कञ्चनपुर । नेपाल विद्युत् प्राधिकरण वितरण केन्द्र कञ्चनपुरले आर्थिक वर्षमा महसुल नतिर्ने ग्राहकको लाइन काटेर रु दुई करोड ६५ लाख ५५ हजार सात सय ४८ असुलउपर गरेको छ । कञ्चनपुर वितरण केन्द्रका प्रमुख सञ्जीव साहले आर्थिक वर्ष २०७८/७९ मा विद्युत् महसुल नबुझाएका नौ सय ७८ ग्राहकको विद्युत्को लाइनसमेत काटिएको बताउनुभयो । रु चार करोड ८४ लाख ८३ हजार नौ सय ९७ मूल्य बराबरको ग्राहकबाट असुुल गर्न बाँकी रहेकोमध्ये विद्युत् लाइन पुन: जडान गरिएबापत अहिले तत्काल रु दुई करोड ६५ लाख ५५ हजार सात सय ४८ सङ्कलन गरेको केन्द्र प्रमुख साहले जानकारी दिनुभयो । छ सय २५ जना ग्राहकले उक्त रकम बराबरको महसुल तिरेको उहाँले बताउनुभयो । कञ्चनपुर वितरण केन्द्रको औसत सङ्कलन पनि ९९.९ प्रतिशत रहेको बताउँदै बितेको आर्थिक वर्षमा विद्युत् चुहावट गर्ने दुई सय ८१ जनालाई कार्वाहीसमेत गरिएको प्रमुख साहले बताउनुभयो । उहाँले भन्नुभयो, “विद्युत् चुहावट गर्ने क्रममा ४२ जनालाई कारबाही गरिएको छ ।” चुहावटबाट रु २० लाख ८४ हजार चार सय ९३ असुल गरिएको हो । आर्थिक वर्ष २०७७/७८मा औसत २६ प्रतिशत घटी रहेकोमा आर्थिक वर्ष २०७८/७९ मा २४.०३ प्रतिशतमा झारिएको साहले दाबी गर्नुभयो ।कञ्चनपुर वितरण केन्द्र अन्तर्गत २२ प्रतिशत ग्राहकले अनलाईनमार्फत भुक्तानी गरेका छनु । इन्टरनेटको पहुुँचमा हुने ग्राहकलाई अनलाईनमार्फत भुक्तानी गर्न आग्रह गरिएको छ ।
महोत्तरी । जङ्गली हात्तीले महोत्तरीको बर्दिबास नगरपालिकाभित्र पाँच घर भत्काइदिएको छ । हात्तीले बर्दिबास –८ मा चार र वडा नं १० मा एक घर भत्काएको जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रहरी उपरीक्षक कृष्णप्रसाद पङ्गेनीले जानकारी दिनुभयो । उहाँका अनुसार रातका समयमा जङ्गलबाट आएका हात्तीको झुन्डले जितबहादुर योञ्जन, सोमबहादुर तामाङ, बुद्धिमान सिग्देल र जयकिसुन महतोको घर भत्काएको थियो । अँध्यारोको बेला अचानक आएका हात्तीले एकाएक घर भत्काउन थालेपछि गाउँभरि हो–हल्ला भएको र घरधनीहरूले घर छाडेर भागेका थिए । हात्तीको उपद्रवबाट घरभित्रका सबैथोक नष्ट भएको छ भने घर भत्किएर ती परिवारको बिजोग भएको छ । हात्तीको आक्रमणबाट मानवीय क्षति नभएको प्रहरीले जनाएको छ ।
