दोधारा चाँदनी । तत्कालीन राजा महेन्द्रले गुरुयोजनाअनुसार बसाएको महेन्द्रनगर बजार सामान्य वर्षामा पनि डुब्न थालेको छ । बजारमा ढल निकास व्यवस्थित नहुँदा सामान्य झरीमै बजार जलमग्न हुने गरेको छ । राजा महेन्द्रले भारतको चण्डीगढको नक्साअनुसार योजनाबद्ध रुपले महेन्द्रनगर बजार बसाल्नुभएको थियो । महेन्द्रनगरमा विपद्को बेला पनि सहज हुने हिसाबले गल्ली निर्माण गरिएका छन् तर पछिल्लो समय ढल निकास र गुरुयोजनाविपरीत भइरहेको बसोबासले महेन्द्रनगरको मुख्य बजार नै डुबानमा पर्न थालेको हो । बिहीबार रातिको वर्षाले महेन्द्रनगरको मुख्य बजार डुबानमा परेको छ । यहाँको मदन चोक आसपासका पसल अगाडि जलमग्न भएपछि व्यवसायी समस्यामा परेका छन् । यहाँका व्यवसायी मदन चन्दले ढल निकास र खोलानाला अतिक्रमण गरेका कारण बजार डुबानमा पर्न थालेको बताउनुभयो । “अतिक्रमणले खोला नालामा साँघुरिँदै गएका छन् ढल निकास छैन”, उहाँले भन्नुभयो, “यो समस्या तत्काल समाधान नभए थप जटिलता आउँछ दुई वर्ष अगाडिसम्म महेन्द्रनगरमा डुबान हुँदैनथ्यो ।” उहाँले पसल अगाडि डुबान हुँदा आफू धेरै समस्यामा परेको गुनासो गर्नुभयो । “पसल अगाडि पानी जमेर आउनजानै समस्या छ यस्तोमा के व्यवसाय हुन्छ”, उहाँले भन्नुभयो, “ढल निकासका लागि स्थानीय सरकारले पहल गरोस् ।” जुन हिसाबले महेन्द्रनगरको गुरुयोजना बनेको थियो त्यसको ठीकविपरीत यहाँ संरचना बन्न थालेपछि महेन्द्रनगर बजार डुबानमा पर्नुका साथै अव्यवस्थित हुँदै गएको स्थानीय इन्द्र साउदले बताउनुभयो । “ जुन गुरुयोजना बनाएर महेन्द्रनगर बजार बसाइएको थियो, त्यो गुरुयोजनाविपरीत घर निर्माण हुन थाले”, उहाँले भन्नुभयो, “खोलानाला अतिक्रमण भए, ढल निकास पुरेर घर निर्माण भएपछि डुबान त हुने नै भयो ।” उहाँका अनुसार कङ्क्रिटले पानी जमिनमुनि रिचार्ज हुन नपाएकाले पनि डुबानको समस्या आएको बताउनुभयो । भीमदत्त नगरपालिकाका प्रवक्ता महेन्द्र खड्काले पछिल्लो समय खोलानाला अतिक्रमण हुन थालेपछि बजार डुबानमा पर्न थालेको बताउनुभयो । उहाँका अनुसार अहिले एसियाली विकास बैंक (एडीबी) को सहुलियत ऋण सहयोगमा महेन्द्रनगर बजारलाई आधुनिक सहर बनाइँदै छ । उक्त कार्यक्रमअन्तर्गत पहिलो चरणको काम सुरु भएको छ । “एडीको आनुधिक सहर बनाउने योजनाअनुसार निमार्णको काम अघि बढेको छ यसले पनि केही नाली पुरिएका छन्”, उहाँले भन्नुभयो, “सार्वजनिक जग्गा अतिक्रमण र निमार्ण सम्पन्न नहुनु पनि बजार डुबानमा पर्नुको कारण हो ।” सहरी सडक निर्माण एडीबीको सहयोगमा ३६ दशमलव छ किलोमिटर नालीसहित पक्की सडक निर्माण हुने योजना छ । पहिलो चरणमा १३ दशमलव ८५ किलोमिटर सडक निर्माणको काम सुरु गरिएको छ । विसं २०१४ मा तत्कालिन राजा महेन्द्रले देश दर्शनको क्रममा पूर्वको झापा, ताप्लेजुङ, पश्चिमको दार्चुला हुँदै बैतडी पैदल भ्रमण गर्ने क्रममा बाटोमा भेटिने व्यक्तिलाई सोधपुछ गर्दा त्यहाँको नाजुक स्थिति, गरिबी, खान नपुग्ने कमाइ, खान जमिन पनि नभएको अवस्था थाहा पाएपछि त्यहाँका जनतालाई तराई झर्न आग्रह गर्नुभयो । विसं २०१८ देखि पहाडबाट तराई बसाई सर्न सुरु भएकोे यहाँका जानकार बलदेव अवस्थी बताउनुहुन्छ । उहाँका अनुसार त्यति बेला महेन्द्रननगर बजार गौचरन, खेत रजङ्गल रहेको थियो भने थारुको बस्ती पनि त्यो बेला यहाँ रहेको पाइन्छ । विसं २०१८ मा राजा महेन्द्रले ब्रह्मदेवको बजारलाई महेन्द्रनगर सार्न आदेश दिएको बताइन्छ । त्यति बेला भारतको चण्डीगडको नक्साअनुसार गुरुयोजना बनाएर महेन्द्रनगर बजार बनाएको बलदेव अवस्थीले बताउनुभयो । “यो नेपाल अधिराज्यकै प्लानिङ सहर हो, यो सहर गुरुयोजना बनाएर बनाएको हो”, उहाँले भन्नुभयो, “त्यो गुरुयोजनाअनुसार बजार विस्तार भएन जसले गर्दा आज डुबानको समस्या आयो ।”
