पोखरा:   गण्डकी प्रदेश सभाले सातै वटै प्रदेशमध्ये पहिलो पटक “अपाङ्गता भएका व्यक्तिको अधिकार सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक” सर्वसम्मतिले पारित गरेको छ ।  मिति २०८१ चैत २६ गते साम...

काठमाडौँ  : निर्वाचन आयोगले आगामी मङ्सिर ४ गते हुने  प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको निर्वाचनका लागि देशभर १० हजार आठ सय ८८ मतदानस्थलको सङ्ख्या कायम गरेको छ । गत वैशाख ३० गते भएको स्थानीय तहको निर्वाचनमा १० हजार सात सय ५६ मतदानस्थल रहेका थिए ।   आयोगले मतदानस्थल तथा मतदान केन्द्र निर्धारण कार्यविधि, २०७७ बमोजिम मतदान व्यवस्थापनलाई प्रभावकारी बनाउन तथा मतदातालाई मतदान प्रक्रियामा सहज पहुँचका लागि मतदाताको सङ्ख्या, सुविधा एवं सुरक्षाको अवस्था समेतलाई मध्यनजर गरी केही मतदानस्थल पुनरावलोकन गरेको छ । कार्यविधिमा भएको व्यवस्था बमोजिम मिति २०७९ साउन १ गतेदेखि मतदानस्थल पुनरावलोकन कार्यक्रम सञ्चालन गरी मतदाताको सघनता, मतदानस्थलसम्मको पहुँच, भवन, सञ्चार, विद्युत्, यातायातलगायत पूर्वाधारको अवस्था, सुरक्षा एवं भौगोलिक अवस्था र निर्वाचनका सरोकारवालाको सहमतिका आधारमा जिल्ला मतदानस्थल तथा मतदान केन्द्र सिफारिस समितिबाट प्राप्त सुझावका आधारमा पुनरावलोकन गरिएको हो ।   सोही आधारमा जिल्लाभरका मतदानस्थल पुनरावलोकन हुँदा एक हजार एक सय २३ मतदानस्थलको त्रुटि सच्याइएको, साविकका तीन सय ६५ मतदानस्थलबाट सबै मतदाता स्थानान्तरण गरी तीन सय ६४ मतदानस्थल निर्धारण गरिएको छ । एक सय ६३ मतदानस्थलबाट आंशिक मतदाता स्थानान्तरण गरी एक सय ६९ मतदानस्थल निर्धारण गरिएको साथै २८ मतदानस्थलका सबै मतदातालाई २८ वटै मतदानस्थलमा र १५ मतदानस्थलका आंशिक मतदातालाई स्थानान्तरण गरी १३ वटा मतदान स्थलमा गाभिएको छ ।   आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलका अनुसार देशभरका मतदानस्थलको सङ्ख्या १० हजार आठ सय ८८ पुगेको छ । यसअघि देशभरका जम्मा १० हजार सात सय ५६ मतदानस्थल रहेका थिए । मतदानस्थल पुनरावलोकन गर्दा देशभरका चार सय एक मतदानस्थललाई हटाइ नयाँ मतदान स्थल निर्धारण गरिएको छ ।   मतदानस्थल पुनरावलोकन भएपश्चात् स्थानीय तहको निर्वाचन, २०७९ को समयमा मतदान गर्नका लागि बास बस्नुपर्ने, निकै टाढा टाढासम्म हिँड्नुपर्ने लगायतको गुनासो सम्बोधन भई मतदातालाई मतदानस्थलसम्मको पहुँच सहज भई निर्वाचनमा मतदाताको सहभागिता अझ बढ्ने अपेक्षा आयोगले गरेको छ ।

