दैलेख: दैलेखमा आज बिहीवार दिउँसो ट्र्याक्टर दुर्घटना हुँदा एक जनाको ज्यान गएको छ । आज बिहीवार तल्लो डुङ्गेश्वरबाट दुल्लु जाँदै गरेको प्रदेश १ ०२ ००३ त २८२६ नम्बरको ट्र्याक्टर दुल्लु नगरपालिका–१ डाडापानीमा दुर्घटना हुँदा स्थानीय डिलमाया खड्काको ज्यान गएको हो । दुर्घटनामा तीन जना घाइते भएकामा डिलमायाको उपचारका क्रममा कर्णाली प्रदेश अस्पताल सुर्खेतमा ज्यान गएको जिल्ला प्रहरी कार्यालय दैलेखका प्रमुख किशोर लम्सालले जानकारी दिनुभयो । घाइते दुई जना जानुकुमारी खड्का र भरत शर्माको कर्णाली प्रदेश अस्पताल सुर्खेतमा उपचार भइरहेको छ र चालक फरार रहेकाले खोजी भइरहेको प्रहरीले जनाएको छ ।
काभ्रेपलाञ्चोक: काभ्रेपलाञ्चोकको नमोबुद्ध नगरपालिका–११ श्यामपाटी सिमलचौरका वडा सदस्य ज्ञानी विकको कुटपिटबाट ज्यान गएको छ । जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकका प्रहरी नायब उपरीक्षक ९डीएसपी० ढुण्डीराज न्यौपानेका अनुसार श्रीमानको कुटाइबाट गम्भीर घाइते हुनुभएकी उहाँको धुलिखेल अस्पतालमा उपचारका क्रममा आज बिहीवार बिहान ज्यान गएको हो । श्रीमान् शम्भु विकले जेठ २९ गते राति १० बजे जाँड–रक्सी खाएर कुटपिट गरेका थिए । विकको शव परीक्षणका लागि धुलिखेल अस्पतालमा राखिएको छ । कुटपिट गर्ने उहाँका श्रीमान् शम्भु विकलाई पक्राउ गरेर घटनाबारे थप अुनसन्धान भइरहेको डीएसपी न्यौपानेले जानकारी दिनुभयो ।
काठमाडौं: अनलाइन बेटिङ एप ‘वान एक्स बेट’मा सट्टेबाजी गर्ने र त्यसको विज्ञापन गरेको आरोपमा कलाकारसहित ८ जना पक्राउ परेका छन् । पक्राउ पर्नेहरुको सूचिमा ‘बल्छी ध्रुबे’ नामले पचिरित कलाकार मरिचमान श्रेष्ठसमेत रहेको प्रहरी सुत्रले जनाएको छ । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका अनुसार वानएक्स बेटमा सट्टेबाजी खेलाउने र यसको विज्ञापन गरेको आरोपमा उनीहरुलाई पक्राउ गरिएको हो । अनलाइन बेटिङ एप ‘वान एक्स बेट’ लाई नेपालको कानून अनुसार अवैध धन्दा मानिन्छ । पक्राउ परेका कलाकारहरूले युट्युबमार्फत् वानएक्स बेटको विज्ञापन गरेको आरोप छ । युट्युबमा प्रोमो कोड प्रयोग गरी वानएक्स बेटिङमा छुट प्राप्त गर्न सकिने भन्दै विज्ञापन गरेको देखिन्छ । यसरी कलाकार एवं युट्युबरहरूले विज्ञापन गरेर बेटिङमा युवापुस्तालाई आकर्षण गर्ने गरेको भन्दै कार्यालयले अपरेसन चलाएको हो । त्यसरी अपरेसन चलाएर बुधबारमात्रै बेटिङका पाँच जना एजेन्टलाई पक्राउ गरी सार्वजनिक गरेको थियो । पाँच जनाले मात्रै ७४ करोडको कारोबार गर्ने गरेको प्रहरीको अनुसन्धानबाट खुलेको थियो ।
तनहुँ: भानु नगरपालिका–५ मैबलका २१ वर्षीय मनोज विष्टले आफ्नै श्रीमतीको हत्या गरेको स्वीकारेका छन् । जिल्ला प्रहरी कार्यालय तनहुँले विष्टलाई सार्वजनिक गर्दै प्रारम्भिक बयानका क्रममा घाँटी थिचर हत्या गरेको स्वीकारेको एसपी अबदेश विष्टले बताए । उनका अनुसार मनोजले आफ्नो श्रीमती (व्यास नगरपालिका–१२ लामिडाँडाकी २२ वर्षीया रंगिला) को अर्कै प्रेमी रहेको थाहा पाएपछि गत शुक्रबार मध्याह्नमा डेरामा रंगिलालाई मुक्काले हिर्काएका थिए । त्यसपछि भने उनले घाँटी थिचेर हत्या गरेका थिए । मनोज र रंगिलाले गत बैशाख १ गते ७ महिनाको प्रेम सम्बन्धपछि विवाह गरेका थिए । मनोजले श्रीमतीको हत्यापछि व्यास–४ चिहानडाँडा नजिकैको ह्युम पाइपभित्र बोरामा हालेर फ्याँकेका थिए । अनुसन्धानको क्रममा शवको पहिचान भएपछि सोही आधारमा अनुसन्धान अघि बढाएर श्रीमान मनोजलाई पक्राउ गरेको तनहुँ प्रहरीले जनाएको छ ।
