गलकोट:  बागलुङको ताराखोला गाउँपालिका जलविद्युतको हबका रूपमा विकास भएको छ । ठाडो खोलाका रूपमा रहेको यहाँको ताराखोलामा हाल दुई जलविद्युत् आयोजना सम्पन्न भएका छन् भने दुई योजना निर्माणधीन र दुई प्रक्रियाम...

  महोत्तरी । महोत्तरीको सुदूर उत्तरवर्ती बर्दिबास नगर क्षेत्र डेङ्गुको जोखिममा देखिएको छ । हालसम्म बर्दिबास अस्पतालमा डेङ्गु सङ्क्रमित १७ बिरामी पुगेका छन् ।   यही भदौ महिनामा अस्पतालमा उपचारार्थ पुगेका बिरामीको जाँच गर्दा बर्दिबासका १३, जिल्लाकै छिमेकी नगरपालिका औरही र धनुषाको मिथिला नगरपालिका क्षेत्रका एक–एक गरी १५ जनामा डेङ्गु सङ्क्रमण पुष्टि भएको अस्पतालका मेडिकल सुपरिटेण्डेन्ट डा कृष्णा महर्जनले जानकारी दिनुभयो । यो सङ्ख्या भदौ महिनाभरिको हालसम्मको हो । यसबाहेक गत साउनमा बर्दिबासकै दुई जनामा डेङ्गु सङ्क्रमण पुष्टि भएको डा महर्जनको भनाइ छ ।    बर्दिबास नगर क्षेत्रमा वडा नं १, २, ३ र ८ का उपचार लिन अस्पताल पुगेका बिरामीमा डेङ्गु पुष्टि भएको हो । अस्पतालको जाँचबाट डेङ्गु पुष्टि भएमध्ये तीन जनाको अवस्था गम्भीर पाइएपछि थप उपचारका लागि काठमाडौँ पठाइएको बर्दिबास अस्पतालले जनाएको छ ।   बर्दिबास नगर क्षेत्र पछिल्ला पाँच वर्षयता डेङ्गुको उच्च जोखिममा रहँदै आएको छ । पछिल्ला चार वर्ष फाटफुटमात्र डेङ्गु सङ्क्रमित भेटिए पनि २०७४ मा भने यसले यहाँ आतङ्क नै मच्चाएको थियो । विसं २०७४ को साउनदेखि असोजमध्येसम्म बर्दिबास नगर क्षेत्रमा नै आठ सय ४७ जनामा सङ्क्रमण पुष्टि भएको जनस्वास्थ्य शाखाले जनाएको छ । यसयताका वर्षमा केही–केही सङ्क्रमण पुष्टि हुँदै आएको बर्दिबासमा यसपालि भने केही दिनभित्रै सङ्क्रमितको सङ्ख्या १७ पुगेका शाखाका प्रमुख सुरेश पासवान बताउनुभयो ।    पछिल्लोपटक नगर क्षेत्रमा डेङगु सङ्क्रमण बढ्दै गएपछि बर्दिबास नगरपालिका नेतृत्वले यसविरुद्ध सरसफाइ अभियान जारी राखेको छ । नगरका सबै  वडामा वडाध्यक्षका संयोजकत्वमा डेङ्गु सार्ने ‘आडेस’ लामखुट्टेका बासस्थान सरसफाइ गर्ने, लामखुट्टेका लार्भा नष्ट गर्ने र किटनाशक औषधि छर्ने अभियान नै थालिएको नगरप्रमुख प्रल्हादकुमार क्षेत्री बताउनुभयो । डेङ्गु सङ्क्रमणको अवस्थाप्रति सबै सचेत भई यसविरुद्धका अभियानमा सरिक हुन पनि क्षत्रीको नगरवासीसँग अपिल छ ।

गलकोट :   बागलुङ कांग्रेसले थालेको बिपी स्मृति भवन निर्माणले सार्थकता पाउन थालेको छ ।    भवनका लागि जग्गा खरिदसँगै शुभेच्छुकबाट सहयोग सङ्कलन अभियानलाई तीव्रता दिइएको छ । अब बन्ने भवनमा पार्टी कार्यालय सञ्चालन गरिने पार्टीले जनाएको छ । स्मृति भवन बनाउनका लागि एक हजार एक सदस्य समिति गठन गरेको कांग्रेसले पछिल्लो पाँच महिनायता भवन निर्माणका लागि रु एक करोड सङ्कलन गरिसकेको छ ।    कांग्रेस बागलुङको १४ औँ महाधिवेशनबाट निर्वाचित सभापति जित शेरचनको समितिले जग्गा खरिद गरेर भवन निर्माण गर्ने अठोट लिएसँगै रकम सङ्कलन तीव्रता पाएको हो । छोटो समयमै घडेरी व्यवस्थापन गरेर रकम सङ्कलन अभियानलाई तीव्रता दिएको कांग्रेस बागलुङका कोषाध्यक्ष श्रीधर कँडेलले जानकारी दिनुभयो ।    उहाँले भन्नुभयो, “करिब दुई करोड रकम बागदान भइसकेको छ, हामीले उठ्ने रकम मात्रै बोल्न लगाएका छौँ, रकम सहयोग गर्नका लागि कांग्रेस समर्थकले आफैँ बोलाउने अवस्था छ । हालसम्म एक करोड रकम खातामा जम्मा भइसकेको छ, रकम उठ्ने कार्यले तीव्रता पाएको छ ।   