काठमाडौं:  निर्वाचन आयोगले मतदाता नामावलीमा नाम दर्ता गर्न छुट भएकाहरूलाई नाम दर्ता गराउन आह्वान गरेको छ ।  आयोगका सहायक प्रवक्ता दुर्गाप्रसाद चालिसेले बुधबार एक विज्ञप्तिमार्फत उपनिर्वाचनको मिति...

  महोत्तरी । नेपाल प्रहरी र सशस्त्र प्रहरीको संयुक्त टोलीले आज बिहान महोत्तरी जिल्लाको सम्सी गाउँपालिकास्थित नेपाल र भारतको दशगजा क्षेत्रबाट ६० बोरा चिनी बरामद गरेको छ ।   महोत्तरी जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक कृष्णप्रसाद पङ्गेनीका अनुसार जिल्लाको सम्सी गाउँपालिका–६ स्थित चाँदनी चोकभन्दा पाँच सय मिटर दक्षिण नेपाल र भारतको दशगजा क्षेत्रमा नेपालतर्फ वेवारिसे अवस्थामा ६० बोरा चिनी प्रहरीले बरामद गरेको हो ।   रातिको मौका छोपी भारतबाट नेपाल भित्र्याउनका लागि दशगजा क्षेत्रमा जम्मा गरेको ६० वटा बोरामा ३० क्विन्टल चिनी तस्करले गन्तव्यमा पुर्याउन सफल हुन नसक्दा आज बिहान सीमा सुरक्षा गस्तीमा गएका संयुक्त प्रहरी टोलीले उक्त चिनी बरामद गर्न सफल भएको प्रहरीको भनाइ थियो ।बरामद गरिएको चिनी जिल्लाको भिट्ठामोडस्थित मूल भन्सार कार्यालयमा बुझाइएको छ । 

  काठमाडौं । गृहमन्त्री बालकृष्ण खाणले साइबर अपराधको विषयलाई विद्यालयको पाठ्यक्रममा समावेश गर्नुपर्नेमा जोड दिनुभएको छ । जनकल्याण सामाजिक केन्द्रले अयांश योग नेचर केयर अस्पतालको सहकार्यमा आज यहाँ आयोजना गरेको ‘साइबर क्राइम प्रशिक्षण कार्यक्रम’मा उहाँले प्रविधिको बढ्दो प्रयोगसँगै साइबर अपराधका घटना पनि बढ्दै गएको भन्दै यस्ता घटनालाई कम गर्न विद्यालयका पाठ्यक्रममा साइबर अपराधसम्बन्धी विषयवस्तु समावेश गर्नुपर्ने बताउनुभएको हो ।   “सूचना प्रविधिलाई आपराधिक समूहले पनि दुरुपयोग गरिरहेको छ, यसलाई रोक्नका लागि सरकारले छुट्टै सेल निर्माण गरी काम गरिरहेको छ”, गृहमन्त्री खाणले भन्नुभयो ।उहाँले जनताको जीवनरक्षा गर्ने सरकारको मुख्य दायित्व भएको भएको र उनीहरुको जीवनरक्षाको सिलसिलामा कहिलेकाहीँ राष्ट्रका सामु ठूलो समस्या आउने गरेको उल्लेख गर्नुभयो । “तापक्रम वृद्धि, जनसङ्ख्या वृद्धि, भाइरसको उत्पत्तिले विश्वमा ठूलो चुनौती थपिँदै गएको छ”, गृहमन्त्री खाणले भन्नुभयो ।    कांग्रेसका नेता तथा पूर्वमन्त्री भीमसेनदास प्रधानले कोरोना महामारीको समयमा जनताको रक्षाका लागि यस केन्द्रलगायत सामाजिक सङ्घसंस्थाले निर्वाह गरेको भूमिका प्रसंशनीय रहेको बताउनुभयो ।    उक्त केन्द्रका सल्लाहकार भरत ढकालले न्यून स्रोत र साधन भएर पनि आफूहरुले सक्दो सेवा पुर्याउँदै आएकोे जानकारी दिनुभयो। विसं २०७० मा स्थापना भएको सो केन्द्रले देशका विभिन्न भागमा तीन सयभन्दा बढी स्वास्थ्य शिविर, १७ पटक रक्तदान कार्यक्रम, दुई दर्जनभन्दा बढी उद्घोषण तथा विभिन्न किसिमका तालिम प्रदान गरिसकेको केन्द्रका अध्यक्ष विकासकुमार दासले उल्लेख  गर्नुभयो ।कार्यक्रममा नेपाल प्रहरी साइबर ब्यूरोका प्रहरी नायब उपरीक्षक दिपेश जोशीले साइबर अपराधसम्बन्धी प्रशिक्षण दिनुभएको थियो । 

  बेनी ।  हरियाली लेकाली खर्क । आँखै अगाडि ठोकिने हिमाल । हिमाली बुकीका फाँटमा ससाना त्रिपाल टाँगेका गोठ । डाँडा र हिमालले घेरिएको बुकी र फाँटका चरन क्षेत्रमा सेताम्मे देखिन्छन् भेडाका बथान ।       अन्नपूर्ण गाउँपालिका–५ पाउद्वारको खयरखोला क्षेत्रमा देखिने यो दृश्य निकै रमाइलो र लोभलाग्दो देखिन्छ । खोप्रा–खयर पदमार्गअन्तर्गत पर्यटक आश्रय लिएर बस्ने खयरखोला क्षेत्रमा व्यावसायिक भेडापालन पनि हुँदै आएको छ । यिनै गोठमा भेटिनुहुन्छ ७८ वर्षीय लालवीर तिलिजा ।       पाउद्वार गाउँका बासिन्दा रहनुभएका तिलिजाले भेडीगोठमा आफ्नो जीवनको अधिकांश समय बिताउनुभयो । उमेर बढ्दै जाँदा गालाका छाला चाउरी पर्न लागे, दाँत झर्न लागे तर तिलिजाको जाँगर घटेको छैन । भेडीगोठसँगको उहाँको सामिप्यता उस्तै छ । गोठमा घाम, पानी, असिना र हिउँमा सङ्घर्षमय तरिकाले रमाउनुभएका तिलिजा बुढ्यौली लाग्दासमेत गोठको जीवनबाट अझै थाक्नुभएको छैन ।     