काठमाडौं: वैदेशिक रोजगारीको सिलसिलामा विदेशमा ज्यान गुमाएका तथा बिदामा आउँदा ज्यान गुमाएका नेपालीहरूले प्राप्त गर्ने बीमा रकम ठगी गर्ने छ जनालाई प्रहरीले पक्राउ गरेको छ । शुक्रवार नेपाल प्रहरीको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले पत्रकार सम्मेलन गर्दै ठगी गर्ने ६ जनालाई सार्वजनिक गरेको हो । वैदेशिक रोजगारीका लागि विदेशमा काम गर्दागर्दै विविध कारणले ज्यान गुमाएका तथा बिदामा नेपाल आउँदा ज्यान गुमाएका भएका नेपालीहरूले बीमाबापत पाउने रकम मृतकका आफन्तहरूलाई केहीमात्रै दिई अन्य रकम आफूले नै ठग्ने गिरोहका छ जनालाई पक्राउ गरी सार्वजनिक गरिएको हो । प्रहरीले चैत २३ गते दिउँसो काठमाडौंको गोङ्गबुबाट रामबहादुर तामाङसमेत छ जनालाई पक्राउ गरी कारबाहीको प्रक्रिया अघि बढाएको काठमाडौं उपत्यका अनुसन्धान कार्यालयका प्रहरी वरिष्ठ उपरीक्षक डा. मनोजकुमार केसीले जानकारी दिए । उनले पक्राउ परेका तामाङको साथबाट मृतक व्यक्तिहरूको नागरिकता, राहदानी, जन्मदर्ता, मृत्युदर्ता, विवाह दर्ता, वडा कार्यालयको सिफारिस, बीमा कम्पनीको लेटरप्याड लगायतका महत्त्वपूर्ण कागजात फेला पारी उनीहरूलाई ठगीसम्बन्धी कसुरमा आवश्यक कारबाहीका लागि जिल्ला प्रहरी परिसर टेकु पठाइएको बताए । पक्राउ पर्नेमा काभ्रेपलाञ्चोकको रोशी गाउँपालिका-१२ का ४१ वर्षीय रामबहादुर तामाङ, सर्लाहीको लालबन्दी नगरपालिका-८ का ३४ वर्षीय विनोदकुमार लामा, त्यही ठाउँकै ४० वर्षीय डिकबहादुर मल्ल, ३५ वर्षीय रविन्द्र मोक्तान, ३५ वर्षीय प्रकाशबहादुर गोले र सर्लाहीको हरिवन नगरपालिका-२ का ३९ वर्षीय रुद्रमान गोले रहेका छन् । प्रहरी वरिष्ठ उपरीक्षक केसीले विदेशबाट पठाइएका मृतक शवको बीमामा ठगी गर्न यस्तो गिरोह नै रहेको र उनीहरूले मृतकका परिवारलाई वासस्थानमा नै गई भेट्ने र बीमामा आधाभन्दा बढी रकम ठगी गर्ने गरेको पाइएको बताए । उनीहरूले मृतकको शव आइसकेपछि मृतकका परिवारलाई काठमाडौंमा बीमाको रकम लिन बोलाउने र कोठामा थुनी आधाभन्दा बढी रकम ठगी गर्ने गरेको देखिएको बताए । उनका अनुसार गिरोहका सदस्यहरू विदेशमा ज्यान गुमाएका व्यक्तिको शव आउने दिन विमानस्थलसम्म पुग्ने गरेको र बीमाको रकम उपलब्ध गराइदिने आश्वासन दिने गरेको पाइएको प्रहरीले जनाएको छ ।
काठमाडौं : प्रहरीले विभिन्न स्थानबाट लागुऔषधसहित ६ जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा धनकुटा साँगुरीगढी -१ लाबरबोटेका २३ वर्षीय सरोज याख्खासहित तीनजना र बर्दिया बढेयाताल गाउँपालिका २ फुटाहबाट २४ वर्षीय दिपक विकसहित ३ जना रहेका छन्। अवैध लागुऔषध गाँजा करिब ६ किलोग्रामसहित याख्खाको समूहलाई बुधबार राति प्रहरीले पक्राउ गरेको हो। प्रहरी चौकी मुलघाटबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त गाँजासहित फेला पारी पक्राउ गरेको हो । यस्तै ब्राउनसुगरजस्तो देखिने पदार्थ करिब ४ ग्रामसहित बाँके कोहलपुर नगरपालिका-२ बस्ने विकसमेत ३ जनालाई प्रहरीले पक्राउ गरेको हो । प्रहरी चौकी जमुनीबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ पैदल आउँदै गरेका उनीहरूलाई उक्त पदार्थसहित फेला पारी पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
