गलकोट:  बागलुङको ताराखोला गाउँपालिका जलविद्युतको हबका रूपमा विकास भएको छ । ठाडो खोलाका रूपमा रहेको यहाँको ताराखोलामा हाल दुई जलविद्युत् आयोजना सम्पन्न भएका छन् भने दुई योजना निर्माणधीन र दुई प्रक्रियाम...

  काठमाडौं । पाँचपोखरी थाङपाल गाउँपालिकालाई पर्यटकीय आकर्षकस्थल (हब) बनाउने अभियानका साथ विकास निर्माणमा अगाडि बढाइएको छ ।    समुद्री सतहबाट करिब चार हजार एक सय ५१ मिटर उचाइमा अवस्थित पाँचपोखरी एक प्रमुख पर्यटकीय आकर्षक गन्तव्य हो । यसबाहेक पालिकाभित्र रहेका आमायाङ्ग्री डाँडा, ऐतिहासिकस्थल मेन्जुम, ड्रागन गुफा, हवेली, पाँचपोखरीभन्दा माथि रहेको ऐतिहासिक मानव, जुगल हिमश्रृखला, नागी थामडाँडा, च्योचो डाँडा, नौलिङेश्वर महादेव जस्ता प्राकृतिक मनोरम धार्मिकस्थल रहेकाले पर्यटन ‘हब’ बनाउन सहज हुने पालिका अध्यक्ष टासी लामाले बताउनुभयो । पालिका अध्यक्ष लामाका अनुसार प्राकृतिक मात्रै नभएर सांस्कृतिक एवं धार्मिक मान्यताका रूपमा पनि पर्यटकीय क्षेत्रका रूपमा विकास गर्न सकिनेछ ।    गाउँपालिका उपाध्यक्ष सुनिता अधिकारी पर्यटन प्रवद्र्धनका लागी सबैभन्दा महत्वपूर्ण कुरा यातायात भएकाले यसलाई प्राथकितामा राखेको बताउनुहुन्छ । उहाँले मेलम्ची र इन्द्रावतीमा आएको बाढीले केही समस्या भएको बताउनुभयो । हिमाली गाउँपालिका भए पनि फरक विशेषता भएको यस क्षेत्रको माथिल्लो भू–भागमा स्याउ फल्ने र तल्लो भागमा भने धान उत्पादन हुने गर्दछ ।    पालिकाले महत्वाकांक्षी योजनको रूपमा पाँचपोखरीसम्म केवलकार निर्माण गर्ने योजना बनाएको छ । गाउँपालिकाअन्तर्गत साविक भोताङ गाविसबाट पाँचपोखरीसम्म केबलकार राख्न प्रारम्भिक प्रतिवेदन तयार गरिएको गाउँपलिकाले जनाएको छ । भोताङको छिम्ती देउरालीबाट लौरीबिनायकसम्म राखिने केबलकारको लम्बाइ छ दशमलब पाँच किमी हुनेछ । त्यहाँ जडान गरिने केबलकार देशकै सबैभन्दा बढी उचाइको हुने प्रतिवेदनले जनाएको छ । केबलकार निर्माण गर्न झण्डै रु दुई अर्ब लाग्ने अनुमान छ ।   केवलकार सञ्चालनमा आएपछि स्थानीय युवाले रोजगारी पाउने बताउनुहुन्छ वडा नम्बर –३ भोताङका वडाअध्यक्ष निमाछिरिङ तामाङ । वडाअध्यक्ष तामाङका अनुसार यसका लागि यहाँ दुईवटा वैकल्पिक बाटो समेत निर्माण भइरहेको छ । मेलम्ची– भोताङ मोटरबाटोलाई कालोपत्र गर्ने र हेलम्बुसँग जोडिएको आमा याङ्ग्री तथा लाङटाङ घुम्न आउने पर्यटकलाई पाँचपोखरी तान्न जान्जालापास क्षेत्रमा बाटो जोड्ने काम भइरहेको उहाँले बताउनुभयो । 