रु १० करोड उठाउने लक्ष्य रहेको छ, जसले जग्गा खरिदको रकम तिर्न, घर निर्माण गर्न र कोष स्थापना गर्ने तयारी छ ।” कांग्रेसले बिपी स्मृति भवन बनाउने अभियानअन्तर्गत बागलुङ नगरपालिका–३ नारायण चोकमा १४ आना जग्गा खरिद भइसकेको र हाल पार्टी कार्यालय बनाउनका लागि कांग्रेस शुभेच्छुकबाट रकम सङ्कलन अभियान चलाइ राखेकोे कांग्रेस बागलुङका सभापति जीतबहादुर शेरचनले बताउनुभयो । 

  काठमाडौं । चितवनको एक सामुदायिक विद्यालयले मोबाइल म्यासेजमार्फत विद्यार्थी विद्यालय पुगेको र बाहिरिएको जानाकारी दिने प्रविधि प्रयोगमा ल्याएको छ  । भरतपुर महानगरपालिका–१० स्थित नारायणी नमूना माविले विद्यार्थीलाई समयमै विद्यालय आउने र घर जाने वातावरण बनाउन अभिभावकको मोबाइलमा म्यासेज पठाउन थालेको हो ।   यो प्रविधि जडान भएपछि विद्यार्थी विद्यालय पुग्नासाथ र विद्यालयबाट घरका लागि हिँड्नासाथ म्यासेज अभिभावकको मोबाइलमा पुग्छ । विद्यालयका प्राचार्य पूर्णप्रसाद दवाडीले स्कुलमा विद्यार्थीको सङ्ख्या धेरै भएका कारण व्यवस्थापनमा सहजता ल्याउन मोबाइलमा म्यासेज पठाउने व्यवस्था गरिएको जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “विद्यार्थी घरबाट हिँडेर कहिलेकाहीँ स्कुल नपुग्ने र स्कुलबाट छुटेपछि पनि समयमा घर नजाने गुनासो आउने गरेपछि यो प्रविधिको सुरुआत गरेका हौँ ।” उहाँले विद्यालयले विद्यार्थीबारे म्यासेजको व्यवस्था गरेपछि अभिभावकलाई पनि ढुक्क हुने बताउनुभयो ।   “कहिलेकाहीँ ५ बजेसम्म पनि अध्ययन हुनसक्छ, म्यासेज नआएसम्म आफ्ना छोराछोरी स्कुलमा सुरक्षित छन् भनेर अभिभावक ढुक्क हुनुहुन्छ”, प्रचार्य दवाडीले भन्नुभयो । यो प्रविधिमार्फत विद्यार्थीको वैज्ञानिक व्यवस्थापनको अभ्यास थालिएको उहाँको भनाइ छ । यो प्रविधि जडानका लागि विद्यालयले भरतपुरको प्राचीन मेटल आर्टस् एण्ड फ्लेक्ससँग सम्झौता गरेको छ ।  प्राचीन मेटलका सञ्चालक गोपालभक्त अधिकारीले विद्यार्थीको आइडी कार्डमा चिप जडान गरिएको र विद्यार्थी विद्यालय प्रवेश गर्ने र बाहिरिने बित्तिकै अटोमेटिक रिड गरेर अभिभावकलाई म्यासेज पठाउने बताउनुभयो । अभिभावकलाई म्यासेज पठाउने प्रविधि केही निजी स्कूल कलेजमा यसअघिनै जडान गरे पनि सामुदायिक विद्यालयमा नारायणी नमूना मावि जिल्लामा नै पहिलो भएको उहाँले बताउनुभयो ।    विद्यालयसँग एक वर्षको सम्झौता गरेर काम गरिएको अधिकारीले जानकारी दिनुभयो । विद्यालयको बसमा समेत जिपिएस जडान गरिएको छ । जसको माध्यमबाट अभिभावक तथा शिक्षकले मोबाइल एपको माध्यमबाट स्कुल बसलाई ट्रयाक गर्न सक्नेछन् ।   विद्यालयमा तीन हजार पाँच सय बढी विद्यार्थी अध्ययनरत छन् । अभिभावकले विद्यालय पुर्याउने र लैजानेबाहेकका अन्य विद्यार्थीलाई म्यासेज पठाउने व्यवस्था गरिएको छ । करिब तीन हजार विद्यार्थीलाई एकैपटक म्यासेज जाने प्राचार्य दवाडीले बताउनुभयो ।    विद्यालयले सूचना र प्रविधिको माध्यमबाट अध्ययन अध्यापन गराउने कुरालाई प्राथमिकतामा राखेको जनाएको छ  । सबै कक्षाकोठामा प्रोजेक्टरको व्यवस्था गरिएको छ भने सिसीटिभी जडान समेत गरिएको दवाडीेले जानकारी दिनुभयो । विद्यालयले पढाउने विधिलाई पनि प्रविधिमैत्री बनाएको उहाँले जानकारी दिनुभयो ।

  काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालले गुणस्तरीय जीवनयापनका लागि जनताको क्रयशक्ति बढाउनुपर्ने आवश्यकता औँल्याउनुभएको छ ।    संयुक्त राष्ट्रसङ्घीय विकास कार्यक्रम (युएनडिपी)ले यहाँ आज आयोजना गरेको मानव विकास प्रतिवेदन सार्वजनिक कार्यक्रममा उहाँले त्यसका लागि देशको अर्थतन्त्र सबल हुनुपर्नेमा जोड दिनुभयो । उहाँले सबल अर्थतन्त्रको निर्माणका लागि नेपालको प्रमुख आधार कृषि, पर्यटन र ऊर्जा भएको जनाउँदै देश विकासका लागि जलस्रोतलगायतका प्राकृतिक स्रोतको उचित प्रयोग गर्नुपर्ने आवश्यकता औँल्याउनुभयो ।    ‘पहिले विद्युत् उज्यालोका लागि, अबको विद्युत् उज्वल भविष्यका लागि’ भन्ने मान्यताका साथ सरकारले औद्योगिकीकरण, यातायात सञ्चालन, सिँचाइमार्फत कृषि विकास, लिफ्टमार्फत खानेपानी र सिँचाइका साथै विद्युतीय सामग्रीको प्रयोग गरी उज्यालो भविष्यका लागि ऊर्जाको प्रयोग गर्नुपर्ने बताउनुभयो ।   उहाँले भन्नुभयो, “ऊर्जाको आन्तरिक खपत बढाउनुका साथै खपत नहुने ऊर्जा निर्यात गरेर भए पनि आर्थिक विकास गर्न जरुरी छ, जलस्रोत र ऊर्जाको दिगो विकासमार्फत आत्मनिर्भर अर्थतन्त्रको निर्माण गर्दै समृद्ध नेपाल निर्माणका लागि सबैले आ–आफ्नो क्षेत्रबाट योगदान दिन आवश्यक छ ।”    मन्त्री भुसालले देशमा उत्पादन हुने विद्युत् पूर्णरुपमा नवीकरणीय स्वच्छ ऊर्जा भएको र हाल देशको करिब ९५ प्रतिशत जनतामा विद्युत् पहुँच पुगेको बताउनुभयो । “यस अर्थमा हामीले ९५ प्रतिशत जनतामा नवीकरणीय ऊर्जाको पहुँच पुगेको मान्न सकिन्छ”, उहाँले भन्नुभयो, “आगामी दुई वर्षभित्र सबै नेपाली जनतामा भरपर्दो र गुणस्तरीय विद्युत् सेवा पुग्ने गरी योजना बनाई कार्यान्वयन भइरहेको छ ।”   सरकारले मासिक २० युनिटसम्म विद्युत् खपत गर्ने विपन्न नागरिकलाई निःशुल्क विद्युत् सेवा दिने र निःशुल्क मिटर जडान गर्ने व्यवस्था मिलाएको उहाँको भनाइ थियो । विद्युत् आधारभूत आवश्यकताको साथै उत्पादनको साधन हो भन्ने मान्यताका साथ महसुल पुनरावलोकन गरी सिँचाइमा प्रयोग हुने विद्युत्मा ७५ प्रतिशतसम्म सहुलियत दिनुका साथै गार्हस्थ्य तथा औद्योगिक समूहको समेत महसुल कम गरिएको उहाँको भनाइ थियो ।    हाल नेपालको कूल विद्युत् जडित क्षमता करिब दुई सय मेगावाट पुगेको छ । विद्युत्को माग एक हजार आठ सय मेगावाटको हाराहारीमा रहेको छ । उत्पादित विद्युत् स्वदेशमै खपत हुन नसकेमा सरकारले निर्यात गर्ने नीति लिएको छ । सोअनुरूप वर्षाको समयमा बढी हुने तीन सय ६४ मेगावाट विद्युत् मित्रराष्ट्र भारतमा निर्यात भइरहेको छ ।    नेपाल विद्युत् प्राधिकरणले गत आर्थिक वर्षमा भारतमा रु तीन अर्ब ८४ करोडको विद्युत् निर्यात गरेको थियो भने चालु आर्थिक वर्षको साउन महिनामा रु एक अर्ब ८४ करोडको विद्युत् निर्यात गरिसकेको मन्त्री भुसालले जानकारी दिनुभयो । यस आर्थिक वर्षको अन्त्यसम्म करिब रु १६ अर्ब को विद्युत् निर्यात हुने प्रक्षेपण गरिएको उहाँले बताउनुभयो ।    