विराटनगर: २०६४ सालमा धरानमा भएको सामूहिक बलात्कारपछि हत्यामा संलग्न भएको आरोपी दुई जना १६ वर्षपछि पक्राउ परेका छन् । इलाका प्रहरी कार्यालय धरानका डीएसपी नवराज मल्लका अनुसार २०६४ साल मंसिर २३ गते धर्मशालाको कोठामा विभत्स अवस्थामा मृत भेटिएकी महिलाको बलात्कारपछि हत्या गरेको आरोपमा धनकुटा शहीदभूमि गाउँपालिका १ धापका ५६ वर्षीय चन्द्रबहादुर राई र सोही स्थानका ४४ वर्षीय कल्पन राई पक्राउ परका हुन् । घटना हुँदा चन्द्रबहादुर ४० र कल्पन २८ वर्षका थिए । दुवैले घटनामा आफ्नो संलग्नता स्वीकार गरेको डीएसपी मल्लले बताए । २०६४ साल मंसिर २३ गते बेलुका तत्कालीन धरान नगरपालिका ५ (हाल धरान १२) मा रहेको बलभद्रेश्वर अरुणोदय धर्मशालाको कोठा नम्बर २१८ मा २५ वर्षीय ललिता राईको शव विभत्स अवस्थामा फेला परेको थियो । धरान १० बेलगाछी बस्ने उनको शव सडेको अवस्थामा फेला थियो । घटनापछि मुस्किलले मृतकको पहिचान गरेको प्रहरीले आरोपीलाई पक्राउ गर्न सकेको थिएन् । आरोपीको स्पष्ट ‘क्लु’ नभेटेको र किटानी जाहेरी पनि नपरेपछि घटनाको फाइल थन्किएको थियो । करिब दुई महिनाअघि फाइल खोलेर अनुसन्धान सुरु गरेको प्रहरीले बलात्कारपछि हत्यामा संलग्न भएको आरोपमा दुई जनालाई पक्राउ गरेको हो । ‘पेन्डिङ फाइल खोल्ने डीआइजी र एसपी सापको निर्देशन अनुसार यो फाइल खोलेका थियौं,’ तीन महिनाअघि धरान हाजिर भएका डीएसपी मल्लले भने,’ पुरानो फाइल खोलेर अनुसन्धान गर्दा आरोपीसम्म पुग्यौं ।’ प्रहरीका अनुसार पक्राउ परेका दुवै जना साथी हुन् । मिसिल अध्ययन गरी विगतमा रोकिएको स्थानबाट अनुसन्धान सुरु गरेको प्रहरी शंकास्पद व्यक्ति खोज्दै धनकुटा पुगेको थियो । सुरुमा चन्द्रबहादुरलाई पक्राउ गरेको प्रहरीले लगतै कल्पनलाई पनि पक्राउ गरेको हो । प्रहरीका अनुसार ललिता श्रीमानसँग सम्बन्ध बिग्रिएपछि माइतमा बस्दै आएकी थिइन् । उनको प्रेम सम्बन्ध चन्द्रबहादुरसँग थियो । महिलालाई चन्द्रबहादुरले २०६४ मंसिर १९ गते धर्मशालामा बोलाएका थिए । महिलालाई लगेपछि उनले आफ्ना साथी कल्पन राईलाई पनि बोलाएर करणी गरेको प्रहरीको भनाइ छ । प्रहरीका अनुसार धर्मशालामा दुई वटा कोठा बुक गरेर एउटामा चन्द्रबहादुर र ललिता र अर्कोमा कल्पन बसेका थिए । चन्द्रबहादुरले कल्पनलाई कोठामा बोलाएपछि दुवै जनाले पालैपालो करणी गरे । महिलाले प्रतिकार गरेपछि पोल खुल्ने डरले घाटी थिचेर हत्या गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको प्रहरीले बताएको छ । हत्यापछि कोठामा नै शव छाडेर उनीहरु फरार भएका थिए । डीएसपी मल्लका अनुसार त्यसबेला चन्द्रबहादुर शंकाको घेरामा थिए । तर पक्राउ परेका थिएनन् । उनी भागेर भारत गएर बसेको देखिएको डीएसपी मल्लले बताए । शंकास्पद नदेखिएका कारण कल्पन भने भागेको नदेखिएको उनले बताए ।
