काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्री गगन थापालाई डेंगी संक्रमण भएको छ। बिहीबार थापालाई उच्च ज्वरो आएको थियो। थापाको सचिवालयले दिएको जानकारीअनुसार थापालाई डेंगी भएको छ। ‘ज्वरो आएको छ, उहाँ घरमै आराम गरिरहनुभएको छ,’ सचिवालयका एक सदस्यले भने। शुक्रबार भने ज्वरो केही कम भएको छ। ज्वरो आउने र टाउको दुख्ने समस्यापछि थापाले ज्ञानेश्वरस्थित सहरी स्वास्थ्य प्रबर्द्धन केन्द्रमा परीक्षण गराएका थिए।
धनकुटा । कोरोना महामारीसँगै थलिएर सुनसान बनेका जिल्लाको प्रमुख केन्द्र धनकुटा नगपालिकाका एक दर्जन बढी पार्क (उद्यान) को अवस्थामा अझै सुधार आउन सकेको छैन्। लाखौँ खर्चेर बनेका ती पार्क अहिले आन्तरिक पर्यटकसमेत नआएर सुनसान बनेका छन् । धनकुटा नगरपालिकाको मुख्य पर्यटकीयस्थलका रूपमा रहेको वडा नं ७ को चुलिवन पार्कमा बनेको भ्यूटावर चढ्न फाट्टफुट्ट आन्तरिक पर्यटक आए पनि चहलपहल बढ्न सकेको छैन । विसं २०७५ बाट सो स्थानमा निजी रु ३५ लाख खर्चेर मिनीमेला तथा पार्क सञ्चालन गर्दै आउनुभएका रामकुमार राई र उहाँकी श्रीमती सीमा थापा (राई) अहिले व्यवसायमा घाटा लागेको बताउनुहुन्छ । स्थानीय सामुदायिक वनलाई वार्षिक नाफाको २० प्रतिशत रकम दिने शर्तमा रोटेपिङ, बालबालिकाका लागि खेल तथा क्यान्टिन सञ्चालनमा लगानी गर्नुभएका उहाँहरूले वार्षिक रु ५० हजार पनि आम्दानी नहुने बताउनुभयो । “घाटैघाटा छ, ऋणको ब्याज तिर्दा–तिर्दा भएको जायजेथासमेत सकिन लाग्यो”, थापाले भन्नुभयो, “पिङ बेचौँभन्दा पनि बिक्दैन, अब के गर्ने होला, तनावमा छौँ ।” आफूहरूले काम सुरु गर्नेबित्तिकै कोरोना सुरु भएकाले आफूहरू ठूलो मर्कामा परेको श्रीमान् राईले चिन्ता व्यक्त गर्नुभयो । विसं २०६३ बाट गत वर्षसम्म नगरले रु एक करोड ३६ लाख खर्च गरेको यस स्थानमा मात्र होइन अन्य स्थानका पार्कहरूको अवस्था पनि उस्तै छ । धनकुटा नगरपालिका–१ जौटारमा बनेको वनभोज पार्क कोरोनाको मारसँगै बाटोघाटोको असुविधाका कारण सुनसान रहेको पूर्ववडाध्यक्ष नीरन तामाङले जानकारी दिनुभयो । यो पार्क विसं २०७४ मा प्रदेश नं १, जिल्ला वन कार्यालय र पाख्रिबास नगरपालिकाको रु १०–१० लाख गरी जम्मा रु ३० लाखको लागतमा निर्माण गरिएको थियो । त्यस्तै सोही वडाको व्यापारिक केन्द्र हिलेबजार नजिक निर्मित पर्यटन मन्त्रालयको रु १० लाख र धनकुटा नगरपालिकाको रु ३८ लाख लागतमा निर्मित बक्रकुड मन्दिर तथा पार्क पनि धार्मिक तिथिबाहेक अन्य समयमा ठप्प छ । “पहिला त निकै मान्छे पो आउँथे त, कोरोनापछि ठप्पै पो बन्यो भन्या !”, बक्रकुड पञ्चेश्वर मन्दिर व्यवस्थापन समितिका अध्यक्ष लालचन्द्र गोङ्वाले भन्नुभयो । धनकुटा नगपालिका वडा नं ३ कागतेमा प्रदेश सरकारको रु ३० लाख लगानीमा निर्मित बाल उद्यान पनि सुनसानजस्तै छ । पार्कहरू सुनसान हुनुमा कोरोनामात्र कारक नभएर नगरको सडक सञ्जाल तथा व्यापारिक गतिविधिमा सुधार नभएर पनि यस क्षेत्रका पर्यटकीय क्षेत्र प्रभावित भएको वडाध्यक्ष विकास घिमिरेले जानकारी दिनुभयो । नगर र गाउँ आवतजावत गर्ने सडकको स्तरोन्नति नहुनु, नगरमा निजी लगानीकर्ता आकर्षित हुन नसकेर व्यापार व्यवसायमा मन्दी आएसँगै पर्यटन क्षेत्र पनि प्रभावित भएको घिमिरेको तर्क छ । विज्ञहरूको योजना र अनुसन्धानबाट भन्दा पनि जनताका स्वेच्छिक धारणाबाट पर्यटकीय क्षेत्र बनेकाले लगानीअनुसारको प्रतिफल नआएको हिले पर्यटन प्रवद्र्धन तथा पूर्वाधार विकास संस्थाका अध्यक्ष खगेन्द्र विष्टको भनाइ छ । “काम गर्दा कसैले परामर्श गर्दैनन् । करोडौँ खर्चेर बनेका पर्यटकीय क्षेत्रबाट कुनै आम्दानी छैन”, विष्टले भन्नुभयो । नागरिकका माग इन्कार गर्न नसकेर जताततै बनेका पार्क तथा पर्यटकीय क्षेत्रहरूको उचित संरक्षण र प्रवद्र्धन गर्न कठिनाइ हुँदा समस्या आएको धनकुटा नगपालिकाका प्रवक्ता जमशेर छाराले जानकारी दिनुभयो ।
