पोखरा:  पोखरा र बागलुङबाट एक थास प्रकाशित हुँदै आएको ढोरपाटन दैनिक २३ औं वर्षमा प्रवेश गरेको छ ।  आफ्नो २३ औं वार्षिकोत्सव आइतबार एक समारोहका बिच पोखरामा मनाइएको छ । सोही क्रममा कार्यक्रमको उ...

रेसुङ्गा  :  गुल्मीको रेसुङ्गा नगरपालिका–९ का स्थानीय यादव पाण्डेको गुल्मीबाटै जहाजमा उड्ने सपना यसपटकको दशैंमा पनि पूरा सकेन ।   विसं २०६३ पछि हरेक वर्षको दसैँमा जहाज उड्ने सपना देखाइए पनि त्यसको १६ वर्षसम्म जहाज उडेको छैन । हरेक वर्षको दशैंलाई बहाना बनाउँदा राज्यको करोडौँ लगानी बालुवामा खन्याएको पानी सरह भएको उहाँको गुनासो छ ।    स्थानीय गीता भण्डारी पनि हरेक वर्षको दशैं भनेर दिएको आश्वासनप्रति दिक्क हुनुहुन्छ । अहिले संरचना तयार हुँदा पनि नियमित उडान नगरी जनतामा भ्रम फैलाइएको भण्डारीको भनाइ छ । विमानस्थल निर्माण सम्पन्न भएपछि सरोकारवालाले ध्यान नदिएको स्थानीयवासी दीपक अर्यालको आरोप छ ।   अर्का स्थानीयवासी शेरबहादुर पुन पनि विमानस्थलमा नियमित उडान नएकामा दुःखी हुनुहुन्छ । चुनावी मुद्दा, राजनीतिक शत्रुता र श्रेयको होडबाजीले विमानस्थल अलपत्र परेको उहाँले गुनासो गर्नुभयो । “पहिले त संरचना पूरा नभएर रोकिएकामा चित्त बुझाएका थियौँ”, पुनले भन्नुभयो, “अहिले पनि उडान नभएपछि अब सो विमानस्थलबाट उहाजमा उड्ने सपना कहिल्यै पूरा नहुने हो कि सन्देह बढ्न थालेको छ ।”    उहाँहरु मात्र होइन, आम गुल्मेलीलाई प्रत्येक दशैंमा जहाज उड्छ भनेर भुक्काइएको वर्षौं भएको छ । निर्वाचनको समयमा होडबाजीको दौड चले पनि अघिपछि कसैले पहल नगरेको स्थानीयवासीहरुको आरोप छ । विसं २०६३ मा तत्कालीन पर्यटनमन्त्री प्रदीपकुमार ज्ञवालीबाट रेसुङ्गा विमानस्थल शिलान्यास गर्नुभएको थियो । जग्गा अधिग्रहण र बजेट अभावका कारणले सुरुको सात÷आठ वर्ष विमानस्थल निर्माण गति लिन सकेन । त्यसपछि पनि चुनावी प्रचारमा मात्र सीमित रहँदै काम सुरु भएन । शिलान्यासको नौ वर्षपछि २०७२ बाट विमानस्थलको नियमित काम सुरु भयो ।    रेसुङ्गा विमानस्थल निर्माण आयोजनाका सहायक आयोजना प्रमुख इञ्जिनीयर दिनेश परियारले पनि त्यसपछि प्रत्येक वर्षको दशैंसम्म नियमित उडानमा पुगिसक्ने बताउँदै आउनुभयो । निर्माणले गति लिएको चार वर्षसम्म पनि विमानस्थलको ४०÷४५ प्रतिशत मात्र काम भएको थियो । विमानस्थलमा २५ जेठ २०७५ मा तारा एयरको विमानले परीक्षण उडान भरेकोे थियो ।    अर्को वर्ष विश्वव्यापी महामारीका रुपमा फैलिएको कोरोना भाइरसले केही असर गर्‍यो । विसं २०७९ वैशाखमा मात्र विमानस्थल निर्माणले पूर्णरुप पायो । रौताह हरिहरि जेभी र बोकोई श्रेष्ठ कन्सट्रक्सन जेभीले विमानस्थलमा भौतिक संरचना निर्माणको काम गरेका थिए ।    