बागलुङ । बागलुङको निसीखोला गाउँपालिका–१ का १९ वर्षीय दीपक विक १९ दिनदेखि बेपत्ता हुनुभएको छ । गत भदौ १६ गते घरबाट निस्किनुभएका उहाँ अहिलेसम्म परिवार तथा आफन्तको सम्पर्कमा आउनुभएको छैन । परिवारको सम्पर्कमा नआएपछि विकका बुबा दुर्गाबहादुरले भदौ १७ गते खोजतलासका लागि इलाका प्रहरी कार्यालय बुर्तिबाङमा निवेदन दिनुभएको थियो । प्रहरीले उहाँको खोजतलास जारी राखिको प्रहरी निरीक्षक भूपेन्द्र गिरीले जानकारी दिनुभयो । विकको खोजतलासमा ढिलाइ भएको गुनासो गरेको छ ।
काठमाडौं । गीतसङ्गीत सामाजिक सञ्जालमा पनि उत्तिकै सुन्न र हेर्न पाइन्छ । भिडियो सेयरिङ प्लेटफर्म टिकटकमार्फत गीतसङ्गीतलाई प्रचारप्रसार हुने भएर सर्जक पनि जोडिएको पाइन्छ । प्रचारप्रसारमा सहयोगी देखिएको टिकटकमा आजभोलि चलचित्रका दृश्यहरू देख्न पाइन्छ । स–साना क्लिप आउँदा प्रचारप्रसार भएको मान्ने चलचित्र केही समययता महत्वपूर्ण दृश्य भेटिँदा चिन्तित बनिरहनुभएको छ । क्लिप खण्डखण्ड गरेर टिकटकमा आउँदा यसले चलचित्र नै पाइरेसी भइरहेको छ । दर्शकले रुचाउनुभएको चलचित्रको दृश्य बढी लोकप्रिय हुने भएकाले टिकटकमा राख्ने गरिन्छ । ‘ए मेरो हजुर ४’, ‘कबड्डी ४’ पश्चात् पछिल्लो समय झिँगेदाउलाई टिकटकले समस्या दिइरहेको छ । भिसिडी, पेनड्राइभ र युट्युबभन्दा घातक टिकटकको पाइरेसी देखिएको निर्देशक ज्ञानेन्द्र देउजा बताउनुहुन्छ । “स–सानो क्लिप आउँदा प्रचारप्रसार नै भएको हो । तर खण्डखण्ड गरेर हाल्दा सम्पूर्ण चलचित्र नै पाइरेसी भइरहेको छ । हामीले यस विषयमा नसोच्ने हो भने भोलि यो क्रम झनै बढ्ने छ”, उहाँले भन्नुभयो । युट्युबमा पनि पछिल्लो केही समययता पाइरेसी भए पनि त्यहाँ रिपोर्ट (उजुर) गरेको केही समयमै हट्ने गरेको उहाँले बताउनुभयो । “हामीले आफैँले वा प्रहरीको साइबर ब्युरोमार्फत रिपोर्ट गरेपछि चलचित्रको दृश्य हट्ने गरेको छ । तर यसमा केही समय भने लाग्छ । दुई र तीन दिन लाग्दा त्यो क्लिप निकै भाइरल भइसकेको हुन्छ । त्यसैले यसमा सतर्कता बढाउनु आवश्यक छ”, निर्देशक देउजाले भन्नुभयो । पछिल्लो समय छिटपुटरुपमा चलचित्रको क्लिप टिकटकबाट हटाउनुपर्ने गुनासो आइरहेको नेपाल प्रहरी प्रधान कार्यालय साइबर ब्युरोको प्रवक्ता पशुपतिकुमार रायले बताउनुभयो । ‘‘हामीलाई प्राप्तअनुसार हामीले चलचित्रको दृश्य हटाउने गरेका छौँ । यो सामाजिक सञ्जालमार्फत भए तापनि कपि राइट्स्अन्तर्गत बढी पर्छ । यद्यपि हामीलाई प्राप्त गुनासोका आधारमा तुरुन्तै कारवाही गर्ने गरेका छौँ”, प्रवक्ता रायले भन्नुभयो । यो समस्यालाई हटाउन प्रहरीसहितको सहयोगमा हल सञ्चालकले सचेतना बढाउनुपर्ने