रोचक बन्दै म्याग्दीको चुनावी प्रतिस्पर्धा
म्याग्दी | कात्तिक ६, २०७९

म्याग्दी । म्याग्दीमा सत्तारुढ दलको गठबन्धन र नेकपा (एमाले)का उम्मेदवार मंसिर ४ गते हुने प्रतिनिधि र प्रदेशसभा सदस्य निर्वाचनमा मुख्य प्रतिस्पर्धीका रूपमा देखिएको छ ।
प्रतिनिधिसभामा एक र प्रदेशसभामा दुई क्षेत्र रहेको म्याग्दीमा तीन पदका लागि १९ जना चुनावी मैदानमा छन् । प्रतिनिधिसभामा तीन जना स्वतन्त्रसहित नौ, प्रदेशसभा क्षेत्र (क) र (ख) मा पाँच–पाँच उम्मेदवार छन् । विसं २०५६ मा नेपाली कांग्रेस, २०६४ मा नेकपा (माओवादी केन्द्र), २०७० र २०७४ मा एमालेले जिल्लामा प्रतिनिधिसभा सदस्य निर्वाचन जितेका छन् । प्रजातन्त्र पुनःस्थापनापछि २०५६ अघिको संसदीय चुनाव पनि एमालेले जितेको थियो ।
विसं २०७४ मा एकवटा प्रदेशसभा माओवादी र एकवटा एमालेले जितेका थिए । पाँच वर्षअघिको संसदीय चुनावमा एमाले–माओवादी र कांग्रेस–राप्रपाले तालमेल गरेका थिए । एमाले विरासत जोगाउने र अन्य दल गठबन्धनको बलमा जित निकाल्ने रणनीतिमा छन् ।
गत स्थानीय तह निर्वाचनमा एमालेले चारवटा पालिका प्रमुख, तीन उपप्रमुख, २२ वडा, कांग्रेसले दुई अध्यक्ष, एक उपाध्यक्ष, १७ वडा, माओवादीले दुई उपप्रमुख र छवटा वडा जितेका थिए । स्थानीय चुनावमा एमालेका वडाध्यक्षका उम्मेदवारले २३ हजार ९०, कांग्रेसले १९ हजार आठ सय ७० र माओवादीले आठ हजार पाँच सय ९२ मत ल्याएका थिए ।
प्रतिनिधिसभामा कांग्रेस– एमालेको प्रतिस्पर्धा
प्रतिनिधिसभा सदस्यमा एमालेका हरिकृष्ण श्रेष्ठ र गठबन्धनबाट कांग्रेसका खमबहादुर गर्बुजा ९खम्बिर० उम्मेदवार हुनुहुन्छ । कांग्रेसका जिल्ला सभापति गर्वुजा तेस्रोपटक चुनावी मैदानमा उत्रिनुभएको हो । यसअघि दुई चुनाव हारेका गर्बुजालाई यसपालि सत्तारुढ दल माओवादी केन्द्र, नेकपा (एकीकृत समाजवादी) र राष्ट्रिय जनमोर्चाको साथ छ ।
गठबन्धनसँग एकल प्रतिस्पर्धा गर्न एमालेले प्रतिनिधिसभा सदस्यका लागि दुई कार्यकाल जिल्ला अध्यक्ष भएका प्रदेश कमिटीका सचिवालय सदस्य श्रेष्ठको नाम एकल सिफारिस गरेको थियो । “जिल्ला कमिटीले प्रतिनिधिसभा सदस्यका लागि सर्वसम्मत एकल नाम सिफारिस गरेकाले कार्यकर्तामा उत्साह छ”, श्रेष्ठ भन्नुहुन्छ, “विसं २०७४ मा दुईवटा मात्र स्थानीय तह जितेका थियौँ । गत चुनावमा चारवटा पालिका जितेका छौँ । यो पनि हाम्रो जितको आधार हो ।”
जिल्ला सदरमुकाम बेनी बजार अवस्थित तत्कालीन अर्थुङ्गे गाविसको एक कार्यकाल अध्यक्ष भएका श्रेष्ठले बेनी खानेपानी, रेडक्रस, म्याग्दी पुस्तकालयलगायत सामाजिक सङ्घसंस्थाको पनि नेतृत्व गर्नुभएको थियो । सदरमुकाम बेनीका बासिन्दा श्रेष्ठ र रघुगङ्गा गाउँपालिका–४ दग्नामका गर्बुजाको उमेर समान ५७–५७ वर्ष छ ।