काठमाडौँ  :  जिल्ला अदालत जुम्लाले कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा कार्यरत डा. करण साहलाई नियन्त्रणमा लिन पक्राउ पुर्जी जारी गरेको छ ।    जिल्ला प्रहरी कार्यालय जुम्लाले डा. साहले प्रतिष्ठानमा उपचारका क्रममा बाल हिंसा गराएको आरोपमा जाहेरी दरखास्त दर्ता भएको व्यहोरा अनुरोध गर्दै अनुसन्धान अभियोजनका लागि पक्राउ अनुमति मागेअनुसार पक्राउ पुर्जी दिएको जिल्ला अदालतका श्रेस्तेदार  सरोजराज रेग्मीले जानकारी दिनुभयो ।   एसिया इन्टरनेशनल मोडेल इङ्लिस स्कुल जुम्लामा कक्षा युकेजीमा अध्ययनरत चन्दननाथ नगरपालिका-२ जुम्ला भण्डारीवाडाका छ वर्षीय बालक पृथकविक्रम शाहीको उपचारमा डा साहले बाल हिंसा गरेको जनाउँदै बालकका आमा आशा हमाल ९शाही०ले जुम्ला प्रहरीमा यही भदौ १३ गते  जाहेरी दरखास्त दर्ता गर्नुभएको थियो ।    “बाल हिंसाको आरोपमा प्रहरीमा डा साहविरुद्धमा जाहेरी प¥यो र त्यसको अनुसन्धान गर्न प्रहीले अदालतसँग पक्राउ अनुमति माग्यो”,  श्रेस्तेदार  रेग्मीले भन्नुभयो, “प्रहरीले त्यसअनुसार अदालतले अनुसन्धान प्रयोजनका लागि फुक्का अनुमति दिएको हो ।” अहिलेको कानुनी व्यवस्थाअनुसार कुनै आरोपितविरुद्धको अनुसन्धान प्रयोजनका लागि प्रहरीले अदालतसँग पक्राउ अनुमति माग्ने प्रावधान रहेको उहाँले बताउनुभयो ।   यही भदौ २ गते प्रतिष्ठानको आकस्मिक कक्षमा ‘ड्युटी’मा रहेका बेला डा साहले उपचार नगरेको र बालक तीर्थविक्रमलाई उपेक्षित एवं भेदभावपूर्ण व्यवहार गरेको आरोपमा बाल हिंसासम्बन्धी कसुर भएको व्यहोरा उल्लेख गर्दै प्रहरीमा जाहेरी दरखास्त परेको थियो ।  यसपछि प्रहरीले उहाँमाथि अनुसन्धान सुरु गरेको छ । डा. साह जलेश्वर नगरपालिका-५ महोत्तरी जिल्ला निवासी हुनुहुन्छ ।

  काठमाडौं । मतदाता नामावलीबाट नाम हटेपछि निर्वाचन बूढानीलकण्ठ नगरवासीले काठमाडौँ निर्वाचन कार्यालय घेराउ गरेका छन् । नेकपा (एमाले) बूढानीलकण्ठ नगर कमिटीको टिमले काठमाडौँ निर्वाचन कार्यालय घेराउ गरेको हो ।       नेपाली कांग्रेस बूढानीलकण्ठ नगर समितिले एमाले कार्यकर्ताको नाम छानी छानी फर्जी मतदाता भनेर कार्यालयमा दिएको कीर्ते उजुरीका आधारमा निर्वाचन कार्यालयले सक्कल कागजपत्र लिएर आउन सूचित गरेपछि उनीहरु बसाइँसराइ र मतदाता परिचयपत्रलगायतका कागजात बोकेर निर्वाचन कार्यालय घेराउ गर्न पुगेका नगर कमिटी अध्यक्ष प्रदीप डङ्गोलले बताउनुभयो ।       निर्वाचन कार्यालय धर्नाका क्रममा निर्वाचन कार्यालय पुगेका बूढानीलकण्ठ–१० एमाले नगर कमिटी अध्यक्ष जगत निरौलाले नामावलीबाट नगर कार्यपालिका सदस्यसमेतको नाम हटाइएको भन्दै आक्रोस पोख्नुभयो । निर्वाचन कार्यालयमा सम्पूर्ण कागजात पुर्याएर आएको नामावलीबाट नाम हटाउनु जनताको अन्याए भएको उहाँको भनाइ छ ।

