पोखरा: कास्कीको माछापुच्छ्रे गाउँपालिका ६ स्थित कैलाश टेत्सुओ प्राथमिक विद्यालयका प्रधानाध्यापक नारायणप्रसाद पौडेलविरुद्ध मुदा दर्ता भएको छ । पौडेलले चर्पी निर्माण गर्दा भ्रष्ट्राचार गरेको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुद्धा दायर गरेको हो । आर्थिक वर्ष २०६७/०६८ मा विद्यालयको चर्पी निर्माण गर्न रकम निकासा भएको रकम हिनामिना गरेको भन्दै तत्कालीन प्रधानाध्यापक पौडेलविरुद्ध आइतबार विशेष अदालत काठमाडौंमा मुद्दा विज्ञप्तीमा उल्लेख छ । ‘रकम बैंकबाट झिकेको तर शौचालय निर्माणका लागि कुनै पहल नगरेको, जिल्ला शिक्षा कार्यालयबाट कार्य सम्पन्न हुन नसकेको भए उक्त रकम बेरुजु खातामा दाखिला गर्न पटक पटक निर्देशन दिइएकोमा प्रधानाध्यापक नारायणप्रसाद पौडेलले रकम दाखिलासमेत नगरी शौचालय निर्माणको लागि आएको २ लाख र विद्यालयको नाममा रहेको अक्षय कोषको १ लाख १२ हजार गरी जम्मा ३ लाख १२ लाख हिनामिना गरी सार्वजनिक सम्पतिको हानिनोक्सानी गरेको कार्य भएको बिगो रकम निजबाट असुल उपर हुनसमेत मागदाबी लिई विशेष अदालत काठमाडौंमा आरोपपत्र दायर गरिएको छ,’ अख्तियारले जारी गरेको प्रेस विज्ञप्तिमा उल्लेख गरिएकाे छ ।
पर्सा: वीरगंज महानगरपालिका–१० मा विभिन्न हतियरामा प्रयोग हुने १ सय २ राउण्ड गोली फेला परेको छ । प्रहरीका अनुसार हर्नेटमा प्रयोग हुने १७ राउण्ड, एसएलआरमा प्रयोग हुने ४ राउण्ड, ९ एमएमको ३२ राउण्ड, ३८ बोरको २४ राउण्ड, ४५ एमएमको ४ राउण्ड, फेडेरल म्यागनममा प्रयोग हुने ८ राउण्ड, विनचेस्टरमा प्रयोग हुने ५ राउण्ड, ५४ एमएमको ३ राउण्ड, ७ एमएमको १ राउण्ड र बिग्रेको खोका ४ राउण्डगरी कुल १ सय २ राउण्ड गोली आज (आइतबार) बिहान बरामद गरेको हो । वीरगंज महानगरपालिकाको जेसीबीको सहयोगमा बाटोको नाला सफा गर्ने क्रममा शंकास्पद रुपमा प्लास्टिकको झोला भेटिएको भन्ने सूचनाको आधारमा प्रहरी चौकी आदर्शनगरबाट खटिएको प्रहरीले झोला जाँच गर्ने क्रममा उक्त परिमाणको गोली फेला पारेको थियो । सो विषयमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ ।
बागलुङ: जिल्ला प्रहरी कार्यालय बागलुङले जबरजस्ती करणी उद्योग सम्बन्धि कसूर मुद्धामा फरार प्रतिवादी बमबहादुर रानालाई प्रकाउ गरेको छ । जिल्ला अदालत बागलुङले ०७६/२/२१ गते जबरजस्ती करणी उद्योग सम्बन्धि कसूर मुद्धामा बमबहादुरलाई १० महिना २० दिन कैद र १० हजार रुपैयाँ जरिवाना तोकिएपछि फरार भएका प्रतिवादीलाई आज प्रहरीले प्रकाउ गरेको हो । बागलुङको काठेखोला गाउँपालिका १ पाला घर भएका बमबहादुरलाई दोबिल्ला प्रहरी चौकीबाट खटिएको प्रहरीले प्रकाउ गरेको हो ।
