मुस्ताङको लोमन्थाङ गाउँपालिका–५ का वडाध्यक्ष डुकके विष्टको ७५ वर्षको उमेरमा निधन भएको छ ।   लामो समयदेखि पेटसम्बन्धी समस्याबाट ग्रसित वडाध्यक्ष विष्टको उपचारका क्रममा काठमाडौँमा निधन भएको गाउँपा...

  बागलुङ । लामो समयदेखि समस्याका रुपमा रहेको बागलुङ बजारको ढललाई व्यवस्थापन गरिने भएको छ ।   यसअघि दुई वटा स्थानमा ढल व्यवस्थापन गर्ने योजना भए पनि लागत कम लाग्ने भएकाले एकै स्थानमा ढल व्यवस्थापन गर्न लागिएको खानेपानी तथा ढल व्यवस्थापन विभागको भनाइ छ । तीन वर्षअघि नगरपालिकाले बागलुङ नगरपालिका ४ को ढोडेनी र वडा नं १ को ससे गरी दुई स्थानमा ढल व्यवस्थापन गर्न सकिने सुझाव दिएको थियो ।  विभागका महानिर्देशक रमाकान्त दुवाडीको नेतृत्वको प्राविधिक टोलीले स्थलगत अनुगमनपछि कोठेखोलास्थित ससेमा ढल व्यवस्थापन गर्ने निर्णय गरेको थियो । ढल व्यवस्थापनका लागि २० रोपनी जमिन र एक अर्ब १५ करोड बजेट आवश्यक विभागको भनाइ छ ।  ढल व्यवस्थापनका लागि रामरेखादेखि बाल उद्यान हुँदै पाइपलाइनबाट ससेसम्म लैजाने विभागको योजना छ । यसका लागि सामूदायिक वनको जमिन उपयोग गर्नका लागि सहमति आवश्यक पर्ने वडा नं १ का अध्यक्ष जयबहादुर केसीले बताउनुभयो ।

   लेखनाथ । परमार्थनगर क्लबले  पोखरा २७ डाँडाको नाक स्थित श्रीकृष्ण प्रणामी वृन्दावन धाम तथा बाल आश्रममा सहयोग गरेको हो । क्लबले देउसी भैलो बाट उठेको रकमको बिस प्रतिशत रकम सामाजिक दायित्व अन्तर्गत आश्रममा आश्रित बालबालिकाका लागि सहयोग प्रदान गरेको हो । पोखरा २७ का वडाध्यक्ष पूर्णकुमार गुरुङले रु ५०००५ (पचाँस हजार पाँच) रुपैयाँ बराबरको चेक हस्तान्तरण गरेका थिए । गुरुङले देउसी भैलो बाट उठेको रकमको बिस प्रतिशत रकम आश्रममा सहयोग गर्नाले समाजमा पनि राम्रो सन्देश जाने कुरामा जोड दिएका थिए । देउसी भैलो खेलेर उठेको रकम फजुल खर्च गर्नुको सट्टा यसरी सहयोग गर्दा आश्रममा आश्रित बालबालिकाको समस्या समाधानमा महत्वपूर्ण रहने विचार कार्यक्रमका विशेष अथिति लेखनाथ उद्योग वाणिज्य संघका अध्यक्ष छत्रधर आत्रेयले बताएका थिए । आश्रमका अध्यक्ष श्री १०८ स्वामी विष्णु वशिष्ठ महाराजले क्लबले गरेको सहयोगप्रति आभार प्रकट गरेका थिए । सम्मान तथा सहयोग कार्यक्रममा देउसी भैलोमा रु. पाँच हजार भन्दा माथि सहयोग गर्ने सहयोग दाता तथा क्लबका आजिवन सदस्यहरुलाई  सम्मान गरिएको थियो । सोहि अवसरमा क्लब स्थापनाकाल देखि क्लबको हरेक गतिविधि मिडियाका माध्यम बाट समाजमा लैजान महत्वपूर्ण भुमिका निर्वाह गरेको भनि लेखनाथ पत्रकार मञ्चका उपाध्यक्ष, लेखनाथ खबर डट कमका प्रधान सम्पादक तथा रेडियो लेखनाथका समाचार प्रमुख सुमन जिसी लाई सम्मान समेत गरिएको क्लबका सल्लाहाकार बिकास लामिछानेले जानकारी दिएका छन् । क्लबकी कोषध्यक्ष विष्णुकुमारी गुरुङले आर्थिक आय व्यय प्रस्तुत गरेको कार्यक्रममा शुभकामना मन्तव्य समाजसेबी हरि त्रिपाठी, त्रिलोचन लामिछाने, राजनैतिक व्यक्तित्व सुर्यमणि लामिछाने, प्रदेश सभा सदस्यका उमेदवार बाबुराम थापा, लेखनाथ सामुदायिका सेवा केन्द्रका अध्यक्ष कृष्ण अधिकारी, आश्रमकी संचालिका कला गुरूङ लगाएतले बोलेका थिए । क्लबका अध्यक्ष मनोज गुरूङको अध्यक्षतामा भएको कार्यक्रममा उपाध्यक्ष बिजय बस्ताकोटीले स्वागत तथा क्लबका सचिब ई. आदर्श लामिछानेले कार्यक्रमको संचालन गरेका थिए ।  

