चाडबाडमा अलैँची टिप्न व्यस्त किसानलाई उचित मूल्यको चिन्ता

बाग्लुङ | कात्तिक ५, २०७९

चाडबाडमा अलैँची टिप्न व्यस्त किसानलाई उचित मूल्यको चिन्ता

 

बागलुङ । मुलुक चाडबाड र निर्वाचनको माहोलमा रमाइरहेको समयमा बागलुङका किसान भने अलैँची टिप्न व्यस्त छन् । व्यस्तताका बीच पनि किसानहरुलाई दुःख गरी उब्जाएको अलैँचीले बजारमा उचित मूल्य नपाउने हो कि भन्ने चिन्ताले समेत पिरोलेको छ । 


    अलैँचीको मूल्य घट्न थालेपछि बागलुङका किसान मर्कामा परेको गलकोट नगरपालिका–१ का ‘अलैँची ब्लक’ सञ्चालक समितिका संयोजक जीवन भण्डारीले बताउनुभयो । “यो वर्ष अलैँचीको मूल्य गत वर्षको तुलनामा घटेको छ”, उहाँले भन्नुभयो, “एकातिर रोग, किराको प्रकोपले उत्पादन घटेको छ भने अर्कोतिर उचित मूल्य नपाउने स्थिति बनेको छ ।”


    किसानहरुले २०७८ सालमा प्रतिकेजी रू १ हजार २ सयमा अलैँची बिक्री गरेका थिए भने २०७७ सालमा भने वर्ष प्रतिकेजी रु छ सयमा अलैँची बिक्री गरेका थिए । 


    गलकोट–१ दुदिलाभाटीमा एक सयभन्दा बढी किसान अलैँची खेतीमा आबद्ध छन् । उनीहरुले करिब पाँच सय रोपनी क्षेत्रफलमा अलैँची खेती गर्दै आएका छन् । 


    गत वर्ष अलैँची बिक्री गरी रु २३ लाख आम्दानी गरेका बरेङ गाउँपालिका–२ हुग्दिशिरका किसान यसवर्ष मूल्य घटेको सुनेर बेखुस छन् । अलैँची टिप्ने चटारोबीच उनीहरुलाई पनि मूल्यको पिरलो थपिएको छ । 


    बरेङस्थित नमूना अलैँची उत्पादक कृषक समूहका अध्यक्ष बिमल पौडेलले खरिदकर्ताहरु भने अझै आइनपुगेको बताउनुभयो । “तिहारअघि अलैँची टिपेर सकिन्छ, कतिपय किसानले सुकाइसकेर पनि बेच्न ठिक्क पारेका छन्”, उहाँले भन्नुभयो, “अहिलेसम्म व्यापारी आइपुगेका छैनन्, त्यसमाथि मूल्य पनि घटेको सुन्नमा आएको छ ।” 


    अलैँची व्यापारीबीचको अस्वस्थ प्रतिस्पर्धा बढ्दा मूल्य अस्थिर हुने गरेको अध्यक्ष पौडेलको भनाइ छ ।


    बरेङमा १९ जना किसानले दुई सय रोपनीमा अलैँची खेती गर्दै आएका छन् । किसानहरुले प्रत्येक वर्ष झण्डै २० क्विन्टल जति अलैँची उत्पादन गर्छन् । जसबाट राम्रो मूल्य पाएको वर्षमा किसानले रु ५ लाखसम्म आम्दानी गरेको किसान तुलसीराम पौडेलले बताउनुभयो । 


ताराखोला गाउँपालिका–१ स्थित राष्ट्रिय अलैँची कृषि उपज केन्द्रका अध्यक्ष इन्द्रध्वज भण्डारीले अलैँचीको बजारमा बिचौलिया हावी भएको आरोप लगाउनु भयो । “मूल्य बढ्ला र बेचौँला भनि बस्यो तर अन्तिममा जिल्ल पर्ने अवस्था आउँछ, रोग, किरा र जीवजन्तु लागेर पनि हामीलाई हैरान छ”, उहाँले भन्नुभयो ।


