काठमाडौं: प्रहरीले गौशाला घटनाका अभियुक्तलाई सार्वजनिक गरेको छ। सोमबार बिहान गौशालामा धारिलो हतियार प्रहार गरी साविर हुसेनलाई घाइते बनाएर फरार भएका अभियुक्तलाई प्रहरीले आज सार्वजनिक गरेको हो। सोमबार बिहान ११ बजेर ४० मिनेटमा बारा कलैया नगरपालिका-२१ का ३८ वर्षीय साविर हुसेनलाई तिलगंगास्थित पिके डायगोनोस्टिक सेन्टर प्रालिमा धारिलो हतियार प्रहार गरी घाइते बनाइएको थियो। घटनापछि फरार रहेका रौतहटको वानियापुर गाउँपालिकाका ३७ वर्षीय सिकिलदेव सहनीलाई सोमबार साँझ नै प्रहरीले पक्राउ गरेको थियो। प्रारम्भिक अनुसन्धानका क्रममा घटनामा उनको संलग्नता पाइएपछि मंगलबार सार्वजनिक गरेको थियो। घटनास्थलमा कटुवा पेस्तोल, त्यसमा लाग्ने गोली र चक्कु फेला परेको थियो। सहनीले घटनापछि कोटेश्वरबाट गौर जानका लागि टिकटसमेत काटिसकेको पाइएको छ।
विराटनगर: धर्मगुरु भनिएका आचार्य श्रीनिवास पक्राउ परेका छन् । विवादास्पद अभिव्यक्ति दिएको भिडियो सामाजिक सञ्जालमा भाइरल भएपछि प्रहरीले मंगलबार सुनसरीको चक्रघट्टीबाट पक्राउ गरेको हो । उनले केही दिन अगाडि गौहत्या गर्नेहरुलाई हत्या गर्न आव्हान गर्दै चर्को भाषण गरेका थिए । गौ हत्या गर्ने जो कोहीलाई हत्या गरेर आए त्यसको आफूले जिम्मा लिने उनको अभिव्यक्ति थियो । उनले हातमा खुकुरी बोकेर भनेका थिए, ‘गौहत्या गर्नेलाई हत्या गरेर कोही आउँछ भने उसको म सम्पूर्ण सुरक्षा गर्नेछु । राज्यले अपराधी करार गरेर समातेको खण्डमा म उसको सबै परिवारको पालन पोषण गर्छु ।’ आचार्यको उक्त अभिव्यक्ति सामाजिक संजालमा भाइरल भएको छ । जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रहरी नायव उपरीक्षक नविनकृष्ण भण्डारीले श्रीनिवासलाई नियन्त्रणमा लिएको बताए । श्री निवास यसअघि २०७६ सालमा आफैंलाई गोली हान्न लगाएको आरोपमा पक्राउ परेका थिए ।
पोखरा: व्यवसाय र राजनीतिमा छलाङ मारेका ‘महेन्द्र भोटे’लाई कास्की प्रहरीले खोजी गरिरहेको छ । वास्तविक नाम शिव गुरुङ रहेको भोटे यसअघि प्रहरीको रेकर्डअनुसार आपराधिक पृष्ठभूमिबाट उदाएका हुन् । पोखरामा कुनैबेला ‘ग्याङस्टर’ रहेका भोटे पछिल्लो समय सूर्यदर्शन बचत तथा ऋण सहकारी संस्था धराशायी भई निक्षेपकर्ता ठगिएपछि सोही प्रकरणमा मुछिएका छन् । ग्याङस्टरबाट पर्यटन व्यवसायी भएका भोटे त्यसपछि नेकपा एमालेमा प्रवेश गरेपछि हाल राष्ट्रिय युवा संघ नेपालका केन्द्रीय उपमहासचिव हुन् । त्यस्तै, गत स्थानीय निर्वाचनमा उनी कास्कीको मादी गाउँपालिकाको अध्यक्षमा समेत चुनाव लडेका थिए । यद्यपि, भोटे नेपाली कांग्रेसका देवीजंग गुरुङसँग पराजित भए । उनको स्थायी ठेगाना सोही गापाको वडा १० हो । यस विषयमा कास्की प्रहरीका उच्च अधिकारीसँग बुझ्दा ‘मिलाएर बुझ्नुहोस्’ भन्दै थप खुलाउन चाहँदैनन् । तर भोटेलाई पक्राउ गर्न वारन्ट जारी भइसकेको र सूर्यदर्शन सहकारीसँग सम्बन्धित अन्य जिल्लाको प्रहरीसँग समन्वय