काठमाडौं । देशभर आंशिकदेखि सामान्य बदली रही केही स्थानमा भारी वर्षा हुने भएको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार देशभर आंशिकदेखि सामान्य बदली रही देशका केही स्थानमा मेघगर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना तथा बागमती, गण्डकी र लुम्बिनी प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना छ । विभागले आगामी २४ घण्टा देशको पहाडी भू–भागका केही स्थानमा र बाँकी प्रदेशका थोरै स्थानमा मेघगर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना हुनुका साथै बागमती, गण्डकी र लुम्बिनी प्रदेशका एक–दुई स्थानमा मेघगर्जन/चट्याङसहित भारी वर्षाको सम्भावना रहेकाले पहाडी भू–भागमा भू–क्षय, पहिरो तथा गेग्रान बहावको जोखिम रहेको छ । राति देशभर आंशिकदेखि सामान्य बदली रही प्रदेश नं १, बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानमा तथा बाँकी प्रदेशका थोरै स्थानमा मेघगर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना र सुदूरपश्चिम र गण्डकी प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको जनाइएको छ । मौसम पूर्वानुमान महाशाखाको पछिल्लो विवरणानुसार आज काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम १९ दशमलव शून्य डिग्री र अधिकतम तापक्रम २८ दशमलव आठ डिग्री सेल्सियस रहेको छ । त्यस्तै आज सबैभन्दा कम जुम्लाको न्यूनतम तापक्रम १५ दशमलव चार डिग्री र सबैभन्दा धेरै विराटनगरको अधिकतम तापक्रम ३५ दशमलव शून्य डिग्री सेल्सियस छ ।
तनहुँ । तनहुँमा राहदानी वितरणबाट आर्थिक वर्ष २०७८र७९ मा रु चार करोड ४२ लाख राजस्व सङ्कलन भएको छ । सो आवमा जिल्लाबाट छ हजार छ सय १९ राहदानी वितरण गरिएको सहायक प्रमुख जिल्ला अधिकारी काशीराम गैह्रेले जानकारी दिनुभयो । त्यस्तै आठ हजार आठ सय ५४ जनाको राहदानीका लागि जिल्लाबाट सिफारिस गरिएको छ भने आठ सय ७२ द्रुत सेवाका लागि सिफारिस गरिएको छ । कार्यालयले एक वर्षको अवधिमा विभिन्न शीर्षकबाट रु चार करोड ८० लाख राजस्व सङ्कलन गरेको छ । संस्था दर्ता, हातहतियार, राहदानी दस्तुर, न्यायिक दण्ड जरिवाना, प्रशासनिक दण्ड, जरिवाना र जफत, बेरुजु र परीक्षा शुल्कबाट उक्त राजस्व सङ्कलन गरेको हो । सो अवधिमा ५२ मुद्दा दर्ता भएको छ । दुई हजार चार सय ७० जनालाई आदिवासी जनजाति प्रमाणित, एक हजार ८० जनालाई दलित प्रमाणित, एक हजार आठ सय ७८ लाई पेन्सन सिफारिस गरिएको छ । कार्यालयमा ८४ संस्था नयाँ दर्ता भएकामा सात सय ८५ संस्थाको नवीकरण भएको छ । ९९ हातहतियार नवीकरण भएकामा छ वटा नामसारी गरिएको छ । यस अवधिमा एक पत्रपत्रिका दर्ता भएको कार्यालयले जनाएको छ ।