रामपुर । ग्रामीण भेगमा ठूलो क्षमताको शीतभण्डार बनेपछि व्यावसायिक उत्पादनमा कृषक उत्साहित बने । सदरमुकामदेखि टाढा रहेको रामपुर नगरपालिकामा तीन सय मेट्रिक टन क्षमताको शीतभण्डार निर्माणले कृषकमा औधी खुसी छायो । परीक्षणका लागि गत वर्ष करिब दुई हजार नौ सय बोरा आलु भण्डारण गरियो । भण्डारण गृहमा राखिएको आलु कुहिने र उम्रने भएपछि यस वर्ष भने कृषकले यहाँ भण्डारण गर्न आलु राख्न चाहेनन् । पहिलो वर्षमा नै आलु बिग्रिएपछि भण्डारण गृह व्यवस्थापन गर्न अहिले मर्मत तथा सम्भारको काम गरेर व्यवस्थित बनाउन थालिएको छ । भण्डारण गृहमा केही प्राविधिक समस्या भएपछि त्यसलाई पुनः मर्मतसम्भारको काम गरेर सञ्चालनको तयारी गरिएको नगर प्रमुख रमणबहादुर थापा बताउनुहुन्छ । नगर प्रमुख थापाका अनुसार मर्मत गर्न यस वर्ष नगरपालिकाले रु १० लाख रकम विनियोजन गरेर काम भइरहेको छ । गत वर्ष राखिएको आलु निकालेपछि गएको वैशाखदेखि नै यहाँको भण्डारण कक्ष प्रयोगविहीन रहेको कृषि शाखा प्रमुख रामहरि पाण्डेय बताउनुहुन्छ । “यहाँ बनाइएको भण्डारण गृहको संरचना आलुबालीलाई लक्षित गरेर तयार पारिएको छ, रामपुरमा धेरै उत्पादन हुने भनेको आलु (खाद्यान्न बालीबाहेक) हो, अन्य तरकारी, फलफूल भण्डारण गृहमा नै राख्नुपर्ने गरेर उत्पादन अहिले छैन, पहिलो वर्ष राखेको केही आलु टुसाएपछि यस वर्ष भण्डारण गृहमा केही सामग्री राखिएको छैन ।” विसं २०७८ को वैशाखमा निर्माणको काम सम्पन्न गरी शीतभण्डार प्रयोगमा ल्याइएको हो । यहाँ पहिलोपटक रामपुरमा उत्पादन भएको आलु भण्डारण गरिएको थियो । पाल्पा जिल्लाकै सबैभन्दा ठूलो क्षमताको शीतभण्डार निर्माण भएपछि सुरुका समय कृषक उत्साहित भए पनि सुरक्षित भनेर राखिएको ठाउँमा आलु बिग्रन थालेपछि हौसिएका कृषक अहिले निराश बनेका छन् । बुटवल, भैरहवालगायतका बाहिरी बजारबाट रामपुरमा भित्रिएका तरकारी निरुत्साहित गर्न र स्थानीय उत्पादनलाई प्राथमिकता दिँदै कृषकको लागि बनाइएको संरचना भए पनि राम्रोसँग प्रयोग गर्न नपाएको कृषक धर्मराज ढकालले बताउनुभयो । “नेतालाई भाषण गर्ने काम मात्रै भयो, कृषकले उपयोग गर्न पाएनन्, स्थानीय सरकारले यसको रेखदेख र सञ्चालनलाई व्यवस्थित बनाउनुपर्ने हो, संरचना तयार पारेपछि गुणस्तरको छ कि छैन त्यसको परीक्षण नगरिकन प्रयोगमा ल्याउँदा हामीले नराम्रोसँग धोका बेहोर्नुप¥यो, कषकले राम्रोसँग प्रयोग गर्न नपाउने भएपछि देखावटीकै लागि मात्रै रामपुरमा राख्नभन्दा अन्यत्र स्थानान्तरण गरेमा प्रयोगमा त आउँला”, उहाँले गुनासो पोख्नुभयो । भण्डारगृहभित्रै बिग्रिएको आलुको क्षतिपूर्ति दिने क्रममा पनि सम्बन्धित पक्षले न्यायोचित काम नगरेको उहाँ बताउनुहुन्छ । गत वर्ष भण्डारण गरिएको आलु बिग्रिएपछि आफूले पाउनुपर्ने क्षतिपूर्ति रकमबाट ठगिनुपरेको बताउनुभयो । साढे पन्ध्र क्विन्टल आलु राख्नुभएका ढकालले एक क्विन्टल