  सुनसरी । सुनसरी जिल्लाको पूर्वी सीमा बूढीखोला नदी डेढ दशक अघिसम्म इटहरीको मसानघाटले परिचित थियो । खोलाको किनारामा दैनिकजसो मानिस डढाइन्थो । मसानघाटमा जान पनि सबै डराउँथे ।    मसानघाट पश्चिम नजिकै वडा नं ४ मा धार्मिक कार्य गर्नका निम्ति श्रीकृष्ण प्रणामी मन्दिर थियो । बुढी खोला नदी छेउमा जताततै फोहोर थियो । खोलामा अनाधिकृत रूपमा ढुंगा, गिट्टी र बालुवा उत्खनन गरेर वस्ती कटानको उच्च खतरा थियो । त्यही मसानघाट र मन्दिर दुवैको रुप यतिवेला फेरिएको छ । अनि त्यही बुढी खोला किनार अहिले भने जमुना मुक्ति घाटको नामले चिनिएको छ ।   बुढी खोलामा रु १० करोड बढी खर्चेर दाहसंस्कार गर्ने व्यवस्थित घाट र मन्दिर पुनःनिर्माणको काम गरिएको छ । यसको निमार्णसँगै धार्मिक पर्यटकीयस्थलको रूपमा परिचित भएको हो । जसले गर्दा सबै उमेर समूहका व्यक्तिहरू बुढीगङ्गा जमुना मुक्ति घाटमा आउने गरेको स्थानीयले बताएका छन् । उनीहरू भन्छन् “पहिला खोलाको छेउमा मनिसहरूलाई जलाउने गरिन्थियो, खेलाको किनारमा जलाउँदा बर्खाको समयमा कहिले बाढीले लास बगाउँथ्यो । तर अहिले यो स्थान पार्कजस्तै भएको छ । यहाँ विभिन्न स्थानबाट घुम्न आउने मानिसको भिड लाग्ने गरेको छ ।”   व्यवस्थित आर्यघाट भएकैले गर्दा प्रदेश १ का अन्य स्थानभन्दा बुढी गङ्गाजमुना मुक्तिघाटमै दाहसंस्कारका लागि ल्याउने क्रम बढ्दो छ । विशेषगरी, सुनसरी र मोरङका थुप्रै स्थानका मानिसको मृत्युपछि दाहसंस्कार गर्न बुढी गङ्गाजमुना मुक्ति घाटमा ल्याउने गरेको मुक्ति धाम विकास समितिले जनाएको छ ।   बुढीगङ्गा जमुना मुक्तिघाटमा किरियापुत्री भवनको पनि व्यवस्था गरिएको छ भने यहाँ गरिब तथा विपन्न परिवारलाई किरियापुत्री भवनमा बस्ने व्यवस्था मिलाउने गरिएको छ । 

  झापा । झापाको मेचीनगर–७ प्याराभिट्टामा निर्माण गरिएको बसपार्क अझै सञ्चालनमा आउन सकेको छैन । निर्माण भएको नौ वर्ष बितिसक्दा समेत सो बसपार्क प्रयोगविहीन अवस्थामा छ ।    नेपालको पूर्वीनाका काँकडभिट्टाको बस टर्मिनलको सवारी चाप र यातायातलाई व्यवस्थित गर्ने उद्देश्यले प्याराभिट्टामा बसपार्क निर्माण गरिएको हो । भारत, भूटान र बङ्गलादेशसँगको व्यापारिक नाका काँकडभिट्टा पर्यटक भित्रिने प्रवेशमार्ग हो । प्याराभिट्टाबाट लामो तथा छोटो दूरीका दैनिक पाँच सयभन्दा बढी बस सञ्चालन हुँदै आएका छन् ।    