बेंशीका फाँटदेखि पहाडका पाखा पखेरा हुँदै हिमालका बुकीसम्म भेडीगोठ राख्ने र भेडा चराउने काममा तिलिजाको जीवनको करिब ७० वर्ष बढी समय बित्यो । छ वर्षको उमेरदेखि नै बुबा आमासँग गोठ बस्नुभएका तिलिजालाई औपचारिक शिक्षा लिने अवसर मिलेन । बुबा आमासँग गोठमा बस्दै गर्दा आफूलाई समेत गोठप्रतिकै लगाब बढेपछि बाबुले गरेकै पेसालाई जीवनभर अँगालेको तिलिजाले बताउनुभयो । “मैले थाहा पाएसम्म हाम्रो जिजु, बाजे, बुबा हुँदै मसम्म आइपुग्दा चार पुस्ताले नै भेडापालन गर्यौँ, मैले भेडापालनबाटै परिवार धाने, छोराछोरीलाई पढाएँ, उनीहरुको रहरअनुसारको देशमा रोजगारको लागि पठाएँ, गोठमै बसेर गरेको आम्दानीबाट सन्तुष्ट छु”, तिलिजाले भन्नुभयो ।     भेडापालनबाटै कमाएको पैसाले साइला छोरा जापान, जेठा छोरा बेलायत पठाएको तिलिजाले सुनाउनुभयो । “चार छोरा, पाँच छोरी छन्, उनीहरु सबैलाई विद्यालय तहको शिक्षा दिएँ, उनीहरुकै इच्छाअनुसार कतिपयलाई लाखौँ खर्च गरेर विदेश पनि पठाएँ, उनीहरुले र मैले कमाएको पैसाबाट पोखरामा घर पनि जोडेको छु, श्रीमती र कान्छा छोरा अहिले पोखरा बस्छन्, माइला छोराले वडाध्यक्ष जितेर गाउँको नेतृत्व सम्हालेका छन्”,  उहाँले पारिवारिक अवस्था सुनाउनुभयो ।     तिलिजाको गोठमा अहिले करिब तीन सय भेडा छन् । गोठको खर्च र हेरालुको ज्याला कटाउँदा वर्षमा रु १० देखि ११ लाखसम्म आम्दानी हुने गरेको उहाँले बताउनुभयो । उत्पादन गर्न सके बिक्रीका लागि बजारको अभाव नभएको उहाँको भनाइ छ । “जनैपूर्णिमालगायतका पर्वमा पूजाका लागि साँडहरु किन्न ग्राहक गोठमै आउँछन्, चाडपर्वको लागि मासु खानका लागि पनि गोठबाटै भेडा किन्न गाउँले आइपुग्छन्, बरु किन्नेले खोजेजति बिक्री गर्ने भेडा उत्पादन गर्न नै सक्दैनौँ”, तिलिजाले भन्नुभयो ।      गोठका उकाली ओरालीमा सात दशक समय बिताउनुभएका तिलिजालाई भेडीगोठ बस्ने धित अझै मरेको छैन् । भर्ती हुने र लाहुर जाने सपनामा केही वर्ष भेडीगोठबाट बाहिरिए पनि सफल नभएपछि पुनःभेडापालनमै फर्किएको उहाँले बताउनुभयो । “एक गोठको भेडाको पैसा दलालले खाइदियो, त्यतिबेला रु ८६ हजारमा भेडीगोठ बेचेको थिएँ, बम्बइसम्म पुर्र्याएर दलालले सबै पैसा खाइदियो, १० महिना त्यहाँ बस्दा पनि विदेश पठाउने निधो नभएपछि फेरि गाउँ फर्किएँ र भेडापालनकै इलममा लागेँ”, तिलिजाले आफ्नो सङ्घर्षका उतारचढाव सुनाउनुभयो ।     विदेशमा रहेका छोराछोरीले गोठबाट विश्राम लिएर आरामदायी जीवनयापन गर्न सुझाव दिने गरेको बताउँदै उहाँले आफ्नो हातपाखुरा चल्दासम्म गोठ छाड्न मन नलागेको बताउनुभयो । तिलिजाले बर्खायाममा खयरखोला हुँदै अन्नपूर्ण हिमाल र बराह शिखर हिमालको फेदीसम्मै भेडीगोठ पुर्याउने भएपनि हिउँदयाममा खोप्राडाँडा हुँदै पाउद्वार र पर्वतको लेसपारका बेंशीका फाँटसम्म गोठ झार्ने गर्नुभएको छ । “बाघ र चट्याङको डर भेडीगोठमा भइरहन्छ, केही वर्षअघि चट्याङ लागेर एकैपटक ६२ वटा भेडा मरे, बाघले वर्षमा एक÷दुई वटा भेडा खान्छ, भेडीगोठको सुरक्षामा हामी गोठालासँगै कुकुर हेरालुकै भूमिकामा हुन्छन्”, उहाँले भन्नुभयो ।     चार पुस्ताले गर्दै आएको भेडापालन आफूपछिको पुस्ताले छाड्ने चिन्ता तिलिजामा छ । तर अन्नपूर्ण गाउँपालिका–५ का वडाध्यक्षसमेत रहनुभएका तिलिजाका छोरा राजेश तिलिजाले बुबाले गर्दै आएको भेडापालनलाई आफूले पनि निरन्तरता दिने सोच बनाएको बताउनुभयो । “अघिल्लोपटक वडा सदस्य र कार्यवाहक वडाध्यक्ष भएर काम गरेँ, यो कार्यकालमा वडाध्यक्षमा निर्वाचित भएर काम गरिरहेको छु, जनप्रतिनिधिको भूमिकाबाट बाहिर आएपछि भेडापालनलाई नै अगाडि बढाउने योजना बनाएको छु”, वडाध्यक्ष तिलिजाले भन्नुभयो । बुबालाई भेडापालनबाट विश्राम लिन सुझाव दिए पनि उहाँले भेडीगोठमै आफूलाई आनन्द रहेको बताउँदै पारिवारिक आग्रहलाई इन्कार गर्ने गरेको उहाँले बताउनुभयो ।     पहिलेको तुलनामा भेडापालन घट्दो र भेडाको माग बढ्दो क्रममा रहेको बताउँदै उहाँले युवापुस्ताले गोठ बस्न नरुचाउने भएकाले भेडापालनको पेसा पुस्तान्तरण हुन नसक्ने अवस्थामा पुगेको अनुभव सुनाउनुभयो । खयर क्षेत्रमा भेडापालनको सम्भावना रहेको बताउँदै वडाध्यक्ष तिलिजाले पछिल्लो समय केही युवा यस पेसामा आबद्ध हुन थालेको जानकारी दिनुभयो ।     