निर्देशक देउजाको भनाइ छ । उहाँले यो समस्याका बारेमा नेपाल चलचित्र निर्माता सङ्घ र नेपाल चलचित्र सङ्घमा पनि कुरा गरिसक्नु भएको छ । पाइरेसी गरिरहेको भए तापनि टिकटकमै देखेर चलचित्र हेर्न आएका हौँ भन्ने पनि प्रतिक्रिया पाइरहेको नेपाल चलचित्र सङ्घका महासचिव नरेन्द्र महर्जनले बताउनुभयो । “हामीले चलचित्र चल्नु अगाडि सचेतना सन्देश दिनुपर्छ । चलचित्र हेर्दै गर्दा कसैले दृश्य कैद गरिरहनुभएको छ भने उहाँलाई सम्झाउने वा जरिवाना गर्ने हुनुपर्छ”, निर्देशक देउजाले भन्नुभयो । सचेतनामार्फत पनि अटेरी गर्नेलाई कानुनी कारवाही गर्नु पर्ने उहाँको भनाइ छ । उहाँ पछिल्लो समय फिचर्समा अपडेट भएर लामो भिडियो हाल्न पाइने भएपछि भने केही समस्या बढेको स्वीकार्नु हुन्छ । “प्रचारप्रसार पनि गरिरहेको छ भने केही असर पनि गरेको छ । हामीले हलमा आउनु हुने दर्शकलाई भिडियो नखिच्न आग्रह पनि गरिरहेका छौँ । हाम्रो कर्मचारी बेलाबखतमा गएर मोबाइल निकाल्ने दर्शकलाई आग्रह पनि गर्नुहुन्छ ।” महासचिव महर्जनका अनुसार टिकटकलाई नै पत्राचार गरेर केही गर्न सकिन्छ कि भन्ने सल्लाह सङ्घले गरिरहेको छ । गत वर्ष प्रदर्शनमा आएको दक्षिण भारतीय चलचित्र ‘पुष्पा’ को अधिकांश दृश्य टिकटकमा लोकप्रिय भएपछि भिडियो क्लिप बनाउनेक्रम बढेको हो । भारतीय चलचित्र आरआरआर र केजीएफ स् च्याप्टर २ को टिकटकमा भेटिएको दृश्यहरु जोड्ने हो भने झण्डै चलचित्र नै बन्छ । विदेशी मात्र होइन, स्वदेशी चलचित्र ‘ए मेरो हजुर ४’, ‘कबड्डी ४’ को पनि अन्तिम दृश्य टिकटकलगायत सामाजिक सञ्जालमा भाइरल हुँदा निर्माता तथा निर्देशकमा चिन्ता बढेको थियो । पछिल्लो समय सामाजिक सञ्जालका माध्यममा आफ्नो गतिविधिबारे जानकारी दिने प्रचलन बढ्दो भएकाले नै यस किसिमको समस्या बढिरहेको छ । आफ्ना गतिविधिलाई सोसल मिडियामैत्री बनाउनुकै कारणले लोकप्रियतासँगै समस्या सिर्जना भएको चलचित्र निर्माता तथा निर्देशकको भनाइ छ ।
पोखरा : पोखरा महानगरपालिकाका मेयर धनराज आचार्य चार दिने भ्रमणमा मलेसिया निस्किएका छन् । सेप्टेम्बर १९ देखि २४ तारिखसम्म मलेसियाको क्वालालाम्पुरमा एसिया प्रशान्त क्षेत्रका नगरपालिकाहरुको संगठन सिटीनेटको नवौं अन्र्तराष्ट्रिय महाधिवेशनमा efu लिन पोखराका मेयर आचार्य चारदिनका लागि मलेसिया प्रस्थान गरेका हुन् । आचार्य हाल क्वालालाम्पुरमा जारी सिटीनेटको नवौं अन्र्तराष्ट्रिय महाधिवेशनमा व्यस्त देखिएका छन् । एसिया प्रशान्त क्षेत्रका नगरपालिकाहरुको संगठन सिटिनेटको महाधिवेशनमा पुगेका मेयर आचार्यले खर्च आफैले व्यहोर्ने प्रमुख प्रशासकिय अधिकृत विरेन्द्र भारतीले जानकारी दिए । ‘जहाजको टिकट खर्च महानगरले तिर्ने सामान्य कुराकानी भएको छ, उनले सुनगाभा न्यूजसँग भने, ‘बाँकी खर्च मेयरको आफैले व्यहोर्ने र जहाजको खर्च पनि आफै तिर्छु भने पाइन्छ ।’ मेयर आचार्य अहिले क्वालालाम्पुरको कार्यक्रममा सहभागी भएको तस्बिर सामाजिक सञ्जाममा सार्वजनिक गरेका छन् । मेयर आचार्यले फेसबुकमा गरेको पोस्टमा उनीसँग ललितपुर महानगरका मेयर जिरीबाबु महर्जनसमेत सामेल भएको देखिएको छ ।
पोखरा : स्थानीय तह निर्वाचनमा गाउँपालिकाको अध्यक्ष र उपाध्यक्षमा उम्मेदवारी दिएर चुनावी खर्च विवरण नबुझाउने उम्मेदवारहरुलाई निर्वाचन आयोगले जरिवाना तोकेको छ। बैशाख ३० गते सम्पन्न भएको स्थानीय तह निर्वाचनमा गाउँपालिकाको अध्यक्ष र उपाध्यक्षमा उम्मेदवारी दिएर चुनावी खर्च विवरण नबुझाउने कास्कीका ३४ जना उम्मेदवारीसहित देशभरबाट ४ हजार १ सय ९६ जनालाई निर्वाचन आयोगले जरिवाना तोकेको हो । स्थानीय तह तह निर्वाचन ऐन, २०७३ को दफा ६४ (४) अनुसार निर्वाचनको परिणाम घोषणा भएको ३० दिनभित्र उम्मेदवारले खर्च विवरण बुझाउनुपर्नेछ। समयमै खर्च विवरण पेश नगरेका गाउँपालिकाका अध्यक्ष र उपाध्यक्षतर्फका उम्मेदवारलाई आयोगले जनही ३ लाख ५० हजार रुपैयाँ जरिवाना तोकेको हो। हेर्नुहाेस् सुची:-
सुर्खेत । सञ्जिता गौतम मानवसेवा आश्रम कर्णाली प्रदेश संयोजकका रुपमा कार्यरत हुनुहुन्छ । गौतमको जन्म भने धुलिखेल नगरपालिका–११ काभ्रेडाँडा गाउँमा भएको हो । मध्यम परिवारमा जन्मिएकी सञ्जिता समाज परिवर्तन र रुपान्तरणका लागि सङ्घर्ष गरिरहनुभएको छ । उहाले सानैदेखि नै गरिब, दुःखीलाई सहयोग गर्नुपर्छ भनेर सोच राख्नुहुन्थ्यो । समाजका सबै व्यक्ति समानरुपमा बाँच्न पाउनुपर्छ भनेर वकालतसमेत गर्ने गर्नुहुन्थ्यो । गौतमको लक्ष्य नै दिनदुःखी र गरिबलाई सेवा गर्ने थियो । विद्यालयमा पढ्दादेखि नै साथीसँग मिलनसार गौतम सिर्जनशीलसमेत हुनुहुन्थ्यो । समाजमा सबै व्यक्तिको हैसियत बराबर हुनुपर्छ भन्ने सोच राख्ने गौतम समाजको विभेद् देख्दा भने चिन्तित हुनुहुन्थ्यो । गौतमको गाउँका धेरै मानिस गरिबीको रेखामुनि थिए । गाउँमा दलित बस्ती थियो । दलित समुदायका मानिसमाथि विभेद् पनि उत्तिकै थियो । कसैका घर थिएनन् भने कसैले मागेर खानुपर्ने अवस्था थियो । यस्तो अवस्था देख्दा सञ्जितालाई धेरै दुःख लाग्थ्यो । यो समाजको रोग हो, भनेर उहाँले समाज रुपान्तरण गर्ने अठोट लिनुभयो । पढ्न नपाएका बालबालिकाका अविभावकलाई शिक्षाको महत्वका बारेमा समेत जानकारी गराउनुहुन्थ्यो सञ्जिताले । उहाँको सहयोगी स्वभाव देखेर गाउँका सबै मानिसले असल व्यक्तिकारुपमा चिन्ने गर्थे । समाजमा रहेको विभेद् अन्त्य हुनुपर्छ, मानिस मानिस एउटै हो भनेर वकालतसमेत उहाँले गर्नुहुन्थ्यो । गौतम कक्षा १२ पढ्दै गर्दा समाजलाई धेरै बुझ्ने भइसक्नुभएको थियो । समाजको हरेक चित्र उहाँको मानसपटलमा घुम्न थाल्यो । गौतम भन्नुहुन्छ, “मानिसको दुःख देख्दा मलाई साह्रै पीडा हुन्थ्यो, यो समाजमा कोही मागेर खानुपर्ने, कोही महलमा बस्नुपर्ने किन भइरहेको छ ? मेरो मनमा प्रश्न उब्जिने गथ्र्यो, अनि मैले सोचे अब मेरो हरेक समय दुःखमा परेका मानिसलाई सहयोग गर्नुपर्छ, सधैँ यही सेवामा लाग्नुपर्छ भन्ने लक्ष्य नै बनाएँ ।” उहाँले २०७१ सालमा कक्षा १२ उत्तीर्ण गर्नुभयो । उहाँले समाज रुपान्तरणको अभियानमा लाग्ने लक्ष्य लिनुभयो । “मानव सेवा नै संसारको सबैभन्दा ठूलो काम हो भन्ने मलाई लाग्न थाल्यो, विभेदमा परेका मानिस देख्थेँ, उनीहरुको दुःख आफ्नै जस्तो लाग्थ्यो ।” यस अभियानबाट नै मानव सेवा गर्ने र विभेद्रहित मात्र होइन, सुखी समाज बनाउने उहाँको योजना छ । सञ्जिताले सुरुमा हेटौँडामा रहेर मानवसेवा आश्रमबाट आफ्नो सेवा प्रारम्भ गर्नुभयो । त्यसपछि गोर्खा मानवसेवा बालआश्रम हुँदै कास्की पोखरामा रहेको मानवसेवा आश्रममा लामो समय काम गर्नुभयो । “आश्रममा सेवा गर्दा अझै मासिनको दुःख देख्दा जति नै सेवा गरे पनि नपुगे जस्तो लाग्थ्यो मलाई”, उहाँ भन्नुहुन्छ । त्यसपछि त जति नै चुनौती सामना गरे पनि उहाँले यो सेवामा तल्लीन हुन थाल्नुभयो । अहिले उहाँ सुर्खेतमा रहेको मानवसेवा आश्रममा चार वर्षदेखि असहाय अवस्थामा सडकमा छाडिएका व्यक्तिको सेवामा लागि रहनुभएको छ । अहिले सो आश्रममा ७० जनाले आश्रय लिइरहनुभएको छ । मानव सेवा गर्दा धेरै चुनौती आउँछन् । सहाराविहीन व्यक्तिलाई सहारा दिनु चानचुने विषय पनि होइन । कति व्यक्ति मानसिक सन्तुलन गुमाएका पनि हुने गर्छन्, उनीहरुको सेवा गर्नुपर्ने धेरै चुनौती छन् । “सहाराविहीन मानिसलाई आश्रय दिएर आफन्तसँग भेट गराउँदा जीवनकै सबैभन्दा धेरै खुसी मिल्ने रहेछ”, सञ्जिता भन्नुहुन्छ । उहाँले मानवसेवा गर्न थालेपछि सुर्खेतमा मात्रै आश्रमबाट झण्डै डेढ एक सय ५० जनालाई आफन्तसँग मिलन गराइसकिएको छ । विसं २०७५ देखि सेवा सुरु गरेको आश्रमले मानवसेवा आश्रम सुर्खेतले साउन र भदौ महिनामा मात्रै आठ जनाको उद्धार गरेको छ भने दुई जनाको पुनःमिलन गराएको जनाएको छ । हाल बुटवल आश्रममा ७३ जनाले आश्रय लिइरहेको मानवसेवा आश्रम कर्णाली प्रदेशले जानकारी दिएको छ । यसमा पुरुष ३८, महिला २७ र बालबालिका छ जना रहेका छन् ।