बिग्रिएकै भए पनि आलु झिक्नुभयो । अन्य आलु सबै बिग्रिएपछि प्रतिबोरा रु दुई हजारका दरले क्षतिपूर्ति दिने भने पनि आफूले साढे १४ क्विन्टलको रु ५६ हजार मात्रै रकम बुझेको ढकाल बताउनुहुन्छ । उहाँले ठेकेदार पक्ष र नगरपालिकाबीच भएको समझदारीअनुसार पाउनुपर्ने रकम रु ५८ हजार पाउनुपर्ने भए पनि दुई हजार रकम कम पाएको बताउनुभयो । कृषकको हितका लागि नभई सस्तो लोकप्रियता कमाउन संरचना तयार पारिएको विजयपुर कृषि सहकारी रामपुरका अध्यक्ष ओमप्रकाश रेग्मीले बताउनुभयो । “गत वर्ष राखिएको आलु अस्तव्यस्त बनेपछि मर्मतसम्भार तत्कालै गरेको भए यस वर्ष आलु भण्डारण कार्य हुन्थ्यो, कृषि बाली उत्पादनको समयलाई मध्यनजर गरेर संरचना व्यवस्थित बनाउनुपर्छ, अहिले आएर बल्ल मर्मतको काम भएको भन्ने सुनिएको छ, अर्कोतर्फ कृषकलाई केही सहुलियत पनि छैन, देखाउनकै लागि मात्रै संरचना बनेजस्तो भयो”, उहाँले भन्नुभयो । नारायण ढकालले शीतभण्डारमा राखिएको आलु उम्रने र कुहिने भएपछि आफूले पाउनुपर्ने क्षतिपूर्तिबापतको रु २६ हजार रकम नपाएको गुनासो सुनाउनुभयो । उहाँले राखेको १३ बोरा आलुको अहिलेसम्म पाउनुपर्ने रकम नपाएपछि सम्बन्धित निकाय, जनप्रतिनिधि, राजनीतिक दलका अगुवासमक्ष गुनासो राखेकोमा त्यसको सुनुवाइ नभएको बताउनुभयो । शीतभण्डारणको पूर्वाधार तयार भए पनि राम्रोसँग सञ्चालन नभएको, यसको रेखदेख नगरपालिकाले गर्नुपर्ने हो र निर्माणमा ठेकेदारले लापर्बाही गरेको बताउनुहुन्छ, लुम्बिनी प्रदेशसभा सदस्य युवराज खनाल । जुन प्रयोजनका लागि बनाइएको हो त्यसको सही सदुपयोग हुनुपर्ने र तत्काल अनुगमन गरेर नियमितरुपमा सुचारु गर्न सम्बन्धित निकायलाई जानकारी गराउने प्रदेशसभा सदस्य खनालको भनाइ छ । कृषि शाखाको परिसरमा लुम्बिनी प्रदेश सरकारको सर्शत अनुदानमा रविना र अभिसा जेभी कन्ट्रक्सन प्रालिले संयुक्तरुपमा रु तीन करोड २६ लाख ७६ हजार पाँच सय ६६ मा ठेक्का सम्झौता गरी निर्माण गरिएको हो यो संरचना । यसमा फरक फरक क्षमताका पाँच कोठा रहेका छन् । साथै दुईतले दशकोठासहितको प्रशासनिक भवन, अपाङ्गतामैत्री शौचालय छ । बीउका लागि एक सय क्विन्टल आलु राखेकोमा व्यवस्थापन राम्रो नहुँदा लगानी र मेहनत सबै खेर गएको यमकान्ति गौतम बताउनुहुन्छ । महँगो मूल्यमा उन्नत जातको बीउ खरिद गरेर उत्पादन गरिएको बीउ आलु सबै कुहिएपछि यस वर्ष खायन आलु मात्रै उत्पादन गर्नुभएको छ । उहाँले बर्सेनि भैरहवाको शीतभण्डारमा बीउ आलु भण्डारणका निम्ति लैजाने गर्नुहुन्थ्यो । आफ्नै गाउँमा संरचना भए पनि राम्रो व्यवस्थापन नहुँदा भण्डारणमा कृषक मारमा परेको गौतमले बताउनुभयो । पहिलो वर्ष नगरपालिकाले शीतभण्डार सञ्चालनका लागि बोलपत्रमार्फत रम्भा गाउँपालिका–१ हुँगीका भगवती अधिकारी न्यौपानेलाई रु दुई लाख पाँच हजारमा एक वर्षको लागि सम्झौता गरेको थियो ।
