ढल्केबर: धनुषाको मिथिला नगरपालिका–९, बडहरीका २५ वर्षीय युवा शङ्कर महतोमाथि शुक्रवार बिहान छुरा प्रहार भएको छ । छुरा प्रहारबाट महतो गम्भीर घाइते भएका छन् । उनको उपचार धनुषाको रमदैयास्थित जानकी मेडिकल कलेजमा भइरहेको प्रहरीले जानकारी दिएको छ । इलाका प्रहरी कार्यालय ढल्केबरका प्रहरी निरीक्षक कविन राईले छुरा प्रहार घटनाको पुष्टि गर्नुहुँदै अनुसन्धानको क्रममा तीन जनालाई नियन्त्रणमा लिइएको बताउनुभयो । उहाँले घटनासम्बन्धी थप अनुसन्धान भइरहेको जानकारी दिनुभयो ।
दमक: दमकमा नक्कली नोट र लागूऔषध कारोबार गर्दै आएका दाजुभाइलाई प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय झापाका अनुसार बिर्तामोड–४ मेघाबारीबाट एकै परिवारका दुईलाई नक्कली नेपाली र विदेशी नोटसहित पक्राउ गरेको छ । प्रहरीलाई प्राप्त सूचनाका आधारमा बुधबार साँझ खानतलासी गर्दा नेपाली एक हजार दरका काटिएका ६० थान, नकाटिएका २८ थान, पाँच सय दरका दुई थान र अष्ट्रेलियन एक सय दरका तीन थान नक्कली नोटसहित स्थानीय सुवास ताजपुरिया र १९ वर्षीय प्रवीण ताजपुरियालाई प्रहरीले पक्राउ गरेको हो । दाजुभाइ मिलेर आफ्नै घरैबाट नक्कली नोटको कारोबार गर्दै आएको र उनीहरुलाई घरबाट नै पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता खगेन्द्रप्रसाद रिजालका अनुसार प्रतिबन्धित लागूऔषध, सक्कली नेपाली तीन हजार रुपियाँ, मोबाइल चार थान र एकथान मोटरसाइकल प्रहरीले बरामद गरेको छ ।
काठमाडौं: अनलाइनमार्फत १५ लाख २० हजार रुपियाँ ठगी गरेको अभियोगमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा ललितपुर महालक्ष्मी नगरपालिका-१ की ३६ वर्षीया अन्जली बिसुन्के हुनुुहुन्छ । अन्जलीले पीडितलाई सामाजिक सञ्जाल टिकटकमार्फत साथी बनाई आफूलाई इंगल्याण्डको नागरिक बताएको र नेपाल आएपछि विवाह गरी इंगल्याण्ड लैजाने प्रलोभन देखाएको प्रहरीले जनाएको । साथै जुत्ता, ब्याग, आइफोन, सुनका गरगहनाहरू र ७० हजार अमेरिकी डलर समेतको गिफ्ट पठाइदिने र यसका लागि कुरियरले सम्पर्क गर्छ भनी फोटो भिडियोसमेत पठाएर पीडितलाई विश्वास दिलाएको अनुसन्धानबाट देखिएको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवनले जनाएको छ । त्यस्तै, कुरियर कार्यालयबाट पार्सल पाउनका लागि Anti-money laundering certificate, डेलिभरी चार्ज, भन्सार शुल्क, इन्सुरेन्स चार्ज, क्लिरियन्स चार्ज जस्ता प्रयोजनमा रकम तिर्नुपर्छ भनी पीडितलाई विभिन्न व्यक्तिको नाममा रहेको बैंक खातामा पटकपटक गरी उक्त रकम पठाउन लगाई ठगी गरेको उजुरीको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय मीनभवनबाट खटिएको प्रहरीले अन्जलीलाई पक्राउ गरेको हो । अन्जलीलाई ठगी सम्बन्धी कसुरमा आवश्यक अनुसन्धान एवम् कारबाहीका लागि जिल्ला प्रहरी परिसर टेकु काठमाडौंमा पठाइएको छ ।
क्रोएसिया पठाइदिने भन्दै ठगेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ। काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले एक जनालाई पक्राउ गरेको प्रवक्ता एवं एसपी सोमेन्द्रसिंह राठौरले जानकारी दिए। काभ्रे रोशी गाउँपालिका-८का ४६ वर्षीय मेघलाल तामाङलाई प्रहरीले सोमबार काठमाडौं-३१ मिनभवनबाट पक्राउ गरेको हो। उनले तीन जनालाई क्रोएसिया जान प्रतिव्यक्ति ७ लाख लाग्ने बताएका थिए। त्यसरी मासिक एक लाख भन्दा धेरै तलब हुने भन्दै उनीहरूबाट १५ लाख ठगेको आरोप छ। रकम लिएर फरार भएका उनलाई प्रहरीले पक्राउ गरी कारबाहीको लागि वैदेशिक रोजगार विभाग बुद्धनगरमा पठाएको छ।