  नयाँ दिल्ली । भारतीय क्रिकेट टोलीका पूर्व कप्तान विराट कोहली आज ३४ वर्षका भएका छन् । उनको जन्म ५ नोभेम्बर १९८८ मा दिल्लीमा भएको थियो ।    विराटको जन्मदिनमा उनकी पत्नी तथा भारतीय अभिनेत्री अनुष्का शर्माले उनलाई विशेष तरिकाले शुभकामना दिएकी छन् । अनुष्काले सामाजिक सञ्जालमा आफ्ना मायालु श्रीमानका केही तस्विर शेयर गर्दै उनलाई जन्मदिनको शुभकामना दिएकी छिन् । अनुष्काले आफ्नो आधिकारिक इन्स्टाग्राममा विराट कोहलीको गुफी तस्बिरहरूको श्रृंखला पोस्ट गरेकी छिन्। यी तस्बिरमा विराट कोहलीको अनुहारको भाव हेर्न लायक छ । तस्बिर पोस्ट गर्दै अभिनेत्रीले क्याप्सनमा लेखेकी छिन्, ‘तपाईको जन्मदिन हो मेरो माया त्यसैले यो पोस्टको लागि मैले तपाईको उत्कृष्ट  पोजका तस्विरहरू रोजेकी छु । हरेक अवस्था, रूप र बाटोमा माया गर्छु। ३४ वर्षीय विराट कोहली हालै पाकिस्तानसँगको खेलपछि लगातार चर्चामा छन् । टी–२० विश्वकपमा पाकिस्तानविरुद्धको खेलमा उनले आफ्नो शानदार इनिङ्सको बलमा भारतलाई जित दिलाएका थिए । विश्वकपमा उनको प्रदर्शनको निकै तारिफ भइरहेको छ ।     बंगलादेशविरुद्धको खेलमा विराट पुरुष टी–२० विश्वकपमा सर्वाधिक रन बनाउने खेलाडी बनेका छन् । यसअघि श्रीलंकाका क्रिकेटर महेला जयवर्धनेले १०१६ रन बनाएका थिए भने कोहलीले १०६५ रन बनाएका छन्। एजेन्सी। 

  डोटी । मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको निर्वाचनलाई लक्षित गरी यहाँ मदिरा बिक्री वितरणमा रोक लगाइएको छ ।      निर्वाचनलाई स्वच्छ, निष्पक्ष, भएरहित एवं शान्तिपूर्ण वातावरणमा सम्पन्न गर्न जिल्लामा मदिरा ओसारपसार र बिक्री वितरण निषेध गरिएको डोटीका प्रमुख जिल्ला अधिकारी कल्पना श्रेष्ठले बताउनुभयो ।  शुक्रबार जिल्ला प्रशासन कार्यालय डोटीका प्रशासकीय अधिकृत दीपा जोशीले जारी गर्नुभएको सूचनामा मदिरा ओसारपसार, बिक्री वितरण र सेवन निषेध गरिएको छ । “कात्तिक १९ गते राति १२ बजेदेखि पहिलो हुने निर्वाचित प्रणालीबमोजिम अन्तिम परिणाम घोषणा नभएसम्म मदिराको ओसारपसार, बिक्री वितरण र सेवनमा निषेध गरिएको छ”, सूचनामा भनिएको छ ।  आसन्न निर्वाचनलाई भयरहित वातावरणमा सम्पन्न गर्न मतदाता, राजनीतिक दल जिल्लावासी, सरोकारवाला निकायले आआफ्नो क्षेत्रबाट सबैले सहयोग गर्नुपर्ने प्रजिअ श्रेष्ठको भनाइ छ ।

  गलेश्वर । म्याग्दीमा आसन्न निर्वाचन निकै रोचक र पेचिलो हुने सङ्केत देखिएको छ । मङ्सिर ४ गते हुने निर्वाचनका लागि सत्तारुढ गठबन्धनका तर्फबाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार नेपाली कांग्रेसका जिल्ला सभापति खमबहादुर गर्बुजा (खम्वीर) र नेकपा (एमाले)का तर्फबाट पूर्वपार्टी अध्यक्ष हरिकृष्ण श्रेष्ठबीच प्रतिस्पर्धा हुने देखिएकाले यस पटकको निर्वाचन पेचिलो बन्ने विश्लेषण हुन थालेको हो ।  