काठमाडौं: दुबई पठाइदिने नामा भन्दै रकम ठगी गरेको आरोपमा एक जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा रौतहट विश्रामपुर नगरपालिका–२ घर भई काठमाडौं नागार्जुन नगरपालिका–६ बस्ने ३४ वर्षीय मोहमद शेख इरफान सिध्दिकी रहेका छन् । सिध्दिकीले १ जनालाई वैदेशिक रोजगारका लागि दुबई पठाइ सेक्युरिटी गार्डमा मासिक ५० हजार रुपैयाँभन्दा बढी तलबमा काम लगाइदिन्छु भन्दै प्रलोभनमा पारी पीडितबाट पटकपटक गरी १ लाख ५० हजार रूपैयाँ लिई सम्पर्कविहीन भएका थिए । पीडितले वैदेशिक रोजगार विभागमा निवेदन दिएपछि विभागले काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवनलाई पत्र पठाएको थियो । त्यसपछि त्यहाँबाट खटिएको प्रहरी टोलीले उनलाई काठमाडौं नार्गाजुन नगरपालिका–६ पानीट्याङकीबाट पक्राउ गरेको हो । पक्राउ परेका मोहमदमाथि थप अनुसन्धान तथा कारवाहीका लागि वैदेशिक रोजगार विभाग ताहाचल पठाइएको प्रहरीले जनाएको छ ।
काठमाडौं: जबरजस्ती करणी र सामूहिक करणी मुद्दाका फरार प्रतिवादी १६ वर्षपछि पक्राउ परेका छन् । पक्राउ पर्नेमा चितवन भरतपुर महानगरपालिका–८ गौरीगंज घर भएका ५८ वर्षीय अमरेश कंडेल हुन् । जिल्ला अदालत ललितपुरको २०६५ फागुन ४ गतेको फैसलाले जबरजस्ती करणी मुद्दामा ५ वर्ष कैद र सामूहिक करणी मुद्दामा ५ वर्ष कैद सजाय ठहर भई फरार रहेका उनलाई केन्द्रीय अनुसन्धान ब्यूरो महाराजगंजबाट खटिएको प्रहरीले उनलाई उनकै घर ठेगानाबाट पक्राउ गेरको हो । मादक पदार्थ सेवन गरी ललितपुर साविक ठैब गाविस–८ लिन्टिकल सेन्टर प्रालिको क्यान्टिनमा नास्ता बनाउने नाबालिगलाई २०६४ पुस ५ गते साँझ जबरजस्ती करणी र सामूहिक करणी गरेको मुद्दामा अदालतले उक्त फैसला गरेको थियो । उनलाई फैसला कार्यान्वयनका लागि जिल्ला अदालत चितवनले कैद भुक्तानका लागि कारागार कार्यालय चितवन पठाइएको छ ।
सल्यान: वैदेशिक रोजगारीका लागि दुबई बस्दै आएका कर्ण बहादुर बस्नेतले विदेश हुँदा नै रेवतीको हत्या गर्ने योजना बनाएको अनुसन्धानबाट खुल्न आएको छ । भदौ २५ गतेमात्र दुबईबाट आएका बस्नेतले गत ३० गते त्रिवेणी गाउँपालिका २ झालेढुंगा थापाटोलकी २९ वर्षीया रेवती थापा र उनकी ९ महिनाकी छोरी ऋतु थापाको हत्या गरेका थिए । उनी हत्या गर्ने योजनासहित नेपाल आएको प्रारम्भिक अनुसन्धानमा खुल्न आएको जिल्ला प्रहरी कार्यालय सल्यानका प्रमुख नविन कार्कीले बताए । उनका अनुसार दुबईबाट आएको ५ दिनमै रेवती एक्लै भएको मौका पारी राति करिब १० बजेतिर आगो लगाएर हत्या गरेका थिए । सल्यान सिद्ध कुमाख गाउँपालिका २ खानीगाउँका २८ वर्षीय कर्ण बहादुर बस्नेतलाई घटना भएको पाँच दिन पछि सिद्ध कुमाख गाउँपाकिला ३ ढोरचौर बजारबाट बुधबार साँझ पक्राउ गरिएको कार्कीले बताए । यस्तो छ घटनापछाडिको रहस्य प्रहरीका अनुसार हत्या आरोपित बस्नेत र मृतक थापाबीच विगत सात वर्ष अघि