कञ्चनपुर । कञ्चनपुरको बेदकोट नगरपालिका–४ बगुनस्थित प्रसिद्ध धार्मिक पर्यटकीय क्षेत्र शिव लिङ्गेश्वरधाम कटानको चपेटामा परेको छ । शिव लिङ्गेश्वर नजिक भएर बग्ने बगुन खोलाको बाढीले धाम क्षेत्रमा कटान गरिरहेको छ । बाढीले कटान गर्दा यस पर्यटकीय क्षेत्र लिङ्गेश्वर धामको अस्तित्व जोखिममा परेको स्थानीय बताउँछन् । “विगतका वर्षमा यति धेरै कटान भएको थिएन, यसपटकको बाढीले लिङ्गेश्वर धाममा ठूलो क्षति पुर्याएको छ”, स्थानीय महेन्द्र बोहराले भन्नुभयो, “समयमै कटान रोक्न सकिएन भने यो ठाउँ पूर्णरूपमा बगरमा परिणत हुने जोखिम छ ।” कटान रोकथाम गरेर पर्यटकीय क्षेत्रको संरक्षण, संवद्र्धनमा स्थानीय तहले तदारुकता देखाउनुपर्ने उहाँको माग छ । लिङ्गेश्वर धाममा चुरे पहाड खिइएर बनेको अनौठो दृश्य रहेकाले यो क्षेत्र आन्तरिक पर्यटकको रोजाइमा पर्ने गरेको छ । “बेदकोटको चिनारीका रूपमा रहेको लिङ्गेश्वर धाम धार्मिक तथा पर्यटकीय दृष्टिकोणले महत्वपूर्ण छ”, अर्का स्थानीय कपिल जोशीले भन्नुभयो, “नगरलाई देश–विदेशमा चिनाएको छ, त्यसैले यसको संरक्षण आवश्यक छ ।” बाढीले लिङ्गेश्वर क्षेत्रमा पर्यटकहरूका लागि तस्वीर खिच्न निर्माण गरिएको ‘सेल्फी वाल’ बगाएको छ । यस्तै धाम क्षेत्रमा रहेको लिङ्गेश्वर मन्दिर कटानको उच्च जोखिममा छ । “नदीले कटान गरेर मन्दिर बगाउने स्थिति छ, एक मिटरमात्रै बाँकी छ”, बेदकोट नगरपालिका–४ का अध्यक्ष नरबहादुर बोहराले भन्नुभयो, “फोटो खिच्न बनाइएको सेल्फी प्वाइन्ट बगाएको छ ।” उहाँका अनुसार बाढीले लिङ्गेश्वर जोड्न बगुन खोलामा निर्माणाधीन झोलुङ्गे पुलको ढङ्गाले निर्माण गरिएको पिलर पनि बगाएको छ । “तटबन्ध बगाएर बाढीले क्षति गरिरहेको छ, अहिले तटबन्ध गर्नु र नगर्नुको अर्थ छैन, बाढीले बगाउँछ”, उहाँले भन्नुभयो, “अहिले सामान्य ढुङ्गा राखेर अस्थायी तटबन्ध गरेका छौँ ।” आन्तरिक पर्यटनको रोजाइमा पर्न थालेपछि बेदकोट नगरपालिकाले लिङ्गेश्वर धाममा विभिन्न भौतिक संरचना निर्माण गरेको थियो । स्थानीय तहको बजेटले मात्रै लिङ्गेश्वर धाम कटानको दीर्घकालीन समाधान गर्न नसकिने बेदकोट नगरपालिकाका प्रमुख भोजराज बोहराले बताउनुभयो । प्रदेश र सङ्घ सरकारसँग थप बजेट माग गरेर कटान समस्याको दीर्घकालीन समाधान खोजिने उहाँले बताउनुभयो । “नगरपालिकाको बजेटले मात्रै यो सम्भव छैन, करोडौँ लगानी लाग्ने देखिन्छ”, उहाँले भन्नुभयो, “यसका लागि प्रदेश र सङ्घ सरकारको ध्यानाकर्षण गराउँछौँ ।”
कञ्चनपुर । चौतीस वर्षअघि कञ्चनपुरका बक्सर विष्णुबहादुर सिंहले ओलम्पिकमा रचेको इतिहास अझै जीवित छ । सिओल ओलम्पिकमा पाराग्वेका खेलाडीलाई पराजित गरेर ‘एक वाउट’ जित्ने अहिलेसम्मकै एक्ला खेलाडी हुनुहुन्छ सिंह । राष्ट्रिय खेलकुद परिषद्को प्रशिक्षण विभागको उपनिर्देशक पदमा कार्यरत सिंह अब जागिरको उत्तराद्र्धमा हुनुहुन्छ । सिओल ओलम्पिकमा सुदूरपश्चिमबाटै डम्बरदत्त भट्टले पनि बक्सिङ खेलमा प्रतिस्पर्धा गर्नुभएको थियो । पछिल्लो समय ब्याडमिन्टन खेलको जुनियरतर्फ विश्व वरियताको नम्बर एकमा रहनुभएका प्रिन्स दाहाल पनि सुदूरपश्चिमकै खेलाडी हुनुहुन्छ । दार्चुलामा बुवाको