पोखरा:   गण्डकी प्रदेश सभाले सातै वटै प्रदेशमध्ये पहिलो पटक “अपाङ्गता भएका व्यक्तिको अधिकार सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक” सर्वसम्मतिले पारित गरेको छ ।  मिति २०८१ चैत २६ गते साम...

  काठमाडौं । नेपाल पत्रकार महासङ्घले मुलुकको संविधानको सबैले अक्षरशः पालना गर्नुपर्ने बताएको छ ।       महासङ्घले संविधानले निर्दिष्ट गरेको सीमा र मर्यादाभित्र रही सबै पक्षले संवैधानिक व्यवस्थाको पालना गर्नुपर्नेमा जोड दिएको हो ।         महासङ्घका महासचिव रोशन पुरीद्वारा आज जारी विज्ञप्तिमा संविधानको मर्म र भावनाको उच्च कदर गर्दै संवैधानिक सर्वोच्चता कायम गर्ने विषयमा महासङ्घ सर्धँ क्रियाशील रहँदै आएको उल्लेख गरिएको छ । 

  बागलुङ । बागलुङको बडिगाड गाउँपालिकाले वडा–वडामा पुगेर स्वास्थ्य शिविर सञ्चालन गर्नेदेखि गरिब, विपन्न परिवारको उपचारका लागि  सहयोगसमेत गर्दै आएको छ ।   नागरिकको निःशुल्क स्वास्थ्य बीमा गर्ने योजना बनाएको पालिकाले यसवर्ष मात्रै दुई हजार पाँच सय जनाको निःशुल्क बीमा गर्दैछ । आगामी पाँच वर्षसम्म करिब २० हजार नागरिकको निःशुल्क स्वास्थ्य बीमा गर्ने लक्ष्य राखेको गाउँपालिकाका अध्यक्ष गण्डकी थापा अधिकारीले बताउनुभयो । उहाँले स्वास्थ्य बीमाका लागि गाउँपालिकाले कार्यविधि तयार गरिसकेको र केही समयमै काम सुरु गर्ने जानकारी दिनुभयो ।   “हामी निर्वाचित भएर आएपछि स्वास्थ्य क्षेत्रमा केही सुधारका प्रयास भएका छन्, गाउँ–गाउँमा स्वास्थ्य शिविर सञ्चालन गरेका छौँ, यसबाट नागरिकले भरपुर सेवा लिन सक्छन्, यो एक महिनामा एक पटक मात्रै होइन, यो त पालिकाका १० वटै वडामा निरन्तर चल्छ” उहाँले भन्नुभयो “स्वास्थ्य संस्था पुगेर उपचार गराउन नसक्नेको थोरै भए पनि पैसा बचेको छ, रोग लुकाएर बसेकाको उपचार भएको छ, उहाँहरुले थोरै भए पनि राहत महसुस गर्नुभएको हामीले पाएका छौँ ।”   अध्यक्ष अधिकारीले अति विपन्न, गरिब, एकल महिला, एकल पुरुष, दीर्घरोगी, ‘ग’ वर्गका अपाङ्गता भएका व्यक्ति र न्यून आर्थिक अवस्था नागरिकलाई प्राथमिकतामा राखेर निःशुल्क स्वास्थ्य बीमा गरिने बताउनुभयो । उहाँले महिला स्वास्थ्य स्वम्सेविकालाई ५० प्रतिशत पालिका र ५० प्रतिशत केन्द्र सरकारले बीमा गरी दिने बताउनुभयो ।   “निःशुल्क स्वास्थ्य बीमा सबै नागरिकका लागि होइन, एउटा मापदण्ड बनाएका छौँ, सोही मापदण्डभित्र पर्ने नागरिकको मात्रै निःशुल्क स्वास्थ्य बीमा हुन्छ, हामीले बनाएको मापदण्डभित्र अति विपन्न, गरिब, एकल महिला, एकल पुरुष, दीर्घरोगी, ‘ग’ वर्गका अपाङ्गता भएका व्यक्ति र न्यून आर्थिक अवस्था भएका नागरिक पर्छन्” उहाँले भन्नुभयो “उपचारमै मान्छेले हजरौँ खर्च गरेका हुन्छ, गरिब विपन्नले उपचार गर्न नसक्ने भएको हुँदा कम्तीमा पालिकाले बीमा गरिदियो भने उनीहरुलाई सहुलियत हुने हुँदा हामीले यो कार्यक्रम ल्याएका हौँ, कार्यविधि तयार छ, अब केही समयमै बीमाको काम सुरु हुन्छ ।”   गाउँपालिकाले बिरामीको अवस्था र रोगको प्रकृति हेरेर १० देखि २० हजारसम्म भत्ता दिने गरेको अध्यक्ष अधिकारीले जानकारी दिनुभयो । दश वडा रहेको बडिगाडमा स्वास्थ्य चौकी सात, आधारभूत स्वास्थ्य सेवा केन्द्र तीन र सामुदायिक स्वास्थ्य इकाई ६ रहेको स्वास्थ्य शाखाले जनाएको छ । गाउँपालिकाले ग्वालीचौरमा ‘फार्मेसी’समेत सञ्चालन गरेको अध्यक्ष अधिकारीले जानकारी दिनभयो । नागरिकलाई सहज र सुपथ मूल्यमा औषधि उपलब्ध गराउनका निम्ति फार्मेसी सम्भालन भएको उहाँको भनाइ छ ।    गाउँपालिकाले तीन स्थानमा प्रयोगशाला सेवा, भिडियो एक्सेरे र कुपोषण भएका बालबालिकाको उपचारका लागि उपचार केन्द्रसमेत सञ्चालनमा ल्याएको छ ।