चितवन: चितवनमा आफूलाई ‘विशेष प्रहरी’ भनेर परिचय पत्र देखाउँदै हिँड्ने चार जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा भरतपुर महानगरपालिका–५ का २२ वर्षीय खुमबहादुर थापा, राप्ती नगरपालिका–८ का १९ वर्षीय सच्चीन ज्ञवाली, रत्ननगर नगरपालिका–५ का २३ वर्षीय सञ्जीवकुमार मिश्र र खैरहनी नगरपालिका–१३ का २४ वर्षीय सुजन सिलवाल रहेका छन् । उनीहरुलाई खैरहनी नगरपालिका र भरतपुर महानगरपालिकाबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक रामेश्वर कार्कीले जानकारी दिनुभयो । आफू विशेष प्रहरी भन्दै सामाजिक सञ्जालमा कुरा गर्ने तथा व्यवसायीलाई धम्क्याउने गरेको पाइएको उहाँले बताउनुभयो । भरतपुर महानगरपालिका–१२ मालपोत चोकको प्रिन्टिङ प्रेसमा कार्यरत थापाले नक्कली विशेष प्रहरीको परिचय पत्र बनाउने गरेको खुलेको छ । उनीहरुले केन्द्रीय अनुसन्धान ब्यूरोको परिचयपत्र समेत बनाएको कार्यालयले जनाएको छ । पक्राउ परेका चारैजनालाई जिल्ला अदालतबाट म्याद थप गरी अनुसन्धान सुरु गरिएको एसपी कार्कीले बताउनुभयो । उनीहरुलाई मुलुकी अपराध संहिताको लिखदसम्बन्धी कसुरमा म्याद थप गरिएको छ । सो मुद्दामा सात वर्षसम्म कैद र रु ७० हजारसम्म जरिवानाको व्यवस्था छ ।
ललितपुर: गैंडाको खाग (ओखेटोपहार)सहित ३ जना पक्राउ परेका छन् । प्रहरीका अनुसार पक्राउ पर्नेहरूमा चितवन राप्ती नगरपालिका–५ भवानीपुर घर भई ललितपुर एकान्तकुना बस्ने २८ वर्षीय रोशन घिमिरे, २४ वर्षीय युवराज घिमिरे र धादिङ बेनिघाट रोराङ गाउँपालिका–२ घर भई काठमाडौं नयाँबजार बस्ने २८ वर्षीय वीरेन्द्र तामाङ रहेका छन् । प्रहरीले उनीहरुलाई ललितपुर महानगरपालिका–४ स्टिलटावर चोक नजिकबाट २ सय ९७ मिलिग्राम तौल भएको गैंडाको खाग (ओखेटोपहार)सहित ३ जनालाई मंगलबार पक्राउ गरेको हो । पक्राउ परेका उनीहरुले गैंडाको खाग खरिद बिक्री गरिरहेको सूचनाका आधारमा उक्त खागसहित पक्राउ गरिएको प्रहरीले जनाएको छ । पक्राउ परेका उनीहरूलाई थप अनुसन्धान तथा कारबाहीको लागि डिभिजन वन कार्यालय गोदावरी ललिपुरमा पठाइएको छ ।
नक्कली भुटानी शरणार्थी प्रकरणमा मुछिएका नेकपा एमालेका नेता गत आइतबार बियरको चुस्कीमा रमाइरहेकाबेला बुढानिलकण्ठको पासिकोट क्षेत्रबाट पक्राउ परेका हुन् । नेपाल प्रहरीको विशेष ब्यूरोबाट प्राप्त जानकारी अनुसार त्यस साँझ निकै ठूलो हावाहुरी चलिरहेको थियो । सोहीबेला ब्यूरोको टोलीले पाएको सूचनाको आधारमा रायामाझीलाई पक्राउ गर्न टोली खटिएको थियो । पौडेल थरका आफन्तको घरमा लुकिबसेका रायामाझी प्रहरी पुग्दा बियरको चुस्कीमा रमाइरहेका थिए । उनी बियरमा रमाउँदै नक्कली भुटानी शरणार्थीबारे समाचार र जानकारी लिइरहेको ब्यूरो स्रोतले जनाएको छ । शनिबार पोखराबाट काठमाण्डौं पुगेका रायामाझी २४ घण्टा नबित्दै पक्राउ परेका हुन् । उक्त क्षेत्रमा धेरै घर नरहेको र अर्काे एक २ तले घर रहेको