पछि लागेर बुवाकै साथ र सहयोगले ब्याडमिन्टनको विश्व वरियतासम्म पुग्नुभएका प्रतिभावान खेलाडी दाहाल जन्मिएको दार्चुलाको खेलको अवस्था भने अझै दयनीय छ । केही वर्षअघिसम्म तेक्वान्दोमा तहल्का मच्चाउनुभएका कीर्तिमानी खेलाडी दीपक विष्टले पनि सुदूरपश्चिमबाटै खेल जीवन सुरु गर्नुभएको हो । यसरी विसं २०४०÷४२ को दशकयता निरन्तर खेलाडी तयार गरिरहेको सुदूरपश्चिम प्रदेश खेलकुदका लागि चाहिने पूर्वाधारलगायतका सुविधाबाट अझै टाढा छ । कैलाली र कञ्चनपुरमा केही खेल संरचना र पूर्वाधार सरकारले लगानी गरेर बेलाबखत बनाइरहेको भए पनि सात पहाडी जिल्लामा अझै त्यो सुविधाबाट खेलाडी बञ्चितजस्तै छन् । विगतदेखि नै भलिबलमा पहाडी जिल्लाबाट खेलाडी उत्पादन हुँदै आएका छन् । तर खेलाडीलाई नियमित प्रशिक्षण दिएर निखार ल्याउन यहाँ पर्याप्त प्रशिक्षकसमेत नभएको अवस्था छ । पूर्व राष्ट्रिय खेलाडी भोजराज जोशी दुई दशकयता दार्चुलामा स्वयंसेवक प्रशिक्षक भएर भलिबल खेलाडी तयारीमा लाग्नुभएको छ । भोजराज त एक उदाहरणीय पात्र मात्रै हुनुहुन्छ । उहाँजस्तै लामो समय खेलकुदमा खर्चिएका सिनियर खेलाडी यहाँ विभिन्न खेलमा बिना सुविधा स्वयंसेवक प्रशिक्षक छन् । नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि जिल्ला छनोट सकिएर प्रदेशस्तरीय छनोट सुरु भइरहँदा यहाँ कुनै खालको रौनकता भने देखिँदैन । प्रिन्सको जिल्लामा बगेको कवर्डहल रासस दार्चुला समाचारदाताका अनुसार चर्चित ब्याडमिन्टन खेलाडी प्रिन्स दाहालको गृहजिल्ला दार्चुलामा एउटा कभर्डहलसम्म छैन । खेलकुदका माध्यमबाट अन्तर्राष्ट्रिय क्षेत्रमा देशलाई चिनाउन सफल भएका दाहालको गृहजिल्ला दार्चुलामा नौ वर्षअघि महाकाली नदीमा आएको बाढीले यहाँको कभर्डहल बगाएको थियो । बाढी यता यहाँ खेलकुदका लागि चाहिने पर्याप्त पूर्वाधार र खेल सामग्रीको निकै अभाव रहेको जिल्ला खेलकुद समिति दार्चुलाका अध्यक्ष मानसिंह बुढाथोकी बताउनुहुन्छ । “बाढीले कभर्डहल बगाएयता यहाँ खेल गतिविधि सञ्चालनका लागि संरचना बनेनन्”, अध्यक्ष बुढाथोकीले भन्नुभयो, “खेलाडीलाई प्रशिक्षण दिन सदरमुकाम बाहिरका क्षेत्र लैजानुपर्ने बाध्यता छ ।” त्यसैगरी भलिबलका स्वयंसेवक प्रशिक्षक भोजराज जोशीले खेल मैदान र कभर्डहलका बारेमा पटक–पटक समस्या राख्दा पनि कसैले चासो नदेखाएको गुनासो पोख्नुभयो । दार्चुलाबाट आगामी नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि जिल्लाबाट एक सय ७२ खेलाडी छनोट भएका छन् । यहाँबाट भलिबल, कराते, फुटबल, हयाण्डबल, तेक्वान्दो, बुद्धिचाललगायतका खेलका खेलाडी छनोटमा परेका हुन् । उता सुदूरपश्चिमको विकट पहाडी जिल्ला बाजुरामा पनि खेल संरचना, खेल प्रशिक्षकबिना खेलाडी खेल गतिविधिमा संलग्न छन् । बक्सिङकी अन्तर्राष्ट्रिय खेलाडी पुनम रावलको गृहजिल्ला हो बाजुरा । डडेल्धुरा खेलकुद पनि समस्याग्रसित डडेल्धुरा जिल्लामा व्यवस्थित खेलमैदानको अभाव छ । सदरमुकाम अमरगढी नगरपालिकामा तीनवटा रङ्गशाला र खेलमैदान निर्माणधीन अवस्थामा छन् । तर बजेट अभावमा पूरा हुनसकेको छैन । लामो समयदेखि खेलमैदान अभावमा जिल्ला सदरमुकामलगायत अन्य क्षेत्रमा खेलकुदसम्बन्धी गतिविधि प्रभावकारी हुनसकेका छैनन् । सात स्थानीय तह रहेको डडेल्धुरामा परशुराम नगरपालिकाबाहेक अन्य स्थानमा बहुखेल प्रतियोगिता गर्न सकिने खेलमैदान नहँुदा खेलाडी र दर्शकलाई समस्या हुने गर्छ । भलिबलबाहेक क्रिकेट, दौड र इन्डोरमा खेलाइने खेलहरूका लागि बढी समस्या भइरहेको खेलाडीको