गरिएको सूचना प्राप्त भएको छ । आइतबार भोटेविरुद्ध पक्राउ पुर्जी जारी गरिएको हो । त्यसको सुइँको पाएपछि भोटे सम्पर्कवीहिन छन् । पोखरामा जारी एमालेको प्रथम गण्डकी अधिवेशनमा उनी देखिएका छैनन् । एमालेका एक जिल्ला नेताका अनुसार उनी गुरुङ वा अधिकारी कुनै गुटका पनि होइनन् । ‘कतैपनि खुलेको थाहा छैन, धेरथोर गुरुङ पक्षमा लागिएको देखिन्छ तर उनलाई जता फाइदा हुन्छन् उनै नेताको पछि लाग्छन्’ उनले भनेका छन् । प्रहरी स्रोतका अनुसार सूर्यदर्शन सहकारी प्रकरणमा १९ जना विरुद्ध पक्राउ पुर्जी जारी गरिएको छ । सहकारीका अध्यक्ष गितेन्द्रबाबु (जिबी) राइ हुन् । सन् २००५ मा उनका जेठा दाजु अनन्तबाबु राई हर्बाे इन्टरनेशनलमा कार्यरत रहँदा जिबीका ३ भाइ पाटनको लगनखेल एरियामा भाडामा बस्ने गर्दथे । उनै जिबी हाल काठमाण्डौंबाट सञ्चालित ग्यालेक्सी फोर के टेलिभिजनका सञ्चालक रहेका छन् । सहकारीबाट करिब १६ अर्ब रुपैयाँ हिनामिना भएको ठहरपछि भोटे पनि यस प्रकरणमा जोडिएका छन् । भोटेले ७ करोड बढी रकम चलाएको तर प्रक्रिया पुरा नगरेको पाइएको छ । यससँगै कास्की प्रहरीले भोटे जिबीको कनेक्सनबारे हाल अनुसन्धान गरिरहेको प्रवक्ता एवं डिएसपी श्रवणकुमार बिक बताउँछन् । पक्राउ पुर्जीबारे खुल्न नचाहेका डिएसपी बिकले ‘सबै विषयमा हाल अनुसन्धान चलिरहेको’मात्र बताएका छन् । यसैबीच, भोटेले उच्च अदालत पोखराबाट स्टे अर्डर ल्याएको एक पत्रकारले बताएका छन् । उनका अनुसार भोटेलाई फसाउन खोजिएको हुनसक्छ । सुनगाभा न्यूजले यस विषयमा स्वतन्त्र पुष्टी गर्न बाँकी छ ।
पर्सा: पर्सामा नियमित कक्षा सञ्चालनको माग गरेपछि विद्यार्थी नै थुनामा परेको घटना बाहिर आएको छ । वीरगञ्ज महानगरपालिका–२४ बहुवरीमा सञ्चालित शारदा माध्यमिक विद्यालयको पशु विज्ञान र कृषि सङ्कायको कक्षा सञ्चालन गर्न माग गरेपछि विद्यार्थीलाई त्यही विद्यालयका शिक्षकहरुले थुनेर राखेको घटना सार्वजनिक भएको हो । पठनपाठन नियमित सञ्चालन गर्न माग गरेपछि विद्यालय प्रशासनले आफूहरुलाई कुटपिट गर्नाका साथै घन्टौँ थुनेर राखेको विद्यार्थीहरुले आरोप लगाएका छन् । दैनिक सात कक्षा पढाइ हुनुपर्नेमा एक कक्षासमेत पढाइ नभएको जानकारी महानगरपालिकाको शिक्षा महाशाखामा गराउँदा समेत कुनै सुनुवाइ नभएको विद्यार्थीहरुले गुनासो गरेका छन् । विद्यालय प्रशासनले आफूहरुबाट सबै शुल्क असुल गरे पनि अहिलेसम्म पूरै किताबसमेत उपलब्ध नगराएका कारण दोस्रो वर्षको पहिलो सेमेस्टर परिक्षामा ११ मध्ये एकजना मात्र उत्तीर्ण भएको विद्यार्थीहरु बताउँछन् । प्राविधिक शिक्षाको कक्षा नियमित सञ्चालन नभएको विषयमा विद्यालय प्रशासनसँग बुझ्दा विद्यालयका प्रअ बिदामा रहेकाले प्रविधिक कक्षाबारे उहाँले नै जानकारी दिने जनाएको छ । महानगरपालिकाको शिक्षा महाशाखा प्रमुख अरविन्दलाल कर्णले विद्यालयमा अध्यापन गराउने शिक्षकले तलब नपाएका कारण पढाइ नभएकोे जानकारी दिनुभयो । उहाँले शिक्षकको सबै तलब समयमै पठाएको विद्यलायको प्रतिवेदनबाट देखिएपछि घटनाको छानबिन शुरु गरिएको बताउनुभयो ।