    केन्द्रका अध्यक्ष भण्डारीले दुम्सी, भार्से जस्ता जन्तुले समेत अलैँची खेतीमा असर गरेको बताउनुभयो । “दुम्सीले सँधै बाली नोक्सान गरी दुःख दिन्छ, दुम्सीले खाएर बचेको अलैँची मात्रै हामीले टिप्ने हो”, उहाँले भन्नुभयो, “वन्यजन्तु र रोगबाट बचाउन सके अलैँची उत्पादन बढाउन सकिन्छ ।” 


    भण्डारी नौ वर्षदेखि अलैँचीको व्यावसायिक खेतीमा संलग्न हुनुहुन्छ । केन्द्रले सय रोपनी क्षेत्रफलमा अलैँची उत्पादन गर्दै आएको छ । अलैँची बेचेर वार्षिक रु आठ लाखसम्म कमाइ हुने गरेको अध्यक्ष भण्डारीको भनाइ छ । ताराखोलामा पनि अलैँचीको ‘ब्लक’ कार्यक्रम सञ्चालित छ । कृषि ज्ञान केन्द्रका प्रमुख भानुभक्त भट्टराईले अन्तर्राष्ट्रिय बजारमा माग बढ्दा नेपाली अलैँचीले उचित मूल्य पाउने र माग घट्दा मूल्य पनि ओरालो लाग्ने गरेको बताउनुभयो । 


    “राम्रो मूल्य पाएपछि किसानले उत्पादन बढाउनतिर लाग्छन्, व्यापारीले पछि फेरि मूल्य घटाउँछन् जसले गर्दा किसानलाई मर्का पर्ने गरेको छ”, केन्द्रका प्रमुख भट्टराईले भन्नुभयो ।


    उहाँका अनुसार बागलुङमा अलैँचीको व्यावसायिक उत्पादनका लागि ११ ‘पकेट’ र दुई ‘ब्लक’ क्षेत्र घोषणा गरिएको छ । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना अन्तर्गत सञ्चालित ती कार्यक्रममार्फत् किसानले अलैँची खेतीमा अनुदान र तालीम पाएका थिए । जिल्लामा अहिले १२ सय हेक्टरमा अलैँची खेती भइरहेको जनाइएको छ ।


    अलैँची रोप्नेदेखि, गोडमेल, स्याहारसुसार, टिप्ने, सुकाउने काममा किसानको धेरै समय, श्रम र लगानी हुन्छ । बजारको अनिश्चिततासँगै लगानी अनुसारको प्रतिफल नपाए अलैँची खेतीबाट पलायन हुने स्थिति आउने किसान बताउँछन् । 


    नेपाली अलैँची काठमाडौँ हुँदै भारत, बङ्गलादेशलगायतका ठाउँमा निर्यात हुन्छ । कतिपयले सिधै पूर्वी नाका काँकडभिट्टा पु¥याएर भारतीय व्यापारीलाई अलैँची बेच्छन् । नेपाली अलैँची मसला, सौन्दर्य सामग्री, आयुर्वेदिक औषधिलगायतमा प्रयोग हुन्छ । 

स्याङ्जा:     स्याङ्जामा चक्कु प्रहार गरी गए राति एक युवकको हत्या भएको छ । स्याङ्जाको वालिङ नगरपालिका–१३ बाँयटारीमा डेरा गरी बस्दै आएका दाङको राप्ती गाउँपालिका–३ का २० वर्षीय आयुष चौ...

थप पढ्नुहोस्

म्याग्दी:    म्याग्दीको अन्नपूर्ण गाउँपालिका–६ घारमा आइतबार उच्च गतिको विद्युत प्रवाह हुँदा ६० घरमा क्षति पुगेको छ । उच्च गतिको विद्युत् प्रवाहले घारको ओडारे, भुवानीथान, भुन्या, इदार र बिरौटा टोलक...

थप पढ्नुहोस्

पोखरा:     यहि वैशाख २८ गते हुने आठौं संस्करणको पोखरा स्पोर्टस अवार्डलाई टाइगर ग्रुप अफ पोखराले सघाउने भएको छ । टाइगर ग्रुपबाट वर्ष उत्कृष्ट खेल संघसंस्था वा क्लवतर्फको पुरस्कार स्वरूप ५० हजा...

थप पढ्नुहोस्