दाङ । तुलसीपुर उपमहानगरपालिका–७ प्रसेनी निवासी प्रेमबहादुर कुमाल माटोका प्लेट र कप बनाउँदै हुनुहुन्थ्यो । कुनै समय माटाका गाग्री बनाउने कुमाल हिजोआज प्लेट, कप बनाउनमै व्यस्त हुनुहुन्छ । “कुनै समय गाग्री, भुर्का, हाँडीको धेरै माग आउँथ्यो, तर अहिले बजारमा प्लाष्टिकका गार्गी आएकाले त्यसको माग छैन”, उहाँले भन्नुभयो, “बरु अहिले प्लेट र कपको माग बढेको छ ।” अहिले उहाँको दैनिकी त्यही प्लेट र कप बनाउनमै बित्ने गरेको छ । बजारमा मट्का चिया पसल पनि धेरै खुलेकाले मट्का चियाका लागि कपको माग अत्यधिक हुने गरेको उहाँले बताउनुभयो । पछिल्लो मागअनुसार प्लेट, कपहरु पु¥याउनै गाह्रो हुने गरेको छ । “माग धेरै आउँछ, कोही होटलले त कोठा दिन्छौँ, यही आएर बनाइदिनुस् पनि भन्ने गर्नुभएको छ”, उहाँले भन्नुभयो, “तर हामीले माग भएअनुसार पु¥याउन गाह्रो हुने गरेको छ ।” पछिल्लो समय गमला र माटोबाट घोडाका मूर्ति बनाउन पनि माग आउने गरेको छ । माटाका कप, प्लेटलगायत आधुनिक सामग्रीको माग बढेको भए पनि त्यसअनुसार जनशक्ति नहुँदा समस्या भएको उहाँको भनाइ थियो । नयाँ पुस्ताले माटोका भाडा बनाउने पेशाप्रति चासो नदिँदा पेशा नै लोप हुने अवस्थामा पुगेको स्थानीय कविराम कुमालले बताउनुभयो । “माग धेरै छ, हामी पहिलेदेखि गर्दै आएका बूढापाकाले यो पेशा अँगालिरहेका छौँ, नयाँ पुस्ताले त्यति धेरै चासो नदिएकाले पनि यो पेशा सङ्कट पर्ने हो कि भन्ने चिन्ता छ”, उहाँले भन्नुभयो, “तर केही नयाँ पुस्ताले भने चासो दिइरहेका छन् ।” माटाका भाडालाई ‘ग्लेजिङ’ गर्ने मेसिन पनि भएकाले त्यहीअनुसार कप बनाएर बजारमा पठाउने गरेकोसमेत उहाँले बताउनुभयो । गरिबी निवारण कोषले उक्त सामग्री प्रदान गरेपछि अहिले त्यहाँका कुमाल समुदायलाई सहज भएको छ । करिब ६० परिवार रहेको उक्त कुमालगाउँमा अहिले १०–११ जनाले मात्रै माटाका भाँडा बनाउने गरेका छन् । हस्तकला महासङ्घले तालिम दिएपछि कुमाल समुदायले आधुनिक प्लेट, कप बनाउन सिकेका हुन् । तर उनीहरुले बनाएका सामग्रीको मूल्य भने निर्धारण भएको छैन । “हामीले बनाएका माटाका भाँडाको मूल्य निर्धारण छैन”, कविरामले भन्नुभयो, “त्यसैले हामीले अहिले अनुमान र बार्गेनिङका आधारमा बिक्री गर्ने गरेका छौँ ।” नयाँ युवा युवतीलाई सिकाएर घोराही, तुलसीपुरमा माटाका भाँडा निर्माण गर्ने स्थान र छुट्टै पसल स्थापना गर्नेसमेत तयारी गरेको उहाँको भनाइ छ । अहिले दैनिक एक जनाले करिब एक सय कप निर्माण गर्दै आएका छन् । कुमाल समुदायलाई माटो पाउन पनि उत्तिकै समस्या हुने गरेको छ । अहिले तुलसीपुर–७ स्थित कालोखोलाको मटेराबाट माटो निकाल्ने गरेको भए पनि त्यहाँबाट ल्याउन पटक–पटक विवाद हुने गरेको छ । स्थानीयले त्यहाँबाट माटो निकाल्न नदिने गरेको कुमाल समुदायको गुनासो छ ।