भरतपुर । सानै काम भए पनि निरन्तर लागिरह्यो भने सफलता मिल्छ भन्ने एक उदाहरण यहाँका सुरेश ठाकुरले देखाउनुभएको छ । परिश्रम गर्नसके स्वदेशमा नै काम गर्न सकिन्छ भन्ने उदाहरण ठाकुरले देखाउनुभएको हो । कपाल काटेरै उहाँले भरतपुरमा तीन तलाको घर बनाउनुभएको छ ।       त्यसो त उहाँका एक छोरा चार्टर एकाउन्टेन्ट उत्तीर्ण गरी काममा लागेका छन् । अर्का एक छोरा र एक छोरीले पनि उच्च शिक्षा हासिल गरिसकेका छन् । यो सबै ठाकुरको मेहनतको कमाइ हो । कलैया जिल्लाको देउताल गाउँपालिका–४ पिप्राडीका स्थायी बासिन्दा ठाकुरले स्थानीय विद्यालयबाट कक्षा १० उत्तीर्णपछि यो पेसामा लाग्नुभएको हो । स्थानीयस्तरमा काम सिकेर छ महिना उहाँले भारतको दिल्ली पुगेर तालिम लिनुभएको हो ।       विसं २०५० मा भरतपुरको तत्कालीन जिल्ला विकास समितिको जग्गामा रहेको सटरमा उहाँले कपाल काट्न सुरु गर्नुभयो । त्यतिबेला उहाँको उमेर १८ वर्षको थियो । उहाँले भन्नुभयो, “म मेरो फूपाजु रामकुमार ठाकुरसँग कपाल काट्ने कामका लागि चितवन आएँ ।” २६ वर्ष त्यहीँ ठाउँमा कपाल काटेपछि उहाँ अहिले केही पर सर्नुभएको छ ।      यहाँ आएर सुरुमा नै आफैँले व्यापार थालेको उहाँ सम्झनुहुन्छ । त्यतिबेला दाह्री र कपाल काटेको रु १० लिने गरिन्थ्यो । अहिले यो मूल्य बढेर रु एक सय ७० पुगेको छ । त्यतिबेला दैनिक ५० जना सम्मको दाह्री कपाल काटेको उहाँलाई अनुभव छ ।      अहिले यो सङ्ख्या ३०÷३५ छ । आम्दानी हुँदै गएपछि बसाइँ चितवन बनाउने रहर उहाँमा जाग्यो । यहाँ कमाएको पैसाले वीरगञ्जमा जग्गासमेत किनिसक्नुभएको थियो । सन्तान हुर्कंदै गएपछि त्यहाँको घडेरी बेचेर भरतपुर महानगरपालिका–१२ मा घडेरी किन्नुभयो । सोही घडेरीमा उहाँको तीन तलाको घर ठडिएको छ । ४५ वर्षीय ठाकुरका जेठा छोराले स्नातक गरेर जागिर खान थाल्नुभएको छ । कान्छो छोराले भारतको चण्डीगढबाट सिए उत्तीर्ण गरेर यही लेखापरीक्षण सुरु गर्नुभएको छ । उहाँका छोरी कक्षा १२ पढ्दै हुनुहुन्छ । अहिले पनि निरन्तर कपाल काट्दै आउनुभएका ठाकुर मेहनत ग¥यो भने यही कमाइ हुने बताउनुहुन्छ ।      जीवनको झण्डै तीन दशक यो पेसामा सङ्घर्षरत ठाकुरले भन्नुभयो, “मेहनत गरेर काम गर्नुस् विदेशिनु पर्दैन ।” कर्मथलो चितवन बनाउनु भएका ठाकुरको मेहनतको कमाइले स्थायी बसोबास भरतपुर बनेको हो । अहिले पनि उहाँको आफ्नै कमाइले परिवार धानेको छ । छोरीबाहेकको पढाइ खर्च घटेपछि र छोराको आम्दानी सुरु भएकाले अबका दिन यस्तै परिश्रम गरिरहनु नपर्ने उहाँ बताउनुहुन्छ ।

