तनहुँ: तनहुँमा सामान र नगद चोरी गरेको आरोपमा दुई युवक पक्राउ परेका छन् । तनहुँ प्रहरीका अनुसार पक्राउ पर्नेमा म्याग्दे गाउँपालिका–१ पाँचधारे घर भई व्यास नगरपालिका–५ बरबोटे बस्ने २४ वर्षीय समिर थापा मगर र म्याग्दे गाउँपालिका–१ दमुङ रुमादी बस्ने २३ वर्षीय दुर्ग बहादुर बिक रहेका छन् । पक्राउ परेका उनीहरुले वैशाख २९ गते राति म्याग्दे गाउँपालिका–१ रुमादी बस्ने ७५ वर्षीय शिव कुमार श्रेष्ठको घरबाट विभिन्न सामान तथा सोही गाउँपालिका–१ ठुलोढापमा बस्ने ६९ वर्षीय लक्ष्मण तामाङलाई धारिलो हतियार देखाई कुटपिट गरी नगद ४६ हजार ६० रुपैयाँ चोरी गरेका थिए । उनीहरुविरुद्ध उजुरीपरेपछि पक्राउ परेका थिए । उनीहरुको साथबाट चोरीका सामान र नगद बरामद गरेको प्रहरीले जनाएको छ । उनीहरुमाथि जिल्ला अदालत तनहुँबाट म्याद थप गरी आवश्यक अनुसन्धान गरिरहेको छ ।
सुनसरी: प्रहरीले धरानबाट दुई थान स्वचालित पेस्तोलसहित तीन युवालाई पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा धरान– १७ डाँडाघोपा बस्ने २९ वर्षीय हुकमेन जिमी, २४ वर्षीय दिपक जिमी र धरान– १५ बाझगरास्थित सहिदमार्ग बस्ने २४ वर्षीय रोहित राई रहेका छन् । इलाका प्रहरी कार्यालय धरानका प्रहरी नायब उपरीक्षक नवराज मल्लका अनुसार विशेष सूचनाको आधारमा उनीहरुलाई आइतबार पक्राउ गरिएको हो । उनीहरुका साथबाट मेड इन इटाली लेखेको स्वचालित पेस्तोल १ थान र विवरण उल्लेख नभएको एक थान पेस्तोल र त्यसमा प्रयोग हुने म्यागेजिन गरेको प्रहरीले जनाएको छ ।
काठमाडौं: भारतको आसाममा नाबालिग बेचबिखन गरेको आरोपमा एक महिला पक्राउ परेकी छिन् । प्रहरीका अनुसार पक्राउ पर्नेमा म्याग्दीको रघुगंगा गाउँपालिका–३ का ३० वर्षीया अप्सरा भनिने एलिना खत्री रहेकी छिन् । खत्रीलाई अनुसन्धानको क्रममा मानव बेचबिखन अनुसन्धान ब्यूरो बबरमहलबाट खटिएको प्रहरीले जिल्ला प्रहरी कार्यालय झापाको समन्वयमा झापाबाट पक्राउ गरेको हो । पीडित नाबालिगलाई नुवाकोटबाट काठमाडौं बसमा जाने क्रममा बसमा सँगै रहेका एक पुरूषले बेहोस हुने औषधि मिसावट खानेकुरा र पानी खुवाएर भारत लगिएको अनुसन्धानबाट खुलेको छ । बेहोस भएपछि ति नाबालिगलाई भारतको आसामस्थित कछर सिल्चर भन्ने ठाउँको रेड लाइट एरियामा बेचबिखन गरी जबरजस्ती वेश्यावृत्तिमा लगाई राखेको अवस्थामा नेपाल प्रहरी, भारतीय प्रहरी र माईती नेपालको सहयोगमा ती नाबालिगको उद्दार गरिएको थियो । पक्राउ परेका खत्रीमाथि जिल्ला अदालत काठमाडौंबाट ५ दिन म्याद थप गरी अनुसन्धान भइरहेको छ भने सो कसूरमा संलग्न अन्य फरार प्रतिवादीहरूकोसमेत खोजी भइरहेको प्रहरी जनाएको छ ।
काभ्रेपलाञ्चोक: पनौतीमा रहेको सामुदायिक सहकारी संस्थामा चोरी गरी फरार रहेका मकवानपुरका दुई जनालाई प्रहरीले आज मङ्गलवार पक्राउ गरेको छ । पनौती नगरपालिका–७ मा रहेको पनौती सामुदायिक सहकारी संस्थामा चोरी गरी ३३ लाख रुपैयाँ लिएर फरार भएकालाई मकवानपुरको इन्द्रसरोवर गाउँपालिकाबाट पक्राउ गरिएको प्रहरीले जनकारी दिएका छन् । वैशाख १७ गते सहकारीबाट पैसा चोरी गरी फरार भएका मकवानपुरको इन्द्रसरोवर गाउँपालिका–५ का ३० वर्षीय अशोक रुम्बा र ३५ वर्षीय अकवर लामालाई विशेष सूचनाका आधारमा पक्राउ गरेको मकवानपुरका प्रहरी प्रवक्ता टेकबहादुर कार्कीले जानकारी दिएका थिए । उनीहरूको साथबाट पाँच लाख ४५ हजार रुपैयाँ, एक नाले भरुवा बन्दुक र रडसमेत बरामद गरिएको कार्कीले बताए ।