पोखरा: वन रक्षकको परीक्षामा सहभागी भएका जुम्लाका दुई नक्कली परीक्षार्थीलाई कास्की प्रहरीले प्रकाउ गरेको छ । पोखरा महानगरपालिका १५ फुलवारी स्थित गण्डकी प्रदेश तालिम केन्द्रमा सञ्चालन भईरहेको वन रक्षकको परीक्षामा सहभागी भएका जुम्लाका २ जना नक्कली परीक्षार्थीलाई जिल्ला प्रहरी कार्यालय कास्कीले प्रकाउ गरेको हो । लोक सेवा आयोगको विज्ञापन नं.१४५–१५३/०७९/०८० (खुल्ला तथा समावेशी) प्रदेश वन, सेवा जनरल फरेष्ट्रि समूह, सहायक तेस्रो तह वन रक्षक पदको शारीरिक तन्दुरस्ती (शारीरिक परीक्षण,दौड, रुख चड्ने र पौडी ) परीक्षामा सहभागी भएका परीक्षार्थीहरुको कागजात चेकजाँच गर्ने क्रममा जुम्लाका २ नक्कली परीक्षार्थी प्रकाउ परेका हुन् । प्रकाउ पर्नेमा जुम्लाको चन्दनाथ नगरपालिका ९ घर भएका १८ वर्षीय बालक र जुम्लाको सिन्जा गाउँपालिका ३ घर भएका २५ वर्षीय पदम बुढालाई वन रक्षकको परीक्षामा अर्काको नाममा रहेको नागरिकतामा आफ्नो फोटो टाँस गरेर सहभागी भएको आरोपमा प्रहरीले प्रकाउ गरेको हो । प्रकाउ परेका दुवैजनालाई जिल्ला अदालत कास्कीबाट शिक्षा ऐन सम्बन्धि मुद्धामा ५ दिनको म्याद थप गरी अनुसन्धान अगाडि बढाएको कास्की प्रहरीले जनाएको छ ।
दमौली: तनहुँको दमौली बजार नजिक रहेको चिहानडाँडामा एक व्यक्तिको बोराभित्र शव फेला परेको छ । व्यास नगरपालिका–४ स्थित चिहानडाँडा नजिकको नालामा बोराभित्र शव आज फेला परेको हो । प्रहरी टोली घटनास्थलमा पुगेर अनुसन्धान सुरु गरेको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायब उपरिक्षक मोहनबहादुर खाँणले जानकारी दिए । ‘अहिले शवको पहिचान भइसकेको छैन । टोलीले घटनाको अनुसन्धान थालिसकेको छ,’ नायब उपरिक्षक खाँणले भने ।
काठमाडौं: प्रहरीले काठमाडौंको ओमबहालस्थित माथेमा चोकमा आफ्नै दाजुमाथि खुकुरी प्रहार गरी हत्या गरेको आरोपमा भाइलाई पक्राउ गरेको छ । दाइको टाउकोमा खुकुरी प्रहार गरी भागेका २५ वर्षीय सुरज शाक्इलाई आज बिहान पौने १० बजे काठमाडौं महानगरपालिका वडा नम्बर २५ सिघलमा लुकिछिपी बसेको अवस्थामा पक्राउ गरिएको हो । घरायसी विवादको क्रममा गएराती ४५ वर्षीय दाजु सूर्य शाक्यको टाउकोमा खुकुरी प्रहार गरेका थिए । त्यसपछि उनी घरबाट रातारात भागेका थिए । घरका अन्य सदस्यहरु सुतेकाले सूर्यमाथि खुकुरी प्रहार भएको थाहा नपाएको जनसेवा प्रहरीका डिएसपी भेषराज रिजालले जानकारी दिए । उनका अनुसार आज बिहान ८: २० बजे मात्र घरका सदस्यहरुले सूर्यलाई घरमै मृत अवस्थामा फेला पारेका थिए । पक्राउ परेका सुरजमाथि थप अनुसन्धान भइरहेको छ भने शवलाई पोष्टमार्टमका लागि त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा पठाइएको प्रहरीले जनाएको छ ।
महोत्तरी: २१ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा बर्दिबास नगरपालिका–१० खैरबना बस्ने ४५ वर्षीय सोम बहादुर थिङ रहेका छन् । उनलाई हिजो (सोमबार) दिउँसो इलाका प्रहरी कार्यालय बर्दिबासबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको हो । थिङमाथि ती महिलालाई बर्दिबास नगरपालिका–१० खैरबनास्थित खैरबना झोरा खोला छेउको झार जंगलमा बलात्कार गरेको भन्दै उजुरी परेको थियो । पक्राउ परेका थिङमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
गलकोट: आठ वर्षीय एक बालकलाई अप्राकृतिक मैथुन गरेको अभियोगमा बागलुङको बडिगाड गाउँपालिका–७ का १९ वर्षीय इमानसिंह रानालाई १२ वर्ष छ महिना कैद भुक्तान गर्न जिल्ला अदालतले आदेश दिएको छ । अप्राकृतिक मैथुन गरेको पुष्टी गर्दै जिल्ला न्यायाधीश दिवाकर भट्टको इजलासले सो कैदसँगै रु ४० हजार जरिवानासमेत भराउन आदेश दिएको अदालत इजालाश अधिकृत गङ्गाधर सापकोटाले जानकारी दिनुभयो । निज रानाले २०७९ साउन २० गते अप्राकृतिक मैथुन गरेको अभियोगमा पीडित बालकका अभिभावकले साउन २२ गते जिल्ला प्रहरी कार्यालय बागलुङमा उजुरी दिएका थिए । प्रहरीले सोही दिन उनलाई आफ्नै घरबाट गिरफ्तार गरेर भदौ १३ गते उक्त अदालत बागलुङमा मुद्दा दर्ता गरेको थियो ।