काठमाडौं । चाडपर्वका समयमा यात्रुलाई सहजरुपमा घर जानका लागि बिग्रेका सडकलाई मर्मतसम्भार गरिने भएको छ । भौतिक पूर्वाधार तथा यातायातमन्त्री मोहम्मद इस्तिहाक राईको अध्यक्षतामा आइतबार यातायात व्यवसायीसहित बसेको बैठकले चाडपर्वलाई मध्यनजर गर्दै सडकलाई मर्मतसम्भार गर्न सडक विभागलाई निर्देशन दिने निर्णय गरेको हो । दसैँ, तिहार छठलगायत चाडपर्वको अवसरमा यात्रुको आवतजावतको चापलाई मध्यनजर गर्दै बिग्रिएका सडक तथा राजमार्गलाई यथाशीघ्र मर्मतसम्भार गर्न सडक विभागलाई निर्देशन दिने निर्णय भएको नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घका महासचिव डेकनाथ गौतमले राससलाई जानकारी दिनुभयो । बैठकले महासङ्घले भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा पेश गरेका २१ बुँदे मागको विषयमा यातायात व्यवस्था विभागले अध्ययन, छलफल, परामर्श गरी मन्त्रालयमा राय, प्रतिक्रियासहितको प्रतिवेदन पेश गर्ने निर्णयसमेत गरेको छ । बैठकमा मन्त्री इस्तिहाक राई सहित मन्त्रालयका सचिव गोपालप्रसाद सिग्देल, यातायात व्यवस्था विभागका महानिर्देशक टोकराज पाण्डे, मन्त्रालयका सहसचिवहरु, महासङ्घका अध्यक्ष विजयबहादुर स्वाँर, महासङ्घका उपाध्यक्ष रवि रिमाल, महासङ्घका महासचिव गौतम, उपमहासचिव रजन रोक्कालगायतको उपस्थिति रहेको थियो ।
काभ्रेपलाञ्चोक । विश्वमै दुर्लभ तथा संरक्षित स्तनधारी जङ्गली जनावर सालकको अनुसन्धान बजेट अभावमा तीन वर्षदेखि रोकिएको छ । बागमती प्रदेशस्थित वन, पर्यटन तथा वातावरण मन्त्रालयबाट सालक अनुसन्धानमा वर्षेनी विनियोजन हुने रकम रोकिएका कारण काभ्रेपलाञ्चोकमा सालकको बासस्थान अनुसन्धान तथा संरक्षण अभियान यस वर्ष पनि रोकिने भएको हो । संरक्षण अभियानअन्तर्गत डिभिजन वन कार्यालय धुलिखेलले तीन वर्षअघि सालकको बासस्थान व्यवस्थापन तथा संरक्षण गर्न सम्भावित क्षेत्रमा चेतनामूलक कार्यक्रम सञ्चालन गरेको थियो । कार्यालयका अनुसार प्रदेश सरकारले २०७४÷०७५ मा रु पाँच लाख तथा त्यसपछिको आर्थिक वर्षमा रु दुई लाख पठाएको थियो । प्रदेश सरकारबाट तीन वर्षदेखि बजेट नआउँदा सालकको थप अनुसन्धान तथा संरक्षणसम्बन्धी चेतनामूलक अभियान रोकिएको कार्यालयका सूचना अधिकारी गौरव भट्टले बताउनुभयोे । उहाँका अनुसार कृषि उत्पादनमासमेत निकै गुणकारी नेपालमा रहेको स्तनधारी जनावरमध्ये लोपोन्मुख जातिभित्र पर्ने सालकको अनुसन्धान÷संरक्षण अत्यावश्यक देखिन्छ । “समग्र बन्यजन्तु सुरक्षाका विषयमा छलफल हुन्छन्, अनौपचारिक रुपमा सालकबारे छलफल भए पनि अनुसन्धान तथा संरक्षणबारे योजना बनेको छैन”,उहाँले भन्नुभयो । अभियानकै क्रममा सालकको उपयुक्त बासस्थान भएको