काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले बेलायतका महारानी एलिजाबेथ द्वितीयको निधनप्रति दुःख व्यक्त गर्दै लैनचौरमा रहेको नेपालस्थित बेलायती राजदूतावासमा पुगेर त्यहाँ राखिएको शोक पुस्तिकामा हस्ताक्षर गर्नुभएको छ । राष्ट्रपति भण्डारीले नेपालका लागि बेलायती राजदूत निकोला पोलिटसँगको कुराकानीमा महारानीको निधनबाट नेपालले एक अशल मित्र गुमाएको जनाउँदै उहाँप्रति हार्दिक श्रद्धाञ्जलि व्यक्त गर्नुभयो ।
बागलुङ । बागलुङ नगरपालिका–९ स्थित तित्याङ स्वास्थ्यचौकी पहिराको उच्च जोखिममा छ । भवन निर्माण गर्नुपूर्व उपयुक्त ठाउँ छनोट नहुँदा लाखौँ रुपैयाँको लागतमा निर्माण भएको उक्त स्वास्थ्यचौकी भवन पहिराको जोखिममा परेको हो । विसं २०७६ मा निर्माण भएको उक्त भवन नजिकै पहिरा जाने क्रम रोकिएको छैन । भवन माथिदेखि झरेको पहिराले पछाडितिरका झ्यालमा क्षति पुर्याएको छ । भवनमाथिदेखि तथा तलपट्टिबाट पहिरो गएको छ । माथिदेखि झरेको पहिराले भवन पुरिन थालेको छ । तलदेखि भवनको जगनै उप्किन थालेको छ । रु दुई करोड तीन लाखमा निर्माण भएको सो भवन पहिराको जोखिममा परेपछि वडा कार्यालयले यसको संरक्षणका लागि पहल थालेको छ । बागलुङ नगरपालिका–९ का वडाध्यक्ष राजु थापाले भवन जोखिममा परेपछि यसको संरक्षणका लागि रु ६५ लाख विनियोजन भएको बताउनुभयो । उहाँले बर्खा सकिएपछि पर्खाल लगाउने बताउनुभयो । “बर्खा रोकिएपछि पर्खाल लगाएर संरक्षण गर्ने योजना छ”, थापाले भन्नुभयो । ठाउँ उपयुक्त नहुँदा अहिलेको अवस्था सिर्जना भएको उहाँको भनाइ छ । “यो ठाउँमा हुँदैन, जोखिम हुन्छ भन्दाभन्दै जबर्जस्ती भवन निर्माण गर्ने काम भयो”, थापाले भन्नुभयो, “पानीको मूल फुटने ठाउँमै भवन निर्माण गरिएको छ ।” भवनको जग नै कमजोर भएको पाइएको छ । उक्त भवन निर्माणका लागि स्थानीय यामबहादुर खड्का र बेलबहादुर खत्रीले चार रोपनी जग्गा दान गर्नुभएको हो ।
धादिङ । जिल्ला अस्पताल धादिङमा दैनिक डेङ्गुका बिरामी उपचारका लागि भर्ना हुन थालेका छन् । एक सातादेखि अस्पतालमा दैनिक २० जनाको हाराहारीमा डेङ्गुका बिरामी उपचार गर्न आउने गरेका छन् । लक्षण देखापरेका बिरामीमध्ये परीक्षण गर्दा दैनिक १० जनाभन्दा बढीलाई डेङ्गु पुष्टि हुने गरेको अस्पतालका सूचना अधिकारी विक्रम विकले जानकारी दिनुभयो । “दैनिक १०–१२ जनामा डेङ्गु देखिने गरेको छ, त्यसमध्ये पाँचभन्दा बढी बिरामी अस्पताल भर्ना भइरहेका छन्”, उहाँले भन्नुभयो । बिहीबारसम्म धादिङ अस्पतालमा नौ डेङ्गुका बिरामी भर्ना भएका छन् । सामान्य अवस्थाका बिरामीलाई होमआइसोलेशनमा राखिएको विकले जानकारी दिनुभयो । सरकारी अस्पतालले मात्रै साउनयता एक सय ४८ जनामा डेङ्गु पुष्टि गरेको छ । नीजि अस्पताल तथा स्वास्थ्य संस्थामा जाँच गराउनेको सङ्ख्या यकिन छैन । धादिङ अस्पतालमा हरेक दिन बिहानैदेखि डेङ्गुका बिरामी बहिरङ्ग कक्ष (ओपिडी) मा लाइन लाग्ने गरेका अस्पतालका आकस्मिक कक्ष प्रमुख डा दिनेश रेग्मीले बताउनुभयो । ज्वरो आउने, असाध्यै टाउको दुख्ने, ढाड, जोर्नी तथा मांसपेशी दुख्ने लगायत लक्षण देखिएपछि सर्वसाधारण अस्पताल आउने गरेका छन् । अस्पतालमा शय्या अपुग हुने अवस्था आएको रेग्मी बताउनुहुन्छ ।
बाँके । बाँकेमा पछिल्लो समय डेङ्गुबाट सङ्क्रमित हुनेको सङ्ख्या बढदै गएको छ । अहिलेसम्म जिल्लाका विभिन्न पालिकाकामा गरी ११ जनामा डेङ्गु सङ्क्रमण फैलिएको छ । जिल्ला स्वास्थ्य कार्यालय बाँकेका किटजन्य रोग फोकल पर्सन दुर्गा गौतमका अनुसार ११ मध्ये आठ जना जिल्लाभित्रका छन् । बुधबारमात्रै डेङ्गुबाट नेपालगञ्जमा दुई जनाको मृत्यु भएको छ । सङ्क्रमितमध्ये सबैभन्दा बढी नेपालगञ्ज उपमहानगरपालिकाका पाँच, कोहलपुर नगरपालिकाका दुई र बैजनाथ गाउँपालिकाका एक जना छन् । अन्य तीन जना बुटवल र काठमाडौँ आवतजावत गर्दा सङ्क्रमित भएका पाइएको छ । यस्तै भेरी अस्पताल नेपालगञ्जमा पनि डेङ्गु र भाइरल ज्वरोका बिरामीको चाप ह्वात्तै बढेको छ । अस्पतालका सूचना अधिकारी डा सङ्केतकुमार रिसालले डेङ्गु र भाइरल ज्वरोका बिरामी बढ्दै गएको उल्लेख गर्दै दमका रोगीसमेत बढेको बताउनुभयो । “अस्पताल भरिभराउ छ, बिरामी धेरै छन्”, उहाँले भन्नुभयो । डा रिसालले लामखुट्टेबाट बच्नु नै डेङ्गुको सङ्क्रमणबाट जोगिनु भएको उल्लेख गर्दै त्यसबाट बच्न लामखुट्टेको बासस्थान नै नष्ट गर्न आवश्यक भएको बताउनुभयो । त्यस्तै नेपालगञ्ज उपमहानगरपालिकामा डेङ्गु सङ्क्रमित भेटिएपछि लामखुट्टेका लार्भा र फुल नष्ट गर्न थालिएको छ ।
काठमाडौं । देशभर आंशिकदेखि सामान्य बदली रही अधिकांश स्थानमा हल्कादेखि मध्यम वर्षा हुने भएको छ । हाल मनसुनको न्यूनचापीय रेखा सरदर स्थानभन्दा केही दक्षिणतिर अवस्थित रहेकाले बदलीसँगै वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागका मौसमविद् राजु प्रधानाङ्गले जानकारी दिनुभयो । विभागका अनुसार आगामी २४ घण्टा बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानमा र बाँकी प्रदेशका थोरै स्थानमा