भरतपुर : भरतपुर महानगरपालिकाको ठिमुरा र तनहुँको देवघाट जोड्ने पक्की पुल निर्माण सुरु भएको आठ वर्ष भयो । निर्माण सम्पन्न भएर गाडी गुडिसक्नुपर्ने बेलामा पुलको ६० प्रतिशत मात्र काम सम्पन्न भएको छ । पुल निर्माण अलपत्र अवस्थामा छ । बन्दै गरेको पुल निर्माण कम्पनीले विभिन्न बहाना बनाउँदै अधुरो छाडेको छ । निर्माणका क्रममा पुल दुईपटक भत्कियो । सो क्रममा मजदुरको मृत्यु र केही घाइतेसमेत भएका थिए । पुल निर्माणका लागि ठिमुरा र देवघाटका स्थानीयले सम्बन्धित निकायमा पटक–पटक दबाब दिए तर सुनुवाइ भएन । पुल निर्माण समितिका अध्यक्ष टङ्कनाथ पौडेलले प्रारम्भिक चरणमा अख्तियारमा मुद्दा परेर रोकिएको पुल निर्माण पर्याप्त बजेट विनियोजन नहुँदा र दुईपटक भत्किएका कारण ढिला भएको बताउनुभयो । उहाँले सडक डिभिजन कार्यालयको लापरबाहीका कारण पुल निर्माणका क्रममा प्राविधिकको निगरानी नहुँदा समस्या भएको गुनासो गर्नुभयो । “निर्माण समितिका तर्फबाट पटक–पटक दबाब दियौँ”, उहाँले भन्नुभयो, “प्रशासन कार्यालय र सम्बन्धित मन्त्रालयलाई पनि ज्ञापनपत्र बुझ्यौँ तर पुल निर्माणले गति लिन सकेन ।” उहाँले चितवन र तनहुँका जिल्ला समन्वय समिति प्रमुखहरुको संयोजकत्वमा समिति निर्माणसमेत भएको भन्दै त्यसले पनि निकास दिन नसकेको बताउनुभयो । पौडेलले कात्तिकबाट धमाधम काम नगरे उपभोक्ता समिति सङ्घर्षमा उत्रने उहाँले चेतावनी दिनुभयो । देवघाट क्षेत्र विकास समितिका अध्यक्ष बद्रीप्रसाद अधिकारीले पुल निर्माणमा गम्भीर लापरबाही गरिएको बताउनुभयो । उहाँले पाँच वर्षअघि नै निर्माण सम्पन्न भइसक्नुपर्ने पुल अलपत्र पारेर छाडिएको बताउनुभयो । देवघाट–५ तनहुँका मानबहादुर गुरुङले अब त पुल निर्माण हुन्छ भन्नेमा नै शङ्का लाग्न थालेको बताउनुभयो । यतिका वर्षसम्म पनि एउटा पुल निर्माण हुन नसक्नुमा यहाँका जनप्रतिनिधि र सरकारी कर्मचारीको उदासीनता भएको उहाँले बताउनुभयो । पुल निर्माण नहुँदा भरतपुर र देवघाट आवतजावत गर्न दासढुङ्गा पुग्नुपर्ने बाध्यता रहेको गुरुङको भनाइ छ । चितवन र तनहुँ मात्रै नभएर बागमती र गण्डकी प्रदेशलाई समेत जोड्ने पुल ८।५ मिटर फराकिलो र दुई सय २० मिटर लामो छ । डिजाइनअनुसार पुलका चारवटा स्पान रहने र त्यसमा कङ्क्रिटका ४०÷४० मिटरका तीनवटा र स्टिलको एउटा ८० मिटरको स्पान हुने उल्लेख छ । चितवन ठिमुरातर्फ दुईवटा र देवघाटतर्फ एउटा कङ्क्रिटको स्पान रहनेछ । त्रिशूली नदीमाथि पुल बनाउन २०७१ कात्तिक २० मा तीनवटा निर्माण कम्पनीसँग सम्झौता भएको थियो । निर्माणको ठेक्का इलाइट, एडभेन्चर र इन्द्रेणी जेभीले संयुक्त रूपमा लिएका हुन् । सम्झौताअनुसार तीन वर्षभित्र ९२०७४ कात्तिक १९० मा पुल बन्नुपथ्र्यो । तर पटक–पटक म्याद थपेर पछिल्लो समय काम सक्नुपर्ने समयसीमा २०७९ को चैत मसान्तसम्म तोकिएको छ । यो बीचमा चार/पाँचपटक म्याद थप गरिसकिएको छ । सडक कार्यालय भरतपुरका इन्जिनियर सागर कार्कीले सबै कुराको अनुकूल भए यस वर्ष