काभ्रेपलाञ्चोक । ‘पञ्चकन्या झरना’ पछिल्लो समयमा धेरैको रोजाइको थलो बनेको छ । को पनौती नगरपालिका–१२ खारखोलास्थित मनमोहक सो झरनामा हरियाली, शान्त र रमणीय वातावरणमा बसेर पानी छ्याप्दै मनोरञ्जन लिन सकिन्छ । पनौती–मल्पी–रोशी भूमेडाँडा हुँदै सो स्थानमा पुग्न सकिन्छ । मान्छेको आवागमन बढ्दै गएपछि करिब डेढ वर्ष अगाडि वडाले झरना जाने सिँढी निर्माण गर्नुका साथै बार र रेलिङ हालेर बाटो सहज बनाएको थियो । घनाजङ्गलका छेउमा रहेको झरना पुग्नका लागि खोलाको बाटो हुँदै जानुपरेका कारण निकै रमाइलो र मनमोहक भएको स्थानीय बासिन्दा सन्तबहादुर तामाङले सुनाउनुभयो । “हरेक दिनजसो यहाँ घुम्न आउने गरे पनि प्रायःजसो बिदाका दिनमा पाइला टेक्ने ठाउँ हुँदैन”, उहाँले भन्नुभयो, “बजारबाट नजिकेको दूरीमा रहेको हरियाली जङ्गलछेउमा रमयणीयस्थल भएका कारण पनि मान्छेहरूको गन्तव्यको केन्द्र बनेको छ ।” धेरै टिपर गुड्ने समयमा आवागमनमा कमी आउने गरेको उहाँले बताउनुभयो । धेरै मात्रामा गाडी गुड्ने कच्ची मोटरबाटो भएका कारण खाल्डाखुल्डीका कारण साना सवारीसाधनलाई आवजावतमा समस्या हुने गरेकाले पनि मानिसको आवागमनमा समस्या हुने गरेको स्थानीय बासिन्दा बताउँछन् । पनौती नगरपालिका–२ कुशादेवीका डिल्लीराम आचार्यले पनौती बजारबाट नजिकै रहेको पञ्चकन्या झरनामा जानेहरूले बाटोको समस्याका कारण यात्रा गर्न कठिन परिस्थिति खेप्नुपरेको बताउनुभयो । “पनौती बजारबाट जम्मा छ किलोमिटर मात्रैको दूरी हो”, उहाँले भन्नुभयो, “सो क्षेत्रमा धेरैजसो खानी र क्रसर उद्योग सञ्चालनमा ल्याएका कारण एकातिर शान्त वातावरणमा प्रदूषण बढाउन र अर्कोतर्फ बाटो बिगारेर समस्या पैदा गराएका कारण वितृष्ण पैदा गराइदिएको छ ।” पनौतीको मल्पिबाट कच्ची बाटो र खारखोलादोभानबाट खानी र क्रसरका कारण हिँड्न समस्या पैदा गराएकाले त्यहाँसम्म जान कठिन हुने गरेको झरना जानेहरू बताउँछन् । कुशादेवीकै हस्तबहादुर तामाङले भने पर्यटकीयस्थल झरनाको विकास संरक्षणका लागि स्थानीय सरकारले पहल गर्नुपर्ने जानकारी दिनुभयो । “ठाउँ निकै मनमोहक छ, तर त्यहाँसम्म जानका लागि सहज भए पनि बाटोघाटो र त्यहाँ सञ्चालित खानी र क्रसरले गर्दा दिक्क बनाउने गरेको अवस्थाबाट सो ठाउँलाई छुटकारा दिलाउन आवश्यक छ”, उहाँले भन्नुभयो । विशेषगरी कोरोना सङ्क्रमणका समयमा टाढा–टाढा घुम्न र भीडभाडा गरी बाहिर निस्कन नपाएका नजिकै रहेको रमणीयस्थल खोज्ने क्रममा सो झरनास्थल बढी रोजाइको गन्तव्य बनेको हो । पनौती– १२ का वडा सदस्य दीपक तामाङले झरना क्षेत्रलाई व्यवस्थित गर्न बजेटको व्यवस्थापन गरेर काम गर्ने तयारीमा रहेको जानकारी दिनुभयो । शौचालय निर्माण गर्न, फोहर व्यवस्थापन गर्न र सवारीसाधन पार्किङ गर्न यसै आर्थिक वर्ष रु एक लाख बजेट व्यवस्थापन गरिसकेको उहाँको भनाइ छ । “अब दशैँ–तिहारलगत्तै सो योजना अगाडि बढ्छ”, उहाँले भन्नुभयो, “खानी र क्रसर उद्योग क्षेत्रको बाटो भएका कारण समस्या भएकाले त्यहाँ जाने पर्यटकको सहजताका लागि मल्पिबाट रोशीबजार निस्कने वैकल्पिक बाटोका लागि रु पाँच लाख बजेट व्यवस्था गरी मर्मतको काम अगाडि बढाउने र रोशीबजार क्षेत्रबाट झरनासम्म जाने अर्को वैकल्पिक बाटो छिचोल्नका लागि पनि प्रयन्त भइरहेको छ ।”
काठमाडौं । रामेछापको खाँडादेवी गाउँपालिका–३ भिरपानीको सित्खामा रहेको माझी समुदायमा पितृ खुसी नभएको भन्दै आइतबार साँझ भेला भएका माझी समुदायले कुटेर स्थानीय ५५ वर्षीया बिबी माझीको हत्या गरेका छन् । उनीहरूको कुटाइबाट मृतककी ७० वर्षीय आमा सुनमाया माझीको अवस्था गम्भीर रहेको छ । उनलाई घटनास्थलबाट उद्धार गरी हाल सदरमुकाम मन्थलीमा रहेको तामाकोसी अस्पताल लगिएको प्रहरीले जनाएको छ । उनका अनुसार उक्त घटनामा संलग्न भएको आरोपमा सात जना महिलासहित २२ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ परेका सबैले आफूले मृतकलाई कुटपिट नगरी पितृ खुसी नहुने भएकोले कुटेर गरेको स्वीकारेका छन् । सोह्रश्राद्ध माझी समुदायको पितृ तार्ने सबैभन्दा ठूलो पर्व रहेको र उनीहरूको संस्कारअनुसार सोह्रश्राद्धमा मरेका पितृहरूलाई (नदी) घाटमा गएर बोलाउने चलन छ । यसरी पितृलाई बोलाउँदा शिरमा पितृ आउने (काम छुट्ने) र परिवारको कुनै एक सदस्यको शरीरमा पस्ने गर्छ भन्ने विश्वास छ । जसको शरीरमा पितृ पस्नेबित्तिकै ऊ काम्ने गर्दछन् । घाटबाट काम्दै गरेको व्यक्तिलाई लिएर घर फर्कने र भोलिपल्ट एक दिन सत्कारसहित घरमा पाल्ने र पर्सिपल्ट बिहानै झिसमिसे (उज्यालो नहुँदै) घाटमा लगेर विधिपूर्वक पितृ बिर्सजन गर्ने चलन छ । नदीमा बगाउने वेला पितृ पसेको व्यक्ति काम्न छाड्ने गर्दछन् । यसरी पितृ बगाउँदा उनीहरूको शरीरमा पितृ खुसी हुन्छन् भन्ने विश्वास माझी समुदायको छ । योसँगै उनीहरूको विशेष चाड सोह्रश्राद्ध सकिन्छ । तर, यसपटक पितृलाई बगाउँदासमेत काम्ने व्यक्तिलाई पितृले नछाड्दा कामी नै रहे । उनीहरूले पितृले गर्दा काम्न नछोड्नुमा यसको दोषी गाउँकै बिबी माझी रहेको निष्कर्ष युवायुवतीले निकालेका थिए । र, उनीहरूले पिट्न थालेको बताइएको छ ।