चुनावका लागि जिल्लामा उम्मेदवारहरु एक अर्काको भोट बैंक भएका क्षेत्रलाई कब्जा गर्ने रणनीतिसहित चुनावी मैदानमा होमिएका छन् । दुवै पक्षका उम्मेदवारले आफ्नो जित निश्चित भएको जिकिर गर्दै आएका छन् । सत्ता गठबन्धनतर्फका उम्मेदवार गर्बुजाले म्याग्दीमा विसं २०५६ यता कम्युनिष्टले एकक्षत्र राज गर्दै आएको र कम्युनिष्टको यो किल्ला यस पटकको निर्वाचनबाट ढल्ने बताउनुभएको छ भने एमालेका उम्मेदवार श्रेष्ठले गठबन्धनकै समर्थकको भोटले आफूले चुनाव जितेर देखाउने चुनौती गर्बुजालगायत गठबन्धनका नेतालाई दिनुभएको छ । यतिखेर दुवै पक्षका उम्मेदवार गाउँगाउँमा पुगेर आमसभा गरिरहेका छन् मतदाता रिझाउन उम्मेदवारले कुनै कसर बाँकी राखेका छैनन् । विभिन्न पार्टीका र स्वतन्त्र हैसियतमा पनि प्रतिनिधिसभा र प्रदेशसभाको सदस्य पदका लागि उम्मेदवारी दिइएकाले किसानका खेतबारीमा नै पुगेर काम सघाउँदै मतदाता रिझाएर आफ्नो पक्षमा मत दिन उम्मेदवारहरुले आग्रह गरिरहेका छन् तर जिल्लाका पाका मतदाता यस पटकको निर्वाचनमा निकै सोच विचार गरेर मात्र भोट खसाल्ने मनस्थितिमा पुगेका छन् ।      कुनै पार्टीको ओतमा नओतिइकन राम्रो र इमान्दार उम्मेदवारलाई ठम्याएर मात्र मत दिने मनस्थितिमा रहेको उनीहरुको भनाइ छ । जिल्लाका छवटै स्थानीयतहका प्रतिनिधिमूलक पाका मतदातासँग ‘यसपटक कस्तो उम्मेदवारलाई भोट दिँदै हुनुहुन्छ ?’ भन्ने  जिज्ञासामा प्रायः सबैले एउटै आशयको जवाफ ‘दिए पर्ख र हेर’  । ‘पर्ख र हेर’ को मनस्थितिमा पाका मतदाता यहाँका मतदातामा कुन पार्टीको कुन उम्मेदवारलाई भोट दिने भन्नेबारे अझै खुल्न सकेका छैनन् । ज्येष्ठ, दलित र महिला मतदाता भने अहिले ‘पर्ख र हेर’को मनस्थितिमा रहेको पाइएको छ  । इमान्दार र जनताका लागि काम गर्नसक्ने उम्मेदवारको पक्षमा मत खसाल्न पाका मतदाता इच्छुक देखिएका छन् । रघुगङ्गा गाउँपालिका–६ ठाडाखानीका ६९ वर्षीय रणबहादुर छन्त्यालले पञ्चायतकालदेखि गणतन्त्रसम्म पटकपटक मतदान गरे पनि आशा गरेजस्तो उपलब्धि प्राप्त नभएको बताउनुभयो ।  “चुनावमा भोट हालेर नेतालाई त जितायौँ तर ती नेताले हाम्रो मन जित्ने गरी कामै गरेनन्”, चुनावअघि र चुनाव जितेपछि नेताको बोली र व्यवहारमा परिवर्तन आउने गरेको उल्लेख गर्दै उहाँले भन्नुभयो, “भोट नदिऊ भने पनि बल्लबल्ल आउने मौका गुमाउनुभएन, दिऊ भने पनि मनले खाएको योग्य व्यक्ति कोही हुँदैनन् । त्यसैले कसलाई भोट दिने भनेर अहिलेसम्म निधो गर्नै सकिएको छैन ।” त्यसैगरी बेनी नगरपालिका–२ ज्यामरुककोट फापरखेतका ६६ वर्षीय न्यून दृष्टि भएका आइतबहादुर दर्जीले चुनावमा जसलाई भोट दिए पनि आफूजस्ता गरिब र दृष्टिविहीनका लागि कसैले पनि सहयोग  नगरेको बताउनुभयो । “मैले आजसम्म धेरै जनालाई भोट दिएँ तर चुनावपछि कसैले पनि तेरो अवस्था के छ ? के खाएर बाँचेको छस् भनेर सोध्न आएनन्”, पर्ती जग्गामा सानो छाप्रो बनाएर बस्दै आउनुभएका उहाँले भन्नुभयो, “देश विदेशमा रहेका केही मनकारी व्यक्तिको सहयोगले आजसम्म बाँचेको छु, नेताको आशा गरेर बसेको भए उहिल्यै मरिसक्थेँ ।” दर्जीले आउँदै गरेको निर्वाचनका लागि आजका दिनसम्म कोही पनि मलाई भोट देऊ भनेर आफूसँग नआएका बताउँदै गाउँका जान्नेसुन्ने र भद्रभलाद्मीले जसलाई भोट देऊ भन्छ्न् उसैलाई दिने बताउनुभयो । त्यसैगरी मालिका गाउँपालिका–५ देवीस्थानकी ५९ वर्षीया टकदेवी विकले चुनाव र चाडपर्व आफूलाई कहिल्यै पनि नआइदिए हुन्थ्योजस्तो लाग्ने गरेको गुनासो गर्नुुभयो । उहाँले भन्नुभयो, “मलाई त चुनाव र चाडपर्व भन्यो की रिस मात्रै उठ्छ, चुनावका बलेलामा नेता आउँछन्, मीठामीठा