पोखरा:   गण्डकी प्रदेश सभाले सातै वटै प्रदेशमध्ये पहिलो पटक “अपाङ्गता भएका व्यक्तिको अधिकार सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक” सर्वसम्मतिले पारित गरेको छ ।  मिति २०८१ चैत २६ गते साम...

  भरतपुर । नेपाल नेत्रज्योति सङ्घ चितवनले भरतपुरमा सञ्चालन गरेको आँखा अस्पताल र आँखा उपचार केन्द्रमार्फत एकवर्षमा झण्डै तीन लाखलाई सेवा दिएको छ । अस्पतालले सन् २०२१ को जुलाई १ देखि सन् २०२२ को जुन ३० सम्म दुई लाख ८९ हजार तीन सय ९२ जनाको आँखा उपचार गरेको हो ।   अस्पतालका सूचना अधिकारी रमेश घिमिरेका अनुसार बहिरङगतर्फ भरतपुर आँखा अस्पतालमा एक लाख ३२ हजार पाँच सय २१, भरतपुर ओरालोमा रहेको चिजकुमार विष्णुकुमारी श्रेष्ठ बहिरङग विभाग (सिटी क्लिनिक)मा १९ हजार एक सय आठ, ठोरी अस्पतालमा आठ हजार पाँच सय २३ जनाको उपचार गरिएको छ ।    यसैगरी कावासोती अस्पतालमा नौ हजार १४, सिम्रनगढ अस्पतालमा ६ हजार छ सय ९० र आँखा उपचार केन्द्रमा २६ हजार सात सय ९८ जनाको उपचार गरिएको छ । अस्पतालले ग्रामीण क्षेत्रमा पुगेर सञ्चालन गरेको आँखा शिविरमार्फत् ८६ हजार सात सय ३८ जनाको उपचार गरेको छ ।   अस्पतालले उक्त अवधिमा नौ हजार आठ सय ९६ वटा शल्यक्रिया गरेको छ । तीमध्ये हातले गर्ने शल्यक्रिया सात सय दुई, उपकरणको माध्यमबाट गरिने तीन हजार ३०, आँखाको नानी (कर्निया) को तीन सय ८१, जलविन्दुको ८४, आँखाको पर्दा (रेटिना) को एक सय ६१ शल्यक्रिया गरिएको हो ।    यस्तै आँखाको वरिपरिको भागको तीन सय ८७, बालबालिकाको आँखाको ९०, अन्य शल्यक्रिया दुई सय १२ र शिविरमार्फत् रिफर गरिएका चार हजार आठ सय ४९ को शल्यक्रिया गरिएको सूचना अधिकारी घिमिरेले  जानकारी दिनुभयो । बहिरङ्ग र शल्यक्रिया गरी लक्ष्यको एक सय २४ दशमलव ९७ प्रतिशत सफलता मिलेको जनाइएको छ ।     अस्पतालले सन् २०२० को जुलाई १ देखि सन् २०२१ को जुन ३० सम्म एक लाख १८ हजार नौ सय ४७ जनाको उपचार गरेको थियो । सोही अवधिमा पाँच हजार तीन सय ३५ जनाको विभिन्न शल्यक्रिया गरेको थियो । कोभिडका कारण उक्त अवधिमा बिरामीको सङ्ख्या कम भएको थियो ।   अस्पतालले २०२२ जुलाई १ देखि सन् २०२३ जुन ३० सम्म तीन लाख ४१ हजार बिरामीलाई सेवा दिने लक्ष्य राखेको छ । अस्पताल सञ्चालक समितिका अध्यक्ष कृष्णराज धरेलका अनुसार अस्पतालमा विशेषज्ञ प्राप्त गरेका दक्ष चिकित्सक रहेका छन् । हाल नौ विशेषज्ञ चिकित्सक कार्यरत छन् । नौ विशेषज्ञ अध्ययनरत रेसिडेन्टल चिकित्सक छन् । विशेषज्ञता हासिल गरेकामध्ये आँखाको पर्दा (रेटिना), आँखाको बाहिरी नानी(कर्निया), जलविन्दु, प्लास्टिक सर्जरी, बच्चाको आँखामा फेलोसिप गरेका चिकित्सक कार्यरत छन् ।    उहाँको भनाइमा एक सय १७ जनाको विशेषज्ञ चिकित्सकदेखि सहायकसम्मको कर्मचारीको समूह उपचारमा जुटेको छ । अस्पतालले एक सय ११ को नानीको प्रत्यारोपण गरिसकेको छ । यस अस्पतालमार्फत ३९ नानी सङ्कलन गरिएको छ । आठ सय ८६ जनाले आँखा दानका लागि इच्छा गरेका छन् । धरेलका अनुसार अस्पतालमा चितवन, मकवानपुर, नवलपरासी सुस्ता–बर्दघाट पूर्व, बारा, पर्सा, रौतहट, सर्लाही, सिन्धुली, गोरखा, लमजुङ्, तनहुँ, धादिङ्लगायतका जिल्लाका बिरामीले प्रत्यक्ष रुपमा सेवा पाएका छन् । यसको अतिरिक्त नेपालका अन्य जिल्ला र छिमेकी देश भारतका सीमा क्षेत्रका बिरामीले यहाँ सेवा लिँदै आएका छन् ।

