पोखरा:   गण्डकी प्रदेश सभाले सातै वटै प्रदेशमध्ये पहिलो पटक “अपाङ्गता भएका व्यक्तिको अधिकार सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक” सर्वसम्मतिले पारित गरेको छ ।  मिति २०८१ चैत २६ गते साम...

  मकवानपुर । मकवानपुर प्रहरीले हेटौँडा उपमहानगरपालिका–१० राप्तीपुल नजिकैबाट आज ७४ किलो ७० ग्राम लागुऔषध गाँजासहित दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा नुवाकोटको बिदुर नगरपालिका–१३ का ३१ वर्षीय प्रकाश तामाङ र पर्साको ठोरी गाउँपालिका–३ बर्मानगरका ३४ वर्षीय चन्द्रकुमारी श्रेष्ठ छन् ।    जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायब उपरीक्षक टेकबहादुर कार्कीका अनुसार चितवनबाट हेटौँडातर्फ आउँदै गरेको बागमती प्रदेश०१–०२५च १९४२ नंको तरकारी बोक्ने गाडीलाई जाँच गर्दा उक्त परिमाणको गाँजा बरामद गरिएको हो । प्रहरीले उनीहरुको साथबाट रु ३१ हजार पनि बरामद गरेको छ ।

  सुनसरी । सुनसरीको कोसी गाउँपालिका–१ मा आज दुर्घटनामा परी दुई प्रहरीको मृत्यु भएको छ । मृत्यु हुनेमा सप्तरी सप्तकोसी नगरपालिका–३ का प्रहरी हवल्दार दुर्गानन्द चौधरी र सशस्त्र प्रहरी सहायक हवल्दार प्रकाश गोजेवार रहेका छन् ।    सुनसरीका प्रहरी नायब उपरीक्षक राजकुमार राईका अनुसार पश्चिमबाट पूर्वतर्फ आउँदै गरेको बा६०प ४४९२ नंको मोटरसाइकललाई विपरीत दिशाबाट आउँदै गरेको को२च २६४९ नंको पिकअप भ्यानले ठक्कर दिँदा मोटरसाइकलमा सवार दुवै जनाको मृत्यु भएको हो । ठक्करबाट चौधरीको घटनास्थलमा र गोजेवारको उपचारका क्रममा जिल्ला अस्पताल इनरुवामा मृत्यु भएको प्रहरीले जनाएको छ ।   चौधरी श्रम तथा रोजगार मन्त्रालय प्रदेश नं १ मा कार्यरत थिए भने गोजेवार मोरङको धनपतिमा कार्यरत थिए । दुवैको शव परीक्षणका लागि जिल्ला अस्पतालमा राखिएको छ । ठक्कर दिने सवारीसाधनका चालक कोसी गाउँपालिका–३ का दीपक गोसाईँलाई प्रहरीले नियन्त्रणमा लिएको  छ । 

  काठमाडौं । नेकपा विप्लव समूहका एक दर्जन नेता नेपाली कांग्रेसमा प्रवेश गरेका छन् । प्रधानमन्त्री निवास बालुवाटारमा आज कांग्रेस सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाले उहाँहरूलाई कांग्रेसको सदस्यता दिएर पार्टी प्रवेश गराउनुभएको हो ।   नेकपा विप्लव समूहका वैकल्पिक केन्द्रीय सदस्य एवं बैतडी इन्चार्ज रमेश परियार, जनमुक्ति पार्टीका केन्द्रीय उपाध्यक्ष रवीन्द्र सुनार, अखिल नेपाल महिला सङ्घ (क्रान्तिकारी) कञ्चनपुरकी अध्यक्ष कल्पना परियार, नेकपा काठमाडौँ–कञ्चनपुर सम्पर्क मञ्चका अध्यक्ष दिपेश नागरी र मञ्चका सचिव राधव परियारलगायत कांग्रेसका प्रवेश गरेका हुन् । कांग्रेस केन्द्रीय सदस्य रमेश लेखकको पहलमा उहाँहरू कांग्रेस प्रवेश गर्नुभएको हो ।