बजारको बीच भागमा रहेको दुई दशक पुरानो बस टर्मिनल अहिले साँघुरो भइसकेको छ । बसको पार्किङ र यात्रुको व्यवस्थापन सकसपूर्ण हुने गरेको छ । पचासौँ वर्षपछिसम्मको आवश्यकतालाई दृष्टिगत गरी राजमार्ग छेउमा २०७० सालमा प्यारीभिट्टा बसपार्क निर्माण थालिएको थियोे । झण्डै दुई सय बस एकैपटकमा पार्किङ गर्न सकिने क्षमताको उक्त बसपार्क निर्माण भए पनि सञ्चालनमा भने आउन सकेको छैन ।     मेचीनगर नगरपालिकाले आन्तरिक स्रोतबाट रु तीन करोड ३६ लाख र नगर विकास कोषको रु सात करोड ७७ लाख जुटाएर संयुक्त लगानीमा  बसपार्क निर्माण अघि बढाइएको थियो । बसपार्क बनाउन स्थानीय शिवकुमार थापा, ध्रुव शिवाकोटीलगायत १२ जनाले करोडौँ मूल्य बराबरको पाँच बिघा चार कठ्ठा जग्गा नगरपालिकालाई निःशुल्क प्रदान गरेका थिए ।   विसं २०६८ असार १९ गते शिलान्यास गरेर दमकको लामा मैनाचुली शिवशक्तिले निर्माण थालेको थियो । दुई वर्षमा निर्माण भएको बसपार्क २०७४ भदौ १५ गते मेचीनगर नगरप्रमुख विमल आचार्य र संस्थापक नगरप्रमुख रविन कोइरालाले संयुक्तरूपमा उद्घाटन गर्नुभएको थियो । तत्कालीन बसपार्क सहयोग समितिका अध्यक्ष डिल्लीराम घिमिरे निर्माण भएर पनि बसपार्क सञ्चालनमा नआउनु दुःखलाग्दो विषय भएको बताउनुहुन्छ ।    मेचीनगरकै ठूलो विकासे परियोजनाका रूपमा रहेको प्यारीभिट्टा बसपार्क निर्माणपछि दुई कार्यकाल जनप्रतिनिधिले नगरको नेतृत्व गरिसकेका छन् । बसपार्क प्रयोजनविहीन भए पनि नगर विकास कोषबाट लिएको ऋणको ब्याज नगरपालिकाले बर्सेनी तिर्दैआएको छ । मेची उद्योग वाणिज्य सङ्घका महिला उपाध्यक्ष बिना तामाङले विकास निर्माणमा ठूलो लगानी गरेर त्यसलाई प्रयोगविहीन राख्ने प्रवृत्तिको अन्त्य गर्न राजनीतिक दल र नागरिक समाज जागरुक हुनुपर्ने बताउनुभयो ।    नगरपालिकाले जनतामाथि ऋण बोकाएर निर्माण गरेको विकास परियोजना प्रयोगमा ल्याउन नसक्नु जनप्रतिनिधिकै कमजोरी भएको नेकपा (माओवादी केन्द्र)का झापा क्षेत्र नं १ का अध्यक्ष माधव अर्याल बताउनुहुन्छ । “बनेका संरचना के कारण प्रयोगमा आएनन् भनेर जनप्रतिनिधिले गम्भीर बन्नुपर्छ”, उहाँले भन्नुभयो, “यो त सरासर ऋणको दुरुपयोगजस्तो भयो ।”   करोडौँ मूल्य पर्ने निजी जग्गा बसपार्क निर्माणका लागि दानमा दिएका जग्गादाता बसपार्क निस्क्रिय रहेकामा आक्रोशित छन् । “उपयोग नगर्ने हो भने किन हामीसँग जग्गा लिएको ?”, मेचीनगर–७ का जग्गादाता शिव थापा भन्नुहुन्छ, “बसपार्क बन्दा कत्रो खुसीयाली थियो, अहिले प्रयोगमा नआउँदा बेकारमा जग्गा दिइएछ जस्तो लाग्न थालेको छ ।”    बसपार्कलाई पूर्वाधारयुक्त बनाउन नगरपालिकाले धेरै संरचना निर्माण गरिसकेको छ । वरिपरि पर्खाल निर्माण गरिएको छ । उत्तरतिर पसल निर्माण गरिएका छन् । पूर्वी किनारमा ग्यारेजका लागि पूर्वाधार निर्माण गरिएको छ । सुरक्षा बन्दोबस्तका लागि आवास भवनसहितको प्रहरी पोस्ट  बसपार्कमा निर्माण गरिएको छ । रात्रिकालीन उज्यालोका लागि विद्युत् र सौर्यबत्तीको पर्याप्त व्यवस्था मिलाइएको छ । राजमार्गबाट बसपार्क जोड्ने पहुँचमार्ग कालोपत्र गरिएको छ । तर बसपार्क नै सञ्चालनमा नआएपछि ती संरचना सबै बेकार सावित भएका छन् ।

  काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले बेलायतका महारानी एलिजाबेथ द्वितीयको निधनप्रति दुःख व्यक्त गर्दै लैनचौरमा रहेको नेपालस्थित बेलायती राजदूतावासमा पुगेर त्यहाँ राखिएको शोक पुस्तिकामा हस्ताक्षर गर्नुभएको छ ।       राष्ट्रपति भण्डारीले नेपालका लागि बेलायती राजदूत निकोला पोलिटसँगको कुराकानीमा महारानीको निधनबाट नेपालले एक अशल मित्र गुमाएको जनाउँदै उहाँप्रति हार्दिक श्रद्धाञ्जलि व्यक्त गर्नुभयो ।

  बागलुङ । बागलुङ नगरपालिका–९ स्थित तित्याङ स्वास्थ्यचौकी पहिराको उच्च जोखिममा छ । भवन निर्माण गर्नुपूर्व उपयुक्त ठाउँ छनोट नहुँदा लाखौँ रुपैयाँको लागतमा निर्माण भएको उक्त स्वास्थ्यचौकी भवन पहिराको जोखिममा परेको हो ।    विसं २०७६ मा निर्माण भएको उक्त भवन नजिकै पहिरा जाने क्रम रोकिएको छैन । भवन माथिदेखि झरेको पहिराले पछाडितिरका झ्यालमा क्षति पुर्याएको छ । भवनमाथिदेखि तथा तलपट्टिबाट पहिरो गएको छ । माथिदेखि झरेको पहिराले भवन पुरिन थालेको छ । तलदेखि भवनको जगनै उप्किन थालेको छ । रु दुई करोड तीन लाखमा निर्माण भएको सो भवन पहिराको जोखिममा परेपछि वडा कार्यालयले यसको संरक्षणका लागि पहल थालेको छ ।   बागलुङ नगरपालिका–९ का वडाध्यक्ष राजु थापाले भवन जोखिममा परेपछि यसको संरक्षणका लागि रु ६५ लाख विनियोजन भएको बताउनुभयो । उहाँले बर्खा सकिएपछि पर्खाल लगाउने बताउनुभयो । “बर्खा रोकिएपछि पर्खाल लगाएर संरक्षण गर्ने योजना छ”, थापाले भन्नुभयो । ठाउँ उपयुक्त नहुँदा अहिलेको अवस्था सिर्जना भएको उहाँको भनाइ छ ।    “यो ठाउँमा हुँदैन, जोखिम हुन्छ भन्दाभन्दै जबर्जस्ती भवन निर्माण गर्ने काम भयो”, थापाले भन्नुभयो, “पानीको मूल फुटने ठाउँमै भवन निर्माण गरिएको छ ।” भवनको जग नै कमजोर भएको पाइएको छ । उक्त  भवन निर्माणका लागि स्थानीय यामबहादुर खड्का र बेलबहादुर खत्रीले चार रोपनी जग्गा दान गर्नुभएको हो ।