सामाजिक सञ्जालमा चिनजान भएको थियो । सामाजिक सञ्जालमा कुराकानी गर्दै गर्दा माया प्रेम बसेको र विवाह गर्ने निर्णयसम्म पुगेको थिए । तर रेवतीले ४ वर्ष अघि गाउँकै अर्को पुरुषसँग विवाह गरे पछि आफूलाई धोका दिएको बस्नेतले महसुस गरे । प्रेममा धोका पाएको र विगतमा सहमतिमा खिचिएका शारिरीक सम्बन्धका फोटो तथा भिडियोका विषयमा उनीहरुबीच सामाजिक सञ्जालमै झगडा भैरहन्थ्यो । रेवतीको विवाह भएको दुई वर्ष पछि पुनः सामाजिक सञ्जाल मार्फत कुराकानी हुन थालेको र हत्याका अभियुक्त बस्नेतले रेवतीको श्रीमानलाई विगतमा लिएका अश्लिल फोटो र भिडियो पठाए पछि रेवतीको घरमा झगडा भएको देखिन्छ । त्यसपछि पीडक बस्नेतले हत्याको योजना बुनेर नेपाल आएको प्रहरी अनुसन्धानबाट खुल्न आएको बताइएको छ ।
पोखरा: जिल्ला प्रहरी कार्यालय कास्कीले लागूऔषध गाँजासहित पोखरा १५ फुलवारी गैह्रगाउँ बस्ने राजन विकलाई प्रकाउ गरेको छ । पोखरा ३० पावरहाउस ईलाका प्रहरी कार्यालय शिसुवाबाट खटिएको प्रहरीले सवारी साधन चेकजाँच गर्ने क्रममा पोखरा २१ कृष्ती स्थायी घर भई पोखरा १५ फुलवारी गैह्रगाउँ बस्ने राजनलाई दुई केजी १ सय ७० ग्राम लागूऔषध गाँजासहित प्रकाउ गरेको हो । प्रकाउ परेका राजनलाई जिल्ला अदालत कास्कीबाट लागूऔषध सम्बन्धी मुद्धामा ८ दिनको म्याद तप गरी अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ ।
डडेल्धुरा: २० वर्षीया युवतीलाई जबरजस्ती करणी गरेको आरोपमा ४ जना पक्राउ परेका छन् । प्रहरीका अनुसार पक्राउ पर्नेमा भागेश्वर गाउँपालिका–३ ओड गाउँ बस्ने २३ वर्षीय कमल ओड, २२ वर्षीय तपेन्द्र ओड, २८ वर्षीय दिपक ओड र एकजना १८ वर्षीय किशोर रहेका छन् । युवतीले आफुलाई कमल र २ जना १८ वर्षीय किशोरले गत वैशाख ५ गते दिउँसो नानिगाड खोलामा र तपेन्द्र तथा दिपकले गत वैशाख १२ गते साँझ डेकास्थित बाँझो घरको गोठमा लगि जबरजस्ती करणी गरेको उजुरी दिएकी थिइन् । प्रहरीले सोही आधारमा जिल्ला प्रहरी कार्यालय डडेल्धुरा र प्रहरी चौकी लामिकाण्डेबाट खटिएको प्रहरीले चार जनालाई मंगलबार पक्राउ गरेको हो । घटनामा संलग्न एक १८ वर्षीय किशोरको खोजी भइरहेको प्रहरीले जनाएको छ ।
सर्लाही: सर्लाहीको लालबन्दी नगरपालिका–५, शान्ति टोलमा हतियारधारी समूहले एक घरमा लुटपाट गरेको छ । लालबन्दी नगरपालिका ५ को वडा कार्यालय नजिक रहेको रामचन्द्र ठाकुरको घरमा बिहीबार बिहान २ बजेतिर लुटपाट भएको हो । मुखमा रुमाल बाँधेर आएका ५/६ जनाको समूहमा रहेका अज्ञात व्यक्तिले ठाकुरको घरबाट नगद र केही सर सामग्री लुटेर लगेका प्रहरीले जनाएको छ । लुटेरा समूहलाई प्रतिकार गर्दा घरधनी ४५ वर्षीय ठाकुर घाइते हुनुभएको छ । उहाँको टाउकोमा चक्कु प्रहार भएको छ । घाइते ठाकुरको मोडेल अस्पताल लालबन्दीमा उपचार चलिरहेको प्रहरीले जनाएको छ । सर्लाही प्रहरीका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक (डिएसपी) दीपेन्द्र पन्जियार थारुले लुटपाटमा संलग्न व्यक्तिहरूको खोजी तीव्र पारिएको जानकारी दिनुभयो । थारुका अनुसार घटनास्थलबाट एक थान नल कटुवा पेस्तोल बरामद भएको छ । घरको कमाउण्डवालमा लगाइएको ग्रिल नाघेर हतियारधारी समूह घरभित्र प्रवेश गरेका थिए ।