पाउद्वार गाउँका २१ वर्षीय युवा प्रकाश पुन एक वर्षदेखि भेडापालनका लागि भेडीगोठ बस्न थाल्नुभएको छ । शिख माविबाट कक्षा १२ उत्तीर्ण गरेपछि दुई वर्ष भैँसीपालन गर्नुभएका पुनले एक वर्षदेखि साझेदारीमा भेडापालन गर्न थाल्नुभएको हो । स्थानीय कमल तिलिजा र कुमार पाइजासँग पुनले खयर क्षेत्रमा साझेदारीमा भेडापालन गर्नुभएको छ । “हाम्रो गोठमा तीन सय भेडा छन्, भेडा र साँड उत्पादन गर्न सके जति पनि बिक्री हुन्छ, म भर्खरै यो पेसामा लागेको हुँ, अझै आम्दानी गर्ने अवस्था आइपुगेको छैन, अरु साथीहरुले एकै पटकमा तीन÷चार लाख रुपैयाँको भेडा बिक्री गर्नुहुन्छ”, पुनले भन्नुभयो । पुनका साथि कमलले नौ वर्षदेखि र कुमारले तीन वर्षदेखि भेडापालन गर्दै आएका छन् ।     अरुको देशमा गएर पसिना बगाउनुभन्दा आफ्नै देशमा पसिना बगाउन मन लागेर भेडापालनमा लागेको पुनले बताउनुभयो । अहिले खयर क्षेत्रमा तीन वटा ठूला गोठ छन् । ती भेडीगोठमा  करिब एक दर्जन घरपरिवारले साझेदारीमा भेडापालन गर्छन् । एक हजार पाँच सयवटा भेडापालन हुँदै आएको खयर क्षेत्रमा भेडापालन गर्दै आएका स्थानीयले जनैपूर्णिमाको अवसरमा मात्रै १० देखि ७० वटासम्म भेडा र साँड बिक्री गर्दै आएका छन् । यसपटकको जनैपूर्णिमा मेलामा मात्रै स्थानीय भेडापालक कृषकले दुई सय ५० बढी भेडाका साँडको बिक्री गरेका थिए ।      खयर क्षेत्रमा अन्नपूर्ण गाउँपालिका–१ दोबाका धन पुर्जालेसमेत वैदेशिक रोजगारलाई त्योगेर भेडापालन सुरु गर्नुभएको छ । बाह्र वर्षसम्म विदेशमा पसिना बगाउनुभएका पुर्जाले तीन महिनादेखि १७२ वटा भेडा खरिद गरेर व्यावसायिक भेडापालन सुरु गर्नुभएको हो । ‘‘पहिले पनि गाउँमा पुख्र्यौली भेडापालन गर्थे, भेडीगोठ बेचेर साउदी गएँ, त्यहाँबाट फर्किएपछि मलेसियामा पनि गएँ, तर सोचेजस्तो कमाइ भएन, बरु यतै केही गरौँ भनेर भेडापालन पेसामै फर्किएको पुर्जाले भन्नुभयो ।      हिमाली क्षेत्रमा पालन गरिएका भेडाको खरिदका लागि सहरी र ग्रामीण क्षेत्रका उपभोक्ता गोठसम्म पुग्ने गरेका छन् । विभिन्न पूजाआजामा बलि दिन र मासुका लागि भेडीगोठ नै पुग्ने गरेको अन्नपूर्ण गाउँपालिका–८ नाँगीका हेमबहादुर तिलिजा पुनले बताउनुभयो ।      यस क्षेत्रमा घुम्ती गोठकारुपमा भेडापालन हुँदै आएको छ । खासगरी लेकाली क्षेत्रको चरनमा हुर्कने भएकाले मासुका लागि भेगीगोठका भेडाको माग अत्यधिक हुने गरेको छ । परम्परागतरुपमा हुँदै आएको भेडापालनलाई व्यावसायिक र व्यवस्थित बनाउन गाउँपालिका र भेटेनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रलेसमेत अनुदान, तालिम र परामर्श सेवाका कार्यक्रम सञ्चालन गर्दै आएका छन् । 

  काठमाडौँ । आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा  र प्रदेशसभा निर्वाचनमा नेपाल प्रहरीले ७१ हजार छ सय ९३ प्रहरी कर्मचारी परिचालन गर्ने भएको छ ।      गत वैशाख ३० को सम्पन्न स्थानीय तह निर्वाचनमा करिव १० हजार बढी प्रहरी परिचालन गर्न लागिएको हो । निर्वाचनअन्तर्गत मतदानको दिन आउन ८६ दिन बाँकी छ । प्रहरी महानिरीक्षक धीरजप्रताव सिंहले प्रतिनिधिसभा निर्वाचनमा प्रत्यक्ष र समानुपातिक तथा प्रदेशसभा निर्वाचनमा पनि प्रत्यक्ष र समानुपातिक निर्वाचन हुने भएकाले पनि एक ठाउँमा मत खसालिसकेपछि पुनःअर्को ठाउँमा मत खसाल्नुपर्ने अवस्था रहने हुँदा पनि सुरक्षा जनशक्ति बढी आवश्यकपर्ने जानकारी दिनुभयो ।       केन्द्रीय प्रहरी प्रवक्ता प्रहरी नायब महानिरीक्षक टेकप्रसाद राईले निर्वाचनलाई निष्पक्ष, भयरहित वातावरणमा सम्पन्न गर्न स्थानीय तह निर्वाचनभन्दा म्यादी प्रहरी पनि थप २० हजार बढी प्रस्ताव गरिएको जानकारी दिनुभयो ।      गत स्थानीय निर्वाचनमा एक लाख म्यादी प्रहरी भर्ना गरिएकामा यसपटक एक लाख २० हजार भर्नाका लागि तालकु गृहमन्त्रालयमा प्रस्ताव पेश गरिएको छ । उहाँले सङ्घ र प्रदेश निर्वाचनमा कैदीबन्दीसहित पाँच लाख मतदाता बढ्ने र मतदान केन्द्रसमेत थप हुने अनुमान गरिएअनुसार सुरक्षाकर्मी बढाइएको हो ।      गृहमन्त्रालयबाट प्रस्ताव पारित भएर आएपछि मात्रै अन्य औपचारिक काम अघि बढ्ने जनाउँदै उहाँले अहिले आन्तरिक तयारीका काम चलिरहेको जानकारी दिनुभयो । नेपाल प्रहरीले यसअघि नै प्रहरी अतिरिक्त महानिरीक्षक सहकुलबहादुर थापाका नेतृत्वमा प्रहरीको केन्द्रीय निर्वाचन सेल र मातहतका कार्यालय, प्रदेश तथा जिल्लामा आवश्यकतानुसार सेल गठन गरी आवश्यक कार्य प्रक्रिया अघि बढाइएको छ ।       