काभ्रेपलाञ्चोक:   बिपी राजमार्गमा भदौ १ गतेदेखि थप १५ दिन सवारी सञ्चालनमा रोक लगाइएको छ । जोखिमका कारण गत असार ७ गतेदेखि राति सवारी सञ्चालनमा रोक लगाउँदै आइएकोमा भदौ १५ गतेसम्म १२ घण्टा रोक लगाइएको ज...

पोखरा : गण्डकी प्रदेशका विभिन्न आठ जिल्लामा सञ्चालन भएको नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिता आज समापन हुँदैछ ।   आयोजक राष्ट्रिय खेलकुद परिषद्का अनुसार आज दिउँसो २ः३० बजेपछि पोखरा रङ्गशालामा भव्य कार्यक्रमसहित नवौँको बिदाइ गरिनेछ । समापन समारोहमा प्रधानमन्त्री शेरबहादुर देउवा, युवा तथा खेलकुदमन्त्री महेश्वरजङ्ग गहतराज, गण्डकी प्रदेशका मुख्मन्त्री कृष्णचन्द्र नेपाली पोखरेललगायतका विशिष्ट व्यक्ति सहभागी हुने जनाइएको छ ।    यसअघि गत असोज २८ गते राष्ट्रिय खेलकुदको उपराष्ट्रपति नन्दबहादुर पुनले उद्घाटन गर्नुभएको थियो । प्रतियोगिता प्रचारप्रसार उपसमितिका सचिव खुसराज दाहालका अनुसार समापन समारोहमा विभिन्न सांस्कृतिक कार्यक्रम, कलाकारबाट गीत प्रस्तुत, झाँकी, गीत सङ्गीत तथा नृत्यलगायतका कार्यक्रम गरिनेछ ।    गत असोज २८ देखि सुरु भएको राष्ट्रिय खेलकुदमा हालसम्म विभागीय त्रिभुवन आर्मी क्लवले तीन सय १४ पदक जितेर शीर्ष स्थानमा छ । प्रतियोगितामा सेना च्याम्पियन बन्ने निश्चित भएको हो । उसले एक सय ५० स्वर्ण, ९४ रजत र ७० कास्य पदक जितेको छ ।    यसैगरी नेपाल पुलिस क्लबले ५२ स्वर्ण, ४७ रजत र ५९ कास्यसहित एक सय ५८ पदकसहित द्वितीय र एपीएफले ४२ स्वर्ण, ५७ रजत र ७७ कास्यसहित एक सय ७६ पदक जितेको छ । आयोजक गण्डकी प्रदेश प्रदेशमा पदकमा अग्रस्थानमा छ । गण्डकीले हालसम्म  २९ स्वर्ण, २८ रजत र ४९ कास्यसहित एक सय छ पदक जितेको छ ।    यसैगरी बागमती प्रदेशले २२ स्वर्ण,४२ रजत र ५९ कास्यसहित एक सय २३ पदक, एनआरएनएले १० स्वर्ण आठ रजत र छ कास्यसहित २४ पदक,  प्रदेश नं १ ले नौ स्वर्ण, २२ रजत र ४४ कास्यसहित ७५ पदक, सुदूरपश्चिम प्रदेशले आठ स्वर्ण छ रजत र ३३ कास्यसहित ४७ पदक र मधेस प्रदेशले पाँच स्वर्ण, आठ रजत र २१ कास्यसहित ५९ पदक जितेका छन् ।    यसैगरी लुम्बिनी प्रदेशले चार स्वर्ण, १८ रजत र ३७ कास्यसहित ५९ पदक जित्दा कर्णाली प्रदेश दुई स्वर्ण, तीन रजत र ११ कास्यसहित १६ पदक जितेर पदक तालिकाको पुछारमा छ । 

पोखरा : जिल्ला प्रहरी कार्यालय कास्कीले अवैध रुपमा चाँदीको गणना ओसारपोसार गर्ने भारतीय नागरिकलाई प्रकाउ गरेको छ ।    अवैध रुपमा चाँदीको गहणा ओसारपोसार गरेको भन्ने गोप्य सुचनाको आधारमा ईलाका प्रहरी कार्यालय शिशुवा डाँडाकोनाकबाट खटिएको प्रहरीको टोलिले तालचोकमा चेकजाँच गर्ने क्रममा भारतीय नागरिक र एक जना नेपाली नागरिक प्रकाउ गरेको हो ।    