काठमाडौं । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विकास र समृृद्धिको सन्देश दिने आफ्नो सङ्कल्प रहेको बताउनुभएको छ ।    नेपाल विद्युत् प्राधिकरणले भरतपुरमा सुरु गर्न लागेको वितरण प्रणाली भूमिगत तथा सुदृढीकरण कार्यको आज यहाँ शिलान्यास गर्नुहुँदै अध्यक्ष दाहालले सङ्कल्पमा जनताको निरन्तर सहयोग रहने कुरामा आफू विश्वस्त रहेको बताउनुभयो । जनताको चाहना विकास र समृद्धि भएको उल्लेख गर्दै उहाँले भन्नुभयो, “शिक्षा, स्वास्थ्य, रोजगारी र सुरक्षा जनताको चाहना हो ।” भूमिगत विद्युतीकरणले जनताको सुरक्षा र नगरको सौन्दर्यता बढाउने उहाँको भनाइ थियो ।   भरतपुर महानगरपालिकाका प्रमुख रेनु दाहालले महानगरपालिकाको प्रयास र समन्वयका कारण छिटो काम सुरु भएको भन्दै ठेकेदार कम्पनीलाई समयमा काम सम्पन्न गर्न आग्रह गर्नुभयो । सो अवसरमा नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले परियोजनाको काम दुई वर्षमा सम्पन्न गर्ने गरी काम गर्नुपर्नेमा जोड दिनुभयो । प्राधिकरणले अहिले रु १६ अर्ब नाफा गरेको उहाँले जानकारी दिनुभयो । अहिले दैनिक रु १० करोडदेखि रु १२ करोडसम्म बिजुली बेचिरहेको उहाँको भनाइ थियो ।    भरतपुर महानगरपालिकाका उपप्रमुख चित्रशेन अधिकारीले परियोजनाका कारण नगरवासीलाई गुणस्तरीय सेवा दिन सहज हुने बताउनुभयो । भरतपुरको पुलचोकबाट गोन्द्राङसम्मको छ लेन सडक र बाइपास सडकमा भूमिगत विद्युतीकरण गर्न लागिएको हो । निर्माणको जिम्मा भारतको टाटा प्रोजेक्ट लिमिटेडलाई दिइएको छ । उक्त कम्पनीले भरतपुर र पोखरामा भूमिगत विद्युतीकरणको काम गर्ने छ । ठेक्काको रकम रु दुई अर्ब ५० करोड हाराहारी रहेको आयोजनाले जनाएको छ ।    भरतपुर बाइपास सडकको पुरै र छ लेनको पुलचोकबाट केन्द्रिय बस ट्रमिनलसम्म सबै तार भूमिगत गरिनेछ । बसपार्कबाट गोन्द्राङसम्मको ३३ केभिएलाई मात्र पहिलो चरणमा भूमिगत गरिनेछ । सम्भौतामा काम गर्दा खनिएका सडक मर्मत गर्नुपर्ने उल्लेख छ । सन् २०२४ जनवरीसम्म काम सम्पन्न गर्नुपर्ने छ । भरतपुरका दुई सडक गरी ११ किलोमिटर क्षेत्रमा  बिद्युत भूमिगत गर्न लागिएको हो । एशियाली विकास बैंकको सहयोगमा प्राधिकरणले यो आयोजना अघि बढाएको हो ।

    पोखरा । अनेरास्ववियु पृथ्वीनारायण क्याम्पस कमिटीले त्रिभुवन विश्वविद्यालयसमक्ष विभिन्न मागसहित ज्ञापन पत्र बुझाएको छ  ।   विद्यार्थीहरुको अध्ययनलाई नियमित, प्रभावकारी र गुणस्तरयुक्त बनाउनुपर्ने मागसहित अनेरास्ववियुले क्याम्पसको ६३ औँ स्थापना दिवसको अवसरमा आएका त्रिविका शिक्षाध्यक्ष प्रा.डा शिवलाल भुसाललाई सो ज्ञापनपत्र बुझाएको हो ।   अनेरास्ववियुले पिएनमा अध्ययनरत विद्यार्थीहरुको मागहरुलाई समेट्दै त्रिविका शिक्षाध्यक्षसँगको गहन छलफल पश्चात विज्ञप्ति पेस गरेको  अनेरास्ववियु  पिएनका अध्यक्ष विष्णु पोखरेलले जानकारी दिए  ।   ‘क्याम्पसमा देखिएका समस्याहरु र विद्यार्थीहरुको मागलाई प्राथमिकताकोसाथ ज्ञापनपत्रमा उल्लेख गरेर बुझाएका हौं ।’ उनले भने ।   भुसाललाई पेश गरिएको सो ज्ञापनपत्रमा शिक्षा संकाय बिहानी र दिवा सिफ्टमा पठनपाठन गराउन, स्ववियु निर्वाचन गराउन, वार्षिक परिक्षाको रिजल्ट समयमै निकाल्न, बिबिएको प्रवेश परिक्षा हटाउन, छात्रवृत्तिको व्यवस्था गराउन, डिजिटल हाजिरीको व्यवस्था गराउन, आन्तरिक परिक्षाको व्यवस्था गराउन, क्याम्पसमै परिक्षा केन्द्र बनाउन, विमा रकम सहजरुपमा प्रयोग गर्न पाउन, क्याम्पस परिवर्तनमा सहजता प्रदान गर्न, क्याम्पसलाई सरकारी विश्वविद्यालय बनाउन र महंगो शुल्क घटाउन जस्ता १४ वटा मागहरु उल्लेख गरिएको छ ।  

  कास्की्। लामो समयदेखि विवादित रहेको राष्ट्रिय गौरवको मध्यपहाडी (पुष्पलाल) राजमार्गको पोखरा महानगर खण्डको राजमार्ग रेखाङ्कन (एलाइनमेन्ट) टुङ्गो लागेपछि ठेक्का आह्वान गरिएको छ ।   पोखरा महानगरपालिका–२५ याम्दी जौवारी पुलदेखि मादी गाउँपालिकाको भैँसेसम्मको राजमार्ग निश्चित नहुँदा लामो समय यस खण्डमा काम हुन सकेको थिएन । राजमार्गको नयाँ रेखाङ्कनअनुसार पोखरा बजार क्षेत्र छाडेर राजमार्ग गाउँ उक्लिएको छ । यसबाट पोखराको ग्रामीण क्षेत्र सुविधासम्पन्न राजमार्गमा जोडिने छन् । अर्मलाकोट, आँटीघर मौजा, सिक्लेस, ताङतिङलगायतका पर्यटकीयस्थलको महत्व झनै बढाउने भएको छ ।   मध्यपहाडीको पोखरा खण्डको दशकअघि तय गरिएको रेखाङ्कन क्षेत्रमा पछिल्लो समय बजार विस्तार भएको र राजमार्ग सोही बाटो हुँदै लैजादा ठूलो सङ्ख्यामा घरहरु विस्थापित हुने भएपछि बजार क्षेत्रमा लामो समय राजमार्ग विस्तारको योजना अघि बढ्न सकेको थिएन ।   कास्की खण्डकै पश्चिम क्षेत्रमा काम सम्पन्न भएको र पूर्वी खण्डको निर्माण भइरहँदा यस क्षेत्रमा विवादकै कारणले ठेक्का आह्वान हुन सकेको थिएन । सरकारले आगामी विसं २०८१ सम्ममा मध्यपहाडीको सम्पूर्ण काम सम्पन्न गर्ने गरी काम अघि बढाएको थियो । पछिल्लो समय पोखरा खण्डमा यसअघिको राजमार्गको रेखाङ्कन परिर्वतन गरिएको छ ।        पोखरा खण्डको ४० किमीमा नयाँ रेखाङ्कन गरेर विस्तृत आयोजना प्रतिवेदन (डिपिआर) तयार गरी रु चार अर्ब लागत अनुमानसहित बोलपत्र आह्वान गरिएको मध्यपहाडी (पुष्पलाल) राजमार्ग योजना कार्यालय पर्वतका प्रमुख नारायणदत्त भण्डारीले बताउनुभयो । मध्यपहाडीको नयाँ रेखाङ्कनअनुसार याम्दीपुलदेखि, लामाचौर, अमला विसौनी, महेन्द्रगुफा, कालीखोला, अर्मलाकोट, आँटीघर, पानीघाट, मेलबोट, ज्याम्दु हुँदै भैँसेसम्म जोड्ने गरी डिपिआर बनाइएको छ । योजना कार्यालयका अनुसार याम्दीदेखि कालिखोलासम्मको सडक चार लेन र कालीखोलादेखि ज्याम्दुसम्मको पहाडी भूगोलमा दुई लेनको सडक बन्नेछ ।   