पोखरा: पोखरामा सम्साँझै सुनका गरगहनासहित नगद चोरी भएको छ । पोखरा महानगरपालिका ५ धारापानीस्थित दुइवटा घरबाट गत १८ गते सुनका गरगहना, डलरसहित करिब ५० हजार बढी नगद चोरी भएको हो । वडा प्रहरी कार्यालय बैदामका प्रमुख प्रहरी नायब उपरीक्षक बेद जोशीका अनुसार जेठ १८ गते बेलुकी ६ बजेदेखि ८ बजेको समयमा चोरी भएको थियो । डिएसपी जोशीले शिब कुमारी गुरुङकोबाट औँठी, ब्रास्लेट, ४० हजार रुपैयाँ, आइप्याड र मोवाइल चोरी भएको बताए । उनका अनुसार अनिता गुरुङको कोठाबाट दुई तोलाको सुनका गरगहना र १३ हजार रुपैयाँ, रेखा गुरुङकोबाट औँठीहरु र यूएस डलर, यस्तै मनमाया गुरुङकोबाट नौगेडी माला, माइली तिलहरी र औँठी चोरी भएको थियो । डिएसपी जोशीले ४ वटाकोठाबाट करिब १० तोला सुन र ५० हजारबढी नगद चोरी भएको जानकारी दिए । उनले सो घटनामा संलग्न हुन सक्ने संभावित व्यक्तिहरुलाई निगरानीमा राखको बताए । ‘यही गको १८ गते बेलुकी ६ बजेदेखि ८ बजे भित्र भएको घटना हो । घरधनीहरु त्यो समयमा पार्टीमा गएका रहेछन्, उनले सुनगाभा न्यूजसँग भने, ‘हामीले सुक्ष्म तरिबाले घटनाको अनुसन्धान गरिरहेका छौं । छिटै अपराधी समक्ष पुग्छौ ।’ उनले सो प्रकृतिको घटनामा संलग्न पहिलेका व्यक्तिहरुलाई निगरानीमा राखेको दोहोर्याए । ‘हामीले विभिन्न कोणबाट अप्रेशन थालेका छौं, डिएसपी जोशीले भने, ‘क्लु नजिक नजिकै छौ । संकास्पद व्यक्तिहरुलाई केरकार पनि गरिरहेका छौ ।’ चोरी भएको समयमा घरधनीहरु पार्टीमा गएको बताइएको छ ।
तनहुँ: आँबुखैरेनी गाउँपालिका–४ बेनिटारबाट अवैध लागूऔषध गाँजा करिब ६ केजीसहित एक जनालाई पक्राउ गरेको छ । प्रहरीका अनुसार पक्राउ पर्नेमा धादिङ निलकण्ठ नगरपालिका–७ सुनौला बजार बस्ने २२ वर्षीय कृष्ण बहादुर खड्का रहेका छन् । अस्थायी प्रहरी पोष्ट मुग्लिङबाट खटिएको प्रहरीले मुग्लिङबाट आँबुखैरेनीतर्फ जाँदै गरेको ना. ४ ख ६३५६ नम्बरको बसलाई जाँच गर्ने क्रममा खड्कालाई आज (शनिबार) बिहान प्रहरीले पक्राउ गरेको हो । उनीहरुमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
काठमाडौं: आफ्नै १४ दिने शिशु छोराको हत्या गरी फरार रहेका एक जनालाई प्रहरीले पक्राउ गरेको छ । प्रहरीका अनुसार पक्राउ पर्नेमा बाराको देवताल गाउँपालिका–४ तिप्राडी टोल बस्ने २५ वर्षीय नुर आलम अन्सारी रहेका छन् । उनलाई गत मंगलबार साँझ काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवनबाट खटिएको प्रहरीले चन्द्रागिरी नगरपालिका–१५ ढुंगेअड्डा पिपलबोटबाट पक्राउ गरेको हो । अन्सारीले आफ्नै १४ दिनको शिशुको गतजेठ १४ गते हत्या गरी फरार थिए । पक्राउ परेका अन्सारीमाथि आवश्यक अनुसन्धान तथा कारवाहीका लागि जिल्ला प्रहरी कार्यालय बारा पठाइएको छ ।
काठमाण्डौ: अवैध कल बाइपासमा संलग्न दुई जना पक्राउ परेका छन् । ललितपुरको महालक्ष्मी नगरपालिका–५ टीकाथली खरिबोटमा अवैध कल बाइपासमा संलग्न रहेको आरोपमा एक नेपाली र एक चिनियाँ नागरिक पक्राउ परेका हुन् । प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोका प्रहरी उपरीक्षक सञ्जयसिंह थापाका अनुसार पक्राउ पर्नेमा सिन्धुपाल्चोक त्रिपुरासुन्दरी घर भइ काठमाण्डौ सोह्रखुट्टे बस्ने २२ वर्षीय गणेश श्रेष्ठ र ३२ वर्षीय चिनियाँ नागरिक झाओ जियाङपेङ पक्राउ परेका हुन् । ललितपुर महालक्ष्मी नगरपालिका–५ टीकाथली खरिबोटमा गैरकानुनी रूपमा शङ्कास्पद गतिविधि भइरहेको सूचनाका आधारमा केन्द्रीय अनुसन्धान ब्युरो महाराजगञ्जबाट खटिएको प्रहरीले केही दिनदेखि खोजतलास गरिरहेको थियो । एनसेलको प्रयोग गरेका र नगरेका सिम तीन हजार सात सय थान, झण्डै पाँच लाख नेपाली रुपैयाँ र डलरसहित विभिन्न देशको मुद्रा बरामद गरिएको प्रहरीले जनाएको छ ।