काठमाडौंको गौशालामा धारिलो हतियार प्रहार गरेको घटनामा एक जना पक्राउ परेका छन्। सोमबार बिहान पौने १२ बजे काठमाडौं महानगरपालिका-९ बागमती करिडोरको तिलगंगामा बारा कलैया उपमहानगरपालिका(२१ घर भई कोटेश्वर बस्ने ३८ वर्षीय साविर हुसेनमाथि धारिलो हतियार प्रहार भएको थियो। उनीमाथि हतियार प्रहार गरेको आरोपमा प्रहरीले काठमाडौंबाट एक जनालाई पक्राउ गरेको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी कुमोध ढुंगेलले जानकारी दिए। उनका अनुसार पक्राउ पर्नेमा सिकिल देव सहनी छन्। घटनास्थलबाट प्रहरीले एउटा कटुवा पेस्तोल र चक्कु बरामद गरेको थियो। हुसेनमाथि चक्कु प्रहार गरी सहनी फरार भएका थिए। सहनीसँगै अर्का व्यक्ति पनि घटनामा संलग्न भएको प्रहरीको आशंका छ। तर ती व्यक्ति पक्राउ परिसकेका छैनन्। सुरूमा हुसेनलाई सिनामंगलस्थित केएमसी अस्पतालमा लगिएको थियो। थप उपचारको लागि महाराजगन्जस्थित टिचिङ अस्पतालमा राखिएको छ। उनी अहिले खतरामुक्त भएको एसपी ढुंगेलले बताए।
पोखरा: पोखरामा पार्किङ गरेर राखेको मोटरसाइकल चोरी गर्ने दुईजनालाई प्रहरीले प्रकाउ गरेको छ । पोखरा महानगरपालिका १७ हिमाली टोल स्थित अनुराधा बरालको घरको कपाण्ड अगाडि पार्किङ गरेर राखेको मोटरसाइकल चोरी गर्ने दुईजनालाई जिल्ला प्रहरी कार्यालय कास्कीले प्रकाउ गरेको हो । पार्किङ गरेर राखेको ग ११ प २०४२ नम्बरको मोटरसाइकल चोरी गरेको आरोपमा पोखरा १७ बस्ने २१ वर्षीय कृष्ण सुनार र १९ वर्षीय सुजल तामाङलाई प्रहरीले प्रकाउ गरेको हो । मोटरसाइकल चोरी गरेको आरोपमा प्रकाउ परेका दुवै जनालाई चोरी तथा डाँका मुद्धामा अनुसन्धान भइरहेको कास्की प्रहरीले जनाएको छ ।
पोखरा: मणिपाल अस्पताल प्रकरणमा चिकित्सक र मृतक परिवारबीच सहमति भएपनि घटनालाई उग्र बनाउन संलग्न भएका युवाहरुलाई कास्की प्रहरीले खोजतलास गरेको छ । चिकित्सक र मृतक परिवार दुवै पक्षलाई वार्तामार्फत ६ बुँदें सहमतिसँगै विवाद साम्य पार्न खोजिएपनि मृतक पक्षका युवाहरुको क्रियाकलाप स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्था सुरक्षा ऐन, २०६६ विरुद्ध भएकाले कानूनी उपचारका लागि प्रहरीले खोजी गरेको हो । जिल्ला प्रहरी कार्यालय कास्कीका प्रमुख प्रहरी उपरीक्षक मोहन थापाले मणिपाल अस्पताल तोडफोडमा संलग्न युवाहरुलाई तिब्रताकासाथ खोजी गरिरहेको बताए । उनका अनुसार ति युवाहरुको क्रियाकलाप स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्था सुरक्षा ऐन, २०६६ अन्तर्गत आकर्षित हुन्छ । यो पनि पढ्नुहोस डाक्टर कुट्ने र अस्पताल तोडफोड गर्नेलाई उन्मुक्ति दिनु हुँदैन: मुख्यमन्त्री पाण्डे घटना भएको (गत ८ गते) बेलुकी नै मणिपाल शिक्षण अस्पतालले विनय गुरुङसहित करिब (२०/२५ जना) समूहविरुद्ध जाहेरी दिएको थियो । सोही जाहेरीका आधारमा हिजो (शुक्रबार) सम्साँझै न्यूरोडबाट ७ जनालाई पक्राउ गरिएको एसपी थापाले बताए । पक्राउ पर्नेमा अविनाश गुरुङ, प्रदिप गुरुङ, विवेक गुरुङ, अरुण गुरुङ, उञ्जल थापा र अर्का २ युवा रहेका छन् । ‘हिजो राती ७ जनालाई नियन्त्रणमा लिएका छौं । बाँकी अरुको खोजी तिब्र पारेका छौं, एसपी थापाले भने, ‘संवेदनशील क्षेत्र मानिने अस्पतालमा तोडफोड गरेको कसुरमा उनीहरुलाई पक्राउ गरेका हौं । उनीहरु विरुद्ध घटना भएको बेलुकी नै विनय गुरुङ लगायत २०/२५ जनाको समूह विरुद्ध जाहेरी परेको थियो ।’ एसपी थापाले जाहेरी परेपनि घटनामा संलग्न व्यक्तिहरुको पहिचान गर्न समय लागेकाले ति युवाहरुलाई पक्राउ गर्न केही दिन समय लागेको सुनाए । ‘जाहेरी परेपनि त्यो क्रियाकलापमा संलग्नहरुलाई आइडेन्टिफाई गर्न समय लाग्यो । अस्पतालले दिएको सिसिटिभी फुटेजको आधारमा उनीहरुको खोजी गरिरहेका छौं । कसैलेपनि स्वास्थ्य संस्थामा तोडफोड, बाधा ब्यबधान गर्न पाइदैन । त्यसैले उनीहरुको कसुर स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्था सुरक्षा ऐन, २०६६ अन्तर्गत आकर्षित हुन्छ । केही समय लागेपनि संलग्न सबैलाई पक्राउ गर्छौं,’ एसपी थापाले भने । ७ जनालाई गएराती पक्राउ गरिएपनि घटना भएकै दिन पक्राउ परेका मालेपाटनका विनय गुरुङलाई सात दिनको म्याद थप गरि अनुसन्धान गरिरहेको छ । उनी घटना भएकै दिन चिकित्सकलाई हातपात गरेको आरोपमा पक्राउ परेका थिए । लमजुङ सुन्दरबजार नगरपालिकाकी ५७ वर्षीय सुकमाया दुराको उपचारको क्रममा मणिपाल अस्पतालमा गत ८ गते मृत्यु भएपछि विवाद सुरु भएको थियो । त्यसपपछि मृतक परिवारले सुकमायाको मृत्यु पछाडीको कारण खोज्दै आन्दोलनमा उत्रेको थियो भने चिकित्सक पक्ष पनि आफुहरुमाथि आक्रमण भएको भन्दै सुरक्षाको प्रत्याभूति गराउनुपर्ने मागसहित अनिश्चितकालिन आन्दोलनमा थिए । तर जिल्ला प्रहरी कार्यालयले चिकित्सक पक्ष र मृतक पक्षलाई राखेर बिहीबार ६ बुँदें सहमति गर्दै प्रकरणलाई शान्त बनाएको थियो । जिल्ला प्रहरी कार्यालयले चिकित्सक पक्ष र मृतक परिवार पक्षलाई वार्तामार्फत ६ बुँदें सहमति गराएपनि मृतक सुकमाया दुराको शव अझै नउठेको बताइएको छ । यो पनि पढ्नुहोस प्रहरीले पुन: खोतल्यो मणिपाल काण्ड: सम्साँझै न्यूरोडबाट ६ जना पक्राउ
काठमाडौं: नायक अनमोल केसीलाई प्रहरीले पक्राउ गरेको छ। शुक्रबार उनलाई भक्तपुरको साँगाबाट काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले पक्राउ गरेको हो। कार्यालयका एसएसपी सोमेन्द्रसिंह राठौरका अनुसार केसीले आपराधिक विश्वासघात गरेको भन्दै प्रहरीमा उजुरी परेको थियो। जाहेरीकर्ता चन्द्रकला कटवाल थापाले केसीले रावायण नामक फिल्म खेल्नका लागि १० लाख रुपैयाँ लगेको तर सम्झौता गर्न नमानेको भन्दै उजुरी दिएकी थिइन्। उनले फिल्मका अरू कलाकारलाई पनि एडभान्स दिँदा १ करोड १५ लाख खर्च भएको उल्लेख गरेकी थिइन्।