पाल्पा । आफ्ना चौहत्तर वर्षीय श्रीमान्लाई हात समातेर आश्रमको आँगन डुलाउनु फुलसा रास्कोटीको दिनचर्या बनेको छ । उहाँलाई नजिकिँदै गरेको दशैँको रौनक छैन । आफ्नो जीवनकालका ५० बढी दशैँहरू सम्झँदा यस वर्षको दशैँ उहाँलाई नरमाइलो लागेको छ । पाल्पाको तिनाउँ गाउँपालिका–४ मस्यामका मानबहादुर रास्कोटी र फुलसा गत वर्षदेखि तानसेन वडा नं १ भुँसालडाँडा स्थित निलसागर आश्रममा बस्नुहुन्छ । “अर्कैको घरमा बसेर मेलापात गरी खान्थ्यौँ”, फुलसा भन्नुहुन्छ, “पोहर मेरो आँखा दुख्यो, केही देखिन गाउँलेले आश्रममा ल्याएर छाडे ।” ती दम्पती सत्र वर्षदेखि अर्कैको घरमा बस्दै आएका थिए । घरपरिवार र अन्य आफन्त नभएका उहाँहरू दशैँमा आश्रममै बस्ने बताउनुहुन्छ । आश्रममा देशका विभिन्न स्थानबाट २५ असहाय र असक्त आश्रित छन् । उहाँहरुमध्ये अधिंकाशको घरपरिवार छैनन्, भएकाहरू पनि परिवारबाट अपहेलित हुनुपरेका जनाइएको छ । उहाँहरूलाई सबै दशैंको कुनै रौनक छैन । रामपुर–७ पाल्पाका ६४ वर्षीय रामचन्द्र आचार्य आश्रममा बस्न थालेको सात महिना भयो । आँखा धमिलो र कान कम सुन्ने उहाँ परिवारमा मनमुटाव भएपछि विरक्तिएर आश्रम आइपुग्नुभएको हो । दुई छोरा, दुई बुहारी र श्रीमती घरमा छन् । “छोराबुहारीलाई टीका लगाइदिने इच्छा त थियो, म आश्रममा छु, यहाँ उनीहरू आउदैनन् बाबु”, उहाँ भन्नुहुन्छ । दशैँ नजिकिँदै गर्दा गाउँघरमा चहलपहल बढ्न थालेको छ । घर लिपपोत गर्ने मीठा परिकार पाक्ने र खाने क्रम सुरु भएको छ । तर आश्रममा बस्नेहरूलाई चहलपहलले छोएको छैन । मिस्त्री काम गरेर गुजारा चलाउनुभएका तिनाउ–४ मस्यामकै मनबहादुर पुन दुई महिनाअघि आश्रम आइपुग्नुभयो, “पाखुरीमा बल छउञ्जेलमात्र प्यारो होइन्छ”, गहँभरि आँशु पार्दै उहाँले भन्नुभयो, “क्षयरोग रोग लाग्यो, उपचार गर्न सकिन, आश्रममा आइपुगँे। ” निको नहुञ्जेल घर नजाने उहाँले बताउनुभयो । आश्रममा रहेका बिरामीको नजिकको अस्पतालमा उपचार गर्ने व्यवस्था मिलाइएको छ । आश्रमका हेरालु गणेश गिरीका अनुसार यहाँ उनीहरूलाई उपचार र खानेबस्ने व्यवस्था मिलाइएको छ । उहाँले भन्नुभयो, “मनकारीले कपडा र खानेकुरा दान गर्दछन्, त्यसैबाट आश्रम सञ्चालन गरिरहेका छौँ ।”
लमजुङ : यतिबेला लमजुङमा दशैँको छुट्टै रौनक छाएको छ । खेतमा ‘लहलह’ धानको बाला झुलेको छ भने बारीमा ढकमक्क कोदो फुलेको छ । रात जुनेली, दिन पनि घमाइलो भइरहेको छ । घर बाहिर गएका परिवारका सदस्य पनि घरमा आउन थालेका छन् । गाउँघर तथा सहरमा मानिसको चहलपहल पनि बढ्दो छ । सुन्दरबजार नगरपालिका–९ सिउँदीबारका सन्तोष श्रेष्ठ भने खासै रमाएका छैनन् । उहाँले भन्नुभयो, “विगतका वर्षहरूमा प्रत्येक घटस्थापनाका दिनदेखि बिहान–बिहानै नगरा बजाउन आउँथ्यो, नगराका धुन सुन्दा दशैँको आभास हुने गर्दा मनै उल्लासमय हुन्थ्यो, तर यस वर्ष नआउँदा नरमाइलो लागेको छ । सानै छँदादेखि नगरा बजाएको सुन्दै आएँ तर यस वर्ष भने नआएपछि नगराको धुन सुन्न नपाउँदा लोप भयो कि भन्ने चिन्ता लागेको उहाँको भनाइ छ । हिन्दू धर्म संस्कृतिसँग