बताइएको छ । उक्त २ मध्ये कुन घरमा लुकेको हुनसक्छन् भनेर प्रहरीले रेकी गरेको बताइएको छ । रेकी र अन्य सूचनाको आधारमा ३ तले घरमा रायामाझी रहेको कन्फर्म भएपछि प्रहरीले उक्त घर घेरेर साँझपख भित्र पसेको थियो । सामान्य बल प्रयोग गरी भित्र पस्दा रायामाझी अन्य चार जनासँग बियरको तालमा मस्त थिए । पक्राउपछि उनको स्वास्थ्य जाँच गर्न तिनकुनेस्थित कान्तिपुर अस्पताल पु¥याइएको थियो । बोली लर्बरिएको र धुत्त अवस्थामा समातिएका रायमाझीले अस्पतालमा बियर पिएको स्वीकारेका थिए । त्यसपश्चात् प्रहरीको टोलीले उनलाई महानगरीय प्रहरी परिसर टेकु लगेको थियो । त्यसयता त्यहीबाट उनको मुद्दा अघि बढेको छ भने सोमबार राती १० बजे उनको बयान सकिएको छ । प्रहरीसँग ‘आफै उपस्थित हुन्छु’ भनेर टाप कसेका रायामाझीले १० दिनसम्म झुक्याउन सफल भएपनि अन्ततः प्रहरीको विशेष ब्यूरोले पक्रन सफल भएको हो । यस प्रकरणमा पक्राउ परेका १४ जनामध्ये सापकोटा पदीय हिसाबले उच्च ओहदामा रहिसकेका छन् । रायमाझी नेकपा एमालेको सचिव र पूर्वउर्जामन्त्री हुन् ।
तनहुँ: तनहुँमा सामान र नगद चोरी गरेको आरोपमा दुई युवक पक्राउ परेका छन् । तनहुँ प्रहरीका अनुसार पक्राउ पर्नेमा म्याग्दे गाउँपालिका–१ पाँचधारे घर भई व्यास नगरपालिका–५ बरबोटे बस्ने २४ वर्षीय समिर थापा मगर र म्याग्दे गाउँपालिका–१ दमुङ रुमादी बस्ने २३ वर्षीय दुर्ग बहादुर बिक रहेका छन् । पक्राउ परेका उनीहरुले वैशाख २९ गते राति म्याग्दे गाउँपालिका–१ रुमादी बस्ने ७५ वर्षीय शिव कुमार श्रेष्ठको घरबाट विभिन्न सामान तथा सोही गाउँपालिका–१ ठुलोढापमा बस्ने ६९ वर्षीय लक्ष्मण तामाङलाई धारिलो हतियार देखाई कुटपिट गरी नगद ४६ हजार ६० रुपैयाँ चोरी गरेका थिए । उनीहरुविरुद्ध उजुरीपरेपछि पक्राउ परेका थिए । उनीहरुको साथबाट चोरीका सामान र नगद बरामद गरेको प्रहरीले जनाएको छ । उनीहरुमाथि जिल्ला अदालत तनहुँबाट म्याद थप गरी आवश्यक अनुसन्धान गरिरहेको छ ।
सुनसरी: प्रहरीले धरानबाट दुई थान स्वचालित पेस्तोलसहित तीन युवालाई पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा धरान– १७ डाँडाघोपा बस्ने २९ वर्षीय हुकमेन जिमी, २४ वर्षीय दिपक जिमी र धरान– १५ बाझगरास्थित सहिदमार्ग बस्ने २४ वर्षीय रोहित राई रहेका छन् । इलाका प्रहरी कार्यालय धरानका प्रहरी नायब उपरीक्षक नवराज मल्लका अनुसार विशेष सूचनाको आधारमा उनीहरुलाई आइतबार पक्राउ गरिएको हो । उनीहरुका साथबाट मेड इन इटाली लेखेको स्वचालित पेस्तोल १ थान र विवरण उल्लेख नभएको एक थान पेस्तोल र त्यसमा प्रयोग हुने म्यागेजिन गरेको प्रहरीले जनाएको छ ।
