काठमाडौं: फेसबुक ह्याक गरी अश्लिल फोटो, भिडिओ राखेर महिलाको चरित्र हत्या गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ। काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले एक जनालाई पक्राउ गरेको एसपी रविन्द्र रेग्मीले जानकारी दिए। मोरङ धनपालथान गाउँपालिका-४ कर्सिया बस्ने २२ वर्षीय दिपेश लोहनीलाई पक्राउ गरेको हो। अध्ययन गर्न विदेश गएकी महिलालाई दैनिक फोन-मेसेज गरी हैरानी दिएको र फेसबुक आइडी समेत ह्याक गरेको आरोप उनीमाथि छ। आइडी ह्याक गरी अश्लिल फोटो तथा भिडिओ पोष्ट गर्ने, फेसबुकका साथीहरूलाई पठाएर लाइभबाट आत्महत्या गर्ने भन्ने, फसाउने उद्देश्यले पीडित चरित्रहत्या गरेको आरोपमा उनलाई प्रहरीले पक्राउ गरेको हो। उनीमाथि विद्युतीय कारोबार ऐन अन्तर्गत अनुसन्धान अघि बढाएको छ। थप अनुसन्धान गर्न जिल्ला प्रहरी परिसर काठमाडौंमा पठाएको जनाएको छ।
एक साताअघि तनहुँको म्याग्दे गाउँपालिकास्थित पिपलटार खानेपानी ट्यांकीमा ४४ वर्षीया शान्ती श्रेष्ठको शव भेटिएको थियो । धादिङ्ग गंगाजमुना गाउँपालिकाकी श्रेष्ठ पोखराको अमरसिंहचोकमा बस्दै आएकी थिइन् । श्रेष्ठको हत्या आरोपमा प्रहरीले काभ्रे स्थायी घर भई पोखरामै बस्दै आएका चित्र भनिने प्रकाश सुनारलाई पक्राउ गरी अनुसन्धान गरिरहेको छ । तनहुँ प्रहरीका अनुसार प्रारम्भिक अनुसन्धानकैक्रममा सुनारले हत्या गरेको स्वीकारेको बताएको छ । श्रेष्ठको हत्या आरोपमा पक्राउ परेका सुनारले यसअपघि पनि एक महिलाको हत्या गरेको प्रहरीले जनाएको छ । तनहुँ प्रहरीका निरीक्षक भानु शर्माले दिएको जानकारी अनुसार सुनारले यसअघि एक महिलाको हत्या गरेको र सजाय भुक्तान गरी निस्केका हुन् । सुनारको विषयमा अहिले नै पूर्ण जानकारी दिन नमिल्ने प्रहरी निरीक्षक शर्माले बताए । यद्यपि, सुनारको थप जानकारी लिने क्रममा उनले १२ वर्ष अघि (०६७ सालमा) एक महिलाको हत्या गरेकाे पाइएकाे छ। हत्या प्रमाणित भएपछि २० वर्ष सजाय सुनाइएपनि असल आचरणकाकारण १० वर्ष सजाय छूट पाएका थिए । प्राप्त सूचना अनुसार कत्र्तव्य ज्यान मुद्दामा मकवानपुर जिल्ला अदालतले उनलाई २० वर्षको जेल सजाय सुनाएको थियो । सुनार ०७८ फागुन ७ गते गणतन्त्र दिवसका दिन भिमफेदी कारागारबाट छुटेका थिए ।
वीरगन्ज : पर्साका विभिन्न स्थानबाट प्रहरीले लागु औषध गाँजासहित ५ जनालाई पक्राउ गरेको छ। जगरनाथपुर गाँउपालिका वडा नम्बर २ जानकीटोला चोकबाट प्रहरीले शुक्रबार साँझ ३ केजी गाँजासहित तीन जनालाई पक्राउ गरेको थियो। पक्राउ पर्नेहरुमा छिपहरमाई गाँउपालिका ४ का २२ वर्षीय चन्दनकुमार साह, २० वर्षीय अरबाज आलम र २४ वर्षीय सुनिल कुमार गुप्ता रहेका छन्। जानकीटोलाबाट भीखमपुर जाँदै गरेको ना.