  काठमाडौं । नेपालको पूर्वी तराईस्थित चन्द्र नहर सिँचाइ प्रणालीको पुन:स्थापना सुधार आयोजना कार्यान्वयन गर्न जापान सरकारले करिब रु दुई अर्ब अनुदान सहयोग प्रदान गरेको छ ।       यसैगरी काठमाडौँ र पोखराको सहरी प्रसारण तथा वितरण प्रणाली सुधार आयोजना कार्यान्वयन गर्न जापानले  रु १४ अर्ब २० करोड ऋण सहयोग प्रदान गरेको छ । वार्षिक शून्य दशमलव शून्य एक प्रतिशत व्याजदर रहेको सो सहुलियतपूर्ण ऋणको भुक्तानी अवधि ३० वर्ष र थप १० वर्ष ग्रेस अवधि हुनेछ ।        नेपालकोतर्फबाट अर्थसचिव कष्णहरि पुष्कर र सहसचिव ईश्वरीप्रसाद अर्याल तथा जापानकोतर्फबाट यहाँस्थित राजदूत किकुता युताका र जाइका नेपालका प्रमुख प्रतिनिधि ओकुबो अकिमित्सुले आज अर्थ मन्त्रालयमा अनुदान तथा ऋण सहयोगसम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर गर्नुभयो ।       कार्यक्रममा अर्थसचिव पुष्करले सम्झौताबमोजिमका आयोजना कार्यान्वयनबाट नेपालको सिँचाइ सुविधाको सुधार गर्न तथा विद्युत् आपूर्तिको विश्वसनियता बढाउन तथा प्रसारण चुहावट न्यूनीकरण गर्न महत्वपूर्ण योगदान पुग्नेछ भन्नुभयो । नेपालको सामाजिक–आर्थिक एवं मानवसंशाधन विकासमा जापान सरकारबाट प्राप्त निरन्तर सहयोगको प्रशंसा गर्दै उहाँले दुई देशबीचको लामो र सुमधुर सम्बन्ध तथा विकास साझेदारी अझ नयाँ उचाइमा पुग्ने विश्वास व्यक्त गर्नुभयो ।       नेपालका लागि जापानी राजदूत युताकाले उपलब्ध सहयोगबाट नेपालको कृषि क्षेत्रको उत्पादकत्व वृद्धि गर्न र सहरी क्षेत्रको विद्युत् व्यवस्थापनमा सहयोग धारणा व्यक्त गर्नुभयो । नेपाल र जापानबीचको सम्बन्ध सदियौँदेखि सुमधुर एवं घनिष्ट रहेको चर्चा गर्दै राजदूत युताकाले शिक्षा, स्वास्थ्य, जलविद्युतलगायतका क्षेत्रमा गरिएको सहयोगबाट नेपाली जनताको जीवनस्तर सुधार हुने अपेक्षा व्यक्त गर्नुभयो ।       जाइका नेपालका प्रमुख अकिमित्सुले नेपालको कृषि, स्वास्थ्य, शिक्षा, पर्यटन, ऊर्जालगायतका क्षेत्रमा आर्थिक तथा प्राविधिक सहयोग प्रदान गरी नेपाली जनताको आर्थिक तथा सामाजिक जीवनस्तर उकास्न सक्दो सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । 

  कुश्मा । “हिउँको पानी मोदीको असला, आफ्नै ठानी मायालु दिलमा बसाल, पुनःहिलैमा फूल जस्ती सोल्टिनी बस्यौँ दिलैमा” लोकपप गायक तिलकबम मल्लको हो ।                       आफ्नै गीतका बारेमा गायक मल्ल भन्दै हुनुहुन्थ्यो, “प्राकृतिकरुपमा अन्नपूर्ण शिरदेखि बग्दै आउने हिउँको चिसो पानीमा असला माछा पाइन्थ्यो । वीरेठाँटी, नयाँपुल, हुुँदै कुश्माको आसपासका बजारमा असला माछा खानका लागि आन्तरिक पर्यटकको भिड्नै लाग्थ्यो, त्यही दृश्यले तानेपछि गीत बन्यो ।”       गायक मल्लले विसं २०५५ मा गाउनुभएको यस गीतले मोदी खोलामा पाइने असला माछाका बारेमा खुबै चर्चा चल्यो । मोदी खोला आसपासका ठाउँ अम्बोट, डिमुवा, नयाँपुल र वीरेठाँटीका साना बजारमा माछा खानका लागि आन्तरिक पर्यटक यहाँसम्म पुग्ने गर्दथे । “हामी सानैछँदा दाइहरुसँग मोदी खोलामा गएर माछा मारेर ल्याउथ्यौँ, दाइहरुले नयाँ पुलको होटलमा लगेर बिक्री गर्नुहुन्थ्यो”, राजमार्ग छेउ अम्बोटमा रेस्टुराँ सञ्चालन गर्नुभएका गौरव क्षेत्रीले भन्नुभयो, “मोदीको माछा भनेपछि पोखरा बागलुङ हिँडेका गाडी पनि अम्बोटमा रोक्थे र माछा खाएर मात्रै गन्तव्यतर्फ लाग्दथे ।”       