काठमाडौं । विगतका वर्षहरुमा विद्यार्थी खोज्दै घरदैलो गर्नुपर्ने यहाँको मैयादेवी कन्या क्याम्पसमा अहिले थेगिनसक्नु विद्यार्थी छन् । क्याम्पसले शैक्षिक गुणस्तर सुनिश्चितता तथा प्रत्यायन (क्युएए) प्राप्त गरेसँगै विद्यार्थीको आकर्षण बढेको हो । छात्राको मात्रै पढाइ हुने यस क्याम्पसका प्राध्यापक, कर्मचारीहरू विगतका वर्षमा चितवन र छिमेकी जिल्लामा विद्यार्थी खोज्न पुग्ने गरेकोमा यस वर्ष बिद्यार्थीको चापका कारण भर्ना नै रोक्नु पर्ने भएको छ । क्याम्पस प्रमुख डा विश्व सुवेदीका अनुसार ‘क्युएए’ प्राप्त भएसँगै भौतिक पूर्वाधार, गुणस्तरीय शिक्षालगायतका कारण छात्राहरुको आकर्षण बढेको हो । यस बर्ष कक्षा ११ मा तीन सय जना विद्यार्थी भर्ना भइसकेका छन् । गत वर्ष क्याम्पस स्थापना भएयताकै सबैभन्दा बढी दुई सय २० विद्यार्थी भर्ना भएका थिए । सुवेदीले भन्नुभयो, “अब हामीसँग थप विद्यार्थी पढाउन कक्षा कोठा नभएकाले भर्ना रोक्नुपर्ने अवस्थामा पुगेका छौँ ।” एसइईको पूरक परीक्षाको नतिजा आएपछि विद्यार्थीहरू भर्ना हुन आउने गर्दछन् । ती विद्यार्थीलाई भर्ना गर्ने अवस्थामा आफूहरु नरहेको उहाँले बताउनुभयो । क्याम्पसमा मुख्यरुपमा चितवन, नवलपरासी, गोरखा, लमजुङ, तनहुँका विद्यार्थी धेरै आउने गरेका छन् । यसका अतिरिक्त २५ जिल्लाका विद्यार्थी अध्ययनका लागि आउने गरेको उहाँले जानकारी दिनुभयो । ती जिल्लामा प्रचारात्मक अभियानका लागि प्राध्यापक कर्मचारीहरु आफैँ जानुपर्ने बाध्यता विगतमा रहेको थियो । ‘महिला सशक्तीकरणका लागि उच्च शिक्षा’ भन्ने नाराका साथ क्याम्पस स्थापना भएको हो । समाजसेवी मैयादेवी श्रेष्ठले भरतपुर महानगरपालिका वडा नं १० मा १२ कठ्ठा जमिन खरिद गरी भौतिक निर्माण गरेर क्याम्पस सञ्चालनमा आएको हो । विसं २०५४ असोज १६ गते स्थापना भएको यस क्याम्पसमा सुरुआती चरणमा व्यवस्थापनमा १२ र शिक्षामा ३० विद्यार्थीले अध्ययन गर्दथे । क्याम्पस सञ्चालक समितिका अध्यक्ष टङ्कनाथ पौडेल ११ महिनासम्म तलब खुवाउन नसकेको विगत सम्झँदै भन्नुहुन्छ, “क्याम्पसले प्राविधिकसहितको कार्यक्रम थप गर्ने, गुणस्तरमा सुधार ल्याउनेजस्ता कार्यसँगै प्राप्त गरेको ‘क्युएए’का कारण आकर्षण बढेको हो ।” समाजसेवी एवं राजनीतिक मैयादेवी श्रेष्ठको नामले पनि धेरैलाई आकर्षित गरेको उहाँको भनाइ छ । स्वच्छ वातावरणमा गुणस्तरीय शिक्षा र भेदभावरहित छात्रावृत्तिले पनि थप आकर्षण गरेको पौडेल बताउनुहुन्छ । उहाँले भन्नुभयो, “यो क्याम्पस सबै हिसावबाट उत्कृष्ट बन्दै गएको छ, गुणस्तरीय शिक्षाले गर्दा विगतमा झै विद्यार्थी खोज्दै हिँड्नुपर्ने अवस्थामा अन्त्य भएको छ ।” अन्यत्र जस्तो विद्यार्थी राजनीतिका कार्यक्रम यस क्याम्पसमा कम हुने गर्दछन् । यसले गर्दा पठनपाठन प्रभावित नहुने र गुणस्तरीय शिक्षा दिन सकिएको पौडेलको भनाइ छ । उहाँले भन्नुभयो, “पहिले–पहिले हामी विद्यार्थी खोज्दै हिँड्थ्यो, अहिले भर्ना रोक्नुपर्ने अवस्थामा पुगेका छौँ ।” क्याम्पसमा शिक्षा र व्यवस्थापन सङ्कायमा स्नातकोत्तरसम्मको पढाइ हुने गरेको छ । हाल एक हजार सात सय विद्यार्थी विभिन्न सङ्कायमा अध्ययनरत छन् ।