मेघगर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावनाका साथै लुम्बिनी प्रदेशका एक–दुई स्थानमा मेघगर्जन/चट्याङसहित भारी वर्षाको समेत सम्भावना रहेकाले वर्षा हुने पहाडी भू–भागमा भू–क्षय, पहिरो तथा गेग्रान बहावको जोखिम रहेको छ । शनिबार देशभर आंशिकदेखि सामान्य बदली रही सुदूरपश्चिम र लुम्बिनी प्रदेशलगायत अन्य प्रदेशका पहाडी भू–भागका केही स्थानमा र बाँकी प्रदेशका एक–दुई स्थानमा मेघगर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना र सुदूरपश्चिम तथा लुम्बिनी प्रदेशका एक–दुई स्थानमा मेघगर्जन/चट्याङसहित भारी वर्षाको सम्भावना छ । मौसम पूर्वानुमान महाशाखाको पछिल्लो विवरणअनुसार आज काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम २० दशमलव दुई डिग्री र अधिकतम तापक्रम २५ दशमलव दुई डिग्री सेल्सियस रहेको छ ।
झापा । झापाको कनकाईमा ‘मास लाइट’ जडान धमाधम भइरहेको छ । नेपाल विद्युत् प्राधिकरण र कनकाई नगरपालिकाको सहकार्यमा मास लाइट जडान गर्न लागिएको हो । नगरप्रमुख राजेन्द्र पोखरेलका अनुसार रु दुई करोड ६० लाखको लागतमा चारवटा मास लाइट तथा एक सय स्मार्ट लाइट जडान गरिँदै छ । उक्त कार्यका लागि नगरपालिकाले ६० तथा प्राधिकरणले ४० प्रतिशत लगानी गरेको छ । एउटा मास लाइट जडान गर्न रु १६ लाख खर्च हुने उहाँले बताउनुभयो । हाल कनकाई नगरपालिकाको कोटीहवन, सुरुङ्गा, दुर्गापुर र लक्ष्मीपुरमा मास लाइट जडान भइरहेको छ । “दुई स्थानमा जडान भइसकेको छ”, पोखरेलले भन्नुभयो, “थप दुई स्थानमा जडान जारी छ ।” सोह्र मिटर अग्लो पोलमा जडान गरिने वचालित मास लाइटले एक सय मिटर वरपरसम्म उज्यालो दिन्छ । भरतपुर, पोखरालगायत सहरमा मात्र जडान गरिएको मास लाइट प्रदेश १ मै पहिलोपटक कनकाईमा जडान गर्न लागिएको उहाँको भनाइ छ । हाल बजार र संवेदनशील क्षेत्रलाई लक्षित गरी जडान गरिएको मास लाइटले बजार क्षेत्रमा हुने चोरीडकैतीलगायत विभिन्न आपराधिक घटनामा कमी आउनुका साथै व्यापारिक क्षेत्रमा समेत मद्दत पुग्ने नगरपालिकाको विश्वास छ । नगरपालिकाले नगर क्षेत्रमा सिसीक्यामेरासमेत जडान गर्ने योजना बनाएको छ ।
