काठमाडौं: ब्रेकशुमा लुकाएर अवैध सुन तस्करी गर्ने संगठित अपराधमा संलग्न आरोपमा हाल सम्म ३२ जना पक्राउ परेका छन् । केन्द्रीय अनुसन्धान ब्यूरोका अनुसार अनुसन्धानको नेपाली तथा विदेशी नागरिक गरी कुल ३२ जना पक्राउ परेका हुन् । पक्राउ पर्नेमा सुनको कारोबारमा संलग्न ११ जना, त्रिभुवन विमानस्थल भन्सार कार्यालयका कर्मचारी ८ जना, भन्सार एजेन्ट ४ जना, कार्गो एजेन्ट ३ जना, ट्याक्सी चालक १ जना, भाषा अनुवादक/कोठा खोज्ने १ जना, कम्पनी खोल्ने २ जना र कम्पनी खडा गर्ने मालसामान व्यवस्थापन गर्ने २ जना गरी जम्मा ३२ जना छन् भने १८ जना फरार रहेका छन् । रेडिट्रेड प्रालिबाट आयात गरिएका ब्रेकशुहरुमा लुकाएर तस्करी गरिएको सुनको तौल ६०.७१६ किलो र सुन निकाली पुन प्याकिङ गरेको अवस्थामा बरामद भई आएका ब्रेकप्याडहरूको तौलबाट ३०२.०६२ किलो थियो । उक्त सुनको ३ अर्ब ५० करोड २ लाख १६ हजार ५ सय ५२ रूपैयाँ बराबरको सुन तस्करी भएको पुष्टि हुन आएको केन्द्रीय अनुसन्धान ब्यूरोले जनाएको छ । सुन तस्करको लागि ७ वटा कम्पनी खडा गरिएको, २ ठाउँमा सुन गाल्ने गरिएको, ब्रेकप्याड, सेभर, स्मार्ट वाच एवम् विभिन्न प्रकारका विद्युतिय उपकरणहरूमा सुन आयत गरी ल्याइएको समेत अनुसन्धानबाट खुल्न आएको छ । राजश्व अनुसन्धान विभागको टोलीले गत साउन २ गते काठमाडौं सिनामंगलस्थित त्रिभुवन विमानस्थल भन्सार कार्यालय परिसर बाहिर बा.२ ज २३२४ नम्बरको ट्याक्सीमा गाडीको ब्रेकप्याड १ सय ६० सेट सहित ८ कार्टुन बरामद गरेको थियो ।
बाँकेको सीमावर्ती क्षेत्र जमुनाह नाकाबाट नेपाली तीन लाखसहित एक भारतीय नागरिक पक्राउ परेका छन्। युपी ३२ एलएच ३७०४ नंको भारतीय मोटरसाइकलबाट नेपालतर्फ आउँदै गरेको अवस्थामा उनलाई पक्राउ गरिएको सीमा सुरक्षा गुल्म, जमुनाहाले जनाएको छ। भारतको बहराइच जिल्लाका ३० वर्षीय इस्तियाक अहमदलाई प्रस्तावित सीमा सुरक्षा गुल्म (बिओपी) जमुनाह बाँकेले नियन्त्रणमा लिएको थियो। भारतबाट मोटरसाइलमा नेपालतर्फ आउँदै गरेका अहमदको साथमा फेला परेको सो रकमको स्रोत खुलाउन नसकेपछि नियन्त्रणमा लिइएको हो। नियन्त्रणमा लिएका उनलाई बरामद रकम र मोटरसाइकलसहित आवश्यक कारबाहीको लागि नेपालगञ्ज भन्सार कार्यालय बाँकेमा बुझाइएको छ। मोटरसाइकलको भन्सार दाखिला मूल्य दुई लाख रहेको बताइएको छ।
काठमाडौँ: अनुसन्धान सकेर नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी)ले हङकङबाट ल्याइएको झण्डै ६० किलो सुन तस्करी प्रकरणको रायसहितको अनुसन्धान प्रतिवेदन आज जिल्ला सरकारी वकिल कार्यालयमा बुझाउने भएको छ । सरकारी वकिलमा बुझाउने रायसहितको अनुसन्धान प्रतिवेदन लेखन कार्य सकिएकाले आज बुझाउने तय भएको हो । सिआइबीका प्रमुख, प्रहरी अतिरिक्त महानिरीक्षक किरण बज्राचार्यका अनुसार आरोपीविरुद्ध सङ्गठित अपराध, सुन चोरी पैठारी र राष्ट्र बैंक ऐनअन्तर्गत कसुरमा मुद्दा चलाउने