सप्तरी: सप्तरीमा नयाँ आर्थिक वर्षको पहिलो महिनामै पोखरीमा डुबेर चार जनाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालयका अनुसार पोखरीमा डुबेर गत वर्ष २४ र तीन वर्षको अवधिमा ५७ जनाको मृत्यु भइसकेको छ । राजगढ गाउँपालिकामा गत बुधबार मात्र एक बालकको नुहाउने क्रममा पोखरीमा डुबेर मृत्यु भयो । उक्त गाउँपालिका–४ बेल्ही चपेनास्थित सार्वजनिक पोखरीमा सोही ठाउँका वीरेन्द्र मण्डलको छोरा १३ वर्षीय राजा मण्डलको पनि डुबेरै मृत्यु भएको प्रहरीले जनाएको हो । बुधबार मृत्यु भएका बालकको शव परीक्षणका लागि राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पताल ल्याइएको छ । यसअघि साउन २६ गते बोदे बर्साइन नगरपालिका–८ काचनमा एक बालिकाको पोखरीमै डुबेर मृत्यु भयो ।सोही ठाउँ बस्ने मीताराम दासकी छोरी छ वर्षीया नन्दनी कुमारी दासको पनि नुहाउने क्रममै मृत्यु भएको थियो । यसैगरी साउन २४ गते जिल्लाको दुई छुट्टाछुट्टै घटनामा एक बालक र एक युवकको पोखरीमा डुबेर मृत्यु भयो । छिन्नमस्ता गाउँपालिका–४ लालापट्टीस्थित पोखरीमा डुबेर दुई वर्षीय दिप पण्डितको मृत्यु भएको थियो । सोही दिन विष्णुपुर गाउँपालिका–३ बस्ने ३५ वर्षीय लल्कु भनिने शिवशङ्कर सदाको पोखरीमै डुबेर मृत्यु भयो । उनी पोखरीको मध्य भागमा फुलेको कमलको फूल टिप्न गएका थिए । प्रहरीका अनुसार आर्थिक वर्ष २०७९/८० को सुरुआतमै जिल्लामा दुई बालक, एक बालिका र एक युवकको डुबेर मृत्यु भएको थियो । प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक माधवप्रसाद काफ्लेका अनुसार पोखरीमा डुबेर मृत्यु हुनेको सङ्ख्या बर्सेनि बढ्दो छ । मृत्यु हुनेमा बालबालिकाको सङ्ख्या बढी देखिएको छ । आर्थिक वर्ष २०७६/७७ मा ११, २०७७/०७८ मा २२ र २०७८/७९ मा २४ जनाको डुबेर मृत्यु भएको थियो । नयाँ आर्थिक वर्षको सुरुआतमै चार जनाको मृत्युले यो सङ्ख्या बढ्ने अनुमान गरिएको छ । तीन वर्षको अवधिमा बालबालिकाको मृत्यु अन्य कारणले भन्दा डबेरै मृत्यु हुनेको सङ्ख्या अधिक रहेको छ । तीन वर्षमा २१ बालक र १२ बालिका गरी ३३ जनाको मृत्यु भएको तथ्याङ्कमा उल्लेख छ । जस्मा सात बालक र छ जना बालिका त पाँच वर्ष मुनिका छन् ।यसैगरी १९ देखि २५ वर्ष उमेरका छ पुरुष, २६ देखि ३५ वर्षका दुई महिला र चार पुरुष, ३६ देखि ४५ वर्षका एक महिला र दुई पुरुष, ४६ देखि ५५ वर्षका एक महिला र दुई पुरुष, ५६ देखि ६५ वर्षका तीन पुरुष तथा ६६ वर्ष माथिका तीन पुरुषको मृत्यु पनि डुबेरै भएको उल्लेख छ ।