योजना प्रमुख भण्डारीले भन्नुभयो, “भैँसेदेखि याम्दीसम्म विगत वर्षहरुमा डिपिआर र सर्भे भएर बसिरहेको र ठेक्का लगाउन नसकेको अवस्था थियो । पछिल्लो समय हामीले तीव्रताका साथ काम अघि बढाएर नयाँ रेखाङ्कनसहित डिपिआर तयार गरेर ठेक्का आह्वान गरेका छौँ, अब पोखरा खण्ड निर्माणको प्रक्रियामा अघि बढ्यो ।”   पोखरामा पुरानो डिपिआरअनुसार याम्दीपुलदेखि लामाचौर, भलाम, मणिपाल पछाडि, फूलबारी, काहुँखोला बजार हुँदै भैँसेसम्म जोड्ने योजना थियो । सो रेखाङ्कनमा अत्यधिक घर बनेको र धेरै जग्गा खण्डीकरण भएर घडेरीमा बिक्री भएकाले राजमार्गको मापदण्डले ठूलो बस्ती स्थानान्तरण गर्नुपर्ने र सो सम्भव नदेखिपछि डिपिआरनै परिर्वतन गरिएको मध्यपहाडी योजनाले जनाएको छ ।   बजार क्षेत्रबाट राजमार्ग लैजान नहुने र यसको डिपिआर परिर्वतनका लागि प्रदेश सरकार, महानगर तथा मादी गाउँपालिकाबाट समेत आग्रह भएको बताइन्छ । “राजमार्गको मापदण्डअनुसार सडकको दुवैतर्फ २५÷२५ मिटर छाड्नु असम्भव देखिएको र बस्ती स्थानान्तरण गर्न नसकिने भनेर प्रदेश सरकार, महानगर, वडा तथा गाउँपालिकाबाट आग्रह भयो”, योजना प्रमुख भण्डारीले भन्नुभयो, “जग्गाको मुआब्जा दिने व्यवस्था  समेत नभएकाले नयाँ रेखाङ्कनका लागि योजना कार्यालयबाट फाइल उठाएर सडक विभाग, भौतिक मन्त्रालय हुँदै मन्त्रिपरिषद्मा लगेर निर्णय गरेका हौँ ।”   मादी गाउँपालिकाले आफ्नो पालिकाको धेरै वडालाई समेट्ने गरी राजमार्गको नयाँ रेखाङ्कन गर्न माग गरेको थियो । कार्यपालिका बैठकबाटै भैँसेदेखि मादीको ज्याम्दु र पानीघाट जोड्ने गरी राजमार्ग लैजानुपर्ने माग गरिएको थियो । पछिल्लो एलाइनमेन्ट अनुसार मादीका अधिकांश वडा पक्की राजमार्गमा जोडिने भएका छन् ।    मादी–७ का वडाध्यक्ष दुर्गाबहादुर गुरुङले पहाडी क्षेत्र हुँदै मध्यपहाडी राजमार्ग विस्तारको योजनाले मादीको विकासमा ठूलो योगदान पुग्ने बताउनुभयो । पालिकाका धेरै वडा मध्यपहाडीले छुने भएकाले मादीको पूर्वाधार विकाससँगै, पर्यटन, कृषि र जनजीविकालाई सहज बनाउने उहाँले बताउनुभयो ।    गुरुङले भन्नुभयो, “मादीलाई धेरै समेट्ने गरी राजमार्ग लैजानुपर्छ भनेर हामीले माग गरेका थियौँ, अहिले सोहीअनुसार भएको छ । स्थानीयवासीले पनि जमिन दिन तयार हुनुभएको छ, विवाद छैन, यसले खुसियाली थपेको छ ।” मध्यपहाडी राजमार्गको कास्की खण्डमा ९१ किमी क्षेत्र पर्दछ । कास्की खण्ड लमजुङ÷कास्की सीमा रुदीखोलादेखि कास्की/पर्वत सीमा साँधखोलासम्म रहेको छ ।   रुदीखोलादेखि भैँसेसम्मको १६ किमीमा गत वर्ष ठेक्का लगाएर हाल काम चालु रहेको बताइन्छ । सो खण्डमा हाल सडक चौडा बनाउने, नाला निर्माण, टेवा पर्खाल लगाउने र गार्भेलको काम भइरहेको योजनाले जनाएको छ । याम्दीदेखि नयाँपुलसम्मको ३५ किमीसम्मको सबै काम सम्पन्न भएको छ । रु तीन अर्ब लागतमा यस खण्डको काम सम्पन्न भएको हो ।   पछिल्लो समय निर्माण गरिएको यस सडकको सौन्दर्यले देश विदेशमा भाइरलसमेत बनेको छ । हेमजा क्षेत्रको सिधा र फराकिलो सडक, आकर्षक जेब्रा क्रसिङ, सडक डिआइडर र सडकबत्तीले राजमार्गको सौन्दर्य बढाएको हो । 

  काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयान मन्त्रालयका सचिव सुरेश अधिकारीले सरकारले पर्यटन क्षेत्रलाई सधैँ महत्व दिएको बताउनुभएको छ ।    पदयात्रा पर्यटन व्यवसायीको छाता सङ्गठन ट्रेकिङ एजेन्सीज् एशोसिएन अफ नेपाल (टान)को ४४ औँ वार्षिक साधारण सभाबाट निर्वाचित कार्यसमितिको शपथ ग्रहण तथा पदभार हस्तान्तरण कार्यक्रममा बोल्दै उहाँले निजी क्षेत्रसँगको सहकार्य र सहभागिता बिना पर्यटन क्षेत्रको विकास हुन नसक्ने बताउनुभएको हो ।   “कोरोना महामारीबाट थलिएको नेपालको पर्यटन क्षेत्रलाई पुनःउत्थान गर्नका लागि पर्यटन मन्त्रालयले ७३ बुँदे कार्ययोजना अगाडि सारेको छ, उक्त कार्ययोजनाको कार्यान्वयन गर्नका लागि निजी क्षेत्रको महत्वपूर्ण योगदान आवश्यक रहन्छ”, उहाँले भन्नुभयो ।   सचिव अधिकारीले पर्यटन क्षेत्रको विकासका लागि व्यापक पूर्वाधार विकासको आवश्यकता रहेको औँल्याउनुभयो । व्यवसायीसँगको छलफलमा पर्यटन मन्त्रालयले सन् २०२३ देखि २०३३ सम्मलाई भ्रमण दशक मनाउने योजना अगाडि सारेको उहाँले उल्लेख गर्नुभयो । पर्वतीय पर्यटन क्षेत्रमा देखिएका समस्या समाधानका लागि मन्त्रालय टानसँग सहकार्य गर्न तयार रहेको उहाँको भनाइ थियो ।   नेपाल पर्यटन वोर्डका उपाध्यक्ष चन्द्रप्रसाद रिजालले पर्यटन क्षेत्रमा देखिएका समस्या समाधान गर्न सबै एकजुट भएर अगाडि बढ्नुपर्ने धारणा राख्नुभयो । नेपाल पर्वतारोहण सङ्घका अध्यक्ष निमा नुरु शेर्पाले पर्यटन क्षेत्रको पुनःउत्थान गर्नका लागि निजी क्षेत्र र सरकारबीच सहकार्य हुनुपर्ने धारणा राख्नुभयो ।    टानका निवर्तमान अध्यक्ष खुमबहादुर सुवेदीले भन्नुभयो, “कोरोनाबाट थलिएको पर्यटन क्षेत्रलाई पुनःउत्थान गर्दै बढीभन्दा बढी पर्यटक भित्र्याउका लागि व्यवसायी एकताबद्ध भएर लागौँ ।”   टानका नवनिर्वाचित अध्यक्ष नीलहरि बाँस्तोला, महासचिव बाबु सापकोटा, कोषाध्यक्ष पुरुषोत्तम तिमल्सिनाले आम मतदाताले दिएको भोट र विश्वासलाई आफूहरुले गुम्न नदिने बताउनुभयो । उहाँहरुले निर्वाचनमा पराजित साथीहरुको एजेन्डालाई समेत समावेश गरेर आफूहरु अगाडि बढ्ने विश्वास व्यक्त गर्नुभयो ।

