पोखरा:  भौतिक पूर्वाधार तथा यातायात व्यवस्था मन्त्री प्रकाशबहादुर केसीले गण्डकी प्रदेशमा समावेशी, सन्तुलित र दिगो विकास सुनिश्चित गर्न मन्त्रालय प्रतिबद्ध रहेको बताउनुभएको छ । भौतिक पूर्वाधार विकास तथा य...

तुलसीपुर  :  टेण्डर (बोलपत्र) नपरेपछि खाद्य व्यवस्था तथा व्यापार कम्पनी तुलसीपुरले चामल ढुवानी गर्न सकेको छैन । दशैँलाई लक्षित गरी चामल ढुवानीका लागि कम्पनीले बोलपत्र आह्वान गरेको थियो । तर कसैले टेण्डर नहाल्दा चामल ढुवानी अन्योलमा छ ।    पुनः दोस्रोपटक बोलपत्र आह्वान गरेर चामल ढुवानी गर्ने तयारी रहेको कम्पनीका तुलसीपुर प्रमुख तुलसी सुनारले बताउनुभयो । उहाँका अनुसार रुकुमपूर्व, रुकुमपश्चिम र डोल्पाको लिखुमा चामल ढुवानीका लागि पुनः बोलपत्र आह्वान गर्न लागिएको हो । “पुनः टेण्डर आह्वान गरी चामल ढुवानीका लागि तयारी गर्दैछौँ”, उहाँले भन्नुभयो ।    पहाडी जिल्लामा चामल पुर्‍याउन तुलसीपुरमा चामल मौज्दात राख्ने गरिन्छ । अहिले करिब चार हजार आठ सय क्विन्टल चामल यहाँ मौज्दात छ । टेण्डर नपरेपछि अहिले कार्यालयले आफैँले ढुवानीअनुसारको भुक्तानी गर्ने गरी रुकुमपूर्व र रुकुमपश्चिममा चामल पठाएको छ । ढुवानी रकम महँगो भएकाले पनि टेण्डर हाल्न नमानेको हुनसक्ने उहाँले बताउनुभयो । “अहिले पेट्रोलको मूल्य बढेको छ, ढुवानी मूल्य बढाउन सकिएको छैन”, सुनारले भन्नुभयो ।   चाडपर्वलाई लक्षित गरी चामलको मूल्य पनि घटाइएको छ । चालममा प्रतिकिलो रु सातका दरले छुट दिएको उहाँले बताउनुभयो ।  बास्मती चामलको मूल्य प्रतिकिलो रु एक सय तीन, जिरा मसिनो प्रतिकिलो रु ६० र सोना मन्सुलीको मूल्य प्रतिकिलो रु ४३ पर्छ ।    दाङमा धान प्रसस्त फल्छ । सुनारका अनुसार दाङमा कम्पनीको चामल वार्षिक दुई सय क्विन्टल मात्रै खपत हुने गरेको छ । अन्य पहाडी जिल्लामा अत्यधिक मात्रामा चामल खपत हुन्छ । खाद्य कम्पनीले सस्तो र गुणस्तरीय चामल उपलब्ध गराउनेबारे जानकारी नभएर पनि बजारबाट किन्ने गरेको उहाँको भनाइ छ । तुलसीपुरमा कम्पनीको गोदममा पाँच हजार क्विन्टल चामल भण्डारण गर्न सकिने कार्यालयले जनाएको छ । 

  तनहुँ । युवाशक्ति विदेशिँदा गाउँघरका खेत बाँझो हुने क्रम बढेको छ । घरमा ज्येष्ठ नागरिक, महिला र बालबालिका मात्रै हुँदा खेतबारीमा खेती गर्ने क्रम घट्दो अवस्थामा छ । उर्बरभूमि बाँझो राखी बजारबाट खाद्यान्न खरिद गरी उपभोग गर्ने क्रम बढेको छ ।    बाँझो रहेका जग्गालाई पुनः उर्बर बनाउन तनहुँका स्थानीय तह र कृषिसँग सम्बन्धित निकायले प्रोत्साहन गर्ने नीति ल्याएका छन् । बाँझो जमिन उपयोग गरी खेती गर्नेलाई अनुदान दिने व्यवस्थाले कृषकहरू यसतर्फ आकर्षित हुने विश्वास गरिएको छ ।    कृषि ज्ञान केन्द्र तनहुँले बाँझो जग्गामा व्यावसायिक खेती प्रोत्साहन कार्यक्रम अगाडि बढाएको छ । यसका लागि चालु आर्थिक वर्षमा रु १० लाख विनियोजन गरिएको ज्ञान केन्द्रका प्रचार–प्रसार अधिकृत राजेश्वर सिलवालले जानकारी दिनुभयो । यो कार्यक्रममा कृषक, कृषि फार्म, कम्पनी, समूह, सहकारी संस्था सहभागी हुन पाउनेछन् ।   बाँझो जमिनमा खेती गर्नेलाई प्रतिरोपनी रु पाँच हजारका दरले अनुदान प्रदान गरिनेछ । कार्यालयले चालु आर्थिक वर्षमा १० हेक्टर क्षेत्रफलमा यो कार्यक्रम सञ्चालन गर्ने सिलवालले बताउनुभयो ।  पहिले खेती गरिएका तर विविध कारणले विगत कम्तीमा तीन वर्षदेखि बाँझो रहन गएका जग्गा भाडामा वा स्वयं धनीले जग्गामा पुनः खेती गरे अनुदान दिइने उहाँले बताउनुभयो । “गाउँघरमा प्रशस्त जग्गा हुँदाहुँदै पनि युवाशक्ति विदेशिनु, बसाइँसराइ गरी सहर फिर्नुलगायतका कारणले जग्गा बाँझो हुने क्रम बढ्दो छ”, उहाँले भन्नुभयो, “बाँझो रहेको जग्गालाई प्रयोग गरी खेती गराउन प्रोत्साहनको नीति अगाडि सारिएको हो ।” उहाँका अनुसार न्यूनतम तीन रोपनी क्षेत्रफल भएको बाँझो जग्गामा व्यावसायिक खेती गर्नुपर्नेछ ।    