पुल निर्माणको काम सकिने बताउनुभयो । उहाँले निर्माण कम्पनी पनि काम गर्न तयार रहेको भन्दै नदीमा पानी नघटेकाले काम सुरु गर्न नसकिएको बताउनुभयो । “भूकम्प, नाकाबन्दी र कोरोनाका कारण पुल निर्माणमा असर प¥यो”, उहाँले भन्नुभयो, “यो विचमा दुई पटक भत्किएर तत्काल काम गर्नसक्ने अवस्था भएन । सम्झौता हुँदा पुलको निर्माण लागत रु १९ करोड १० लाख रहेकामा अहिले बढेर रु २१ करोड ६८ लाख पुगेको सडक कार्यालय भरतपुरले जानकारी दिएको छ ।
म्याग्दी : म्याग्दीस्थित धौलागिरि हिमालको आधार शिविरमा हिउँले पुरिएर ४५ घोडाखच्चड मरेका छन् । विश्वको सातौँ (आठ हजार एक सय ६७) मिटर अग्लो धौलागिरि हिमाल म्याग्दीको धवलागिरि गाउँपालिका–४ मा पर्छ । आरोही र पर्यटकका सामग्री ढुवानी गर्न खच्चड लिएर आधार शिविरमा पुगेका मुस्ताङको घरपझोङ गाउँपालिका–२ मार्फाका नौजनाको उद्धार भएको छ । थमसेर्कु ट्रेकिङ कम्पनीले सामान ढुवानी गर्न लगेका १७ र साङ्ग्रिला टे«किङ कम्पनीको सामान लिन गएका २८ खच्चड मरेका हुन् । मुस्ताङको घरपझोङ गाउँपालिका–२ मार्फाका माइकल परियार, किरन परियार, सन्तोष तामाङ र धनराम तामाङलाई हेलिकप्टरले मङ्गलबार ताकममा ल्याएर छाडेको छ । बुद्धि , प्रकाश , कुमार , वीरबहादुर र सुकलाल परियारलाई धौलागिरि आधार शिविरबाट उद्धार गरेर ताकममा ल्याइएको उद्धार गरिएका खच्चड माइकल परियारले बताउनुभयो । “असोज १७ गते मार्फाबाट हिँडेर आधार शिवरमा पुगेर आरोहीका सामान लिएर फर्कने क्रममा बर्सात र हिमपात भएपछि हिउँमा फसेर सम्पर्कविहीन भयौँ”, उहाँले भन्नुभयो, “हामी पनि चार दिन ठाटीमा भोकै बस्यौँ । खान नपाएर र चिसोले गर्दा खच्चड मरेका हुन् ।” चारजना पर्यटक पथप्रदर्शकलाई अल्टिच्युड एयरको हेलिकप्टरले उद्धार गरेर पोखरा लगेको छ । उद्धारमा समन्वय गरेका म्याग्दीका पर्यटन व्यवसायी इन्द्रसिंह शेरचनले लगातारको झरी, हिमपात र प्रतिकूल मौसमका कारण उद्धारमा ढिलाइ भएको बताउनुभयो ।
धादिङ : डेङ्गु तथा ज्वरोका बिरामी बढेसँगै धादिङमा सिटामोल अभाव भएको छ । सिटामोलको अत्यधिक माग भएपछि धादिङबेँसीका निजी मेडिकलमा समेत सिटामोल पाइन छाडेको छ । अत्यावश्यक भएकालाई सिटामोल मिसिएका अन्य औषधि दिने गरिएको व्यवसायीले बताएका छन् । डेङ्गुका बिरामीलाई सिटामोल अत्यावश्यक पर्ने भएकाले बिरामी बढेको बेला भएको अभाव पूर्ति गर्नका लागि पहल भने भएको छैन । धादिङबेँसीस्थित धादिङ अस्पतालमा उपचार गराउन आउने बिरामीका लागि सिटामोल उपलब्ध हुने भए पनि औषधि बिक्री गर्ने अस्पतालको फार्मेसीमा भने मागेजति सिटामोल दिन सकिने अवस्था नभएको फर्मोसीका सञ्चालकले बताएका छन् । निजी मेडिकलमा सिटामोल अभाव भएको छ । धादिङबेँसीस्थित रुपा मेडिकलमा सिटामोल मङ्गलबार नै सकिएको छ । सिटामोल किन्न आउनेलाई यत्तिकै फर्काउनुपरेको छ । सरकारी अस्पतालले सिटामोल दिन नसकेपछि अस्पतालले लेखिदिएको पुर्जा बोकेर बिरामी बजार–बजार चहार्न थालेका छन् । डेङ्गुका बिरामी बढेको बेला धेरै सिटामोल चाहिने भए पनि कम्पनीले सिटामोल नदिएको रुपा मेडिकलका सञ्चालक गोपी श्रेष्ठको भनाइ छ । धादिङमा गत साउन १ गतेयता करिब तीन महिनाको अवधिमा एक हजार ८६ जनामा डेङ्गु सङ्क्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा मात्रै जिल्लामा ९० जनामा डेङ्गु सङ्क्रमण पुष्टि भएको छ । अस्पतालमा बिरामीको चापले शय्या भरिएका छन् ।