पूर्वी नवलपरासी । पूर्वी नवलपरासीको रजहरमा रहेको प्राकृतिक चिकित्सालयलाई प्राकृतिक चिकित्सा विज्ञान अध्यापन गराउने शिक्षण अस्पतालको रुपमा अगाडि बढाइने भएको छ । स्थानीयले धनधान्याञ्चल महायज्ञ आयोजना गरेर विसं २०६४ मा स्थापना भएको चिकित्सालयले विसं २०६७ बाट उपचार सेवा प्रारम्भ गरेको हो । यसलाई देशकै पहिलो प्राकृतिक चिकित्सा अध्यापन गराउने शिक्षण अस्पताल बनाउन आवश्यक तयारी गरिएको अस्पतालका व्यवस्थापक हरि सापकोटाले बताउनुभयो । यो दश बिघा क्षेत्रफलमा फैलिएको छ । यसमा आवासीय रुपमा तीन सय बिरामीलाई उपचार गर्ने सकिने भए पनि विभिन्न प्राविधिक कारणले एक सय २० लाई नियमित सेवा दिन सकिने अवस्था रहेको छ । अबको केही महिनाभित्र तीन सय शय्याको अस्पताल बनाउने काम थालिएको व्यवस्थापक सापकोटाले जानकारी दिनुभयो । चिकित्सालयले नेपाल संस्कृत विश्वविद्यालयबाट सम्बन्धन लिएर शिक्षण अस्पतालको तयारी गरेको छ । पहिलो वर्ष चिकित्सालयमा ब्याचरल इन नेचुरोपेथी एन्ड योगा साइन्स (बिएनवाइस) को कक्षा सञ्चालन गर्ने गरी चिकित्सा शिक्षा आयोगमा अनुमतिको लागि पठाइएको नेपाल संस्कृत विश्वविद्यालयका रजिष्ट्रार माधव अधिकारीले बताउनुभयो । चिकित्सालयले आवश्यक तयारी गरेको र विश्वविद्यालय र चिकित्सा शिक्षा आयोगसमेत सकारात्मक भएकाले आगामी वर्षबाट सो कक्षा सञ्चालन हुने अधिकारी बताउनुहुन्छ । “नेपालबाट बर्सेनि हजारौँ विद्यार्थी प्राकृतिक चिकित्सा अध्ययन गर्न भारत जाने गर्छन्, यहाँ शिक्षण अस्पताल सुरु भयो भने प्राकृतिक चिकित्सासम्बन्धी प्राज्ञिक जनशक्ति उत्पादन देशभित्रै हुने र पैसा बाहिर जान रोकिन्छ”, अधिकारीले भन्नुभयो । नेपालमा अहिलेसम्म प्राकृतिक चिकित्सा विज्ञानको अध्यापन नभएकाले आफूहरुले शिक्षण अस्पताल सञ्चालन गर्न लागेको व्यवस्थापक सापकोटा बताउनुहुन्छ । उहाँका अनुसार शिक्षण अस्पतालका लागि आवश्यक फरक फरक १४ विभाग बनाउनेदेखि लिएर छात्रावासलगायतका भौतिक संरचनाको निर्माणको काम अन्तिम चरणमा पुगेको छ । अस्पतालले चर्चेको १० बिघा जमिन अस्पतालको नाममा नेपाल सरकारले भोगाधिकार दिइसकेको र आसपासका थप सार्वजनिक जग्गा प्राप्तिका लागि स्वास्थ्य मन्त्रालयमार्फत प्रक्रिया अगाडि बढाइएको छ । कोरोना महामारीमा देशकै उत्कृष्ट आइसोलेसनको रुपमा यस चिकित्सालयले ख्याति कमाएको थियो । प्राकृतिक चिकित्सा विज्ञानमा आधारित रहेर बिना औषधि उपचार गरिने यस अस्पतालमा माटो, पानी, हावा, अग्नि, जल साथै जडीबुटी, वैज्ञानिक मालिस अक्युपञ्चर, फिजियोथेरापी योग, ध्यान पद्धतिद्वारा उपचार प्रदान गरिन्छ । विशेष गरी औषधीय उपचारबाट निको हुन नसकेका बिरामीलाई प्राकृतिक चिकित्सा र योग पद्धतिमार्फत उपचार सेवा प्रदान गरिने भएपछि चिकित्सालयमा उपचार सेवा लिन आउनेको सङ्ख्या यहाँ हरेक दिन बढ्ने गरेको अस्पतालका व्यवस्थापक सापकोटा बताउनुहुन्छ ।
मोरङ । आठ दश वर्षअघिसम्म लटरम्म तोरी र मकै फल्ने बारी अहिले सिँचाइको अभावले बाझिँदै गएका छन् । आकासे पानीको भरले थामेको मोरङको लेटाङ नगरपालिका – १ को राजारानी क्षेत्र बाझिँदै गएको हो । यस क्षेत्रमा धान रोप्ने चलन पहिलेदेखि नै थिएन तर तोरी र मकै चाँहि राम्रै फल्ने गरेको बताउनुहुन्छ ७६ वर्षीया आशमाया मगर । खेतबारीमा राम्रो उब्जाउ हुन छाडेपछि यहाँका युवा वैदेशिक रोजगारीमा खाडी मुलुक जान थाले । “रोप्न सके कोदो त अलिअलि फल्थ्यो तर कसले रोप्ने सबै युवा विदेश गए”, आशमायाले दुःखेसो गर्नुभयो । राजारानी क्षेत्रमा करिब एक सय २० रोपनी जग्गा छ तर अधिकांश जग्गा बाँझै छ । करिब ४० रोपनी जग्गामा केरा खेती लगाइएको छ तर त्यसको उत्पादन पनि राम्रो नभएको स्थानीय दीपक मगरले बताउनुभयो । बाँकी रहेको करिब ८० रोपनी जग्गा बाँझै रहेको छ । खानेपानीको समेत समस्या भर्खरै मात्रै समाधान हुँदै गएको यस क्षेत्रमा सिँचाइको समस्या समाधान गर्न मुस्किल रहेको मगरको बुझाइ छ । यस क्षेत्रमा कृषि प्राविधिक खटाएर पकेट कार्यक्रम लागू गर्नुपर्ने स्थानीय दलबहादुर मगरको बुझाइ छ । केरा वा कोदो पकेट कार्यक्रम लागू गरेर सरकारीस्तरबाट सहयोग गरे पर्यटकीय क्षेत्रको रुपमा रहेको