प्रदेशमा प्रहरी वरिष्ठ उपरीक्षक, प्रहरी उपरीक्षकको नेतृत्व रहेको जिल्लामा प्रहरी नायब उपरीक्षक तथा प्रहरी नायब उपरीक्षकको नेतृत्व रहेको जिल्लामा प्रहरी निरीक्षकको नेतृत्वमा निर्वाचन सेल गठन गरिएको छ ।          “उम्मेदवार सङ्ख्या, निर्वाचन कार्यालय, मतदान केन्द्र, निर्वाचन सामग्री, मतपेटिका, मतदानस्थल तथा रुट सबै प्रारम्भिकरुपमा यकिन गरेर आवश्यक सुरक्षा तयारी गरिएको छ”, प्रवक्ता राईले रासससँग भन्नुभयो, “माथिबाट निर्णय भएर आएपछि बाँकी काम अघि बढ्छ ।” प्रहरीले सामान्य, संवेदनशील र अतिसंवेदनशील छुट्याएर मतदानस्थलको पहिचानसँगै सोहीअनुसार प्रहरी कर्मचारी खटाउने गरी योजना बनाएको छ ।        प्रहरीले यसअघि नै मङ्सिर ४ को सङ्घ र प्रदेश निर्वाचनका लागि कुल एक हजार चार सय ९४ सवारी साधन, सात सय बढी सञ्चार सेट आवश्यक रहेको भनी मन्त्रालयमा लेखेर पठाइसकेको छ । पेश गरिएको प्रस्तावमा आवश्यक हातहतियारको पनि माग गरिएको छ ।       उहाँले हतियार अपुग भएमा नेपाली सेनाबाट बहालगिरीमा ल्याएर प्रयोग गरिने जानकारी दिनुभयो । सञ्चार सेट सम्भव भएन भने प्रहरीका मोबाइललाई सञ्चार सेटका रुपमा प्रयोग गरी उनीहरु लाई रिचार्ज कार्ड उपलब्ध गराउने योजना बनाइएको छ ।       प्रवक्ता राईले भन्नुभयो, “स्थानीय तहको झैँ सङ्घीय र प्रदेश निर्वाचन शान्तिपूर्णरुपमा सम्पन्न गर्न नेपाल प्रहरीलाई अवसर आएको छ, यो अवसर जो कोहीलाई आउँदैन, त्यसकारण नेपाल प्रहरीका जवानदेखि अधिकृत उत्साहित छन्, निर्वाचनलाई शान्तिपूर्ण बनाउन आतुर छन् ।”  प्रहरी कर्मचारीबाट भने निर्वाचनमा खटिने अन्य सबै कर्मचारी बराबरको खाजा भत्ता दिएमा थप उत्साहित हुने जनाइएको छ  ।    केन्द्रीय सुरक्षा योजना बन्दै      गृहमन्त्रालयले पनि आफ्नो निर्वाचन सुरक्षाको तयारीलाई तीव्र पारेको छ । गृहसचिव टेकनारायण पाण्डेको नेतृत्वमा सबै सुरक्षा निकायका प्रमुख सदस्य रहेको केन्द्रीय निर्वाचन सुरक्षा सेल गठन गरी तीव्ररुपमा कार्य अघि बढाइएको गृह प्रवक्ता फणिन्द्रमणि पोखरेले जानकारी दिनुभयो । उहाँले सोहीअनुसार प्रदेश मुख्य सचिवको नेतृत्वमा प्रदेश सुरक्षा समन्वय सेल गठन गरिएको जानकारी दिनुभयो ।       त्यस्तै प्रमुख जिल्ला अधिकारीको नेतृत्वमा जिल्ला निर्वाचन सेल तथा कमाण्ड पोष्ट गठन गरिएको छ । यस्तै केन्द्रीय सुरक्षा योजना पनि बन्दै गरेको उहाँले जानकारी दिनुभयो । सुरक्षाकर्मीलगायतको स्रोतसाधन जनशक्तिलगायतमा विषयमा अर्थ मन्त्रालयमा लेखेर पठाएको जानकारी दिँदै उहाँले स्वीकृत भएर आएलगत्तै औपचारिकरुपमा काम अघि बढ्ने जानकारी दिनुभयो । “गाडी भत्ता, अन्य बन्दोेबस्तीका सामान, म्यादी प्रहरी, सञ्चार सेट सबै लेखेर पठाएका छौँ”, प्रवक्ता पोखरेलले भन्नुभयो ।

  महेन्द्रनगर । कञ्चनपुरका अधिवक्ता गजेन्द्र रावलले केही वर्षअघि छाडा पशु व्यवस्थापनमा ध्यान नदिएको जनाउँदै यहाँका चार पालिकाविरुद्ध उच्च अदालत दिपायल महेन्द्रनगर इजलासमा मुद्दा दायर गर्नुभयो ।       सार्वजनिक सरोकारको विषयमा पालिकाको छाडा पशु व्यवस्थापनमा ध्यान नदिँदा पूर्वपश्चिम राजमार्गमा सवारी दुर्घटना बढेको र किसानको खेतीबाली नोक्सान पुगेको जनाउँदै दायरा गरेको मुद्दामा अदालतले अन्तरिक आदेश जारी गर्दै व्यवस्थापनमा ध्यान दिन पालिकालाई आदेश दियो । यहाँ न अदालतको आदेश कार्यान्वयन भयो नत पालिकाले पशु व्यवस्थापन नै गर्न सके । छाडा पशु व्यवस्थापनका नाउँमा भीमदत्त नगरपालिकादेखि यहाँका अन्य पालिकाले करोड रकम खर्च गरे तर राजमार्गबाट छाडा पशुको बसाईं अन्त अझै सरेको देखिँदैन ।      अधिवक्ता रावलले अदालतले तत्काल यहाँको भीमदत्त , बेदकोट, शुक्लाफाँटा र कृष्णपुर नगरपालिकाका नाममा आदेश जारी गरेको बताउनुभयो । “अदालतको आदेशपछि छाडा पशु व्यवस्थापनका नाममा करोडौँ खर्च गरेको सुनियो तर व्यवस्थापन भएन”, उहाँले भन्नुभयो, “ तर अहिले राजमार्गमा छाडा पशुका कारण दिनहुँजसो सवारी दुर्घटना भइरहेको अवस्था छ ।”      उहाँले सार्वजनिक सरोकारका विषय भएकाले पूर्वपश्चिम राजमार्गमा पर्ने पालिकालाई विपक्षी बनाएर मुद्दा दायर गरेको जानकारी दिनुभयो । यता जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रमुख प्रहरी उपरीक्षक श्यामसिंह चौधरीले छाडापशु चौपायाका कारण यहाँ भइरहेको सवारी दुर्घटनाको डरलाग्दो रुप सुनाउनुभयो ।     