ज्ञान केन्द्रले आलु खेती प्रवद्र्धन विशेष कार्यक्रमअन्तर्गत कृषकलाई ९० प्रतिशत अनुदानको व्यवस्था मिलाएको छ । यसका लागि रु २४ लाख बजेट विनियोजन गरिएको छ । यो कार्यक्रम कृषक समूह वा सहकारीमार्फत सञ्चालन गरिनेछ ।    कार्यक्रम सञ्चालनका लागि प्रत्येक क्लष्टरमा कम्तीमा १० घरधुरी संलग्न हुनुपर्ने, छनोट भएका क्लष्टरमा प्रत्येक घरधुरीले कम्तीमा थप तीन रोपनी क्षेत्रफलमा खेती लगाउनुपर्ने मापदण्ड बनाइएको छ । आलुखेतीका लागि आवश्यक बीउ, यन्त्र, उपकरण खरिद, सिँचाइ व्यवस्थापन, ग्रेडिङ, प्याकेजिङ, लेबलिङ, सामग्री खरिद, भण्डारण र बजारीकरणमा क्षेत्रमा काम गर्न सकिने ज्ञान केन्द्रले जनाएको छ ।   केन्द्रले क्षेत्रफलका आधारमा तरकारी उत्पादन गर्नेलाई अनुदान दिने कार्यक्रम ल्याएको छ । यसका लागि रु २४ लाख बजेट विनियोजन गरिएको छ । दलित, महिला, जनजाति, मुस्लिम, पिछडिएको वर्गलाई प्राथमिकता दिई यो कार्यक्रम सञ्चालन गरिएको केन्द्रले जनाएको छ । कार्यक्रममा सहभागी हुने फार्म, कम्पनी, कृषकले कम्तीमा दुई रोपनी क्षेत्रफल वा न्यूनतम दुई सय वर्गमिटर क्षेत्रफलको प्लाष्टिक घरभित्र वर्षमा कम्तीमा दुई सिजन तरकारी खेती गरेको हुनुपर्ने जनाइएको छ ।    शुक्लागण्डकी नगरपालिकाले पनि बाँझो जमिन उपयोग प्रोत्साहन कार्यक्रम ल्याएको छ । विविध कारणले तीन वर्षदेखि बाँझो रहेको न्यूनतम तीन रोपनी क्षेत्रफल भएको जग्गामा खेती गरेवापत प्रतिरोपनी रु तीन हजारका दरले अनुदान उपलब्ध गराइने प्रमुख प्रशासकीय अधिकृत लिलाबल्लभ न्यौपानेले जानकारी दिनुभयो ।    “नगरपालिकाभित्र बाँझो रहेका जमिनमा खेती गराउनका लागि आकर्षित गर्ने उद्देश्यस्वरुप अनुदानको कार्यक्रम अगाडी बढाइएको हो,” उहाँले भन्नुभयो, “यो कार्यक्रममार्फत् बाँझो जमिनमा खेती गर्न कृषकको आकर्षण बढ्ने विश्वास गरेका छौ ।”   नगरपालिकाले चालु आर्थिक वर्षमा नै कृषकलाई अनुदानमा कृषि उपकरण वितरणको तयारी थालेको छ । पचास प्रतिशत अनुदानमा हाइटेक तरकारी प्लाष्टिक घर निर्माण, ५० प्रतिशत अनुदानमा प्लाष्टिक टनेल वितरण, ५० प्रतिशत अनुदानमा असिना छेक्ने जाली वितरण, ५० प्रतिशत अनुदानमा मौरीघार वितरण र कृषि यान्त्रिकरण वितरणको कार्यक्रम ल्याइएको नगरपालिकाले जनाएको छ । 

  कञ्चनपुर । कञ्चनपुरको भीमदत्त नगरपालिका–१८ की ५८ वर्षीया पार्वती धामी ठेलागाडामा मकै पोलेर बेच्नुहुन्छ । साँझबिहानको छाक टार्न झरिमा छाताको ओत लागेर पनि आफ्नो कामलाई निरन्तरता दिँदै आउनुभएको छ । वृद्ध अवस्थामा पनि उहाँको सहारा ठेलागाडा बनेको छ । करिब छ वर्षदेखि मकै पोलेरै साँझबिहानको जोहो गरिरहेको उहाँले बताउनुभयो ।      “पानी पर्यो भनेर घरमै बसेँ साँझ भोकै बस्नुपर्छ ।” उहाँले भन्नुभयो, “मकै बेचेर आएको पैसाले साँझ बिहान खान ठिक्क हुन्छ । यसबाट  दैनिक पाँच सय जति आम्दानी हुन्छ  ।” दोधारा चाँदनीबाट प्रतिकेजी रु ४० मा मकै खरिद गरेर महेन्द्रनगर बजारमा बेच्ने गरेको धामीले बताउनुभयो । “पोलेको मकै एउटा रु २५ मा बिक्री गर्छु मेरो पेट पाल्न ठिकै भएको छ ।” उहाँले भन्नुभयो,“मकै बेचेर आएको पैसाले चामल खरिद गरेर लग्छु साँझबिहानलाई पुग्छ । दिनमा काम नगरे साँझ चुलोे बाल्नै मुस्किल हुन्छ । ”      विसं २०५८ मा श्रीमान् बेपत्ता भएपछि उहाँ एकल हुनुभयो । दार्चुलाको मालिकार्जुन–३ निवासी धामी हाल महेन्द्रनगरस्थित कटानमा कोठा भाडामा लिएर बस्दै आउनुभएको छ । “एउटा छोरी थिइन् छोरीको पनि बिहेपछि श्रीमान्ले अर्को बिहे गरेर छोड्यो ।” उहाँले भन्नुभयो–“अहिले छोरीको सहारा म मेरो सहारा छोरी भएका छौँ ।” धामीकी छोरी लक्ष्मी पनि महेन्द्रनगर बजारमै आइसक्रिम बेच्दै आउनु भएको छ ।       “छोरीको कमाइले कोठाभाडा तिर्न र अरु खर्च चलाउन पुग्छ ,” उहाँले भन्नुभयो–“अहिले सबै कुरा महँगो भएको छ साँझबिहानको चुलो बाल्नै मुस्किल छ ।” छोरी लक्ष्मीले मौसमअनुसारको व्यवसाय गर्ने गरेको बताउनुभयो । “जति बेला जे काम पायो त्यही गर्छु काम गरेर खानु छ,” उहाँले भन्नुभयो,“दैनिक मजदूरी गरेर खान लाउन ठिक्क भएको छ ।” सानै उमेरमा बिहे गर्नुभएकी लक्ष्मीले श्रीमान्ले दोस्रो बिहे गरेपछि निकै समस्या झेल्नु परेको बताउनुभयो ।    “अहिले आमासँगै बस्दै आएको छु मेरो सहारा आमा, आमाको सहारा म छु ।” उहाँले भन्नुभयो,“सरकारले दिएको एकल भत्ताले राहत भएको छ ।” जीवनमा अनेक पीडासँग जुध्दै तराई झरेको लक्ष्मीले बताउनुभयो ।    उहाँ जस्तै पोलेको मकै बेचेर दैनिक जीवनयापन गरिरहेका थुप्रै महिला महेन्द्रनगरमा भेटिन्छन् । भीमदत्त नगरपालिका– १८ का धाना पन्तले पनि पोलेको मकै बेचेर दैनिक गुजारा चलाइरहनुभएको छ । रोजगारीको अन्य केही उपाय नभएपछि दुबै दम्पतीले मकै बेचेर साँझ बिहानको जोहो गर्दै आउनु भएको छ । “अन्य रोजगारी केही छैन पोलेको कमै बेचेर जीवनयापन गरिरहेका छौँ ।” उहाँले भन्नुभयो ।   “खेती किसानी गर्न जग्गा छैन अन्य काम गर्न सीप छैन ।” पन्तले मकै बेचेर दैनिक एक हजारसम्म आम्दानी हुने गरेको बताउनुभयो । “बुढाबुढी दुबैको कमाइ दिनको रु एक हजार ५०० जति बचत हुन्छ यसबाट घरखर्च धान्न पुगेको छ ।” उहाँले भन्नुभयो–“छोराछारीको स्कुल खर्च  पनि यसैबाट चलेको छ ।” महेन्द्रनगरमा मकै पोलेर मात्रै थुप्रैले जीविकोपार्जन गरिरहेका छन् । मौसमअनुसार बैशाखदेखि असोज महिनासम्म फुटपाथमा बसी मकै पोलेर मनग्य आम्दानी गरिरहेको उनीहरुको भनाइ छ । महेन्द्रनगरमा दोधारा चाँदनीबाट मकै आउने गरेको छ ।

  गलकोट । पछिल्लो समय आध्यात्मिक योग र ध्यानप्रति नागरिकको आकर्षण बढ्न थालेको छ । ओशो सन्यासी, पतञ्जली योग तथा आयुर्वेद औषधालयअन्तर्गत पछिल्लो समय बागलुङमा ध्यान, योग र साधना अभियान सञ्चालन हुँदै आइरहेको छ ।    दुई जनाबाट सुरु भएको बागलुङस्थित ओशो अमृतम ध्यान केन्द्रमा अहिले एक सयभन्दा बढी ओशो सन्यासीले ध्यान, योग र साधना गरिरहेका छन् । यस्तै धवलागिरि आयुर्वेद औषधालयको सभाहलमा अहिले नियमित योग कक्षा सञ्चालन भइरहेको छ  । उक्त योगकक्षा जुममार्फत घरमै बसेर गर्न सकिन्छ ।   यस्तै पतन्जली योग समितिद्वारा राधाकृष्ण मन्दिरको सभाहलमा प्रत्येक बिहान योग तथा ध्यान कक्षा सञ्चालनमा आइरहेको छ । योग तथा ध्यानले मनको तनाव हटाएर मानिसलाई आनन्द दिलाउने र शारिरीकरूपमा स्फूर्ति ल्याउने भएकाले पछिल्लो समय बागलुङमा योग, ध्यान र सानधाप्रति आकर्षण बढिरहेको आयुर्वेद औषधालयका डा सरोज रायले बताउनुभयो ।    “हामीले झण्डै एक वर्षदेखि योगकक्षा चलाइराखेका छौँ, दैनिक २० देखि २५ जनाले योगशिक्षा लिइराखेका छन्, कतिपय बिरामीलाई हामीले एक हप्ताको योगशिक्षा दिएर घरमै बसेर गर्न लगाएका छौँ, योगपछि अस्पतालमा आएका बिरामीमा सकरात्मक प्रभाव पारेकोे छ”, उहाँले भन्नुभयो, “कोरोनाको बेलामा हामीले जुममार्फतसमेत योग सिकाएका थियौँ, अहिले हाम्रो ध्यान अस्पतालमा विभिन्न समस्या लिएर आएका बिरामीलाई योग सिकाएर पठाउनेतर्फ लागेको छ, जिल्लामा ओशो अमृतम तथा पतञ्जली योगलगायतले योग तथा ध्यान गराउँदै आएको छन्, पछिल्लो समय योग र साधनाको फाइदाका विषयमा नागरिकले थाहा पाएपछि यसतर्फ आकर्षण बढ्दै गएको हो ।”   डा रायका अनुसार यसबाट शारीरिक रोगबाट मुक्ति, आत्मबल बढाउने, मानसिक रोगबाट मुक्ति, अनिद्रा नहुने, मांसपेशीलाई तन्दुरुस्त बनाउने, ग्यास्ट्रिकलगायतको रोगबाट छुटकारा पाउन सकिन्छ । योगका आठ स्तम्भमध्ये बागलुङमा ध्यानलाई समेत   महत्वपूर्ण विषयका रूपमा लिइँदै आइएको छ ।   मानिसले घरमै युट्युब हेरेरै भए पनि योग तथा ध्यान गरिरहेको पाइएको छ । यस्तै योग, आध्यात्म र स्वास्थ्यलाई एकैसाथ अँगालेको ओशोको ध्यानबाट पछिल्लो समय सन्यासी बन्नेहरूको लहर बढेको छ, ध्यानका माध्यमबाट तनाव र कुण्ठाबाट मुक्त हुनाका साथै मानिसमा सकारात्मक भाव बढेको छ । जिल्लामा दुई जनाबाट सुरु भएको ओशो ध्यान अभियानमा अहिले बढी नागरिक जोडिएका छन् । ओशो अमृतम ध्यान केन्द्रमा अहिले नियमित ध्यान हुने गरेको छ ।    