काठमाडौं : नेपाल प्रहरीले विभिन्न स्थानबाट अवैध लागूऔषधसहित नौ जना पक्राउ गरेको छ। काठमाडौं महानगरपालिका-४ सुकेधारा टोयटा पार्कबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ करिब १६ ग्रामसहित २ जनालाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको हो। पक्राउ पर्नेहरुमा धनुषा धनुषाधाम नगरपालिका-६ हरिपुर घर भई काठमाडौं आलोकनगर बस्ने २१ वर्षीय सन्तोष राज महतो र सोही ठाउँ बस्ने २१ वर्षीय नितेश महतो रहेका छन्। प्रहरी वृत्त महाराजगंजबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थसहित फेला पारी पक्राउ गरेको हो। यसैगरी नागार्जुन नगरपालिका-५ छक्डोल बस्ने ३७ वर्षीय हरि पुतुवारलाई अवैध लागूऔषध गाँजा जस्तो देखिने पदार्थ करिब १० किलोग्रामसहित बिहीबार राति प्रहरीले पक्राउ गरेको छ। उनको घरमा गाँजा विक्री भइरहेको भन्ने सूचनाको आधारमा प्रहरी वृत्त स्वयम्भूबाट खटिएको प्रहरीले उनले ड्रममा राखी टहरोमा गाडेको अवस्थामा उक्त गाँजा फेला पारी उनलाई पक्राउ गरेको हो। कैलालीको धनगढी उपमहानगरपालिका-९ बङग्राकटानबाट अवैध लागूऔषध ब्राउनसुगर २ सय २० मिलिग्रामसहित सोही उपमहानगरपालिका-८ धनगढी गाउँ बस्ने २८ वर्षीय उमेश रानालाई बिहीबार साँझ प्रहरीले पक्राउ गरेको छ। अस्थाई प्रहरी पोष्ट जुगेडा र र बीओपी बङग्राकटानबाट संयुक्त रुपमा खटिएको प्रहरीले जाँच गर्ने क्रममा उक्त ब्राउनसुगरसहित फेला पारी उनलाई पक्राउ गरेको हो। झापाको बिर्तामोड नगरपालिका-२ बस्ने २० वर्षीय विश्वास संग्रौला, सोही नगरपालिका-४ बस्ने २० वर्षीय अभिषेक शर्मा र सोही नगरपालिका-८ बस्ने २० वर्षीया अनिशा मण्डललाई अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ८ ग्राम, नगद ११ हजार ६ सय रुपैयाँ र डिजिटल तराजु १ थानसहित बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ। लागूऔषध नियन्त्रण ब्यूरो काँकडभिट्टाबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा उक्त लागूऔषधसहित फेला पारी उनीहरूलाई पक्राउ गरेको हो। सुनसरीको दुहबी नगरपालिका-५ फुटबल चोकबाट अवैध लागूऔषध खैरो हेरोइन ८ ग्राम ७ मिलिग्रामसहित २ जनालाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेहरूमा झापा कमल गाउँपालिका-३ बस्ने २७ वर्षीय अर्जुन सुब्बा र शिवसताक्षी नगरपालिका-८ बस्ने २१ वर्षीय मुकेश चौधरी रहेका छन्। सिआरभी दुहबीबाट खटिएको प्रहरीले बिराटनगरबाट ईटहरीतर्फ आउँदै गरेको मे.११ प ६१७८ नम्बरको स्कुटरलाई जाँच गर्ने क्रममा उक्त खैरो हेरोइनसहित स्कुटर चालक अर्जुन र स्कुटरमा सवार मुकेशलाई पक्राउ गरेको हो। प्रहरीले उनीहरुमाथि आवश्यक अनुसन्धान गरिरहेको छ।