सरकारले विद्युत् खपत कार्ययोजना बनाई कार्यान्वयन गरिरहेको छ । त्यसका कारण यस वर्ष आन्तरिक विद्युत्को खपत करिब २० प्रतिशतले बढेको छ । हाल प्रतिव्यक्ति वार्षिक विद्युत् खपत तीन सय ५१ युनिट रहेकामा आगामी दिनमा उल्लेख्य मात्रामा वृद्धि गरिने योजना सरकारको छ । सरकारले एलपी ग्यासलाई क्रमिकरुपमा विद्युतीय चुलोमार्फत प्रतिस्थापन गर्न ‘विदेशी ग्यास छोडौँ, स्वदेशी विद्युत् जोडौँ’ भन्ने अभियान सुरु गरिसकेको छ । सरकारले नवीकरणीय ऊर्जा प्रविधिद्वारा गरीने विद्युतीकरणका कार्यक्रम स्थानीय तह र सम्बन्धित उपभोक्तासँगको समन्वय र साझेदारीमा गर्दै आएको छ । मन्त्री भुसालले विश्वको पर्यावरणीय सुरक्षा र मानव समुदायको विकासका लागि मिलेर अगाडि बढ्न सबैमा अपिल गर्नुभयो ।    युएनडिपीले ‘अनिश्चित समय, अस्थिर जीवन: परिवर्तित विश्वमा हाम्रो भविष्य’ शीर्षकमा यस वर्षको मानव विकास प्रतिवेदन सार्वजनिक गरेको छ । प्रतिवेदनमा विशेष गरी शिक्षा, स्वास्थ्य, औसत आयु, प्रतिव्यक्ति आयजस्ता विषयलाई केन्द्रमा राखिएको छ ।    मन्त्री भुसालले प्राकृतिक सुन्दरता र स्रोत साधनले भरिपूर्ण देश नेपालले मानव विकास सूचकाङ्कमा अझै प्रगति गर्नुपर्नेमा जोड दिनुभयो । कोभिड–१९ महामारी, विभिन्न प्राकृतिक विपत्ति, पछिल्लो समय विश्वमा देखा परेका अस्थिर घटनाक्रमका बाबजुद पनि नेपालले मानव विकास सूचकाङ्क स्थिर कायम राख्न सफल भएको मन्त्री भुसालको जिकिर छ ।    प्रतिवेदनअनुसार कोभिड–१९ महामारीले निम्त्याएको निरन्तरको उथलपुथलका बाबजुद नेपालमा नवविकास सूचकाङ्कमा सन् २०२० भन्दा एक स्थान माथि उक्लिदै १४३ औँ स्थानमा पुग्न सफल भए पनि लैङ्गिक असमानताको सूचकाङ्कमा भने केही तल झरेको छ । नेपालमा नवविकास सूचकाङ्कमा सन् २०२० मा १४४ औँ स्थानमा थियो । कोभिड–१९ र युक्रेनमा भइरहेको युद्धजस्ता सङ्कटबाट प्रगति अवरुद्ध हुँदा विश्वका हरेक १० मध्ये नौ देश मानव विकासमा पछि पर्न गएको छ । 

  त्रिशूली । नेपाल विद्युत् प्राधिकरणले नुवाकोटमा निर्माण गरिरहेको देशकै ठूलो सोलार फार्म (प्लान्ट) बाट २५ मेगावाट विद्युत राष्ट्रिय प्रसारण प्रणालीमा जोडिएको छ । एक वर्षभित्र काम सम्पन्न गर्ने भनेर विसं २०७५ वैशाख १४ गते शिलान्यास गरिएको फार्मबाट साढे तीन वर्षपछि लक्ष्यअनुसार २५ मेगावाट विद्युत्को परीक्षण उत्पादन भइरहेको आयोजना प्रमुख विकास रघुवंशीले जानकारी दिनुभयो ।   उहाँका अनुसार विभिन्न सात ब्लकमा स्थापना गरिएका सौर्य फार्मबाट सुरु भएको परीक्षण उत्पादन सफल ठहरिएको छ । “फार्मबाट पछिल्लो दुई सातादेखि २५ मेगावाट विद्युत् उत्पादनको परीक्षण निरन्तर भइरहेकाले आयोजना सफल भएको छ”, आयोजना प्रमुख रघुवंशीले भन्नुभयो, “मौसम अनुकूल भएको समयमा लक्ष्यअनुसार २५ मेगावाटभन्दा केही बढी विद्युत् उत्पादन भइरहेको छ ।” फार्मबाट उत्पादित विद्युत् विदुर नगरपालिका–६ स्थित देवीघाट जलविद्युत् केन्द्रमार्फत राष्ट्रिय प्रसारण प्रणालीमा जोडिएको छ । सौर्य फार्म विदुर–६ र १२ मा पर्दछ ।   विसं २०७४ जेठ ३ मा सम्झौता गरिएको आयोजनाको शिलान्यास विसं २०७५ वैशाख १४ मा गरिएको थियो । एक वर्षभित्र काम पूरा गर्ने लक्ष्य लिइएको भए पनि निर्माण व्यवसायीबाट ढिलो गरेर तयार भएको डिजाइन परामर्शदाता कम्पनीले पुनरावलोकन आवश्यक रहेको भन्दै स्वीकृत गर्न थप ढिला गरेसँगै फार्म निर्माणको काम डेढ वर्ष पर धकेलिएको हो । निर्माण व्यवसायी चिनियाँ कम्पनी राइजन इनर्जीले विसं २०७६ कात्तिकदेखि काम सुरु गरेर पहिलो चरणमा विसं २०७७ माघमा एक दशमलव पाँँच मेगावाट विद्युत् उत्पादन गरेको थियो ।   