काठमाडौँ । नेपाल प्रेस युनियन काठमाडौँ जिल्ला कार्यसमितिको कार्यवाहक अध्यक्षमा शाखाका उपाध्यक्ष अच्युत रेग्मी चयन हुनुभएको छ । काठमाडौँ शाखाको रिक्त अध्यक्ष पदमा प्रेस युनियन केन्द्रको निर्णयानुसार उपाध्यक्ष रेग्मीले कार्यवाहकको जिम्मेवारी पाउनुभएको हो । शाखाका अध्यक्ष जगन्नाथ दुलालले प्रेस युनियनको हेटौँडामा गत साउन ६ र ७ गते सम्पन्न नवौँ महाधिवेशनमा उम्मेदवारी दिएसँगै विधानअनुसार जिल्ला अध्यक्ष पद स्वतः रिक्त भएको थियो । विगत आठ वर्षदेखि राष्ट्रिय समाचार समिति (रासस)मा स्थानीय समाचारदाताका रुपमा कार्यरत रेग्मी काठमाडौँ उपत्यकालाई आफ्नो क्षेत्र बनाएर पत्रकारिता गर्दै आउनुभएको छ ।
धनुषा । धनुषाको नगराइन नगरपालिका–७ स्थित धान खेतमा दुई किशोरीको शव फेला परेको छ । जिल्ला प्रहरी कार्यालय धनुषाको अनुसार नगराइन –७ का स्थानीय १८ वर्षीया पूजा महरा र भारतको मधुवनी जिल्ला हरलाखी घर भई नगराइन–७ मा बस्दै आएकी १९ वर्षीया आरती कुमारी महराको शव फेला परेको हो । स्थानीयवासी खेतमा जाँदै गर्दा ती किशोरीलाई मृतावस्थामा देखेपछि उनीहरुले प्रहरीलाई खबर गरेका थिए । जिल्ला प्रहरी कार्यालय धनुषाका प्रवक्ता प्रहरी नायब उपरीक्षक प्रदीपबहादुर क्षेत्रीले प्रहरी टोलीले किशोरीद्वयको शव परीक्षणका लागि प्रादेशिक अस्पताल जनकपुरधाम ल्याएको जानकारी दिनुभयो ।
बागलुङ । वर्षेनी दुई याममा नाउर र झारलको वैधानिक सिकार हुँदै आएको ढोरपाटन सिकार आरक्षमा अबदेखि बँदेलको पनि सिकार गर्न पाइने भएको छ । नेपाली सिकारीलाई लक्षित गरी बँदेल सिकार खुला गर्न राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागले तयारी थालेको हो । आरक्षका प्रमुख संरक्षण अधिकृत वीरेन्द्रप्रसाद कँडेलका अनुसार एउटा याममा ११ बँदेलको सिकार गराइनेछ । “वर्षमा २२ बँदेलको सिकार कोटा निर्धारण गरिएको छ, बोलपत्रमार्फत छानिएका सिकार कम्पनीले सिकार खेलाउन पाउँछन्”, उहाँले भन्नुभयो, “विशेष गरी नेपाली सिकारीलाई लक्ष्य गरी बँदेलको सिकार खुलाउन लागिएको हो, यसबाट आन्तरिक पर्यटन प्रवद्र्धन हुने विश्वास छ ।” नाउर र झारलको महँगो सिकार नेपाली सिकारीको पहुँचमा छैन । त्यसका लागि विदेशी पेसेवर सिकारी भने लाखौँ खर्चन तयार हुन्छन् । आरक्षमा अहिलेसम्म कोही पनि नेपाली वैधानिक सिकारका लागि पुगेका