जोडिएको नगरा लगाउने प्रथा पछिल्लो समय हराउँदै गएको छ । घटस्थापना सुरु भएदेखि अर्थात् नौरथा सुरु भएसँगै गाउँ–सहरका घरघरमा नगरा लगाउने चलन छ । नगरा लगाउँदाको दमाहाको धुनले दशैँ आएको आभास स्थानीयलाई हुने गरे पनि यस वर्ष भने गाउँघरमै सुनिन छाडेको छ । दशैँको बेला नगरा लगाएको घरमा सुख र शान्ति छाउने धार्मिक विश्वास पनि रहिआएको छ । दशैँका बेलामा परियार समुदायका मान्छेले घर–घरमा पुगी दमाहा बजाएर लगाउने नगरा प्रथा पछिल्लो समय भने हराउँदै जाँदा जिल्लावासी चिन्तित छन् । अझै बुढ्यौली हुँदै गएका दमाह बजाउने परियार समुदायका सन्तति अर्थात् युवापुस्ताको चासो नगरा लगाउनेमा नहुँदा लोप हुँदै गएको पाइन्छ । नगरा लगाउनेलाई समाजले राम्रो नजरले नहेर्ने भएकाले पनि यो प्रचलन विस्तारै हराउँदै गएको दोर्दी गाउँपालिकाका सन्तेबहादुर परियारले बताउनुभयो । उहाँले भन्नुभयो, “अहिलेका युवापुस्तालाई बाजा बजाउनै नआउने र बजाउन सिकेकासमेत बाजा बजाउँदै हिँड्न लाज मान्ने गरेका छन् । त्यसैमाथि यो नगरा लगाउने चलन त हराइनै सकेजस्तो छ ।” विगतमा घर–घरमै नगरा लगाउने चलन भए पनि केही वर्षदेखि भने नगरा लगाउने चलन हराउँदै गएको क्व्होलासोथर गाउँपालिका अध्यक्ष सूर्यप्रसाद गुरुङले बताउनुभयो । उहाँले भन्नुभयो, “अब नगरा संरक्षणका लागि पालिकाले नयाँ पुस्ताका परियार समुदायलार्ई आकर्षित गर्ने वातावरण सिर्जना गर्छौँ । नगरा प्रथा परियार समुदायको संस्कार, परम्परा र पुर्खाले दिएको सम्पत्ति हो । तर अहिले परम्परा नै लोप हुन थालेको जनाउँदै परियार समुदाय नै चिन्तिन बन्दै गएका छन् ।” घटस्थापनादेखि ब्राह्मण–क्षेत्री समुदायमा दशैँको नवमीसम्म बिहान दुर्गा भवानीको पूजा गर्ने चलन छ । नहरा लगाउने प्रथा संरक्षणमा सबै परियार समुदाय पनि एकजुट हुनुपर्ने सरोकारवाल बताउँछन् । विस्तारै विभिन्न संस्कार र संस्कृति लोप हुँदै गर्दा संस्कृतिविद्समेत चिन्तित बनेका हुन् ।
काठमाडौं : मनास्लुको हिमपहिरोमा परेर घाइते भएका ९ जनालाई उद्धार गरिएको प्रहरीले जनाएको छ । ६ जना घाइतेहरुलाई हेलिकोप्टरमार्फत् उद्धार गरेर कपनस्थित करुणा अस्पतालमा ल्याइएको छ । अन्यको अवस्था सामान्य भएकाले उनीहरु आफैं फर्किने बताएको जिल्ला प्रहरी कार्यालय गोरखाका प्रहरी प्रमुख केदार खनालले जानकारी दिए । चुमनुब्री गाउँपालिका-१ स्थित मनास्लु हिमालको आधार शिविरको पहिरोमा उनीहरु परेका थिए । हिमपहिरोमा परेर अनुप राईको मृत्यु भएको थियो । पर्यटन विभाग अन्तर्गतको पर्वतारोहण महाशाखाका अनुसार गम्भीर घाइते दुईजनासहित ६ जनालाई मंगलबार बिहान हेलिकोप्टरबाट उद्धार गरिएको छ । मौसम खराब भएकाले सोमबार उद्धार गर्न सकिएको थिएन ।