तनहुँ: तनहुँको सदरमुकाम दमौलीमा उपभोक्तालाई खसीको भन्दै बाख्रीका मासु बेच्ने दुई भारतीय व्यापारी पक्राउ परेका छन् । भारत बिहार प्रदेश मोतिहारी जिल्ला भेलादी मुराहवागाउँ घर भई हाल जिल्ला तनहुँ व्यास नगरपालिका–५ चापाघाट बस्ने वर्ष १९ को ईस्तखार आलम र सोही ठाउँ निवासी वर्ष ४० को सनोज देवानलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । व्यास नगरपालिका क्षेत्रका मासु पसलमा बाख्राको मासु मिसावट गरेर बिक्री हुँदै आएको गुनासोका आधारमा निगरानी बढाइएको थियो । सोही अनुरूप जिल्ला प्रशासन कार्यालय, जिल्ला प्रहरी कार्यालय तनहुँ, व्यास नगरपालिका, भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र र गुणस्तर तथा नापतौल कार्यालय तनहुँको संयुक्त अनुगमन टोलीले पक्राउ गरेको हो । व्यास नगरपालिका–३ तरकारीलाईन स्थित व्यास नगरपालिकाको हाता भित्र रहेको तनहुँ मासु व्यवसायी सङ्घमा दर्ता रही सञ्चालन रहेका विभिन्न मासु पसलहरूको गुणस्तर मापन गर्ने उद्देश्यले चेकजाँच गर्ने क्रममा फेला पारिएको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायव उपरीक्षक मोहनबहादुर खाँडले जानकारी दिए । ईस्तखार आलमले सञ्चालन गर्दै आएको महम्मद फिरोज मासु पसल चेकजाँच गर्ने क्रममा खसीको मासु भनी बिक्री गर्नको लागी बाख्री (स्त्री) जातको मासु काट्दै गरेको अवस्थामा फेला परेको प्रनाउ खाँडले बताए। सोमबार जिल्ला प्रशासन कार्यालय तनहुँ उपस्थित गराई निजहरू उपर कालो बजार तथा केही अन्य सामाजिक अपराध सम्बन्धी कसुरमा दिन सात दिनको म्याद थप गरी थप अनुसन्धान भइरहेको उनले जानकारी दिए । दमौलीमा यस्तो घटना प्रमाण सहित फेला परेपछि स्थानीय उपभोक्ताहरू खुसी भएका छन् । पक्राउ परेका व्यक्तिलाई कडा कारबाहीको माग उपभोक्ताले गरेका छन् । प्रशासनले यस्ता पसलको पटक पटक अनुगमन गरिरहनु पर्ने धारणा स्थानीयको रहेको छ ।
धनगढी: कैलालीमा प्रहरीले लागुऔषधसहित दुुई जनालाई पक्राउ गरेको छ । जिल्लाको धनगढी उपमहानगरपालिका ३ त्रिनगर ब्यारेल नजिकैबाट शनिबार गोदावरी नगरपालिका ५ बस्ने १७ वर्षीय साजन जहेरुलाई प्रहरीले पक्राउ गरेको हो । शंकाका आधारमा चेकजाच गर्दा जहेरुको साथबाट ४९० मिलिग्राम लागुऔषध ब्राउनसुगर बरामद गरिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । शनिबार साँझ नै टीकापुर नगरपालिका ९ खक्रौलाबाट भारतबाट नेपालतर्फ आउँदै गरेको अवस्थामा थप एक युवकलाई लागुऔषधसहित पक्राउ गरिएको छ । जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक खगेन्द्र साउदले पक्राउ पर्नेमा जानकी गाउँपालिका(९ पुर्वीखैरीफाँटा बस्ने २५ वषर्ीय सागर कडारा रहेको जानकारी दिए । धनगढी र खक्रौलाबाट लागुऔषधसहित पक्राउ परेका दुवै जनालाई नियन्त्रणमा लिएर थप अनुसन्धान भइरहेको प्रहरीले जनाकारी दिएको छ ।