उहाँले बितेको सात महिनाको अवधिमा छाडा पशुकै कारण सवारी दुर्घटनामा परी नौ जनाले ज्यान गुमाएको बताउनुभयो । “सात महिनामा छाडापशु राजमार्ग र सडकमा हुँदा ९४ वटा सवारी दुर्घटना भएको तथ्याङ्क छ ।” प्रहरी उपरीक्षक चौधरीले भन्नुभयो, “जसमा १८÷१९ जना घाइते भएर अपाङ्गता भएको स्थिति छ ।” दुर्घटनामा दर्जनौँ छाडा पशुसमेत मरेको प्रहरीको भनाइ छ ।     “सडक पूर्वाधार भनेको विकासको सूचक हो, तर यहाँ गड्डचौकीदेखि मोहना पुलसम्मद दर्जनौँ ठाउँमा छाडा पशु राजमार्गमै भेटिन्छन्”, उहाँले भन्नुभयो, “जसका कारण सवारी दुर्घटना हुँदा मान्छेले जीवनभरि पनि अपाङ्गता भएर बस्नुपर्ने अवस्था आयो ।” उहाँले छाडा पशु व्यवस्थापनमा स्थानीय सरकारसँगै पशुपालक किसान स्वयं जिम्मेवार हुनुपर्नेमा जोड दिनुभयो ।     “दूध खाने दिन छाडेपछि छाडा छोड्ने प्रवृत्ति राम्रो भएन”, अधिवक्ता रावलले भन्नुभयो, “ व्यवस्थापनमा सबैको हातेमालो जरुरी छ ।” यहाँस्थित महाकाली यातायात बहुउद्देश्यीय कम्पनीका अध्यक्ष डम्बर पन्तले अहिले दुर्घटनाका कारण छाडापशु चौपाया भइरहेको बताउनुभयो ।     “उहिले सडकलगायत अन्य कारणले दुर्घटना हुन्थ्यो”, उहाँले भन्नुभयो, “अहिले महेन्द्रनगरदेखि कैलालीको चिसापानीसम्म सबैभन्दा बढी दुर्घटना छाडापशुकै कारण भइरहेको छ ।” छाडा पशु राजमार्गमा सर्वत्र हुँदा साँझको समयमा बढी दुर्घटना हुने गरेको उहाँको भनाइ छ । “साँझपछि रातिको समयमा गाईगोरुको रङ पनि कालो सडक पनि कालोपत्र हुँदा बढी दुर्घटना भएका घटना छन्”, उहाँले भन्नुभयो, “कञ्चनपुरमा छाडा पशुको व्यवस्थापन चुनौती बनिरह्यो ।”     उहाँले सम्बन्धित पालिकाले अभिलेख राखेर छाडा छोड्ने किसानलाई कारबाहीको दायरामा ल्याउन आग्रह गर्नुभयो । “दूध खाएर पशु छोड्नेलाई पालिकामा जरिवाना गर्नेदेखि सुविधा कटौतीसम्मको नीति ल्याउनुपर्छ ।” छाडापशुसित मोटरसाइकल दुर्घटना बढी सङ्ख्यामा भएको देखिन्छ ।”     कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–९ मा वडाध्यक्ष रमेश ऐरले भने यहाँको विन्द्रावन सामुदायिक वनको छेउछाउमा रहेको फाँटमा छाडा पशु व्यवस्थापन गरिरहेका छन् । “हामीले व्यवस्थापन गरेपछि पनि राजमार्गमा पूर्णरुपमा न्यूनीकरण भएको छैन”, उहाँले भन्नुभयो, “अहिले नगरपालिकाकै सहयोगले पशु व्यवस्थापनमा १२ जना मजदुर राखेर खटिएको छु ।”      उहाँले सबै पालिकाले प्रयास नगरेसम्म कञ्चनपुरका छाडा पशु व्यवस्थापन हुन नसक्ने जिकिर गर्नुभयो । “अहिले हाम्रो काञ्जी घरमा साढे चार सयजति छाडा पशु व्यवस्थापन गरेका छौँ”, उहाँले भन्नुभयो, “त्यसका लागि ४० बिघा जमिन ओगटेका छौँ ।”

  कञ्चनपुर । कञ्चनपुरको भीमदत्त नगरपालिका–१७ बडुवाल चौराहाका खेमराज भट्टकी दुई वर्षीया छोरी मानुशी भट्ट आज बिहान नहरमा मृत भेटिएकी छन् ।   जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक भरत गिरीले बिहीबारदेखि हराइरहेकी बालिका शुक्रबार बिहान घर अगाडिको महाकाली सिँचाइको शाखा नहरमा मृतावस्थामा भेटिएको बताउनुभयो । “हराइरहेकी बालिकाको शव स्थानीयवासीको सहयोगमा आज बिहान प्रहरीले फेला पारेको हो ।” उहाँले भन्नुभयो, “अहिले घटनास्थल मुचुल्का सङ्कलन गरेर शव परीक्षणका लागि महाकाली प्रादेशिक अस्पताल पठाएका छौँ ।” प्रहरीले घटनाबारे थप अनुसन्धान गरिरहेको जनाएको छ ।

    काठमाडौ । ‘कुमारी आमा’ निहारिका राजपुतले अभिनेत्री करिश्मा मानन्धरको सहयोग रकम फिर्ता गरेकी छिन्। चरित्रहत्या गर्ने गरी आरोपितसँगको आफ्ना निजी तस्बिर सार्वजनिक गरेको भन्दै निहारिकाले सहयोग रकम फिर्ता गरेकी हुन्।   आज शुक्रबार उनी करिश्माको घर गएकी थिइन्। घरनजिकै तिज मनाउन गएकी करिश्मालाई सोही स्थानमा पुगेर निहारिकाले सहयोग रकम फिर्ता गरेकी हुन्। निहारिकालाई करिश्माले २० हजार रकम दिएकोमा निहारिकाले एक हजार थप गरी २१ हजार रुपैयाँ फिर्ता गरेकी हुन्।  न्यायको माग गर्दै नाबालक छोरासहित निरन्तर लडिरहेकी निहारिकालाई अनशनस्थल पुगेर करिश्माले छोरासहित उनलाई ‘एडप्ट’ गर्ने इच्छा व्यक्त गरेकी थिइन्। तर, त्यसको केही दिनपछि नै उनले आरोपित शिवराज श्रेष्ठसँग निहारिकाका तस्बिरहरू सामाजिक सञ्जालमा सार्वजनिक गरेपछि निहारिका कानुनी उपचारमा जाने भएकी छिन्।