१४ प ७२२४ नम्बरको मोटरसाइकलमा सवार उनीहरुलाई रोकेर चेकजाँच गर्दा तीन केजी गाँजा बरामद भएको पर्साका प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक दिपक गिरिले जानकारी दिए। यस्तै पर्साकै वीरगन्ज महानगरपालिका वडा नम्बर ३१ मिलनचोकबाट पनि ५ केजी गाँजासहित दुई जना पक्राउ परेका छन्। जीतपुरबाट बड्निहार जाँदै गरेको प्रदेश–२–०३–००१ ह २२७ नम्बरको अटो मिलनचोकमा प्रहरीले रोकेर चेकजाँच गरेको थियो। त्यसक्रममा अटोमा सवार रहेका चितवनको राप्ती नगरपालिकाका ११ का २९ वर्षीय बद्धिराज घलान र पर्साको पर्सागढी नगरपालिका ३ का ४२ वर्षीय पासाङ लामाको साथबाट गरि ५ केजी गाँजा बरामद गरिएको प्रहरी नायब उपरीक्षक गिरिले जानकारी दिए। गाँजा सहित पक्राउ परेका पाँचै जनालाइ जिल्ला प्रहरी कार्यालयको हिरासतमा राखेर थप अनुसन्धान भइरहेको उनले बताए।
पोखरा: पोखरामा लागू औषधसहित एक युवकलाई प्रहरीले पक्राउ गरेको छ । पोखरा ८ बुद्व मार्गबाट रोशन अधिकारीलाई ११४ एम्पुल लागू औषध सहित प्रकाउ गरेको कास्की प्रहरीका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक श्रवण कुमार विकले जानकारी दिए । उनको साथबाट डाईजापाम ४० एम्पुल, फेनारगन ३५ एम्पुल र नुफिन ३९ एम्पुल लागू औषध बरामद गरेको हो । उनलाई लागू औषध सम्बन्धि मुद्वामा पक्राउ गरी अनुसन्धान प्रकृया अगाडि बढाइएको प्रहरीले जनाएको छ ।
पोखराको महेन्द्रपुलस्थित रजनी सुुनचाँदी पसलका सञ्चालक रविनकुमार गहतराज पक्राउ परेका छन् । गहतराजले बिलबिनाको ८० लाल सुन किनेको आरोपमा जिल्ला प्रहरी कार्यालय तनहुँले पक्राउ गरेको हो । प्रहरीले जनाए अनुसार उनले किनेको सुन हत्या भएको महिलाको हो । गत आइतबार म्याग्दे गाउँपालिकास्थित पिपलटार खानेपानी ट्यांकीमा ४४ वर्षीया शान्ती श्रेष्ठको शव भेटिएको थियो । धादिङ्ग गंगाजमुना गाउँपालिकाकी श्रेष्ठ पोखराको अमरसिंहचोकमा बस्दै आएकी थिइन् । श्रेष्ठलाई काभ्रे स्थायी घर भई पोखरामै बस्दै आएका चित्र भनिने प्रकाश सुनारले हत्या गरी उनको सुन लुटेको प्रहरी उपरीक्षक अवधेश विष्टले जानकारी दिए । विष्टका अनुसार सुनारले लुटेको गहना गहतराजले किनेका हुन् । ‘हामीले रविनको पसलबाट सुनसमेत बरामद गरेका छौं’ विष्टले भने । प्रहरीले गहतराज र सुनारलाई तनहुँ जिल्ला अदालतबाट ७ दिनको म्याद थप गरी कत्र्तव्य ज्यान मुद्धाको प्रक्रिया अघि बढाइएको छ ।
झापा : झापाको मेचीनगरमा लागु औषध खैरो हेरोइनसहित एक जना पक्राउ परेका छन्। पक्राउ पर्नेमा ललितपुर महानगरपालिका-१३ घर भई हाल मोरङ जिल्ला लेटाङ नगरपालिका-३ निवासी ४६ वर्षीय विशाल शर्मा रहेको जिल्ला प्रहरी कार्यालय झापाका डीएसपी खगेन्द्रप्रसाद रिजालले जानकारी दिए। मेचीनगर नगरपालिका-५ स्थित नकलबन्दा टोलमा इलाका प्रहरी कार्यालय नकलबन्दा र सशस्त्र प्रहरी बल नेपाल बोर्डर आउट पोस्ट नकलबन्दाबाट खटिएको संयुक्त प्रहरी टोलीले भारतबाट नेपालतर्फ आउँदै गरेको शर्मालाई शंकाका लागि चेकजाँच गर्दा उनको साथबाट खैरो हेरोइन जस्तो देखिने लिसाईलो पदार्थ १० ग्राम र नगद २८ हजार ६१५ रुपैयाँ फेला परेको थियो। पक्राउ परेका उनलाई आवश्यक कारबाहीका लागि इलाका प्रहरी कार्यालय काँकडभिट्टा पठाइएको छ।