  धादिङ । जिल्ला अस्पताल धादिङमा दैनिक डेङ्गुका बिरामी उपचारका लागि भर्ना हुन थालेका छन् । एक सातादेखि अस्पतालमा दैनिक २० जनाको हाराहारीमा डेङ्गुका बिरामी उपचार गर्न आउने गरेका छन् ।   लक्षण देखापरेका बिरामीमध्ये परीक्षण गर्दा दैनिक १० जनाभन्दा बढीलाई डेङ्गु पुष्टि हुने गरेको अस्पतालका सूचना अधिकारी विक्रम विकले जानकारी दिनुभयो । “दैनिक १०–१२ जनामा डेङ्गु देखिने गरेको छ, त्यसमध्ये पाँचभन्दा बढी बिरामी अस्पताल भर्ना भइरहेका छन्”, उहाँले भन्नुभयो ।   बिहीबारसम्म धादिङ अस्पतालमा नौ डेङ्गुका बिरामी भर्ना भएका छन् । सामान्य अवस्थाका बिरामीलाई होमआइसोलेशनमा राखिएको  विकले जानकारी दिनुभयो । सरकारी अस्पतालले मात्रै साउनयता एक सय ४८ जनामा डेङ्गु पुष्टि गरेको छ । नीजि अस्पताल तथा स्वास्थ्य संस्थामा जाँच गराउनेको सङ्ख्या यकिन छैन । धादिङ अस्पतालमा हरेक दिन बिहानैदेखि डेङ्गुका बिरामी बहिरङ्ग कक्ष (ओपिडी) मा लाइन लाग्ने गरेका अस्पतालका आकस्मिक कक्ष प्रमुख डा दिनेश रेग्मीले बताउनुभयो । ज्वरो आउने, असाध्यै टाउको दुख्ने, ढाड, जोर्नी तथा मांसपेशी दुख्ने लगायत लक्षण देखिएपछि सर्वसाधारण अस्पताल आउने गरेका छन् । अस्पतालमा शय्या अपुग हुने अवस्था आएको रेग्मी बताउनुहुन्छ ।

  बाँके । बाँकेमा पछिल्लो समय डेङ्गुबाट सङ्क्रमित हुनेको सङ्ख्या बढदै गएको छ । अहिलेसम्म जिल्लाका विभिन्न पालिकाकामा गरी ११ जनामा डेङ्गु सङ्क्रमण फैलिएको छ ।     जिल्ला स्वास्थ्य कार्यालय बाँकेका किटजन्य रोग फोकल पर्सन दुर्गा गौतमका अनुसार ११ मध्ये आठ जना जिल्लाभित्रका छन् । बुधबारमात्रै डेङ्गुबाट नेपालगञ्जमा दुई जनाको मृत्यु भएको छ । सङ्क्रमितमध्ये सबैभन्दा बढी नेपालगञ्ज उपमहानगरपालिकाका पाँच, कोहलपुर नगरपालिकाका दुई र बैजनाथ गाउँपालिकाका एक जना छन् । अन्य तीन जना बुटवल र काठमाडौँ आवतजावत गर्दा सङ्क्रमित भएका पाइएको छ ।    यस्तै भेरी अस्पताल नेपालगञ्जमा पनि डेङ्गु र भाइरल ज्वरोका बिरामीको चाप ह्वात्तै बढेको छ । अस्पतालका सूचना अधिकारी डा सङ्केतकुमार रिसालले डेङ्गु र भाइरल ज्वरोका बिरामी बढ्दै गएको उल्लेख गर्दै दमका रोगीसमेत बढेको बताउनुभयो ।    “अस्पताल भरिभराउ छ, बिरामी धेरै छन्”, उहाँले भन्नुभयो । डा रिसालले लामखुट्टेबाट बच्नु नै डेङ्गुको सङ्क्रमणबाट जोगिनु भएको उल्लेख गर्दै त्यसबाट बच्न लामखुट्टेको बासस्थान नै नष्ट गर्न आवश्यक भएको बताउनुभयो । त्यस्तै नेपालगञ्ज उपमहानगरपालिकामा डेङ्गु सङ्क्रमित भेटिएपछि लामखुट्टेका लार्भा र फुल नष्ट गर्न थालिएको छ । 