  तनहुँ । तनहुँको म्याग्दे गाउँपालिका–१ मान्हौका ६५ वर्षीया मधुमाया कामीले घरदैलोमा नै ज्येष्ठ नागरिक परिचयपत्र पाउनुभयो । गाउँपालिकाको कार्यालयसम्म पुगेर परिचयपत्र बनाउन नभ्याउनुभएका उहाँले घरदैलोमा नै ज्येष्ठ नागरिक परिचयपत्र पाउँदा खुसी लागेको बताउनुभयो ।    “गाउँपालिका जान भ्याएको थिइनँ, घरमै ल्याएर गाउँपालिकाले दियो”, उहाँले भन्नुभयो, “स्थानीय सरकार घरमै आएजस्तो अनुभूति भयो ।” स्थानीय तह निर्वाचनका बेला उम्मेदवार घरघरमा आएर भोट मागेको सम्झिँदै उहाँले सेवा पनि घरदैलोमा नै आउँदा खुसी लागेको प्रतिक्रिया दिनुभयो ।    सोही ठाउँकी बुद्धिमाया कामीले पनि घरदैलोमा नै ज्येष्ठ नागरिक परिचयपत्र पाउनुभयो । “सिंहदरबारको अधिकार गाउँमा भन्ने त सुनेका थियौँ, आज त आफैँले घरदैलोमा सेवा पाउँदा साँच्चै हो रहेछ भन्ने अनुभूति भयो”, उहाँले भन्नुभयो । सोही ठाउँका ओमबहादुर आलेले घरको डिजिटल नम्बर शिविरकै अवसरमा प्राप्त गर्नुभयो । उहाँले घरदैलोमा नै सेवा पाउँदा समयको बचतसँगै गाउँपालिकासम्म पुग्दा लाग्ने खर्चको पनि बचत भएको उल्लेख गर्नुभयो ।    जनतालाई घरदैलोमै सेवा दिने उद्देश्यसहित गाउँपालिकाले आइतबारदेखि एकीकृत घुम्ती शिविर सुरु गरेको छ । उक्त ठाउँका एक सयभन्दा बढीलाई ज्येष्ठ नागरिक परिचयपत्र वितरण गरिएको प्रमुख प्रशासकीय अधिकृत नारायणप्रसाद अधिकारीले जानकारी दिनुभयो । “जनतालाई गाउँघरमै सेवा दिने उद्देश्यसहित गाउँपालिकाका सम्पूर्ण सेवा घरदैलोमै पु¥याउने प्रयास गरेका छौँ”, उहाँले भन्नुभयो, “गाउँपालिकाबाट प्रदान गरिने सम्पूर्ण सेवा घरदैलोमा नै प्रदान गर्छौँ ।”   म्याग्देका अध्यक्ष श्रीप्रसाद श्रेष्ठले जनता सधैँ वडा र पालिकामा आउने नभई पालिका पनि जनताको घरमा जानुपर्छ भन्ने उद्देश्यसहित एकीकृत शिविर आयोजना गरिएको बताउनुभयो । “स्थानीय सरकार जनताको घरमा पुग्नुपर्छ भन्ने मान्यतासहित यो शिविर सुरु गरिएको हो, घरदैलोमा जाँदा आम जनतासँग साक्षात्कार पनि हुन्छ, समस्या पनि सुन्न पाइन्छ”, उहाँले भन्नुभयो ।    घरदैलोमै गएर सेवा प्रदान गर्दा जनतामा खुसी छाएको गाउँपालिकाका उपाध्यक्ष बालकृष्ण घिमिरेले बताउनुभयो । “हामी सधैँ जनताप्रति उत्तरदायी हुनुपर्छ”, उहाँले भन्नुभयो । घुम्ती शिविरमार्फत कृषि, पशु, स्वास्थ्य, घरनक्सा, पञ्जीकरणलगायतका सेवा प्रदान गरिएको छ । विषयगत शाखाअन्तर्गतका योजना सम्झौता, सुझाव तथा परामर्श सेवा, स्वास्थ्य–आर्युर्वेद शाखाअन्तर्गत सामान्य स्वास्थ्य परीक्षण, उपचार व्यवस्थापन, परामर्श तथा औषधि वितरण, क्षयरोग स्क्रिनिङ, मधुमेह, पोषण सेवा, भिआइए स्क्रिनिङ, कोभिडविरुद्धको खोप प्रदान गरिएको छ ।   