प्रकाउ पर्नेमा भारतको मोतिहारी जिल्ला रक्सौल घर बताउने २१ वर्षीय राजुकुमार शाह र बारा करेयाई गाउँपालिका ८ घर बताउने ३४ वर्षीय सरोज मिया मंसुरलाई प्रहरीले प्रकाउ गरेर थप अनुसन्धानका लागि राजस्व अनुसन्धान विभाग हरिहर भव पुलचोक ललितपुर पठाएको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ ।    प्रकाउ परेका भारतीय नागरिकको साथबाट प्रहरीले झोलाभित्र लुकाईछिपाई राखेको अवस्थामा चाँदी जस्तो देखिने सेतो धातुको तयारी साडी पन १६ थान, सिन्दुर दानी सानो ठुलो गरी ९ थान, जन्तर ४ प्याकेट र पाउजु १ सय १ थान गरी अन्दाजी १ लाख १ हजार २ सय २७ रुपैयाँ बराबरको गहणासहित प्रकाउ गरेको हो ।    यस्तै  बारा करेयामाई गाउँपालिका घर बताउने सरोज मिया मंसुरलाई अन्दाजी २ लाख १३ हजार २ सय ४७ रुपैयाँ बराबरको गहणासहित प्रहरीले प्रकाउ गरेको छ ।    प्रहरीले मंसुरको साथबाट लुकाईछिपाई राखेको अवस्था नेपाली एक हजारका नोट नगद रु ५७ हजार, चादी जस्तो देखिने सेतो धातुको सिन्दुर दानी १ थान, सानो ठूलो सिक्काहरु १ सय ६५ थान, कछुवा थान ६ थान, पाउजु ८९ थान, झुम्का ५३ थान, मुर्ति १८ थान, घण्टी २ थान, चाबी पिन ९ थान, साडी पिन २० सहित प्रकाउ गरेको कास्की प्रहरीले जनाएको छ । 

  बागलुङ । बागलुङको काठेखोला गाउँपालिका–३ स्थित धम्जा सामुदायिक स्वास्थ्य इकाईमा अल्ट्रासाउण्ड (भिडियो एक्सले मेसिन) सहयोग उपलब्ध भएपछि यहाँका गर्भवती महिलाको परीक्षणमा सहयोग पुगेको छ ।  लायन्स क्लब अफ स्वीन्डोन चौतारी युके तथा युकेमा बस्ने नेपालीले सङ्कलन गरेको सहयोगले युकेमै खरिद गरिएको अल्ट्रासाउण्ड मेसिन (भिडियो एक्सरे) धम्जा सामुदायिक स्वास्थ्य इकाईलाई सहयोग गरिएको हो ।  गाउँमै गर्भवती महिलाको स्वास्थ्यपरीक्षणका लागि निकै उपयोगी मानिएको भिडियो एक्सले मेसिन धम्जा सामुदायिक स्वास्थ्य एकाईलाई सहयोग प्राप्त भएको धम्जा सामुदायिक स्वास्थ्य एकाइका अनमी कृष्णमाया पुनले जानकारी दिनुभयो ।   दुर्गम गाउँमा भिडियो एक्सरे सेवाले गाँउका महिला अल्ट्रासाउण्ड (भिडियो एक्सरे) सेवा लिन टाढा जानुपर्ने बाध्यता अन्त्य गर्नका लागि सहयोग गरिएको सहयोगकर्ता देवेन्द्र पौडेलले जानकारी दिनुभयो ।  भिडियो एक्सरे सञ्चालनका लागि काठेखोला गाउँपालिकामा एक जना जनशक्तिको माग गरिएको काठेखोला गाउँपालिका–३ धम्जाका वडाध्यक्ष कुलबहादुर विकले जानकारी दिनुभयो । “यहाँका जनताको माग अनुसार अत्यन्त आवश्यक उपकरण प्राप्त भएको छ, यसको सञ्चालनका लागि जनशक्तिको व्यवस्थापनका लागि पालिकासँग कुरा भइरहेको छ”, अध्यक्ष बिकले भन्नुभयो, “यहाँका गर्भवती महिला भिडियो एक्सले गर्नकै लागि बागलुङ बजार पुग्नुपर्ने बाध्यता हटेको छ ।” स्वास्थ्य एकाइका अनमी पुनले भिडियो एक्सरेका लागि तालिम प्राप्त गर्नुभएकाले हाललाई भिडियो एक्सरे सेवा सुरु गरेपनि पुनसँगै एक कार्यालय सहयोगीको भरमा चलेको इकाइलाई जनशक्तिको भने अभाव रहेको छ । 