काठमाडौं : निर्वाचन आयोगका प्रमुख आयुक्त दिनेशकुमार थपलियाले निर्वाचनमा परिचालित हुने पर्यवेक्षकले कुनै दल र उम्मेदवारको पक्ष वा विपक्षमा प्रस्तुत भएको पाइएमा मान्य नहुने बताउनुभएको छ । आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको निर्वाचन, २०७९ का लागि पर्यवेक्षण संस्थाहरूका लागि आज आयोजित प्रशिक्षक प्रशिक्षण कार्यक्रमको उद्घाटन गर्दै प्रमुख आयुक्त थपलियाले विगतका निर्वाचनहरूमा केही उदाहरणले केही पर्यवेक्षकहरू दल र उम्मेदवारका रूपमा प्रस्तुत भएको पाइएकाले त्यस्तो नगर्न आग्रह गर्नुभएको हो । उहाँले निर्वाचन प्रक्रियाका लागि एक अभिन्न अङ्ग र एक प्रकारले नागरिक समाजको हैसियतमा पनि पर्यवेक्षक रहेकाले निर्वाचन आचारसंहिता, २०७९ को पालना गरेर पर्यवेक्षकले आफ्नो दायित्व निर्वाह गरी आयोगलाई निर्वाचन व्यवस्थानमा सघाउन आग्रह गर्नुभयो । आवधिक निर्वाचनले नागरिकको अधिकार पुनःजागरण हुने र लोकतन्त्र बलियो भएको सन्देश जाने भएकाले यसका लागि उचित वातावरण बनाउन दलहरू, नागरिक समाज, आमसञ्चार र सबै पक्षको भूमिका हुने बताउनुभयो । प्रमुख आयुक्त थपलियाले संविधान र कानुनबमोजिम निर्वाचनको सञ्चालन, रेखदेख, निर्देशन र नियन्त्रणको दायित्व आयोगको भएकाले सरकारले निर्वाचन गराउने अर्थमा बुझिनु गलत हुने स्पष्ट गर्दै बहुदलीय प्रतिस्पर्धात्मक प्रणालीमा खराब दलको विकल्प असल दल हुने र स्वतन्त्र उम्मेदवारले पनि उम्मेदवार हुन पाउने उल्लेख गर्दै निर्वाचन सफल तुल्याउन सबैमा आग्रह गर्नुभयो । कार्यक्रममा आयोगका सहसचिव एवं प्रवक्ता शालिग्राम पौडेलले पर्यवेक्षक संस्थाले निर्वाचन आचारसंहितामा ध्यान दिएर आफ्ना पर्यवेक्षकलाई प्रशिक्षित गर्न आग्रह गर्नुभयो । कार्यक्रमको प्राविधिक सत्रमा आयोगका सहसचिव पौडेलले निर्वाचनसम्बन्धी संवैधानिक व्यवस्था, निर्वाचन प्रणाली, समावेशीकरणसम्बन्धी कानुनी व्यवस्था, निर्वाचन तयारी र निर्वाचन कार्यक्रम, आयोगका पूर्वसचिव बेगेन्द्रराज पौडेलले पर्यवेक्षण संस्था र पर्यवेक्षकको आचारसंहिता तथा दायित्व, आयोगका उपसचिव कमल भट्टराईले निर्वाचन पर्यवेक्षणको अवधारणा र सम्बन्धमा नीतिगत व्यवस्था र आयोगका उपसचिव सूर्यप्रसाद अर्यालले कार्ययोजना र प्रतिवेदनसम्बन्धी व्यवस्था तथा मतदान, मतगणना र निर्वाचन विवाद निरुपण विषयमा प्रस्तुतीकरण गर्नुभएको थियो । प्रशिक्षणमा निर्वाचनका लागि पर्यवेक्षण गर्न आवेदन दिइ अनुमति पाउने ४३ संस्थाका प्रतिनिधि सहभागी छन् ।