वालिङ ः गण्डकी र लुम्बिनी प्रदेशको सङ्गमस्थल राम्दीस्थित कालीगण्डकी नदीमाथि पक्की पुल बनाउने प्रक्रिया थालिएको छ । सुनौली–पोखरा जोड्ने सिद्धार्थ राजमार्गअन्तर्गत स्याङ्जा र पाल्पाको सीमामा हाल रहेको पुल जीर्ण भएपछि नयाँ पुल बनाइने भएको हो । विसं २०२८ मा भारतले निर्माण गरिदिएको ‘स्टिल ट्रस’ पुल जीर्ण हुँदै जाँदा ठूला भारवहन क्षमताका सवारीसाधन आवतजावतमा रोक लगाई नयाँ पुल निर्माणका लागि ठेक्का सम्झौता भएको हो । हाल सञ्चालनमा रहेको ९३ मिटर लामो पुलभन्दा पाँच–सात मिटर तल अर्को पुल बनाउने गरी सडक विभाग पुल महाशाखाले सर्भे सम्पन्न गरिसकेको छ । ठेक्का प्रक्रिया अगाडि बढिसकेको पुल विभाग पुल सेक्टर पोखराका आयोजना प्रमुख एवं सिनियर डिभिजनल इञ्जीनियर नवराज बाँस्तोलाले जानकारी दिनुभयो । बोलपत्र आह्वान गरी २०७९ असार ३० गते हिम सगरमाथा कन्स्ट्रक्सनसँग पुल निर्माणका लागि सम्झौता भएको हो । “सम्झौता भएको मितिले तीन वर्षभित्र निर्माण सम्पन्न गरिसक्नुपर्छ”, उहाँले भन्नुभयो, “कुल रु २७ करोड ७१ लाखको लागतमा निर्माण सक्ने गरी सम्झौता भएको छ ।” पुल एक सय आठ मिटर लम्बाइ र ११ मिटर चौडाइको हुने छ । पुलको दायाँबायाँ झण्डै डेढ मिटरको फुटपाथ रहने छ । उक्त पुलको ४० टनसम्मको भारवहन क्षमता रहने छ । सम्झौता भएको मितिले नौ महिनाभित्र अर्थात् आगामी चैत मसान्तसम्म डिजाइन स्वीकृत गरिसक्नुपर्ने छ । निर्माणस्थलको माटो परीक्षण गरिसकिएको छ भने चैत मसान्तभित्र नै निजी जग्गामा बनेका घर–टहरा खाली गरी क्षतिपूर्ति दिइने उहाँले बताउनुभयो । उक्त पुल जीर्ण र पुरानो भएकाले चार–पाँच वर्षदेखि अधिकतम १० टन भारवहन क्षमताका सवारीसाधनलाई मात्रै सामान ढुवानी गर्न दिइएको छ ।
काठमाडौं : बलात्कारको आरोप लागेका राष्ट्रिय टिमका निलम्बित कप्तान सन्दीप लामिछाने सिपीएल छोडेर नेपाल फर्कने भएका छन् । आफू क्यारेबियन प्रिमियर लिग ९सीपीएल० छाडेर केही दिनमै नेपाल फर्किन लागेको पनि उनले बताएका छन् । लामिछानेले ट्वीट गर्दै सो कुरा बताएका हुन् । उनले नेपालको कानुन मान्ने र आफूमाथि लागेको अभियोगको सामना गर्ने भन्दै निष्पक्ष छानबिन हुने विश्वास पनि व्यक्त गरेका छन् । हाल क्यारेवियन प्रिमियर लिगका लागि जमैकामा रहेका सन्दीपविरुद्ध नाबालिग बलात्कार आरोपमा उजुरी परेको छ । पक्राउ पुर्जी नै जारी भएपछि नेपाल क्रिकेट संघ (क्यान)ले बिहीबार साँझ उनलाई राष्ट्रिय टिमबाट निलम्बन गरेको छ । त्यसअघि उनले क्यानलाई कानुनी सहायताका लागि आग्रह गरेका थिए ।