धरान : सशस्त्र प्रहरीले धरानबाट ठूलो परिणामको प्रतिबन्धित लागू औषधसहित एकजनालाई पक्राउ गरेको छ। सशस्त्र प्रहरीको टोलीले बुधबार राती धरान- १६ नौलो बस्तीबाट एक युवालाई पक्राउ गरेको हो। पक्राउ पर्नेमा स्थानीय १८ वर्षीय राजेश परियार रहेको सशत्र प्रहरी बल नेपाल सुरक्षा बेस क्याम्प धरानका प्रमुख सशस्त्र प्रहरी नायव उपरीक्षक सुरज रिजालले बताए। पक्राउ परेका परियारको साथबाट स्पास्पिन ७ सय २३ ट्याब्लेट, ट्रमाडोल ७ सय १८, ट्याब्लेट, गाजा ५० ग्राम र घरेलु हतियार बरामत गरिएको रिजालले बताएका छन्। धरान लागू औषध कारोबारको अखडा बनेपछी सशस्त्र प्रहरीले कारोबारमा संलग्नलाई पक्राउ गर्न विशेष टोली परिचालन गरिएको सप्रनाउ रिजालले बताए। पक्राउ परेका परियारलाई आवश्यक कारवाहीका लागि इलाका प्रहरी कार्यालय धरानमा बुझाइएको रिजालले बताए।
भक्तपुर :चाँगुनारायण नगरपालिका-२ बर्खेबाट अन्दाजी ९ सय ९८ ग्राम तौल भएको सालकको खपेटासहित दुईजनालाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा चाँगुनारायण नगरपालिका-२ बस्ने मकवानपुर हेटौंडा उपमहानगरपालिका-३ घर भएका २२ वर्षीय आसुतोष थपलिया र सिन्धुपाल्चोक त्रिपुरासुन्दरी गाउँपालिका-२ घर भएका २६ वर्षीय अमृत गजमेर रहेका छन् । विशेष सूचनाको आधारमा जिल्ला प्रहरी परिसर भक्तपुरबाट खटिएको प्रहरीले बाग्मती प्रदेश ०२-०२० प ८४९७ नम्बरको मोटरसाइकललाई जाँच गर्ने क्रममा मोटरसाइकलमा सवार उनीहरूलाई उक्त तौलको खपेटासहित फेला पारी पक्राउ गरेको हो । घटनाबारे प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।
काठमाडौं : सर्लाहीको मलंगवा नगरपालिका ८ भन्सार सीमा इलाकाबाट करिब ३ लाख २० हजार नेपाली रुपैयाँसहित एकजनालाई प्रहरीले नियन्त्रणमा लिएको छ। भारत घर भएका २७ वर्षीय राकेश कुमार तिवारीलाई सीमा सुरक्षा गुल्म मलंगवा (बिओपी मलंगवा) ले नगदसहित नियन्त्रणमा लिइएको हो । चेकजाँचका क्रममा उनको साथमा रहेको रकमको श्रोत खुलाउन नसकेपछि नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ। बरामद भएको रुपैयाँमा १ सय दरको २ सयवटा, ५ सय दरको २ सय ७० वटा र १ हजार दरको १ सय ६५ वटा नोट रहेको छ । उनलाई आवश्यक कारबाहीका लागि जिल्ला प्रहरी कार्यालय मलंगवा सर्लाहीमा बुझाइएको प्रहरीले जनाएको छ।
काठमाडौं : संघीय राजधानीमा एक बालिकामाथि सामूहिक बलात्कार भएको छ। प्रहरीका अनुसार सामाजिक सञ्जाल फेसबुकको दुरुपयोग गरी दुई युवकले एक बालिकामाथि सामूहिक बलात्कार गरेको हो। प्रहरीले बलात्कारमा संलग्न दुई जनालाई पक्राउ गरेको छ। काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले सिन्धुपाल्चोक घर भएका २१ वर्षीय आशिष तामाङ र काभ्रेपलाञ्चोक घर भएइका २१ वर्षीया कुशल श्रेष्ठलाई पक्राउ गरेको हो। तामाङले फेक फेसबुक आइडी बनाएर पीडितलाई साथी बनाएका थिए। च्याटका क्रममा ललाइफकाइ पीडित बालिकालाई उनीहरूले भेट्न आग्रह गरेका थिए। उनीहरूले टोखा नगरपालिका-३ ग्राण्डी अस्पताल नजिकै रहेको गेष्ट हाउसमा लगेर जबरजस्ती बलात्कार गरेको प्रहरी अनुसन्धानले देखाएको छ। घटनापछि फरार रहेका उनीहरूलाई काठमाडौंको धापासीबाट पक्राउ गरेको प्रहरी उपरीक्षक रविन्द्र रेग्मीले जानकारी दिए। उनका अनुसार थप अनुसन्धान र कारबाहीका लागि पक्राउ परेका दुई जनालाई प्रहरी वृत्त महाराजगञ्ज पठाइएको छ।