पोखरा : नवौँ राष्ट्रिय बृहत् खेलकुद प्रतियोगिता सञ्चालनका लागि व्यवस्थापनलगायत आवश्यक सम्पूर्ण तयारी पूरा भएको छ । मुलुककै पर्यटकीय सुन्दर नगरी पोखरामा यही असोज २८ देखि कात्तिक ३ गतेसम्म आयोजना हुने खेलकुदको कुम्भमेलाका लागि व्यवस्थापनलगायत सम्पूर्ण तयारी पूरा भएको छ । युवा तथा खेलकुद मन्त्रालयका सचिव सूर्यप्रसाद गौतमका अनुसार उपराष्ट्रपति नन्दबहादुर पुनले पोखरा रङ्गशालामा आयोजित विशेष समारोहमा उक्त प्रतियोगिता उद्घाटन गर्नुहुनेछ । प्रतियोगिता आगामी शुक्रबार उद्घाटन हुने भएता पनि पुरुष क्रिकेट प्रतियोगिता यसअघि नै सम्पन्न भइसकेको छ । यस्तै महिला क्रिकेट, ह्यान्डबल फेन्सिङलगायतका केही खेल पनि सुरु भइसकेका छन् । प्रतियोगिता समापन समारोहमा प्रधानमन्त्री शेरबहादुर देउवा प्रमुख अतिथिका रूपमा सहभागी हुनुहुनेछ । खेलकुदप्रति चासो राख्ने सबैको ध्यान अहिले पोखरा र त्यस वरपरका जिल्लामा सञ्चालन हुने प्रतियोगितामा केन्द्रित भएको छ । गण्डकी प्रदेशका लमजुङ, मनाङ र मुस्ताङबाहेकका जिल्लामा सञ्चालन हुने प्रतियोगितामा ३६ खेल विधा समेटिएको छन् । प्रतियोगिता सञ्चालन र व्यवस्थापनका लागि पोखरामै सचिवालय खडा भइसकेको सचिव गौतमले जानकारी दिनुभयो । विसं २०४० मा दोस्रो राष्ट्रिय खेलकुद गरेको पोखराले चार दशकपछि पुनः प्रतियोगिता सञ्चालन गर्न लागेको हो । नेपालको खेलकुदको कुम्भमेलाका रूपमा रहिआएको यस प्रतियोगितामा करिब आठ हजार खेलाडीसहित अफिसियल, प्रशिक्षक सहभागी हुनेछन् । प्रत्येक दुई वर्षमा आयोजना हुनुपर्ने यो प्रतियोगिता कोरोना सङ्क्रमणले केही समय ढिला भएको हो । प्रतियोगितामा केही खेलविधा तनहुँ, स्याङ्जा, पर्वत, गोरखा, नवलपुर, म्याग्दी र बाग्लुङमा सञ्चालन हुनेछन् । आजसम्म सबै खेलाडी तोकिएको खेलस्थल पुग्ने कार्यक्रम छ । प्रतियोगितामा सात प्रदेश, नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी गरी तीन विभागीय र गैरआवासीय नेपाली सङ्घ (एनआरएन) टिमले स्वर्ण तीन सय ९३, रजत तीन सय ९३ र कास्य छ सय पदकाका लागि प्रतिस्पर्धा गर्नेछन् । खेलकुद समाजका सबै जातजाति र समुदायलाई एकीकृत र समावेशी प्रतिनिधित्व गराउने सशक्त विधा हो । प्रतियोगितामा एथलेटिक्स, क्रिकेट, ब्याडमिन्टन, फुटबल, टेनिस, बक्सिङ, भलिबल, जिमन्यास्टिक, ह्याण्डबल, सफ्टटेनिस, सेपाताक्रो, स्क्वास, उसु, जुडो, ‘फुलकन्ट्याक्ट’ कराते, पौडी, हक्की, भारत्तोलन, गल्फ, साइक्लिङ, ट्रायथलन प्याराग्लाइडिङ, आर्चरी, फेन्सिङ, कबड्डी, आइटिएफ तेक्वान्दोे, बास्केटबल, कराते, बुद्धिचाल र कुस्तीलगायत केही प्रदर्शनी खेलविधा समेटिएको छ । प्रतियोगितामा तीन हजार छ सय ८५ महिलासहित सात हजार सात सय ९० खेलाडीले विभिन्न खेलमा प्रतिस्पर्धा गर्नेछन् । प्रतियोगिता आयोजक समितिका सदस्यसचिव फणिन्द्र पौडेलका अनुसार प्रत्येक टोलीबाट कम्तीमा तीन सय ३५ महिला खेलाडीको समेत सहभागिता रहनेछ । प्रतियोगिताका लागि खेलाडी प्रशिक्षण र तयारीका लागि केन्द्रीय सरकारले प्रत्येक