  कैलाली । सुदूरपश्चिम प्रदेशका प्रदेश प्रमुख देवराज जोशीले पछाडि परेका वर्ग र समुदायको उत्थान नभएसम्म समाज रुपान्तरण नहुने बताउनुभएको छ ।        कैलालीको धनगढीमा आज आयोजित मुक्त हलियाको समस्या र राज्यको दायित्व विषयक कार्यक्रम उद्घाटन गर्दै उहाँले देशको विकास र समाज रुपान्तरणका लागि सबैको सहयोग आवश्यक भएको बताउनुभयो । उहाँले हलिया मुक्ति भएको लामो समय बितिसक्दा पनि अझैसम्म पुनःस्थापना हुन नसकेकोमा मुक्त हलिया परिवारको समस्या समाधान गर्न सम्बन्धित निकायले ध्यान दिनुपर्ने बताउनुभयो ।        उहाँले मुक्तिको घोषणा भएर पनि पुनःस्थापना कार्य नभएका मुक्त हलिया परिवारको व्यवस्थापनका लागि राज्यले ध्यान दिनुपर्नेमा जोड दिनुभयो । मुक्त घोषणा भएको १४ वर्षसम्म सबै मुक्त हलिया परिवारको पुन:स्थापना नहुँदा उनीहरुलाई जीविकोपार्जनमा असर परिरहेको उहाँको भनाइ थियो ।       संविधानसभा सदस्य तथा हलिया मुक्ति आन्दोलनका अगुवा हरि श्रीपाइली लामो सङ्र्घषपछि हलियालाई सरकारले मुक्त घोषणा गरे पनि पुनःस्थापना कार्यमा ढिलाइ गरेको बताउनुभयो । राष्ट्रिय मुक्त हलिया समाज महासङ्घका अध्यक्ष ईश्वर सुनारले सरकारबाट प्रमाणीकरण भएका १६ हजार ९५३ घरपरिवार मध्ये हालसम्म १३ हजार छ सय ४६ मुक्त हलिया परिवारले पुन:स्थापनाको प्याकेज पाएको बताउनुभयो । 

  काठमाडौं । नेपाली सेनाका परमाधिपति राष्ट्रपति विद्यादेवी भण्डारीले भारतीय स्थल सेनाध्याक्ष जनरल मनोज पाण्डेलाई नेपाली सेनाको मानार्थ महारथी दर्जा प्रदान गर्नुभएको छ ।   प्रधानमन्त्री शेरबहादुर देउवासहति नेपाल सरकारका उच्च पदस्थ अधिकारीहरूको उपस्थितिमा राष्ट्रपति भवन शितलनिवासमा आज आयोजित विशेष अलङ्करण समारोहमा राष्ट्रपति भण्डारीले उहाँलाई मानार्थ महारथी दर्जाका साथै खड्ग प्रदान गर्नुभयो ।    प्रधानसेनापति प्रभुराम शर्माको औपचारिक निमन्त्रणामा नेपालको पाँच दिवसीय भ्रमणका लागि सेनाध्यक्ष पाण्डे आइतबार नेपाल आउनुभएको हो ।    नेपाल र भारतबीच सन् १९५१ देखि एक–अर्का देशका सेना प्रमुखलाई मानार्थ महारथीको दर्जा प्रदान गर्ने प्रचलन छ । विसं २००७ मा भारतीय सेनाका फिल्ड मार्सल केएम करिअप्पालाई पहिलो पटक नेपाली सेनाको मानार्थ प्रधानसेनापतिको सम्मान प्रदान गरिएको थियो ।   