कांग्रेस म्याग्दीको दोस्रो कार्यकालका लागि बाहलवाला सभापति रहेका गर्बुजा बेलायती सेनाबाट सेवानिवृत्त भएपछि करिब २० वर्षदेखि राजनीतिमा सक्रिय हुनुहुन्छ । स्थानीय तह निर्वाचनमा गठबन्धनका दलहरू बेनी नगरपालिकाको प्रमुख–उपप्रमुखसहित पाँच वडामा र धवलागिरि गाउँपालिकाको सबै पदमा तालमेल गरेका थिए ।
जिल्लाव्यापी तालमेल नहुँदा स्थानीय तह चुनावमा अपेक्षाकृत नतिजा हासिल गर्न नसकेको ठहर गरेका नेपाली कांग्रेस, माओवादी र एकीकृत समाजवादी गठबन्धनको बलमा यसपालि नतिजा आफ्नो पक्षमा पार्ने रणनीतिमा छन् ।
“स्थानीय तहको चुनावमा गठबन्धनको मत एमालेको भन्दा धेरै छ । जिल्ला, पालिका र वडा तहसम्म संयुक्त चुनावी अभियानमा छौँ”, गर्बुजाले भन्नुभयो, “२०७४ को चुनावमा कम्प्युनिष्ट पार्टीहरूबीचको तालमेल भएको अवस्थामा म्याग्दीमा कांग्रेसले कडा प्रतिस्पर्धा गरेको हो । अहिले माओवादी, एकीकृत समाजवादी, जनमोर्चाको साथ छ । मतदाताको परिवर्तित मनोभावनाले पनि गठबन्धनलाई सहयोग पुग्छ ।”
एकै वडाका दुई उम्मेदवार
प्रदेशसभा क्षेत्र (क)मा एमालेका देवेन्द्रबहादुर केसी र गठबन्धनबाट नेकपा (माओवादी केन्द्र)का हरि भण्डारी रघुगङ्गा गाउँपालिका–२ भगवतीका बासिन्दा हुन् । नाताले केसी मामा र भण्डारी भान्जा पर्नुहुन्छ । भगवती प्रदेश (ख)मा धेरै मतदाता हुने वडामध्येमा पर्दछ ।
एमालेका जिल्ला अध्यक्ष केसी यसअघि जिल्ला समन्वय समितिका प्रमुख र विसं २०५४ को चुनावबाट भगवती गाविसको अध्यक्ष बन्नुभएको थियो । केसीसँगको प्रतिस्पर्धामा गठबन्धनले ३९ वर्षीय युवानेता भण्डारीलाई अगाडि सारेको छ ।
माओवादीको रघुगङ्गा गाउँपालिका अध्यक्ष रहेका भण्डारी विसं २०७४ को चुनावमा गाउँपालिका उपाध्यक्षको उम्मेदवार बन्नुभएको थियो । विदेशबाट फर्किएपछि बेनीमा व्यवसाय गर्दै आएका भण्डारी जेसिजलगायत सामाजिक सङ्घसंस्थामा आवद्ध हुनुहुन्छ ।
प्रदेश (ख) मा एमाले–माओवादी
प्रदेशसभा क्षेत्र (ख)मा एमालेका यामबहादुर गर्बुजा र गठबन्धनबाट माओवादीका रेशम जुग्जाली (सुविन) मुख्य प्रतिस्पर्धी हुन् । धवलागिरि गाउँपालिका–६ मराङमा जन्मिएका एमालेका प्रदेश कमिटी सदस्य गर्बुजाको बसोबास हाल काठमाडौँमा छ । उहाँ एमाले नेता थममाया थापा महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री हुँदा उहाँको सचिवालयमा बसेर काम गर्नुभएको थियो ।
गठबन्धनबाट माओवादीका उम्मेदवार ३९ वर्षीय जुग्जाली सो पार्टीको म्याग्दी जिल्ला संयोजक हुनुहुन्छ । द्वन्द्वकालमा भूमिगत भएका जुग्जालीका दाजु जितबहादुर ‘जनयुद्ध’का सहिद हुन् । विसं २०७४ को स्थानीय तह चुनावमा स्वतन्त्र उम्मेदवार बनेर मालिका गाउँपालिका–७ को वडाध्यक्षमा निर्वाचित भएका जुग्जाली गत स्थानीय तह चुनावमा सोही पालिकाको अध्यक्षको उम्मेदवार बन्नुभएको थियो ।