प्रदेशलाई रु ४९ लाख रकम उपलब्ध गराएको थियो । प्रतियोगिताको मुख्य आकर्षणका रूपमा यसपटक रु १० लाखको लागतमा ‘रनिङ ट्रफी’ तयार गरिएको छ । प्रतियोगिता गर्न सङ्घीय सरकारले रु ६० करोड बजेट निकासा गरेको थियो । प्रदेश सरकारबाट पनि प्राथमिकताकासाथ रकम विनियोजन गरिएको छ । प्रतियोगिता ऐतिहासिक र भव्यरूपमा सम्पन्न गर्र्न १३ विभिन्न विषयगत समिति गठन गरी सहभागिता, समन्वय र सहजीकरणको काम भइरहेको छ । विगतमा सङ्घीय संरचनाको ढाँचामा हुँदै आएको प्रतियोगिता पहिलोपटक यसपटक प्रादेशिक संरचनामा हुन लागेको हो । प्रतियोगिताबाट नयाँ राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरका खेलाडीको पहिचान र छनोट हुने अपेक्षा गरिएको छ ।
गलकोट : निरन्तरको वर्षाका कारण पहिरो जाँदा काठेखोला गाउँपालिका–४ तङ्ग्रामको ठूलोगाउँका छ घर उच्च जोखिममा परेका छन् । गत असारबाट जान थालेको पहिरो अहिलेसम्म नरोकिँदा घर छाडेर हिँड्नुपर्ने अवस्थामा आएको ठूलोगाउँका स्थानीयवासीले बताए । स्थानीय जङ्गबहादुर दर्जी, प्रेम दर्जी र कुमार दर्जीसहित छ परिवारको घर पहिराको उच्च जोखिममा परेको छ । घरभन्दा एक सय मिटर तलबाट निरन्तररूपमा जमिन चिरा–चिरा परेर घरसम्मै पहिरो जाँदा स्थानीय विस्थापित हुने चिन्ता बढेको जङ्गबहादुरले बताउनुभयो । “असारमा अलि–अलि चर्केको थियो, अहिलेको बेमौसमी वर्षाका कारण जमिन छियाछिया बनेको छ, घरमा पकाउने खानेमात्रै हो सुत्ने र लत्ताकपडा छिमेकीको घरमा लगेर राखेका छौँ”, दर्जीले भन्नुभयो, “घर तल सडक खनेपछि पहिरो बग्न थालेको थियो तर घरसम्मै पहिरो आउँला भन्ने थिएन, वडा कार्यालयले दिएको प्लाष्टिकले पहिरो ढाकेर कति दिन टिक्ला र पहिराले मेरो घरसहित स्थानीय छ परिवारको उठिबास नै लगाउने भयो ।” घरमात्रै नभएर नवनिर्मित पदमार्गसमेत भासिन थालेको स्थानीयवासीले बताएका छन् । पहिरो रोकथामका लागि प्लाष्टिकले ढाक्ने व्यवस्था मिलाइएको भए पनि यहाँ पहिराका कारण घर विस्थापित हुने अवस्थामा पुगेको काठेखोला गाउँपालिका–४ तङ्ग्रामका वडाध्यक्ष लक्ष्मण पुनले जानकारी दिनुभयो ।
बलेवा : बागलुङको बलेवा क्षेत्रका किसानले खेतमा लगाएको धान काट्ने पहिलो दिन आगामी कात्तिक ४ गतेका लागि तोकिएको छ । बलेवा भूमेकोटअन्तर्गत सबै वडाका खेतमा लगाइएको धान काट्ने समय तोकिएको हो । स्थानीय भाषामा पुली र संस्कृत भाषामा धान्य छेदन भनिने यो परम्परा जिल्लाको बलेवा क्षेत्रका लागि हो । स्थानीय जातको गुडुरा धान काट्न आउँदो कात्तिक ४ गते बिहान ९ बजेलाई शुभ दिन तोकिएको छ । पुली लिने भनिने यस दिनलाई यहाँका स्थानीयले एक पर्वकै रूपमा मनाउने गरेका छन् । बागलुङ नगरपालिका–१३ पैयुँपाटाका ज्योतिषी लेखनाथ पौडेल र सुवासचन्द्र पौडेलले ज्योतिषशास्त्रका आधारमा धान काट्ने दिन अर्थात् धान्य छेदनका लागि कात्तिक ४ गते शुभमुहुर्त तोक्नुभएको हो । अघिल्ला वर्षहरूमा पनि ज्योतिषी पौडेलको नेतृत्वमा एवं अमलाचौरका ज्योतिषी रामकृष्ण