तराई–मधेसमा पोखरीसँगै नदी, नाला, नहर, खोला, खाल्डोमा डुबेर समेत मृत्यु हुने गरेको छ । यो तीन वर्षको अवधिमा २६को पोखरीमा, १०को खाल्डोमा, सातको खोलामा, १०को नहरमा र चार जनाको नदीमा डुबेर मृत्यु भएको थियो । गर्मी बढेसँगै पोखरीमा नुहाउन जानेकोे सङ्ख्यामा वृद्धि हुनुका साथै पोखरीधनी र अभिभावकको लापरबाहीका कारण बर्सेनि पोखरीमा डुबेर मृत्यु हुने घटना बढेको प्रहरीको भनाइ थियो । डुबेर बालबालिकाको बढी मृत्यु हुनामा अभिभावकको लापरबाही नै देखिएको प्रहरीको अनुमान छ । प्रहरी नायब उपरीक्षक काफ्लेले अभिभावकबाट आवश्यक निगरानी हुन नसक्दा घटना वृद्धि भएको बताउनुभयो । “अभिभावक काममा जाँदा बालबालिकालाई घरमा छाडेर जानुपर्ने, बालबालिकालाई गाईवस्तु चराउन वा घाँस काट्न पठाउनुपर्ने हुन्छ,’’ विष्णुपुर गाउँपालिका–१ खुरहुरियाका यदुनन्दन यादव भन्नुहुन्छ्, “ग्रामीण बस्तीमा खानेपानी र नुहाउन पोखरीकै भर पर्नुपर्ने हुन्छ यसले गर्दा दुर्घटना बढेको हो ।” प्रहरीका अनुसार यसअघि छठपर्वमा ४२० ओटा छठघाट रहेको पोखरी, नदी तथा नहरमा प्रहरीले सुरक्षा दिएको थियो । प्रहरी नायब उपरीक्षक काफ्लेले भन्नुभयो, “गाउँबस्तीमा पर्याप्त पोखरी भएकामा तीनमा घेराबार वा कतिपय पोखरीमा डिलसमेत नहुनाले बालबालिकाको डुबेर मृत्यु हुने गरेको छ । अभिभावकले बालबालिका कता छन्, के गर्दैछन् भनेर पर्याप्त ध्यान दिनुपर्छ ।” सामुदायिक सेवा केन्द्रका लिल्लाअध्यक्ष हितनारायणलाल दासले बालबालिकालाई पोखरी, नहर, कुलोजस्ता जलाशय भएको स्थानमा एक्लै जान नदिने, पोखरीमा नुहाउनै परे ठूला मानिसको रेखदेखमा नुहाउन लगाउनेबारे अभिभावकलाई सचेतना अभियान सञ्चालन गर्नुपर्नेमा जोड दिनुभयो। डुबेर मृत्यु हुनेमा बालबालिका बढी भए पनि मादक पदार्थ खाएका, छारेरोग लागेका, पानीको गहिराइको बेवास्ता गरेका ठूला मानिसको पनि डुबेर मृत्यु हुने गरेको छ । जिल्ला प्रहरीले डुबेर मृत्यु हुने घटना वृद्धि भएको जनाउँदै अभिभावकलाई ध्यान पु¥याउन र निगरानी गर्न आग्रह गरेको छ ।“तराई–मधेसमा नदी, पोखरी मानिसको दैनिक जीवनसँग जोडिएको छ ।” हनुमाननगर कङ्कालिनी नगरपालिका–१ भारदहस्थित कोसी किनारका भूपदेव मालीले भन्नुभयो, “आयस्रोतको समेत प्रमुख आधार भएको नदी तथा पोखरीमा ज्यान जाने क्रम बढेकाले यसको व्यवस्थापनमा राज्यले नै अग्रसर भई सुरक्षित बनाउनु पर्छ ।”