विसं २०२६ मा तत्कालीन प्रधानसेनापति सुरेन्द्रबहादुर शाहले पहिलो पटक भारतीय सेनाको मानार्थ सेना प्रमुखको सम्मान प्राप्त गर्नुभएको थियो । सोही प्रचलनको निरन्तरता स्वरुप राष्ट्रपति भण्डारीले भारतीय सेनाध्यक्ष पाण्डेलाई आज मानार्थ महारथी दर्जा प्रदान गर्नुभएको हो ।    अघिल्लो वर्ष प्रधानसेनापति शर्माले भारतीय सेनाको मानार्थ महारथी पाउनुभएको थियो भने सन् २०२० मा भारतीय सेना प्रमुख जनरल मनोज मुकुन्द नरवाणेलाई नेपाली सेनाको मानार्थ महारथी प्रदान गरिएको थियो । हालसम्म भारतका २१ र नेपाली सेनाका १७ सेनापतिले उक्त सम्मान प्राप्त गरिसक्नुभएको छ ।   दुई मुलुकका सेनाबीचको दशकौंदेखिको उक्त अनुपम अभ्यासले नेपाली सेना र भारतीय सेनाबीच आपसी सम्बन्ध मात्र नभई दुवै मुलुकको मित्रता र सहयोगको ऐतिहासिक सम्बन्धलाई थप बलियो बनाउन टेवा पुग्ने विश्वास गरिएको छ ।    नेपाल र भारत घनिष्ठ एवं शान्तिपूर्ण मुलुक हो । यी मुलुकबीच सदियौंदेखि सामाजिक सद्भाव, धार्मिक सहिष्णुता, सांस्कृतिक सामिप्यता तथा सेनाबीच प्रगाढ सम्बन्ध रही आएको छ ।    द्विपक्षीय सेनाबीच शान्तिपूर्ण सहअस्तित्व, सम्मान र सहयोगभाव पहिलेदेखि नै चलीआएको इतिहास छ । तिनै परम्परा र इतिहासले नेपाली सेना र भारतीय सेनाबीच गहिरो सम्बन्ध कायम छ ।    नेपाली सेनाका प्रधानसेनापति भारतीय सेनाको मानार्थ महारथी तथा भारतीय सेना प्रमुख नेपाली सेनाको मानार्थ महारथी हुने परम्परा एसियाको अनुकरणीय उदाहरण भएको राष्ट्रपतिको कार्यालयले जनाएको छ ।   नेपाली सेना र भारतीय सेनाले एक अर्को मुलुकमा आइपर्ने प्राकृतिक प्रकोपमा निरन्तर सहयोग पुर्याउँदै आएको छ । नेपाली सेना र भारतीय सेना बीच सञ्चालन हुने ‘एक्स सूर्य किरण’ सैन्य अभ्यासले दुवै देशको सेनाबीच अझै सम्बन्ध मजवुद पारेको छ ।    मानार्थ महारथी दर्जा प्राप्त गर्नु अघि जलनरल पाण्डेले आज सैनिक मुख्यालय जङ्गी अड्डामा वृक्षारोपण गर्नुका साथै नेपाली सेनालाई विभिन्न सैन्य सामग्री हस्तान्तरण गर्नुभएको थियो । सो क्रममा नेपाली सेनाले उहाँलाई सम्मान गारत अर्पण गरेको थियो । उहाँले आजै प्रधानसेनापति प्रभुराम शर्मासँग भेटवार्ता पनि गर्नुभएको थियो ।    पाँच दिने भ्रमणका क्रममा पाण्डेले मङ्गलबार बिहान माउन्टेन फ्लाइट गर्नुका साथै शिवपुरीस्थित नेपाली सेनाको कमाण्ड तथा स्टाफ कलेजको भ्रमण गर्ने कार्यक्रम छ ।    यस्तै अपराह्न ३ बजे प्रधानमन्त्री देउवासँग उहाँले शिष्टाचार भेट गर्दै हुनुहुन्छ भने साँझ हिन्दुहरूका आराध्यदेव पशुपतिनाथको दर्शन गर्ने कार्यक्रम छ ।   बुधबार मुक्तिनाथको दर्शन, पोखरास्थित मध्य कमाण्ड हेटक्वाटरको निरीक्षण तथा वसन्तपुरस्थित दरबार स्क्वायरको भ्रमण गर्नुहुने छ । बिहीबार भने नेपालस्थित भारतीय राजदूतावासको भ्रमण गरी उहाँ स्वदेश फर्कनुहुने जनाइएको छ ।   