कुरा सुनाउँछन्, जितेर गए भने हामीलाई सधैँ निरासमात्र बनाउँछन्, चाडपर्व आउँदा पनि अरु रमाउँछन्, हामीलाई साँझको गुजारा कसरी चलाउने भन्ने पिरलो हुन्छ ।” मङ्सिर ४ गते हुने चुनावमा कसलाई भोट दिने भन्ने आफूलाई अहिलेसम्म थाहा नभएको विकले बताउनुभयो । यसैगरी मङ्गला गाउँपालिका–३ वरङ्जाका ५३ वर्षीय खगेश्वर सापकोटाले अहिलेको चुनावमा यो पार्टी र त्यो पार्टी नभनी इमान्दार र ‘भिजनेवल’ उम्मेदवारलाई हेरेर भोट दिने बताउनुभयो । “अहिलेसम्म ठ्याक्क यसैलाई दिन्छु भनेर निधो गरिसकेको छैन तर पार्टी नहेरिकन अलि राम्रो र इमान्दार उम्मेदवारलाई भोट दिने मनस्थितिमा हामी छौँ”, उहाँले भन्नुभयो । सापकोटाले सबै पार्टीका उम्मेदवारको प्रतिबद्धतापत्र र पार्टीका घोषणापत्र पढेर, उम्मेदवारसँग प्रत्यक्ष कुराकानी गरेर र उनीहरुको क्षमता बुझेर मात्र अहिलेको निर्वाचनमा भोट दिने बताउनुभयो । पश्चिम म्याग्दीको धौलागिरि गाउँपालिका–३ मुनाका ४८ वर्षीय मनोज पुनमगरले यसअघिका निर्वाचनमा भाग लिएका उम्मेदवारले विभिन्न आश्वासन बाँडे पनि जितेर गएकाले वाचा गरेअनुसारको काम नगरेको गुनासो गर्नुभयो । त्यस्तै उत्तरी म्याग्दीको अन्नपूर्ण गाउँपालिका–३ दानाकी रमा वराइलीले उम्मेदवारले गुलियो आश्वासन बाँड्नुभन्दा पनि आफूले गर्नसक्ने काममा मात्र मतदातालाई आश्वस्तपार्नुपर्ने बताउनुभयो ।जितेर जानेले जनताको मन बुझेर आ–आफ्नो क्षेत्रको विकास गर्नुपर्नेमा जोड दिँदै उहाँले  मत भने कसलाई दिने भनेर अझै निक्र्योल गरिनसकेको बताउनुभयो । प्रतिनिधिसभामा एक र प्रदेशसभामा दुई क्षेत्र रहेको म्याग्दीमा तीन पदका लागि १९ जना चुनावी मैदानमा छन् । प्रतिनिधिसभामा तीन जना स्वतन्त्रसहित नौ जना, प्रदेशसभा क्षेत्र ९क० र ९ख० मा पाँच÷पाँच जना उम्मेदवार छन् । विसं २०५६ मा कांग्रेस, २०६४ मा माओवादी, २०७० र २०७४ मा एमालेले म्याग्दीमा प्रतिनिधिसभा सदस्य निर्वाचन जितेका थिए । प्रजातन्त्र पुनःस्थापनापछि २०५६ अघिको संसदीय चुनाव पनि एमालेले जितेको थियो । विसं २०७४ मा एकप्रदेशसभा माओवादी र अर्कोमा एमालेले जितेको थियो । पाँच वर्षअघिको संसदीय चुनावमा एमाले–माओवादी र कांग्रेस–राप्रपाले तालमेल गरेका थिए । गत स्थानीयको तह निर्वाचनमा एमालेले चार वटा पालिका प्रमुख, तीन उपप्रमुख, २२ वडा, कांग्रेसले दुई अध्यक्ष, एक उपाध्यक्षसहित १७ वडा, माओवादीले दुई उपप्रमुख र छ वटा वडा जितेका थिए । स्थानीय तहको चुनावमा एमालेका वडा अध्यक्षका उम्मेदवारले २३ हजार ९०, कांग्रेसले १९ हजार आठ  सय ७० र माओवादीले आठ हजार पाँच सय ९२ मत ल्याएका थिए । छ वटा स्थानीय तह रहेको म्याग्दीमा ८२ वटा मतदानस्थल र एक सय १९ वटा मतदान केन्द्र छन् । बेनी नगरपालिका, रघुगङ्गा र अन्नपूर्ण गाउँपालिकालाई समेटेको ४९ मतदानस्थलमा ६८ वटा केन्द्र रहेको छ भने प्रदेशसभा क्षेत्र ९क० मा ४८ हजार चार सय ७२, मङ्गला, मालिका र धौलागिरि गाउँपालिका समावेश ३३ स्थलमा ५१ केन्द्र रहेको छ । प्रदेशसभा क्षेत्र ९ख० मा ३७ हजार छ सय ४८ गरी जिल्लाभरि जम्मा ८६ हजार एक सय २० जना मतदाता छन् ।  