  पोखरा । रिलायबल नेपाल लाइफ इन्स्योरेन्स, कास्की शाखाले पोखरा महानगरपालिका–१० स्थित कालिका उच्च माध्यमिक विद्यालयका छात्रालाई सेनेटरी प्याड वितरण गरेको छ ।   कम्पनी छैटौँ वर्षमा प्रवेश गरेको अवसरमा विद्यालयलाई ९० प्याकेट सेनेटरी प्याड प्रदान गरिएको कम्पनीका गण्डकी प्रदेश संयोजक एवं कास्की शाखा प्रमुख लक्ष्मण थापाले जानकारी दिनुभयो ।   “कम्पनीको वार्षिकोत्सवलाई रचनात्मक बनाउने सिलसिलामा सेनेटरी प्याड वितरण गरिएको हो, सामाजिक उत्तरदायित्वप्रति पनि कम्पनी सचेत छ”, उहाँले भन्नुभयो ।    शाखा प्रमुख थापाले विद्यालयका सहायक प्रधानाध्यापक बलदेव अधिकारी र शिक्षक सुनिता बस्नेतलाई प्याड हस्तान्तरण गर्नुभएको हो । त्यस क्रममा सहायक प्रअ अधिकारीले छात्राहरुलाई लक्ष्य गरी सामग्री सहयोग गरेकामा कम्पनीको सह्राहना गर्नुभयो ।   प्याड हस्तान्तरण कार्यक्रममा कम्पनीका सिनियर एजेन्सी म्यानेजर शर्मिला केसी, एजेन्सी म्यानेजर धनकुमारी अधिकारीलगायत उपस्थित थिए । कार्यक्रमको सञ्चालन शाखाका बजार प्रमुख गोविन्द्र पौडेलले गर्नुभएको थियो ।   रिलायबल नेपाल लाइफ इन्स्योरेन्सले विसं २०७४ भदौ १५ गतेबाट औपचारिक रुपमा कारोबार सुरु गरेको थियो । गत आवको वित्तीय विवरण अनुसार जीवन बीमा कोष ७८.१३ प्रतिशतले वृद्धि गरी चार अर्ब ६० करोड माथि पु¥याउन सफल भएको छ । त्यस्तै खुद नाफा २१ प्रतिशतले वृद्धि गर्न सफल भएको छ ।    कम्पनीले गत आवमा मात्रै तीन अर्ब ७७ करोड एक लाख १५ हजार खुद बीमा शुल्क आम्दानी गर्न सफल भएको छ । कम्पनीको चुक्ता पूँजी अर्ब ४० करोड रुपैयाँ छ ।   

बागलुङ । विसं २०७२ यता महाविद्याजन माध्यमिक विद्यालयमा बिहानको प्रार्थना चलेन । साँघुरो र भिरालो जग्गामा रहेको विद्यालय भूकम्पले थिलो थिलो पारेको थियो ।   बागलुङ नगरपालिका–११ रायडाँडास्थित महाविद्याजन माध्यमिक विद्यालयले पाँच वर्ष विद्यार्थीलाई टिनको छाप्रोमै अध्यापन गरायो । न खेलमैदान न राम्रो शौचालय, टिनले बारेको कक्षाको अध्यापनले विद्यार्थीलाई सास्ती नै सास्ती तर भूकम्पकोे छ वर्षपछि महाविद्याजनको मुहारै फेरिएको छ । अहिले विद्यालयमा भूकम्पले भत्काएको विद्यालय पुनः ठडिएको छ । विद्यालयमा १२ कोठाको विद्यालय विभिन्न चरणमा विभिन्न सरोकारवाला निकायको सहयोगमा पुनःनिर्माण सम्पन्न भएको छ ।    पाँच वर्ष निकै सास्तीपूर्ण अवस्थामा पठनपाठन भए पनि एक वर्ष यता विद्यालयको पुनःनिर्माण सकिएर पठनपाठनमा सहज भएको विद्यालयका प्रधानाध्यापक रामबहादुर केसीले जानकारी दिनुभयो । “२०५३ सालमा डिसिआरडिसी संस्थाले बनाएको १० कोठे भवन भूकम्पले पूरै क्षति पुर्यो, एक कक्षा देखि १२ कक्षासम्म पढाइ हुने विद्यालयमा जम्मा छकोठे पक्की भवनमात्रै थियो, त्यसैको छतमा बागलुङ नगरपालिकाको केही बजेट र आन्तरिक स्रोतको केही बजेटबाट छतमा टिनको छाप्रो हालेर पढाइ चलाइयो”, प्रधानाध्यापक केसीले भन्नुभयो, “विद्यालय पुनःनिर्माणका कारण प्राङ्गण थिएन, शौचालय थिएन, निकै समस्या थियो, टिनले बारेको कक्षामा होहल्ला हुने समस्या थियो, तर पुनःनिर्माण प्राधिकरणले आठ कोठा, बागलुङ नगरपालिकाको र राष्ट्रपति शैक्षिक सुधार कार्यक्रमअन्तर्गत चार कोठा गरी १२ कोठा मात्रै विद्यालय भूकम्पपछि पुनःनिर्माण भयो, अहिले विद्यालयमा निकै सहज तरिकाले पठनपाठन भइरहेको छ ।”   