पाठक, विष्णुप्रसाद पाठक र विष्णुप्रसाद पौडेलेको परामर्शमा यी दिनहरू तोक्ने गरिन्थ्यो । दसैँको महानवमीका दिन बलेवा कोटभैरवस्थित कोटघरमा आयोजना हुने एक विशेष समारोहका बीच पुली लिने र नयाँ धानको चामल प्रयोग गर्ने पहिलो दिन अर्थात् न्वागी खाने दिनसमेत तोक्ने गरिन्छ । कात्तिक १९ गते बिहान ९ बजे नयाँ धानको चामल खाने अर्थात् न्वागी खाने उत्तम समय रहेको पनि सोही दिन तोकिएको छ । महानवमीका दिन नवदुर्गाको विशेष पूजाका साथै बलेवा कालभैरवको मन्दिरमा मेलाका लागि जम्मा हुने सर्वसाधारणलाई भैरवस्थानका पण्डित तथा ज्योतिषीले गरेको निर्णय कोटभैरव गुठी व्यवस्थापन समितिले जानकारी गराउने परम्परा छ । यहाँका किसानले आफ्नै खेतमा लगाएको धान काट्न पनि यो १८औँ शताब्दीको सांस्कृतिक परम्परालाई निरन्तरता दिँदै आएका छन् । महानवमीका दिन नयाँ धान काट्ने र न्वागी खाने दिनको शुभ मुहूर्त सार्वजनिक गरिन्छ र बलेवालीहरूले पनि तिनै दिनहरूमा उक्त कार्य गर्ने गर्दछन् । यहाँका अमलाचौर, पैयूँपाटा, नारायणस्थानसहितका साविकका छवटा गाउँ विकास समितिलाई १८औँ शताब्दीमा बलेवा राज्य मानिन्थ्यो । बलेवा कोटले छवटै गाविसका किसानलाई धान काट्ने र नयाँ चामल खाने दिन तोक्ने चलन चलेको र त्यसैलाई निरन्तरता दिँदै आइएको छ । बलेवामा बाइसे–चौबीसे राजाका पालामा विसं १८४२ मा बलेवा कालभैरव स्थापना गरिएको इतिहासका अध्येता डा आरुणी आचार्यको खोजमा भेटिन्छ । त्यसयतादेखिको यो परम्परा अहिलेसम्म पनि बलेवा क्षेत्रमा कायम रहेको छ । “आफूले करिब छ दशकअघिदेखि यो धान्य छेदन र नवान्न प्रासानको मिति कोटले तोक्ने चलन रहेको”, बताउनुहुन्छ बागलुङ नगरपालिका वडा नं १२ का पूर्व वडाध्यक्ष गुरुदत्त पाठक । उहाँ भन्नहुन्छ, “अहिले पनि यहाँका छवटै गाविसका पाका पुराना एवं जानकारहरू जम्मा भएर ज्योतिषीय परामर्शमा मिति तोकिन्छ र यी मितिलाई यहाँका स्थानीयले एक महत्वपूर्ण सूचनाका रूपमा ग्रहण गर्ने गर्दछन् ।” तर पाठक भने बलेवाकोटको स्थापना विसं १७८० मा नै भएको आफूले पाएको उहाँ बताउनुहुन्छ । उहाँ भन्नुहुन्छ, “यस विषयको लिखत त हामीले भेटेका छैनौँ, मन्दिरमा पनि यसको लिखत भेटिँदैन । तर हामीले यस मन्दिर स्थापनाका बारेमा गरेको खोज र पाका पुरानाहरूसँगको परामर्शमा यो मन्दिरको स्थापना विसं १७८० मा भएको पाएका छौँ ।” विसं १७८० भदौको पहिलो मङ्गलबार यसै स्थानमा मन्दिर स्थापना गरी हरेलो गरिएको र त्यसै दिनदेखि मङ्गलबार नै भैरवस्थानमा पूजा गर्ने प्रचलन सुरु भएको अहिलेसम्मको खोजबाट भेटिएको उहाँको भनाइ छ । बलेवा कोटभैरवमा पुली दिने र न्वागी खाने दिन तोक्ने काम त्योभन्दा पनि अघिबाटै हुने गरेको आफूले पाएको अमलाचौरका स्थानीय ज्योतिषी विष्णुप्रसाद पाठक बताउनुुहुन्छ । उहाँले आफ्ना जिज्यूबाजे राछुदेव पाठक यही कोट भैरवमा गएर शुभ मुहूर्त हेरेर न्वागी, पुलीका दिन खुट्याउने प्रचलनको सुरुआत गरेको उहाँको भनाइ छ । त्यस समयको बलेवा राज्यका प्रमुखले