दुःखेसो छ । यहाँ खेलाडीले जोखिम मोलेर अभ्यास गर्नुपर्ने अवस्था छ । खेलमैदान निर्माणाधीन अवस्थामा रहेकाले खेलाडीले असहजता महसुस गरी खेल्ने गरेको भलिबल प्रशिक्षक नरेश थापाले जानकारी दिनुभयो । स्थानीय तहका अनुसार बजेटको कमी र भौगोलिक विकटताका कारणले रङ्गशाला वा खेलमैदान खेलाडीमुखी हुन नसकेको उहाँको भनाइ छ । “ढुङ्गा र खाल्डाखुल्डीसहितको मैदानमा खेलाडी लैजाँदा चोटपटक र शारीरिक अशक्त नै हुने डर रहन्छ”, खेलकुद विकास समिति डडेल्धुराका प्रमुख डम्बर भण्डारीले भन्नुभयो, “यहाँबाट खेलाडी भलिबल र क्रिकेटका राष्ट्रिय टिमबाट समेत खेल्दैछन् ।” खेलाडीले नै राष्ट्रको नाम विश्वमा चिनाउन सक्ने र नियमितरूपमा खेल खेल्दा स्वस्थ भइने खेलकुदको मान्यता रहेको भए पनि खेलमैदान नहुँदा धेरैजसो प्रतियोगिता ओझेलमा परिरहेका जिल्ला समन्वय समिति डडेल्धुराका प्रमुख गगन भण्डारीले बताउनुभयो । “डडेल्धुरा पनि खेलाडीको उर्वरभूमि नै हो”, उहाँले भन्नुभयो, “खेलकुदको विकासका लागि सहयोग गर्न आवश्यक छ ।” बझाङ: बगरमा खेल तीन साताअघि बझाङमा नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि छनोट तयारी हुँदै थियो । जिल्ला खेलकुद विकास समितिले खेलाडी छनोट गरेपछि १२ वटै पालिकाका खेलाडी सदरमुकाम चैनपुर आए । चैनपुरका विभिन्न स्थानमा विभिन्न खेलका लागि खेलाडी छनोट प्रक्रिया सुरु भयो । खेल खेलाउनका लागि समितिले सदरमुकाम नजिकैका विद्यालयलाई चौर प्रयोग गर्न अनुमति माग्यो र सोही ठाउँमा खेल खेलायो । मैदान नहुँदा नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिता छनोटका लागि स–साना खेल बगरमै खेलाएको जिल्ला खेलकुद विकास समितिका अध्यक्ष पुष्पलाल रोकायाले बताउनुभयो । क्रिकेट, फुटबलजस्ता ठूलो ठाउँमा खेल खेलाउनका लागि मात्रै नभई सानो ठाउँमा हुने भलिबल, क्रिकेट, ब्याटमिन्टन, ह्याण्डबल, टेबलटेनिस, बक्सिङ, तेक्वान्दो, फुलकन्टयाक्ट पौडी, खोखो, एथलेटिक्स, बुद्धिचाललगायतका खेल खेलाउनका लागि पनि बझाङमा खेलमैदान अभाव छ । उहाँले भन्नुभयो, “प्रदेश छनोटका लागि बझाङबाट दुई सय तीन जना खेलाडीको माग थियो । तर पाँच सय ५० जनाको आवेदन परेको हुँदा उनीहरूलाई विभिन्न विद्यालयका चौर र बगर प्रयोग गरेर खेलाडीलाई प्रतिस्पर्धा गराउँदै छनोट गरेका हौँ ।” खेलमैदान निर्माणका लागि स्थानीय निकायसँग पनि सहकार्य भइरहेको अध्यक्ष रोकायाले बताउनुभयो । “स्थानीय निकाय तथा अन्य निकायसँग पनि खेलमैदानका लागि समन्वय गरिरहेका छौँ । उहाँहरूले हुन्छ त भन्नुभएको छ तर अहिलेसम्म खेलमैदानका लागि गहिरिएर चासो भने कसैले पनि दिएका छैनन्”, उहाँले भन्नुभयो । नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत प्रदेशका लागि बझाङबाट १७ विधामा एक सय १४ पुरूष र ८९ महिला छनोट भएका छन् । बझाङमा करातेबाहेक कुनै खेलमा पनि प्रशिक्षक छैनन् । “यहाँ करातेबाहेक कुनै खेलका लागि पनि प्रशिक्षक छैनन् । अरू खेलका लागि क्लबहरूबाट स्वयंसेवकका रूपमा सहयोग गरिदिनुहुन्छ ।” विगतमा १२ खेल जतिमात्रै खेलाइन्थे भने यसपटक १८ विधामा खेलाडी छनोट गरिएको उहाँले बताउनुभयो । अध्यक्ष रोकायाका अनुसार खेलमैदान नहुँदा खेलकुद विकास समितिले जिल्ला क्रिकेट सङ्घको एकेडेमी, सत्यवादी मावि भोपुर, जालपा मावि देवल, ब्याडमिन्टन हल, क्रिकेट महिला सङ्घ एकेडेमी, जिल्ला प्रशासन कार्यालयको आँगन, फुलकन्ट्याक्ट कराते केडब्ल्यूएफ क्योकुसिन कराते प्रशिक्षण हल, जिल्ला खेलकुद विकास समितिको कार्यालय