काठमाडौं: काठमाडौंको तीनकुनेस्थित काठ मिलमा शुक्रबार राति भएको हत्याकाण्ड मोटरसाइकलको ठक्करपछि भएको विवादको बदला लिँदा भएको खुलेको छ । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका एसएसपी सोमेन्द्रसिंह राठौरले सिन्धुपाल्चोकको बाह्रबिसे नगरपालिका–९ का २३ वर्षीय सञ्जय भण्डारीले शुक्रबार राति ४ जनाको हत्या स्वीकार गरेको प्रारम्भीक अनुसन्धानमा देखिएको जानकारी दिए । उनका अनुसार बोल्न नसक्ने भण्डारीले लेखेर हत्या स्वीकार गरेका थिए । घटनाक्रम... केही समयअघि नवीन भनिने विशाल राईले भण्डारीलाई चाबहिलमा मोटरसाइकलले ठक्कर दिएका थिए । ठक्कर दिएपछि राईले उनलाई कुटपिट पनि गरेका थिए । जन्मजात बोल्न नसक्ने भण्डारीले त्यसपछि राईसँग पटक–पटक मोटरसाइकलले ठक्कर दिएको घटनाका विषयमा कुरा गर्न खोजेका थिए । कुरा हुन नसकेपछि शुक्रबार उनी काँडाघारीबाट खुकुरी बोकेर राईले काम गर्ने मिलमा गएका थिए । मिलमा उनले सुरूमा राईको टाउकोमा खुकुरी हानेर हत्या गरे । त्यसपछि मिलमा अरू मान्छे पनि देखेपछि उनीहरूले प्रहरीलाई भनिदिन्छन् भन्ने ठानेर अरू तीन जनाको पनि त्यही खुकुरीले हानेर हत्या गरेको देखिन्छ । भण्डारीले सोही मिलमा काम गर्ने दोलखाका कुमार भनिने पूर्णबहादुर भुजेल, उनकी पत्नी अम्बिका भुजेल र आमा सुभद्रा भुजेलको पनि हत्या गरेका थिए । चार जनाको हत्या गरेर भण्डारी काँडाघारीस्थित दिदी–भिनाजुको घरमा गएर बसेका थिए । आइतबार बिहान उनी काठमाडौंमा प्रहरीले आफूलाई पक्रन सक्ने ठानेर सिन्धुपाल्चोक जान लागेका थिए । सोही समयमा सिसिटिभी फुटेजको आधारमा प्रहरीले पक्राउ गरेको हो । पक्राउ पर्दा उनले हत्या भएको दिन लगाएका लुगा नै लगाएका थिए भने झोलामा खुकुरी राखेका थिए । भण्डारीले सिन्धुपाल्चोकमा ८ सम्म र काठमाडौंमा १२ कक्षासम्म सांकेतिक भाषामा पढेका थिए । उनको बयान लिन प्रहरीले सांकेतिक भाषा विज्ञलाई बोलाएको थियो । भण्डारीले सुरूमा आफूले चार जनाको हत्या गरेको भन्दै कापीमा अंग्रेजीमा लेखेका थिए, ‘आइकिल्ड फोर पिपल ।’ भण्डारीले हत्या गरेको स्वीकारेपछि प्रहरीले शनिबार पक्राउ गरेका दीपेन्द्र राईलाई रिहा गरिदिएको छ ।