इञ्जिनीयर परियारका अनुसार जग्गा अधिग्रहण, बजेट अभाव, कोरोना महामारी र निर्माण पहलकर्ताको कम चासोले विमानस्थल निर्माणमा ढिला भएको हो । विमानस्थल निर्माणको क्रममा मुआब्जा दिने गरी १४ घर विस्थापित गराइएको थियो । बाँकी २८ घरको जग्गा अधिग्रहण गरिएको थियो । विस्थापितले मुआब्जा पाइसकेका छन् ।     निर्माण सम्पन्न विमानस्थलको धावनमार्ग पाँच सय २० मिटर लम्बाइ र २० मिटर चौडाइको रहेको छ । कूल रु ३५ करोड लागतमा रेसुङ्गा विमानस्थल निर्माण सम्पन्न भएको आयोजनाका सहायक आयोजना प्रमुख इञ्जिनियर परियारले बताउनुभयो । एक सय ५६ रोपनी क्षेत्रफलमा फैलिएको विमानस्थलको ७९ रोपनी जग्गा अधिग्रहण गरिएको थियो । अहिले विमानस्थल नियमित उडानका लागि तयार रहेको छ । प्राविधिक जडानपछि नियमित उडान भर्न सकिने इञ्जिनीयर परियारको भनाइ छ ।    रेसुङ्गा विमानस्थलको संरचना पूर्णरुपमा निर्माण भएपछि रेखदेख गर्ने कोही पनि छैनन् । नियमित उडान शुभारम्भ नहुनु र रेखदेख गर्ने नहुनुले विमानस्थलका संरचनामा क्षति पुग्न थालेको छ । विमानस्थल चिटिक्क बनेकाले घुम्ने जानेको लापरबाहीका कारणले कन्ट्रोल टावरको सिसा फुटिसकेको छ भने अन्य संरचनामा पनि क्षति भएको छ । रेसुङ्गा नगरपालिकाले विमानस्थलको रेखदेखका लागि नगरप्रहरी खटाउने तयारी गरेको छ ।   रेसुङ्गा नगरपालिकाका प्रमुख खिलध्वज पन्थीले विमानस्थल नियमित सञ्चालन गर्नको आफूहरु आतुर रहेको बताउनुभयो । उहाँले यसका लागि संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री र नागरिक उड्डयन प्राधिकरणका महानिर्देशकसँग छलफल गरेको जानकारी दिनुभयो । “गुल्मेलीको भाग्य र भविश्यसँग जोडिएको विमानस्थलको नियमित उडानका लागि गम्भीर भएर लागेका छौँ”, नगरप्रमुख पन्थीले भन्नुभयो, “नियमितको उडानको प्रक्रिया अगाडि बढिसकेको छ ।”    गुल्मीको सदरमुकाम तम्घास नजिकै रहेको रेसुङ्गा विमानस्थलबाट नियमित उडान भएमा आम गुल्मेलीलाई राहत महशुस हुनेछ । छिमेकी जिल्ला अर्घाखाँची, प्यूठान र बाग्लुङलाई पनि रेसुङ्गा विमानस्थलले टेवा पुर्‍याउने विश्वास गरिएको छ ।

काठमाडौं : जिल्ला अदालत काठमाडौंले बलात्कार आरोपमा पक्राउ परेका क्रिकेटर सन्दीप लामिछानेलाई सात दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको छ ।   गत भदौ ५ गते १७ वर्षीया नाबालिगमाथि बलात्कार गरेको आरोप लागेका सन्दीपलाई २० असोजमा प्रहरीले पक्राउ गरेको थियो । तर दशैंको बिदा परेका कारण अदालत बन्द भएकाले आज मात्र उनलाई अदालतमा उपस्थित गराइएको हो ।   कतारको दोहाबाट बिहीबार बिहान काठमाडौंस्थित अन्तर्राष्ट्रिय विमानस्थल ओर्लिएलगत्तै सन्दीप पक्राउ परेका थिए ।   काठमाडौंको गौशालास्थित एक होटलको कोठामा राखेर सन्दीपले आफूलाई बलात्कार गरेको गरेको भन्दै ती नाबालिगले गत भदौ २१ गते प्रहरी वृत्त गौशालामा उजुरी गरेकी थिइन् । त्यतिबेला सन्दीप क्यारेबियन लिग क्रिकेट खेल्न नेपाल बाहिर थिए ।   