स्याङ्जा : स्याङ्जाको दरौखोलामा माछा मार्दै गरेका ३ चिनियाँ नागरिक पक्राउ परेका छन्। अर्जुनचौपारी गाउँपालिका- ३ स्थित दरौखोलामा बुधबार राति माछा मार्दै गरेको अवस्थामा ती नागरिक पक्राउ परेका हुन्। पालिकाले खोलामा करेन्ट लगाई माछा मार्न बन्देज लगाएको अवस्थामा माछा मारिरहेको देखेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए। पक्राउ पर्नेमा ४१ ,३६ र ४० वर्षका तीन युवा रहेका छन्। स्थानीयको खबरपछि अर्जुनचौपारी प्रहरी चौकीका प्रहरी टोलीले चिनियाँ नागरिकसहित खोलामा करेन्ट लगाउने अत्याधुनिक मेसीन, जाल,माछा समाउने जाली र बा १२ च २७७ नम्बरको हाइलक्स गाडीसहित चिनियाँ नागरिकलाई पक्राउ गरेको हो। पालिकाले उनीहरुलाई जनही ५/५ हजार जरिवाना गरेको छ। पालिकाले पालिका अन्तर्गतका नदीखोलामा जाल हाली, करेन्ट लगाएर माछा मार्न निषेधसहित नगद जरिवाना गर्ने कानुनी व्यवस्था गरेको छ। सामानसहित तीनजनालाई प्रहरी प्रशासन कार्यालय स्याङ्जा ल्याएको प्रहरी नायब उपरीक्षक रविन्द्र खनालले जानकारी दिए। घटनाका बारेमा थप अनुसन्धान भइरहेको प्रहरी प्रवक्ता समेत रहेका खनालले जानकारी दिए।
काठमाडौं : प्रहरीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट तीन केजी कोकिनसहित एकजना भारतीय नागरिक पक्राउ गरेको छ। चैत्र १४ गते इण्डिगो एयरको उडानबाट दिल्ली प्रस्थान गर्ने क्रममा लागुऔषध ब्युरोको टोलीले उनलाई पक्राउ गरेको हो। उनको साथबाट तीन किलो कोकिन बरामद गरेको प्रहरी स्रोतले बताएको छ। प्रस्थान कक्षको एक्सरे मेसिनमा जाँच गर्दा तीन किलो कोकिनसहित भारतीय नागरिक पक्राउ परेका हुन्। पक्राउ पर्नेमा भारतीय नागरिक भन्लालमी भएको प्रहरी स्रोतले बताएको छ। उनको बयानबाट थप एकजना भारतीय नागरिक पनि संलग्न रहेको पाइएको छ। घटनाबारे जानकारी दिन दिउँसो २ बजे लागुऔषध नियन्त्रण व्युरोले पत्रकार सम्मेलन गर्दैछ।
मोरङ: मोरङ प्रहरीले २३४ केजी गाँजासहित पाँच जनालाई पक्राउ गरेको छ। मंगलबार इलाका प्रहरी कार्यालय रङ्गेली र प्रहरी चौकी अमाहिवरियाती मोरङबाट खटिएको टोलीले रङ्गेली नगरपालिका–२ चेका खोलास्थित गहुँबारीमा पैदलयात्रीलाई चेकजाँच गर्ने क्रममा दुई भारतीय नागरिक गाँजासहित पक्राउ परेका थिए। भारत अररियाका २९ वर्षीय दिपक झा र ३० वर्षीय सिन्टुकध कुमार सिंहलाई १५० किलो गाँजा ल्याउँदै गरेको अवस्थामा नियन्त्रणमा लिएको मोरङका डीएसपी रञ्जनकुमार दाहालले जानकारी दिए। प्रारम्भिक अनुसन्धानको क्रममा उनीहरूले मोरङको रङ्गेली नगरपालिका–३ रन्जनीस्थित वीरबहादुर कार्कीको घरमा गाँजा लुकाईछिपाई राख्ने गरेको खुलेपछि प्रहरी खानतलासीका लागि पुगेको थियो। कार्कीको घर खानतलासी गर्दा थप ८४ किलो गाँजा भेटिएपछि प्रहरीले कार्कीसहित गाँजा ओसारपसारमा संलग्न थप दुई भारतीय नागरिक २४ वर्षीय प्रबिण पासवान र विष्णुकान्त मिश्रलाई पनि पक्राउ गरिएको डीएसपी कार्कीले जानकारी दिए। उनीहरुको साथबाट कुल २३४ किलो गाँजा बरामद भएको हो। डीएपसी कार्कीले पक्राउ परेका पाँचै जनाविरूद्ध मोरङ जिल्ला अदालतबाट लागू औषध कसूरमा सात दिन म्याद थप गरी अनुसन्धान अगाडि बढाइएको बताए।