ओशो तपोवनका संस्थापक आध्यामिक गुरु स्वामी आनन्द अरुणको निर्र्देशनमा दिनमा २४ घण्टामध्ये एक घण्टा ध्यानलाई छुट्याउने गरिएको ध्यान केन्द्रकी सञ्चालिका ज्योत्सना शाक्यले बताउनुभयो । उहाँले अबको सयम सन्यासी बनेर मागेर हिँड्नुपर्दछ भन्ने खालको नरहेर एउटा सन्यासीले बाँडेर खानु पर्दछ भन्ने  मान्यता तर्फ आर्कषित भइरहेको बताउनुभयो  ।   “आशो सन्यासीहरूलाई काम छोड्नु, अध्ययन छोड्नु र पेशा व्यवसाय छोड्नु भन्दैनौँ, आफ्नो पेशा–व्यवसायमा कटिबद्ध रहँदै देशलाई आर्थिक विकासमा अगाडि बढाउन र वातावरण जोगाउन सहयोग गर्ने हाम्रो उद्देश्य हो, २४ घण्टाको समयमा जम्मा एक घण्टा ध्यान, योग र प्राणयमलाई दिनसके जीवन निकै आनन्दमय भएको आभास हुनेछ”, उहाँले भन्नुभयो, “भौतिक सुख, सुविधा त्यागेर कुटीमा बस्नुमात्रै सन्यासी होइदैन भन्ने ओशो रजनीशको शन्देश रहेकाले आफ्नो जीवन, कर्मलाई र ध्यान सँगसँगै लैजान सकिन्छ भन्ने मान्यताका साथ ओशोप्रेमीको बढ्दै गइरहेको छ ।”   नेपालमा  योग तथा ध्यान केन्द्रसमेत खोल्ने कार्यले तीव्रता पाएको छ । पछिल्लो समय वातावरण बिगँ्रदै गएकामा चिन्ता व्यक्त गर्दै ओशो सन्यासीहरूले ध्यानमा मात्रै जोड नदिएर आफ्नो जन्मदिनमा प्रत्येक वर्ष पाँचवटा रुख रोप्नुपर्ने नियम रहेको बताउनुभयो ।    आफ्नो मनमा भएको कुण्ठा, लोभ तथा तनावका कारण मानिसले अमूल्य जीवनलाई बर्वाद पारिरहेको सन्दर्भमा ध्यान र योगका माध्यमबाट आफूलाई खुसी राख्न सकिने ध्यान तथा योगप्रेमीहरूले बताउँदै आएका छन् ।    संसारभरका एक लाख ३० हजार बढी व्यक्तिलाई ध्यान र ज्ञान प्रदान गरेर सत्मार्गका लाग्न स्वामी आनन्द अरुणको प्रेरणाबाट बागलुङमा पछिल्लो समय ध्यान र योगप्रति आकर्षण बढिरहेको योगी लीला खड्काले बताउनुभयो ।

  काठमाडौं । बडादसैँ तथा दिपावली नजिकिएसँगै रोजगारीका लागि छिमेकी राष्ट्र भारत गएका नेपालीको स्वदेश फर्कने क्रम बढ्दो छ । कैलालीको त्रिनगर भन्सार नाकाबाट दिनहुँ रोजगारिका लागि भारतका विभिन्न सहर पसेका चाडपर्व नजिकिएसँगै स्वदेश भित्रिने क्रम बढेको सिमास्थित सशस्त्र प्रहरी पोष्ट भन्सारले जनाएको छ ।   सशस्त्र प्रहरी पोष्टका अनुसार भारतको मथुरा, पुना, गुजरात, सुरत, मुम्बई, गोवा, दिल्ली लगायतका विभिन्न सहरबाट शनिबार चार सय दुई, आइतबार तीन सय ५३, सोमबार पाँच सय ४८, मङ्गलबार तीन सय ३८ र बुधबार आठ सय जना नेपाली नेपाल भित्रिएका छन् । चाडपर्व नजिएकोले भारत जाने भन्दा पनि स्वदेश फर्किनेको सङ्ख्या ह्वात्तै बढ्न थालेको हो ।   लामो समयदेखि भारतको मुम्बईमा रोजगार गर्दै आउनुभएका डोटीको आदर्श गाउँपालिकाका रमेश खड्काले चाडपर्व मनाउँनकै लागि घर फर्केको बताउनुभयो । “दसैँमा परिवारका सदस्यबीच सबै जना एकसाथ भेटघाट हुने र मिठामिठा स्थानीय खानाका परिकार पकाइ खाइ रमाइलो गरी मनाउने गरिन्छ” उहाँले भन्नुभयो, “यसले घर बाहिर लामो समयसम्म एक्लो भएर बस्नु परेको आभाश रमाइलोमै वित्छ ।”    सोही गाउँपालिकाका नरिबहादुर साउदले घरपरिवारसँग लामो समयसम्म भेटघाट पनि नभएकोले बडादसैँमा टीका थाप्नुका साथै पारिवारिक भेटघाट तथा खेतीपाती भित्र्याउन आफू भारतको पञ्चाबबाट आएको सुनाउनुभयो ।    यसरी छिमेकीमूलुक भारत जाने सर्वसाधारण नेपाली कोही छोटो समयका लागि त कोही लामो समयका लागि रोजगारी गर्न भारत जाने गर्दछन् । खेतीपाती भएका आफ्नो काम सम्पन्न गरी अन्नबाली नभित्रिञ्जेल भारतमा काम गर्न जाने र फुर्सद प्राप्त हुने समयमा घर आउने गरिएको पाइन्छ, भने खेतीपाती नहुने लामो समयको अन्तरालपछि चाडवाड मनाउन घर आउने गरेको पाइन्छ ।     सूदूरपश्चिम प्रदेशका कैलाली, कञ्चनपुरलगायत पहाडी जिल्लाका अधिकांश मानिस रोजगारका लागि भारतका मुम्बई, दिल्ली, पिथौरागड, नासिक, पञ्जाब, अहमदाबाद लगायतका  सहरहरुमा जाने गर्दछन् ।