अगाडि खेलाइने गरिएको छ । बैतडीमा बिना प्रशिक्षक खेलाडी प्रशिक्षणमा बैतडीमा भने जिल्लास्तरीय छनोटका क्रममा जिल्लास्तरमा प्रशिक्षक र खेल पूर्वाधारबिनै खेलाडी छनोट गरिएका छन् । जिल्लाबाट नवौँ राष्ट्रिय प्रतियोगिताका लागि १३ खेलका एक सय ५६ खेलाडी छनोट गरिएका छन् । छनोट भएका खेलाडी प्रदेशस्तरीय प्रतियोगिता खेल्नेछन् । तर जिल्लामा छनोट भएका अधिकांश खेलाडी प्रशिक्षक र खेलमैदानको अभावका बीच छनोट गरिएका हुन् । यहाँ भलिबलका मात्रै एक प्रशिक्षक रहेका र अन्य खेलका प्रशिक्षक नै नरहेका बैतडी जिल्ला खेलकुद समितिले जनाएको छ । प्रशिक्षक र प्रशिक्षणबिनै हरेक वर्ष यहाँका खेलाडीले राष्ट्रिय खेलकुदमा भाग लिन छनोट खेल खेल्ने गरेका छन् । जिल्लाका खेलाडी राष्ट्रिय प्रतियोगितामा भाग लिदा प्रशिक्षक र खेलमैदानबिना खेल्ने समस्या वर्षौँदेखिको हो । न त यहाँ कुनै खेलको गतिलो खेलमैदान छ, न कभर्डहल नै । खेलमैदान नहुँदा अभ्यास गर्न तथा बन्द प्रशिक्षणका लागि समस्या हुने गरेको क्रिकेट खेलाडी रितु कनौजियाले बताउनुभयो । उहाँले भन्नुभयो, “खेलाडीका लागि आवश्यक पर्ने खेलमैदानको अभाव छ, खेलमैदानबिनै राष्ट्रिय प्रतियोगितामा भाग लिनुपर्ने बाध्यता छ । यसले गर्दा आफ्नो क्षमतामा निखारता आउन सक्दैन ।” कराते, भारोत्तोलन, ब्याडमिन्टनलगायतका खेलका लागि कभर्डहल आवश्यक पर्दछ । तर यहाँ कभर्डहल नै छैन । खेलाडी छनोट खुला आकाशमा हुने गरेको कराते खेलाडी नरेन्द्र कार्कीले बताउनुभयो । उहाँले भन्नुभयो, “यहाँ खुला आकाशमा प्रतिस्पर्धा गरेर छनोट भएका छौँ तर प्रदेश र राष्ट्रिय प्रतियोगिता कभर्डहलमा खेलाइन्छ । जिल्लामा खुला आकाश र माथि गएर कभर्डहलमा प्रतिस्पर्धा गर्दा निकै समस्या हुने गरेको छ ।” प्रशिक्षकबिनै छनोट खेलमा सहभागिता जनाउँदा सबै कुरा थाहा नहुने गरेको खेलाडी दिनेश ठगुन्नाले बताउनुभयो । बैतडी जिल्ला खेलकुद समितिका अध्यक्ष चमनकुमार भण्डारी भने खेलमैदान र प्रशिक्षक नहुँदा खेलाडी उत्पादनमा समस्या हुने बताउनुहुन्छ । हलभित्र खेल्नुपर्ने खेल खुला चौरमा खेलाउनुपरेको र खेलमैदानमै खेलाउनुपर्ने खेलका लागि पनि उपयुक्त मैदान अभाव छ । उहाँले भन्नुभयो, “खेलमैदान नहुँदा सडक तथा विद्यालयका स–साना खेलमैदानमा छनोट खल खेलाउनुपरेको छ, खेलाडीको स्वास्थ्य सुरक्षाको दृष्टिकोणले पनि यो जोखिम छ, यहाँ राम्रोसँग प्रशिक्षण नहुँदा माथि गएर प्रतियोगिता जित्न सक्दैनन्, यसले दक्ष खेलाडी उत्पादन हुन सकिराखेको छैन ।” साथै प्रशिक्षक नहुँदा पनि जिल्ला छनोट गर्दा निकै समस्या हुने गरेको भण्डारीको अनुभव छ । उहाँले भन्नुभयो, “जिल्ला छनोटका बेला प्रदेशका तराईका जिल्लाबाट प्रशिक्षक बोलाउनुपर्छ, कुनै बेला म आफैँ पूर्वखेलाडी भएकाले प्रशिक्षक अभावमा आफैँले प्रशिक्षक बनेर धेरै खेल खेलाउने गरेको छु ।” प्रशिक्षकका लागि प्रदेश सरकारलाई पटक–पटक माग गरेको भए पनि कुनै सुनुवाइ नभएकोे भण्डारीको दुःखेसो छ । पहाडी जिल्लामा प्रशिक्षक आउन आनाकानी गर्ने गरेका र उनीहरूलाई तराईभन्दा पहाडमा सेवा–सुविधा थपेर भए पनि सरकारले पठाउने व्यवस्था गर्नुपर्नेमा भण्डारीको जोड छ । बहुउद्देश्यीय कभर्डहल कञ्चनपुरमा निर्माण हुने कञ्चनपुरमा भने सुदूरपश्चिम प्रदेशका आर्थिक मामिलामन्त्री प्रकाश रावलले बहुउद्देश्यीय कभर्डहल निर्माणका लागि बजेट विनियोजन गरेर अघि बढेको बताउनुभयो । “यहाँ विभिन्न खेलका स–साना टहराहरू मात्रै भए”, मन्त्री रावलले भन्नुभयो, “इन्डोर खेल सञ्चालनलाई