अहिले भने मोदीखोलामा असला माछा पाइन छाडेको छ । एकपछि अर्को विद्युत्गृह धमाधम निर्माण हुन थालेसँगै मोदीखोलामा माछाको सङ्कट परेको हो । तीस वर्ष पहिले लोकपप गायक तिलकबम मल्लले गीतमा ‘हिउँको पानी मोदीको असला’ भनेका थिए । तर अहिले आएर मोदी खोलाको परिभाषा बदलिएर ‘हिउँको पानी मोदीको बिजुली’ भएको छ । अर्थात् मोदीखोलालाई ऊर्जा नदीका रुपमा लिने गरिन्छ ।       मोदी खोलाको सिरानदेखि पुछारसम्म निर्माण सम्पन्न भएका, निर्माणाधीन र निर्माण सुरु हुने क्रममा रहेका गरी छ वटा जलविद्युत् आयोजना रहेका छन् । मोदीमा तीन आयोजनाको निर्माण सम्पन्न भई सञ्चालनमा आइसकेका छन् । एउटा आजोजना निर्माणको अन्तिम चरणमा छ भने दुई आयोजना निर्माणको चरणमा छन् ।   मोदी खोलामा निर्माण सम्पन्न तीन आयोजना       मोदी खोलामा सबैभन्दा पहिले सञ्चालनमा आएको जलविद्युत् आयोजना हो, मोदी खोला जलविद्युत् केन्द्र । नेपाल विद्युत् प्राधिकरणले विसं २०५७ मा निर्माण सम्पन्न गरेको यो जलविद्युत् केन्द्रले १४ मोगावाट विद्युत् उत्पादन गर्दै आएको छ । मोदी गाउँपालिकामा रहेको जलविद्युत् केन्द्रले २०७८÷७९ को आर्थिक वर्षमा अहिलेसम्मकै बढी विद्युत् उत्पादन गर्न सफल भएको छ ।       केन्द्रका प्रमुख आभास ओझाका अनुसार निर्माण सम्पन्न भएको २२ वर्षको अन्तरालमा गत आर्थिक वर्षको पहिलो महिना साउनमा सात हजार एक मेगावाट विद्युत् उत्पादनको लक्ष्य राखिएकामा आठ हजार ८९९ मेगावाट उत्पादन भएको छ ।       युनाइटेड मोदी हाइड्रोपावर कम्पनीले सञ्चालनमा ल्याएको १० मेगावाट क्षमताको तल्लो मोदी–१ जलविद्युत् आयोजनाले उत्पादन सुरु गरेको १० वर्ष भइसकेको छ । कुश्मा नगरपालिका–८ चुवामा निर्माण भएको यो विद्युत् आयोजनालाई गत वर्षको पहिराले क्षति पुर्याएको थियो । जसका कारण रु पाँच करोडभन्दा बढी रकमको क्षति भएको आयोजनाका निर्देशक उपेन्द्र गौतमले जानकारी दिनुभयो ।       यस्तै १० मेगावाट क्षमताको अर्को तल्लो मोदी–२ जलविद्युत् आयोजना निर्माण गर्ने तयारी थालेको कम्पनीले उक्त विद्युत् आयोजना निर्माण नगर्ने भएको छ । जग्गा खरिद गर्नेदेखि डिपिआर लगायतका काममा रु पाँच करोड बढी खर्च गरिसकेको कम्पनीले आयोजना निर्माण गर्दा घाटा हुने देखेपछि पछाडि हटेको हो ।        कुश्मा नगरपालिका–८ मा पावरहाउस र मोदी गाउँपालिका–५ बाजुङमा ड्याम रहेको तल्लो मोदी जलविद्युत् आयोजनाले केही महिनादेखि विद्युत् उत्पादन सुरु गरेको छ । मनाङ ट्रेड लिङ्कको लगानीमा २० मेगावाट क्षमताको तल्लो मोदीले निर्माण सुरु भएको नौ वर्षमा व्यावसायिक उत्पादन सुरु गरेको हो । विसं २०७४ असार भित्रै उत्पादन गर्ने भए पनि भूकम्प नाकाबन्दी, श्रमिकको आन्दोलन, उपकरणमा क्षति, मुआब्जा विवादलगायतका झन्झटले निर्धारित समयभन्दा पाँच वर्ष ढिला उत्पादन दिएको छ ।    गाउँपालिका आफैँले स्थानीयको विद्युत् शुल्क तिरिदिने      मोदी गाउँपालिकाको कार्यालयले मोदी खोलाबाट उत्पादित हुने विद्युत्बाट प्रत्येक वर्ष रु एक करोड ३० लाख रोयल्टी बुझ्ने गरेको छ । गाउँपालिकाले रोयल्टी बुझेबापत यस वर्षदेखि मोदी गाउँपालिकाभित्रका उपभोक्ताको मिटरमा जति युनिट महसुल उठेको भए पनि दामासाहीमा मासिक ३० युनिट मानेर गाउँपालिकाले रकम तिर्ने भएको छ ।       “पर्वत वितरण केन्द्रद्वारा मिटर जडान भएका ग्राहकको स्वीकृत लोड क्षमता जति भए पनि सम्पूर्ण ग्राहकको मासिक दामासाही रु ३० का दरले तिर्नेछौँ,” गाउँपालिकाका सूचना अधिकारी प्रविन पोख्रेलले भन्नुभयो, “गाउँपालिकामा झण्डै तीन हजार उपभोक्ताको मासिक न्यूनतम शुल्क रु ३० दरले मासिक रु ९० हजारमध्ये प्रत्येक तीन महिनाको एकमुष्ट रकम पर्वत विद्युत् वितरण केन्द्रको खातामा जम्मा गर्नेछौँ, वर्षमा करिब रु १२ लाख खर्च हुने अुनमान गरेका छौँ ।”       यता कुश्मा नगरपालिकाले पनि आफ्नो क्षेत्रभित्र रहेका विद्युत् आयोजनाबाट वार्षिक रु ३० देखि ३५ लाखको हाराहारीमा रोयल्टी बुझ्ने गरेको छ । १० मेगावाट क्षमताको तल्लो मोदी–१ जलविद्युत् आयोजना र मनाङ ट्रेड लिङ्कको लगानीमा २० मेगावाट क्षमताको तल्लो मोदीबाट नगरपालिकाले रोयल्टी बुझ्ने गरेको हो ।    निर्माणको अन्तिममा चरणका आयोजना     चौधरी समूहको लगानीमा १५।१ मेगावाट क्षमताको मध्यमोदी आयोजना निर्माणको अन्तिम तयारीमा रहेको छ । मध्यमोदी हाइड्रो पावर कम्पनीमार्फत विसं २०७२ मा आयोजना निर्माणको काम सुरु गरिएको थियो । करिब रु दुई अर्ब ८० करोड लागत अनुमान रहेको आयोजनाले विसं २०७५ मङ्सिरमा विद्युत् उत्पादन गरिसक्नुपर्ने थियो । कोरोना, भूकम्प, नाकाबन्दीलगायतका कारणले निर्धारित मिति भन्दाबढी समय खर्च भएको आयोजनाले जानकारी दिएको छ ।       नेपाल विद्युत् प्राधिकरणले वीरेठाँटीमा ४० मेगावाट क्षमताको माथिल्लो मोदी जलविद्युत् आयोजना र माथिल्लो मोदी जलविद्युत् ‘ए’ बाट १८ मेगावाट क्षमताको विद्युत् आयोजना निर्माण गरिने कुरा मोदी खोला जलविद्युत् केन्द्रका कर्मचारी प्रदीप सापकोटाले जानकारी दिनुभयो । छोटो दूरीमा बग्ने मोदी खोलाको पानी उपयोग गरेर निर्माण सम्पन्न भएका र निर्माणाधीन सबै आयोजनाको उत्पादन जोड्दा एक सय १७ दशमलव १ मेगावाट पुग्छ । 

  मुगु । मुगुको स्याउले बजार नपाउँदा किसानले घरकै शीतभण्डारणमा थुपारेर राख्न बाध्य भएका छन् । स्याउ किसान टक्कबहादुर शाही भन्नुभयो, “लगातारको अविरल वर्षाले सडक सञ्जाल अवरुद्ध भयो , सडक नखुलेपछि स्याउ भण्डारण गरिएर राखियो , अहिले स्याउले बजार नै पाएन ,  स्याउले बजार नपाउँदा कुहिन्छ कि भन्ने चिन्ता छ ।”      यस वर्ष स्याउको उत्पादन बढेसँगै यहाँका किसान निकै खुसी थिए । उहाँले भन्नुभयो, “छ वर्षदेखि स्याउ बेचेर घर खर्च धान्दै आएको छु ,  यसवर्ष स्याउ उत्पादन बढेको छ तर बजार पाउन समस्या परेको छ ।” स्थानीय सरकारले स्याउको बजारीकरणमा समन्वय गरिदिन उहाँले आग्रह समेत गर्नुभयो ।  

  दोधारा चाँदनी । महाकालीपारिको गाउँ भनेर चिनिने कञ्चनपुरको दोधारा चाँदनी नगरपालिकामा विकास निर्माणले गति लिएको छ ।   कुनै बेला टुकी बालेर जङ्गली जनावर र बाढीको त्रासमा रहेका यहाँका बासिन्दाले स्थानीयतह आएपछि यहाँ सरकार भएको महसुस गर्न पाएको बताउँछन् । विसं २०२१ देखि दोधारा चाँदनीमा बस्दै आउनुभएका ७० वर्षीय धीरबहादुर कठायतले विगतको तुलनामा अहिले धेरै विकास भएको बताउनुभयो । “उतिबेला न बिजुली थियो, न सडक नै महेन्द्रनगर जान पनि भारतको बाटो शारदा ब्यारेज भएर जानुपथ्र्यो”, उहाँले विगत सम्झिँदै भन्नुभयो, “बर्खामा बाढी, जङ्गली जनावर तथा कतिपय अवस्थामा डाकाहरू लुटपाट गर्न आउँने डर हुन्थ्यो ।”   