आयोजनाको पूर्ण क्षमता ९२५ मेगावाट० गत भदौ १० गतेदेखि थालिएको परीक्षण उत्पादन दुई सातासम्म नियमित भएसँगै सफल ठानिएको छ । सोलार आयोजनाबाट उत्पादित विद्युत् फार्मले आफैँले निर्माण गरेको ३३र६६ केभी २५ एमभिए क्षमताको सब–स्टेशनबाट अपग्रेड गरेर एक सय मिटर दूरीमा अवस्थित देवीघाट विद्युत्गृहको सबस्टेशनसम्म भूमिगत प्रसारण लाइनमार्फत पुर्याएर त्यहाँबाट राष्ट्रिय प्रसारण प्रणालीमा जोडिएको छ ।    आयोजना प्रमुख रघुवंशीका अनुसार सौर्य प्लान्टले बिहान ६ देखि साँझ ६ बजेसम्म विद्युत् उत्पादन गर्दछ । “सिधै प्रसारण प्रणालीमा पठाएकाले ब्याट्री राखेर विद्युत् सञ्चय गरिएको छैन”, उहाँले भन्नुभयो, “मौसम सफा भएको मध्याह्नको समयमा २५ दशमलव दुई मेगावाटसम्म विद्युत् उत्पादन भइरहेको छ, परीक्षण अवधिमा दैनिक एकलाख युनिट विद्युत् उत्पादन भएकाले आयोजनाको निर्माण सफल मानिएको हो ।”    सौर्य प्यानलबाट उत्पादन हुने विद्युत् डिसी (डाइरेक्ट करेन्ट)बाट एसी (अल्टरनेट करेन्ट)मा रूपान्तरण गर्दा सोही परिणामको प्रयोगयुक्त विद्युत् उत्पादन भइरहेको छ । अब नियमित उत्पादन सुरु गरिने आयोजना पक्षले जनाएको छ । यद्यपि फार्ममा जडान गरिएका सौर्य प्यानल सफा गर्न चाहिने पानीपोखरी, संरक्षणका लागि लगाउनुपर्ने घेराबार र पर्खाललगायतका केही भौतिक संरचना निर्माणको काम जारी रहेकाले आयोजना सम्पन्न भएको जानकारी दिन अझै एक महिना लाग्ने निर्माण व्यावसायीले नेपाल विद्युत् प्राधिकरणलाई जनाएको छ ।   खेर गएका बाँझो जग्गा उपयोग एउटा प्यानलबाट दुई सय ७५ वाट विद्युत् उत्पादन हुनेछ । एक मेगावाट विद्युत् उत्पादनका लागि प्यानल राख्न २० रोपनी जग्गा आवश्यक पर्दछ । हाल प्राधिकरणको नाममा रहेको ३८ हेक्टर बाँझो जग्गाको उपभोग गरेर २५ मेगावाट विद्युत् उत्पादन थालिएको हो ।   विदुर नपा वडा नं ६ र १२ स्थित प्राधिकरणको आफ्नै नाममा रहेको खाली जग्गाको विभिन्न सात ब्लकमा सौर्य प्यानल जडान गरेर प्राधिकरणले सौर्य फार्म निर्माण गरेको हो । सुरुमा स्टाफ क्वार्टर (विद्युत् प्राधिकरणमार्फत सञ्चालित बोर्डिङ स्कुल रहेको स्थान) र फोर–वे (नेपाली सेनाको ब्यारेक पछाडिको चौर)बाट विद्युत् उत्पादन सुरु भएको थियो भने क्रमश ः रातमाटे, केराघारी, हेलिप्याड, कफीघारी–१ र कफीघारी–२ बाट विद्युत् भइरहेको छ । उक्त जग्गा यसअघि अधिकांश अतिक्रमणमा परेका थिए ।    पाँच वर्षसम्म निर्माण व्यवसायीको जिम्मामा नेपाल सरकारले आन्तरिक उत्पादनबाटै विद्युत्मा आत्मनिर्भर हुने योजनाअनुरुप १० वर्षमा १५ हजार मेगावाटको लक्ष्यमा विद्युत् आयोजनाको उत्पादन समिश्रण अनुपात निर्धारणअनुसार सरकारीस्तरबाट देवीघाटमा सौर्य फार्म निर्माण गरिएको हो । यो देशको पहिलो र हालसम्मकै ठूलो फार्म मानिन्छ ।   आयोजना निर्माणमा ‘ग्रिड सोलार तथा ऊर्जा दक्षता परियोजना’मार्फत विश्व बैंकको सहुलियतपूर्ण ऋण अनुदानमा प्राप्त ३८ मिलियन डलर लगानी छ । परियोजनाको प्लान्टका लागि चिनियाँ कम्पनी राइजन इनर्जीसँग तीन करोड ८० लाख अमेरिकी डलरमा ठेक्का सम्झौता गरिएको थियो । उक्त कम्पनीसँग विसं २०७४ जेठ ३ मा भएको सम्झौताअनुसार सोलार प्लान्टको डिजाइन, आपूर्ति, निर्माण, सञ्चालन र मर्मतसम्भार समेत गरेर चालु अबस्थामा पाँच वर्षपछि मात्र सरकारलाई हस्तान्तरण गर्ने भनिएको छ । प्राधिकरणलाई फार्म औपचारिकरूपमा हस्तान्तरण गर्न बाँकी रहेकाले उक्त पाँच वर्ष अवधिको गणना सुरु भएको छैन ।     