पोखरा । पोखराबाट सञ्चालनमा रहेको सिटीवान टेलिभिजनले तीजलाई मध्यनजर गर्दै तीजगीत प्रतियोगिता आयोजना गर्ने भएको छ । आगामी भदौ १० गते “तीजको बेला सिटीवानको साँस्कृतिक मेला, खुल्ला तीजगीत प्रतियोगिता–२०७९” आयोजना गर्ने टेलिभिजनका प्रवन्ध निर्देशक अनिशा श्रेष्ठले जानकारी दिइन् । उनले साँस्कृतिक पक्षहरुको संरक्षण गर्ने उद्धेश्यले मेला आयोजना गर्न लागेको बताइन् । ‘सिटीवानले हिन्दु नेपाली महिलाहरुले मनाउने तीज कस्तो हुनुपर्छ, उनले भनिन् ‘हामीले प्रत्येक वर्ष मेला आयोजना गर्ने लक्ष्यका साथ पहिलो पटक मेला सञ्चालन गर्न लागेका हौं ।’ उनका अनुसार करिब ५० समुहको सहभागिता रहने सो प्रतियोगीतामा विपद् व्यवस्थापनमा महिलाको भूमिका, महिला हिसां, पर्यटन प्रर्बदन, सरसफाइ, बैदेशिक रोजगार, उधमशिलता, तथा लागुपदार्थ दुब्र्यसनी जस्ता सामाजिक विषयलाई सहभागिहरुले गीत प्रस्तुत गर्नेछन् । पोखरा उद्योग वाणिज्य संघको सभाहलमा हुने सो प्रतियोगिताको विजेता समुहले नगद रु ५० हजार, उपविजेता समुहले ३० हजार, सान्त्वना स्थान हाँसिल गर्ने समुहले क्रमश २० हजार र १० हजार प्राप्त गर्नेछन् । यसैगरि उत्कृष्ट नृत्य, उत्कृष्ट भेषभुषा र उत्कृष्ट शब्द चयन गर्ने समुहलाई जनही ५ हजार प्रदान गरिने आयोजकले जनाएको छ । सोही कार्यक्रमकै अवसरमा दिर्घायू अस्पतालको सहकार्यमा ‘वृहत हेल्थ क्याम्प’ संचालन गरिने समेत बताइएको छ ।
बैतडी । बलात्कारको आरोप लागेका पुर्चौंडी बहुमुखी क्याम्पसका प्रमुख राजेन्द्रसिंह नेगीलाई कारागार चलान गरिएको छ । जिल्ला अदालतले नेगीलाई पुर्पक्षका लागि कारागार चलान गर्न आदेश दिएको प्रहरी नायब उपरीक्षक प्रेमबहादुर शाहीले जानकारी दिनुभयो । कैलाली घर भई पुर्चौंडीमा ज्यालामजदुरी गर्दै आएकी एक महिलामाथि क्याम्पस प्रमुख नेगीले बलात्कार गरेको आरोप लागेको थियो । गत असार २० गते पानी माग्ने निहुँमा महिलामाथि नेगीले बलात्कार गरेको आरोप लागेको हो । आफूमाथि जबर्जस्ती करणी गरेको भन्दै महिलाले दिएको जाहेरीका आधारमा नेगीविरुद्ध इलाका प्रहरी कार्यालय पाटनमा जबर्जस्तीकरणी मुद्दा दर्ता गरिएको थियो । आरोप लागेपछि नेगी गत साउन पहिलो साता आफैँ जिल्ला प्रहरी कार्यालय पुगेका थिए । आरोप लागेपछि क्याम्पस प्रमुख नेगीले यसअघि असार २७ गते पदबाटसमेत राजीनामा दिएका थिए ।
धरान उपमहानगरपालिकाका मेयर हर्कराज राई (हर्क साम्पाङ)ले करिब सय दिनमा गरेका कामहरू सार्वजनिक गरेका छन्। मेयर भएपछि एक सय दिनभित्र के-के काम गरियो भन्ने प्रश्न सोध्नेलाई जवाफ भन्दै उनले १३ वटा कामका विवरण सार्वजनिक गरेका छन्। मेयर राईले बिहीबार आफ्नो फेसबुक पेजबाट सार्वजिनक गरेका कामका विवरणमा श्रम संस्कृति क्रान्ति आफूले सुरू गरेको उल्लेख गरेका छन्। उनले खानेपानी धरान ल्याउन, वृक्षारोपण गर्नलगायत काममा स्थानीय बासिन्दाको श्रमदानलाई प्राथमिकता दिँदै आएका छन्। नेपालमा श्रम संस्कृतिको क्रान्ति