अहिलेको व्यवस्थाको सूत्रधार माओवादी भएको, गत चुनावमा एमाले र कांग्रेससँग प्रतिस्पर्धा गर्न सक्ने आधार खडा गरिएको जुग्जाली बताउनुहुन्छ । “गणतन्त्र, सङ्घीयता, समावेशी, संविधानलगायत माओवादी आन्दोलनबाट स्थापित मुद्दा तथा पार्टीले गरेका काम तथा भावी योजना लिएर जनतामाझ छौँ”, उहाँले भन्नुभयो, “म्याग्दीको राजनीतिमा माओवादीको मत निर्णायक हो । स्थिरता, संविधानको रक्षा र समृद्धिका लागि बनेको गठबन्धनलाई जिताउन म्याग्दीका लागि अहिले अवसर मिलेको छ ।”
गाउँ पसे उम्मेदवार
छवटा स्थानीय तह रहेको जिल्लामा ८२ मतदानस्थल र एक सय १९ मतदान केन्द्र छन् । बेनी नगरपालिका, रघुगङ्गा र अन्नपूर्ण गाउँपालिकालाई समेटेको ४९ मतदानस्थलमा ६८ वटा केन्द्र रहेको प्रदेशसभा क्षेत्र (क) मा ४८ हजार चार सय ७२, मङ्गला, मालिका र धवलागिरि गाउँपालिका समावेश ३३ स्थलमा ५१ केन्द्र रहेको प्रदेशसभा क्षेत्र (ख) मा ३७ हजार छ सय ४८ मतदाता छन् ।
राजनीतिक दलका नेता र उम्मेदवार ग्रामीण क्षेत्रमा पुगेर घरदैलो गरी मतदाता भेटघाट र कार्यकर्ता भेला तथा प्रशिक्षणमा जुटेका हुन् । निर्वाचन आचारसंहिताले सभा, माइकिङमार्फत भड्किलो प्रचार–प्रसारमा कडाइ गरेपछि प्रचार शैली फेरिएको छ ।
सभाको विकल्पमा घरदैलो गरेर मतदाता भेटघाट र कार्यकर्ता भेला गरी प्रशिक्षण तथा परिचालनमार्फत चुनाव प्रचार गर्न थालेका हुन् । निर्वाचन आयोगले कात्तिक १७ गतेपछि मात्र चुनावीसभा गर्न पाउने आचारसंहिता बनाएको छ ।
पहिलो चरणमा मतदाता भेटघाटसँगै टोल–टोलमा कार्यकर्ता भेला गरी प्रशिक्षण दिएर परिचालन गरेपछि चुनावी रौनक बढेको छ । सभाका क्रममा पुग्न नसकिने टोल तथा भौगोलिकरूपमा विकट क्षेत्रका बस्तीमा पहिलो चरणको घरदैलो गरेका हुन् । मतदाताका गुनासा, सुझाव र अपेक्षा सुन्ने, आफ्नो प्रतिबद्धता सुनाउने, कार्यकर्ता भेला गरेर मतदातालाई आकर्षित गर्ने रणनीति बनाउनमा केन्द्रित भएका छन् ।
राष्ट्रिय प्रजातन्त्र पार्टीले राजावादीको प्रदर्शनमा भएका घटनामा पक्राउ परेका नेतालाई रिहाई नगरेको भन्दै प्रदर्शन गरेको छ। आज दिउँसो बानेश्वर क्षेत्रमा राप्रपाका नेता तथा कार्यकर्ताहरु प्रदर्शनमा उत्रिएका ...
रोल्पाको लुङग्री गाउँपालिका वडा नम्बर ७ स्थित हारजङ गाउँमा कुकुरलाई झुड्याएर हत्या गरेको आरोपमा २ जना पक्राउ परेका छन् । प्रहरीका अनुसार पक्राउ पर्नेमा ११ वर्षीय जलजला पुन र १७ वर्षीय डम्बर पुन रहेक...
धवलागिरि गाउँपालिका–३ मुनाका ७१ वर्षीय खड्कमान पुनको दैनिकी घुम्ती गोठमा बित्ने गरेको छ। परम्परागत रूपमा गाईपालन गर्दै आएका उनको गोठमा १९ गाई छन्। हिउँदमा बेँसी र बर्खायाममा लेकका बुकीमा...