काठमाडौं: भारतको आसाममा नाबालिग बेचबिखन गरेको आरोपमा एक महिला पक्राउ परेकी छिन् । प्रहरीका अनुसार पक्राउ पर्नेमा म्याग्दीको रघुगंगा गाउँपालिका–३ का ३० वर्षीया अप्सरा भनिने एलिना खत्री रहेकी छिन् । खत्रीलाई अनुसन्धानको क्रममा मानव बेचबिखन अनुसन्धान ब्यूरो बबरमहलबाट खटिएको प्रहरीले जिल्ला प्रहरी कार्यालय झापाको समन्वयमा झापाबाट पक्राउ गरेको हो । पीडित नाबालिगलाई नुवाकोटबाट काठमाडौं बसमा जाने क्रममा बसमा सँगै रहेका एक पुरूषले बेहोस हुने औषधि मिसावट खानेकुरा र पानी खुवाएर भारत लगिएको अनुसन्धानबाट खुलेको छ । बेहोस भएपछि ति नाबालिगलाई भारतको आसामस्थित कछर सिल्चर भन्ने ठाउँको रेड लाइट एरियामा बेचबिखन गरी जबरजस्ती वेश्यावृत्तिमा लगाई राखेको अवस्थामा नेपाल प्रहरी, भारतीय प्रहरी र माईती नेपालको सहयोगमा ती नाबालिगको उद्दार गरिएको थियो । पक्राउ परेका खत्रीमाथि जिल्ला अदालत काठमाडौंबाट ५ दिन म्याद थप गरी अनुसन्धान भइरहेको छ भने सो कसूरमा संलग्न अन्य फरार प्रतिवादीहरूकोसमेत खोजी भइरहेको प्रहरी जनाएको छ ।
काभ्रेपलाञ्चोक: पनौतीमा रहेको सामुदायिक सहकारी संस्थामा चोरी गरी फरार रहेका मकवानपुरका दुई जनालाई प्रहरीले आज मङ्गलवार पक्राउ गरेको छ । पनौती नगरपालिका–७ मा रहेको पनौती सामुदायिक सहकारी संस्थामा चोरी गरी ३३ लाख रुपैयाँ लिएर फरार भएकालाई मकवानपुरको इन्द्रसरोवर गाउँपालिकाबाट पक्राउ गरिएको प्रहरीले जनकारी दिएका छन् । वैशाख १७ गते सहकारीबाट पैसा चोरी गरी फरार भएका मकवानपुरको इन्द्रसरोवर गाउँपालिका–५ का ३० वर्षीय अशोक रुम्बा र ३५ वर्षीय अकवर लामालाई विशेष सूचनाका आधारमा पक्राउ गरेको मकवानपुरका प्रहरी प्रवक्ता टेकबहादुर कार्कीले जानकारी दिएका थिए । उनीहरूको साथबाट पाँच लाख ४५ हजार रुपैयाँ, एक नाले भरुवा बन्दुक र रडसमेत बरामद गरिएको कार्कीले बताए ।
काठमाडौँ: नेपाल आयल निगमले तोकिएभन्दा बढी पेट्रोल ढुवानी गर्ने ट्याङ्कर चालकलाई पेट्रोलियम पदार्थ ढुवानीमा रोक लगाएको छ । निगमबाट २० हजार लिटर पेट्रोलको खरिद आदेश लिएको सो ट्याङ्करले इण्डियन आयल कर्पोरेसन आइओसी बाट तोकिएको परिमाणभन्दा बढी पेट्रोल ल्याएको पाइएपछि निगमले ट्याङ्करका चालक र सहचालकलाई निगमको सम्पूर्ण डिपोमा सधैँका लागि पेट्रोलियम पदार्थ ढुवानीमा बन्देज लगाइएको हो । रुपन्देहीस्थित श्री एक्सप्रेस परिवहन सेवा प्रालिले सञ्चालनमा ल्याएको उक्त ट्याङ्करलाई तीन महिनाका लागि निलम्बन गरिएको निगमका प्रवक्ता मनोजकुमार ठाकुरले जानकारी दिएका छन् । लु२ख ४८३९ नम्बरको सो ट्याङ्करले निगमसँग सम्झौता गरी बेतलापुर–भैरहवा रुटमा पेट्रोल ढुवानी गर्ने गरेको थियो । आइओसीबाट पेट्रोल ल्याउने क्रममा भैरहवा भन्सार कार्यालयमा जाँच गर्दा आइओसीबाट जारी भएको खरिद बिलमा उल्लेखित परिमाणभन्दा तीन हजार लिटर बढी पेट्रोल ढुवानी गरेको पाइएको थियो । तोकिएभन्दा बढी पेट्रोल ढुवानी गरेको भेटिएसँगै उक्त ट्याङ्करलाई भन्सार कार्यालयले नियन्त्रणमा लिई पेट्रोल चोरीपैठारी कसुरमा कारबाही अगाडि बढाएको छ । रासस