  गलकोट । दुई वर्षअघिसम्म पानीको लागि दुई घण्टा समय छुट्टाउने बागलुङको काठेखोला गाउँपालिका–३ धम्जाका भेषकुमारी भण्डारीको अहिले समय बचत हुन थालेको छ ।  बिहानै कुँवाको पानीलाई पाइपमार्फत जोडेर गाउँमा ल्याएर पानी थाप्ने उहाँको अहिले आँगनमै २४सैँ घण्टा पानी आउने धारो छ । भेषकुमारीले जीवनमा खानेपानीको ‘एक घर एक धारा’ले दैनिक जीवनमै परिवर्तन ल्याएकोे बताउनुभयो । धम्जाका चार गाउँको  तीन सय घरमा खानेपानीको धारा पुगेपछि त्यहाँका बासिन्दमा जीवन यापनमा सुधार भएको हो ।  “बिहानै उठेपछि पानीको जोहोमै लाग्नुपर्दथ्यो, खानेपानीको अवस्था लथालिङ्ग थियो, कुँवाको पानी पाइपबाट ल्याएर खानुपर्ने अवस्था थियो अहिले एक घर एक धाराले परिवर्तन ल्याइदिएको छ”, भण्डारीले भन्नुभयो, “अहिले आँगनमा नै पानीको धारो छ, आवश्यक पर्दा प्रयोग गरे भैगो, समयको बचत हुँदा खेतीपाती र बाख्रा भैँसीलाई समय दिन थालिएको छ ।” पछिल्लो पाँच वर्षयता गण्डकी प्रदेशको क्रमागत योजनाअन्तर्गत धम्जाका माझकटेरा, द्वारा, ओख्ले, असौजेको केही भागमा गरी तीन सय खानेपानीका धारा जडान गरिएको छ । यस्तै खानेपानीको चरम समस्या रहेको धम्जा गाउँ र सायकेटरा गाउँमा खानेपानीका लागि एक घर एक धारा निर्माण गर्न गण्डकी प्रदेश सरकारबाट यो वर्ष ठेक्का प्रक्रियामा जाने गरी काम अघि बढाइएको काठेखोला गाउँपालिका–३का वडाध्यक्ष कुलबहादुर विकले बताउनुभयो ।  खानेपानीको समस्या र सकस बेहोर्न बाध्य धम्जाका तीन सय घरधुरीमा खानेपानीको पहुँच पुगेपछि विकासको महसुस भएको स्थानीय रिमाकुमारी थापाको भनाइ थियोे ।  खानेपानीको समस्या झेल्दै आएका स्थानीयवासी घरमै धारा आए पछि दङ्ग परेका छन् । पैँतीस वर्षअघि मात्रै खानेपानी आयोजना सञ्चालन भएर सामुदायिक धारा निर्माण गरिएको यस गाउँमा त्यसयता खानेपानीको दुःख झेल्नुपर्ने अवस्था रहेको थियो ।  कतिपयलाई कुँवाको भर र कतिलाई सामुदायिक धारामा घण्टौँ लाइन लाग्नुपर्ने अवस्था रहेकामा  खानेपानी आयोजना सफल भएपछि सहज भएको धम्जा खानेपानी तथा सरसफाइ उपभोक्ता समितिका अध्यक्ष चन्द्र भण्डारीले जानकारी दिनुभयो । उक्त आयोजनाअन्तर्गत १० उपआयोजनामार्फत खानेपानी वितरण गरिएको छ ।  “खानेपानीको निकै दुःख रहेको धम्जामा अहिले सहज भएको छ, साविकका दुई गाउँमा मात्रै अहिले खानेपानीका लागि प्रक्रियामा छ”, उहाँले भन्नुभयो, “विभिन्न खानेपानीको मुहानबाट पानीलाई १५ वटा खानेपानीका विभिन्न क्षमताका ट्याङ्की निर्माण गरी घरघरमा खानेपानीका धारा पुर्याइएको हो, अहिले खानेपानीको धारा घरमै पुगेका जनताले आफ्नो दिनचर्या फेरिएको बताए ।” धम्जामा रु सात करोडको लागतमा तीन सय घरमा खानेपानीको धारा पुर्याएको खानेपानी तथा सरसफाइ डिभिजन कार्यालयका सूचना अधिकारी ईश्वरीप्रसाद शर्माले जानकारी दिनुभयो । पानी सङ्कलन गर्न पाँच हजारदेखि ३० हजार लिटर क्षमताको ट्याङ्की, आठ किलोमिटर लामो मुख्य पाइप लाइन तथा २५ किलोमिटर लामो  वितरण लाइनमार्फत घरघरमा खानेपानी पुर्याइएको छ ।  भएका मुहान सुक्दै जाने, मर्मत नहुने लगातारका समस्याका कारण धम्जामा खानेपानीको चरम सङ्कट रहँदै आएकामा विगत दुई वर्षयता एक घर एक धारा निर्माण भएसँगै सहज भएको हो । धम्जाको शिरमा रहेको ढङ्डुले, मथे, आरपानी, बिसौनालगायत १५ मूललाई विभिन्न ट्याङ्कीमा जम्मा गरेर खानेपानी वितरण गरिएको छ । मिटर जडित धाराका कारण खानेपानी खेर जाने सम्भावना न्यून रहेको स्थानीयवासी शिव भण्डारीले बताउनुभयो ।  “खानेपानीको दुःख टर्यो, अहिले पानीका लागि समय व्यवस्थापन गर्न आवश्यक छैन”, उहाँले भन्नुभयो, “खानेपानीको धारमा मिटर जडान गरिएकाले पानीको सही प्रयोग भएको छ ।” 