उहाँले २०७४ को निर्वाचनपछि मात्रै दोधारा चाँदनीले बिजुली बत्ती देख्न पाएको बताउनुभयो । “यहाँका बडुवाल टोल र कुतियाकवर अन्धकारमा थिए”, उहाँले भन्नुभयो, “अहिले सबै बस्तीमा बिजुली पुगेको छ, सडकले छोएको छ ।” कञ्चनपुरको दोधारा चाँदनीलाई महेन्द्रनगर सदरमुकासँग जोड्न विसं २०६१ मा महाकाली नदीमा झोलुङ्गे पुल बनेपछि मात्रै दोधारा चाँदनी नेपालसँग जोडिएको हो ।   त्यसअघि दोधारा चाँदनी पुग्न भारतको बाटो भएर महेन्द्रनगर आउनुपर्र्ने बाध्यता रहेको थियो । दोधारा चाँदनी–३ बडुवाल टोलका मनि क्षेत्रीले पहिलाको तुलनामा अहिले धेरै सहज भएको बताउनुभयो ।“पहिला गाउँमा हात्ती पस्थे, भागौं भनेपनि उज्यालो थिएन”, उहाँले भन्नुभयो, “अहिले बिजुली बत्ती र सडक पुगेको छ यसले धेरै सहज भएको छ ।”   विसं २०२३ देखि यहाँ बसोबास गरिराख्नुभएका उहाँले स्थानीय सरकार आएपछि जोगबुढा नदीमा बनेको तटबन्धले बाढीको त्रास हटेको बताउनुभयो ।  “पहिले त यहाँ नेपाली पैसासमेत चल्दैन थियो कारोबार भारतीय पैसामा हुन्थ्यो”, उहाँले भन्नुभयो, “किनमेल औषधोपचार सबै भारतबाट हुने गथ्र्यो ।”   दोधारा चाँदनी नगरपालिका–४ का सदस्य गगनबहादुर सिंहले स्थानीय सरकार गठन भएपछि दोधारा चाँदनीमा विकासले फड्को मारेको बताउनुभयो । “विगतको तुलनामा दोधारा चाँदनीमा धेरै विकास भएको छ सडक,बिजुलीबत्तीलगायतका सुविधा स्थानीय सरकार आएपछि बनेका हुन्”, उहाँले भन्नुभयो, “दोधारा चाँदनीमा बन्ने भनेको सुक्खा बन्दरगाह बने यहाँको कायापलट हुन्छ ।”    महाकाली नदीमा चार लेनको पक्की पुल सञ्चालनमा आएपछि  दोधारा चाँदनीको मुहार फेरिएको छ । पुलले यहाँका बासिन्दालाई भारतीय बाटो भएर महेन्द्रनगर आउनुपर्ने बाध्यता हटेको छ भने यहाँको व्यापार व्यवसायसमेत फष्टाएको स्थानीय बताउँछन् ।    दोधारा चाँदनी नगरपालिका–३ का अध्यक्ष हरिसिंह धनाडीले महाकाली नदीमा बनेको मोटरेबल पुलले दोधाराको मुहार नै परिवर्तन गरिदिएको बताउनुभयो । “हामीलाई सर–सामान ल्याउन धेरै समस्या हुन्थ्यो शारदा ब्यारेजमा भारतीयले गेट नखोल्ने, घण्टौँ कुर्नुपर्ने बाध्यता थियो”, उहाँले भन्नुभयो, “महाकाली नदीमा बनेको पुलले दोधारावासीका सुखका दिन आएका छन् ।”   दोधारा चाँदनी नगरपालिकाले पनि पूर्वाधार विकासलाई मुख्य प्राथमिकतामा राखेको छ । नगरपालिकाले सबै वडालाई सडक सञ्जालले जोडेको छ । गत आर्थिक वर्षमा नगरपालिकाले दुई हजार दुई सय ९१ मिटर सडक कालोपत्रे गरेको छ भने नौ हजार चार सय ४० मिटर सडक ग्राभेल गरेको छ । नगरप्रमुख किशोर लिम्बूले पूर्वाधार विकासलाई नगरपालिकाले मुख्य प्राथमिकतामा राखेको बताउनुभयो । “सडक, शिक्षा स्वास्थ्य र कृषि नै हाम्रो प्रमुख प्राथमीकतामा छ”, उहाँले भन्नुभयो, “अहिले नयाँ बाटा खोल्ने र सडक कालोपत्र गर्ने काम भइरहेका छन् ।” उहाँले नगरपालिकाकालाई समृद्ध नगर बनाउन आफू प्रतिबद्ध भएर काम गरिरहेको बताउनुभयो ।   “नगरपालिकाको आन्तरिक आम्दानी न्यून छ, यहाँको बजेटले मात्रै यहाँको विकासका लागि पुग्दैन”, उहाँले भन्नुभयो, “प्रदेश र केन्द्र सरकारले पनि सहयोग गरेमात्रै यहाँको विकास गर्न सहज हुन्छ ।” उहाँले केन्द्र सरकार र प्रदेश सरकारसँग बजेट माग गरेको बताउनुभयो ।   