टक्सार । केही वर्ष अघिसम्म घर आसपासमा होस या सडकमा पञ्चेबाजाको आवाज सुन्ने बित्तिकै दौडने मानिसहरु गाउँबजारमा यत्रतत्र भेटिन्थे । कारण थियो बाजा बजाउँदै नयाँ बेहुलाले बेहुली ल्याए भनेर । हो केही वर्ष अघिसम्मको यो पञ्चेबाजा बजाउने परम्परा अहिले आएर गाउँघरमा कमै मात्र सुन्न सकिन्छ । पछिल्लो पुस्तामा परम्परागत बाजाभन्दा पनि आधुनिक प्रविधिमा ध्यान बढ्दै गएकाले पुराना संस्कृति र परम्परा पनि ओझेलमा पर्दै जान थालेका हुन् । पछिल्लो पुस्तामा पुराना लोकबाजाको संरक्षण र सम्वद्र्धन गर्नुपर्छ भन्ने भावना नदेखिएकाले यस्ता कुरा लोप हुँदै गएको विद्योदय मावि भोजपुर नेपाली विषयका शिक्षक खोमराज धमलाको भनाइ छ । उहाँ भन्नुहुन्छ, “अहिलेका पुस्तालाई के हो पञ्चेबाजा, के हो नरसिङ्गा मतलब नै छैन, यस्तै हो भने अब ती कुरा क्रमिकरुपमा इतिहास बन्न सक्छन् ।” त्यतिमात्र होइन पछिल्लो समयमा बाजागाजा बजाउनेको सङ्ख्यामा कमी आउँदै जान थालेपछि पनि यो परम्परा कम हुँदै गएको स्थानीयको भनाइ छ । भोजपुर नगरपालिका–५, बोखिमका ६६ वर्षीय पर्शुराम मोते भन्नुहुन्छ, “बाबुबाजेले गर्दै आएको यो परम्परा र यो मान्यतालाई अहिलेको पुस्ता बुझ्न चासो दिँदैनन्”, मोतेले भन्नुभयो, “हाम्रो निधनपछि कसले बाजा बजाउला ? भएको बाजा पनि लोप हुन लागिसक्यो ।” विशेष गरी सहनाइ विवाहबाहेक दशैँ, तिहार, विभिन्न परम्परागत सांस्कृतिक पर्वका बेला बजाइन्छ । नेपाली लोक संस्कृति जोडिएको पञ्चेबाजामध्ये एक सहनाइको महत्व पछिल्लो पुस्तामा आएर पूरै परिस्कृत हुनथालेको छ । वर्षौंदेखि चल्दै आएको लोपोन्मुख मौलिक लोकपञ्चेबाजा जगेर्नाको सट्टा युवा पुस्तामा नयाँ जमानाको प्रविधिमा चासो बढ्न थालेकाले लोकबाजाको मौलिकपन धरासायी बन्दै गएको भोजपुर नगरपालिका–८ कातुलसी ढुङ्गानाको धारणा रहेको छ । “आधुनिक गीत सङ्गीत र नयाँ प्राविधिक वाद्यवादनको लोकप्रियताले नेपाली पहिचान बोक्ने पञ्चेबाजा (दमाहा, झ्याली, ट्याम्को, नरसिङ्गा र सहनाइ)लगायत नेपाली संस्कृतिको मौलिकपनमा चासो घट्दै गएको छ । ढुङ्गानाले भन्नुभयो, “अहिलेका युवा पुस्ता त बजारमा आएर पेन ड्राइभमा गीत भर्ने, इन्टरनेटबाट डाउनलोड गर्छन् गाउँमा गएर छानी छानी बजाउँछन् ।” एकातिर चासो कमी हुनु र अर्कोतिर गाउँघरमा पञ्चेबाजा बजाउन जान्ने मान्छेको कमीले पनि लोकबाजाको रौनक हराउँदै गएको भोजपुर नगरपालिका–३ का टेकबहादुर मोतेको भनाइ छ । चाडबाडका बेला घरघरमा लोकबाजा बजाउँदै हिँड्ने लोकबाजाका शिल्पकार अहिले कतै कतै मात्र भेटिने मोतेको भनाइ छ । बिहे, कर्मकाण्ड, व्रतबन्ध, चाडबाड, जात्रा, रोपाइँ, विभिन्न पूजालगायत धार्मिक एवं सामाजिक सांस्कृतिक मूल्यमान्यतामा नयाँ प्रविधिले गर्दा मौलिक लोकबाजा ओझेलमा पर्दै गएकाले यसतर्फ सबैले ध्यान दिनुपर्ने स्थानीय घमचन्द्र दाहाल बताउनुहुन्छ । “युवापुस्ताले आफ्नो रीतिरिवाज नै बिर्सन थालिसक्यो । पुराना परम्परा र संस्कारभन्दा पनि विदेशी संस्कारमा उनीहरूको बढी रुचि छ । आधुनिक प्रविधितिर उनीहरूको ध्यान गएकाले लोकबाजा प्रयोगविहीन बन्दै गएका छन्”, दाहालको भनाइ रहेको छ ।