  काठमाडौं । देशभर आंशिकदेखि सामान्य बदली रही अधिकांश स्थानमा हल्कादेखि मध्यम वर्षा हुने भएको छ ।    हाल मनसुनको न्यूनचापीय रेखा सरदर स्थानभन्दा केही दक्षिणतिर अवस्थित रहेकाले बदलीसँगै वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागका मौसमविद् राजु प्रधानाङ्गले जानकारी दिनुभयो । विभागका अनुसार आगामी २४ घण्टा बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानमा र बाँकी प्रदेशका थोरै स्थानमा मेघगर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावनाका साथै लुम्बिनी प्रदेशका एक–दुई स्थानमा मेघगर्जन/चट्याङसहित भारी वर्षाको समेत सम्भावना रहेकाले वर्षा हुने पहाडी भू–भागमा भू–क्षय, पहिरो तथा गेग्रान बहावको जोखिम रहेको छ ।   शनिबार देशभर आंशिकदेखि सामान्य बदली रही सुदूरपश्चिम र लुम्बिनी प्रदेशलगायत अन्य प्रदेशका पहाडी भू–भागका केही स्थानमा र बाँकी प्रदेशका एक–दुई स्थानमा मेघगर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना र सुदूरपश्चिम तथा लुम्बिनी प्रदेशका एक–दुई स्थानमा  मेघगर्जन/चट्याङसहित भारी वर्षाको सम्भावना छ ।   मौसम पूर्वानुमान महाशाखाको पछिल्लो विवरणअनुसार आज काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम २० दशमलव दुई डिग्री र अधिकतम तापक्रम २५ दशमलव दुई डिग्री सेल्सियस रहेको छ ।

  झापा । झापाको कनकाईमा ‘मास लाइट’ जडान धमाधम भइरहेको छ । नेपाल विद्युत् प्राधिकरण र कनकाई नगरपालिकाको सहकार्यमा मास लाइट जडान गर्न लागिएको हो ।    नगरप्रमुख राजेन्द्र पोखरेलका अनुसार रु दुई करोड ६० लाखको लागतमा चारवटा मास लाइट तथा एक सय स्मार्ट लाइट जडान गरिँदै छ । उक्त कार्यका लागि नगरपालिकाले ६० तथा प्राधिकरणले ४० प्रतिशत लगानी गरेको छ । एउटा मास लाइट जडान गर्न रु १६ लाख खर्च हुने उहाँले बताउनुभयो । हाल कनकाई नगरपालिकाको कोटीहवन, सुरुङ्गा, दुर्गापुर र लक्ष्मीपुरमा मास लाइट जडान भइरहेको छ ।    “दुई स्थानमा जडान भइसकेको छ”, पोखरेलले भन्नुभयो, “थप दुई स्थानमा जडान जारी छ ।” सोह्र मिटर अग्लो पोलमा जडान गरिने वचालित मास लाइटले एक सय मिटर वरपरसम्म उज्यालो दिन्छ । भरतपुर, पोखरालगायत सहरमा मात्र जडान गरिएको मास लाइट प्रदेश १ मै पहिलोपटक कनकाईमा जडान गर्न लागिएको उहाँको भनाइ छ ।   हाल बजार र संवेदनशील क्षेत्रलाई लक्षित गरी जडान गरिएको मास लाइटले बजार क्षेत्रमा हुने चोरीडकैतीलगायत विभिन्न आपराधिक घटनामा कमी आउनुका साथै व्यापारिक क्षेत्रमा समेत मद्दत पुग्ने नगरपालिकाको विश्वास छ । नगरपालिकाले नगर क्षेत्रमा सिसीक्यामेरासमेत जडान गर्ने योजना बनाएको छ ।