सुरू गरेँ। चार ठाउँबाट खानेपानीको मुहान थप गरेँ। व्यापक जनपरिचालन र सामुदायिक सहभागीता जुटाएँ। छ लाख विरुवा रोपें। सरसफाइमा देखिने सुधार ल्याएँ,’ राईले कामका विवरण सार्वजनिक गर्दै उल्लेख गरेका छन्। यस्तै उनले प्रशासनिक सुधार ल्याई शान्ति सुरक्षामा पनि सुधार ल्याएको दाबी गरेका छन्। ‘जलविद्युतको सफल परीक्षण गरी बगरमा बत्ति बालें। बाटो मर्मत सम्भार, टटबन्धन, विपद व्यवस्थापन, लागुऔषध विरुद्धको अभियान सुरू गरेँ। योजनाहरुका लागि बजेटको जोहो गराएँ,’ उनले भनेका छन्। साथै पारदर्शी हिसाबकिताब राखेर सार्वजनिक गरेको, पालिकाका सेवामा तीब्रता र प्रष्टता ल्याइदिएको, शिक्षा, स्वास्थ्य संस्थाहरुमा सुधार ल्याएको दाबी उनको छ। राई स्वतन्त्र उम्मेदवारी दिई धरानको मेयर निर्वाचित भएका थिए।
स्वास्थ्यकर्मीहरुका लागि आत्महत्या रोकथाम सम्बन्धि दुई दिने तालिम सम्पन्न भएको छ । राष्ट्रिय मानसिक स्वास्थ्य स्वावलम्बन संगठन (कोशिश) को आयोजना तथा पोखरा महानगरपालिका स्वास्थ्य महाशाखाको समन्वयमा भएको सो तालिममा महानगरभित्रका विभिन्न १७ वटा स्वास्थ्य संस्थामा कार्यरत ३२ जना स्वास्थ्यकर्मीहरुको सहभागिता रहेको थियो । कार्यक्रममा गण्डकी मेडिकल कलेजका मनोचिकित्सक डा. रबिराज तिमिल्सिना, मनोविद विनय पाण्डे, पोखरा महानगरपालिका स्वास्थ्य महाशाखाका फोकल पर्सन दीपेन्द्र सुनार र कोशिशकी अभियन्ता तथा पैरवी अधिकृत बसन्ती खत्रीले सहजीकरण गरेका थिए । मनोचिकित्सक डा. तिमिल्सिनाले आत्महानी र आत्महत्याका बारेमा प्रस्तुतिकरण राख्दै आत्महत्या सम्बन्धित धारण र वास्तविकताको बारेमा स्पष्ट पारेका थिए । अर्का मनोविद पाण्डेले मानसिक स्वास्थय र आत्महत्को बारेमा प्रस्तुतिकरण राख्दै आत्महत्या न्यूनिकरण गर्न सकिने भएकाले त्यसको प्रभावकारी पहल हुनु जरुरी रहेको बताए । उनले गेट किपर तालिम पश्चात स्वास्थ्यकर्मीहरुलाई कार्य क्षेत्रमा गएर काम गर्न सहज हुने बताए । कोशिशकी पैरवी अधिकृत खत्रीले तालिममा सिकेका कुरालाई व्यवहारमा लागु गर्नुपर्नेमा जोड दिइन् । महानगरपालिकाका स्वास्थ्य महाशाखा प्रमुख कृष्णप्रसाद अर्यालले सिकेका कुरालाई व्यवहारमा कार्यान्वयन गर्न स्वास्थ्यकर्मीलाइ आग्रह गरे । यसैबीच, बुधबार नै सुरक्षाकर्मीहरुलाई आत्महत्या रोकथाम सम्बन्धि १ दिने प्रशिक्षण प्रदान गरिएको कोशिशका परियोजना संयोजक सुदिप घिमिरेले जानकारी दिए । कार्यक्रममा राष्ट्रिय मानवअधिकार आयोग गण्डकीका प्रमुख चन्द्रकान्त चापागाईँ, आयोगका वरिष्ठ अधिकृत खिमलाल सुवेदी, डा. रविराज तिमिल्सिना र रेडियो अन्नपूर्णका स्टेसन म्यानेजर सञ्जयकुमार मल्लले सहजीकरण गरेका थिए ।