  नवलपरासी । नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत पूर्वी नवलपरासीको कावासोती–१६ डन्डामा मङ्गलबार सम्पन्न कुस्ती प्रतियोगितामामा १४ पदकसहित विभागीय त्रिभुवन आर्मी क्लब टिम च्याम्पियन बनेको छ । त्रिभुवन आर्मी क्लब कुस्तीको महिला तर्फ  विभिन्न १० तौल समूहमा पाँच स्वर्ण र  पुरुष तर्फ एक स्वर्ण गरी ६ स्वर्ण, तीन रजत र पाँच कास्य पदकसहित  १४ पदक जितेर कुस्ती तर्फ टिम च्याम्पियन बनेको हो । विभागीय टिम त्रिभुवन आर्मी क्लबका लागि ५७ केजी तौल समूहमा लक्ष्मी तामाङ, ६२ केजी तौल समूहमा सुशीला चन्द, ६५ केजी तौल समूहमा निर्मला जागरी, ६८ केजी तौल समूहमा मीरा आउजी र ७६ केजी तौल समूहमा रचना श्रेष्ठ र पुरुष तर्फको ७४ केजी तौल समूहमा सुरेस चुनारले स्वर्ण पदक जितेका हुन । त्यसैगरी नौ पदकसहित सुदूरपश्चिम दोस्रो स्थानमा रहेको छ । सुदूरपश्चिमले  विभिन्न तौल समूहमा पाँच स्वर्ण, एक रजत र तीन कास्य पदक जितेर कुस्तीमा दोस्रो बन्न सफल भएको हो । सुदूरपश्चिमले पाँच स्वर्ण महिला कुस्ती तर्फको विभिन्न तौल समूहमा जितेको हो । सुदूरपश्चिमका लागि ५० केजी तौल समूहमा दमयन्ती बोहोरा, ५३ केजी तौल समूहमा मनिसा सिंह, ५५  केजी तौल समूहमा सङ्गीता धामी, ५९ केजी तौल समूहमा कोमल खत्री र ७२ केजी तौल समूहमा हेमा भट्टले श्रेष्ठले स्वर्ण पदक जितेका हुन । कुस्तीमा अर्को विभागीय टोली एपीएफ ४ स्वर्ण, २ रजत र ४ कास्य गरेर १० पदकसहित कुस्तीको पदक तालिकाको तेस्रो स्थानमा रहेको छ । विभागीय टिम एपीएफका लागि ५७ केजी तौल समूहमा कुन्दन शाह, ६५ केजी तौल समूहमा सुजित यादव, ७० केजी तौल समूहमा उमेशकुमार ठाकुर र ६९ केजी तौल समूहमा बलिराम यादवले स्वर्ण पदक जितेका छन् । कुस्तीको पदक तालिकामा मधेस प्रदेश ३ स्वर्ण, २ रजत र ६ कास्यसहित ११ पदकका साथ चौथो स्थानमा रहेको छ ।    मधेश प्रदेशका लागि ६१ केजी तौल समूहमा अमेरशकुमार यादव, ८६ केजी तौल समूहमा लालबहादुर यादव र १२५ केजी तौल समूहमा राज यादवले स्वर्ण जितेका छ्न । अर्को विभागीय टिम नेपाल प्रहरीले १ स्वर्ण, सात रजत, ६ कास्यसहित १४ पदक, लुम्बिनी प्रदेशले एक स्वर्ण, एक रजत र एक कास्यसहित पाँच पदक, प्रदेश नं १ ले तीन रजत र चार कास्यसहित सात पदक र गण्डकी प्रदेशले एक रजत र पाँच कास्यसहित ६ पदक हात पारे भने बागमती र कर्णाली प्रदेश पदकविहीन बनेका छ्न् ।  कुस्तीमा महिला र पुरुषतर्फ गरी विभिन्न तौल समूहमा २० स्वर्ण पदकका लागि खेल भएका थिए । असोज २९ गते देखि कावासोती–१६ मा रहेको थारु राष्ट्रिय सङ्ग्रहालयको हलमा जारी मङ्गलबार सम्पन्न भएको हो । प्रतियोगितामा ५९ महिला र पुरुष ९१ गरी एक सय ५० खेलाडी सहभागी भएका थिए । तीन विभागीय टिम सशस्त्र, आर्मी, पुलिस साथै सात प्रदेश गरी १० टिमको प्रतियोगितामा सहभागिता रहेको थियो ।