स्थानीय क्षेत्रमा सालक ‘गुणी’ जनावर भएको जानकारी पाएपछि यसको संरक्षणमा पनि निकै उत्साहित पनि देखिएका थिए । अभियानताका जिल्लाको कुन कुन क्षेत्रमा सालक पाइन्छ भन्नेबारे कार्यालयले स्थानीय तहको समन्वयमा कार्यक्रम विस्तार गर्दै जाने योजनासमेत बनाएको थियो । विसं ०७८ असारमा पनौती नगरपालिका–८ पाल्पाली गाउँमा एउटा सालक भेटिएको थियो । राति ९ बजे स्थानीयको घरको आँगनमा भेटिएको उक्त सालक प्रहरी र वन कार्यालयका कर्मचारीद्वारा मल्पीस्थित सामुदायिक वनमै छाडिएको थियो । पनौतीमा भेटिएको उक्त वयस्क ‘चाइनिज पेङ्गोलिन’ थियो । नेपालमा भेटिने गरेका अधिकांश ‘चाइनिज पेङ्गोलिन’नै रहेका छन् । सालकको उपयुक्त बासस्थान मानिएको काभ्रेपलाञ्चोकको महाभारत पर्वत शृङ्खलासँग जोडिएको क्षेत्र बल्थली र पाँचखाल नगरमा तीन वर्षअघि पहिलो चरणको चेतनामूलक कार्यक्रम गरिएको थियो । जिल्लाको अधिकांश सामुदायिक वनमा सालकको सुरक्षित बासस्थान भएकाले सालकको मासु तथा छाला ९खपटा० तस्करी रोक्न स्थानीयस्तरमा चेतनामूलक कार्यक्रम आवश्यकता देखिएको छ । कार्यालय प्रमुख देवीचन्द्र पोखरेलले सालक मानिसका लागि उपयुक्त जनावर भएको बताउनुभयो । उहाँका अनुसार सालकले बालीका कमिला र धमिरा खान्छ, पर्यावणलाई जोगाउन मद्दत पुर्याउँछ, मानिसलाई भने आक्रमण गर्दैन । सालकमा १५ सेन्टिमिटर टाढाका किरा स्वासले तानेर खानसक्ने क्षमता हुन्छ भने केही खतरा महसुस हुनासाथ डल्लो परेर बस्ने गर्दछ । पनौतीको बल्थलीस्थित समुदायमा आधारित चोरी–शिकारी नियन्त्रण एकाइका अनुसार स्थानीय आठ वटा सामुदायिक वनमा अध्ययन गर्दा सालकको पूरानाभन्दा नयाँ प्वालको सङ्ख्या कमी देखिँदा सालक लोप हुने अवस्थामा रहेको छ । एकाइले स्थानीय दुई सय पचास स्कुले विद्यार्थीलाई यससम्बन्धी जनचेतना कार्यक्रम गराएको छ एकाइकै पहलमा काठमाडौँ विश्वविद्यालयका विद्यार्थीले पनि उक्त क्षेत्रमा सालकको अनुसन्धान गरेका थिए । एकाइले सालक तस्करीविरुद्ध विशेष निगरानी गर्दै आएको छ । दुर्लभ सालक जिल्लामा कति छ भन्ने कुनै स्पष्ट तथ्याङ्क नभए पनि कालो सालक काभ्रेपलाञ्चोकको खोपासी, उग्रतारा जनागाल, महादेवस्थान, नारायणस्थान, डराउनेपोखरी, पाँचखाल, ज्याम्दी, ढुङ्खर्क तथा पाँचखाल क्षेत्रका सामुदायिक वनमा सुरक्षित बासस्थान रहेको उसको बासस्थानबाट देखिएको अनुसन्धानबाट खुलेको छ । संरक्षित जनावरमध्येको नेपालमा पाइने कालो सालकको वनमा रहेको प्राकृतिक बासस्थान सुरक्षित नभए केही वर्षमा लोप हुनसक्ने अवस्था देखिएको अनुसन्धानकर्ता प्रतिभा कसपाल बताउनुुहुन्छ । विश्वभर एसिया र अफ्रिकामा आठ प्रजातिका सालक पाइन्छन्, त्यसमध्ये चार प्रजातीका सालक