काठमाडौँ : नेपालको राजनीति र साहित्यमा महत्वपूर्ण योगदान दिनुभएका पहिलो जननिर्वाचित प्रधानमन्त्री बिपी कोइरालाको १०९औँ जन्मजयन्ती विभिन्न कार्यक्रम गरी शुक्रबार देशभर मनाइँदैछ । नेपालमा प्रजातन्त्रको स्थापना एवं पुनःस्थापनाका लागि कठोर सङ्घर्ष गर्नुभएका कोइरालाको विसं १९७१ भदौ २४ गते जन्म भएको थियो । जहानियाँ राणा शासनको विरोधमा उहाँका पिता कृष्णप्रसाद कोइरालाले गरिब किसानले पहिरेको कपडा राणा प्रधानमन्त्री चन्द्रशम्शेरलाई पार्सल गरी पठाएपछि कोइराला परिवार भारत निर्वासनमा जानुपरेको थियो । भारत निर्वासनमै बिपीले भारतको स्वतन्त्रता सङ्ग्राममा भाग लिनुभयो । भारत स्वतन्त्र भएपछि नेपालमा प्रजातन्त्र स्थापनाका लागि सहज हुन्छ भन्ने सोचले उहाँ त्यो आन्दोलनमा सक्रिय हुनुभएको हो । भारत निर्वासनकै क्रममा जहानियाँ राणा शासनको अन्त गर्न वि.सं २००३ मा बिपीको नेतृत्वमा नेपाली राष्ट्रिय कांग्रेस स्थापना भयो । प्रजातन्त्र स्थापना नै मुख्य लक्ष्य लिएर सुवर्ण शम्शेरको नेतृत्वमा २००६ सालमा स्थापना भएको नेपाल प्रजातन्त्र कांग्रेसकाबीच एकता भएपछि २००७ सालको क्रान्ति सफल भयो । दुवै दल एकीकृत भई बनेको नेपाली कांग्रेस अहिले पनि संसद्मा दोस्रो ठूलो दलका रुपमा लोकतान्त्रिक प्रगतिशील गठबन्धनका तर्फबाट सरकारको नेतृत्व गरिरहेको छ । क्रान्तिको सफलतापछि मोहन शम्शेरको नेतृत्वमा बनेको राणा–कांग्रेस सरकारमा बिपी गृहमन्त्री बन्नुभयो । विसं २०१५ को आमनिर्वाचनमा कांग्रेसले दुई तिहाइ बहुमत प्राप्त गरेपछि प्रथम जननिर्वाचित प्रधानमन्त्री बन्नुभएका कोइरालाले नेपालमा राष्ट्रियता, प्रजातन्त्र र समाजवाद स्थापनाका लागि राजनीतिक नेतृत्व प्रदान गर्नुभयो । प्रधानमन्त्रीत्व कालमा उहाँले विर्ता उन्मूलन गरी ‘जग्गा जोत्नेको हुनुपर्छ’ भन्ने भूमिसुधार कार्यक्रम लागू गराउनुभयो । विसं २०१७ पुस १ गते शाही नेपाली सेनाको शक्तिका भरमा जननिर्वाचित सरकार अपदस्थ गरिएपछि कोइरालालगायत नेतालाई सिंहदरबारमा बन्दी बनाइएको थियो । एक महिनापछि सेनाको सुन्दरीजल आर्सनलका प्रमुखको सरकारी निवासलाई वरिपरि पर्खालले घेरेर नेता कोइराला, संसद्का प्रथम सभामुख कृष्णप्रसाद भट्टराई, नेता गणेशमान सिंहलगायत मन्त्रीलाई सुन्दरीजल बन्दीगृहमा सारियो । विसं २०२५ मा स्वास्थ्य परीक्षणका लागि जेलमुक्त हुनुभएका कोइरालाले आठ वर्षसम्म भारतमा निर्वासित जीवन बिताउनुभयो । भारतमा निर्वासित भएर प्रजातन्त्र पुनःस्थापनाका पक्षमा सङ्घर्ष गर्दा राष्ट्रियता कमजोर भएको विश्लेषण गरी आठ वटा ज्यान मुद्दाको पर्वाह नगरी २०३३ साल पुस १६ गते राष्ट्रिय एकता तथा मेलमिलापको नीति लिइ उहाँ स्वदेश फर्कनुभयो । उहाँले अपनाएको मेलमिलापको नीति आज पनि मुलुकको राजनीतिमा उत्तिकै