पोखरा । पोखरा महानगरपालिका वडा नं ११ स्थित शिवशक्ति क्याम्पसको क्याम्पस सञ्चालक समितिको अध्यक्षमा टुवराज बास्तोला निर्वाचित भएका छन् । समितिको ११ औं साधारणसभा तथा छैटौं अधिवेशनले बास्तोलालाई अध्यक्षमा निर्वाचित गरेको हो । बास्तोला फूलवारी क्लवका पूर्व अध्यक्ष, रोटरी क्लब अफ पोखराको पूर्वअध्यक्ष, जेसीज लगायतका संस्थामा रहेर काम गरेका छन् । उनी पोखरा–७, रत्नचोकस्थित रत्नज्योति बोर्डिङ स्कूलको प्राचार्य पनि हुन । समितिको सदस्यहरुमा दुर्गा जोजीजु र बुद्विसागर घिमिरे चयन भए । वडाध्यक्ष प्रेम कर्माचार्य, प्राचार्य दीपक बास्तोला र शिक्षक प्रतिनिधि दुई जना पदेन सदस्य रहनेछन् । २१ सदस्यीय हुने समितिमा १४ सदस्य पछि मनोनित गरिने छ । अध्यक्ष बास्तोलाले क्याम्पसको शैक्षिक गुणस्तर र भौतिक पूर्वाधार विकासलाई प्राथमिकतामा राखेर काम गर्ने प्रतिवद्धता जनाएका छन ।
बझाङ । खप्तडछान्ना गाउँपालिका–१ तल्लाबगणका महादेव गिरी झरी पर्नैै हुन्न तर्सिहाल्नुहुन्छ । खोला नजिकैको बस्ती हुँदा कति बेला कस्तो घटना दोहोरिन्छ भन्दै चिन्तित भइरहनुहुन्छ । राति मात्रै होइन, दिउँसो पनि झरी पर्ने बित्तिकै डाँडामा चढ्नु, जडारी खोलामा बहाब बढेको दिन रातभर जाग्राम बस्नु उहाँको नियति नै हो । आइतबार राति पनि महादेवलाई त्यस्तै भयो । दिनभर झरी परेपछि सो खोलाले दिउँसै बाटो मोडेको थियो । तल्लाबगणको अर्को छेउमा बग्ने खोलाले बस्तीतिर धार फर्काएको थियो । साँझ झिसमिसेमा भने पानीसमेत रोकिएर सुक्खा भइसकेको थियो । “एक्कासि राति जडारीगाडमा ढुङ्गाको गड्याङगुडुङ आवाज आएपछि निन्द्रा खुल्यो,” महादेव भन्नुहुन्छ, “राति बाहिर आउँदा त बगर पूरै जलमग्न भएको रहेछ ।” त्यसपछि महादेवले गाउँलेलाई उठाउनुभयो । रातिको खाना खाएर सुतेका तल्लाबगणवासीले मध्यराति दुईबजेदेखि नै जाग्राम बस्नुपर्यो । “गाउँमै भए पनि सडकको छेउमा पसल भएकाले हामी त पसलमै थियौँ,” महादेवले भन्नुभयो, “गाडले ठूलै सङ्केत गरेपछि श्रीमान् श्रीमती नै टर्च बालेर गाउँमा सबैलाई उठाउन गयौँ । गाउँमा सबैले जानकारी पाएर एउटा घरको छेउमा बसेका रहेछन् । पछि सबैजना त्यतै जम्मा भएर रात बितायौँ ।” खप्तडछान्ना –१ खातीगाउँका हर्कबहादुर खातीले आइतबार रातभर नै गाउँमा पहरा दिनुभएको रहेछ । उहाँले भन्नुभयो, “दिनभर परेको पानीले जडारीगाडको बहाब बढेको भन्दै गाउँलेलाई दिउँसै सचेत गराएको थिएँ । साँझ मौसम केही सुधार भयो । मध्यराति त जडारीगाडले बगाएर ल्याएका ढुङ्गाको आवाज घरको छेउमा आएजस्तै भयो । डेढ बजे राति बाहिर हेर्दा त बगरभरि पानी फैलिएको देखियो । त्यसपछि सबै गाउँलेलाई बोलाएर डाँडाको घरमा जाग्राम बस्यौँ ।” खातीका अनुसार खातीगाउँको अवस्था पनि तल्ला बगणको