एसियामा मात्रै पाइन्छ । एसियामा पाइने चार प्रजातिका सालकमध्ये नेपालमा तामे र कालो सालक रहेका छन् । सालकको मासु र छाला (खपटा) चिनियाँ बजारमा माग हुने गरेका कारण नेपालबाट यसको तस्करी हुनेगरेको घटनाक्रमले देखाएको छ । वन संरक्षण ऐन अनुसार सालक तस्करीमा पाँचदेखि १५ वर्षसम्म कैद, रु पाँचदेखि १० लाखसम्म जरिवाना तथा दुवै सजाय हुनसक्ने व्यवस्था छ । अध्ययन प्रतिवेदनअनुसार एउटा वयस्क सालकले एक वर्षमा सात करोड कमिला तथा धमिरा खाने गर्दछ । प्वाल बनाएर जमिनमुनि बस्ने लजालु स्वभावको जनावर सालक विशेष गरी रातको समयमा मात्रै बाहिर निस्कने गर्दछ । यसको प्राकृतिक प्रजनन पनि अत्यन्त कम भएकाले विश्वमै दुर्लभ मानिएको सालकको संरक्षणले जैविक विविधतामा सहयोग गरिरहेको छ ।
काठमाडौं : दसैँ, तिहार तथा छठ पर्व मनाउन घर जानका लागि नयाँ बसपार्कबाट १५ हजार यात्रुले अग्रिम बस टिकट लिएका छन् । असोज १ गतेदेखि टिकट बुकिङ खुला गरिएकामा नयाँ बसपार्कबाट मात्र दुई दिनमा १५ हजार यात्रुले अग्रिम टिकट लिएका हुन् । यातायात व्यवस्था विभाग, काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालय र नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घका प्रतिनिधिबीच गत भदौ २२ गतेको निर्णयअनुसार यही असोज १ गतेदेखि लामो दूरीका सवारी साधनका लागि अग्रिम टिकट बुकिङ खुला गरिएको हो । नयाँ बसपार्क सञ्चालनको जिम्मा लिएको ल्होत्से बहुउद्देश्यीय प्रालिका मानव संशाधन प्रमुख पङ्कज मल्लले दुई दिनमा १५ हजार यात्रुले अग्रिम टिकट लिएको जानकारी दिनुभयो । जसमध्ये असोज १ गते शनिबार सात हजार र असोज २ गते आइतबार आठ हजार यात्रुले अग्रिम टिकट लिएका हुन् । सरकारले पश्चिमको दार्चुला, धनगढी, टीकापुर, बझाङ, बाजुरा, प्युठान, रुकुम, रोल्पालगायतका स्थान तथा पूर्वको काँकडभिट्टा, भद्रपुर, तेह्रथुम, खाँदबारी, ताप्लेजुङ, भोजपुर, इलाम, पशुपतिनगर धरान विराटनगरलगायतका स्थानमा जाने यात्रुलाई अग्रिम टिकट दिन सुरु गरेको हो । पृथ्वी राजमार्गअन्तर्गत गोरखा, पोखरा, लमजुङ, बागलुङ, म्याग्दी, स्याङ्जा, नुवाकोट, रसुवालगायतका छोटो दूरीमा जाने सवारी साधनको पनि अग्रिम टिकट बुकिङ चाँडो खुला गरिने पृथ्वी राजमार्ग बस सञ्चालक कम्पनीका काठमाडौँ प्रमुख रमेश खत्रीले जानकारी दिनुभयो । लामो दूरीमा जाने यात्रुका लागि टिकट बिहान ७ बजेदेखि साँझ ६ बजेसम्म वितरण गर्ने गरिएको छ । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घका अध्यक्ष विजयबहादुर स्वाँरले दसैँ मान्न घर जाने यात्रुलाई ध्यानमा राखेर यातायातको राम्रो व्यवस्था मिलाएको बताउनुभयो । दसैँमा २० लाखभन्दा बढी यात्रु प्रत्येक वर्ष उपत्यकाबाट बाहिरिने गरेका छन् । काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालय र यातायात व्यवस्था विभागले चाडपर्वलाई लक्षित गरेर राजधानीका विभिन्न १४ स्थानमा यात्रु सहायता कक्ष स्थापना गर्ने भएको छ । महाशाखाले विभागको सहकार्यमा राजधानीको नागढुङ्गा, कलङ्की, स्वयम्भू, माछापोखरी, नयाँ बसपार्क, चाबहिल, गौशाला, कोटेश्वर, जगाती, सातदोबाटो, बल्खु, दक्षिणकाली, सुन्धारा र पुरानो बसपार्कमा यात्रु सहायता कक्ष राखिनेछ । कार्यालयका प्रवक्ता, प्रहरी वरिष्ठ उपरीक्षक राजेन्द्रप्रसाद भट्टले यात्रु सहायता कक्षमार्फत राजधानीबाट विभिन्न गन्तव्यस्थलसम्म जान लाग्ने भाडादर र यात्रुलाई गन्तव्यस्थलसम्म सहजै जानका लागि आवश्यक समन्वय गर्ने बताउनुभयो ।
काठमाडौं : राष्ट्रपति विद्यादेवी भण्डारीले नेपाल सरकार, मन्त्रिपरिषद्को सिफारिसमा संविधान दिवस, २०७९ तथा राष्ट्रिय दिवसका अवसरमा ९ सय ९८ जनालाई विभिन्न मानपदवी, अलङ्कार र पदकबाट विभूषित गर्ने घोषणा गर्नुभएको छ । नेपालको संविधानको धारा २७७ को उपधारा ९१० बमोजिम २०७९ भदौ ३१ गतेको मन्त्रिपरिषद्को बैठकको निर्णय र सिफारिसमा विभूषण प्राप्त गर्नुहुने व्यक्तित्वको नामावली सार्वजानिक गरिएको हो । राष्ट्रपतिको कार्यालयका प्रवक्ता सागर आचार्यले आज विज्ञप्ति जारी गरेर मानपदवीतर्फ नेपाल रत्न एक, राष्ट्र गौरव तीन, सुप्रसिद्ध प्रबल नसेवाश्री एक, प्रसिद्ध प्रबल जनसेवाश्री १४, सुकीर्तिमय राष्ट्रदीप १७, सुप्रबल जनसेवाश्री एक सय ६५, कीर्तिमय राष्ट्रदीप छ, प्रबल जनसेवाश्री तीन सय २२, राष्ट्रदीप दुई, जनसेवाश्री दुई सय सातलाई विभूषण हुने जनाउनुभएको छ । यस्तै अलङ्कारतर्फ राष्ट्र यशोवर्द्धक १०, परम पौरख भास्कर दुई, नेपाल प्रताप सुभूषण ३८, नेपाल सेवा प्रवीण २३, अतिपौरख भाष्कर आठ, नेपाल प्रताप आभूषण १९, समाजसेवा रत्न ३८, महापौरख भाष्कर १८ र नेपाल प्रताप भूषण २३ जनालाई प्रदान गरिनेछ । पदकतर्फ राष्ट्रसेवा पदक प्रथम श्रेणी छ, शिक्षाज्योति पदक १८, सगरमाथा पदक १३, सुकीर्ति पदक १२, वीरता पदक आठ, सौर्य पदक एक, प्राकृतिक प्रकोप पीडितोद्धार पदक सात, विकास रत्न पदक १६ जनालाई दिने घोषणा गरिएको छ ।
काठमाडौं : प्रधानमन्त्री शेरबहादुर देउवाले जनताको चाहनाअनुरुप नेपालको संविधानले विगतमा नेपाली समाजमा रहेका छुवाछूत, विभेद र उत्पीडनजस्ता सामाजिक विकृति तथा विसङ्गतिलाई अन्त्य गरेको उल्लेख गर्नुभएको छ । साथै उहाँले संविधानले जातीय, भाषिक, धार्मिक, सांस्कृतिक तथा भौगोलिक विविधतायुक्त नेपाली समाजको निर्माण गर्दै बृहत् राष्ट्रिय एकताको सूत्रमा आबद्ध गरेको बताउनुभएको छ । आठौँ संविधान दिवस तथा राष्ट्रिय दिवसका अवसरमा सबै नेपालीमा शुभकामना व्यक्त गर्दै उहाँले मुलुकको शासकीय सुधारका लागि विभिन्न कालखण्डमा भएका लोकतान्त्रिक आन्दोलनमा अग्रणी भूमिका निर्वाह गर्ने क्रममा आफ्नो अमूल्य जीवन उत्सर्ग गर्नुहुने सम्पूर्ण ज्ञातअज्ञात शहीदप्रति उच्च सम्मान व्यक्त गर्दै श्रद्धाञ्जलि अर्पण गर्नुभएको छ । नेपाली कांग्रेसका सभापतिसमेत रहनुभएका प्रधानमन्त्री देउवाले कांग्रेसको नेतृत्व तथा नेपाली जनताको पूर्ण समर्थन, सङ्घर्ष र बलिदानबाट असोज ३ गते, २०७२ मा घोषणा भएको नेपालको संविधान हाम्रो सङ्घर्षपूर्ण लोकतान्त्रिक आन्दोलनको एउटा ऐतिहासिक एवं महत्वपूर्ण उपलब्धि भएको उल्लेख गर्नुभएको छ । यस उपलब्धि हासिल गर्नका लागि भएका सङ्घर्षहरूमा शारीरिक, भौतिक, आर्थिक र मनोवैज्ञानीक क्षति व्यहोर्नुभएका महानुभावलाई उच्च सम्मानपूर्वक स्मरण गर्दै उहाँले प्राकृतिक विपत् र कोभिड–१९ को महामारीबाट अल्पायुमै ज्यान गुमाउनुभएका दिदीबहिनी तथा दाजुभाइलगायत सबैमा श्रद्धासुमन अर्पण गर्नुभएको छ । कांग्रेस नेतृत्वको सरकार मुलुकमा सङ्घीय लोकतन्त्रिक प्रणालीलाई थप मजबुत पार्ने तथा संविधानको रक्षा र पालना गर्ने काममा निरन्तर क्रियाशील र प्रतिबद्ध रहेको उहाँले बताउनुभएको छ । “सरकारले यसै वर्ष स्थानीय तहको आवधिक निर्वाचन सफलतापूर्वक सम्पन्न गरेको छ भने आगामी मङ्सिर ४ गते हुने सङ्घ र प्रदेशको निर्वाचनबाट संविधानले आत्मसात् गरेको लोकतन्त्र र मानव अधिकारका विश्वव्यापी मान्यता तथा सबैको हक र अधिकार व्यावहारिक रुपमा स्थापित हुनेछ”, उहाँले शुभकामना सन्देशमा उल्लेख गर्नुभएको छ । प्रधानमन्त्री देउवाले संविधानको कार्यान्वयन गर्दै हाम्रा साझा हक अधिकारलाई स्थापित गर्ने तथा मातृभूमिको विकास र समुन्नतिलाई सुनिश्चित गर्ने दिशामा सदा झैँ सम्पूर्ण नेपाली नागरिकको साथ, सहयोग र समर्थन प्राप्त हुने विश्वास लिनुभएको छ । उहाँले सरकार संविधानको मर्म र भावनालाई जनताको जीवनमा महसुस हुनेगरी कार्यान्वयन गर्न प्रतिबद्ध रहेको बताउनुभएको छ ।
काठमाडौं : राष्ट्रपति विद्यादेवी भण्डारीले संविधान दिवस तथा राष्ट्रिय दिवस, २०७९ का अवसरमा सम्पूर्ण नेपालीमा शुभकामना व्यक्त गर्दै संविधानले नेपाली समाजलाई बृहत् राष्ट्रिय एकताको सूत्रमा आबद्ध गरेको बताउनुभएको छ । दिवसका अवसरमा आज दिनुभएको सन्देशमा राष्ट्रपति भण्डारीले सङ्घीय लोकतान्त्रिक गणतन्त्रको स्थापनार्थ भएका विभिन्न आन्दोलनका क्रममा जीवन उत्सर्ग गर्ने शहीदप्रति भावपूर्ण श्रद्धाञ्जलि अर्पण गर्दै मुलुकमा लोकतान्त्रिक प्रणालीको जग बसाल्न पथ प्रदर्शन गर्ने सम्पूर्ण अग्रजप्रति सम्मान प्रकट गर्नुभएको छ । “नेपाली जनताको दशकौँ लामो सङ्घर्ष र बलिदानको फलस्वरूप २०७२ साल असोज ३ गते सङ्घीय लोकतान्त्रिक गणतन्त्र नेपालको संविधान जारी भएको ऐतिहासिक उपलब्धिको सम्झना र सम्मान गर्न आज हामी संविधान दिवस तथा राष्ट्रिय दिवस मनाइरहेका छौँ ।” सन्देशमा भनिएको छ, “वर्तमान संविधानले केन्द्रीकृत र एकात्मक राज्य व्यवस्थाद्वारा सिर्जित सबै प्रकारका विभेद र उत्पीडनको अन्त्य गर्दै जातीय, भाषिक, धार्मिक, सांस्कृतिक तथा भौगोलिक विविधतायुक्त नेपाली समाजलाई बृहत् राष्ट्रिय एकताको सूत्रमा आबद्ध गरेको छ ।” उहाँले संविधानद्वारा सुनिश्चित गरिएका मौलिक अधिकारको कार्यान्वयन गरी राज्यबाट प्राप्त हुने सेवा र सुविधामा सबै नागरिकको समान पहुँच स्थापित गर्नुपर्नेमा जोड दिँदै नवस्थापित सङ्घीय लोकतान्त्रिक गणतन्त्रको संस्थागत विकास र सुदृढीकरण गर्न मुलुकको राष्ट्रिय एकता, अखण्डता र जनतामा निहित सार्वभौमसत्तालाई सर्वोपरि राख्न आवश्यक रहेको उल्लेख गर्नुभएको छ । “देशको हित र जनताको उन्नतिभन्दा ठूलो हाम्रो अर्को कुनै लक्ष्य हुन सक्दैन । यही भावनाबाट अनुप्राणित भई संविधानको पालना र कार्यान्वयन गर्न राज्यका सबै अङ्गहरूले निष्पक्ष र न्यायपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गर्दछु”, राष्ट्रपति भण्डारीले भन्नुभएको छ, “संविधान जारी भएपश्चात् प्रतिनिधिसभा तथा प्रदेशसभाको दोस्रो निर्वाचन आगामी मङ्सिर ४ गते सम्पन्न हुन गइरहेको छ । आम निर्वाचनमा सक्रियतापूर्वक सहभागी भई आफ्नो लोकतान्त्रिक अधिकारको सदुपयोग गर्नमा सबै मतदाताहरूमा हार्दिक अपिल गर्दछु ।” उहाँले शान्तिपूर्ण, निष्पक्ष र स्वतन्त्र वातावरणमा मतदान गर्न पाउने नागरिक अधिकार सुनिश्चित गर्न नेपाल सरकार, निर्वाचन आयोग, सुरक्षा निकाय, राजनीतिक दल, सञ्चारमाध्यमका साथै सम्पूर्ण जनसमुदायमा आह्वान पनि गर्नुभएको छ ।
काठमाडौं : राष्ट्रपति विद्यादेवी भण्डारीले संविधान दिवस, २०७९ का अवसरमा कैद सजाय भुक्तान गरेका र भुक्तान हुन बाँकी ६ सय ८१ कैदीलाई आममाफी दिनुभएको छ । राष्ट्रपति भण्डारीले सर्वोच्च अदालतका आदेशको समेतका आधारमा तोकिएको कैद सजाय भुक्तान गरेका र असल चालचलन भएका पासाङ शेर्पासहित दुई सय तीन र इन्द्रकुमार लिम्बूसहित चार सय ७८ कैदीको भुक्तान हुन बाँकी सजाय मन्त्रिरिषद्को भदौ ३१ को निर्णयअनुसार बैठकको सिफारिसमा असोज ३ गतेदेखि लागू हुने गरी आममाफी दिनुभएको हो । राष्ट्रपतिको कार्यालयका प्रवक्ता सागर आचार्यले आज विज्ञप्ति जारी नेपालको संविधानको धारा २७६ र फौजदारी कसुर (सजाय निर्धारण तथा कार्यान्वयन) ऐन, २०७४ को दफा ३७ बमोजिम सो माफी दिइएको जानकारी दिनुभएको छ ।