काठमाडौं: वैदशिक रोजगारमा पठाइदिन्छु भन्दै ठगी गरेको आरोपमा काठमाडौंबाट एक व्यक्तिलाई प्रहरीले प्रकाउ गरेको छ । मकवानपुर मनहरी गाउँपालिका २ घर भई हाल काठमाडौं महानगरपालिका १४ मा बस्दै आएका वर्ष २८ वर्षीय आदेश तामाङलाई प्रहरीले प्रकाउ गरेको हो । केएचएम रिक्वायरमेन्ट ग्रुप नामक नक्कली मेनपावर सञ्चालन गरी १ सय जना भन्दा बढि व्यक्तिहरुलाई मलेसियामा रहेको टेलिप्लेक्स मेडिकल एसडिएन र बिएसडिको कम्पनिमा आकर्षक तलबमा पठाई दिन्छौँ भनि रकम लिई ठगी गरको आरोपमा तामाङलाई प्रकाउ गरिएको प्रहरीले जनाएको छ । तामाङले सञ्चालन गरेको केएचएम रिक्वायरमेन्ट ग्रुपमा खान तलासी गर्दा विभिन्न व्यक्तिहरुको राहदानी ९० थान, केएचएमको छाप १ थान र एसिइआर कम्पिनीको सिपीयु २ थान सहित विभिन्न कागजातहरु बरामद गरेको छ । प्रकाउ परेका तामाङलाई ठगी सम्बन्धी कसुरमा आवश्यक कारवाहीको लागि जिल्ला प्रहरी परिसर टेकु काठमाडौं पठाएको छ ।
काठमाडौं: ललितपुर महानगरपालिका शिक्षा महाशाखामा कार्यरत शिक्षा अधिकृत शेषकान्त पौडेल एक लाख घुससहित पक्राउ पर्नुभएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोग टंगालबाट खटिई गएका टोलीले शिक्षा अधिकृत पौडेललाई एक लाख घुससहित आज (बिहीबार) पक्राउ गरेको हो । आयोगका सहायक प्रवक्ता देवीप्रासद थपलियाले शिक्षक सरुवा गर्न सहजीकरण गरिदिए वापत सेवाग्राहीसँग घुस माग गरिरहेको भन्ने सूचना एवम् उजुरी निवेदनका आधारमा पौडेललाई पक्राउ गरेको जानकारी दिनुभयो । सहायक प्रवक्ता थपलियाका अनुसार पौडेललाई घुस लिइसकेको अवस्थामा उक्त रकमसहित उहाँकै कार्य कक्षबाट आयोगको टोलीले नियन्त्रणमा लिइएको हो । यसबारे थप अनुसन्धान भइरहेको सहायक प्रवक्ता थपलियाले बताउनुभयो ।
बेनी : म्याग्दीको बेनीबाट लागूऔषधसहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ। रघुगंगा गाउँपालिका-७ का २८ वर्षीया सोबिता बागदास र बेनपा-९ घतानका ३२ वर्षीय प्रेम सार्की लागूऔषधसहित बेनीबाट बुधबार राती पक्राउ परेका हुन्। उनीहरूलाई जिल्ला प्रहरी कार्यालयले बिहीबार पत्रकार सम्मेलन गरी सार्वजनिक गरेको छ। बागदास र सार्की म्याग्दीको सदरमुकाम बेनी बजारसँगै सिमाना जोडिएको पर्वतको जलजला गाउँपालिका-३ मा बस्दै आएका थिए। उनीहरूको साथबाट २०० एम्पुल डाईजोपाम, २०१ एम्पुल फेनेरागन र २०० एम्पुल नुर्फिन बरामद भएको प्रहरी नायव उपरीक्षक मदन कुँवरले जानकारी दिए। ‘प्रहरीले पछिल्लो तीन वर्षयता उनीहरूबाट ठूलो परिणाममा लागूऔषध बरामद भएको छ,’ उनले भने ‘जिल्ला अदालत म्याग्दीबाट १० दिनको म्याद थप गरेर अनुसन्धानका लागि हिरासतमा राखिएको छ।’ उनीहरूले भारतको सिमानाबाट लागूपदार्थ ल्याएर म्याग्दीको विभिन्न ठाउँमा बिक्री गर्ने गरेको प्रारम्भिक अनुसन्धानका क्रममा खुलेको प्रनाउ कुँवरले बताए।
बागलुङ: जिल्ला अदालत बागलुङले १२ वर्षीय बालिकालाई बलात्कार गरी गर्भवती बनाएको अभियोगमा पक्राउ परेको एक जना ७५ वर्षीय वृद्धलाई १२ वर्ष कैद सजाय तोकेको छ । जिल्ला न्यायाधीश डा. दिवाकर भट्टले फागुन २३ गतेको अन्तिम आदेशले अभियोग दाबी पुग्ने भन्दै आरोपितलाई कैदसँगै ३० हजार रुपियाँ क्षतिपूर्तिको फैसला गरेको हो । निसीखोला गाउँपालिकाका वृद्धले गत वर्षको चैत ५ गते बालिकालाई बलात्कार गरेको भन्दै पीडित पक्षले गत जेठ ३१ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएका थिए । प्रहरीले आराेपीविरुद्ध गत असार २३ गते जिल्ला अदालत बागलुङमा जबरजस्ती करणी कसुर शीर्षकमा मुद्दा दर्ता गरेको थियो । आरोपितलाई अदालतले असार २३ गते पुर्पक्षका लागि कारागार पठाएको इजालास अधिकृत गङ्गाधर सापकोटाले बताउनुभयो ।