सेनाध्यक्ष पाण्डेको योगदान राष्ट्रपति भण्डारीबाट नेपाली सेनाको मानार्थ महारर्थी दर्जा प्राप्त गर्नुभएका भारतीय सेनाध्यक्ष जनरल पाण्डे भारतको परम विशिष्ट सेवा मेडल, अति विशिष्ट सेवा मेडल, विशिष्ट सेवा मेडलजस्ता उच्च मानपदवी, विभूषण तथा पदकबाट विभूषित हुनुहुन्छ ।    एड–डि क्याम्प तथा प्रतिष्ठित नेशनल डिफेन्स एकाडेमीबाट दीक्षित पाण्डे सन् १९८२ मा  भारतीय सेनाको कोर अफ इन्जिनियर्समा कमिशन हुनुभएको थियो ।    संयुक्त अधिराज्यको क्याम्बर्लीस्थित स्टाफ कलेजबाट दीक्षित पाण्डे हाइ कमाण्ड र नेशनल डिफेन्स कलेज कोर्ससमेत गर्नुभएको छ । भारतीय सेनाप्रतिको निस्वार्थ सेवा, इमान्दारिता, लगनशिलता, सैनिक पेशाप्रतिको समर्पणका कारण जनरल पाण्डे आफूलाई सैनिक कला र व्यावसायिकतामा अब्बल सावित गर्दै सन् २०२२ अप्रिल ३० मा भारतीय सेनाको सेनाध्यक्षमा नियुक्त हुनुभएको थियो ।    करिव चार दशक लामो भारतीय सैनिक सेवामा कार्यरत उहाँले उल्लेखनीय कमाण्ड तथा स्टाफ भूमिकाहरूमा कार्यसम्पादन गर्नुभएको छ । महत्वपूर्ण र चुनौतीपूर्ण कमाण्डमा कार्यरत रहने क्रममा उहाँले इन्जिनियर ब्रिगेड, इन्फेन्ट्री ब्रिगेड, माउन्टेन डिभिजन र कोरको सफलतापूर्वक  कमाण्ड गर्नुभएको छ ।    उहाँले  अन्डामन र निकोबर कमाण्डमा  कमाण्डर इन चिफ र पूर्वी कमाण्डको जनरल अफिसर कमान्डिङ इन चिफको जिम्मेवारीसमेत सफलतापूर्वक  सम्पन्न गर्नुभएको छ ।    उहाँले भारतीय सेनाको पूर्वी–कमाण्डमा रहँदा चुनौतीपूर्ण प्रतिविद्रोह कारवाहीमा समेत प्रशंसनीय भूमिका निर्वाह गर्नुभएको छ ।    भारतीय सेनाको महत्वपूर्ण स्टाफ भूमिकामा रहेर जिम्मेवारी पूरा गर्ने क्रममा जनरल पाण्डेले भाइस चिफ अफ आर्मी स्टाफ, मिलिटरी अपरेशनमा  एडिसनल डाइरेक्टर जनरल, दक्षिण कमाण्ड हेडक्वाटरमा चिफ अफ स्टाफ, डिसिप्लिन, सेरेमोनियल तथा वेलफेयर डाइरेक्टोरेटमा डाइरेक्टर जनरलको नियुक्तिमा विशेष योगदान पुर्याउनुभएको छ ।    उहाँले शान्ति स्थापनार्थ इथियोपिया र इरिट्रियास्थित संयुक्त राष्ट्रसङ्घीय मिसनमा चिफ इन्जिनियरको रुपमा कार्य गरी विश्व शान्तिमा विशिष्ट योगदान पुर्याउनुभएको छ । 

  काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दिलेन्द्रप्रसाद बडूले देशलाई आत्मनिर्भर बनाउन स्वदेशी उत्पादनलाई बढवा दिनुपर्ने बताउनुभएको छ ।   नेपाल इँटा उद्योग महासङ्घको १४औँ वार्षिक साधरणसभाको सोमबार धनगढीमा उद्घाटन गर्दै उहाँले देशलाई आत्मनिर्भर बनाउन सरकारले आयात बढाउने र निर्यात घटाउने नीति लिएको बताउनुभयो ।    उहाँले बन्द रहेका उद्योग सञ्चालन गर्न सरकारले पहल गरिरहेको उल्लेख गर्दै त्यसका लागि आवश्यक कार्ययोजना बनाएर अघि बढ्नुपर्ने बताउनुभयो ।   मन्त्री बडूले इँटा उद्योगी व्यवसायीले देशको विकास र अर्थतन्त्रमा ठूलो योगदान पुर्याएको बताउनुभयो । इँटा उद्योगी व्यवसायीका समस्या समाधानका लागि सरकार गम्भीर रहेको उहाँको भनाइ थियो । इँटा उद्योगी व्यवसायीलाई सहुलियत दरमा बैंकिङ कर्जा प्रवाहको व्यवस्था गर्न सरकार लागि परेको उहाँले बताउनुभयो ।   सरकारले उत्पादनशील तथा रोजगारमुखी व्यवसायको विकासलाई प्राथमिकता दिएको उहाँको भनाइ थियो । निर्यातमुखी उत्पादनलाई प्राथमिकता दिने सरकारी नीति रहेको उल्लेख गर्दै उहाँले उत्पादनशील उद्योग व्यवसायमा जोड दिन उद्योगी व्यवसायीहरुलाई आग्रह गर्नुभयो । 

  काठमाडौं । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अबको दुई÷तीन दिनभित्रै गठबन्धन दलबीच सिट बाँडफाँट टुङ्गो लाग्ने बताउनुभएको छ । पार्टीको कार्यक्रमका लागि जनकपुरधाम आइपुग्नुभएका अध्यक्ष दाहालले आज सञ्चारकर्मीसँग सङ्क्षिप्त कुरा गर्नुहुँदै गठबन्धन दल सिट बाँडफाँटको अन्तिम तयारीमा रहेको बताउनुभयो ।        “गठबन्धनको सिट बाँडफाँट अध्ययन कार्यदलले अध्ययन गरिरहेको छ”, अध्यक्ष दाहालले भन्नुभयो, “कार्यदलले आज वा भोलिसम्ममा प्रतिवेदन दिन्छ, त्यसलगत्तै कार्यदलको प्रतिवेदनका आधारमा सिट बाँडफाँटको टुङ्गो लगाउँछ ।”        “अघिल्लो निर्वाचनमा जुन क्षेत्रमा जुन दलले जितेको थियो, त्यही दललाई दिने सैद्धान्तिक सहमति भएको छ”, अध्यक्ष दाहालले भन्नुभयो, “त्यसबाहेक थप कति वटा सिट कुन दललाई दिने भन्नेमा टुङ्गो लगाउन मात्र बाँकी छ ।” हामीले छिटोभन्दा छिटो सिट बाँडफाँटको टुङ्गो लगाएर चुनावी तयारीमा जुट्न चाहन्छौँ”, अध्यक्ष प्रचण्डको भनाइ थियो ।       गत २०७४ सालको प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमाभन्दा आगामी मङ्सिर ४ गते हुने निर्वाचनमा मधेश प्रदेशमा आफ्नो पार्टीले बढी सिट जित्ने दाबी अध्यक्ष दाहालले गर्नुभयो । अध्यक्ष दाहालले प्रतिनिधिसभा र राष्ट्रियसभामा दोस्रो पटक पारित भएको नागरिकतासम्बन्धी विधेयक राष्ट्रपतिबाट प्रमाणीकरण हुने विश्वास व्यक्त गर्नुभयो ।        “संविधानले राष्ट्रपतिलाई एकपटक विधेयक फिर्ता गर्ने अधिकार दिएको छ”, अध्यक्ष दाहालले भन्नुभयो, “दोस्रो पटक विधेयक फिर्ता गर्ने अधिकार संविधानले राष्ट्रपतिलाई दिएको छैन, त्यसैले दुवै सदनबट दोस्रो पटक पारित भएको नागरिकता विधेयक राष्ट्रपतिबाट प्रमाणीकरण हुन्छ, हामी पूर्ण विश्वस्त छौँ ।”        