छैनन् । बँदेलको व्यवस्थित सिकारले स्थानीय बासिन्दा र आरक्षबीच सम्बन्ध बलियो हुने प्रमुख संरक्षण अधिकृत कँडेलले बताउनुभयो । “बँदेलले किसानको खेतीबाली खाइदिने गर्छ, सिकारले पनि त्यसलाई केही हदसम्म नियन्त्रण गर्न सघाउनेछ”, उहाँले भन्नुभयो, “वैधानिक रुपमा सिकार गराउँदा राज्यले राजस्व पनि आर्जन गर्छ ।” बँदेल सिकारको दररेट भने बोलपत्रमा हुने प्रतिस्पर्धापछि मात्र तय हुने आरक्ष कार्यालयले जनाएको छ । विभागले नाउर, झारलसँगै बँदेलको पनि एकसाथ विद्युतीय बोलपत्र माग्ने भएको छ । आरक्षले प्रारम्भिक अध्ययनपछि वार्षिक १६ देखि २३ वटासम्म बँदेलको सिकार गराउन सकिने सुझाव विभागमा पठाएको थियो । सोही आधारमा विभागले दुई याममा ११//११ बँदेलको सिकार कोटा तोक्ने तयारी गरेको हो । प्रमुख संरक्षण अधिकृत कँडेलले विस्तृत अध्ययन र बँदेलको गणना गरेर मात्र सिकार कोटा तोकिने बताउनुभयो । नाउर र झारलको हरेक पाँच पाँच वर्षमा गणना गर्ने गरिन्छ । गणनाको नतिजालाई हेरेर विभागले सिकारको कोटा तोक्ने गर्छ । यस वर्षलाई बँदेलको बढी बसोबास रहेका सिकार ‘ब्लक’मा चारदेखि पाँच र थोरै भएकामा एकदेखि दुईसम्म मात्र सिकार गराइने भएको छ । आरक्षका सातवटै सिकार ‘ब्लक’मा बँदेल पाइन्छ । फागुने, बार्से र सुर्तिबाङ ‘ब्लक’मा बँदेल धेरै पाइने सिकार कम्पनी ट्र्याक एण्ड ट्रेल्र्सका दीपक थापाले बताउनुभयो । “बँदेलको सिकार गराउन कम्पनीले माग गर्दै आएका थिए, विभागले प्रकृया अघि बढाएको सुनिएको छ”, उहाँले भन्नुभयो, “यसबाट आन्तरिक पर्यटक आकर्षित हुन्छन्, सिकारको रोमाञ्चक अनुभव लिने अवसर पनि मिल्छ ।” नाउर र झारल सिकारको जस्तो महत्व बँदेल सिकारमा भने नहुने उहाँको भनाइ छ । “हन्टिङ ट्रफीका लागि नाउर र झारलको सिकार खेल्न विदेशी ढोरपाटन आउँछन्, बँदेल त मासुको प्रयोजनमा मात्र काम लाग्छ”, थापाले भन्नुभयो, “नेपालीहरु पनि ढोरपाटनमा सिकार खेल्न इच्छुक छन्, सिकारमा रमाउन चाहान्छन्, त्यो अवसर दिनुपर्छ ।” रतुवा मृग, चरालगायत अरु वन्यजन्तु र पन्छीकोसमेत सिकार गर्न पाइने भएपनि अहिलेसम्म माग नआएको आरक्ष कार्यालयले जनाएको छ । विभागले केही दिनमै चालु आवको पहिलो सिकार यामका लागि दरभाउपत्र मागको सूचना निकाल्दैछ । विभागले कम्पनीबीच प्रतिस्पर्धा गराई सिकारको अनुमति दिने गर्छ । ढोरपाटनमा नेपाल ट्राभल एक्पिडिसन, ग्लोबल सफारिज, हिमालयन सफारिज, हिमालयन वाइल्ड लाईफ आउटफिटर, ट्र्याक एण्ड ट्रेल्र्सलगायत सिकार कम्पनीले सिकार खेलाउँदै आएका छन् । बर्सेनि (असोज–मङ्सिर) र (फागुन–वैशाख) गरी दुई याममा