सीताराम गौतमले पहिलो पटक गाउँकै उद्योगमा उत्पादन भएको ‘साइलेज’ बाख्रालाई खुवाउन सुरु गर्नुभयो । साइलेज (मकै र घाँसलाई मेसिनबाट गुन्द्रुक बनाइएको पशुआहार) खुवाउन सुरु गरेपछि बाख्रा हृष्टपुष्ट हुँदै गए । रामपुर नगरपालिका-७ का गौतमले सुरुमा करिब तीन क्विन्टल साइलेज खरिद गर्नुभयो । बाख्रालाई पोषिलो आहार अति उत्तम ठानेपछि पुनः दोस्रो पटक दोब्बर खरिद गर्नुभयो । अहिले उहाँले नियमितरुपमा आफ्ना फार्ममा रहेका ७० बाख्रालाई साइलेज खुवाउनुुहुन्छ । “गत वर्षदेखि नियमितरुपमा बाख्रालाई साइलेज खुवाउने गरेको छु, बाख्राको तौल बढ्दै गएको छ, पोषिलो साइलेज पशुआहारका लागि अत्यन्तै राम्रो छ, यसको सेवनले पशुपालन गरेका कृषकले राम्रो फाइदा लिँदैछन्”, उहाँले भन्नुभयो । रामपुरमा नै साइलेज उत्पादन हुन थालेपछि पशु आहार आपूर्तिका लागि सहज भएको र यसप्रति सथानीयले उद्योगमा पुगेर जानकारी लिने गरेको अगुवा भैँसीपालक कृषक कृष्णकुमार अर्याल बताउनुहुन्छ । अर्यालले यसअघि प्रतिकिलो रु १५ का दरले भारतको पञ्जाबबाट साइलेज खरिद गरेर पशुुलाई खुवाउने गर्नुहुन्थ्यो । अहिले गाउँमै गुणस्तरीय साइलेज खरिद गर्न पाउँदा आर्थिक भार कम परेको उहाँको भनाइ छ । यहाँ उद्योग सञ्चालन भएपछि स्थानीयले काम गर्ने अवसर पाएका छन् । उद्योग चलेको अवस्थामा दैनिक १५ देखि २० कामदारले काम गर्ने गरेका छन् । विष्णुमाया पौडेल गाउँमै रहेको उद्योगमा काम गर्ने अवसर पाउँदा खुसी हुनुहुन्छ । उहाँका श्रीमान् वैदेशिक रोजगारमा हुनुहुन्छ । उद्योगमा काम गरेपछि छोराछोरी र घरखर्च चलाउन समस्या नभएको उहाँ बताउनुहुन्छ । उहाँले यहाँको उद्योगमा बिहानदेखि साँझसम्म काम गर्नुहुन्छ । पौडेलले मकै, नेपिएर घाँस काट्ने, बोक्नेलगायतका काम गरेबापत एक घण्टाको रु ७५ ज्याला बुझ्नुहुन्छ । उहाँ उद्योगमा काम चलेका बखत दैनिक १२ देखि १५ घण्टा काम गर्नुहुन्छ । “ उद्योगले रोजगार दिएको छ, दुई चार पैसा कमाउने माध्यम बनेको छ, यहाँ काम गर्न थालेपछि अरुसँग आश्रित हुनुपरेको छैन, आफूले जति धेरै समय काम गर्न सकियो त्यति नै धेरै पैसा कमाइन्छ”, उहाँले भन्नुभयो । फूलमाया कुमाल पनि घरायसी काम सकाएर श्रीमान्सँगै यस उद्योगमा खटिनुहुन्छ । उहाँले साइलेज उत्पादन नभएका समय भने भवन निर्माण सम्बन्धि काम गर्नुहुन्छ । समयको सदुपयोगका साथै आयआर्जन गर्न सकिएको कुमाल बताउनुहुन्छ । उद्योग सञ्चालन भएपछि मकै काट्ने, बोक्ने, मेसिनमा राख्ने, उत्पादित साइलेज भण्डारण गर्नेलगायत काम पाएपछि स्थानीय उत्साहित छन् । स्थानीयलाई