काठमाडौं: फेसबुक ह्याक गरी अश्लिल फोटो, भिडिओ राखेर महिलाको चरित्र हत्या गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ। काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले एक जनालाई पक्राउ गरेको एसपी रविन्द्र रेग्मीले जानकारी दिए। मोरङ धनपालथान गाउँपालिका-४ कर्सिया बस्ने २२ वर्षीय दिपेश लोहनीलाई पक्राउ गरेको हो। अध्ययन गर्न विदेश गएकी महिलालाई दैनिक फोन-मेसेज गरी हैरानी दिएको र फेसबुक आइडी समेत ह्याक गरेको आरोप उनीमाथि छ। आइडी ह्याक गरी अश्लिल फोटो तथा भिडिओ पोष्ट गर्ने, फेसबुकका साथीहरूलाई पठाएर लाइभबाट आत्महत्या गर्ने भन्ने, फसाउने उद्देश्यले पीडित चरित्रहत्या गरेको आरोपमा उनलाई प्रहरीले पक्राउ गरेको हो। उनीमाथि विद्युतीय कारोबार ऐन अन्तर्गत अनुसन्धान अघि बढाएको छ। थप अनुसन्धान गर्न जिल्ला प्रहरी परिसर काठमाडौंमा पठाएको जनाएको छ।
एक साताअघि तनहुँको म्याग्दे गाउँपालिकास्थित पिपलटार खानेपानी ट्यांकीमा ४४ वर्षीया शान्ती श्रेष्ठको शव भेटिएको थियो । धादिङ्ग गंगाजमुना गाउँपालिकाकी श्रेष्ठ पोखराको अमरसिंहचोकमा बस्दै आएकी थिइन् । श्रेष्ठको हत्या आरोपमा प्रहरीले काभ्रे स्थायी घर भई पोखरामै बस्दै आएका चित्र भनिने प्रकाश सुनारलाई पक्राउ गरी अनुसन्धान गरिरहेको छ । तनहुँ प्रहरीका अनुसार प्रारम्भिक अनुसन्धानकैक्रममा सुनारले हत्या गरेको स्वीकारेको बताएको छ । श्रेष्ठको हत्या आरोपमा पक्राउ परेका सुनारले यसअपघि पनि एक महिलाको हत्या गरेको प्रहरीले जनाएको छ । तनहुँ प्रहरीका निरीक्षक भानु शर्माले दिएको जानकारी अनुसार सुनारले यसअघि एक महिलाको हत्या गरेको र सजाय भुक्तान गरी निस्केका हुन् । सुनारको विषयमा अहिले नै पूर्ण जानकारी दिन नमिल्ने प्रहरी निरीक्षक शर्माले बताए । यद्यपि, सुनारको थप जानकारी लिने क्रममा उनले १२ वर्ष अघि (०६७ सालमा) एक महिलाको हत्या गरेकाे पाइएकाे छ। हत्या प्रमाणित भएपछि २० वर्ष सजाय सुनाइएपनि असल आचरणकाकारण १० वर्ष सजाय छूट पाएका थिए । प्राप्त सूचना अनुसार कत्र्तव्य ज्यान मुद्दामा मकवानपुर जिल्ला अदालतले उनलाई २० वर्षको जेल सजाय सुनाएको थियो । सुनार ०७८ फागुन ७ गते गणतन्त्र दिवसका दिन भिमफेदी कारागारबाट छुटेका थिए ।
वीरगन्ज : पर्साका विभिन्न स्थानबाट प्रहरीले लागु औषध गाँजासहित ५ जनालाई पक्राउ गरेको छ। जगरनाथपुर गाँउपालिका वडा नम्बर २ जानकीटोला चोकबाट प्रहरीले शुक्रबार साँझ ३ केजी गाँजासहित तीन जनालाई पक्राउ गरेको थियो। पक्राउ पर्नेहरुमा छिपहरमाई गाँउपालिका ४ का २२ वर्षीय चन्दनकुमार साह, २० वर्षीय अरबाज आलम र २४ वर्षीय सुनिल कुमार गुप्ता रहेका छन्। जानकीटोलाबाट भीखमपुर जाँदै गरेको ना.१४ प ७२२४ नम्बरको मोटरसाइकलमा सवार उनीहरुलाई रोकेर चेकजाँच गर्दा तीन केजी गाँजा बरामद भएको पर्साका प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक दिपक गिरिले जानकारी दिए। यस्तै पर्साकै वीरगन्ज महानगरपालिका वडा नम्बर ३१ मिलनचोकबाट पनि ५ केजी गाँजासहित दुई जना पक्राउ परेका छन्। जीतपुरबाट बड्निहार जाँदै गरेको प्रदेश–२–०३–००१ ह २२७ नम्बरको अटो मिलनचोकमा प्रहरीले रोकेर चेकजाँच गरेको थियो। त्यसक्रममा अटोमा सवार रहेका चितवनको राप्ती नगरपालिकाका ११ का २९ वर्षीय बद्धिराज घलान र पर्साको पर्सागढी नगरपालिका ३ का ४२ वर्षीय पासाङ लामाको साथबाट गरि ५ केजी गाँजा बरामद गरिएको प्रहरी नायब उपरीक्षक गिरिले जानकारी दिए। गाँजा सहित पक्राउ परेका पाँचै जनालाइ जिल्ला प्रहरी कार्यालयको हिरासतमा राखेर थप अनुसन्धान भइरहेको उनले बताए।