उनीविरुद्ध उजुरी परेपछि नेपाल क्रिकेट संघ क्यानले सन्दीपलाई नेपालको राष्ट्रिय क्रिकेट टोलीको कप्तानबाट निलम्बन गरेको थियो । उनलाई पक्राउ गर्न नेपाल प्रहरीको आग्रहमा अन्तर्राष्ट्रिय प्रहरी संगठन (इन्टरपोल)ले डिफ्युजन नोटिस जारी गरेको थियो ।  इन्टरपोलको निशानामा परेलगत्तै उनी काठमाडौं फर्किएका थिए ।

गलकोट  :  निरन्तरको वर्षाका कारण बागलुङ नगरपालिका–८ सिगानाको स्वास्थ्यचौकी जोखिममा परेको छ ।   स्वास्थ्यचौकीमुनि निरन्तररूपमा जमिन भासिने र पहिरो जाने भइरहेकामा निरन्तरको वर्षाका कारण पुनः पहिरो गएका कारण स्वास्थ्यचौकी उच्च जोखिममा परेको हो । निरन्तरको वर्षाले स्वास्थ्यचौकी भवनमुनि पहिरो गएका कारण स्वास्थ्यचौकीको भवनसमेत चर्किएको छ । चार वर्ष पहिला निर्माण भएको स्वास्थ्यचौकीको भवन पहिराको कारण उच्च जोखिममा पारेको बागलुङ नगरपालिका–८ सिगानाका वडाध्यक्ष राजु कार्कीले जानकारी दिनुभयो ।    बागलुङ नगरपालिकाबाट लामाचौर हुँदै बौडैचौर जाने सडकको घुम्तीबाट दुई वर्षअघि पहिरो खसेको थियो । निरन्तरको वर्षाका कारण अहिले थप पहिरो गएर स्वास्थ्यचौकीसम्मकै भाग चर्किएको कारण स्वास्थ्यचौकी जोखिममा रहेको कार्कीको भनाइ छ ।   भिरालो जमिनमाथि स्वास्थ्यचौकी भवन निर्माण गरेका कारण अहिले उक्त स्वास्थ्यचौकी नै विस्थापित हुने अवस्थामा पुगेको छ । स्वास्थ्यचौकीको पहिराले बागलुङ बजारबाट सिगाना हुँदै लामीचौर जाने सडकसमेत पटक–पटक अवरुद्ध हुँदै आएको छ ।   गत वर्ष पहिरो रोकथाका लागि केही पूर्वाधार निर्माण गरे पनि अहिले उक्त संरचनासहित पहिरो गएको वडाध्यक्ष कार्कीले बताउनुभयो । कार्कीका अनुसार पहिरो मर्मतका लागि ठूलो रकम खर्च लाग्ने भएकाले बजेटका लागि नगरपालिकासँग पहल भइरहेको छ । “गत वर्ष पहिरो रोक्न केही काम गरेका थियौँ, अहिलेको पहिराले गत वर्षका काममा क्षति बनाएको छ, वडामा रु ५० लाखको बजेट छ तर त्यसलाई स्वास्थ्यचौकी संरक्षण अथवा अन्तै खर्च गर्ने भन्ने विषयमा छलफल भइरहेको छ”, उहाँले भन्नुभयो, “निरन्तरको वर्षापछि पहिराले स्वास्थ्यचौकीसम्मै क्षति पुर्‍याएको छ ।”   रु एक करोड ८२ लाखको लागतमा निर्माण गरिएको सो भवन वातावरणीय मूल्याङ्कनबिनैै निर्माण गर्दा समस्या भएको हो । स्वास्थ्यचौकीको झण्डै सय मिटर तलदेखि स्वास्थ्यचौकीसम्मै पहिरो गएर जमिन चिरा–चिरा पारेको स्वास्थ्यचौकीका प्रमुख शान्ता शर्माले बताउनुभयो । पहिराले स्वास्थ्यचौकी मुनिका तीन घरसमेत जोखिममा पार्दै आएको छ ।