  रामपुर ।  ‘तीजमा छोरी आइन माइत नभन्नु है आमाले, आउन पाइन आमा म त घरको कामले’ यसपालिको तीजमा माइती घरमा जान नपाउँदा फोनबाटै बुढी भएकी आमालाई सम्झाउँदै हुनुहुन्छ, पाल्पा रामपुरकी भगवती देवकोटा ।               माइतीघरमा आमाको काखमा बसेर दर खादै आँगनीमा मादलको तालमा घन्केर नाच्ने रहर उहाँलाई नभएको होइन । तैपनि समय र परिस्थितिले कर्मघरमा नै परिवारसँग बसेर खुशीयालीका साथ तीज मनाउँदै हुनुहुन्छ । “पहिला–पहिला तीजमा हरेक वर्ष छोराछोरी कोही काखमा, कोही डोर्याउँदै दिनभरको बाटो वर्षे भेल पनि नभनी खोला, नदीनाला तरेर पुगिन्थ्यो, अहिले त आफ्नै घरकै कामधन्दाले गर्दा माइती जानै भ्याइँदैन, माइती नगए पनि घरमै तीजकै रमाइलो गरेर मनाउने तयारी छ”, उहाँले भन्नुभयो ।              घर व्यवहार, छोराछोरीको पठनपाठन सबै आफ्नै काँधमा आएपछि तीजलाई भनेर माइतीमा हिजोआज कमै जाने गरेको उहाँ बताउनुहुन्छ । बेलाबेलामा भने उमेर ढल्कदै गएका बुबाआमालाई भेटघाट गर्न जाने गर्छु तर तीज पर्व नै भनेर माइती जाने हिजोआज फुर्सद नै मिल्दैन । घरमा सबै सुखसयल, धन सम्पत्ति भए पनि छोरीलाई तीजमा माइतीकै झल्को भने उत्तिकै आउने उहाँ बताउनुहुन्छ ।               उहाँ भन्नुहुन्छ, “अब बुढ्यौलीले छुँदै गयो, दुई÷तीन दिन माइती गएर बस्दा सबै घर बिग्रन्छ कि भन्ने पिरलो हुन्छ, बिहे भएका सुरुका वर्षमा त सधैँजसो तीजमा माइती गइएकै थियो, बाबाको तीनतले घर छोरीलाई के काम लाग्छ र ? भने झै आफ्नै घरमा सुख दुःखसँग रमाउनु पर्ने छोरीको कर्म रहेछ ।”              पहिला मीठो मसिनो खान वर्ष दिनकै चाड कुर्नुपथ्र्यो । अहिले परिस्थिति बदलिएकाले पनि महिलाहरु मीठो मसिनो खानकै निम्ति माइतीमै जानुपर्छ भन्ने चलन हराउँदै गएको छ । सतासी वर्षीय विष्णुमाया देवकोटालाई यसपटक पनि तीजमा भाइले माइती बोलाए पनि उमेर अवस्थाले गर्दा माइती जानसक्ने अवस्था छैन ।             बद्री पंगेनी र कविता अर्यालले यसपटक बजारमा ल्याउनुभएको ‘सुखदुःख गरौँला दिदी आउँ है खुरुक्क, तीजमा भाइले बोलायो मत भए फुरुक्क’ बोलको गीत उहाँको जीवनमा मेल खाएको छ । उहाँलाई माइतीघरमा बाल्यकालमा तीजमा छम्केर नाचेको पल अहिले ताजै छ । “भाइले फोन गरेर बोलाउँदा मन फुरुक्क भएको छ, माइतीघरमा गएर दिदीभाइ बसेर मीठो मसिनो खाने, सुखदुःख गरेर बस्ने चाहना छ तर जान सकिदैन, दिदीभाइ फोनमै सुख दुःख गन्थनमन्थन गरेर तीज मनाउन थालेको धेरै वर्ष भइसक्यो”, ज्येष्ठ नागरिक देवकोटाले भन्नुभयो ।            हरितालिका तीज महिलाको दुःखसुख र वेदना बोल्ने चाड हो । तीजमा माइती मावली आफन्ती कहाँ गएर भेटघाट मीठो मसिनो खाने, गीत गाएर नाच्ने चलन छ । घरको कामधन्दा, विभिन्न वाध्यता परिस्थितिले तीजमा माइती जान नपाउँदा मनभित्रै पीडा लुकाएर कतिपय महिला बस्न बाध्य छन् । हुन त  पहिलेको तीज र अहिलेको तीजमा धेरै फरकपन आइसकेको छ । तीजमै भनेर माइती, मावली नै जाने चलन पनि कम हुँदैछ ।              भाइले फोन गरेर गत वर्ष पनि तीजमा आउनुभएन यसपटक जसरी पनि आउनुहोला दिदी भन्दैछ तर आमा नभएको माइतीघर नरमाइलो लाग्ने गरेको सीता भण्डारीले दुःखेसो पोख्नुभयो । उहाँ भन्नुहुन्छ, “म नौ वर्षको उमेर हुँदा आमाले हामीलाई छोडेर अन्यत्र जानुभयो, सानासाना भाइबहिनी हुर्काउने पढाउने सबै मेरो जिम्मा थियो, भाइले आमा सरह नै माया गरे पनि झल्को आमाकै बढी आउँदो रहेछ ।”            तीजमा आमा नहुँदा छोरीलाई साह्रै पीडादायी हुन्छ । आमाले गर्ने माया, स्नेह, आमाको हातले पकाएको मीठा परिकार चाडपर्वका समय बढी झझल्को आउँछ । ‘बाबा पनि हुनुहुन्छ, दाजु पनि हुनुहुन्छ, चाहिँदो रहेछ छोरीलाई आमा बरिलै’ भने झैँ माइतीमा सबैको मायाममता पाए पनि आमा नहुँदा छोरीलाई घर नै रित्तोजस्तो अनुभूति भएको रितु गैरे बताउनुहुन्छ । तीजमा विशेषगरी छोरीले कर्मघरमा भोगेका दुःख सुखका कुरा, सासूबुहारीका जुहारीलाई ठट्यौली पारामा गीतका माध्यमबाट पोख्ने चलन छ ।              