भोजपुर । भोजपुरको धार्मिक तथा पर्यटकीय क्षेत्र टेम्के डाँडामा रहेको प्रसिद्ध टेम्केसिद्ध मन्दिर जीर्ण बनेको छ । समुन्द्री सतहबाट तीन हजार एक सय मिटर उचाइमा रहेको यो मन्दिर संरक्षणको अभावमा जीर्ण बनेको हो । मानिसहरुको धार्मिक आस्थाको केन्द्रको रुपमा रहेको यो मन्दिरको संरक्षणमा सरोकारवाला पक्षको ध्यान नपुगेको देखिन्छ । मन्दिरमा लगाइएको घेराबारा भत्किएका छन् । आसपासमा चरण क्षेत्र भएकोले यहाँ गाईबस्तु मन्दिरभित्र पस्ने गरेको स्थानीयबासीको भनाइ छ । ऐतिहासिक मन्दिर रहेकोले यसको संरक्षणमा ध्यान दिनुपर्ने स्थानीय नूरी शेर्पाले बताउनुभयो । यसको विकासमा ध्यान दिनसके आन्तरिक तथा बाह्य पर्यटकलाई भित्र्याउन सकिने उहाँको भनाइ छ । यहाँबाट सूर्योदय र सूर्यास्तको दृश्य देख्न सकिन्छ । “यो एउटा पवित्र धार्मिक तथा पर्यटकीयस्थल हो”, शेर्पाले भन्नुभयो, “तर यहाँ बनेका मन्दिर तथा अन्य संरचना भत्किन थालेका छन् । संरक्षणमा दिन ध्यान आवश्यक छ । यहाँको महत्वलाई सबै माझ बुझाउन सके धेरै पर्यटकलाई भित्रयाउन सकिन्छ ।” मन्दिरको नजिकै परेवा उडाउने तथा बली पूजा गर्ने ठाउँ छ । केही समयसम्म यहाँ जोगी बस्ने गरेका थिए । भाकल पूरा गर्न यहाँ परेवा लगेर उडाउने प्रचलन छ । यस क्षेत्रको दर्शन गरेमा दुःख कष्ट हट्ने तथा मनोकाङ्क्षा पूरा हुने धार्मिक विश्वास छ । यहाँ वालाचतुर्दशी र राम नवमीमा गरी वर्षमा दुई पटक भव्य मेला लाग्छ । मानिस यहाँ सदविज छर्न पुग्छन् । यहाँ लाग्ने मेलामा भोजपुर, खोटाङ, धनकुटा, संखुवासभाबाट मानिस आउँछन् । यहाँको मन्दिरमा सल्लाको काठ फुटाएर छानो लगाइएको छ । जहाँबाट मन्दिरभित्र पानी चुहिँने गरेको छ । टिनको छानो लगाएर मन्दिर परिसरलाई तारको घेराबारा गर्नुपर्ने स्थानीयबासी बताउँछन् । मन्दिरको संरक्षणको लागि काम गर्ने टेम्केमैयुङ गाउँपालिकाले जनाएको छ । गाउँपालिकाको एउटा महत्वपूर्ण धार्मिक तथा पर्यटकीय क्षेत्र भएकोले यस क्षेत्रको विकासमा ध्यान दिने गाउँपालिका अध्यक्ष सरोज बस्नेतले बताउनुभयो । केही दूरी पर खोटाङको सिमना रहेकोले त्यहाँका स्थानीय तहसँग छलफल गरेर योजनावद्धरुपमा काम गर्ने उहाँको भनाइ छ । “मन्दिरको संरक्षणको लागि काम गर्छौँ”, अध्यक्ष बस्नेतले भन्नुभयो, “यो ठाउँ स्थानीयको धार्मिक आस्थाको केन्द्रसँगै पर्यटकीय क्षेत्र पनि हो । यसको बृहत्तर विकास गर्न सिमाना जोडिएका खोटाङका स्थानीय तहसँग पनि समन्वय गर्ने सोच छ ।” मन्दिर रहेको स्थानबाट तराईका फाँटसँगै सगरमाथा, मकालु, कञ्चनजङ्गा, लोच्से लगायत आठ हजार मिटर अग्ला छ ओटा र अन्य ३३ हिमशृङ्खलाको अवलोकन गर्न सकिन्छ । यो क्षेत्र भएर नेपाल सरकारको घुम्नै पर्ने एक सय गन्तव्यभित्र पर्न सफल मुन्दुम पदमार्ग विस्तार भएको छ । मन्दिरको दर्शन तथा यहाँ घुग्न जाने पर्यटकलाई लक्षित गरेर पाटी, पौवासँगै विश्रामस्थलको निर्माण गर्नुपर्ने आवश्यक रहेको स्थानीयको भनाइ छ । प्राकृतिक सौन्दर्यता नियाल्ल साथै धार्मिक दर्शनको लागि अहिले मानिस दैनिक जसो आउने गरेको टेम्के डाँडाका गणेश विष्टले बताउनुभयो । मन्दिरबाट नजिकै आफ्नो गोठ रहेकोले यहाँको संरक्षणमा भ्याएसम्म ध्यान दिने गरेको विष्टको भनाइ छ । “मन्दिर संरक्षण हुन सकेको छैन”, विष्टले भन्नुभयो, “खासमा मन्दिरको महत्वलाई मानिसले बुझ्न नसकेको जस्तो लाग्छ । यति सुन्दर ठाउँमा रहेको मन्दिरको संरक्षणसँगै अन्य ठाउँमा चिनाउन सके राम्रो आम्दानीको श्रोत बन्न सक्छ ।”