भौगोलिकरुपमा निकै जटिल स्थानमा रहेको विद्यालय भूकम्पका कारण नराम्ररी थिलो थिलो परेकाले पठनपाठनमा समस्या भए पनि अहिले विद्यालयमा आधुनिक पक्की कोठा, व्यवस्थित खेल मैदानसहित सुविधा सम्पन्न शौचालय निर्माण भएपछि विद्यालयले काँचुली फेरेको छ ।         विसं २०७२ पछि भूकम्पले विद्यालयमा क्षति पु¥याएपछि टिनको छाप्रोमा विद्यार्थीलाई पठनपाठन गराउँदै आएको विद्यालय पुनःनिर्माणपछि अहिले नयाँ रुप लिएको छ । भिरालो र साँघुरो जग्गामा रहेको विद्यालय भूकम्पपछि गरिएको पुनःनिर्माणले चिटिक्क परेको छ ।    विसं २०५३ मा निर्माण भएको १० कोठे  भए पनि भूकम्पले पूरै क्षति बनाएको थियो । पुनःनिर्माण प्राधिकरण जिल्ला आयोजना कार्यान्वयन एकाइ शिक्षाअन्तर्गत रु एक करोड २८ लाखको लागतमा दुई ब्लकमा चार/चार कोठे भवन निर्माण गरिएको छ । अहिले जिल्लामा विद्यालयको पुनःनिर्माण सकिएर प्राधिकरणको कार्यालय नै खारेज भइसकेको छ ।    यस्तै राष्ट्रपति शैक्षिक सुधार कार्यक्रमबाट दुई कोठा भवन रु १८ लाखको लागत आर्थिक वर्ष २०७७/७८ मा निर्माण सम्पन्न भएको छ । त्यस्तै बागलुङ नगरपालिकाको सहयोगमा दुई कोठा आर्थिक वर्ष २०७६/७७  सालमा निर्माण सम्पन्न भएको विद्यालयका प्रधानाध्यापक केसीले बताउनुभयो ।    विद्यालयमा पाँच वर्षदेखि कम्प्युटर ल्याबको व्यवस्थापन गरी कम्प्युटर शिक्षासमेत प्रदान गरिएको छ । लामो समयको समन्वय र सहकार्यका बीच विद्यालयको पुनःनिर्माण सकिएको बताउँदै बागलुङ नगरपालिका–११ का वडाध्यक्ष ज्ञानेन्द्र गौतमले अब विद्यालयको ध्यान शैक्षिक गुणस्तर वृद्धि गर्नमा केन्द्रित भएको बताउनुभयो ।    “मेरो पहिलो कार्यकालदेखि थालिएको पुनःनिर्माण अहिले दोस्रो कार्यकालमा पूरा भएको छ, अबको ध्यान शैक्षिक गुणस्तरमा केन्द्रित भएको छ, एक शिक्षक एक ल्यापटप कार्यक्रम ल्याइएको छ, प्रविधिको हिसाबले अध्यापन गराउने लक्ष्य छ”, गौतमले भन्नुभयो, “विद्यालयमा प्रार्थना गर्ने स्थान थिएन, अब भौतिक सुधार भयो, शैक्षिक सुधारमा हाम्रो ध्यान जान्छ ।”       विद्यालयमा कक्षा १ देखि १२ सम्म एक सय ८० विद्यार्थी छन् । कक्षा ११ र १२ मा शिक्षा र लेखा अध्यापन गराएको विद्यालयमा अहिले शुद्ध खानेपानीको भने अभाव भएको विद्यालयले जनाएको छ । विद्यालयमा तारबारको भने व्यवस्थापन मिलाउन आवश्यक रहेको गौतमले बताउनुभयो । विद्यालयमा तारबार नहुँदा पशु चौपाय विद्यालयमा पस्ने गरेको छ । भौगौलिक रुपमा विकट रहेको उक्त स्थानमा एक घण्टा पैदल हिँडेर विद्यालय आउने विद्यार्थीसमेत छन् ।