कृषि शाखाअन्तर्गत हिउँदे बालीको बीउ वितरण, विषादी वितरण, फार्म दर्तासम्बन्धी आवश्यक कागजातको जानकारी, अनुदानसम्बन्धी जानकारी तथा माग सङ्कलन, पशु सेवा शाखाअन्तर्गत गोबर परीक्षण एवं औषधि वितरण, प्रशासन शाखाअन्तर्गत व्यवसाय दर्ता तथा विभिन्न विषयमा जानकारी प्रदान गरिएको छ ।   पञ्जीकरण शाखाअन्तर्गत विभिन्न किसिमका घटना दर्ता तथा सामाजिक सुरक्षासम्बन्धी सेवा, महिला तथा बालबालिका शाखाअन्तर्गत ज्येष्ठ नागरिक परिचयपत्र र अपाङ्गता परिचयपत्र वितरण, घरनक्सा शाखाअन्तर्गत निःशुल्क घर नम्बर प्लेट वितरण गरिएको छ । एकीकृत घुम्ती शिविर असोज २ देखि ४ सम्म वडा नं १ मा, असोज ५ र ६ गते वडा नं २ मा, असोज ७ देखि ९ सम्म वडा नं ३ मा, असोज ११ र १२ गते वडा नं ४ मा, असोज २७ र २८ गते वडा नं ६ मा र असोज ३० र ३१ गते वडा नं ७ मा सञ्चालन हुनेछ । 

  टीकापुर । कैलालीमा बाढीले नागरिकको जनजीवनमात्र होइन, पशुचौपायाको जीवन पनि समस्यामा परेको छ । जिल्लामा बाढीका कारण विस्थापित नागरिक भोकै बस्नुपरेको छ भने पशुचौपायासमेत आहाराको अभावमा समस्यामा परेका छन् । जिल्लाको भजनीमा शनिबार आएको बाढीले सयौँ परिवार वस्तुभाउसहित सडकमा बसिरहेका छन् । सडकमा मानिससँगै सयौँ वस्तुभाउ पनि सडकमा बाँधिएका छन् ।   बाढीका कारण तीन जनाको ज्यान गएको छ । बाढीमा डुबेर भजनी नगरपालिका–८ गोडचौराका ५५ वर्षीय कालुराम चौधरी र वडा नं ९ का २५ वर्षीय विनोद राजीको मृत्यु भएको छ । यस्तै धनगढी उपमहानगरपालिका–१३ की १९ वर्षीया नवीना चौधरीको पनि डुबेर मृत्यु भएको हो ।   बाढीले सबैभन्दा बढी भजनीका नागरिकको जनजीवन अस्तव्यस्त भएको छ । घर बाढीमा डुबेको छ, घरमा भएका अन्नपात, लुगाकपडा बाढीमा बगेका छन् भने धान लगाएको खेत पनि डुबान र कटानले क्षति भएको छ । बाढीले विस्थापित भएका नागरिकलाई आफ्नो पेट भर्न र वस्तुभाउलाई के खुवाउने भन्ने पिर परेको छ । सडकमा बसेका नागरिक चाउचाउ र चिउराका भरमा बसेका छन् भने वस्तुभाउलाई खुवाउने आहारा जोहो गर्न सकिएको छैन ।   भजनी–८ सोनाहाफाँटा खल्लाटोलीकी तुल्सीदेवी विक वस्तुभाउसहित हुलाकी सडकमा बस्नुभएको छ । विक आफू पनि चाउचाउ र चिउराको भरमा बसिरहनुभएको छ भने उहाँका वस्तुभाउ पनि भोकै छन् । उहाँलाई आफूले के खाने, वस्तुभाउलाई के खुवाउने तनाव भएको छ । “वस्तुभाउका लागि जोहो गरिराखेको गहुँको भुस्सा बाढीमा बग्यो, धानखेत अहिले पनि जलमग्न छ । अब घाँस पनि बाढीले नोक्सान भयो”, उहाँले भन्नुभयो, “अब आफू पनि भोकै, वस्तुभाउ पनि चार दिनदेखि सडकमा भोकै छन् ।”   वडा नं ८ कै शान्तिदेवी चौधरी पनि वस्तुभाउसहित सडकमा बसिरहनुभएको छ । उहाँले बालबालिका, वृद्धवृद्धा सबै भोकै रहेको जनाउँनुभयो ।   