सिमकोट : हिमालपारिको गाउँको नामले चिनिने हुम्लाको उत्तरी नाम्खा गाउँपालिकाको लिमीसहित उच्च भेगमा हिमपात भएको छ । होचो स्थानमा दुई दिन लगातार पानी परेपछि लिमीसहित अग्गा डाँडामा हिमपात भएको छ । हिमपातले हिमाल सेताम्य देखिएको छ । हिमपातले चिसो बढेसँगै लेकमा भएका पशुवस्तु र गाई गोठालालाई समस्या बनाएको छ । जिल्लाको उत्तरी नाम्खा गाउँपालिकामा हिमपातले गाईवस्तु, याक चाँैरीलाई समस्या भएको त्यस क्षेत्रका स्थानीयवासीले बताएका छन् । नाम्खा–६ को लिमी गाउँमा असोज महिनामै हिमपात भएको हो । बिहीबार रातिदेखि लगातर वर्षा हुँदा हुम्लाको उतरी लिमीका तीनवटै तिल, हल्जी र जाङ गाउँमा एक्कासि हिमपात भएको स्थानीयवासी तेन्जिननुर्वु लामाले बताउनुभयो । उहाँका अनुसार अविरल परेको हिमपातले अन्नबालीमा क्षति पुर्याएको छ । अविरल वर्षा हुँदा वर्षको एक पटक पाक्ने बाली नाफललगायत अन्नपात नष्ट गरेको छ । फेरि यो वर्ष पनि लिमीबासीलाई सरकारी राहतमाथि निर्भर हुन् बाध्य पर्ने लामाले गुनासो पोख्नुभयो । गाउँपालिकाका अध्यक्ष प्रेम लामाले न्याउलु लेकको बाटो खुलाई सक्दो राहतको पहल गर्ने बताउनुभयो । उत्तरी हुम्लामा कात्तिक महिना अन्तिम सातादेखि हिमपाता सुुरु हुनुपर्नेमा यसपटक समयमा मौसम परिवर्तनकै कारण भदौ अन्तिम दिनमा हिउँ परेको हो । उत्तरी नाम्खाको लिमीमा चार इञ्च हिउँ जमेकोे नाम्खा–६ का वडाअध्यक्ष पाल्जोेर तामाङले बताउनुभयो । उच्च हिमाली जिल्ला हुम्लामा हिमपात र अविरल वर्षापछि प्रमुख जिल्ला अधिकारी सीता परियारले हुम्लाका स्थानीयवासीलाई सतर्क रहन आग्रह गर्नुभएको छ ।
काठमाडौं : आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको निर्वाचनअन्तर्गत समानुपातिक प्रणालीतर्फको बन्द सूची बुझाउने क्रम सुरु भएको छ । सो प्रणालीका लागि आयोगको बहादुरभवन, कान्तिपथमा स्थापना भएको मुख्य निर्वाचन अधिकृतको कार्यालयमा बन्दसूची बुझाउने क्रम सुरु भएको हो । उक्त सूची बुझाउन असोज २ र ३ गतेका लागि आयोगले समय निर्धारण गरेकाले आज पहिलो दिन ठला दलबाहेक केही दलबाट मात्रै बुझाउने क्रम सुरु भएको छ । आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले प्रतिनिधिसभा, प्रदेशसभाका लागि सूची बुझाउन आठ स्थल र १० कक्ष व्यवस्था गरी तम्तयारी अवस्थामा आयोग रहेको बताउनुभयो । आयोगले सो प्रणालीका लागि सचिव गोकर्णमणि दुवाडीलाई मुख्य निर्वाचन अधिकृत तोकेको छ । गत प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको कार्यकाल यही असोज १ गते राति १२ बजेदेखि स्वतः कायम नरहने स्पष्ट भएपछि प्रतिनिधिसभा र प्रदेशसभाको कार्यकाल समाप्त भएको छ ।