काठमाडौं  :  नाबालिगमाथि जबरजस्ती करणी गरेको जाहेरीका आधारमा बिहीवार पक्राउ परेका क्रिकेटर सन्दीप लामिछानेलाई म्याद थपका लागि आज काठमाडौं जिल्ला अदालतमा उपस्थित गराइँदैछ ।    बिदाका कारण अदालत बन्द रहेकाले आजमात्रै म्याद थपका लागि अदालत लैजान लगिएको हो । कतारको दोहाबाट बिहीवार बिहान ११ बजे काठमाडौंस्थित अन्तर्राष्ट्रिय विमानस्थल ओर्लिएपछि प्रहरीले सन्दीपलाई पक्राउ गरेको थियो ।    १७ वर्षीया एक किशोरीले बलात्कृत भएको भन्दै उनीविरुद्ध २० भदौमा प्रहरी वृत्त गौशालामा किटानी जाहेरी दर्ता गरेकी थिइन् ।

काठमाडौं  ः आगामी मंसिर ४ गते हुने प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्य निर्वाचन अन्तर्गत आइतबार मनोनयन दर्ता गराएका उम्मेदवारहरुको विरोधमा आज उजुरी दिन सकिने निर्वाचन आयोगले जनाएको छ ।   कुनै उम्मेदवार कानुनी रुपमा अयोग्य छ भन्ने लागेमा त्यस्ता उम्मेदवारविरुद्ध उजुरी दिनका लागि आज बिहान १० बजेदेखि दिउँसो ३ बजेसम्मको समय निर्धारण गरिएको छ ।   त्यस्तै मनोनयपत्र र उजुरीउपर जाँचबुझ गरी निर्णय गर्ने समय असोज २४ गते अपरान्ह ३ बजेदेखि २५ गते साँझ ५ बजेसम्म तोकिएको आयोगको निर्वाचन कार्यतालिका उल्लेख छ ।   उम्मेदवारहरुको नामावली प्रकाशन गर्न असोज २५ गते साँझ ५ बजेदेखि ७ बजेसम्म छ । आइतबार मनोनयन दर्ता गराएका उम्मेदवारहरुले आफ्नो नाम फिर्ता लिने भए असोज २६ गते बिहान १० देखि दिउँसो १ बजेसम्मको समय दिइएको छ । त्यसपछि प्रतिनिधि सभा र प्रदेश सभा सदस्य निर्वाचनमा प्रत्यक्षतर्फ प्रतिस्पर्धा गर्ने उम्मेदवारहरुको अन्तिम नामावली २६ प्रकाशन गर्ने निर्वाचन आयोगले जनाएको छ ।   अन्तिम नामावलीमा रहेका उम्मेदवारहरुलाई २६ गते अपराह्न ४ बजेदेखि साँझ ७ बजेसम्म चुनाव चिह्न वितरण गरिने आयोगको कार्यतालिका छ ।

पोखरा : मंसिर ४ गते हुने प्रतिनिधि सभा निर्वाचनका लागि कास्की क्षेत्र नम्वर २ मा शिरीष गुरुङले स्वतन्त्र उम्मेदवारी दर्ता गरेकी छिन् ।    कास्की क्षेत्र नम्बर २ मा पाँच दलिय गठबन्धनबाट श्रीनाथ बराल , नेकपा एमालेबाट विद्या भट्टराईसँगै गठबन्धन विरुद्ध नेपाली कांग्रेसका नेता तथा पूर्व  राज्यमन्त्री महादेव गुरुङले बागी उम्मेदवारी दर्ता गरेका छन् ।    गठबन्धन, एमाले र बागी उम्मेदवारीसँगै शिरीष गुरुङले आइतबार लौरो चिन्ह लिएर निर्वाचन अधिकृतको कार्यालय गएर स्वतन्त्र उम्मेदवारी दर्ता गरेकी हुन् ।   

पोखराः हिन्दुहरुले भव्य रूपमा मनाउने दुर्गा पक्ष अर्थात् बडादसैँ पर्व धनधान्य एवं सम्पन्नताकी देवी महालक्ष्मीको पूजाआराधनासहित रात्रिमा जाग्राम बसेपछि आजदेखि समापन हुँदैछ ।   आश्विन शुक्ल पूर्णिमाका दिन मनाइने कोजाग्रत पूर्णिमा आज साँझ सम्पन्नताकी देवी महालक्ष्मीको पूजाआराधना गरी रातभर जाग्राम बसेर मनाएसँगै १५ दिन लामो दसैँ सकिने भएको हो ।   शास्त्रअनुसार गर्नुपर्ने सबै बलिपूर्ति अर्थात् अखिल बलिपूर्तिको काम पनि आजै समापन हुने नेपाल पञ्चाङ्ग निर्णायक समितिले जनाएको छ ।   