करिब रु २५ करोडभन्दा बढीको लगानीमा खेलकुद परिसरमा कभर्डहल बनाउन प्रक्रिया अघि बढेको छ ।” कञ्चनपुरमा हाल नवौँ राष्ट्रिय प्रतियोगिताअन्तर्गत आठ खेलको प्रदेशस्तरीय छनोट शनिबारदेखि हँुदैछ । यहाँ भलिबल, कबड्डी, कराते, कुस्तीलगायतका खेलको प्रदेशस्तरीय छनोट हुन लागेको जिल्ला खेलकुद विकास समितिले जनाएको छ । कञ्चनपुरबाट मात्रै ३१ खेलका चार सयभन्दा बढी खेलाडी प्रदेशस्तरीय छनोटमा सहभागी भइरहेको जिल्ला खेलकुद विकास समिति कार्यालय प्रमुख गोपालदत्त भट्टले बताउनुभयो ।
काठमाडौं । शिक्षा तथा मानव स्रोत विकास केन्द्रको राष्ट्रपति शैक्षिक सुधार कार्यक्रमका लागि नुवाकोटका २९ विद्यालय छनोटमा परेका छन् । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्रीस्तरीय निर्णयानुसार नुवाकोटका चार विद्यालयमा चारकोठे भवन र २५ विद्यालयमा सूचना तथा प्राविधि प्रयोगशाला स्थापनाका लागि छनोट भएको केन्द्रको अनुसन्धान तथा शैक्षिक गुणस्तर शाखाका निर्देशक गोविन्दराज पोख्रेलले जानकारी दिनुभयो । उहाँका अनुसार चालु आर्थिक वर्षको कार्यक्रममा बजेटको दायराले सम्बोधन गर्न सक्ने गरेर देशभरका तीन हजार चार सय ७५ विद्यालय यस कार्यक्रममा छानिएका छन् । चारकोठे भवन निर्माणका लागि छनोटमा परेका नुवाकोटको ऐंसेलुभूमे मावि किस्पाङ, सुन्दरादेवी मावि तादी, नवजीवन मावि र कालिका मावि ककनीले रु ५० लाखका दरले र सूचना प्रविधि प्रयोगशाला कार्यक्रममा छानिएका २५ विद्यालयले रु छ लाख ५० हजारका दरले बजेट प्राप्त गर्ने कार्यविधिमा भनिएको छ । कार्यक्रम सञ्चालन तथा कार्यान्वयनसम्बन्धी विस्तृत प्रक्रिया तयारी भइरहेको र बजेट वित्तीय हस्तान्तरण हुने क्रममा रहेको केन्द्रले जनाएको छ । यस कार्यक्रमका लागि सङ्घीय सरकारले चालु आर्थिक वर्षको बजेटमार्फत रु आठ अर्ब ८८ करोड छुट्याएको थियो ।
काठमाडौं । नवौं राष्ट्रिय खेलकुदको रनिङ ट्रफी सार्वजनिक गरिएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा भएको कार्यक्रममा प्रधानमन्त्री शेरबहादुर देउवाले ट्रफी सार्वजनिक गरेका हुन् । ट्रफी सार्वजनिक गर्दै उनले नेपाली खेलकुद धेरै नै अगाडि रहेको बताए । राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि पहिलो पटक बनाइएको ट्रफीलाई सातवटै प्रदेशमा घुमाउने तयारी छ । आज (शुक्रबार) साँझ सुदूरपश्चिम लगिने ट्रफीलाई शनिबार धनगढी रंगशालामा सार्वजनिक गरिने छ । ट्रफीलाई असोज २३ गते प्रतियोगितास्थल गण्डकी प्रदेशको पोखरमा लगिने लक्ष्य छ । नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताको असोज २८ गते पोखरा रंगशालामामा उदघाटन गरिने छ ।
झापा । झापाको कनकाई नगरपालिका–१ सुकेडाँगीस्थित बायोग्यास प्लान्ट आगामी मङ्सिरदेखि सञ्चालनमा आउने भएको छ । बायोग्यास प्लान्टको निर्माणकार्य ९० प्रतिशत पूरा भएको छ । प्लान्ट सञ्चालनार्थ उपकरण जडानको काम बाँकी रहेको कनकाई विर्ता अर्जुन नवीकरणीय ऊर्जा तथा फोहरमैला व्यवस्थापन कम्पनीका प्रबन्ध निर्देशक दीपक तिम्सिनाले जानकारी दिनुभयो । भौतिक पूर्वाधारअन्तर्गत घेराबारा, फोहर भण्डारणस्थल निर्माण, फोहर सेपरेटर, डाइजेस्टरलगायतका सबै काम भइसकेको छ । ग्यास फिल्टर, सिलिण्डरमा ग्यास भर्नेलगायतका उपकरण एकापसमा जडानको काम बाँकी छ । “अधिकांश उपकरण आइसकेको, एकाध बाँकी छ”, उहाँले भन्नुभयो, “अब मेसिन एकअर्कामा जोड्ने काम बाँकी छ ।” कनकाई, बिर्तामोड र अर्जुनधारा नगरपालिकाबाट उत्पादित फोहर व्यवस्थापन गर्ने उद्देश्यले