काठमाडौं । अर्थमन्त्री जनार्दन शर्माले मुलुकको अर्थतन्त्र विस्तारै लयमा फर्कने क्रममा रहेकोे बताउनुभएको छ । नेपाल आर्थिक पत्रकार समाज (सेजन)को २४औँ वार्षिक साधारणसभालाई सम्बोधन गर्दै उहाँले सरकारले समयमै होसियारी अपनाएका कारण अर्थतन्त्र सकारात्मक सुधारमा रहेको बताउनुभयो । मन्त्री शर्माले चाडवाड सुरु भएसँगै विप्रेषण बढेको र त्यसले देशको अर्थतन्त्र बलियो हुँदै गएको बताउनुभयो । उहाँले देशमा विप्रेषण बढेसँगै विदेशी मुद्रा सञ्चिती बढ्दै जाने र अर्थतन्त्र सवल हुँदै जाने विश्वास व्यक्त गर्नुभयो । उहाँले तरलता अभाव हुन नदिन सरकारले बजेट खर्चमा ध्यान दिने र चालु आवमा बजेट खर्च प्रभावकारी बनाउन सबै मन्त्रालयलाई निर्देशन दिइएको जानकारी दिनुभयो । मन्त्री शर्माले निजी क्षेत्रलाई उत्पादनमूलक क्षेत्रमा लगानी बढाउन आग्रह गर्दै देशमा लगानीयोग्य वातावरण रहेको बताउनुभ्यो । कृषि, वनलगायतका क्षेत्रमा लगानी बढाउन निजी क्षेत्रलाई उहाँले आग्रह गर्नुभयो ।
काठमाडौँ ः राष्ट्रपति विद्यादेवी भण्डारीले गौरा पर्वले नेपाली मौलिक संस्कृतिको संरक्षण गर्दै समाजमा विद्यमान अन्धविश्वास, विभेद, विकृति एवम् विसङ्गतिलाई अन्त्य गरी सभ्य, सुसंस्कृत र समतामूलक समाजको निर्माण गर्न प्रेरणा मिलोस् भन्ने शुभकामना व्यक्त गर्नुभएको छ । गौरा पर्व २०७९ का अवसरमा दिनुभएको शुभकामना सन्देशमा राष्ट्रपति भण्डारीले स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइमा सुख, शान्ति र समृद्धिको शुभकामना व्यक्त गर्नुभएको छ । “गौरा पर्व मनाउने सन्दर्भमा परदेश गएका घर फर्कने, विवाहिता महिला माइत जाने, गहुँ, केराउ, गहतलगायत पाँच प्रकारका अन्नको मिश्रणबाट बनेको ‘बिरुडा’लाई प्रसादको रूपमा ग्रहण गरी देउडा, धमारी र ढुस्को खेल्दै रमाइलो गर्ने प्रचलन रहेको छ”, सन्देशमा भनिएको छ, “यस पर्वले पारिवारिक तथा सामाजिक जीवनमा आपसी प्रेम, विश्वास र सम्बन्ध प्रगाढ बनाउनुका साथै विविध जातजाति, भाषाभाषी र सांस्कृतिक परम्परा बोकेका सम्पूर्ण नेपालीबीचको भावनात्मक एकतालाई बलियो बनाउँदै राष्ट्रिय एकतालाई थप सुदृढ तुल्याउन महत्वपूर्ण भूमिका खेलिरहेको छ भन्ने मलाई लागेको छ ।”
काठमाडौँ ः उमा महेश्वरसहित दुबोको पूजा गरेर सुदूरपश्चिम र मध्यपश्चिमवासीले आज उज्याली गौरा एवं दुर्वाष्टमी पर्व मनाउँदैछन् । यो पर्व भाद्र शुक्ल अष्टमीका दिन मनाइन्छ । भाद्र शुक्ल अष्टमी अगावै अगस्त्य ऋषिको उदय हुने वर्ष भने भाद्र कृष्ण अष्टमीकै दिन मनाउनुपर्ने शास्त्रीय विधान रहेको धर्मशास्त्रविद् प्राडा रामचन्द्र गौतम बताउनुहुन्छ । यस वर्ष भाद्र शुक्ल अष्टमीपछि अगस्त्य उदय हुने छ । भाद्र शुक्ल अष्टमीमा मनाइने गौरालाई उज्याली र कृष्ण अष्टमीमा मनाइने गौरालाई अँध्यारी भन्ने गरिन्छ । यसैले यस वर्षको गौरालाई उज्याली भनिन्छ । पहिलो पटक व्रत बस्नेले भने भाद्र शुक्ल अष्टमी अर्थात उज्याली गौराबाटै सुरु गर्नुपर्ने व्रत विधान छ । कन्या राशिमा सूर्य गएपछि अर्थात