प्रतिमेगावाट रु १६ करोड लगानी प्लान्टबाट वार्षिक तीन करोड ४६ लाख ५० हजार युनिट सुनिश्चित (ग्यारेण्टी) विद्युत् आपूर्ति हुनुपर्ने सम्झौतामा भनिएको छ । सो परिणाममा विद्युत् उत्पादन नभए निर्माण व्यवसायीले प्रतियुनिट ३० सेन्ट क्षतिपूर्ति तिर्नुपर्दछ । फार्म निर्माणका लागि सम्झौता समयमा रु तीन अर्ब ८० करोड लाग्ने प्रक्षेपण गरिए पनि लक्ष्यभन्दा साढे तीन वर्ष ढिलो हुदाँ लगानी थप बढेको प्राधिरकणले जनाएको छ ।    आयोजनामार्फत विद्युत् उत्पादनमा लगानी महँगो भए पनि ऊर्जाको वैकल्पिक स्रोतको व्यवस्थापन र नमूना योजनाका रुपमा निर्माण गरिएकाले लगानीसँग तुलना गर्न नहुने आयोजना प्रमुख रघुवंशीको भनाइ छ । उहाँका अनुसार प्लान्ट निर्माण गर्दा प्रतिमेगावाट रु १६ करोड लगानी छ ।    वैकल्पिक ऊर्जाको पहिलो ठूलो स्रोत  खेर गएको सौर्य ऊर्जा सङ्कलन गरेर प्राधिकरणको खुला (प्रयोगविहीन) जग्गामा सञ्चालनमा ल्याएको आयोजनामा गरिएको लगानी र विद्युत् उत्पादनलाई वैकल्पिक ऊर्जाका लागि देशकै ‘नमूना’ योजना रहेको प्राधिरकणको दाबी छ । फार्म सञ्चालनमा आएपछि हिउँदको समयमा राष्ट्रिय प्रसारण प्रणालीमा हुने ऊर्जा अभाव कम गर्न सहयोग पुग्ने विश्वास लिइएको छ ।   काठमाडौँको नजिक दूरीमा पर्ने र यसका लागि छुट्टै प्रसारण प्रणाली बनाउन नपर्ने भएकाले पनि यस आयोजना निर्माण सम्पन्नले ऊर्जाको राष्ट्रिय योगदानमा महत्वपूर्ण मानिन्छ । भूकम्पलगायतका विपद्का कारण जलविद्युत् आयोजनामा क्षति पुग्नसक्ने भएकाले उक्त समयमा चाहिने ऊर्जाको वैकल्पिक स्रोतको उपभोग गर्न सौर्य फार्मको निर्माणलाई थप महत्वका रुपमा हेरिएको छ ।   हिउँदको समयमा फार्मबाट उत्पादन हुने विद्युत् उपयोग गरेर उक्त समयमा कुलेखानी जलाशययुक्तसहित कालीगण्डकी ‘ए’, मध्यमस्र्याङदी, मस्र्याङदी, चिलिमेलगायतका अर्ध–जलाशययुक्त उत्पादनगृहको पानी दिउँसो सञ्चित गरेर विद्युत्को माग बढी हुने बिहान र बेलुका (पिकआवर)को समयमा सञ्चालन गर्न सहयोग पुग्नेछ । 

पोखरा :  नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली भोलि (मंगलबार)पोखरा आउने भएका छन् ।    नेपाल लोकतान्त्रिक तमु संघको दोस्रो राष्ट्रिय सम्मेलनलाई सम्बोधन गर्न अध्यक्ष ओली पोखरा सभागृह आउने भएका हुन् ।    पोखरामा भदौ २८ र २९ गते हुने लोकतान्त्रिक तमु संघको दोस्रो राष्ट्रिय सम्मेलनलाई सम्बोधन गर्न एमाले अध्यक्ष ओली आउने निश्चित भएको संघका महासचिव हुमबहादुर गुरुङले जानकारी दिए ।    नेकपा एमालेका अध्यक्ष अध्यक्ष ओलीसंगै उप–महासचिव पृथ्वीसुब्बा गुरुङको समेत उपस्थिति हुने संघका महासचिव गुरुङले बताए ।    

  बागलुङ । भदौको अन्तिम साता सुरु भएसँगै मुस्ताङको स्याउ बागलुङ, कुश्मा, बेनीलगायतका नजिकका बजारमा देखिन थालेको छ ।        चाडपर्वका बेला बागलुङ, पर्वत, म्याग्दी र आसपासका जिल्लामा मुस्ताङको स्याउको माग हुन्छ । यहाँ एउटा चलन छ, ‘कोशेलीमा मुस्ताङको स्याउ’ । दसैँका बेला त अझै बढी मुस्ताङी स्याउको कोशेली चल्छ । चाहे मुस्ताङ बसेर गाउँ फर्किने हुन् वा देशविदेशमा रहेका दसैँका बेला गाउँ फर्किने किन नहुन् १ गाउँघरमा एउटै आशा हुन्छ, ‘कोशेलीमा मुस्ताङी स्याउ छ, छैन ।’       