वडा नं ८ कै शारदादेवी चौधरीका छ बाख्रा र एक गाई छ । उहाँको परिवार वस्तुभाउसहित चार दिनदेखि सडकमा बसिरहेको छ । वस्तुभाउसँगै बस्दा दुर्गन्धित हुनुका साथै पशुका लागि आहाराको समस्या भएको छ । “अधिकांशका वस्तुभाउ पनि सडकमै छन्, सबैलाई वस्तुभाउको आहारा व्यवस्थापन कसरी गर्ने भन्ने चिन्ता छ”, उहाँ भन्नुहुन्छ, “हामी त सहयोगीहरूले दिएका चाउचाउ र चिउराले ज्यान धानिरहेका छौँ, तर वस्तुभाउलाई के खुवाउनु रु”   शनिबार विस्थापित हुनुभएकी तुल्सादेवी धमालाको परिवार पनि अझै घर फर्कन सकेको छैन । उहाँहरू पनि वस्तुभाउसहित सडकमा बस्नुभएको छ । विस्थापित नागरिकले गाइभैँसी सडकमा भोकै बाँध्नुपरेको छ । बाढीले धानबाली नष्ट गर्नुका साथै घासपातसमेत नष्ट भएको छ । यसले वस्तुभाउ पालकलाई बढी समस्या भएको छ ।    खुला आकाशमा सडकमै बसिरहनुभएकी इसरा सुनारको परिवारको पनि बिचल्ली छ । उहाँको घरखेत सबै बाढीमा मिसिएकाले उहाँको परिवार र उहाँले पालेका वस्तुभाउको आहारामा समस्या भएको छ । “पशुका लागि पराल, गहुँको भुस्सा गोठमा राखेकी थिएँ, सबै बाढीमा मिसियो, मेरो त गोठ पनि रहेन”, उहाँले भन्नुभयो, “सम्पत्तिका नाममा बचेका यी वस्तुभाउ हुन्, वस्तुभाउ पनि भोकले मर्ने भए ।”   भजनी नगरपालिकाका पशु शाखा प्रमुख हरिलाल जैसी बाढीले पशुवस्तुतर्फ क्षति भएका विवरण आइरहे पनि कति क्षति भयो भनी भन्न सक्ने अवस्था नभएको बताउनुभयो । उहाँले पशु बगेका, मरेका कुरा आइरहे पनि प्रभावित क्षेत्रमा अझै जान नसकिएकाले अब तथ्याङ्क लिने काम भइरहेको बताउनुभयो । “हामी पशुभन्दा मानिस कसरी जोगाउने भनी उद्धारमा खटेका छौँ, अझै मानिसकै उद्धार भइरहेको छ”, उहाँले  भन्नुभयो, “पहिलो चरणमा मानिस उद्धार र राहतका काम भइरहेकाले पशुको आहाराबारे केही उपाय नै छैन । पालिकामा भएको आहाराको स्रोत सबै बाढीले नोक्सान गरेकाले पशुको आहारा व्यवस्थपान गर्न सक्ने अवस्था छैन ।”   पशु शाखा प्रमुख जैसी आजबाट पशुतर्फ भएको क्षतिको विवरण सङ्कलन गर्ने तयारी गरिएको बताउनुभयो । “अझै गाउँ जलमग्न छन्, गाउँमा गएर विवरण लिनसक्ने अवस्था छैन”, उहाँले भन्नुभयो, “धेरै मानिसका वस्तुभाउ बगेका, बङ्गुर मरेका, कुखुरा मरेका खबर आएका छन् । अब हामी तथ्याङ्क लिन्छौँ ।”   नगरपालिकाद्वारा  सहयोगको अपिल  भजनी नगरपालिकाले बाढीबाट प्रभावितलाई सहयोग गर्न अपिल गरेको छ । नगरपालिकाले एक सूचना जारी गरी नगरपालिकाका सबै वडामा बाढीले क्षति पुर्याएका कारण त्यहाँका नागरिकलाई राहतका लागि सहयोग गर्न अपिल गरेको छ ।    नगरप्रमुख केवल चौधरीद्वारा हस्ताक्षरित अपिलमा भनिएको छ  “जसरी सबैको सहयोगमा बाढीबाट प्रभावितलाई उद्धार गरियो, त्यसरी नै उनीहरूलाई राहतका लागि पनि सहयोग गर्न आग्रह गरिन्छ । यस घडीमा सम्पूर्ण नागरिक, बुद्धिजीवी, समाजसेवी, उद्योगी, व्यापारी, सरकारी तथा गैरसरकारी सङ्घसंस्थालाई नगरपालिकासँग समन्वय र सहकार्य गरी सहयोग गर्न अपिल गरिएको छ । ”भजनीका सबै वडा प्रभावित भएकाले नगरपालिका एक्लैले उनीहरूलाई राहत तथा उद्धारजस्ता कार्य गर्न नसक्ने भएकाले सहयोगीलाई साथ दिन आग्रह गरेको हो ।