पहिले ‘सुन्नुहोला दिदीबहिनी कस्ता आए जमना, बुहारीले सुख देलान् भन्दै नभन’ जस्ता खालका गीतहरु बढी सुनिन्थ्यो भने अहिले समय र बढ्दो प्रविधिको प्रयोगलाई जोडेर पुरानै शैलीमा पनि यदाकदा केही गीतहरु भने सुन्न पाइन्छ । गैरेले सुनाउनुभयो, “अचकालका बुहारीको कति गरम् बहिन मोबाइल र टिकटकभन्दा अर्थोक भएन ।” हिजोआज परिमार्जित भएर यस्ता खालका गीत गाउँघरमा पाकापुस्ताले तीजमा गाउने गर्छन् । पहिलाजसो भने पुराना मौलिक परम्परागत गीत भने अहिले कमै सुन्न पाइन्छ ।               हिन्दूहरुले मनाउने विभिन्न पर्वमध्ये महिलाको महान् पर्वका रुपमा हरितालिका तीजलाई मनाउँदै आइएको छ ।  यो चाड महिलाकोे स्वतन्त्रताको पर्व पनि हो । पहिलेका तीज गीत सुन्दा महिलाका धेरै आवाज मात्रै सुनिन्थे । त्यतिबेलाका गीतसङ्गीतले नारीका दुःख वेदनालाई उजागर गरेको हुन्थ्यो तर अहिले भने तीज गीतमा महिला र पुरुषको आवाज बराबरी जस्तै सुन्न पाइन्छ ।               अहिले बजारमा आएको विष्णु माझीको ‘ए आम्मै जुरेन साइत जाम्ला भनेको मै छोरी माइत, जेलैमा हो जेलैमा चरी जेलैमा मै छोरी रुदै रुदै बेंशी मेलैमा’ । गायिका मञ्जु पौडेलको ‘घन्किदे मादलु खरी झरे झर्ला जसोपरे पर्ला, बाबाको आँगनी धुलो उडाम्ला’ यिनै गीतले सामाजिक सञ्जाल, गाउँघरमा तीजको माहोल तताएको छ ।  भड्किलो बन्दै पर्व       हरितालिका तीज पर्वको अघिल्लो दिन दर खाने प्रचलन चलिआएको छ । वर्षायामको धान रोपेर सकिएपछि तीजलाई भनी अनदी, झिनुवाको चामल, घ्यु पहिल्यै नै बन्दोबस्त गरेर राखिन्थ्यो । दरखाने दिन घ्युमा पकाएको खाजा, तामा, करेला जस्ता परिकार बनाएर दरको रुपमा खाने चलन थियो ।               बुढापाका अनुसार केरा, निमारोको पातमा घरको मझेरी, आँगनीमा सबै जम्मा भएर दर खाने परम्परा थियो । तर हिजोआज भने माछा, मासु, खिरलगायतका विभिन्न परिकार बनाएर दर खाने प्रचलन बढ्दो छ । राति अबेरसम्म दर खाने र भोलिपल्ट तीजको निराहार व्रतबस्ने चलन छ । त्यही भएर पनि आडिलो रहन र चिसो सोस्नका निम्ति घ्युमा चामललाई भुटेर बनाइएको दरले मानव स्वास्थ्यलाई फाइदा गर्ने भएकाले पनि दरखाने गरिन्छ ।               अहिले दरखाने निहुँमा ठूलाठूला पार्टीप्यालेस, होटल, रेष्टुरेण्टमा महिला जम्मा भई महँगा लत्ताकपडा, गरगहनामा सजिएर प्रतिस्पर्धात्मकरुपमा जानेको लहर छ । पाल्पाका विभिन्न होटल, पार्टीप्यालेसमा जनैपूर्णिमा पर्व सुरु भएदेखि नै दिनहुँ समूहमा दरखान जाने महिलाको आकर्षण बढ्दो छ । यहाँको पार्टीप्यालेस, रेष्टुरेन्टमा एक दिनमा पाँचदेखि सात समूहसम्म दरखान जाने गरेको पाइएको छ । दरखाने नाउँमा तडकभडक देखिन थालेको छ ।    हरितालिका तीजको महत्व      तीज हिन्दू नारीहरुले मनाउने एउटा महत्वपूर्ण चाड हो । यो चाड भाद्र शुक्ल द्वितीयादेखि पञ्चमीसम्म चार दिन मनाइन्छ । तीजमा भगवान् शिवको पूजा आराधना गरिनुका साथै नाचगान मनोरञ्जन गर्ने गरिन्छ । नेपाली हिन्दू महिलाद्वारा स्वतन्त्र र आनन्दमयरुपमा मनाइने तीज अन्य धर्म र जातजातिका नेपाली महिलाले पनि उत्तिकै हर्षोल्लासका साथ मनाउन थालेका छन् । यो पर्व मुख्यरुपले नेपालभर मनाइन्छ भने भारतका कुनैकुनै प्रान्तमा पनि मनाइन्छ ।              भनिन्छ, आद्य शक्ति भगवान शिवकी अर्धाङ्गिनी हिमालय पुत्री पार्वतीले भगवान् शिवको स्वास्थ्य तथा शरीरमा कुनै बाधा उत्पन्न नहोस् भनेर पहिलो व्रतराखेकी थिइन् त्यो दिन यही हरितालिका तीजको दिन थियो । त्यसै दिनदेखि आजसम्म हिन्दू नारीहरुले यो पर्व मनाउदै आएका छन् ।           यो चाडमा माइतीले (बाबु आमा, दाजुभाइ) छोरी÷चेलीलाई घरमा गई लिएर आउने वा बोलाएर मीठामीठा परिकार बनाएर खुवाउने तथा मनका भावना एवम् सुख दुःख साटासाट गरी एउटै ठाउँमा खानेबस्ने चलन छ । यस दिन विशेष महत्वका साथ दरखाने गरिन्छ । यही दरखाने दिनबाट नै तीज पर्वको आरम्भ भएको मानिन्छ । दरमा ठाउँअनुसार विभिन्न मीठामीठा परिकार साथै खीर, ढकने, सेलरोटी, केरालगायतका खाना, फलफूल खाने गरिन्छ ।             आधुनिकता सँगसँगै पछिल्लो समय भने यसमा खाइने परिकारमा परिवर्तन आउँदै गएको छ । माछा मासु, मिठाइलगायतका परिकारको प्रयोग बढ्दो छ । सामान्यतया दर मध्यरात १२ बजेअघि खाने चलन बसिसकेको छ । भोलिपल्ट दिनभर पानीसम्म पनि नखाई व्रतबस्नुपर्ने भएकाले दर खाने दिन राति अबेरसम्म बसेर पेटभरि खाने प्रचलन बसेको हो ।             