  बाँके । बाँकेको जानकी गाउँपालिकामा छोरी जीवन बीमा कार्यक्रम सुरु भएको छ । चालु आर्थिक वर्षदेखि सो कार्यक्रम लागू भएको गाउँपालिकाका प्रशासकीय अधिकृत सिंहराज डाँगीले जानकारी दिनुभयो ।    गाउँपालिकाले ‘छोरी कल्याण कार्यक्रम’अन्तर्गत सो कार्यक्रम लागू गरेको हो । “कार्यपालिकाको बैठकबाट पास भएको कार्यविधिअनुसार छोरी जीवन बीमा कार्यक्रम लागू भएको छ,” प्रशाकीय अधिकृत डाँगीले भन्नुभयो ।    यसलाई प्रभावकारी कार्यान्वयन गराउन  गाउँपालिकाको सबै वडामा पत्राचार गरेको उल्लेख गर्दै उहाँले सबै वडामा विसं २०७९ साउनयता जन्मेका छोरीहरुले बीमाको सेवा पाउने बताउनुभयो । अधिकृत डाँगीले छोरी जीवन बीमा कार्यक्रमका लागि रु १० लाख बजेट विनियोजन भएको जानकारी दिँदै छुट्ट्याइएको रकम अपुग भए अन्य रकमसमेत विनियोजन हुने उल्लेख गर्नुभयो ।    गाउँपालिकाभित्रका स्वास्थ्य संस्थामा जन्मिएका छोरीहरुलाई गाउँपालिकाकातर्फबाट वार्षिक पाँच हजारका दरले जीवन बीमाको प्रिमियिम पर्ने गरी आउने बीमाङ्क रकम बराबरको जीवन बीमा गरिने छ । यसअघि सो गाउँपालिकाको १२औँ गाउँसभाले ‘गाउँपालिका अध्यक्षसँग छोरी कल्याण कार्यक्रम’पारित गरेको थियो ।    उक्त कार्यक्रम अन्तर्गत केही दिनअघि बसेको गाउँपालिकाको बैठकले  छोरी जीवन बीमा कार्यक्रमका साथै गाउँपालिकाका अध्यक्षसँग छोरी कल्याण कार्यक्रम कार्यान्वयन कार्यविधि २०७९ स्वीकृत गरेको थियो । 

  वालिङ । गण्डकी प्रदेशकै एउटा प्रवेशद्वारको रुपमा रहेको राम्दी पुलको समयमै मर्मत नहुँदा केही वर्षदेखि ठूला भारवहन क्षमताका सवारीसाधन आवतजावतमा रोक लगाइएको छ । भारत सरकारले झण्डै ५१ वर्षअघि स्याङ्जा र पाल्पाको सङ्गमस्थल राम्दी (रामनदीधाम)मा निर्माण गरेको यो पुल सुनौली–पोखरा जोड्ने सिद्धार्थ राजमार्गमा पर्दछ ।    भारत सरकारको सहयोगमा विसं २०२२ देखि सिद्धार्थ राजमार्गको निर्माणकार्य सुरु भएर विसं २०२८ मा निर्माण सम्पन्न भएको थियो । पहाड र तराईलाई जोडेसँगै आवातजावत र व्यापार व्यवसायका लागि कोशेढुङ्गा सावित भएको यस पुल निर्माण भएको लामो समय भएको हुँदा यसको क्षमता घट्दै गएकाले १० टन क्षमताभन्दा बढी भारवहन क्षमताका सवारीसाधन चल्न रोक लगाइएको छ ।    डुङ्गाको सहारामा जोखिम मोलेर वारपार गर्नेहरुलाई पुल निर्माण भएँसगै सहजता भए पनि भारवहन क्षमताका सवारी साधन चल्न रोक लगाउँदा ढुवानीको खर्च बढ्न गई उपभोग्य वस्तुको लागत महङ्गो पर्न गएको व्यवसायी तथा उपभोक्ताहरुको भनाइ छ । निर्माण सामग्रीहरु बुटवलतिरबाट राम्दीको पुल हुँदै वालिङ आउने हुँदा पुलमा बढीमा १० टन मात्रै सामन बोकेका मालबाहक गाडीहरु आउनसक्ने भएकाले ढुवानीमा समस्या भएको  वालिङ–८ जैसीपधेँरामा हार्डवेयर ब्यावसाय गर्दै आउनुभएका गहौँ कालिका डुम्रे हार्डवयरका सञ्चालक शिवलाल डुम्रे बताउनुहुन्छ । डुम्रेले भन्नुभयो, “पुलमा आएर रोकिनभन्दा कि त कम्पनीबाट नै थोरै सामान लिएर आउनुपर्यो कि त  वैकल्पिक बाटो खोज्नुपर्ने बाध्यता रहेको छ ।”   मालबाहक गाडीले समान कम ल्याए पनि भाडा दर एउटै हुने भएकाले थोरै सामान ल्याएर धेरै मूल्य ढुवानीमा खर्च हुँदा सामन महङ्गो पर्न जाने गरेको व्यवसायी डुम्रे बताउनुहुन्छ ।   बुटवलबाट सिद्धार्थ राजमार्ग हुँदै सामान ल्याउँदा पुल कमजोर भएकाले रोक लगाइन्छ भने नारायणगढ–पोखरा हुँदै वालिङ ल्याउँदा मूल्य धेरै पर्न जान्छ । “पहिला–पहिला वालिङमा सामान सस्तो पाइन्थ्यो, यहीँबाट स्याङ्जासहित दक्षिण पर्वतका विभिन्न ठाउँमा सामानहरु जान्थ्यो”, उहाँले भन्नुभयो, “अहिले एकातिर पुलकै कारण पनि ढुवानी बढ्यो भने अर्कोतिर नयाँ निर्माण गरिएका सडकहरुले यहाँको व्यापार व्यवसाय ओरालो लाग्दै गएको छ ।”   “धेरै भारवहन क्षमताको मालवाहक साधनमा ढुवानी गर्दा मूल्य कम पर्न जान्छ” उहाँले भन्नुभयो, “एकैपटक आउने सामग्रीलाई दुईपटक गर्नुपर्दा ढुवानीमा लागत बढ्न गई उपभोक्तामा मार पर्न गएको छ ।”  छ चक्के मालवाहक साधनभन्दा अरुलाई पुलमा रोक लगाउँदा दैनिक उपभोग्य वस्तुदेखि निर्माणजन्य सामग्रीको ढुवानी मूल्य बढ्न गई महङ्गी बढेको उहाँ बताउनुहुन्छ ।   