बागमती :  मकवानपुरको वकैया  गाउँपालिकामा गए राति चट्याङ लागेर एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा वकैया–११ आहालडाँडाका अन्दाजी ५५ वर्षीय आइतसिंह भोलन रहेका जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।   उनलाई घरमा बसिरहेको अवस्थामा चट्याङ लाग्दा घटनास्थलमै मृत्यु भएको जनाइएको छ ।चट्याङ लागेर स्थानीय भीमबहादुर तामाङको गोठमा रहेको एउटा गोरुसमेत मरेको प्रहरी नायब उपरीक्षक तथा प्रवक्ता टेकबहादुर कार्कीले बताउनुभयो । 

काठमाडौं  :  राजीव साह भर्खर १५ वर्षमा हिँड्दै हुनुहुन्छ । तर उहाँको काँधले भने तीन  दशक पार गरेको जवान छोराको झै पारिवारिक जिम्मेवारी थामेको छ । घर नजिकैको लक्ष्मी माविमा कक्षा ९ मा अध्यानरत साह बिहानभरि कलम समाउने कलिला हातले  साँझसम्म सिटी सफारीको ह्यान्डेल घुमाउँदै यात्रुसँग बित्छ । विद्यालयमा बिहान ११ बजेसम्म पढेर फर्किएपछि सफारी चालकमा उहाँको भूमिका फेरिन्छ ।   मोरङको बेलबारी–९ नलबारीमा घर भएका साहको अवस्था केही महिनाअघिसम्म यस्तो थिएन । परिवारको निम्न आर्थिक अवस्था भएका कारण उहाँका ४३ वर्षीय बुवा अशोक  सिटी सफारी चलाउनुहुन्थ्यो । केही महिनाअघि बुबाको दुवै मिर्गौला फेल भएपछि राजीव नियमित अस्पताल धाउनुपरेको छ । बुवाको नियमितरूपमा हप्तामा दुईपटक डायलायसिस गर्नुपरेको राजीव बताउनुहुन्छ । “डायलायसिस निःशुल्क छ तर पनि एकपटकमा कम्तीमा तीनदेखि चार हजारसम्म खर्च हुनेगरेको उहाँ बताउनुहुन्छ । सफारी कुदाएर दैनिक चार÷पाँच सय आम्दानी हुन्छ तर त्यो रकमले परिवारको खर्च र बुवाको उपचार धान्न सम्भव नभएको उहाँले गुनासो गर्नुहुन्छ ।   सफारी चलाएर कमाएको केही पैसासँगै थकित मुहार लिएर साँझ घर फर्कनु उहाँको दैनिकी बनेको छ । यो दैनिकी बिहान–बेलुका घरको चुल्हो बाल्ने, आफू तथा कक्षा ८ मा पढ्ने भाइका लागि पढाइ खर्च जुटाउने र बुवाको उपचार खर्च जुटाउने उद्यम हो । दिनभरिको टन्टलापुर घाममा सफारी लिएर उहाँ लक्ष्मीमार्ग र डाँगीहाट बजार आसपासका ठाउँको चक्कर लगाउनुहुन्छ । “कति सानो बाबुले चलाएको जनाउँदै सफारीमा चढ्ने यात्रुहरूले पनि सहानुभूति व्यक्त गर्नुहुन्छ”, उहाँ बताउनुहुन्छ ।   स्थानीय चक्र भण्डारीले साह परिवारको सिटी सफारीबाहेक आम्दानीको स्रोत नभएको जानकारी दिनुभयो । उहाँले आर्थिक अवस्था कमजोर रहेको साह परिवारलाई सहयोग गर्न आग्रह सबैसंग आग्रह गर्नुभयो । 