जस्तै छ । राति पानी पर्दा नसुत्ने, आकाश हेरेर सुत्ने समय यकिन गर्ने, जोखिममा रहेका घरबाट उकालो चढेर डाँडामा आफन्तको घरमा जाने । यो समस्या खातीगाउँवासीको मनसुन सुरू भएयता दैनिकी जस्तै हो । “पानी पर्दा आसपासका बस्तीले डाँडातिर, चौतारातिर जाग्राम बस्दै भगवानलाई पुर्कानुबाहेक केही हुँदैन,” खातीले भन्नुभयो, “जडारीगाड नजिकैका बस्तीका लागि भगवान भरोसा मात्रै हुन्छ । अन्य गाउँको त अरू व्यवस्था पनि होला तर, हाम्रो खातीगाउँमा भने गत वर्ष नै बाढीले सर्वस्व लुटेको थियो ।” गत वर्ष असोज ३० देखि कात्तिक ३ गतेसम्म अविरल बेमौसमी वर्षापछि जडारीगाडमा आएको बाढीले खप्तडछान्नामा शताब्दीकै ठूलो क्षति गरेको थियो । सयौँ रोपनी उत्पादन हुने जमिन, करोडौँ मूल्य बराबरको भौतिक संरचना, नहर कुलो, सडक, खानेपानी, विद्युत्लगायत भौतिक सम्पति सबै पूर्णरूपमा ध्वस्त भएको थियो । “गत वर्षको बाढी आउँदा हामी घरमै थियौँ”, उहाँ भन्नुहुन्छ, “दिउँसोतिर खातीगाउँ जिउलोको छेउमा पानी घट्टको आगन मात्रै बगाएको थियो । राति त हेर्दाहेर्दै जिउलोसहित त्यसमा बनाइएका संरचना सबै एकै झट्कामा निल्यो । दुई परिवारका बच्चा त नाङ्गै घरबाट तानेर ज्यान जोगाएका थियौँ । मानवीय क्षति नभए पनि भौतिक सम्पत्ति सबै ध्वस्त भएको थियो ।” खातीगाउँमा सर्वस्व गुमेका दुई परिवार अहिले आफन्तको घरमा आश्रय लिइरहेका छन् । उब्जनी गर्ने जमिन कसैको पनि छैन । घर भने दुई परिवारबाहेक सबैका छन् । “हाम्रो जमिन जै जीवनको आधार हो, त्यो सबै खोलाले बगाएपछि अहिले घरबाहेक केही छैन,” हर्कबहादुरले भन्नुभयो, “मेरो त भिरालो ठाउँमा सानो जमिन पनि थियो । गतवर्ष बाढीमा स्कुल बगाएको हुँदा त्यो जमिन स्कुललाई दिएँ । अहिले जमिन शून्य छ । घर भने त्यसैमा बसिरहेका छौँ ।” गतवर्ष सर्वस्व गुमेका प्रेम खातीको परिवारमा ६ जना हुनुहुन्छ । रोजगार कसैको पनि छैन । बाढीको चपेटामा परेका उहाँलाई कपडा, भाँडाकुँडा, खानेकुरालगायत सबै आफन्तले सहयोग गरेका थिए । प्रेम खाती अहिले तत्कालको सहयोगको पर्खाइमै हुनुहुन्छ । “कमाउने कोही छैन । छोरा प्यारालाइसिस भएर हिँड्न सक्दैन । सबैलाई पाल्ने जिम्मेवारी म बूढोकै काँधमा छ । नातिनातिना साना छन् । अहिले कसैले दिए खाने, नदिए भोकै बस्ने अवस्था छ”, उहाँ भन्नुहुन्छ । अहिले खोलामा गड्याङगुडुङ सुरू हुने वित्तिकै खोला आइहाल्यो कि भनेर खातीगाउँ, तल्लाबगण, गोटखोला, डाँडाखेतलगायतका मान्छे त्रसित भइहाल्छन् । “तल्लाबगणमा १० परिवार छन्”, महादेव भन्नुहुन्छ, “राति पानी परेको दिन गाउँमा अगाडि नै सल्लाह गरेर एउटै ठाउँमा बस्छौँ । आकाश खुलेको छ भने मात्रै आरामले सुत्न पाइन्छ ।” शुक्रबार पनि मध्य रातिदेखि नै नसुतेको उहाँले बताउनुभयो । “निकै वर्षा आएपछि खोलाको किनारामै बसेका थियौँ”, उहाँले भन्नुभयो, “त्यो दिन पनि रातभर निन्द्रा नै लागेन । गत वर्षकै बाढीको सम्झना आएर गाउँले कसैले पनि सुत्न पाएनन् । “गत वर्ष बाढी आउँदा म त निन्द्रामै थिए”, गिरी भन्नुहुन्छ, “राति सुतेको बेलामा ११ बजेतिर एक्कासि डरलाग्दो सपना देखेर बिउँझिएको त बाढी आएको रहेछ । त्यसपछि भागाभाग भयो ।” गिरीको पसल र खोला झण्डै १०० मिटर टाढा थियो । घरभन्दा बढी बसाइँ पसलमै हुन्थ्यो । “त्यो दिनको बाढीले क्षणभरमै पसल भएको ठाउँ बगर बनायो ।” उहाँकी श्रीमतीले भन्नुभयो, “बाढी पसल नजिक आइरहेकै बेलामा कागजात तथा गहना त झोलामा हालेकी थिएँ । भागाभाग हुँदा झोलासमेत त्यतै छुट्यो ।” जडारी खोलाले स्थानीयवासीको सर्वस्व लुटेको एक वर्ष भइसकेको छ । तर, पीडित परिवारले भने अहिलेसम्म कतैबाट पनि राहत पाएका छैनन् । खप्तडछान्ना गाउँपालिका–१ का वडाध्यक्ष देवीभक्त जोशी भन्नुहुन्छ, “अघिल्लो पटक हामीसँग बजेट नहुँदा केही गर्न सकिएन । यो पटक छुट्याएका छौँ । अब त्यसै रकमले उहाँहरूलाई सहयोग गर्छौँ ।” खप्तडछान्ना गाउँपालिका अध्यक्ष उत्तमबहादुर रोकाया पनि यो पटकको बजेटले उहाँहरूलाई केही सहयोग गर्ने र बाढीबाट हुने जोखिम कम गर्न आफूहरू लागि परेको बताउनुहुन्छ । उहाँले भन्नुभयो, “अहिलेसम्म त्यस्तो अप्रिय घटना भएको छैन । घटना घटिहाले पनि तत्काल राहत उद्धारका लागि विभिन्न निकाय उच्चसर्तकता अपनाउन भनेका छौँ ।”
काठमाडौं । धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज उच्च अङ्कले ओरालो लागेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक ३८ दशमलव ८१ अङ्कले ओरालो लागेर एक हजार आठ ३७ दशमलव ६० मा ओर्लेको छ । यस्तै ठूला कम्पनीको कारोबार मापक गर्ने सेन्सेटिभ परिसूचक सात अङ्कले ओरालो लागेर तीन सय ५८ दशमलब ८७ मा सीमित भएको छ । कूल दुई सय ३१ कम्पनीको ३८ लाख ५६ हजार पाँच सय ३८ कित्ता शेयर रु एक अर्ब २२ करोड ९६ लाख ६९ हजार सात सय २२ मूल्यमा खरिद बिक्री भए । नेप्सेका अनुसार आज कारोबार भएका १३ वटै उपसमूहको शेयर मूल्यमा गिरावट भयो । कारोबारका आधारमा हिमालय डिस्टिलरी शीर्ष स्थानमा छ । सो कम्पनीको रु पाँच करोड ६५ लाख ३३ हजार आठ सय २९ बराबरको कारोबार भयो । रिडी हाइड्रो पावर रु पाँच करोड ३५ लाख १३ हजार सात सय ४९, नवील बैंक रु चार करोड ७३ लाख ६५ हजार एक सय ८०, अरुण काबेली पावर रु तीन करोड २६ लाख दुई हजार सात सय ५८ र अपि पावर कम्पनी रु तीन करोड भार लाख ३७ हजार पाँच