प्लान्ट स्थापना गरिएको हो । कनकाई–१ स्थित सुकेडाँगीमा ५७ कठ्ठा जग्गा खरिद गरी प्लान्ट स्थापना गरिएको छ । जसबाट दैनिक ४० टन फोहर व्यवस्थापन हुनुका साथै जैविक मल, तापीय ऊर्जा मिल्नेछ । यहाँबाट कुहिने र नकुहिने दुवै प्रकारको फोहर व्यवस्थापन हुने प्रबन्ध निर्देशक चापागाईँले बताउनुभयो । रु १४ करोडको लागतमा कुहिने फोहर व्यवस्थापन गर्ने गरी काम थालिए पनि नकुहिने फोहरसमेत व्यवस्थापन गर्ने गरी रु २४ करोडको लागतमा काम भइरहेको छ । प्लान्ट सञ्चालनमा आएपछि दैनिक एक हजार केजी बायोग्यास, ३० हजार लिटर झोल र आठ टन जैविक मल (ठोस मल) उत्पादन हुने कम्पनीका प्राविधिक सल्लाहकार जीवन श्रेष्ठले जानकारी दिनुभयो । “विश्वमै मिथेन ग्यास व्यवस्थानलाई यो प्रविधि वरदान सावित हुँदै गएको छ”, उहाँले भन्नुभयो, “बढ्दो पृथ्वीको तापक्रम घटाउन सहायक हुने भएकाले पनि विश्व बैंकले यो क्षेत्रमा लगानी गर्दै आएको हो ।” उत्पादित बायोग्यास एलपी ग्यासको विकल्पसँगै अटोरिक्सा, तापीय ऊर्जा चाहिने औधोगिक क्षेत्र, अस्पताललगायतका प्रतिष्ठानमा प्रयोग हुनेछ । यहाँबाट उत्पादन हुने बायोग्यास एलपी ग्यासभन्दा बढी प्रज्वलनशील हुने प्राविधिक सल्लाहकार श्रेष्ठले बताउनुभयो । उत्पादन सुरु भएसँगै पाइपलाइनको माध्यमबाट पाँच किलोमिटर वरपरका एक हजार घरधुरीलाई ग्यास वितरण गरिने जनाइएको छ । प्लान्ट सञ्चालनमा आएपछि २५ वर्षसम्म फोहर व्यवस्थापनको चुनौती समाधान हुने कम्पनीका अध्यक्ष मिनाल तिम्सिनाले बताउनुभयो । विश्व बैंकको ४० प्रतिशत आर्थिक साझेदारीमा सुरु भएको प्लान्टमा कम्पनीमार्फत हाल सात सय ५० जनाले शेयर लगानी गरेका छन् । एक जना बराबर रु १० हजारदेखि रु एक करोडसम्म लगानी गरेको कम्पनीले जनाएको छ । हाल बिर्तामोड नगरपालिकाले नगरको फोहर व्यवस्थापनका लागि रु दुई करोड ५४ लाख दिने निर्णय गरेको छ । फोहर व्यवस्थापनलाई लागत साझेदारीमा नगरपालिकाले उक्त रकम दिने निर्णय गरेको हो । कनकाई र अर्जुनधारा नगरपालिकाले आर्थिक साझेदारीका लागि प्रतिबद्धता जनाएका छन् । तथापी बिर्तामोड नगरपालिकाको उक्त निणर्यपछि पाँचदलीय गठबन्धनका दलले ध्यानाकर्षण भएको जनाएका छन् । प्लान्ट स्थापना ताका नै कनकाई, बिर्तामोड र अर्जुनधारा नगरपालिकासँग आर्थिक सहकार्यका लागि छलफल–वार्ता भएको र सोही अनुरुप कम्पनीले काम अघि बढाएको प्रबन्ध निर्देशक चापागाईँले बताउनुभयो । “फोहर व्यवस्थापन एक मात्र हाम्रो उद्देश्य हो”, उहाँले भन्नुभयो, “यसले दीर्घकालीनरूपमा फोहर व्यवस्थापन गर्न सकिन्छ, धेरै जनाले लगानी गर्नुभएको छ, आर्थिक सुनिश्चितता पनि हुन जरुरी छ ।” बिर्तामोड नगरपालिकासँगै झापाका ठूला सहरी क्षेत्रमा फोहर व्यवस्थापन चुनौतीपूर्ण बन्दै गएको छ ।
पोखरा : नेपालसहित विभिन्न चार देशका कलाकारको सहभागितामा पोखरा र आसपासका क्षेत्रमा शनिबारदेखि बृहत् आर्ट क्याम्प हुन लागेको छ । गण्डकी प्रज्ञा प्रतिष्ठानसँगको सहकार्यमा आगामी असोज १ देखि ४ गतेसम्म हुने ‘पोखरा आर्ट क्याम्प’मा नेपालसहित भारत, बङ्गलादेश र इरानका एक सय १८ कलाकारको सहभागिता रहने आयोजक अन्तर्राष्ट्रिय जलरङ समाज (आइडब्लुएस) नेपालले जनाएको छ । नेपालका ९० सहित भारतका आठ, बङ्गलादेशका १७ र इरानका छ जना कलाकारको सहभागिता रहने कार्यक्रमको सबै तयारी पूरा भएको छ । आर्ट क्याम्पअन्तर्गत असोज १ गते भारत, बङ्गलादेश र नेपाललका १२ जना प्रसिद्ध कलाकारले प्रत्यक्ष कला ‘डेमोष्ट्रेसन’मा सहभागी हुनेछन् । दोस्रो दिन घाचोकका