हाल सञ्चालनमा रहेको पुल मर्मत गरी भारवहन क्षमता बृद्धि गर्न सकिने भए अध्ययन गर्न र नहुने भए विकल्पको रुपमा अर्को पुल निर्माणका लागि तीन वर्षअघि जिल्लास्थित विभिन्न उद्योग वाणिज्य सङ्घले जिल्ला प्रशासन कार्यालयमा संयुक्तरुपमा ज्ञापनपत्र बुझाएका थिए । गल्याङ उद्योग वाणिज्य सङ्घका अध्यक्ष यज्ञप्रसाद अर्यालले भन्नुभयो, “स्थानीय उपभोक्ता तथा व्यवसायीहरुले दैनिक उपभोग्य वस्तु तथा अन्य सामग्रीहरुको ढुवानीमा पुलका कारण महङ्गो पर्न गएको गुनासो बढ्न थालेपछि सम्बन्धित निकायसम्म दबाब दिनका लागि सबै वाणिज्य सङ्घ एकमत भई ज्ञापनपत्र बुझाएका हौँ  ।”   पुल जीर्ण हुँदा बुटवलबाट तानसेन, राम्दी हुँदै स्याङ्जा जिल्ला प्रवेश गर्ने १० टनभन्दामाथि भारवहन क्षमता भएका सवारी साधनहरु आउनमा रोक लगाइएकाले विशेषगरी स्याङ्जा जिल्लाका उपभोक्ता तथा व्यवसायी बढी प्रभावित भएको वालिङ उद्योग वाणिज्य सङ्घका वरिष्ठ उपाध्यक्ष अर्जुनप्रसाद खनालले बताउनुभयो । “पुलका कारण निर्माणजन्य सामग्रीहरुको ढुवानीमा असर गरेको छ भने दैनिक उपभोग्य खाद्यान्न, लत्ताकपडालगायतका सामग्री ढुवानीमा समस्या भएको छ” उहाँले भन्नुभयो, “समस्या समाधानका लागि निरन्तररुपमा पहल गर्यौ । ढिलै भएपनि निर्माण कार्य थालनीको प्रक्रिया अगाडि बढेको छ ।”   निर्माण प्रक्रिया अगाडि बढेपछि उपभोक्ता तथा व्यापारी व्यवसायी वर्ग आशावादी देखिएका छन् । पुल निर्माण भई सञ्चालनमा आएपछि ढुवानी मुल्य घट्न गई सस्तो र सहजरुपमा सामग्रीहरु पाइने विश्वास खनालको छ । सामग्री सस्तो भएसँगै ब्यापार व्यवसाय फेरि फस्टाउनुका साथै यहाँ उत्पादन भएका सामग्रीहरुको निर्यात र उद्योग तथा कलकारखाना खोल्नका लागि पनि सहजता हुनसक्ने उहाँको भनाइ छ ।   कतिपय १०/१२ चक्के सवारी साधनले पनि भारवहन क्षमताभन्दा कम सामग्री ल्याउन सक्ने भएपनि चक्काकै आधारमा कहिलेकाहीँ प्रहरी प्रशासनले दु:ख दिने गरेको सवारी चालकहरुको गुनासो छ । सवारी साधनमा कति भार रहेको छ त्यो नभई सवारी साधनको चक्का हेरेकै आधारमा पनि रोकेर दु:ख दिने गरिएको छ । धेरै भार बोक्न सक्ने सवारी साधनमा पनि अड्कलेर थोरै सामग्री ढुवानी गर्दा भाडा स्वभाविक धेरै पर्ने स्याङ्जाको गल्याङ नगरपालिका–१ राम्दीका स्थानीयबासी शिवहरि अमात्य बताउनुहुन्छ । पुलमा १० टनभन्दा धेरै सामन बोकेको सवारी साधन चल्न नदिने हो भने यसको सुक्ष्म ढङ्गबाट अनुगमन तथा निरीक्षण गर्नु आवश्यक रहेको उहाँ बताउनुहुन्छ ।  गण्डकी र लुम्बिनी प्रदेशको संगमस्थल राम्दीस्थित कालीगण्डकी नदीमाथि पक्की पुल निर्माण प्रक्रिया सुरु भएको छ । सुनौली–पोखरा जोड्ने सिद्धार्थ राजमार्गअन्तर्गत राम्दीमा कालीगण्डकी नदीमाथि हाल रहेको पुल जीर्ण हुँदै गएकाले नयाँ पुल बनाउन लागिएको हो ।   विसं २०२८ मा भारतले निर्माण गरिदिएको ‘स्टिल ट्रस’ पुल जीर्ण हुँदै जाँदा ठूला भारवहन क्षमताका सवारी साधनहरु आवतजावतमा रोक लगाई नयाँ पुल निर्माणका लागि ठेक्का सम्झौता भई प्रक्रिया अगाडि बढेको पुल विभाग पुल सेक्टर पोखराका आयोजना प्रमुख एवं सिनियर डिभिजनल इञ्जिनीयर नवराज बास्तोला बताउनुहुन्छ ।   हाल सञ्चालनमा रहेको ९३ मिटर लामो पुलभन्दा ५/७ मिटर तल अर्को पुल बनाउने गरी सडक विभाग पुल महाशाखाले सर्भे सम्पन्न गरेर ठेक्का सम्झौता गरिसकेको सनियर डिभिजनल इञ्जिनीयर बास्तोलाले जानकारी दिनुभयो । उहाँका अनुसार बोलपत्र आह्वान गरी २०७९ असार ३० गते हिम सगरमाथा कन्ट्रक्सन प्रालिसँग पुल निर्माणका लागि सम्झौता भएको हो । “२०८२ असार मसान्तभित्र निर्माण सम्पन्न गरिसक्नुपर्छ” उहाँले भन्नुभयो, “कूल रु २७ करोड ७१ लाखको लागतमा निर्माण सक्ने गरी सम्झौता भएको छ ।” एकसय ८ मिटर लम्बाई, ११ मिटर चौडाईको हुने सो पुलमा ४० टनसम्मको भारवहन क्षमता रहने उहाँले बताउनुभयो ।    