काठमाडौं : नागरिकता विधेयक प्रमाणीकरण नगरेको भन्दै राष्ट्रपति विद्यादेवी भण्डारीको विरुद्धमा नेविसंघले प्रदर्शन गरेको छ । नेपाल विद्यार्थी संघले त्रिचन्द्र क्याम्पस अगाडी नागरिकता विधेयक प्रमाणीकरण नगरेको भन्दै राष्ट्रपति विद्यादेवी भण्डारीको विरुद्धमा विरोध प्रदर्शनमा गरेका थियो । नेविसंघले गरेको प्रदर्शनमा नेपाल प्रहरीले हस्तक्षेप गरेको थियो । ‘नागरिकता विधेयक प्रमाणीकरण नगरेकाले राष्ट्रपतिको पुत्ला जलाउन लाग्दा प्रहरीले हस्तक्षेप गर्यो’, त्रिचन्द्रमा अध्यययनरत दिनेश कार्कीले भने, ‘प्रहरीसँगको हानहानमा एउटा साथीको हातमा चोट लागेको छ ।’ नेविसंघले राष्ट्रपति विद्या भण्डारीको पुत्ला दहन गर्ने क्रममा प्रहरीले हस्तक्षप गरेपछि नेविसंघ कार्यकर्ताले पनि ढुंगा हानेका थिए । त्यसपछि दुवै पक्षबीच ढुंगा हानाहान भएको थियो । नेविसंघले बाटो अवरुद्ध गरेर प्रदर्शन गर्दा केही समय घन्टाघर आसपासको सवारी आवागमन अवरुद्ध भएको थियो ।
तनहुँ: कर्तव्य ज्यान मुद्दामा फरार रहेका एक प्रतिवादीलाई तनहुँ प्रहरीले २० वर्षपछि पक्राउ गरेको छ । पक्राउ पर्नेमा भानु नगरपालिका–८ पुर्कोट घर भएका ४१ वर्षीय अनुप श्रेष्ठ रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । निजलाई नवलपरासी (बर्दघाट सुस्तापूर्व) बाट पक्राउ गरिएको प्रहरी नायब उपरीक्षक युवराज खड्काले जानकारी दिनुभयो । पक्राउ परेका श्रेष्ठविरुद्ध शुक्रबार तनहुँ अदालतबाट छ दिनको म्याद थप गरी अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय चितवन र नवलपरासी (बर्दघाट सुस्तापूर्व) को समन्वयमा निजलाई गैडाकोट नगरपालिका–२ स्थित राजमार्गमा बाप्र०३–००१ह १५६८ नंको टेम्पो चलाइ हिँडिरहेको अवस्थामा फेला पारी पक्राउ गरिएको हो । विसं २०६० साउन १८ गते भानु नगरपालिका–६ बस्ने ५५ वर्षीय चाउरे श्रेष्ठलाई घातक हतियार कोदालो प्रयोग गरी प्रतिवादीले घाइते बनाएका थिए । घाइते श्रेष्ठको उपचारका लागि पोखरा लैजाने क्रममा बाटोमा मृत्यु भएको थियो । घटनापश्चात प्रतिवादी फरार रही लुकीछिपी बस्दै आएका थिए ।
नवलपरासी । नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को छुट्टाछुट्टै दुई स्थानमा आगलागी हुँदा रु १३ लाख बढीको क्षति भएको छ । शनिबार राति भएको उक्त आगलागीको घटनामा मानवीय क्षति भने नभएको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक सन्तोष पाठकका अनुसार गए राति करिब १० बजेको समयमा जिल्लाको मध्यविन्दु नगरपालिका–२ सीतापुरमा रहेको किराना पसलमा आगलागी भएको थियो । स्थानीय ३७ वर्षीय राजकुमार महतोको चारकोठे कच्ची घरको किराना पसलमा विद्युत् सर्ट भई आगाली भएको सूचना अधिकारी पाठकले बताउनुभयो । आगलागीको सूचना पाएलगत्तै प्रहरी चौकी कोल्हुवाबाट खटिएको प्रहरी टोलीले स्थानीयको सहायतामा आगलागी नियन्त्रणमा लिएको थियो । उक्त आगलागीबाट किराना पसलको सामान, फ्रिजलगायतको