  ढोरपाटन् । भौगोलिक विकटताका कारण पछाडी परेको तमानखोला गाउँपालिकाका नागरिक पाँच वर्ष अगाडिसम्म बिरामीलाई डोला र ढोकोमा बोकेर अस्पताल पुर्याउँथे ।      गाउँमा सामान्य उपचारका लागि स्वास्थ्य संस्था थिएनन् । बाटोघाटो पनि व्यवस्थित नहुँदा गाडी पनि चल्दैनथे । सडक सञ्जालले नजोडिएको गाउँमा एम्बुलेन्स चल्ने त झन् कुरै भएन ।  बिरामी अस्पताल पुर्याउन पनि मुस्किल थियो । स्थानीय सरकार आएपछि तमानखोलामा गाउँ–गाउँमा स्वास्थ्य संस्था स्थापना र सडक पुग्यो । गाउँमा सडक स्वास्थ्य संस्था स्थापना र मोटरबाटो नपुग्दा डोला र ढोकोमा बिरामी बोक्नुपर्ने स्थानीयवासीको बाध्यता अब हट्ने भएको छ । गाउँपालिकाले नागरिकको सहजताका लागि एम्बुलेन्स सेवा सञ्चालनमा ल्याएको छ । गाउँमा एम्बुलेन्स आएपछि वर्षौंदेखि समस्या भोग्दै आएका स्थानीयवासी हर्षित छन् । एम्बुलेन्सले डोला र ढोकोमा बिरामी बोक्नुपर्ने अवस्थाबाट छुटकरा पाउनेमा उनीहरु विश्वस्त भएका हुन् ।  स्थानीयवासी प्रकाश घर्तीमगर भन्नुहुन्छ, “गाउँपालिकाले एम्बुलेन्स ल्याएको देख्दा निकै खुसी लागेको छ, अब बिरामी हुँदा टाढा जानुपरे पनि समस्या हुने भएन, अहिले त गाउँमा पनि स्वास्थ्य संस्था खुलेका छन्, पहिलेको जस्तो सामान्य चोटपटक लाग्यो भने बुर्तिबाङ पुग्नुुपर्दैन, उतिबेला अहिलेको जस्तो सुविधा थिएन, स्थानीय सरकारले राम्रो काम गर्यो, बाटो ल्यायो, पहिले त बिरामी परे ढोकोमा बोकेर अस्पताल पुर्याउनु र्पथ्यो, अहिले त्यस्तो समस्या छैन ।” गाउँमा स्वास्थ्य संस्था स्थापना भएपछि उपचारका लागि निकै सहज भएको छ भन्दै उहाँ स्वास्थ्यमा ठूलै समस्या नआएसम्म टाढा जानुपर्ने अवस्था नभएको बताउनुहुन्छ । पहिले गाउँमा स्वास्थ्य संस्था नहुँदा समयमा उपचार नपाउँदै धेरैले ज्यान गुमाउनुपरेको नमिठो अनुभव व्यहोर्नुपरेको थियो तर  एम्बुलेन्स सञ्चालनमा आएपछि बिरामीलाई समयमै अस्पताल पुर्याउन सकिने प्रकाश बताउनुहुन्छ । उहाँ भन्नुहुन्छ, “अहिले बिमारीको उपचार गाउँमै हुन्छ, सिकिस्त र जटिल नभएसम्म टाढा जानुपर्दैन यहीँ उपचार हुन्छ, यहाँ उपचार हुन नसके मात्रै बुर्तिबाङ जानुपर्छ, पहिलेको जस्तो ढोकोमा बोकेर लैजान पर्दैन, पहिले त धेरैको समयमै उपचार पाउन नसक्दा अकालमै मृत्यु भयो, अहिले विकास भएको अनुभूति गरेका छौँ, त्यस्तो अवस्था छैन ।” स्थानीयवासी नरबहादुर गोतामेल एम्बुलेन्स सञ्चालनपछि ग्रामीण क्षेत्रका नागरिकले सहज सेवा पाउने बताउनुहुन्छ  । अहिलेसम्म आफूहरुले गाडीमा बिरामीलाई अस्पताल पु¥याउने गरेकामा  एम्बुलेन्स सेवाले राहत मिल्ने उल्लेख गर्दै  उहाँ भनेको समयमा गाडी नपाइने र पाइए पनि महँगो भाडा तिर्नुपर्ने रहेकामा  अब स्थानीयवासीले बिरामी बोकेर अस्पताल पु¥याउनु समस्या नहुने बताउनुहुन्छ । “गाउँमा अहिले गाडी त चल्छ तर भनेको समयमा पाइँदैन, पहिले–पहिले बोकेरै अस्पताल पुर्याइन्थ्यो, गाडी चल्न थालेपछि त्यसैमा लैजान थाल्र्र्यौं, अब एम्बुलेन्स आयो, सजिलो हुने आशा छ”, नरबहादुर  