कुल क्षेत्रफल ५६.८ वर्गकिलोमिटर फैलिएको यो नगरपालिकालाई टापुको बस्ती भनेर पनि चिनिन्छ । तीनतर्फ जोगबुढा नदी र एकातर्फ महाकाली नदीले घेरेको यो नगरपालिका भारतको उत्तराखण्ड र उत्तरप्रदेशसँग सीमा जोडिएको छ ।यहाँ मुख्यरूपमा मकै,धान,गहुँ,मसुर,तोरी,उखुखेती हुने गरेको छ । यहाँका अधिकांश मानिसको आयस्तर कम भएकाले रोजगारीका लागि भारत जाने गरेका छन् ।

  बागलुङ । अविरल वर्षापछि खसेको पहिराले ढोरपाटन नगरपालिका–७ स्थित लघुजलविद्युत् आयोजनाको कुलो बगाएको छ । कुलो बग्दा यहाँका तीन सय ५० परिवार बिजुलीबिहीन अवस्थामा छन् । भुजीखोला लघुजलविद्युत् आयोजना बन्द भएको छ ।   एक सय किलोवाट क्षमताको सो आयोजनाको कुलो बग्दा ढोरपाटन नगरपालिका–७ का तीन सय ५० परिवार बिजुलीबाट वञ्चित भएका छन् । अन्धकारमा बस्नुपर्दा उनीहरूको दैनिकी कष्टकर भएको छ । “बिजुली नभएपछि बालबालिकाले पढ्न लेख्न पाएका छैनन्, गृहकार्य  पनि अँध्यारो नहुँदै सकाउनु परेको छ”, ज्ञानोदय माविका प्रधानाध्यापक यामबहादुर कायतले भन्नुभयो, “मोबाइलसमेत चार्ज गर्न सकिएको छैन ।” चाडपर्वका बेला देश–विदेशमा बसेका आफन्तलाई सम्पर्क गर्नसमेत नसकिएको उहाँले गुनासो गर्नुभयो ।   ढोरपाटन नगरपालिकाको वडा नं ५, ६, ७, ८ र ९ मा अहिले पनि राष्ट्रिय प्रसारण लाइनको बिजुली पुगेको छैन । गाउँलेकै चन्दाका भरमा एक दशकअघि बनेको उक्त लघुविद्युत् आयोजनाका भरमा स्थानीयले कुटानी, पिसानी तथा विद्यालयमा कम्प्युटर कक्षा चलाएका थिए । “भत्के–बिग्रेको काम पनि चन्दा उठाएरै गरिरहेका थियौँ, अहिले त पहिरो खसेर बर्बादै बनायो”, नगरपालिकाका उपप्रमुख धनबहादुर कायतले भन्नुभयोे, “चाडपर्वमा बत्ती नभए कसरी खुसी हुने रु” कायतले स्थानीय युवाहरू परिचालन गरेर अस्थायीरूपमा पानी चलाउने प्रयास भएको बताउनुभयो ।   भुजीखोलाबाट निकालिएको बिजुलीको झण्डै २० मिटर कुलो पहिराले बगाएको छ । बगेको पहिरो तीन सय मिटर उचाइको छ । भिरमा गएर काम गर्न कठिन भएपछि स्थानीयले जस्तापाता र पाइपबाट पानी कटाएर कुलो चलाउने प्रयास गरिरहेका छन् । दिगो व्यवस्थापनका लागि भने स्थानीयले नगरपालिकासँग सहयोग मागेका छन् । वर्षात् नरोकिएकाले तत्काल दिगो व्यवस्थापन गर्न नसकिने अवस्था देखिएको उहाँले बताउनुभयो ।    “पहिरो अझै खस्नेजस्तो छ, मौसम ठिक भएपछि मात्रै बनाउने योेजना छ”, कायतले भन्नुभयो, “अस्थायीरूपमा पानी चलाउन पनि रु १० लाखभन्दा बढी खर्च हुने अवस्था छ ।” तीन वर्षअघि भुजीखोलाको बाढीले मुहान बगाएको थियो । मर्मत गरेर चलाएको कुलोको बीच भागमा खसेको पहिराले फेरि विद्युत् अवरुद्ध भएको हो ।