रोजगार दिन सदरमुकामदेखि टाढाको रामपुरमा जिल्लामै ठूलो साइलेज उद्योग सञ्चालन गरेको सञ्चालक रामप्रसाद पोखरेल बताउनुहुन्छ । “पशुआहारका लागि साइलेज अति राम्रो छ, बजारका ठूला फार्मबाट माग आउने गरेको छ, ढुवानी गर्न भने समस्या छ, पेट्रोलियम पदार्थको महँगीले अघिल्ला वर्षमा जस्तो बजार पाउन सकेको छैन”, उहाँले भन्नुभयो । उद्योग चलाउन रामपुरका विभिन्न स्थानमा गरी करिब चार सय ८० रोपनी जग्गा भाडामा लिएर मकै र नेपिएर घाँस लगाइएको छ । सदरमुकाम तानसेन, रुपन्देही, पोखरा, स्याङ्जा, तनहुँ, काठमाडौँ, चितवन, पर्सा, नवलपरासी, वीरगञ्जलगायत सहरमा साइलेज खपत हुने गरेको छ । मकैको प्रतिकिलो रु १४ र नेपिएर घाँसको रु ११ मा साइलेज उद्योगबाटै बिक्री हुन्छ । चार वर्ष अघि लुम्बिनी प्रदेश भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालय पशुपन्छी तथा मत्स्य विकास निर्देशनालयको रु २५ लाख र कामधेनु गाईफार्मको रु २५ लाखको लागतमा साइलेज उत्पादन थालिएको हो । उद्योगमा हालसम्म करिब रु एक करोड ५० लाखभन्दा बढी लगानी भएको सञ्चालकको भनाइ छ । साइलेज उत्पादन थालेपछि अब यस क्षेत्रमा बाँझिएका जग्गाको सदुपयोग हुन थालेको छ । यहाँ उत्पादन भएको साइलेज लुम्बिनी प्रदेशभर खपत गर्ने लक्ष्यअनुरुप उत्पादन भइरहेको सञ्चालक बेदप्रसाद बञ्जाडे बताउनुहुन्छ । साइलेज भन्नाले पोषणतत्व कायमै रहने गरी हरियो घाँसलाई सुकाएर राख्ने प्रविधि हो । यो प्रविधिले बाह्रैमास हरियो घाँस पशुलाई उपलब्ध गराउन सहयोग पुग्नेछ । पशुआहारका लागि राम्रो मानिने साइलेज रामपुर नगरपालिकामा उद्योग नै सञ्चालन गरी उत्पादन थालिएको हो । साइलेज पशुलाई खुवाएमा दूध उत्पादनमा वृद्धि हुने र पशुको नश्ल सुधार हुने बताइन्छ । सुक्खायाममा घाँसको अभावमा दूध उत्पादन घट्ने हुँदा पहिले नै तयार पारेर राखेको साइलेज पशुआहारका लागि अत्यन्त उपयुक्त हुने गरेकोले ठूला तथा साना पशु व्यवसायीका लागि सहज भएको छ । दैनिक दुई किलो साइलेज पराल, दानापानीमा मिलाएर पशुलाई खुवाउन सकिन्छ । सुक्खा मौसममा हरियो घाँसको अभाव हुने हुँदा साइलेज बनाएर राखियो भने पशु आहाराका लागि उत्तम मानिन्छ । यो उत्पादन गरिएको एक वर्षसम्म प्रयोग गर्न सकिन्छ । दुई महिनासम्म प्लाष्टिकमा भण्डारण गरेर हावा नपस्ने गरी राखिएको साइलेज दुई महिनापछि मात्र पशुलाई खुवाउने गरिन्छ । घोगा लागेको मकैको बोट साइलेजका लागि उत्तम मानिन्छ भने टियो सेन्टी, नेपिएर नामक घाँसबाट पनि बनाउने गरिन्छ । साइलेज खुवाएको पशुबाट प्रशस्त दूध उत्पादन, पशु वृद्धि, पोषणयुक्त हुने हुँदा ठूला पशुफार्मले अनिवार्यजसो नै प्रयोग गरिरहेको सञ्चालकको भनाइ छ । आमाको दूध खाँदै गरेका बाच्छाबाच्छी तथा पाठापाठीबाहेक यो भेडा, बाख्रा, गाईभैँसीहरुलाई समेत खुवाउने गरिन्छ ।