भन्नुहुन्छ, “गाउँपालिकाले सबै नागरिकको समस्या बुझेछ, स्वास्थ्य संस्था नभएको ठाउँमा स्वास्थ्य संस्था स्थापना गर्यो, एम्बुलेन्स पनि ल्यायो, थप व्यवस्थित पनि बनायो अब उपचारका लागि बाहिर जानुपर्ने भएन ।” अघिल्लो आर्थिक वर्षमा एम्बुुलेन्स सेवा सञ्चालन गर्ने योजना बनाइएको र विभिन्न प्रक्रिया पूरा गरेर अहिले ल्याइएको गाउँपालिकाका स्वास्थ्य शाखा संयोजक तिलक छन्त्याल जानकारी दिनुहुन्छ । तमानखोलावासीलाई सहज र सरल स्वास्थ्य सेवाको पहुँचमा पुर्याउने उद्देश्यले रु १९ लाख लागतको लागतमा गाउँपालिकाले एम्बुलेन्स खरिद गरेको उहाँको भनाइ छ ।  गाउँपालिकाका अध्यक्ष जोकलाल बुढामगर आफूहरुले स्वास्थ्यलाई प्राथमिकतामा राखेर काम गरेको र  स्वास्थ्य संस्था  गाउँ–गाउँमा संस्था स्थापनापछि एम्बुलेन्स सञ्चालनमा ल्याइएको जानकारी दिनुहुन्छ  । आफूले अघिल्लो कार्यकालमा नागरिकलाई पायक पर्ने स्थानमा स्वास्थ्य संस्था स्थापना गर्ने र एम्बुलेन्स सञ्चालन गर्ने योजना बनाएअनुसार अहिले एम्बुलेन्स ल्याइएको उहाँ बताउनुहुन्छ । “हाम्रो पहिलो प्राथमिकता नागरिकलाई सहज स्वास्थ्य सेवा उपलब्ध गराउनु हो, नागरिकको जीवन रक्षा गर्नु हो, सोहीअनुसार हामीले अघिल्लो कार्यकालमा गाउँपालिकाको विभिन्न वडामा स्वास्थ्य संस्था सञ्चालनमा ल्यायौँ, गत वर्ष एम्बुलेन्स सञ्चालन गर्ने निर्णय गरेका थियौँ, सोहीअनुसार अहिले पालिकामा एम्बुलेन्स आएको छ, अब यहाँका नागरिकले महँगो भाडा तिरेर गाडीमा बिरामीलाई अस्पताल पुर्याउने अवस्था अन्त्य भएको छ”, अध्यक्ष बुढामगर भन्नुहुन्छ  । आम नागरिकलाई सहजरुपमा गुणस्तरीय स्वास्थ्य सेवा दिनका लागि पालिकाले विभिन्न स्थानमा स्वास्थ्य परामर्श केन्द्र र सामुदायिक स्वास्थ्य एकाइ सञ्चालन गरेको र  अब कोही पनि नागरिक सामान्य उपचारका लागि घण्टौँ लगाएर स्वास्थ्य संस्था पुग्नुपर्ने अवस्था नरहेको उहाँ बताउनुहुन्छ ।  गाउँपालिकाले वडा नम्बर ६ को नर्जाखानी, नम्बर ४ को लाम्मेला र वडा नम्बर २ को बोङ्खानीमा सामुदायिक स्वास्थ्य एकाइ सञ्चालन गरेकोे र वडा नम्बर १ को सम्मर, वडा नम्बर २ को सिल्गुम र वडा नम्बर ५ को थास्पुरीमा प्राथमिक स्वास्थ्य परामर्श केन्द्र सञ्चालन गरिएको छ । 

  तनहुँ । चिसो मौसम सुरु हुँदा पनि तनहुँमा डेङ्गुको सङ्क्रमण बढ्दो क्रममा छ । डेङ्गु सङ्क्रमितको सङ्ख्या बढेपछि सदरमुकामस्थित अस्पतालहरुमा  सङ्क्रमितको भिड लागेको छ ।  कात्तिकमा मात्रै ८८ जनामा सङ्क्रमण देखिएको दमौली अस्पतालका प्रमुख डा दिवस ढकालले जानकारी दिनुभयो । उहाँका अनुसार २१५ जनाको नमूना परीक्षणमा सबैमा डेङ्गु सङ्क्रमण देखिएको हो ।  जिल्लामा भदौको अन्तिम सातादेखि डेङ्गुको सङ्क्रमण फैलिएको थियो भने असोजमा मात्रै एक सय एक जनामा सङ्क्रमण पुष्टि भएको डा ढकालले बताउनुभयो । डेङ्गुको सङ्क्रमण हुँदा उच्च ज्वरो आउने, जोर्नी र मांसपेशी दुख्ने, आँखाको गेडी र टाउको दुख्ने जस्ता लक्षण देखिने उहाँको भनाइ छ । डेङ्गुको सङ्क्रमण बढ्दै गएपछि नियन्त्रणको प्रयास भइरहेको स्वास्थ्य कार्यालय तनहुँका प्रमुख शङ्करबाबु अधिकारीले जानकारी दिनुभयो । डेङ्गुबाट बच्न जिल्लाका १० वटै स्थानीय तहले लामखुट्टेको बासस्थान मास्ने, सरसफाई लगायतको सचेतनात्मक कार्यक्रम समेत सञ्चालन भइरहेको अधिकारीले बताउनुभयो ।  