सान्दर्भिक छ । विश्वेश्वरप्रसाद कोइरालाको साहित्यिक व्यक्तित्व क्यान्सर रोगले बिपीको विसं २०३९ साउन ६ गते निधन भयो । उहाँले नेपाली साहित्यका क्षेत्रमा पनि महत्वपूर्ण योगदान पुर्याउनुभएको छ । नेपाली साहित्यमा मनोवैज्ञानिक यथार्थवादी धाराका प्रवर्तक कोइरालाका डेढ दर्जन कृति प्रकाशित छन् । कोइरालाका ‘तीन घुम्ती’, ‘मोदी आइन’, ‘हिटलर र यहुदी’, ‘सुम्निमा’, ‘नरेन्द्रदाई’, एवं ‘बाबुआमा र छोरा’ गरी छ उपन्यास प्रकाशित भएका छन् । त्यसैगरी दुई कथा सङ्ग्रह ‘श्वेत भैरवी’ र ‘दोषी चश्मा’, हरिप्रसाद शर्माको सम्पादनमा ‘विश्वेश्वरप्रसाद कोइरालाका कथा र कविता’, प्रकाशित छ । वरिष्ठ अधिवक्ता गणेशराज शर्मासँगको वार्तामा आधारित ‘आत्मवृत्तान्त’, सुन्दरीजल बन्दीगृहमा बस्दाको दैनिकीमा आधारित ‘जेल जर्नल’, विसं २०३३ पुस १६ गते राष्ट्रिय एकता र मेलमिलापको नीति लिइ स्वदेश फर्केपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट सिधै सुन्दरीजल बन्दीगृहमा लगिएपछि लेखिएको दैनिकी ‘फेरि सुन्दरीजल’ ले नेपालको तत्कालीन राजनीतिक अवस्थाको यथार्थ चित्रण गरेको छ । बिपीले लेख्नुभएका निबन्ध ज्ञाननिष्ठ ज्ञवालीको सम्पादनमा प्रकाशित सिसार पत्रिकामा ‘साहित्यमा प्रगतिशीलता’ विषयमा प्रकाशित छ । प्रजातान्त्रिक समाजवादका चिन्तक एवं प्रयोक्ता कोइरालाले स्वतन्त्ररुपमा चिन्तन, आयाम, परम्परा र शैली दिएर साहित्यका माध्यमबाट नेपाली वाङ्मयलाई शिखरमा पु¥याउन योगदान दिनुभयो । प्रथम जननिर्वाचित सरकारका प्रधानमन्त्री, संसद्का सभामुख एवं मन्त्रीलाई बन्दी बनाइएको सुन्दरीजल बन्दीगृहलाई विसं २०६१ भदौ २४ गते बिपी सङ्ग्रहालयका रुपमा उद्घाटन गरियो । बिपीको जीवनका महत्वपूर्ण चीजीबजको सङ्कलन गरी दर्शनीय बनाइएको सङ्ग्रहालय विसं २०७२ वैशाख १२ गतेको भूकम्पले क्षतिग्रस्त बनेपछि पुरातत्व विभागले पुनःनिर्माण अन्तिम चरणमा पु¥याएको छ । सङ्ग्रहालयमा बिपीको जीवनका महत्वपूर्ण सामग्रीका साथै विसं २००७ सालको क्रान्तिमा प्रयोग गरिएको ट्याङ्कर, कांग्रेसले २०३० साल जेठ ३० गते क्रान्तिलाई खर्च जुटाउन अपहरण गरेको नेपाल वायुसेवा निगमको विमान पनि राखिएको छ । बिपी जयन्तीका अवसरमा कांग्रेस, भ्रातृ एवं शुभेच्छुक संस्था र बिपी सङ्ग्रहालयले मुलुकभर विभिन्न कार्यक्रम आयोजना गरेका छन् । यस अवसरमा कांग्रेसले प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन लक्षित कार्यक्रम बिपी जयन्ती मनाउन लागेको जनाइएको छ ।