राय दिने तयारी छ । सङ्गठित अपराध कसुरमा म्याद थप गरिएकाले त्यसको अनुसन्धानको मिति ६० दिनको हुन्छ । यही ३१ गते ६० दिन पुग्ने भएकाले सो मितिसम्ममा मुद्दा अदालतमा पुर्याइसक्नुपर्ने हुन्छ । त्यसैले सरकारी वकिललाई तीन दिन मिसिल अध्ययनको समय पाउने गरी आज प्रतिवेदन बुझाउने मिति तय गरिएको हो । उक्त सुन तस्करी प्रकरणमा अहिलेसम्म प्रहरीले ३१ जनालाई पक्राउ गरेकामा स्वास्थ्यका कारण एक जना हिरासत बाहिर रहे पनि ३० जना प्रहरी नियन्त्रणमा छन् ।
पोखरा: जिल्ला प्रहरी कार्यालय कास्कीले सुनका गहना चोरी गरेको आरोपमा दुईजनालाई प्रकाउ गरेको छ । पोखरा महानगर १२ स्थित पशु सेवा तालिम केन्द्रको कार्यालय परिसरको कोठाबाट सुनका अन्दाजी १६ तोला बराबरका गरगहना चोरी गरेको आरोपमा पर्सागढी नगरपालिका स्थायी घर भएकी शिवदेवी चौधरी र चोरी गरेको गहना लुकाउन सहयोग गरेको भन्दै एक मोवाईल पसलका सञ्चालकलाई प्रहरीले प्रकाउ गरेको हो । गएको भदौ २५ गते पोखरा महानगर १२ स्थित पशु सेवा तालिम केन्द्रको कार्यालय परिसरको आवास कोठाबाट सुनका अन्दाजी १६ तोला बराबरका गरगहना चोरी भएको निवेदनपछि सोही आवासमा काम गर्ने व्यक्तिलाई सोधबुझ गर्दा चोरी गरेर मोवाईल पसलमा लुकाउन दिएको खुल्न आएको कास्की प्रहरीले जनाएको छ । प्रकाउ परेका दुवै जनालाई जिल्ला अदालत कास्कीबाट चोरी तथा डाँका सम्बन्धी कसूरमा ६दिनको म्याद थप गरी अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
पोखरा: कास्की प्रहरीले लागुऔषधसहित २ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा पोखरा महानगरपालिका १५ नागबेली मार्ग बस्ने २५ वर्षीय बाल आले र सिराहा घर भई हाल पोखरा महानगरपालिका ७ घारीपाटन बस्ने ३३ वर्षीय अरुण तामाङ रहेका छन् । उनीहरुलाई गत २५ गते बजे पोखरा महानगरपालिका वडा नं. १५ नागबेली मार्गमा लागुऔषध विक्री गरिरहेका सूचनाको आधारमा लागू औषध नियन्त्रण ब्युरो शाखा कार्यालय पोखरा, जिल्ला प्रहरी कार्यालय कास्की र वडा प्रहरी कार्यालय बैदाम, रामबजार समेतबाट खटिएको संयुक्त प्रहरी टोलीले पक्राउ गरेको हो । पक्राउ परेका उनीहरुको साथबाट नुर्फिन ३० एम्पुल, डाइजापाम ३० एम्पुल र फेनरागन ३० एम्पुल गरी जम्मा ९० एम्पुल लागुऔषध बरामद भएको छ । हाल जिल्ला अदालतबाट लागुऔषध सम्बन्धी मुद्दामा दिन सात (७) म्याद थप गरी अनुसन्धान अगाडी बढाइएको कास्की प्रहरीले जनाएको छ ।
पाेखरा: बैंकिङ् कसुर तथा सजाय ऐनले चेक बाउन्स (चेक अनादर) र लेनदेनको मुद्दामा प्रहरीलाई अख्तियारी दिएपछि जिल्ला प्रहरी कार्यालय कास्कीमा यससम्बन्धी हेर्ने छुट्टै शाखा गठन गरिएको छ । शाखामा कार्यरत ४ जनादेखि अन्य सिनियर अधिकृतको व्यस्तता समेत चेक बाउन्सको उजुरीले ह्वात्तै बढाइदिएको छ । यसबीचमा प्रहरी र सरकारी वकिलको कार्यालय हुँदै कास्की जिल्ला अदालतमा १ सय ६७ वटा मुद्धा चेक बाउन्सको