डेङ्गु लामखुट्टेको टोकाइबाट सर्ने भएकाले आफ्नो घर वरिपरी पानी जम्न नदिने, सफा राख्न स्वास्थ्य कार्यालयले सबैसँग आग्रह गरेको छ । साथै डेङ्गुसँग मिल्दाजुल्दा लक्षण देखिने बित्तिकै चेक जाँच गराउन कार्यालयले अनुरोध गरेको छ ।  “रोग नियन्त्रण, न्यूनिकरण र रोकथामका लागि लामखुट्टेले फूल पार्ने ठाउँहरु खोजौं र नष्ट गरौं भन्ने नारा सहित अभियान सञ्चालन गरिएको छ,” अधिकारीले भन्नुभयो, “लामखुट्टेको बासस्थान नष्ट पार्नु नै सबैभन्दा प्रमुख रोकथामको उपाय हो ।” एडिस एजिप्टाई जातको पोथी लामखुट्टेको टोकाइबाट मानिसमा डेङ्गु सङ्क्रमण हुने चिकित्सकहरू बताउँछन् । एडिस लामखुट्टेले मानिसलाई दिउँसो मात्र टोक्छ ।

  काठमाडौं । शुक्रबारबाट फिल्म ‘लाखे’ प्रदर्शनरत छ । यसमा सौगात मल्ल, अनुप विक्रम शाही, आर्यन अधिकारी, सुशील सिटौला, प्रशान्त ताम्राकार, रोहित रुम्बा, अर्पण थापा, सिस्टम भण्डारी, बर्षा राउत लगायतका कलाकारहरूले अभिनय गर्नुभएको छ ।        छायाङ्कन र द्वन्द्वको पक्षबाट प्रशंसा बटुलिरहेको फिल्मलाई सम्राट बस्नेतले निर्देशन गर्नुभएको हो । सिजन अर्यालले तयार गर्नुभएको कथा बदलाको भावमा छ ।      समीर महर्जन (सौगात) एक बैंकमा म्यानेजर हुँदा बैंकिङ कसुरमा फसाइन्छ । त्यसले उहाँको श्रीमती सिमा (वर्षा) र छोरी सिमरन (सिस्टम)सँग अलग बनाउँछ । जेलमा समीरको भेट रकी (आर्यन) र मेटल (अनुप)सँग हुन्छ । त्यहीँबाट बैंक लुटेर आफूलाई फसाइएको बदला लिने योजना समीरले बनाउनुहुन्छ । यी दुईसँगै उहाँले ह्याकर प्रिन्स (सुशील) र अप्पा (रोहित)सँग बैंक लुटेर त्यहाँको पैसा एक जङ्गलमा लगेर काठमा लुकाउनु हुन्छ ।  नेपाल प्रहरीले यो अपराधी समाउन नसकेपछि सीआईबीका मनोज भण्डारी (अर्पण)लाई केस आउँछ । जनक अग्रवाल (प्रशान्त) को बैंकबाट लुटेको पैसा अचानक राखिएको ठाउँबाट हराउँछ । साथै, अप्पा पनि गायब भएपछि समीरले बुनेको योजनामा विभिन्न कठिनाइ आउँछ ।      के पैसा मनोजले लुकाउनुभयो ? उहाँ जनककै सहयोगी हो ? वा समीरले नै नयाँ योजना बनाउनु भएको हो ? लाखेसँग फिल्मको कथा कसरी जोडिएको छ ?यी सब प्रश्नको जवाफ फिल्म हेर्दा नै पाइन्छ ।       विशेषतः फिल्मको क्लाइमेक्स चर्चा भएको छ । हिमाली सुन्दरताको क्लाइमेक्स मनोरन्जक रहेको अभिनेता विनय श्रेष्ठले बताउनुभयो । “फिल्म मेकिङमा निकै मेहनत गरिएको छ । सबै आ(आफ्नो भूमिकामा फिट छन”, विशेष शोमा फिल्म हेर्न आएका अभिनेता श्रेष्ठले भन्नुभयो, “यो प्रकारको द्वन्द्व कमै नेपाली फिल्ममा देख्न पाइन्छ । किनकि हामीलाई बजेट र प्रविधिले सहयोग गर्दैन ।”      फिल्म ‘लाखे’ का निर्देशक बस्नेतले आफू द्वन्द्व निर्देशक समेत रहेकाले यसमा प्रयास गरेको बताउनुभयो । “विदेशी फिल्मको एक्सनमा लोभिने दर्शकलाई नेपाली प्रविधिबाटै केही देखाउन खोजेको छु । उहाँहरूको आकर्षण बढेमा हामीले मेकिङ अझैँ खर्च गर्न सक्छौँ”, निर्देशक बस्नेतले भन्नुभयो ।      करिब रु तीन करोड लगानीमा फिल्ममा सुसन प्रजापतिको छायाङ्कन, कविराज गहतराजको कोरियोग्राफी, अर्जुन जिसीको सम्पादन, आकाश बरालको पटकथा, अनुप न्यौपाने र आकाश बरालको संवाद लेखन छ । फिल्म नेपालभरका हलमा कात्तिक १८ देखि प्रदर्शन भइरहेको छ ।