दृश्य क्यान्भासमा उतार्ने गरी कार्यशाला सञ्चालन हुनेछ भने तेस्रो दिन विश्वशान्ति स्तुपामा कला कार्यशाला तथा प्रदर्शनी गरिनेछ । विश्वव्यापी महामारीका रूपमा फैलिएको कोभिड–१९ सङ्क्रमणका कारण ललितकलाका गतिविधि भर्चुअलमा सीमित भइरहेको सन्दर्भमा सङ्क्रमण न्यून भएसँगै उक्त कार्यक्रम भौतिक उपस्थिति गर्न लागिएको हो । अब भने विस्तारै कला पर्यटन प्रवद्र्धन गर्दै कलामार्फत नेपालको पहिचान विश्वव्यापी पु¥याउने प्रयास थालिएको कार्यक्रम संयोजक आइडब्लुएस नेपालका अध्यक्ष एनबी गुरुङले जानकारी दिनुभयो । ‘पोखरा घुमौँ र पोखराको प्राकृतिक सौन्दर्यलाई चित्रण गरौँ’ भन्ने नाराका साथ आयोजना हुने कार्यक्रममा कला कार्यशालाका साथै कला सेमिनार, कला पर्यटन भ्रमण तथा कला प्रदर्शनी हुनेछ । गण्डकी प्रदेश कला, साहित्य, सङ्गीत र संस्कृतिको उर्बरभूमि र हरेक जातिको आफ्नै गौरवपूर्ण भाषा र संस्कृतिको रमणीय स्थान हो । उक्त कार्यक्रमले आर्ट क्याम्पमार्फÞत गण्डकीको सुन्दरता विश्वभर पुग्ने विश्वास कलाकारको छ । ललितकलाको क्षेत्रमा महत्वपूर्ण कार्यक्रम गर्दै आएको आइडब्लुएस नेपालले यसअघि काठमाडौँ, घान्द्रुक र लुम्बिनीमा अन्तर्राष्ट्रिय जलरङ महोत्सव सम्पन्न गरिसकेको छ । पछिल्लो कला महोत्सव भने कोरोनाका कारण प्रभावित भएको र उपयुक्त समयमा आयोजना गर्नै जनाइएको छ । कार्यक्रमको स्थानीय संयोजकमा मनोज तामाङ हुनुहुन्छ । कार्यक्रममा अग्रज कलाकारलाई सम्मानसमेत गरिने छ । कार्यक्रममा सहभागी हुने विदेशी कलाकार नेपाल आइसकेका छन् । कार्यक्रमका लागि विदेशीसहित उपत्यकामा रहेका कलाकार आजै पोखरा जाँदै छन् ।
पोखरा ः न्यूनचापीय क्षेत्र र मनसुनी रेखा नेपालतर्फ रहेकाले केही दिन देशभर पानी पर्ने जल तथा मौसम विज्ञान विभागले जनाएको छ । विभागको मौसम पूर्वानुमान महाशाखाका अनुसार यसको प्रभाव बिहीबार रातिदेखि नै देखिएको छ र केही दिनसम्म कायम रहने छ । महाशाखाका मौसमविद हिरा भट्टराईका अनुसार हाल भारतको उत्तर प्रदेशमा रहेको न्यून चापीय क्षेत्र नेपालको पश्चिम भूभागको नजिक आइपुगेको छ । यसैगरी मनसुनी रेखा पनि नेपालको तराई भूभाग नजिक आइपुगेकाले केही दिन मनसुन थप सक्रिय हुने छ । आइतबारदेखि भने यसको प्रभाव कम हुने तर पानी पर्ने क्रम नरोकिने मौसमविद भट्टराईले बताए । ‘आइतबारदेखि यसको प्रभाव घट्दो क्रममा रहन्छ तर पानी पर्ने क्रम भने रोकिंदैन,’ मौसमविद भट्टराईले भने, ‘हल्कादेखि मध्यम वर्षा हुन्छ, भारी वर्षाको संख्या र स्थान कभरेज कम हुन्छ ।’ काठमाडौं उपत्यकामा मध्यम खालको वर्षा हुने तर भारी वर्षाको सम्भावना नरहने उनले बताए । महाशाखाका अनुसार आज गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशहरुका धेरै स्थानहरुमा तथा बाँकी प्रदेशहरुका केही स्थानहरुमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । साथै गण्डकी प्रदेश, लुम्बिनी प्रदेश, कर्णाली र सुदूरपश्चिम प्रदेशहरुका थोरै स्थानहरुमा भारीदेखि धेरै भारी वर्षाको पनि सम्भावना रहेको महाशाखाले जारी गरेको मौसम सम्बन्धी विशेष बुलेटिनमा उल्लेख छ । पहाडी भू–भागमा पहिरो तथा गेग्रान बहावको जोखिम रहेकाले सतर्कता अपनाउन महाशाखाले भनेको छ । ‘ठूला तथा साना नदी नाला र खोलाहरुमा पानीको सतह बढ्न सक्ने तथा यातायात क्षेत्र प्रभावित हुन सक्ने भएकाले आवश्यक सतर्कता तथा पूर्व तयारी अपनाउन सर्वसाधारण तथा सबै सरोकारवाला निकायहरुमा अनुरोध छ,’ महाशाखाले जारी गरेको विशेष बुलेटिनमा लेखिएको छ ।