चितवन : पूर्वी चितवनको रत्ननगरमा डेङ्गु रोगबाट एकजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा रत्ननगर -१ का २७ वर्षीय पुरुष रहेका छन् ।   उनको उपचारका क्रममा पुरानो मेडिकल कलेजमा मृत्यु भएको हो । अस्पतालका फिजिसियन डा आलोक प्रधानका अनुसार डेङ्गु सङ्क्रमणका पुष्टि भएर उपचारका क्रममा उनको मृत्यु भएको हो । अध्ययनका क्रममा काठमाडौँ बस्दै आएका उनमा ज्वरोका कारण पुरानो मेडिकल कलेजमा भर्ना भएका थिए ।   जिल्लामा हालसम्म चार सय २९ जनामा डेङ्गुको सङक्रमण पुष्टि भएको छ । दुई हजार आठ सय ७७ जनाको नमूना परीक्षणका क्रममा उनीहरुमा डेङ्गु देखिएको हो । जिल्लामा भेटिएका डेङ्गुका बिरामीमध्ये ६२ जनाको ठेगाना नखुलेको र एक सय छ जिल्ला बाहिरका छन् ।  

बागलुङ :  खुङ्खानी र नर्जाखानी दूरीका हिसाबले त्यति धेरै टाढा छैनन् । भौगोलिक विकटताका कारण एकदेखि अर्को गाउँ पुग्न झन्डै चार घण्टा बढी लाग्छ । भर्खर भर्खर गाउँमा सडक त पुगेको छ तर गाडी भने निरन्तर चल्दैनन् । तमानखोला गाउँपालिकामा पर्ने यी दुई गाउँमध्ये खुङ्खानी वडा नं ५ र नर्जाखानी वडा नं ६ मा पर्छ ।    पालिका केन्द्र बोङ्गादोभानभन्दा नजिक रहेको हुँदा खुङ्खानी गाउँ केही सुगम छ तर नर्जाखानी निकै दुर्गममा छ । भौगोलिक विकटताका कारण स्वास्थ्य, शिक्षालगायतका विकासका पूर्वाधार पनि कमै निर्माण भएका छन् । यस गाउँमा अहिलेसम्म माध्यमिक शिक्षाको पढाइ हुन सकेको छैन । नर्जाखानीका सयौँ विद्यार्थी माध्यमिक शिक्षाका लागि खुङ्खानी आउनुपर्ने बाध्यतामा छन् ।   नर्जाखानीसँगै वडा नं ६ को पात्ले र भित्रिवन गाउँका विद्यार्थी पनि दैनिक छ घण्टा यात्रा गरेर माध्यमिक शिक्षा हासिल गरिरहेका छन् । उनीहरुले यो समस्या भोग्न थालेको वर्षौं भयो । नर्जाखानी, पात्ले र भित्रिवन गाउँका सयौँ बालबालिका गाउँमै रहेको विद्यालयबाट आधारभूत तहका पढाइ पूरा गरेपछि माध्यमिक शिक्षाका लागि वडा नं ५ खुङ्खानीमा रहेको शान्ति माविमा पुग्छन् ।   “स्कुल टाढा छ, बिहान चाँडै हिँडिएन भने हाजिर भेट्न पुगिन्न, यहाँबाट स्कुल जानआउनका लागि छ घण्टा लाग्छ, दैनिक हिँडेरै जानुपर्छ गाडी पनि खासै चल्दैन”, कक्षा १० मा अध्ययनरत विकास सिर्पालीले भन्नुभयो । उहाँले दैनिक छ घण्टा हिँड्दा थकाइ लाग्ने हुँदा सोचेअनुसारको पढाइ हुन नसकेको बताउनुभयो । सिर्पालीले विद्यालय नजिकै कोठा लिएर बस्न सक्ने अवस्थासमेत नभएको सुनाउँदै आफूले दुई वर्षदेखि घरबाटै आवतजात गरी पढिरहेको बताउनुभयो ।    “घरभन्दा स्कुल निकै टाढा छ, बिहान सबेरै उठेर हिँड्नुपर्छ, घर फर्किंदा राति हुन्छ, यसले गर्दा मैले सोचे जस्तो पढाइ हुन सकेको छैन, कमजोर भएको महसुस भएको छ”, उहाँले भन्नुभयो, “कोठा लिएर बसौँ भने खर्च धान्न सक्ने अवस्था छैन, अरू साथीहरुसँग पढाइ प्रतिस्पर्धा गर्न पनि गाह्रो भयो, त्यति धेरै समय हिँड्दा थकाइ लाग्छ, थकाइ लागेको बेला पढ्न मन लाग्दैन, बिहान एकछिन घरको काम पनि गर्न परिहाल्यो, त्यसले गर्दा निकै समस्या छ, मलाई मात्रै होइन, यहाँका थुप्रै साथीहरु पनि यस्तै समस्यामा छन् ।”   सिर्पालीले बर्खाको समयमा आफूलाई झन् ठूलो समस्या हुने बताउनुभयो । वर्षाका कारण खोलानाला बढ्ने र बाढी पहिराले बाटो नै बन्द गरिदिँदा विद्यालय पुग्नै समस्या हुने गरेको उहाँको भनाइ छ । बाढी पहिराका कारण कैयौँ दिन विद्यालय जानबाट समेत वञ्चित भएको उहाँको अनुभव छ ।   “अहिले बर्खाको समय छ, यो बेला त मरिन्छ कि बाँचिन्छ थाहै हुँदैन, बाटोघाटो बाढी पहिराले बन्द गरिदिन्छ, खोलानालाहरु बढेर वारपार गर्न नसकिने भएका छन्, पोहोर सालतिर त झन् पहिराले बाटो बन्द हुँदा धेरै दिन स्कुल गइएन”, उहाँले भन्नुभयो, “हिउँदमा पनि जाडोले हातखुट्टा कठ्याङ्ग्रिन्छन्, दुर्गममा भएर होला हाम्लाई निकै समस्या छ ।”   भित्रिवनकी पवित्रा घर्ती मगरले गाउँमा माध्यमिक शिक्षाका लागि विद्यालय नहुँदा अनेकौं समस्याहरु भोग्नुपरेको बताउनुभयो । उहाँ लामो दूरीमा विद्यालय हुँदा प्रभावकारीरूपमा पढाइ हुन नसकेको बताउनुहुन्छ । “यति लामो दूरी हिँडेर पार गरेर स्कुल पुग्नुपर्छ, स्कुल पुग्दा थकाइले पढ्न मनै लाग्दैन, पढाइ प्रभावकारी नै हुन सकेको छैन, फेल भइन्छ कि भन्ने डर लाग्छ ।”   घर्ती मगरले गाउँ नजिकै रहेको विद्यालयमा आठ कक्षासम्म पढ्दा सहज भए पनि अहिले गाह्रो भएको सुनाउनुहुन्छ । “आठ कक्षासम्म त गाउँकै स्कुलमा पढ्न पायौँ, दुःख थिएन, ९ बजे हिँडे पनि स्कुल पुगिन्थ्यो, अहिले ७ बजेभन्दा ढिला हिँडियो भने पहिलो पिरियड भेट्टाउन सकिँदैन, कक्षा ९ र १० पढ्न कि बोङ्गादोभान जानुपर्छ, कि खुङ्खानी नै जानुपर्छ, कि त पढ्नै छोड्नु पर्छ”, घर्तीले भन्नुभयो ।   उहाँ सरकारले आफूहरु जस्ता दुर्गममा रहेका विद्यार्थीहरुका लागि छात्रावासको व्यवस्था गरिदिए पढ्न सहज हुने बताउनुहुन्छ । “हामीहरु त निकै दुर्गम ठाउँमा छौँ, सरकारले हाम्लाई होस्टेलको व्यवस्था मिलाई दिने भए धेरै सहज हुन्थ्यो, हाम्रो पढाइ पनि राम्रो हुन्थ्यो होला, अरू साथीहरु जस्तै हामी पनि फस्ट, सेकेन्ड हुन्थ्यौँ होला ।”   तमानखोला गाउँपालिकाका अध्यक्ष जोकलाल बुढा मगरले नर्जाखानी क्षेत्रमा माध्यमिक तह सञ्चालनका लागि विद्यार्थी अपुग हुने र त्यसका लागि ठूलो बजेट चाहिने हुँदा अहिलेसम्म माध्यमिक तह सञ्चालन हुन नसकेको बताउनुभयो । अध्यक्ष बुढा मगरले नर्जाखानीमा कक्षा ८ सम्म राम्रोसँग सञ्चालन भइरहेको भन्दै यस क्षेत्र भौगोलिक विकटता र कम जनसङ्ख्याका कारण माध्यमिक तहको पढाइका लागि विद्यार्थीहरु खुङ्खानी आउनुपर्ने अवस्था रहेको बताउनुभयो ।   “यहाँका विद्यार्थीलाई निकै समस्या छ, हामीले बुझेका छौँ, माध्यमिक तह सञ्चालन गर्न पनि फेरि उत्तिकै चुनौती पनि छ, हामीले यहाँका विद्यार्थीलाई सहजरूपमा शिक्षा दिन सकिन्छ भन्ने विषयमा प्रदेश र केन्द्र सरकारसँग समन्वय गरिरहेका छौँ, सहजरूपमा शिक्षा प्रदान गर्न योजनासमेत बनाइरहेका छौँ”, अध्यक्ष बुढा मगरले भन्नुभयो ।   पात्ले गाउँमा कक्षा ३, भित्रिवनमा कक्षा ५ र नर्जाखानीमा कक्षा ८ सम्म पढाइ हुन्छ । नर्जाखानी गाउँका बालबालिकाले गाउँमै कक्षा १ देखि ८ सम्म अध्ययन सक्छन् भने भित्रिवन र पात्ले गाउँका बालबालिकाहरु नर्जाखानी आउनुपर्छ । पात्ले गाउँमा बालबालिकाले गाउँमा कक्षा ३ र भित्रिवनका बालबालिकाले कक्षा ५ उत्तीर्ण गरे भने त्यसमाथिको तहको अध्ययनका लागि नर्जाखानीमै पुग्छन् । भित्रिवनबाट नर्जाखानी आउन करिब ढेड घण्टा लाग्छ भने पात्ले गाउँबाट एक घण्टा लाग्छ । 