गोरखा ः गोरखा भूकम्पले क्षति पुर्याएको गोरखाको प्रसिद्ध धार्मिकस्थल मनकामना मन्दिर परिसरमा रहेको सत्तल पुनःनिर्माण हुने भएको छ । मनकामना मन्दिरका मूलपुजारी इन्सान थापामगर र मन्दिरका गुिठयार थकाली भीमबहादुर श्रेष्ठले संयुक्तरूपमा सोमबार सत्तलको शिलान्यास गर्नुभयो । मनकामना क्षेत्र विकास समितिका अध्यक्ष रामकुमार जोशीले सत्तल निर्माण गर्न करिब रु ९० लाख लाग्ने जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “अब दशैँलगत्तै पुनःनिर्माण सुरु हुन्छ, फिनिसिङ गर्दा थप लागत बढ्न सक्छ । करिब सात महिनाभित्रमा सत्तल निर्माण सम्पन्न हुन्छ ।” उक्त सत्तलमा तत्कालीन समयमा मन्दिरमा आउने भक्तजनले बत्ती बाल्ने गर्दथे । हाल रहेको सत्तलको तेस्रो तलामा परेवा घर र मनकामना क्षेत्र विकास समितिको कार्यालय सञ्चालन हुँदै आएको छ । नयाँ निर्माण सम्पन्न भएपछि समेत सोही सत्तलमा समितिको कार्यालय सञ्चालन गरिने उहाँले जानकारी दिनुभयो ।
काठमाडौं ः नवरात्रको दोस्रो दिन दशैँघर वा पूजा कोठामा नौ दुर्गामध्येकी दोस्रो ब्रह्मचारिणी देवीको विधिपूर्वक पूजा आराधना गरिँदै छ । नवरात्रको दोस्रो दिन आज पूजास्थलमा ब्रह्मचारिणी देवीलाई आह्वान गरी विधिपूर्वक पूजा आराधना गरेमा ब्रह्मतत्वको ज्ञान गर्न सकिने धार्मिक विश्वास छ । संसारका मुमुक्षु प्राणीलाई सच्चिदानन्द रुप ब्रह्मको वोध गराउनका लागि निरन्तर लागिरहने मान्यतामा नवदुर्गामध्येको दोस्रो देवीलाई ब्रह्मचारिणी भनिएको हो । ब्रह्मचारिणीको हातमा कमल, अक्षमाला र कमण्डलु बनाइनुपर्छ भन्ने विधान छ । मार्कण्डेय पुराणलगायत ग्रन्थमा भनिएको छ, ‘ब्रह्म चारयितुं शीलं यस्याः सा ब्रह्मचारिणी’ अर्थात् सच्चिदानन्द ब्रह्मस्वरुपको प्राप्ति गराउने स्वभाव नै ब्रह्मचारिणी हो । यसैले ब्रह्मतत्वको ज्ञान गर्न चाहनेले विशेषरूपमा ब्रह्मचारिणी देवीको विशेषरूपमा पूजा आराधना गर्ने गर्छन् । नवरात्रमा देशभरका शक्तिपीठमा पूजा आराधना एवं दर्शन गर्ने भक्तजनको भीड लागेको छ । यसैगरी राज्यका तर्फबाट नवदुर्गाको पूजा आरधना गरिने हनुमानढोका दरबारस्थित दशैँघरमा पनि आज विधिपूर्वक ब्रह्मचारिणी देवीको पूजा आराधना गरिने हनुमानढोका दरबार हेरचाह अड्डाले जनाएको छ । नवरात्रको पहिलो दिन सोमबार दशैँघर वा पूजा कोठामा वैदिक विधिपूर्वक घटस्थापना गरी जौँको जमरा राखिएको थियो । त्यसै दिन घटस्थापना गरिएको स्थानमा नौ दुर्गामध्येकी पहिलो देवी शैलपुत्रीको आह्वान गरी विधिपूर्वक पूजा आराधना गरिएको थियो । नवरात्रका नौ दिन घटस्थापना गरिएको स्थलमा दुर्गा सप्तशती (चण्डी), श्रीमद्देवी भागवतलगायत देवी स्तोत्र पाठसमेत गरिन्छ । नवरात्रका अवसरमा देवीको आराधना गरी पूजा आराधना गरेमा