 टीकापुर ।  गत शनिबार गएको बाढीले कैलालीमा ठूलो क्षति भएको छ । बाढीका कारण मानवीय क्षति, धनजनको क्षतिमात्र नभई कृषि तथा पशुपालनतर्फ समेत ठूलो क्षति पुगेको छ । कैलालीको भजनी नगरपालिकामा व्यावसायिकरूपमा माछापालन गरिरहेका किसान पोखरीका सबै माछा बगेपछि मारमा परेका छन् ।    भजनीमा करिब ४० किसानले व्यावसायिकरूपमा माछापालन गरेका छन् । सबै किसानका पोखरीका माछा बाढीमा बगेका छन् । भजनीका दीपक चौधरीले पोखरीमा १० हजार माछा पाल्नुभएको थियो । माछा हालेको छ महिना भइसकेको थियो । माछा आधा किलोदेखि एक किलोसम्मका थिए । “माछा तयार भइसकेकाले दशैँमा बेच्ने तयारी थियो”, उहाँले भन्नुभयो, “आम्दानी लिने बेलामा बाढीले सखाप पार्यो, माछाका भुरामा लगानी, दानापानी, दैनिकको लगानी खेर गयो । यही व्यवसायले जीवन चलेको थियो, हामी त बर्बाद भयौँ ।”   चौधरीका माछासँगै बङ्गुरसमेत बगेका छन् । उहाँका बङ्गुरका १२ बच्चा र दुई माउ बाढीमा बगेका छन् । “कृषिकर्म गरेर जीवन चलाउन भने पनि बाँच्न सक्ने अवस्था रहेन”, उहाँले पीडा सुनाउनुभयो, “न धानखेती बाँकी रह्यो, पालेका माछा बगे, बङ्गुर पनि बगे, अब के गर्ने केही सोच्न सकिएको छैन ।”   बाढी आएपछि भजनी–८ थापापुरका पुरनकुमार चौधरीका पनि एक हजार छ सय माछा बगेका छन् । पुरनकुमारको पोखरीमा सात महिनाका माछा थिए । उहाँले पनि दशैँ–तिहारमा माछा बेच्ने तयारी गर्नुभएको थियो । “दशैँमा बेचेर आम्दानी लिने तयारी थियो, सबै बगेर गए”, उहाँले भन्नुभयो, “लाखौँको क्षति भयो ।”   भजनीकै सन्तोष शाहका पनि पाँच हजार माछा बगेका छन् । उहाँले रु ६० हजारका माछाका भुरामात्रै हाल्नुभएको थियो । उहाँको पोखरीमा आधा किलोसम्मका माछा भएका थिए । “माछा दशैँ–तिहारमा बजारमा पठाउने तयारीमा थियौँ, लगानी जति सबै भइसकेको थियो, उत्पादन बजार पठाउने र आम्दानी लिनेबेला ब्रजपात प¥यो”, सन्तोषले भन्नुभयो, “विपद्ले पनि किसानलाई बढी पीडा दिने रहेछ । न माछा रहे, फुलिरहेको धानखेती पनि रहेन, अब कसलाई के भन्नु रु”   भजनी नगरपालिकाका पशु शाखा प्रमुख हरिलाल जैसीले माछापालनतर्फ कति क्षति भयो भन्ने पूर्ण विवरण आउन समय लाग्ने बताउनुभयो । “अहिलेसम्म सात जना पोखरी किसानले पालिकामा निवेदन दिनुभएको छ”, उहाँले भन्नुभयो, “पालिकाभरि ४० भन्दा बढी पोखरीमा व्यावसायिकरूपमा माछापालनमा लाग्नुभएका किसान हुनुहुन्छ । सबैको क्षति भएको खबर छ”, उहाँले भन्नुभयो, “एउटै किसानले चार कठ्ठादेखि दुई बिघा जमिनसम्ममा माछा पाल्नुभएको छ ।”   बाढीले कैलालीमा ठूलै धनजनको क्षति गरेको छ । जिल्ला प्रशासन कार्यालय कैलालीको तथ्याङ्कअनुसार जिल्लामा ११ हजार तीन सय ९४ घरधुरी प्रभावित छन् । बाढीले बढी क्षति भएको भजनीमा सात हजार ७६ घरपरिवार प्रभावित छन् । भजनीमा तीन हजार ३२ घरधुरी विस्थापित छन् । विस्थापित भएकाहरू हुलाकी सडकमा बसिरहेका छन् । त्यस्तै जोशीपुर गाउँपालिका बाढी तथा डुबानबाट एक हजार दुई सय ३६ परिवार विस्थापित भएका छन् । टीकापुर नगरपालिकामा सात सय ५५ घरपरिवार प्रभावित भएको तथ्याङ्क छ । बाढीले टीकापुर नगरपालिकाका ५, ६, ७, ८, ९ नं वडा सबैभन्दा बढी प्रभावित भएका पालिकाले जनाएको छ ।   जानकी गाउँपालिकामा दुई सय परिवार, कैलारीमा एक सय ७५, लम्कीमा एक सय ४५, गोदावरीमा एक, धनगढीमा १४ घरपरिवार विस्थापित भएका छन् । बाढीबाट भएको क्षतिको सुदूरपश्चिम प्रदेश सरकारको आन्तरिक मामिला तथा कानुनमन्त्री डा रणबहादुर रावलले निरीक्षण गर्नुभएको छ । मन्त्रीले टीकापुर, भजनी, जोशीपुरलगायतका क्षेत्रमा निरीक्षण गर्नुभएको हो । वडा नं ६ लगायतका ठाउँमा राहत वितरणसमेत गर्नुभएको छ ।