आफूले लगाएका खेती भित्र्याउने तथा नयाँ अन्न खाने दिनको सुरुआत गर्ने दिनका लागि ज्योतिषी खोज्ने क्रममा मन्दिरको नजिकै रहेका आफ्ना पुर्खाहरूले सो कार्यको थालनी गरेका पाठक बताउनुहुन्छ । उहाँका अनुसार राछुदेव पाठकका छोरा शिवै पाठक, उहाँका छोरा वैदु, उहाँका छोरा जग्गुबल्लभ र जग्गुबल्लभका छोरा घनश्याम तथा घनश्यामका छोरा दयारामसम्मका आफ्ना पुस्ताले कोटमा गएर अन्य पाठपूजाका साथै ती कार्यका मुहूर्त हेर्ने गरेको आफूलाई आफ्ना हजुबुवाले सुनाएको बताउनुहुन्छ । आफ्ना जेठाबुवा ज्योतिषी दयाराम पाठकसँगै आफू पनि सो कार्यमा संलग्न हुँदै आएको र आफ्ना पाँच पुस्ताअघिका पुर्खाहरू नै यस कार्यमा संलग्न भएका आफ्नो अनुसन्धानबाट प्राप्त भएको ज्योतिषी विष्णुप्रसाद पाठकको भनाइ छ । विष्णुप्रसादका हजुरबुबा घनश्याम र जेठाबुवा दयारामले त्यतिबेलासम्म बलेवा क्षेत्रको कोटमा आएर सल्लाह दिने चलन रहेको र दयारामपछि भने कोटमा अन्य क्षेत्रबाट पनि ज्योतिषीहरू बलेवा कोट भैरवमा गई यस परम्पराको निरन्तरता दिने गरेको भनाइ छ । यहाँ कोटले तोकेको दिन पुली नलिने र न्वागी नखानेहरू निकै कम छन् । पुली लिएपछि मात्रै धान काट्ने र न्वागी खाएपछि मात्रै नयाँ चामलको प्रयोग गर्ने प्रचलनलाई यहाँका स्थानीय किसानले मान्यता दिँदै आएका छन् । स्थानीय ९४ वर्षीय ज्योतिषी रामकृष्ण पाठक कोटले तोकेका दिन सबैले मान्ने गरेका बताउनुहुन्छ । यी दिनहरूको पालना नगर्नेलाई समाजले पनि राम्रो मान्दैन र आफूले लगाएको नयाँ खेती भित्र्याउने शुभदिनको खोजीमा जो–कोही पनि हुने गरेका र वैदिक विधि नपु¥याई धान काट्ने र नयाँ चामल खाँदा प्राकृतिक प्रकोपहरूको सामना गर्नुपर्ने विश्वास रहिआएकाले ज्योतिषीहरू बसेर निकालेको यही शुभ मुहूर्तमै धान काट्ने र न्वागी खाने परम्परा निरन्तर रहेको उहाँको अनुभव छ । पहिले–पहिले पुली र न्वागी स्थानीय जातको धानमा मात्रै लागू हुने गरेको भए पनि पछिल्लो समय विकासे हाइब्रिड धान लगाएका किसानले समेत सोही संस्कृति पछ्याइरहेका ज्योतिषी लेखनाथ पौडेल बताउहुनुहन्छ ।
काठमाडौं : राष्ट्रपति विद्यादेवी भण्डारी उपचारपछि आज अस्पतालबाट डिस्चार्ज हुनुुभएको छ । कोरोना सङ्क्रमण भई त्रिभुवन विश्वविद्यालय (त्रिवि) शिक्षण अस्पतालमा उपचाररत उहाँको स्वास्थ्यमा सुधार आएपछि आज दिउँसो १२ः४५ बजे अस्पतालबाट डिस्चार्ज हुनुभएको अस्पतालका सूचना अधिकारी रामविक्रम अधिकारीले जानकारी दिनुभयो । “उहाँको स्वास्थ्य अवस्थामा सुधार देखिएपछि आज घर फर्कनुभएको हो”, उहाँले भन्नुभयो, “राष्ट्रपति भण्डारीको ज्वरोलगायत स्वास्थ्यका अन्य सूचकाङ्कहरु सामान्य छन् ।” यही असोज २२ गते राष्ट्रपति भण्डारीलाई रुघाखोकी र ज्वरो आएपछि अस्पतालको एनेक्स वार्ड नं ६०१ मा भर्ना गरी उपचार गरिएको थियो । त्यस क्रममा पिसिआर परीक्षण गर्दा कोरोना सङ्क्रमण देखिएको थियो । उहाँको उपचारमा डा नीरज बमको नेतृत्वमा चिकित्सकको टोली खटिएको थियो ।