असोज महिना लागेपछि पनि गौरा मनाउनु हुँदैन । सिंह राशिमा सूर्य भएका बेला अर्थात भदौ महिनामा गौरा मनाउनुपर्ने मानसखण्ड, निर्णयसिन्धु, हेमाद्रिलगायत ग्रन्थमा उल्लेख गरिएको छ । गौरालाई सुदूरपश्चिम र मध्यपश्चिम क्षेत्रका मानिसले ऐतिहासिक मौलिक पर्वका रूपमा लिने गरेका छन् । राजधानीमा पनि सुदूरपश्चिम र मध्यपश्चिम क्षेत्रका मानिसको बसोबास बढेसँगै यो पर्व यहाँ पनि धुमधामका साथ मनाउन थालिएको छ । सत्य युगमा हिमालयपुत्री पार्वतीले महादेव स्वामी पाऊँ भनी वर्षा ऋतुको भाद्र महिनामा जल, जङ्गल, जमिन र जनावरको डर नमानी तपस्या गरेपछि मनोकामना पूरा भएको सम्झनामा देशको पश्चिम क्षेत्रमा यो पर्व मनाउन सुरु गरिएको देउडा संस्कृतिविद् गायक नन्दकृष्ण जोशीले जानकारी दिनुभयो । गौरा पूजा गर्नका लागि पाँच वनस्पति कुश, काँस, सामा (सौँ), तीतेपाती र अपामार्ग कतै तिलको बिरुवा पनि राखेर देवीको आकार बनाउने गरिन्छ । यसरी बनाइएको देवीलाई भाद्र कृष्ण अष्टमीका दिन गाउँको सफा घरमा भित्र्याएर बर्तालुले निराहार बसी पूजा गर्ने परम्परा रहेको देउडा संस्कृतिविद् जोशीले बताउनुभयो । देवीलाई गाउँका नायकले भित्र्याउनुपर्ने चलन छ । यसरी भित्र्याउँदा कसैले पनि हेर्नु नहुने मान्यता छ । गौरा भित्र्याउने घरमा जम्मा भएका गाउँलेले खोज्दा नभेट्ने गरी नायकले लैजान्छन् । “यो पर्वका लागि भाद्र शुक्ल पञ्चमीका दिन केराउ, जौ, मस्याङ, मास र गुराँसको गेडा भिजाएर राखिन्छ, यसलाई बिरुडा भनिन्छ, अष्टमीमा भगवतीलाई पूजा गरेर प्रसादका रूपमा बिरुडा चढाइन्छ, भक्तजनलाई पनि प्रसादका रूपमा बिरुडा नै बाँडिन्छ, पाँच किसिमका गेडागुडी भिजाउने दिनलाई बिरुडा पञ्चमी भनिन्छ”, उहाँले भन्नुभयो । यसरी दुई÷तीन दिन पूजा गरिसकेपछि मङ्गलबार र शनिबार नपारी देवीलाई नदी, कुवा, पोखरी वा जलाशयमा लगी सेलाइन्छ । जुठो, सूतक परेका बेला देवीलाई विसर्जन गर्न नहुने परम्परा छ । देवीलाई विसर्जन गरेपछि मागल अर्थात् माङ्गलिक कर्ममा गाइने भजन, गीत आदि गाएर रमाइलो गर्ने परम्परा छ । देशका अन्य भागमा तीज मनाए जस्तै पश्चिममा यो पर्व विशेषगरी नारीहरुले मनाउने गरेका छन् । दुर्वाष्टमी दुबोको समेत पूजा गरिने भएकाले यो अष्टमीलाई दुर्वाष्टमी पनि भनिन्छ । दुबो जसरी फैलिन्छ त्यसरी नै सन्तान, दर सन्तान फैलियून् भन्ने कामनाले यो पर्वमा उमा महेश्वरको पूजा, उपासना र व्रतसमेत गरिने धार्मिक नियम छ । सन्तान राम्रा र गुण सम्पन्न हुन्, आयु तथा स्वास्थ्य राम्रो होस् भन्ने कामनाले पनि गौरा एवं दुर्वाष्टमी पर्व मनाइन्छ । अष्टमीका दिनमा पूरै ज्येष्ठा र मूल नक्षत्र परेमा भने दुबोको पूजा गर्न नहुने शास्त्रीय मान्यता रहेको पनि धर्मशास्त्रविद् गौतमले बताउनुभयो । अष्टमी तिथिभर ज्येष्ठा र मूल नक्षत्र नपरेमा भने दुबोको पूजा गर्नहुन्छ भन्ने शास्त्रीय मान्यता छ । यस वर्ष शनिबार राति ९ः१८ बजेसम्म अनुराधा नक्षत्र र त्यसपछि ज्येष्ठा नक्षत्र परेको छ । यस दिन दुबो र गौराको पूजा गरे सौभाग्य, सन्तान प्राप्त हुने, कार्य सिद्धि हुने धर्मग्रन्थ हेमाद्रिमा उल्लेख गरिएको छ । यो दिनमा सूदुरपश्चिमवासीले देउडा गीत गाएर नृत्य गरी रमाइलो गर्दछन् । काठमाडौँको टुँडिखेलमा पनि यस दिन देउडा गीत र नृत्य गरी सूदुरपश्चिमवासीले मनोरञ्जन गर्ने गरेका छन् ।