खासगरी यसमा स्त्रीहरुले पतिका निम्ति निराहार रहेर भगवान् शिव तथा आद्य शक्ति पार्वतीसँग प्राथना गर्दछन् । यो दिन महिला बिहान चाँडै उठी नुहाइधुवाइ गरेर दिनभरि जल, अन्न ग्रहण नगरी व्रतबस्ने गर्दछन् । बेलुकीपख गाउँघर र छिमेकका महिला भेला भई पूजाका सामान तथा मण्डप तयार गरी भगवान् शिवको आराधना गर्ने प्रचलन रहेको छ । निर्जला व्रतभनिए पनि आजभोलि महिला मध्याह्नमै पूजा, आराधनापश्चात् फलफूल ग्रहण गर्ने गर्दछन् । कतिपय महिला नजिक रहेको शिव मन्दिरमा गई शिव आराधनाका साथै नाचगान तथा रमाइलो गर्ने गर्दछन् ।               हिन्दू धार्मिक ग्रन्थअनुसार राजा हिमालयले आफ्नी छोरी पार्वतीको कन्यादान भगवान् विष्णुसँग गरिदिने वचन पार्वतीलाई मन नपरेपछि आफूले मन पराएको वर पाउन जङ्गल गएर शिवजीको तपस्या गर्न थालिन् । पार्वतीले तपस्या गरेको एक सय वर्ष पूरा भइसक्दा पनि आफूले गरेको तपस्याको फल नपाउँदा एक दिन उनले शिवलिङ्गको स्थापना गरी पानी पनि नपिइकन निराहार व्रतबसिन् ।               पार्वतीको कठोर व्रतको कारण शिवजी प्रकट भई ‘चिताएको कुरा पुगोस्’ भनी आशीर्वाद दिएपछि शिव पार्वतीको विवाह हुन पुग्यो । त्यो दिन भाद्र शुक्ल तृतीयाको दिन थियो । सोही तिथिदेखि हिन्दू नारीले यस दिनलाई उत्सवका रुपमा मनाउन थाले र यो तीजको रुपमा मनाउने चलन पौराणिककालदेखि चल्दै आएको मानिन्छ ।          आधुनिक समाजमा तीजको महत्वलाई जुन रुपले व्याख्या गरिए पनि यो एक पौराणिककालदेखि चलिआएको परम्परा हो । सृष्टि र समाज चल्नको लागि पूर्वीय मान्यता अनुसार महिला विवाहपश्चात् आफ्नो श्रीमान्को साथमा उसको घरमा बसी बाँकी जीवन बिताउनुपर्ने हुन्छ । यसरी आफू जन्मेको घर, मातापिता, भाइबहिनी, इष्टमित्र र समाज चटक्क छोडी पराइघरमा जीवन बिताउँदा आउने माइतीको यादलाई कमी गर्ने एउटा अवसरको रुपमा तीज पर्वको गहन महत्व रहेको छ ।         तीजमा महिलालाई मीठामीठा भोजनका परिकारहरु खुवाइन्छ, नयाँ लुगा कपडा दिइन्छ । महिलालाई पराइघरको विभिन्न जिम्मेवारी, तनाव, साथै माइतीको सम्झनाको खाडललाई कम गर्न यो पर्वको ठूलो भूमिका रहेको छ । तीजमा विवाहिता महिला आफ्ना पतिको दीर्घायुको कामना गर्दै व्रतबसी नाचगान र मनोरञ्जन गर्छन् भने अविवाहिता नारी सुयोग्य वरको आशा राखी व्रतबस्छन् ।              व्रतको समयमा महिलाले तीजको व्रतकथा सुन्ने र समापनमा पूजा लगाई ब्राह्मणब्राह्मणीलाई दान दक्षिणा गर्ने चलन रहेको छ । तीजको व्रतअन्य व्रतभन्दा फरक ढङ्गले लिइन्छ । यस दिन पानीसम्म पनि नखाइ व्रतबस्नुपर्ने परम्परागत मान्यता रहेको भए पनि कतिपय महिला महादेवको पूजा आराधनापश्चात् फलफूल ग्रहण गर्दछन् । यसै दिन पार्वतीले आफ्नो तपस्या पूरा गरी शिवजी पाएको विश्वास गरिने हुनाले यस दिनलाई हर्षोल्लासका साथ नाचगान गरी मनाइने गरिन्छ ।             तीज पौराणिककालदेखि चलिआएको परम्परा हो । सृष्टि र समाज चल्नका लागि पूर्वीय मान्यताअनुसार महिला विवाहपश्चात् आफ्नो श्रीमान्को घरमा बसी बाँकी जीवन बिताउनुपर्ने हुन्छ । यसरी आफू जन्मेको घर, मातापिता, भाइबहिनी, इष्टमित्र र समाज चटक्क छोडी पराइघरमा जीवन बिताउँदा आउने माइतीको यादलाई कमी गर्ने एउटा महत्वपूर्ण अवसरका रुपमा तीज पर्वको गहन महत्व रहेको छ ।

  काठमाडौं । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नागरिकता विधेयक राष्ट्रियसभाबाट पारित हुने बताउनुभएको छ ।          विराटनगर विमानस्थलमा आज सञ्चारकर्मीसँग सङ्क्षिप्त कुराकानी गर्दै उहाँले नागरिकता विधेयक पुनःप्रक्रियामा गएको छ, अब पारित हुन्छ । अध्यक्ष दाहालले नागरिक विधेयकको प्रक्रियाका विषयमा राष्ट्रपतिले नेपाली सेनाका अधिकृतसँग गरेको छलफल सामान्य रहेको पनि बताउनुभयो । उहाँले भन्नुभयो, “विधेयक प्रक्रियामा गइसकेको छ, त्यो पारित हुन्छ र राष्ट्रपतिले पनि प्रमाणीकरण गर्नुहुन्छ ।”          अध्यक्ष दाहालले यतिखेर देशमा राजनीतिक सङ्कट आउने जस्तो गरेर हल्ला गरिएको भन्दै तर बाहिर हल्ला भएजस्तो मुलुकमा सङ्कट नआउने स्पष्ट गर्नुभयो । उहाँले भन्नुभयो, “बाहिर त केके सङ्कट आउने जस्तो हल्ला गरिएको छ, तर त्यस्तो केही होइन, हुँदैन ।” आगामी निर्वाचनका लागि पाँच दलभित्र एक सय ६५ वटै निर्वाचन क्षेत्रमा गठबन्धन हुने पनि उहाँले स्पष्ट पार्नुभयो । उहाँले १५ दिनभित्र सिटको बाँडफाँट भइसक्ने जानकारी दिनुभयो ।