अखिल बलिपूर्ति भएसँगै विजयादशमीदेखि सुरु भएको नवदुर्गाको प्रसाद स्वरूप टीका र जमरा लगाई मान्यजनबाट आशीर्वाद लिने क्रम पनि आजैदेखि समाप्त हुन्छ । आजै जमरालाई नजिकको नदी, तलाउ, पोखरी आदि तीर्थस्थलमा लगी सेलाइन्छ ।   आश्विन शुक्ल प्रतिपदाका दिनदेखि सुरु भएको दसैँ पर्व आम नेपालीले आ–आफ्नो गच्छे, मूल्यमान्यता र परम्परा अनुसार मनाउने गर्दछन् ।   आजको दिन सायंकालमा महालक्ष्मीको पूजा आराधना गरी राति जाग्राम बसेको मानिसका घरमा पृथ्वी भ्रमण गर्दै हिँडेकी महालक्ष्मी प्रवेश गरी धन, ऐश्वर्य दिई सम्पन्न बनाउँछिन् भन्ने धार्मिक विश्वासका आधारमा यो पर्व मनाउन सुरु गरिएको हो ।   माता दुर्गाका तीनवटा रूपमध्येको एक रूप महालक्ष्मीको पूजा गरेर आज दुर्गा पक्षलाई बिदा गरिन्छ ।

दाङको देउखुरीमा मोटरसाइकल दुर्घटना हुँदा दुई सशस्त्र प्रहरीको मृत्यु भएको छ ।   पूर्वपश्चिम राजमार्गअन्तर्गत राप्ती गाउँपालिका–३ मुसरियामा शुक्रबार राति करिब १० बजे लु४०प ४९२२ नम्बरको मोटरसाइकल दुर्घटना हुँदा त्यसमा सवार भालुवाङस्थित सशस्त्र प्रहरी बल ज्वालामाई गण २९ नम्बरमा कार्यरत दुवै सशस्त्र प्रहरीको मृत्युु भएको हो ।   मृत्यु हुनेमा लमही नगरपालिका–१ का लहानु चौधरी र राप्ती गाउँपालिका– ६ का सुलेश चौधरी रहेका छन् । दुर्घटनामा परी लहानुको घटनास्थलमै र सुलेशको उपचारका लागि कोहलपुर लैजाने क्रममा मृत्यु भएको सशस्त्र प्रहरी उपरीक्षक विनोद केसीले जानकारी दिनुभयो ।   मृतकद्वय लगातारको वर्षाका कारण देउखुरीका विभिन्न ठाउँमा उद्धारमा खटिएका र डिउटी सकाएर गणमा फर्किने क्रममा दुर्घटनामा परेका उहाँले जानकारी दिनुभयो । घटनाबारे थप अनुसन्धान भइरहेकोे बताइएको छ ।

चार दिनदेखि निरन्तर परेको वर्षाका कारण मध्यपहाडी लोकमार्गअन्तर्गत बुर्तिबाङ–पूर्वी रुकम खण्ड पूर्ण रुपमा अवरुद्ध भएको छ ।   सडक खण्डको निसीखोला गाउँपालिका–४ जिरीखोला, कालापैराखोलालगायत दर्जनौँ स्थानमा माथिदेखि झरेको पहिराले सडक अवरुद्ध हुँदा सयौँ यात्रु अलपत्र परेका छन् । बुर्तिबाङ बजारदेखि छोटो तथा लामो दूरीमा सञ्चालन हुने सवारी साधानसमेत ठप्प बनेका छन् । लोकमार्गमा बिहीबारदेखि नै सवारी साधानहरु ठप्प भएका छन् भने आधा दर्जन गाडीहरु पहिरोमै फसेका छन् ।   पहिरामा फसेका सवारी साधन निकाल्ने प्रयास भए पनि निरन्तर वर्षा भइरहेको हुँदा निकाल्न नसकिएको बस चालक प्रकाश सेन्चुरीले बताउनुभयो । उहाँले आफू ३७ जना यात्रु लिएर रुकुमदेखि काठमाडौँ हिँडेको भन्दै कालापैराको पहिरामा फसेको बताउनुभयो । सेन्चुरीले दसैँ मनाएर काठमाडौँ फर्किएका यात्रु लिएर आएको बताउनुहुन्छ ।   “दसैँको अघिल्लो दिनदेखि परेको पानीले सडक हिलाम्मे बनाएको छ, मेरो गाडी पहिरामा फसेको दुई दिन हुन लाग्यो, ३७ जना प्यासेन्जर लिएर काठमाडौँ हिँडेको पहिरामा गाडी फसेर तनाव भयो”, उहाँले भन्नुभयो । रुकुमदेखि काठमाडौँ हिँड्नुभएका प्रेम पुन मगरले पहिराका कारण आफूहरु अलपत्र परेको बताउनुभयो ।   उहाँले सानो बजार नजिकै पहिरामा गाडी फसेपछि बास पाउनसमेत मुस्किल परेको बताउनुभयो । घर्ती भन्नुहुन्छ, “यस्तो समस्यामा परिन्छ भनेको भए त पानी बिदो भएपछि हिँड्ने थियौँ, काठमाडौँ पुग्न हतार थियो र हिँडियो, अहिले बीच बाटोमा अलपत्र परियो, यो पहिरो कहिले पन्छाएर बाटो खुलाउने हो, पानी परिरहेको छ, गाह्रो हुने भयो ।”   पहिराले सडक पूर्ण रुपमा अवरुद्ध हुँदा जिरीखोला र कालापैरा खोलाको पहिरो छेउमा सयौँको सङ्ख्यामा यात्रुहरु अलपत्र छन् । लोकमार्गको वैकल्पिक सडक पनि ठप्प हुँदा यात्रुहरु समस्या पर्नु परेको स्थानीय मनप्रसाद पौडेले बताउनुभयो । उहाँले लोकमार्गभन्दा पारिपट्टिको सडक खुलेको भए यात्रुहरु यसरी सडकमा अलपत्र पर्नुपर्ने बताउनुभयो ।   “गाउँपालिकाले पारिपट्टिको सडक सञ्चालन गर्नुपथ्र्यो, अहिले यसरी सयौँ मान्छेहरुबीच बाटोमा अलपत्र पर्नु परेको छ, पारिको सडक खुलेको भए त बुर्तिबाङ त पुग्न सक्थे नि”, उहाँले भन्नुभयो, “यो सडक खुल्ने कहिले हो, नखुल्दासम्म यात्रुहरुलाई धेरै समस्या हुने भयो, खुलाउने प्रयास त गरेका छन्, कति बेला खुल्ने हो अब ?”   बुर्तिबाङदेखि रुकुम र रुकुमदेखि काठमाडौँ, बागलुङ, पोखरा जाने गाडीहरु लोकमार्गको छेउछाउमा रोकिएका छन् भने यात्रुहरु भोकले ब्याकुल बनेका छन् । नजिक होटल तथा पसल नहुँदा आफूहरुले समस्या भोग्नु परेको यात्रु गोमा सुनारले बताउनुभयो । उहाँले पैसा भएर पनि होटल पसलहरु नजिक नहुँदा भोकै बस्नु परेको बताउनुभयो ।   “निकै समस्यामा परियो, दसैँ मानेर मात्रै पोखरा हिँडेको, पोखरामा आफन्तहरु हुनुहुन्छ, टीका लगाउन जान थालेको, हिजो दिउसोदेखि यहाँ आएर रोकिएको अहिलेसम्म यहीँ छौँ, नजिकमा होटल पसल पनि भेटिएन, भोकले मर्न लागियो, डोजरले बाटो खुलाउन त लागेको छ, यहाँ मात्रै रैनछ पहिरो धेरै ठाउँमा गएको रैछ”, सुनारले भन्नुभयो ।   निसीखोला गाउँपालिका–४ का वडाध्यक्ष टीकानिधि पौडेलले सडक खुलाउने प्रयास गरिरहे पनि वर्षाले गर्दा पहिरो खसिरहेको बताउनुभयो । उहाँले केही स्थानको पहिरो पन्छाए पनि अझै केही स्थानमा हटाउन बाँकी रहेको बताउनुभयो । वर्षा नरोकिँदा निरन्तर पहिरो झरिरहेको उहाँको भनाइ छ ।   “हिजोदेखि नै हामीहरुले सडक खुलाउन थालेका थियौँ, हिजो केही ठाउँमा खुलाएका थियौँ, रातभरिको वर्षाले फरि पहिरो झरेर सडक अवरुद्ध बनाएको छ, हामीहरु निरन्तर छाता ओढेर भए पनि सडक खुलाउन लागिरहेका छौँ”, अध्यक्ष पौडेलले भन्नुभयो, “वर्षा नै रोकिएन, यसले थप समस्या बनायो, यात्रुहरुलाई पनि निकै समस्या भएको छ, पानी रोकियो भने त सडक खुलाउन धेरै समय लाग्ने थिएन ।”