सिकार खुला हुन्छ । वर्षमा २० नाउर र ११ झारलको सिकार गरिन्छ । सिकार कम्पनीबीच बोलपत्रमा हुने प्रतिस्पर्धाका आधारमा सिकारको राजश्व दर घटबढ हुने गर्छ । कुनै याममा सिकारको माग कम आउँदा कम्पनी प्रतिस्पर्धा गर्न चाहान्नन् । माग बढी हुँदा भने सीमित कोटाका लागि प्रतिस्पर्धा बढ्छ र कम्पनी पनि बढी राजश्व तिर्न तयार हुन्छन् । चार वर्षअघि (फागुन–वैशाख) को याममा एउटा नाउर सिकारको रु तेह्र लाख ५१ हजार र झारल सिकारको रु तेह्र लाख ५० हजारसम्म राजश्व बुझाउन कम्पनी तयार भएका थिए । आरक्षमा सुर्तिबाङ, फागुने, बार्से, सेङ, दोगाडी, घुस्तुङ र सुनदह गरी सात सिकार ‘ब्लक’ छन् । सिकारका लागि रुस, अमेरिका, क्यानाडा, नर्वे, जर्मनीलगायत देशबाट पेसेवर सिकारी ढोरपाटन आउँछन् । सौखिन र खर्चिला विदेशी शिकारीको रोजाइँमा ढोरपाटन पर्ने गरेको छ । सिकारीहरु हेलिकप्टरबाट आरक्षमा पुग्छन् । सिकारी, आरक्ष कार्यालय तथा कम्पनीका प्रतिनिधि, भरिया र पथप्रदर्शकसहितको टोलीले १५ दिन आरक्षमा बिताउँछन् । विसं २०३९ मा स्थापना भएको आरक्ष देशकै एकमात्र वैधानिक सिकार गन्तव्य हो । एक हजार तीन सय २५ वर्ग किलोमिटर क्षेत्रफलमा फैलिएको आरक्ष बागलुङ, म्याग्दी र रुकुमको उच्च पहाडी र हिमाली भू–भागमा अवस्थित छ । रोमाञ्चक र साहसिक सिकार पर्यटनका लागि ढोरपाटन विश्वमै प्रख्यात छ ।
काठमाडौं । जन्मोत्सव मनाउने आ–आफ्नो तरिका हुन्छन् । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले आफ्नो ५७औँ जन्मोत्सव आज रक्तदान गरी मनाउनुभएको छ । उहाँ नेपाल रेडक्रस सोसाइटीद्वारा सञ्चालित केन्द्रीय रक्तसञ्चार सेवा केन्द्रमा जानु भई रक्तदान गर्नुभएको केन्द्रका निर्देशक दिव्यराज पौडेलले जानकारी दिनुभयो । रक्तदानपछि अध्यक्ष लिङ्देनले भन्नुभयो, “मैले आफ्नो जन्मोत्सवका दिन रक्तदान गर्दै आइरहेको छु, मेरो रगत पाउने व्यक्तिलाई निको भइरहेको छ, मलाई पनि फाइदा भएको छ ।” केन्द्रका निर्देशक पौडेलले भन्नुभयो, “रक्तदानका बारेमा जनचेतना जगाउन आवश्यक छ । हरेक राजनीतिक दलका नेता र सामाजिक क्षेत्रका अगुवाले आफ्नो जन्मोत्सवमा रक्तदान गरेमा समुदायलाई रक्तदान गर्न उत्प्रेरणामा सहयोग मिल्ने छ ।”