ढोरपाटन : बागलुङको निसीखोलामा लगातारको वर्षाले पसाउन लागेको धानबालीमा ठूलो क्षति पुगेको छ । गत असोज १८ गतेदेखि लगातार परेको वर्षाले धान खेतीसँगै भित्र्याउने बेला भएको सिमी, बोडी र भट्टमासमासमेत क्षति पुर्याएको हो । गाउँपालिका–२ काखगेन्द्रबहादुर सुनारले भन्नुभयो,“लगातारको वर्षाले पसाउन थालेको धानबाली सबै सोत्तर परेर ढलेको छ, अब नपाक्दै त्यसलाई न टिप्नु, न त्यत्तिकै छोड्नु, हामीलाई वर्षभरी के खाने भन्ने चिन्ता बढेको छ, खेतभरी धानढलेको देख्दा मन भतभति पोल्छ, सिमी, बोडी र भट्टमास त्यसै कुहिएको छ ।” धानको बीउसमेत नरहने गरी पानीले सोत्तर बनाइदिएको उहाँको भनाइ छ । सुनारले आफूले करिब १७ मुरी फल्ने खेतमा धान लगाएको भन्दै पानीका कारण १४ मुरी धान नष्ट भएको बताउनुभयो । उहाँ भन्नुहुन्छ, “यसपाली धान निकै सप्रिएको थियो, अघिल्लो वर्षमा १७ मुरी धान भित्राउने गर्थे, यसपाली बढेर २० मुरी हुने अनुमान थियो ।” अर्का स्थानीयवासी मीनबहादुर खत्रीले यसपाली बेमौसमी वर्षाले निकै ठूलो समस्यामा पारेको बताउनुभयो । उहाँले वर्षाका कारण १० मुरी धान नोक्सान भएको बताउनुहुन्छ । “ बर्खाभरी दुःख गरेर धान लगाइयो, फल्ने बेला सबै ढल्यो” उहाँले भन्नुभयो “गाउँका धेरै किसानको धान ढलेको छ, यो वर्षा भोकमरी लाग्न सक्छ ।” गाउँपालिकाको सबैभन्दा बढी धान फल्ने क्षेत्र वडा नं १ को बायखोला, २ को काल्नेचौर, वडा नं ३ को बोहरा गाउँ, फाँट र वडा नं ४ को रुपौटेफाँट, स्वाराँफाँट हुन् । यी फाँटका अधिकांश खेतमा धान ढलेका छन् । २० वर्षपछि यस क्षेत्रमा अहिले यति धेरै धानबालीमा क्षति पुगेको स्थानीयवासी कृष्णघर्ती मगरले बताउनुभयो । उहाँले आफ्नो करिब ६० प्रतिशत धानबाली नष्ट भएको बताउनुभयो । उहाँ भन्नुहुन्छ,“हरेक वर्ष धान उत्पादन राम्रो हुँदै गएको थियो, यसवर्ष पनि धान निकै राम्रो भएको थियो, के गर्नु पसाउने बेला वर्षाले सबै नोक्सान गरिदियो, धान ढलेपछि हाम्रो जीउमा घामनै लागेको छैन ।” कृषि ज्ञानकेन्द्र बागलुङका प्रमुख भानुभक्त भट्टराईले प्रारम्भिक प्रतिवेदन अनुसार बागलुङमा यसवर्ष पाँचप्रतिशत धानबाली नोक्सानी भएको बताउनुभयो । उहाँका अनुसार जिल्लामा छ हजार हेक्टर क्षेत्रफलमा धान खेती हुँदै आएको छ । अझै वर्षा भयो बने ६० प्रतिशत धान नोक्सान हुनसक्ने उहाँको भनाइ छ । नोक्सानी व्यहोरेका किसानले विवरण कृषिज्ञान केन्द्रमा पठाएपछि राहतको लागि आफूहरुले मन्त्रालयमा सिफारिस गर्ने बताउनुभयो । किसानले क्षतिको विवरण पठाउँदा अघिल्लो वर्ष राहत पाउन नसकेको उहाँले बताउनुभयो । “यसवर्ष लामो वर्षा भयो, वर्षाका कारण धानबालीमा असर पुगेको छ, अहिलेसम्म हाम्रो प्रारम्भिक रिपोर्टका आधारमा हेर्दा पाँच प्रतिशत धानबाली नोक्सानी भएको अनुमान गरेका छौँ”, प्रमुख भट्टराईले भन्नुभयो “गतवर्ष जिल्लाभरी रु एक करोड सत्र लाख बराबरको क्षति भएको थयो, राहतका लागि मन्त्रालयमा क्षति विवरण पठायौँ तर किसानले अहिलेसम्म राहत पाउनु भएन ।”