काठमाडौँ: नेपाल आयल निगमले तोकिएभन्दा बढी पेट्रोल ढुवानी गर्ने ट्याङ्कर चालकलाई पेट्रोलियम पदार्थ ढुवानीमा रोक लगाएको छ । निगमबाट २० हजार लिटर पेट्रोलको खरिद आदेश लिएको सो ट्याङ्करले इण्डियन आयल कर्पोरेसन आइओसी बाट तोकिएको परिमाणभन्दा बढी पेट्रोल ल्याएको पाइएपछि निगमले ट्याङ्करका चालक र सहचालकलाई निगमको सम्पूर्ण डिपोमा सधैँका लागि पेट्रोलियम पदार्थ ढुवानीमा बन्देज लगाइएको हो । रुपन्देहीस्थित श्री एक्सप्रेस परिवहन सेवा प्रालिले सञ्चालनमा ल्याएको उक्त ट्याङ्करलाई तीन महिनाका लागि निलम्बन गरिएको निगमका प्रवक्ता मनोजकुमार ठाकुरले जानकारी दिएका छन् । लु२ख ४८३९ नम्बरको सो ट्याङ्करले निगमसँग सम्झौता गरी बेतलापुर–भैरहवा रुटमा पेट्रोल ढुवानी गर्ने गरेको थियो । आइओसीबाट पेट्रोल ल्याउने क्रममा भैरहवा भन्सार कार्यालयमा जाँच गर्दा आइओसीबाट जारी भएको खरिद बिलमा उल्लेखित परिमाणभन्दा तीन हजार लिटर बढी पेट्रोल ढुवानी गरेको पाइएको थियो । तोकिएभन्दा बढी पेट्रोल ढुवानी गरेको भेटिएसँगै उक्त ट्याङ्करलाई भन्सार कार्यालयले नियन्त्रणमा लिई पेट्रोल चोरीपैठारी कसुरमा कारबाही अगाडि बढाएको छ । रासस
महोत्तरी: एकडारा गाउँपालिका–४ हल्खोरी बजारबाट होममेड भारतीय पेस्तोलसहित एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा भारत सितामडी बाजोपट्टी गाउँ–६ बस्ने २६ वर्षीय पप्पु यादव रहेका छन् । उनको साथबाट प्रहरीले पेस्तोलको गोली ५ राउण्ड बरामद गरेको हो । प्रहरी चौकी हल्खोरीबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ आउँदै गरेको बि.आर ३० वाई ९१४२ नम्बरको मोटरसाइकललाई शनिबार राति जाँच गर्ने क्रममा पेस्तोल फेला पारेको थियो ।
काठमाडौं: श्रीमतीको हत्या गरेको आरोपमा श्रीमान पक्राउ परेका छन्। शनिबार राति टोखा नगरपालिका ८ बस्ने मोतीमाया पौडेलको हत्या भएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी सीताराम रिजालले जानकारी दिए। उनको हत्या आरोपमा प्रहरीले धनकुटा चौबिसे गाउँपालिकाका ५५ वर्षीय निङमा शेर्पालाई पक्राउ गरेको हो। एसपी रिजालका अनुसार उनीहरूबीच झगडा भएको थियो। शेर्पाले रक्सी खाएर श्रीमती पौडेलमाथि कुटपिट गरी हत्या गरेको आरोप छ र कुटपिटबाट पौडेलको घटनास्थलमै मृत्यु भएको थियो। उक्त खबरपछि प्रहरी वृत्त महाराजगन्जबाट खटिएको टोलीले उनलाई पक्राउ गरेको हो।
काठमाडौं: काठमाडौं महानगरपालिका–३१ बानेश्वर कात्यानीचोकबाट ११ जना जुवाखालबाट पक्राउ परेका छन् । सगोल कोइरालाको घरमा जुवातास खेलिरहेको अवस्थामा सिन्धुली सुनकोशी गाउँपालिका–३ घर भई हाल काठमाडौं गौशाला बस्ने २९ वर्षीय मुकेश राज गिरीसहित ११ जनालाई प्रहरीले पक्राउ गरेको हो । विशेष सूचनाको आधारमा प्रहरी वृत्त बानेश्वरबाट खटिएको प्रहरी टोली उनीहरूलाई पक्राउ गरिएको थियो । पक्राउ परेका जुवाडेहरुको साथबाट नगद ८ लाख १० हजार ४ सय रूपैयाँ र १२ बुक तास बरामद गरेको प्रहरीले जनाएको छ । साे सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।
खोटाङ: कृषि विज्ञ मदन राईलाई प्रहरीले नियन्त्रणमा लिएको छ । खोटाङ प्रहरीले आज बिहान राईलाई उनकै शुभम् फाउन्डेसनबाट नियन्त्रणमा लिएको हो । राईमाथि शुभम फाउन्डेसनले संचालन गरेको विद्यालयमा अध्ययनरत विद्यार्थीलाई यौन दुर्व्यवहार गरेको आरोप लागेको छ । त्यसबारे सोधपुछ गर्न जिल्ला प्रहरी कार्यालयमा ल्याइएको र सोधपुछ चलिरहेको इन्स्पेक्टर वेनुकुमार कार्कीले जानकारी दिए । शुभम् फाउन्डेसन अन्तर्गत खोटाङको रुपाकोट मझुवागढी नगरपालिकाको जनजागृति माध्यमिक विद्यालयले ‘गर्दै, सिक्दै’ कार्यक्रम लागू गरेको छ ।