  रुपन्देही । सीमावर्ती भारतीय बजारमा खरिद गर्न जाने नेपाली ग्राहकलाई रोक्न भैरहवामा दसैँ सस्तो बजार सन्चालन हुने भएको छ । सिद्धार्थ उद्योग वाणिज्य सङ्घ, रुपन्देहीको आयोजनामा असोज ११ गतेदेखि १४ गतेसम्म बजार सञ्चालन हुने भएको हो ।       दसैँ सस्तो बजारबारे जानकारी दिने उद्देश्यले आज भैरहवामा आयोजित पत्रकार सम्मेलनमा सङ्घका अध्यक्ष भीष्म न्यौपानेले नेपालीका चाड पर्वहरुमा आम उपभोक्तालाई स्वदेशी बजारमा खरिद गर्ने बानीको विकास गराउन साथ बजारको आयोजना गरिएको बताउनुभयो ।        यस क्षेत्रका अधिकांश नेपाली चाडपर्वको बेलामा मात्र नभएर अन्य समयमा पनि बजार गर्न सीमावर्ती भारतीय बजार सुनौली र नौतनहवा पुग्ने गर्दछन् । भारतीय बजारमा जाने नेपाली ग्राहकलाई रोक्ने उद्देश्यका साथ विभिन्न उद्योगी, व्यवसायीसँगको सहकार्यमा उपभोक्ताहरुलाई सर्वशुलभ रुपमा एकै थलोबाट सहज तरीकाले दैनिक उपभोग्य वस्तुहरु बिक्री वितरण गरिने कार्यक्रम संयोजक अर्जुन कार्कीले बताउनुभयो ।        विभिन्न उद्योग तथा व्यापारिक प्रतिष्ठानको सहभागिता रहने दसैँ बजार २०७९ मा साल्ट ट्रेडिङसहित खाद्यन्न, जुत्ता, चप्पल, दुई पाङ्ग्रे अटोमोबाइलसहितका १५ देखि १७ वटा स्टल रहने उहाँले जानकारी दिनुभयो । यस अवधिमा करिब रु ४० देखि ५० लाख बराबरको कारोवार हुने अनुमान गरिएको कार्यक्रम संयोजक कार्कीले बताउनुभयो ।       दसैँ र तिहार लक्षित बजारमा सीमावर्ती भारतीय बजार सुनौलीमा नेपालीको घुइँचो लाग्ने गरेको छ । यस्ता नेपाली उपभोक्तालाइ नेपाली बजारमै रोक्ने सङ्घको उद्देस्य रहेको कार्कीले बताउनुभयो ।

  काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले संविधानमा उल्लेख गरिएका शिक्षा, स्वास्थ्य, रोजगारी र उद्यमशीलता तथा सामाजिक सुरक्षालाई व्यवहारमा सफल बनाउन अघि बढेको बताउनुभएको छ ।    संविधान दिवसका अवसरमा भिडियोमार्फत शुभकामना सन्देश दिँदै उहाँले संविधानमार्फत शिक्षा, स्वास्थ्य रोजगारी र उद्यमशीलता तथा सामाजिक सुरक्षालाई मौलिक हकका रुपमा उल्लेख गरेको भन्दै अब ती कुरालाई व्यवहारमा सफल बनाउन अघि बढेको बताउनुभएको छ ।       पूर्वप्रधानमन्त्रीसमेत रहनुभएका अध्यक्ष ओलीले संविधान दिवसकै अवसरमा असोज १ गते पदयात्रा गरेर युवाको भविष्य सुनिश्चित गर्नका लागि कमाइ, औषधि र पढाइको अवधारणा ल्याएको बताउनुभयो ।        युवालाई गुणस्तर शिक्षाको अवसर दिँदा, उनीहरुलाई आफ्नै खुट्टामा उभिएर उत्कृष्ट जीवनयापन गर्ने अवस्था निर्माण गर्न एमाले सक्रिय रहेको उहाँको भनाइ छ । नागरिक बिरामी हुँदा सजिलै उपचार औषधि पाउने तथा निरोगी भएर बाँच्ने अवस्थामा देशलाई पुर्याउने आफूहरुको उद्देश्य रहेको उहाँले बताउनुभयो ।