सामग्री जली करिब रु छ लाख बराबरको क्षति भएको जनाइएको छ । त्यस्तै गए राति ९ः४५ बजेको समयमा देवचुली–१३ को भाजियापुरी टोलस्थित आशाको किरण शिशु स्याहार केन्द्रको भवनमा समेत विद्युत्को तार सर्ट भएर आगलागी भएको सूचना अधिकारी पाठकले बताउनुभयो । आगलागी भएको जानकारी पाउनासाथ जिल्ला प्रहरी कार्यालय कावासोती, इलाका प्रहरी कार्यालय रजहर तथा अस्थायी प्रहरी पोष्ट दलदलेबाट खटिएको प्रहरी टोली, स्थानीयवासी र कावासोती नगरपालिकाको दमकलको सहायताले आगलागी नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ । सो आगलागीबाट भाँडावर्तन र भवन गरी करिब रु सात लाख बराबरको क्षति भएको र थप अनुसन्धान जारी रहेको जनाइएको छ ।
तनहुँ ः नेपाल मगर विद्यार्थी संघ तनहुँको अध्यक्षमा विनिता थापामगर चयन भएका छन् । नेपाल मगर विद्यार्थी संघ तनहुँको १४ औं जिल्ला अधिवेशनले थापामगरको अध्यक्षतामा १९ सदस्य कार्यसमिति सर्वसम्मत चयन गरेको हो । समितिको उपाध्यक्षमा विजय थापा मगर, सचिवमा नवीन थापामगर, सहसचिवमा शिल्पा थापामगर र कोषाध्यक्षमा ससिता थापा मगर चयन भएका छन् । सदस्यहरुमा रुद्र थापा मगर, रजनी थापा मगर, नरेश थापा मगर, अमर थापा मगर, साजन गर्जा मगर, दिपा वानटङे मगर,अर्पण सोति मगर, कृष्ण आले मगर, सोनम थापा मगर, विनिता थापा मगर,भिम सारु मगर, सुमन थापा मगर , बिस्नु थापा मगर ,ममता थापा मगर सर्वसम्मत निर्वाचित भएको निर्वाचन संयोजक गिता रखाली मगरले जानकारी दिए ।
पोखरा : विश्व आत्महत्या दिवस (सेप्टेम्बर १०)को अवसर पारेर सडक नाटक ‘नमाझिएको’ कसौडी प्रदर्शन गरिएको छ । आत्महत्या रोकथामको क्षेत्रमा काम गर्दै आइरहेको कोशिशको आयोजना,जिल्ला प्रहरी कार्यालय कास्की र पोखरा महानगरपालिकाको सहकार्य ।तथा सिबिएमको सहयोगमा नाटक प्रदर्शन गरिएको संयोजक सुदिप घिमिरेले जानकारी दिए । नाटक शनिबार पोखराको पृथ्वीचोकमा प्रदर्शन गरिएको हो ।कार्यक्रममा पोखरा महानगरपालिकाका स्वास्थ्य महाशाखा प्रमुख कृष्णप्रसाद अर्यालले नाटक सन्देश मुलक भएको बताउँदै यसले केहि हद सम्म भए पनि आत्महत्या न्यूनिकरणमा सहयोग पुग्ने बताए। कोशिशका मनोबिद् बिनय पाण्डेले आत्महत्याको कारण र रोकथामका उपायका बारेमा प्रकाश पारेका थिए । यस्तै सोहि नाटक शनिवार नै पोखरा २५ हेम्जामा समेत प्रदर्शन गरिएको छ । नाटक कोशिश र मञ्जरी नाट्य समूह लमजुङको प्रस्तुतिमा तयार पारिएको हो ।