काठमाडौं: अमेरिकाबाट हुलाकमार्फत पठाइएको गाँजासहित प्रहरीले विभिन्न ठाउँबाट पाँच जनालाई पक्राउ गरेको छ । अमेरिकाबाट गोश्वारा हुलाक कार्यालय डिल्लीबजार हुँदै पठाइएका पार्सलमा गाँजा फेला परेको नेपाल प्रहरीको लागू औषध नियन्त्रण ब्यूरोले जानकारी दिएको छ । भदौ २४ गते अमेरिकाबाट गोश्वारा हुलाक कार्यालय डिल्लीबजार हुँदै जिल्ला हुलाक कार्यालय कास्कीमा पठाइएको एउटा कार्टुन बक्समा १ किलो ४०० ग्राम गाँजा भेटिएको छ । उक्त कार्टुन लिन आउने भारतीय नागरिक २४ वर्षका एजिन भार्गेसलाई पनि प्रहरीले पक्राउ गरेको छ । उनको कोठाबाट ७२० ग्राम गाँजा बरामद भएको ब्यूरोका प्रहरी उपरीक्षक जोशीले जानकारी दिए । यस्तै भदौ १९ गते अमेरिकाबाट गोश्वारा हुलाक कार्यालय डिल्लीबजारमार्फत जिल्ला हुलाक कार्यालय वीरगञ्जमा प्राप्त हुने गरी पठाइएको एउटा कार्टुन बक्समा ९०० ग्राम गाँजा भेटिएको ब्यूरोका प्रहरी उपरीक्षक जोशीले जानकारी दिए । प्रहरीले वीरगञ्जमा उक्त कार्टुन बक्स लिन आउने वीरगञ्ज महानगरपालिका–१६ का ३२ वर्षका डल्लु राम र ४३ वर्षका हबिब मियालाई पक्राउ गरेको छ । त्यस्तै गोश्वारा हुलाक कार्यालय काठमाडौंबाट डडेल्धुरा पठाइएको एउटा कार्टुनमा पनि प्रहरीले गाँजा भेटेको छ । कार्टुनमा ७२० ग्राम गाँजा भेटेको थियो । उक्त गाँजा लिन आउने डडेल्धुराको गन्यापधुरा गाउँपालकिा–१ की ३९ वर्षकी रेनुका तामाङलाई पक्राउ गरेको छ । त्यस्तै गोश्वारा हुलाकबाटै रेनुका तामाङले पाउने गरी भदौ २४ गते ९३९ ग्राम गाँजा पठाएको भेटिएको थियो । रेनुकाले उक्त कार्टुन भारतीय नागरिक अरुण कुमार र मोहम्मद नइमले लिन पठाएको भनी खुलाएकाले उनीहरुलाई पनि पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
पोखरा: जिल्ला प्रहरी कार्यालय कास्कीले सामाजिक सञ्जाल फेसबुकमा भ्रमित लेखेर पोष्ट गर्ने स्याङ्जा घर भएका सुर्यबहादुर रेग्मीलाई प्रकाउ गरेको छ । प्रहरीले सामाजिक सञ्जालमा भ्रमित खवर लेखेर पोष्ट गरेको आरोपमा स्याङ्जाको आधिखोला गाउँपालिका ५ का ३५ वर्षीय रेग्मीलाई प्रकाउ गरेको जिल्ला प्रहरी कार्यालय कास्कीका सूचना अधिकारी श्रवण कुमार विकले जानकारी दिए । सामाजिक सञ्जालमा भ्रमित सूचना लेखेर समाजमा अराजकता, आत्मसम्मान माथि आघात पु¥याउने गरी भ्रम फैलाउने र मेरो जीउ ज्यानको सुरक्षामा समेत असर पर्ने खालको झुठ्ठा एवम् अनर्गल प्रचार गरी सुर्य रेग्मी गरेको फेसबुक आईडीबाट पोष्ट भएको भन्दै निवर्तमान डा. श्रेष्ठले प्रहरीमा निवेदन दिएका थिए । भदौ २२गते रेग्मीले मध्यरातमा राष्ट्रिय स्वतन्त्र पार्टीका निवर्तमान सांसद डा. ढाका कुमार श्रेष्ठलाई उनकै निवासमा अज्ञात समूहले धारिलो हयिार प्रयोग गरेर घाईते बनाएको र उनलाई उपचारका लागि मणिपाल अस्पताल लगिएको, अवस्था चिन्ताजनक भन्दै सामाजिक सञ्जाल फेसबुकमा पोष्ट गरेका थिए । मध्यरातमा सामाजिक सञ्जालमा धारिलो हतियार प्रयोग गरेर अज्ञात समूहले घाईते बनाएको भ्रमित खवरपछि निवर्तमान सांसद डा. श्रेष्ठले आफुलाई कसैले हतियार प्रयोग नगरेको र सकुशल रहेको बताएका थिए । प्रकाउ परेका रेग्मीमाथि विद्युतिय कारोबार ऐन,२०६३ विपरितको कसूर (साईबर अपराध)मा थप अनुसन्धान भइरहेको कास्की प्रहरीले जनाएको छ ।