परेको छ । तर यो संख्या प्रहरीमा परेको उजुरीभन्दा धेरै कम हो । जिल्ला प्रहरीमा उजुरी लिएर भित्रनेमध्ये साठी प्रतिशतको गोजीमा बाउन्स भएको चेक र प्रमाणीकरण हुने गरेको छ । यस अनुपातमा दैनिक ६ वटा उजुरी चेक बाउन्सको हुने गरेको कास्की प्रहरीले बताएको छ । जिल्ला सरकारी वकिलको कार्यालयका सहायक जिल्ला न्यायधिवक्ता महेन्द्रप्रसाद अधिकारीका अनुसार ५ लाखदेखि १ करोड रुपैयाँसम्मको चेक बाउन्स मुद्दामा अदालतलाई अभियोजन पठाइएको छ । कोरोनाकाल अघि फाट्टफुट्ट यस प्रकृतिका मुद्दा आएपनि त्यसपछि भने देशैभर ह्वात्तै बढाएको अधिकारीले जनाए । चेक बाउन्सका मुद्दामा चेकमा उल्लेखित रकम भराउन अदालतले फैसला गर्ने र सोही बमोजिमको रकम चुक्ता गरे अन्य सजाय नगरिने उनले बताए । यद्यपि, अदालतसम्म मुद्दा पु¥याउन निकै लामो समय लाग्ने उनी बताउँछन् । महान्यायधिवक्ताको कार्यालयले प्रहरीमा उजुरी परेपनि दुबै पक्ष भेला भई लेनदेन सल्टाएमा उक्त मुद्दा अघि नबढ्ने उल्लेख गरेको छ भने अदालतमै मुद्दा पुगेपनि फैसलापूर्व रकम चुक्ता गरे मुद्दा निष्क्रिय हुनेछ । चेक बाउन्समा उजुरी परेपछि अभियुक्तलाई खोज्न र थप अनुसन्धान गर्न समय लाग्ने भएकाले अदालतसम्म पु¥याउन लामै प्रक्रिया लाग्ने गरेको छ । प्रहरीले उपलब्ध गराएको सूचनाअनुसार अघिल्लो आर्थिक वर्षमा चेक बाउन्सका ३ सय बढी मुद्दा दर्ता भएको छन् । जसमध्यै एउटै व्यक्तिको नाममा १ करोड ६८ लाख रुपैयाँको चेक बाउन्स भएको मुद्दा रहेको छ । त्यस्तै, हदम्यादको हकमा जाहेरी दिने अवधि कसुर भएको थाहा भएको मितिले १ वर्षभित्र र जाहेरी परेको मितिले ६ महिनाभित्र नेपाल सरकारले राजपत्रमा सूचना प्रकाशन गरी तोेकिदिएको अदालतसमक्ष मुद्दा दायर गरिसक्नु पर्नेछ । प्रहरीले भने एकैपटक वा पटकपटक गरी १ पटकमा ७ दिन नबढ्ने गरी ६० दिनसम्म थुनामा राखेर अनुसन्धान गर्न सक्नेछ । सजायको हकमा दोहोरो कानूनी व्यवस्था गरिएको छ । विनिमय अधिकारपत्र ऐन २०३४ को दफा १०७ (क)ले चेक काट्ने व्यक्तिवाट चेकमा उल्लेखित रकम र व्याज समेत धारकलाई भराई चेक काट्ने व्यक्तिलाई तीन महिना कैद र तीन हजार रुपयाँ जरिवाना वा दुवै सजाय हुनेछ भन्ने व्यबस्था गरेको पाइन्छ । त्यस्तै, बैंकिङ्ग कसूर तथा सजायँ ऐन, २०६४ को दफा १५ (१) ले बिगो खुलेकोमा बिगो भराई बिगो बमोजिम जरिवाना र ३ महिनासम्म कैद हुने भन्ने व्यबस्था गर्नुका साथै दफा १७ ले कसूर भएको कुरा थाहा पाएको मितिले १ बर्ष भित्र जाहेरी दिन सकिने व्यबस्था गरेको छ । जसकारण चेक अनादर विरुद्ध दुबै ऐन आकर्षित हुने देखिएको पाइन्छ। यस सन्दर्भमा पीडित व्यक्तिलाई उपचारको कुन बाटो उपयुक्त लाग्छ, त्यही अनुसार गर्ने गरिएको पाइएको छ । चेक अनादर भएको कुरा बैंकबाट प्रमाणित गरिनुपर्छ । यसरी कुनै पनि बैंकमा भुक्तानीका लागि कुनै व्यक्तिले दिएको चेक निश्चित कारणसहित बैंकबाट भुक्तानी हुन