पोखरा। पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले कुनै पनि भूमिहीन दलित, भूमिहीन सुकुम्वासी र अव्यवस्थित बसोबासी लालपुर्जा विहीन नहुने बताउनुभएको छ । पोखरा महानगरपालिका वडा नं.१४ मा जग्गाधनी पुर्जाको निस्सा वितरण गर्दै प्रमुख आचार्यले नागरिकको संवैधानिक अधिकारको प्रत्याभुतिका लागि आफूहरू प्रतिबद्ध रहेको बताउनुभएको हो । “वर्षौँदेखि यहाँहरूको अव्यवस्थित तरिकाले अन्यौलता बिचमा रहेका सबै कुराहरू सकिएका छन्, उहाँले भन्नुभयो, अव आफ्नो लालपुर्जा पाइँदैन कि भन्ने कुराको कुनै शङ्का छैन, तपाँईहरु सबैले प्राप्त गर्ने ठाउँमा पुग्नुभएको छ ।” मुलुक प्रदेश तथा प्रतिनिधि सभाको निर्वाचनको मुखमा रहेका कारण केही समय यो स्थगित हुन सक्ने भए पनि यसको निरन्तरतामा कुनै प्रकारको सङ्कोच नराख्न उहाँले विश्वास समेत दिलाउनुभयो । राज्यले तोकेको मापदण्डमा रहेर मिले हाल बसिरहेकै स्थानमा नभए उपयुक्त स्थानको खोजी गरेर भए पनि भूमिहीन दलित, भूमिहीन सुकुम्वासी र अव्यवस्थित बसोबासीहरुलाई उचित व्यवस्थापन गरिने उहाँले बताउनुभयो । राष्ट्रिय भूमि आयोग कास्कीका अध्यक्ष गङ्गा पोखरेलले आफूहरू निस्सा लगत्तै जग्गा धनी पुर्जा वितरणको तयारीमा रहेको बताउनुभयो । कास्कीमा पनि यस अभियानको सुरुवात गरिएको जनाउँदै उहाँले भूमिहीन दलित, भूमिहीन सुकुम्वासी र अव्यवस्थित बसोबासीहरुले प्राप्त गरेको निस्सालाई कमजोर नआँक्न सुझाव समेत दिनुभयो । जग्गा प्राप्ति अघिको लालपुर्जाका रूपमा यसलाई बुझ्न उहाँले आग्रह गर्नुभयो । पोखरा महानगरपालिका वडा नं. १४ का वडा अध्यक्ष बोध बहादुर कार्कीले मङ्गलवार १०० जना भूमिहीन दलित र भूमिहीन सुकुम्वासीलाई निस्सा वितरण गरिएको जानकारी दिनुभयो । आफ्नो वडामा ७०० वटा निवेदन परेको जनाउँदै उहाँले क्रमशः सबैलाई निस्सा वितरण गर्ने बताउनुभयो ।
पूर्वी नवलपरासी । गए रातिदेखि परेको अविरल वर्षाका कारण पूर्वी नवलपरासीको सदरमुकाम कावासोती बजार जलमग्न भएको छ । कावासोतीको फिल्महल चोक, सभापति चोकलगायत स्थान जलमग्न भएका हुन् । पानीको सतह बढेपछि कावासोतीको मुख्य बजारक्षेत्रमा पानी जमेको छ । नारायणघाट–बुटवल सडकखण्ड विस्तारको क्रममा सडकका नाली र ढल भत्काइएका कारण पानी बग्न नपाएपछि डुबान भएको हो । नगर क्षेत्रका सबै सडक जलमग्न र हिलाम्मे भएपछि सर्वसाधारणलाई सास्ती खेप्नु परिरहेको छ । कतै नाली पुरिएका कारण सडकमा पानी जमेको छ भने कतै खाल्डाखुल्डीमा पानी जमेको छ । बुटवल–नारायणघाट सडकको काम समयमै सम्पन्न नहुँदा घाम लाग्दा बेस्सरी धुलो उड्ने र पानी परेपछि हिलाम्य हुने समस्याले सकस भएको स्थानीयले बताएका छन् । “सडकको कालोपत्र भत्किएर बनेका ठूला खाल्डामा पानी जम्दा आवतजावतमा समस्या भएको छ”, स्थानीय रमेश थापाले बताउनुभयो । वर्षातको पानीले निकास नपाउँदा बजार क्षेत्र आसपासका विद्यालय, अस्पताल, सरकारी कार्यालयलगायतमा पानी पसेको उहाँले बताउनुभयो ।