काठमाडौं । वन तथा वातावरणमन्त्री प्रदीप यादवले विकासका नाममा हुने डोजर आतङ्क बन्द हुनुपर्ने बताउनुभएको छ । पछिल्लो समय विकासका नाममा जाथाभावी डोजर प्रयोग गरी जङ्गल विनास गर्नुका साथै ठाउँ–ठाउँमा पहिरा जाने र बाढी पहिराको जोखिम बढ्दै गएकाले विकासमा नाममा जङ्गल तथा डाँडाकाँडा भत्काउने तथा मास्ने कार्य तत्काल बन्द हुनुपर्ने उहाँले बताउनुभयो । उहाँले भन्नुभयो, “सडक चाहियो भन्दैमा डोजर लाएर जङ्गल मासेर डाँडा भत्काउन काम अब रोक्नुपर्छ, जथाभावी डोजर प्रयोग गर्दा कति विनास हुँदैछ, त्यसको ख्याल गरेरमात्रै डोजर प्रयोग गर्न आवश्यक छ ।” यसैगरी उहाँले शिक्षा, सडक, विद्युत् आजको प्रमुख आवश्यकता भए पनि जथाभावी डोजर प्रयोग गरेर सडक बनाउँदा विकाससँग सँगै विनास निम्त्याएको उल्लेख गर्नुभयो । “म विकासको विरोधी होइन तर विकास गर्ने नाममा विनास नमित्यिोस”, उहाँले भन्नुभयो, “हामीले गरेका विकासले दीर्घकालिन रुपमा सेवा देओस तर हाम्रा विकासले विनासको जोखिम नल्याओस ।” जलवायू परिर्वतनका कारण विश्वभरीमा विभिन्न घटनाक्रम बढ्दै गइरहेकाले नेपालले पनि अब जलवायू परिर्वतनका क्षेत्रमा सचेत भएर काम गर्नु पर्ने उहाँको भनाइ थियो । विशेष गरी नेपालका पहाडी क्षेत्रमा पछिल्लो समय डाँडाकाँडा भत्काउनका लागि तीनै तहका सरकारतर्फबाट डोजर प्रयोग गर्दै आइएकाले त्यसलाई रोक्न कडा कानुनको व्यवस्था आवश्यक रहेको र उक्त कार्य रोक्नु पर्ने मन्त्री यादवको जोड थियो । सडकलगायतका विकास गर्दा विज्ञसँगको राय सुझाव तथा सल्लाह अनुसार काम गर्नुपर्ने मन्त्री यादवको भनाइ थियो । यसैगरी उहाँले विकास र वातावरण एक आपसका प्रतिद्धन्द्धी नभइ परिपूरक भएकाले दिगो विकासको अवधारणा बमोजिम नै नेपाल सरकारले सञ्चालन गर्ने कुनै पनि विकास निर्माण कार्यबाट वातावरणमा पर्न सक्ने सम्भावित असरलाई अनिवार्य रुपमा सम्बोधन गर्नुपर्ने धारणा राख्नुभयो । वातावरण संरक्षण ऐन, २०७६ र वातावरण संरक्षण नियमावली, २०७७ अनुसार सबैले विकास निर्माणका काम गर्नुपर्ने उहाँको भनाइ थियो । वायू प्रदूषण न्यूनीकरणका लागि सरकारले विभिन्न काम गर्न निती नियम बनाएको भए पनि कार्यान्वयन पक्ष फितलो भएका कारण समस्या भएको समेत मन्त्री यादवले बताउनुभयो ।
काठमाडौं । देशभर आज एक सय ६३ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार आज तीन हजार सात सय ४६ जनामा गरिएको परीक्षणमध्ये सो सङ्ख्यामा सङ्क्रमण पुष्टि भएको हो । आज एक सय ३० जना सङ्क्रमणमुक्त भएका छन् । सङ्क्रमणमुक्त हुने प्रतिशत ९८.६ रहेको छ । सक्रिय सङ्क्रमितको सङ्ख्या दुई हजार चार सय ३० पुगेको छ । पाँच सयभन्दा बढी सङ्क्रमित भएका जिल्ला काठमाडौँ र दुई सयभन्दा बढी सङ्क्रमित भएको जिल्ला ललितपुर र चितवन रहेका छन् । सङ्क्रमित शून्य भएका जिल्ला मनाङ, मुस्ताङ, जाजरकोट, हुम्ला, डोल्पा, जुम्ला, मुगु, बझाङ र दार्चुला रहेका छन् । यस्तै होम आइसोलेशनमा दुई हजार तीन सय ४६ जना, संस्थागत आइसोलेशनमा ८४, सघन उपचार कक्ष (आइसियु)मा १७ जना र भेन्टिलेटरमा एक जनाको उपचार भइरहेको छ । आज कोरोना भाइरसविरुद्धको खोप चार लाख ८० हजार आठ सय १८ जनाले खोप लगाएका छन् ।