सम्झौता भएको मितिले नौ महिनाभित्र अर्थात आगामी चैत मसान्तसम्म डिजाइन स्वीकृत गरिसक्नुपर्ने छ । निर्माणस्थलको माटो परीक्षण गरिसकिएको छ भने चैत मसान्तभित्र नै निजी जग्गामा बनेका घरटहरा खाली गरी क्षतिपूर्ति दिइने उहाँले बताउनुभयो । देशकै पर्यटकीय शहर एवं गण्डकी प्रदेशको सदरमुकाम पोखरालाई व्यापारिक शहर बुटवल तथा भारत जोड्ने पुरानो सडक हो सिद्धार्थ राजमार्ग । भारत सरकारको सहयोगमा निर्माण भएको यो राजमार्ग साँघुरो, घुमाउरो तथा घुम्तिहरु धेरै रहेका छन् । पुरानो यो सडक साँघुरो र धेरै घुमाउरो छ भने स्तरवृद्धि हुन सकेको छैन ।   कालीगण्डकी नदीको किनारैकिनार भएर कालीगण्डकी करिडोर सञ्चालनमा आएपछि पनि यो सडक केही ओझेलमा पर्ने हो कि भन्ने चिन्ता छ । यस सडकलाई आर्थिक उपार्जनसँग जोड्नका लागि पनि सिद्धार्थ राजमार्गसँग जोडिएका जतिपनि पालिकाहरु छन्, तिनीहरुले सिद्धार्थ आर्थिक करिडोरसम्बन्धी छलफल तथा अन्तरक्रिया गर्दै आएका छन् । पुल निर्माण सँगसँगै साँघुरो सडकलाई चौडा गर्ने र घुम्तीहरु कटान गर्न सके मात्रै यो सडकमा सवारी साधनहरुको चाप बढ्छ । मुग्लिन–नारायणगढ सडक बन्द हुँदा पश्चिम नेपालबाट आउने सवारी साधनहरु यही पुल हुँदै पोखरा, काठमाडौँलगायत गन्तव्यमा पुग्ने गर्छन् । 

  भरतपुर । धानमा विभिन्न किसिमको रोग देखिए पछि यहाँका किसान चिन्तित बनेका छन् । किसानको दैनिकी अहिले धानको नमूना लिएर कृषि ज्ञानकेन्द्र तथा पालिकामा रहेका कृषि शाखामा जाने र समस्या सुनाउने बनेको छ ।   भरतपुर महानगरपालिका–२१ पार्वतीपुरकी रोसनी ढकाल ओआर धानमा लागेको रोगको बारेमा जानकारी लिन आज ज्ञानकेन्द्रमा नमुना लिएर आइपुग्नुभएको थियो । समयमा युरिया र पोटास मलको कमी भएका कारण उहाँको धानमा पहेंले रोग लागेको देखियो । उहाँले सुनाउनुभयो, “औषधि गर्दागर्दै धान मर्ने हो की भन्ने चिन्ता छ ?”    समयमा मल नपाउँदा धानमा समस्या देखिएको भन्दै ढकालले भन्नुभयो “धान लगाउँदा रु २० हजार खर्च आयो । अब रोगले गर्दा लगानी बराबरको धान उत्पादन हुन्छ की हुँदैन भन्नेमा शङ्का छ ।” उहाँ र आसपासका खेतमा करिब पाँच बिघा क्षेत्रफलको धानमा यो समस्या देखिएको उहाँले बताउनुभयो ।   भरतपुर महानगरपालिका–१४ शिवनगरका किसान दिलबहादुर थापाले एक बिघामा लगाएको धान एक रातमा किराले सखाप पारेको बताउनुभयो । आज बिहान उठ्दा धान किराले काटिसकेको उहाँले गुनासो गर्नुभयो । धान पसाउने समयमा विभिन्न किराका कारण समस्या देखिएको भन्दै उहाँले भन्नुभयो, “समस्या समाधान हुनु पर्यो । नत्र हामी किसान मर्कामा पर्छौं ।”   किसानको बारीमा अहिलेको धानमा शित व्लाइट (पातको फेद डडुवा), नेक व्लाष्ट (घाँटी मरुवा), ह्वाइट फ्लाइ(सेतो झिङ्गा), युरिया र पोटासको कमीका कारण पहेँलो हुने समस्या र धानमा दाना नलाग्ने समस्या देखिएको कृषि ज्ञानकेन्द्रले जनाएको छ । ज्ञान केन्द्रकी अधिकृत सुरुची त्रिपाठीका अनुसार अहिले ज्ञान केन्द्रमा दैनिक १० हाराहारी किसान समस्या लिएर आउने गरेका छन् । उहाँका अनुसार जिल्लाका सातै पालिकामा यो समस्या देखिएको छ ।     धानखेती गरिएको २२ हजार नौ सय ७७ हेक्टर क्षेत्रफलमध्ये ४० प्रतिशत क्षेत्रफलमा रोगको समस्या देखिएको केन्द्रका सूचना अधिकारी मीनबहादुर पुनमगरले जानकारी दिनुभयो । मगरका अनुसार धेरैजस्तो स्थानमा पोटास मलको कमीका कारण समस्या आएको छ । शित व्लाष्ट रोग मौसमका कारण जमिनमा हावा खेल्न नपाउँदा ढुसी लागेर हुने गर्दछ । नेक व्लाष्ट रोग मौसम अनुकूल भएर बीउमा हुने रोगको सङ्क्रमण भएको उहाँले बताउनुभयो ।   सेतो झिङ्गा जिल्लामा बढी सङ्ख्यामा सावित्री धानमा देखिएको कार्यालयले जनाएको छ । कार्यालयका अनुसार यो समस्या कृषकको धानमा विगत एक महिनादेखि देखिन थालेको हो । जिल्लामा कतिपय स्थानमा धानमा दाना नलाग्ने समस्यासमेत देखिएको छ । के कारणले दाना नलागेको भन्ने विषयमा अध्ययन सुरु गरिएको कार्यालयले जनाएको छ । प्राविधिकको सल्लाहबमोजिम औषधिको प्रयोग गर्न कार्यालयले सुझाव दिएको छ ।