शक्ति, ऐश्वर्य र विद्या प्राप्त हुने धार्मिक विश्वास छ । यसै आधारमा वैदिक सनातन धर्मावलम्बीले प्रत्येक वर्ष आश्विन शुक्ल प्रतिपदादेखि नवमीसम्म दुर्गा देवीको विशेष आराधना गर्छन् । नौ दिनसम्म पूजा आराधना गरेको प्रसाद विजयादशमीदेखि कोजाग्रत पूर्णिमाका दिनसम्म लगाइन्छ । वर्षमा चार नवरात्र पर्छन् । त्यसमध्ये आश्विन शुक्ल पक्ष र चैत्र शुक्ल पक्षमा पर्ने नवरात्रमा विशेषरूपमा शक्ति स्वरुपा देवीको पूजा आराधना गरिन्छ । पुस र असारमा पर्ने नवरात्रमा केही साधकले देवीको आराधना गरे पनि आश्विन चैत्रमा जसरी मनाइँदैन ।
काठमाडौं । बडादसैँमा काठमाडौँ उपत्यकाबाट आआफ्नो स्थायी घर फर्कने यात्रुको सङ्ख्या ह्वात्तै बढेको छ । अहिले दैनिकरुपमा नागढुङ्गा, साँगाभञ्जाङ, मुड्खु र फर्पिङ हुँदै उपत्यका छोड्नेको सङ्ख्या दैनिक ५० हजार भन्दामाथि रहेको छ । यस पटक दसैँमा करिब २० लाख व्यक्ति उपत्यकाबाट बाहिर जाने अनुमान गरिएको महानगरीय ट्राफिक कार्यालयका प्रवक्ता राजेन्द्रप्रसाद भट्टले बताउनुभयो । अघिल्लो दुई आर्थिक वर्षमा कोरानालगायत कारणले दसैँका बेला पनि उपत्यकाबाट बाहिर जानेको सङ्ख्या न्यून थियो । तीन वर्षअघि काठमाडौँ उपत्यकाबाट दसैँका अवसरमा घर फर्कनेको सङ्ख्या २० लाखको हाराहारीमा रहेको तथ्याङ्क छ । दसैँमा घर जाने यात्रुलाई सहजीकरण गर्न ट्राफिक प्रहरीले गोंगबु, चाबहिल, कोटेश्वर, कलङ्कीलगायत उपत्यकाका १४ यात्रु सहायता कक्ष स्थापना गरेको छ । यातायात व्यवस्था कार्यालय, यातायात व्यवसायी र ट्राफिक प्रहरी सवारीको समन्वयमा स्थापना गरिएका त्यस्ता कक्षबाट गन्तव्यस्थल जान सवारीसाधन नपाउने तथा विभिन्न कारणले अप्ठ्यारोमा परेका यात्रुलाई सहजीकरण गर्नेछ । सवारी चाप र भिडभाडका कारण हुनसक्ने चोरी र पाकेट मार नियन्त्रण, क्षमताभन्दा बढी चढाउने सवारी साधनलाई कारवाही गर्न सादा पोशाकमा पनि प्रहरी खटिने प्रवक्ता भट्टले जानकारी दिनुभयो । महानगरीय ट्राफिक प्रहरी कार्यालयले दसैँ मनाउन घर फर्कने यात्रुको बढी चापलगायतका कारणले सवारी दुर्घटना हुनसक्ने भएकाले चालकले तीव्र गति वा मादक पदार्थ सेवन गरी सवारीसाधन चलाएमा खबर गर्न आग्रह गरेको छ । यातयात व्यवसायीले पनि दसैँका लागि पर्याप्त सवारीसाधन उपलब्ध हुने प्रतिबद्धता जनाउँदै सवारी साधनको अभाव नहुने भएकाले यात्रुलाई ढुक्क भएर टिकट लिएर मात्र गन्तव्यतर्फ प्रस्थान गर्न सुझाव दिएको छ । अहिले उपत्यका भित्रने सवारी साधनको तुलनामा बाहिर जाने सवारी साधन र यात्रुको सङ्ख्या उल्लेख्यरुपमा वृद्धि भएको छ । प्रहरीले छतमा नचढ्न, सवारीसाधनमा नझुण्डिन र कसरी यात्रा गर्दा सुरक्षित हुन्छ त्यसतर्फ आफैँ सचेत रहन सबै यात्रुसँग आग्रह गरेको छ ।