भक्तपुर । भक्तपुर जिल्ला स्वास्थ्य कार्यालय र कीटजन्य रोग अनुसन्धान तथा तालिम केन्द्रले यहाँ हात्तीपाइले रोगको अवस्थाका बारेमा जिल्लास्तरीय सर्वेक्षण गर्ने भएका छन् । हात्तीपाइले रोगको वास्तविक अवस्था कस्तो छ भन्ने जानकारी लिन र रोग निवारणका लागि आवश्यक नीति बनाउने उद्देश्यले जिल्लाका चार नगरपालिकाका ४० विद्यालयमा सर्वेक्षण गर्न लागिएको हो । कीटजन्य रोग अनुसन्धान तथा तालिम केन्द्रका निर्देशक केशवराज पण्डितले सन् २०१३ मा भक्तपुरमा १३ प्रतिशतमा हात्तीपाइले रोगका बिरामी रहेका र त्यसपछिको अवस्था के छ, भक्तपुरलाई हात्तीपाइले रोग निवारणमुक्त जिल्ला बनाउन के गर्ने भन्नेबारेमा नीति बनाउन सर्वेक्षण गर्न लागिएको बताउनुभयो । जिल्ला स्वास्थ्य कार्यालयका महामारी फोकल पर्सन दीपक अछामीले हात्तीपाइले रोगको ओखती जान्ने बुझ्नेले पनि नखाँदा जोखिम बढेको बताउनुभयो । उहाँले विद्यालयमा कक्षा १ र २ मा अध्ययनरत छ÷सात वर्ष उमेर समूहका विद्यार्थीमा नमूना परीक्षण गरी सर्वेक्षण गरिने बताउनुभयो ।
दशरथचन्द नगरपालिका–४ बिनासौँमा पासोमा फसेको चितुवा मरेको छ । उक्त चितुवा आज बिहान बँदेलका लागि किसानले मकैबारीमा थापेको पासोमा फसेको थियो । डिभिजन वन कार्यालयका प्रमुख भीमप्रसाद कँडेलका अनुसार पासोमा परेको चितुवा उद्धारका क्रममा आज दिउँसो मरेको हो । उहाँले भन्नुभयो, “पासोमा परेको चितुवा सुरक्षाकर्मीले उद्धार गर्ने क्रममा मरेको छ, खोर लगेर उद्धार गर्दै थियौं, सोही क्रममा चितुवा मरेको हो, चितुवाको ढाडमा पासो परेको थियो, उद्धारकै क्रममा गम्भीर चोट पुगेको हुनसक्छ ।” पासोमा फसेको चितुवाको उद्धारका लागि शुक्लाफाँटा राष्ट्रिय निकुञ्जबाट टोली बोलाइएको भए पनि टोली नपुग्दै चितुवा मरेको हो । मरेको चितुवाको मुचुल्का उठाएर डिभिजन वन कार्यालय परिसरमै गाड्ने तयारी भएको छ ।
दार्चुला । यहाँ आज जिप दुर्घटना हुँदा पाँच जनाको मृत्यु भएको छ । शैल्यशिखर नगरपालिकाको गोकुलेश्वरबाट सदरमुकाम खलङ्गा आउँदै गरेको जिप शैल्यशिखर–६ उलानीमा दुर्घटना भएको हो । से१ज ५५१ नम्बरको जिप दुर्घटना हुँदा जिपमा सवार पाँच जनाको घटनास्थलमै मृत्यु भएको छ भने छ जना घाइते भएका छन् । घाइतेलाई थप उपचारका लागि गोकुलेश्वर अस्पताल पठाइएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक जगत मगरले बताउनुभयो । घटनाको थप विवरण आउन बाँकी छ ।