  पाल्पा । निस्दी गाउँपालिका–४ स्थित लामेदमारका ७९ वर्षीय तुलबहादुर सोतीले विद्युत् सेवाका लागि रु सात हजार रकम १४ वर्ष अघि बुझाउनुभयो । रकम बुझाएको लामो समयसम्म गाउँमा विद्युत् सेवा नपुग्दा उहाँलाई बत्ती बाल्न पाइन्छ कि पाइँदैन भन्ने दुविधा थियो ।          धेरै समयको पखाई पश्चात भने अहिले बत्ती बाल्न पाउँदा सोती औधी खुशी हुनुहुन्छ । घरमा आफैँले स्वीच थिचेर बत्ती बलेपछि उहाँको १४ वर्षपछि भए पनि विद्युत् सुविधा उपभोग गर्ने मनको तिर्सना मेटिएको छ । “बत्ती बाल्नका लागि सुरुमा नै पैसा बुझाइयो, तर काममा ढिलाइ हुँदा बत्ती कहिले आउँला भनेर धैर्य गरेर बसेको थिए, मेरो मनको इच्छा पूरा भयो”, उहाँले भन्नुभयो, “अहिले त गाउँका सबै घरमा बिजुली बल्दा रमाइलो देखिएको छ ।”    रम्भा गाउँपालिका–३ अगाहाखोलाबाट ल्याइएको विद्युत् लाइन पूर्वखोला गाउँपालिका–१ सिलुवामा रहेको सव–स्टेशनबाट ल्याइएको विद्युत् लालीगुँरास सामुदायिक विद्युतीकरण सहकारी संस्थामार्फत वितरण भइरहेको छ । लामेदमार, गोडडाँडा, डेलखरक र मतियारडाँडाका ५२ घरधुरीमा अहिले विद्युत् सेवा पुगेको सामुदायिक विद्युतीकरण लामेदमार ट्रान्समिटर उपभोक्ता समितिका अध्यक्ष चित्र सिं आलेले बताउनुभयो । उहाँका अनुसार विद्युत् सेवा नपुगेका पोखरडहर र फोक्सीबासका २९ घर, खोर्मोकमा सात घरमा विद्युत् लाइन पुगिसकेको र केही घरमा वायरिङको काम बाँकी रहेकाले छिटो काम सम्पन्न गरी बिजुली बाल्ने तयारी भइरहेको छ । निस्दी–४ को मुढाबास, डुडीदमारामा विद्युत्को प्रक्रिया अगाडि बढाइएको छ ।          “निस्दीमा २०६६ सालदेखि विद्युतीकरणको काम अगाडि बढाइयो, उपभोक्ताले समितिलाई समयमा नै रकम नबुझाउने, ग्रामीण क्षेत्रमा भनेको समयमा सामान भित्र्याउन नसक्नुलगायत विविध कारणले विद्युत् विस्तारको काममा ढिलाइ हुन पुग्यो”, उहाँले भन्नुभयो ।   विद्युत् सुविधाले यहाँका स्थानीय उत्साहित छन् । पाल्पाकै विकट र दुर्गममा पर्ने सो गाउँका नागरिक विद्युत् अभावमा विभिन्न समस्यासँग जुध्दै जीवन व्यतीत गरिरहेका थिए । बिजुलीको सुविधाले विद्यालयमा पठनपाठनमा आधुनिक प्रविधिका सामग्रीको प्रयोग, घरमा खाना पकाउन, मोबाइल चार्ज तथा बालबालिकालाई पठनपाठनमा राहत पुगेको छ ।    सरकारले डिजेलको मूल्यवृद्धि गरेपछि यहाँका स्थानीयले कुटानीपिसानीमा महँगो शुल्क तिर्नुपर्दा मर्कामा परेको गुनासो छ । अब भने विद्युत् लाइनको सुविधाले धेरै राहत मिल्नेछ । डिजेलको भाउँ बढेसँगै गाउँमा सञ्चालित साना उद्योग धराशायी बन्दै गएका थिए । अब भने यहाँ साना उद्योग तथा व्यावसाय फस्टाउनेछन् ।          विशेष गरी यस क्षेत्रमा उत्पादन हुने सूर्यमुखी र तोरी प्रशोधनका लागि गाउँमा विद्युत् अभावमा यसअघि अरुणखोलामा जानुपर्ने स्थानीयलाई बाध्यता थियो । गाडीमा आवतजावत र प्रशोधन गर्ने ज्यालाले लागत नै उठाउन धौधौ हुन्थ्यो । सोलार बत्ती प्रयोग गर्दा बेला बेलामा ब्याट्री परिवर्तनमा खर्चिलो र आवश्यकताअनुसार प्रयोग गर्न नपाइनेजस्ता समस्या स्थानीयले खेपिरहेका थिए । अब बिजुलीको सुविधाले चौबिसै घण्टा ढुक्कले सुविधा उपभोग गर्न पाइने भएको छ ।         लामेदमार ट्रान्समिटरअन्तर्गत यहाँको लामेदमार, बेलखरक, गोठडाँडा, खोरमोक, रिपाहा, पोखरादहर र थोक्सिबास गाउँका करिब एक सय घरमा एकै पटक बत्ती बाल्ने योजना छ । केही टोलमा वायरिङको काम नसककिएकाले एकै चरणमा गाउँमा बत्ती बाल्न नपाए पनि छिट्टै बाँकी टोलमा बत्ती बाल्ने कार्यक्रम उपभोक्ता समितिको छ । निस्दीका केही गाउँमा चार  वर्ष अघिदेखि नै बिजुली पुगेको छ । बजारदेखि टाढा र ग्रामीण भेग रहेको हुँदा आवश्यक सामग्री समयमा नै गाउँमा लैजान नसक्दा काममा ढिलाइ भएको हो । कतिपय स्थानमा भने विद्युत् पोल पनि पुग्न नसकिएको अवस्था छ ।          निस्दी गाउँपालिकाका सात वडामध्ये १ र २ बाहेक अन्य सबैमा बिजुली बत्ती पुर्याउने जिम्मा लालीगुँरास सामुदायिक विद्युतीकरण सहकारी संस्थाले लिएको  छ । संस्थामार्फत चरणबद्ध रुपमा विद्युतीकरणको काम अगाडि बढिरहेको सहकारी संस्थाका अध्यक्ष दुर्गाबहादुर सोमैले बताउनुभयो ।