईको छायांकन र देव महर्जनको द्वन्द्व निर्देशन रहनेछ ।
पोखरा: पोखरामा दयारानीको प्रिमियर शो सम्पन्न भएको छ । आइतबार पोखराको मिडटाउन सिनेमाजमा दयारानीको प्रिमियर शो सम्पन्न भएको हो । माघ २६ गतेबाट अल नेपाल रिलिज हुने सिनेमा दयारानी हेर्न पोखरा महानगरपालिकाका मेयर धनराज आचार्य, गण्डकी प्रदेशका पूर्वअर्थमन्त्री किरण गुरुङ, मादी गाउँपालिकाका अध्यक्ष देवीजङ्ग गुरुङ, कवि रमेश श्रेष्ठ, कलाकार प्रकाश घिमिरे, गायक तथा संगीतकार राजनराज शिवाकोटी, गायक विनोद, दयारानीका निर्देशक एवम् लेखक माओत्से गुरुङ, नायिका दिया पुन लगायतका कलाकर्मी एवम् मिडियाकर्मीको बाक्लो उपस्थिति थियो । प्रिमियर शो हेरिसकेपछि दयारानीले राम्रो प्रतिक्रिया पाएको छ । सिनेमामा देखाउन खोजिएको कथा सबैलाई मन परेको छ । प्रिमियर शोको औपचारिक उद्घाटन गर्दै मेयर धनराज आचार्यले पोखरामा पछिल्लो समय एक पछि अर्को साहित्य, कला र चलचित्र क्षेत्रका गतिविधिहरु भइरहेको देख्दा खुशी लागेको उल्लेख गरे । पोखराका स्थायी बासिन्दा कलाकार माओत्से गुरुङले निर्देशन गरेको सिनेमा दयारानी समाजको समसामायिक कथामा आधारित रहेको उनले बताए । पोखरामा सिनेमा क्षेत्रको गतिविधि बढाउन पोखरा महानगरपालिका सम्बन्धित संघसंस्थासँग हातेमालो गर्न तयार रहेको उनले बताए । पूर्व अर्थमन्त्री किरण गुरुङले सिनेमा हेरिसकेपछि प्रतिक्रिया दिँदै भने, ‘माओत्से गुरुङ कलाकारिता सँगै निर्देशन र लेखनमा समेत अब्बल ठहरिनुभएको छ । निःसन्तान हुँदा घरपरिवार र समाजले हेर्ने दृष्टिकोणलाई सिनेमा मार्फत उजागर गर्न खोजिएको रहेछ । सिनेमाको कथा उत्कृष्ट छ । सिनेमामा पात्रले निभ्याएको भूमिका तारिफ योग्य छ ।’ मादी गाउँपालिकाका अध्यक्ष देवीजंग गुरुङले आफ्नो गाउँपालिकाको याङ्जाकोटमा छायाँकन गरिएको दयारानी मार्फत उक्त ठाउँको पर्यटन प्रवद्र्धनमा समेत टेवा पुग्ने विश्वास लिएका छन् । मादी गाउँपालिकाका धेरै ठाउँ सिनेमा छायाँकनका लागि उत्कृष्ट रहेको भन्दै दयारानी मार्फत याङ्जाकोटको प्रचारप्रसारमा महत्वपूर्ण टेवा पुग्ने उनले उल्लेख गरे । कवि रमेश श्रेष्ठले दयारानीको कथा पछिल्लो समय छरछिमेक र समाजमा देखिएको कथा भएको उल्लेख गरे । दयारानीको छायाँकन देखि संगीतसंयोजनमा सम्मको विषय उत्कृष्ट लागेको भनाई उनको छ । सिनेमामा स्थानीय लवजलाई समेत स्थान दिइएकोले दयारानी सबैका लागि भएको उनले बताए । दयारानीको निर्देशक तथा लेखक माओत्से गुरुङले कलाकार भएर अभिनय गुर्नभन्दा बढी निर्देशनमा गाह्रो हुने अनुभव सुनाए । उनले भने,‘कलाकार भएर थुप्रै सिनेमामा अभिनय गरिएको छ । अभिनयमा त्यति अफ्ठ्यारो लाग्दैन जति निर्देशनमा लाग्छ । निर्देशन गर्दा जिम्मेबारी हुन्छ ।’ उनले निःसन्तान हुँदा आफ्नै साथीसर्कलको परिवारमा देखिएको समस्यालाई दयारानीमा समावेश गर्ने प्रयास गरेको बताए । समाजको पुरुषवादी चिन्तनलाई कथामा प्रस्तुत गर्न खोजिएको उनले बताए । दयारानीको कथाका लागि दयाहाङ राई र दिया पुन नै उत्कृष्ट भएकाले उनीहरुलाई मुख्यभूमिकामा प्रस्तुत गरिएको उनले बताए । नायिका दिया पुन पनि दयारानीबाट आशावादी देखिन्छिन् । दयारानीले आफ्नो कलाकर्ममा थप ईटा थप्ने विश्वास उनको छ । दयारानीको रानीको भूमिकामा रहेकी दियाले माओत्से गुरुङको निर्देशनमा काम गर्न पाउँदा खुशी लागेको बताइन् । सामाजिक परिवेशलाई सिनेमा मार्फत उठाउन खोजिएको विषयमा अभिनय गर्न पाउँदा नौलो लागेको उनले बताइन् । गायक विनोद बानियाँले पहिलो पटक सिनेमा मार्फत संगीतकार र गायकको भूमिकामा रहन पाउँदा खुशी लागेको बताए । पोखराको संगीतले पनि मेन स्ट्रीमको नेपाली सिनेमामा स्थान पाउँछ भन्ने गतिलो उदाहरण दयारानी भएको उनले बताए । दयारानी माओत्से गुरुङको मात्र सिनेमा नभई हरेक नेपालीको सिनेमा भएको उनले उल्लेख गरे । दयारानीमा दयाहाङ राई, दिया पुन, विजय बराल, प्रमिशा गुरुङ, श्रीषा कुँवर, नयन गुरुङ, पुस्कर गुरुङ, टिकाराम घले, सुर्य सुनार, राजेन्द्र थापा, सितादेवी गुरुङ, कृष्टी गुरुङ लगायतले अभिनय गरेका छन् । सिनेमामा मोहन गुरुङ (टिला), न्यू आइटी भेन्चर(जापान), किरण गुरुङ, केन्द्र लिम्बु, मेजर खुशीमान गुरुङ, क्याप्टेन सुरेन्द्र गुरुङ, क्याप्टेन सुर्यप्रकाश गुरुङको लगानी छ ।