नसकी चेक फिर्ता हुनु चेक बाउन्स हो । चेक जारी गरेपछि खातावालले खाता बन्द गरेमा पनि चेक बाउन्स हुनसक्छ । कुनै पनि चेक काटिदिने व्यक्तिले, आफ्नो बैंक खातामा रकम छैन वा रकम भए पनि पर्याप्त रकम छैन भनी जानीजानी चेक काटिदिएमा (चेक धारक अर्थात्) चेक लिने व्यक्तिले प्राप्त गर्नुपर्ने रकम बैंकबाट प्राप्त गर्न नसकेको खण्डमा अर्थात् कुनै पनि बैंकले भुक्तानी दिनुपर्ने रकम भुक्तानी नदिएको वा चेक भुक्तानी दिन इन्कार गरेको अवस्था चेक अनादर हो ।
काठमाडौं: ड्युटीमा रहेका प्रहरी कर्मचारीमाथि अभद्र व्यवहार गरेको आरोपका एक युवा पक्राउ परेका छन् । पक्राउ पर्नेमा गोरखाको आरुघाट गाउँपालिका–४ घर भई हाल काठमाडौं सानोभ¥याङ् बस्ने ३७ वर्षीय सन्तोष कुमार धमला रहेका छन् । काठमाडौं महानगरपालिका–१६ माछापोखरीस्थित ट्राफिक प्रहरी वृत्त नयाँबसपार्कबाट खटिएको प्रहरीले चेकजाँच गर्ने क्रममा प्रहरीलाई नै कुटपिट तथा अभद्र व्यवहार गरेपछि धमलालाई प्रहरीले पक्राउ गरेको हो । उनीमाथि अभद्र व्यवहार मुद्दामा म्याद थप भई थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
विराटनगर: सुनसरीको बर्जुमा सादा पोसाकमा रहेका २ जना प्रहरीलाई आक्रमण गरी हतियार लुटिएको छ । बर्जु गाउँपालिका-१ शुक्रबारेमा ड्युटीमा रहेका प्रहरीमाथि आक्रमण भएको हो । आक्रमणकारीले प्रहरीको साथमा भएको ठूलो चाइनिज पेस्तोल, एउटा म्यागजिन र सात राउण्ड गोली लुटेको प्रहरीले जानकारी दिएको छ । हतियार देखाएर लुटपाट गर्ने समूह सक्रिय रहेको सूचनाका आधारमा त्यस सम्बन्धित सूचना संकलन गर्न प्रहरी जवान बिमन परियार र प्रेम चौधरीलाई प्रहरीले खटाएको थियो । सादा पोसाकमा खटाइएका परियार र चौधरी पुग्नासाथ अन्दाजी चार जनाको संख्यामा रहेको समूहले आक्रमण गरेको हतियार लुटेको सुनसरी प्रहरी प्रमुख एसपी विपिन रेग्मीले जानकारी दिए । उनका अनुसार सुरुमा काठको चिर्पटले प्रहार गरेर प्रहरीलाई घाइते बनाइएकाे थियाे । आक्रमणबाट प्रहरी जवान परियारको टाउकोमा चोट लागेको छ ।
काठमाडौं: वैदेशिक रोजगारीका लागि अष्ट्रेलिया पठाउने भन्दै ९ लाख रुपैयाँ ठगी गर्ने एक महिला पक्राउ परेकी छिन् । पक्राउ पर्नेमा भक्तपुर मध्यपुर ठिमी नगरपालिका–४ का ५० वर्षीया केशरी श्रेष्ठ रहेकी छिन् । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रवक्ता रविन्द्र रेग्मीका अनुसार हाल काठमाडौंको सामाखुशी बस्दै आएका ५० वर्षीया श्रेष्ठले आशामाया लामालाई अष्ट्रेलिया पुगेपछि होटलमा काममा लगाइदिने र मासिक तलब ३ लाख रुपैयाँ भन्दा बढी हुने भन्दै ठगी गरेकी थिइन् । अष्ट्रेलिया जान २० लाख लाग्ने भनेर पीडितबाट पटक–पटक गरी ९ लाख रुपियाँ लिई सम्पर्कबिहीन भएपछि श्रेष्ठविरुद्ध निवदेन परेको थियो । पक्राउ परेका श्रेष्ठलाई थप अनुसन्धान तथा कारवाहीका लागि वैदेशिक रोजगार विभागमा पठाइएको प्रहरीले जनाएको छ ।