सय ७९ बराबरको कारोबार भई शीर्ष पाँच भित्र पर्न सफल भएका छन् । नेप्सेका अनुसार, स्वाभिमान लघुवित्त तीन दशमलव ९२, एनएमबी–५० तीन दशमलव ८७, आर्दश लघुवित्त दुई, तेह्रथुम पावर कम्पनी एक दशमलब ९१ र सिभिल लघुवित्तका लगानीकर्ताले एक दशमलव ३८ प्रतिशतले कमाएका छन् । यस्तै कालिका पावरको शेयर मूल्यमा १० प्रतिशतले गिरावट देखिएपछि नकारात्मक सर्किट लागेको छ । बरुण हाइड्रोपावर आठ दशमलव १९, ग्रीन डेभलपमेन्ट बैंक सात दशमलव ९४, समृद्धि फाइनान्स छ दशमलव ७२ र अप्पर सोलु हाइड्रोपावरका लगानीकर्ताले छ दशमलव ५६ प्रतिशतले गुमाएका छन् ।
काठमाडौं । ट्राफिक प्रहरीले चाडपर्वमा लामो दूरीका सवारीसाधनलाई लक्षित गरी उपत्यकाका सबै नाकामा विशेष जाँच गर्ने भएको छ । काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालय रामशाहपथले चाडपर्वको अवसरमा सवारी साधनबाट हुनसक्ने ठगी र यात्रुलाई सहजै गन्तव्यस्थलसम्म पुग्ने वातावरण निर्माण गर्न नाकाहरूमा विशेष ‘चेकिङ’को व्यवस्था गर्न लागेको हो । कार्यालयका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक राजेन्द्रप्रसाद भट्टले थानकोट, नागढुङ्गा, जगाति, फर्पिङ, बाइपास, बालाजुलगायतका स्थानमा लामो दूरीका सवारीसाधनलाई विशेष जाँचको व्यवस्था गरिएको जानकारी दिनुभयो । ट्राफिक प्रहरीले चाडपर्वका अवसरमा उपत्यकाका विभिन्न ३५ स्थानमा नियमित जाँच, मापसे जाँच, सादा पोशाकमा ट्राफिक प्रहरी परिचालन गरिने भएको छ । ट्राफिक प्रहरीले छतमा यात्रु तथा मालसामान राख्न नदिने, क्षमताभन्दा बढी यात्रु राख्न नदिने, सवारीसाधनको अवस्था जाँच गर्ने, यात्रुले अपनाउनुपर्ने सुरक्षा सावधानीबारे जानकारी गराउने भएको छ । यस्तै चालकको अवस्था जाँच गर्ने, सुरक्षा सचेतनासम्बन्धी कार्यक्रम गर्ने, सवारीसाधनमा जिङ्गल बनाएर सुनाउने, बढी भाडा लिने सवारीसाधनलाई कारबाही गर्ने, लागुपदार्थ सेवन जाँच गर्ने भएको छ । काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालय र यातायात व्यवस्था विभागले चाडपर्वलाई लक्षित गरेर राजधानीका विभिन्न १४ स्थानमा यात्रु सहायता कक्ष स्थापना गर्ने भएको छ । कार्यालयले विभागको सहकार्यमा राजधानीको नागढुङ्गा, कलङ्की, स्वयम्भू, माछापोखरी, नयाँ बसपार्क, चावहिल, गौशाला, कोटेश्वर, जगाति, सातदोबाटो, बल्खु, दक्षिणकाली, सुन्धारा र पुरानो बसपार्कमा यात्रु सहायता कक्ष राखिनेछ । कार्यालयका प्रवक्ता भट्टले यात्रु सहायता कक्षमार्फत राजधानीबाट विभिन्न गन्तव्यस्थलसम्म जान लाग्ने भाडादर र यात्रुलाई गन्तव्यस्थलसम्म सहजै जानका लागि आवश्यक समन्वय गर्ने बताउनुभयो ।