दसैँलगायतका चाडपर्वको छेको पारेर मुस्ताङी स्याउ बजारमा आएको हो । भदौको अन्तिम सातादेखि बिक्रीका लागि खुला भएको मुस्ताङी स्याउ बजारमा देखिन थालेको बागलुङ बजारका फलफूल व्यवसायी बताउँछन् । रातो र सेतो दुवै रङको स्याउ बागलुङ, कुश्मा, बेनीलगायतका बजारमा आइपुगेको व्यसायीले बताएका छन् ।        धादिङका चन्द्र लामालाई यतिबेला बजारमा स्याउ पुर्याउन भ्याइनभ्याइ छ । हरेक वर्ष मुस्ताङको टुकुचेमा बगान ठेक्का लिएर बजारमा स्याउ पुर्याउने लामाले यस वर्ष पनि बगान ठेक्कामा लिनुभएको छ । रु ५० लाखमा खरिद गरेको बगानका स्याउ दसैँअघि नै बजारमा पु¥याउने र मुनाफासमेत आर्जन गर्ने लामाको लक्ष्य छ ।           मुस्ताङको टुकुचेमा रहेको स्थानीयको बगान उहाँले ठेक्कामा लिनुभएको हो । “दसैँपछि बजारमा माग घट्छ, कोशेली हुने भएकाले दसैँका बेला सबै बजारमा स्याउ राम्रोसँग बिक्री हुन्छ”, लामाले भन्नुभयोे, “दिनमा दुई ट्रकसम्म स्याउ बजार पु¥याउने गरेको छु ।” पहिलो पटक बजारमा आएको स्याउ खुद्रा व्यापारीले हानथाप गरेर खरिद गरेको लामाले बताउनुभयो ।        यहाँका बजारमा पाइने स्याउमध्ये चाडपर्वका बेला अधिकांशको रोजाइमा मुस्ताङी स्याउ पर्ने गरेको छ । लामा जस्तै व्यवसायीलाई अहिले मुस्ताङको स्याउ काठमाडौँ, पोखरा, बागलुङलगायतका सहरमा पठाउन भ्याइनभ्याइ छ । बगैँचाबाट सङ्कलन गरी पठाउँदा मुस्ताङमै थोकमूल्य रु ९० देखि र एक सय २५ सम्म पर्ने गरेको उहाँले जानकारी दिनुभयो ।        दसैँ तिहारका समयमा पाक्ने भएकाले यस अवधिमा स्याउको निकै खपत हुने गर्दछ । बजारका कतिपय फलफूल पसलले ग्राहकलाई आकर्षित गर्नेगरी पसलमा मुस्ताङको स्याउ पाइन्छ भनेर लेखेर टाँस्ने गरेको मुस्ताङको ठिनीका स्याउ व्यवसायी पल डिसी बताउनुहुन्छ । व्यापारीले मुस्ताङको स्याउ रु दुई सयदेखि दुई सय ५० सम्ममा बिक्री गर्ने गरेका छन् ।        “पहिलो पटक आएको स्याउ निकै उत्साहजनक हिसाबले बिक्री भइरहेको छ”, मिलन फलफूल पसलका सञ्चालक खगेन्द्र पौडेलले भन्नुभयो, “बागलुङका स्थानीय बजारमा पनि हामीले स्याउ पठाइसकेका छौँ ।”       विसं २०२२ मा तत्कालीन कृषि मन्त्रालयअन्तर्गतको फल उद्यान विभागले भारतीय राजदूतावासको सहयोगमा भारतको कश्मीरबाट स्याउका बिरुवा ल्याएर वितरण गरेको तथ्याङ्क भेटिन्छ । मुस्ताङीका अनुसार सरकारले सुरुमा प्रत्येक घरमा तीन÷तीन वटा स्याउका बेर्ना बाँडेको थियो ।       मुस्ताङी स्याउको स्वाद वर्षभरि नै चखाउन बेमौसमका लागि चाना बनाएर सुकाउने प्रचलन पनि छ । मुस्ताङ पुग्ने पर्यटकका साथै प्रसिद्ध मुक्तिनाथ मन्दिरको दर्शन गर्न जाने भक्तजनका लागि पनि मुस्ताङको स्याउ प्रमुख कोसेली बन्ने गरेको छ । मुस्ताङमा प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना ‘एप्पल जोन’ कार्यक्रम सञ्चालनमा छ । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना ‘एप्पल जोन’ कार्यक्रम मुस्ताङको सल्लाहमा भदौको अन्तिम साता मात्रै बगानमा प्रवेश दिइएको हो ।       गत वर्ष रु ४० करोडको स्याउ मुस्ताङबाट बिक्री भएको तथ्याङ्क छ । मुस्ताङमा एक हजार चार सय हेक्टर जमिनमा स्याउ लगाइएको छ । पाँच सय हेक्टर जमिनमा मात्रै अहिले उत्पादन दिने बिरुवा तयार छन् । बाँकी बिरुवाले क्रमशः उत्पादन दिने स्थानीय बताउँछन् ।

  काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका सचिव रामकृष्ण सुवेदीले सङ्घीय शिक्षा ऐन जारी हुने क्रममा रहेकाले ऐन आएसँगै शिक्षक दरबन्दी व्यवस्थापनलगायतका सवाल सम्बोधन हुने बताउनुभएको छ ।   मधेस प्रदेशको ‘शिक्षा र बालश्रम’ विषयमा सिकाइ आदानप्रदानका लागि शिक्षा पत्रकार समाज र आसमान नेपालले आज आयोजना गरेको राष्ट्रियस्तरको कार्यक्रममा सचिव सुवेदीले उक्त ऐन नआउँदा पनि शिक्षाका काम गर्नमा गम्भीर बाधा नभएको तर नयाँ ऐन आएपछि तीन तहका सरकारबीचको शैक्षिक अधिकार र दायित्व थप स्पष्ट हुने जनाउनुभएको हो ।    तराई मधेसमा बालिकाको शिक्षाको अवस्था झन कमजोर रहेकाले आफू प्रदेश सरकारको प्रमुख सचिव रहेका समयमा ‘बेटी बचाऊ, बेटी पढाऊ’ कार्यक्रम र छोरी बीमाको रकम रु तीन लाख दिने गरी प्रबन्ध गरिएको स्मरण गराउनुभयो ।    बालश्रम र बाल विवाह अन्त्यका लागि बीमाको कार्यक्रम प्रभावकारी हुनुपर्ने बताउँदै उहाँले सरकार स्रोत साधनले भ्याएसम्म खुला र सकारात्मक सोचका लागि शिक्षामा सुधारका लागि प्रयत्नशील रहेको र यसमा सम्बन्धित सबै पक्षको उत्तिकै सहयोग आवश्यक भएको बताउनुभयो ।   कार्यक्रममा भारतस्थित एमभी फाउण्डेशनका राष्ट्रिय संयोजक आर बैंकट रेड्डीले भारतमा बालश्रम अन्त्यका लागि भएका प्रयास र उपलब्धिबारे अवगत गराउँदै विद्यालय बाहिर रहेका बालबालिका बालश्रमिक हुने भएकाले यस भाष्यलाई विश्वभर फैलाउन आवश्यक रहेको बताउनुभयो ।   पछिल्लो आँकडाअनुसार मधेस प्रदेशको साक्षरता दर ४९ दशमलव ५४ प्रतिशत रहेको छ । मधेस प्रदेशका आठवटै जिल्ला ९सप्तरी, सिरहा, धनुषा, महोत्तरी, सर्लाही, रौतहट, बारा र पर्सा० साक्षर घोषणा हुन सकेका छैनन् । यस प्रदेशमा सबैभन्दा कमजोर रौतहटमा ४१ दशमलव ६९ प्रतिशत र प्रदेशमा बढी साक्षर भएको जिल्ला पर्सामा ७६ दशमलव ९८ प्रतिशत साक्षरता दर रहेको छ । यस प्रदेशमा विद्यार्थी भर्नादर ५३ दशमलव तीन रहेको छ ।        शिक्षाविद् प्रा डा विद्यानाथ कोइरालाले सरकारका निकाय र शिक्षक इमान्दार नभएसम्म शिक्षा शिक्षामा सुधार नहुने भएकाले नागरिक समाज र सञ्चार क्षेत्रले निरन्तर आवाज उठाउनुपर्ने बताउनुभयो । आसमान नेपालका कार्यकारी निर्देशक नवलकिशोर यादवले आफूहरुले ‘काम छोडाउ, स्कुल पठाउ’, ‘निक शिक्षा दिअ’ जस्ता अभियानबाट मधेस प्रदेशमा शिक्षाको सुधारका लागि २३ वर्षदेखि काम गर्दै आएको जनाउनुभयो ।

  पोखरा । अनेरास्ववियु पृथ्वीनारायण क्याम्पस कमिटीले आज (सोमबार)क्याम्पस परिसरमा सरसफाई गरेको छ ।    ‘‘सफा, सुन्दर  अनि स्वच्छ पीएन अनेरास्ववियुको अभियान’’ भन्ने नारालाई आत्मासाथ गर्दै अनेरास्ववियु पृथ्वीनारायण क्याम्पस कमिटीले सरसफाई अभियान सञ्चालन गरेको हो ।    क्याम्पसको सुन्दरतामा थप सुन्दरता प्रदान गर्ने हेतुका साथ अनेरास्ववियुले यो अभियान सञ्चालन गरेको अनेरास्ववियु पृथ्वीनारायण क्याम्पसका अध्यक्ष विष्णु पोखरेलले  बताए ।    क्याम्पसलाई सदावहार रुपमा   सफा, सुन्दर र स्वच्छ राख्नु हामि सबैको कर्तव्य हो, उनले भने, ‘यस सरसफाई अभियानबाट विद्यार्थीहरुमा सकारात्मक सन्देश पुग्ने र आगामी दिनमा हातेमालोको साथ सरसफाई अभियानामा अघि बढ्ने छन् ।’   अनेरास्ववियुले  क्याम्पसको प्रवेश द्वार(गेट) देखि शिक्षा, मानविकी, व्यवस्थापन, विज्ञान र कानुन संकाय भवन वरपर र डिलतिर सरसफाई गरेका थिए ।