यसैबीच नेकपा माओवादी केन्द्रको मधेस प्रदेशमा रहेका केन्द्रीय सदस्यको बैठक आज जनकपुरधाममा सुरु भएको छ । जनकपुरधामस्थित होटल राजदरबारमा दिउँसो २ बजेदेखि सुरु भएको बैठकलाई अध्यक्ष दाहाल, वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ (प्रकाश), नेताहरु मात्रिकाप्रसाद यादव, गिरीराजमणि पोखरेललगायतका नेताहरुले सम्बोधन गर्नुहुने कार्यक्रम रहेको माओवादी केन्द्र मधेस प्रदेशका इञ्चार्ज गणेश साहले जानकारी दिनुभयो । 

  काठमाडौं । कोरोना भाइरसको सङ्क्रमण आज दुई सय २१ जनामा देखिएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जारी गरेको नियमित बुलेटिनमा चार हजार ५८ परीक्षणमध्ये दुई सय २१ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको जनाइएको छ ।    आज दुई सय छ जना कोरोना भाइरसबाट स्वास्थ्य लाभ लिई घर फर्किएका छन् । निको हुने प्रतिशत ९८.६ प्रतिशत रहेको छ । सक्रिय सङ्क्रमितको सङ्ख्या दुई हजार चार सय ४४ जना पुगेको छ । यस्तै आज कोरोना भाइरसको  सङ्क्रमणबाट कसैको पनि निधन भएको छैन ।    पाँच सयभन्दा बढी सङ्क्रमित भएका जिल्ला काठमाडौँ र दुई सयभन्दा बढी सङ्क्रमित भएको जिल्ला ललितपुर रहेको छ । सङ्क्रमित शून्य भएका जिल्ला मनाङ, मुस्ताङ, हुम्ला, डोल्पा, जुम्ला, पश्चिम रुकुम र मुगु रहेका छन् ।   होम आइसोलेसनमा दुई हजार तीन सय १२, संस्थागत आइसोलेसनमा एक सय ३२, सघन उपचार कक्ष (आइसियु)मा ३८ र भेन्टिलेटरमा तीन जनाको उपचार भइरहेको छ । आज कोरोना भाइरस विरुद्धको खोप दुई लाख ६९ हजार छ सय ४५ जनाले लगाएका छन् । 

  काठमाडौं । नेपालगञ्ज उपमहानगरपालिकाभित्र स्थानीय व्यक्तिमा पनि डेँङ्गुको सङ्क्रमण देखिएको छ । नेपालगञ्जको बसपार्क क्षेत्रमा बसोबास गर्ने एकजनामा डेँङ्गु देखिएको उपमहानगरपालिकाले जनाएको छ ।     स्थानीयवासीमा डेँङ्गु देखिएपछि अन्य व्यक्तिमा सर्न नदिनका लागि डेँङ्गु सार्ने लामखुट्टे नष्ट पार्ने कार्यक्रम सञ्चालन गरिने उपमहानगरपालिकाका स्वास्थ्य महाशाखा प्रमुख रामबहादुर चन्दले जानकारी दिनुभयो ।    स्वास्थ्य कार्यालय बाँकेका दुर्गा गौतमसहितको सहभागितामा वडा नं ४ को कार्यालयमा बसेको सर्वपक्षीय बैठकले सोमबारदेखि लामखुट्टे नष्ट पार्ने तथा जनचेतनामूलक कार्यक्रम सञ्चालन गर्ने निर्णय गरेको छ । वडा नं ४ का अध्यक्ष गोपाल पुनले डेँङ्गुबाट नगरवासीलाई जोगाउन सचेतना जगाउन आवश्यक भएको बताउनुभयो ।