  काठमाडौं । नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले यस वर्षको यमपञ्चक अर्थात् तिहार पर्वको साइत सार्वजनिक गरेको छ । जसअनुसार कात्तिक १० गते बिहीबार बिहान ११:३७ बजे भाइटीकाको साइत उत्तम रहेको छ ।  यमपञ्चक कात्तिक ५ गते शनिबारदेखि सुरु हुनेछ । कात्तिक ५ गते शनिबार यमदीपदान सुरु गरिन्छ । यमपञ्चकका अवसरमा दीपदान गर्नाले यम यातना नपाइने धार्मिक विश्वास छ । धनत्रयोदशी (धनतेरस) पर्व पनि त्यसै दिन मनाउनुपर्ने समितिका कार्यकारी निर्देशक सूर्यप्रसाद ढुङ्गेलले आज जारी गर्नुभएको विज्ञप्तिमा उल्लेख छ ।   कात्तिक ६ गते आइतबार कागतिहार (काकबली) पर्व परेको छ । धनवन्तरी जयन्ती पनि त्यसै दिन मनाइन्छ । कात्तिक ७ गते सोमबार कुकुर तिहार पर्व मनाइन्छ । त्यसै दिन नरकचतुर्दशी अर्थात् बिहान झिसमिसेमै तेल लगाएर स्नान गरी नरक बालेर बगाइन्छ ।   यस वर्ष दीपमालिका एवं लक्ष्मीपूजा पर्व पनि कात्तिक ७ गते सोमबार नै रहेको उहाँले बताउनुभयो । लक्ष्मीपूजाको रात्रिलाई सुखरात्री पनि भनिन्छ । कात्तिक ८ गते मङ्गलबार गाईपूजा गरिन्छ । यस दिन सूर्यग्रहण पनि परेको छ ।   कात्तिक ९ गते बुधबार गोवद्र्धनपूजा, बलिपूजा, हलितिहार, गोरुपूजा, आत्मपूजा (म्हपूजा) का साथै नेपाल संवत्को नयाँ वर्ष आरम्भ पनि यसै दिन परेको छ । कात्तिक ९ गते बुधबारदेखि नेपाल संवत् ११४३ आरम्भ हुँदैछ ।  कात्तिक १० गते बिहीबार तिहारको मुख्य दिन हो । यस दिन दिदीबहिनीले दाजुभाइलाई टीका लगाई आशीर्वादसहित दीर्घायुको कामना गर्दछन् । नेवारी समुदायले किजापूजाका नाममा मनाउने पर्व पनि यसै दिन परेको समितिले जनाएको छ ।   यस दिन साइत खोज्नेले बिहान ११:३७ बजे उत्तर फर्केर टीका लगाउनु उत्तम रहेको समितिले जनाएको छ । राज्य सञ्चालकले भने साइतमै टीका लगाउनुपर्ने समितिका अध्यक्ष प्रा श्रीकृष्ण अधिकारीले बताउनुभयो । सर्वसाधारणका लागि त्यस दिन दिनभर टीका लगाउनु शुभ रहेको छ ।

  ‘बेनीको बजार, जता माया उतै छ नजर,  किरेमिरे जाले रुमाल’ चर्चित यो गीतका हरफमा भनिएझैँ जता नजर लगाए पनि सुन्दर देखिने म्याग्दीको बेनी बजार  पर्यटकको आगमनसँगै पुनः पुरानै लयमा फर्किएको छ ।  कोभिड–१९ को महामारीअघि यहाँ दैनिक सयौँ आन्तरिक तथा बाह्य पर्यटकको चहलपहल हुने गरेकामा विसं २०७६ चैतदेखि २०७८ भदौसम्म यहाँको चहलपहल शून्य भएको थियो । तर, गत वर्षको भदौदेखि सङ्क्रमणदर घटेसँगै विस्तारै चलायमान हुन थालेको यहाँको व्यापार व्यवसाय यस वर्षको सुरुआतदेखि नै सुधार हुँदै आएकामा गत असोजको पहिलो सातादेखि पुनः पुरानै लयमा फर्किएको हो । मौसम सुरु भएसँगै यतिबेला सदरमुकाम बेनीमा आन्तरिक तथा बाह्य पर्यटकको चहलपहल सुरु भएको छ । बेनीबजारमा अहिले नवौँ राष्ट्रिय खेलकुदअन्तर्गत तेक्वान्दो र महिला भलिबल खेल भइरहेको छ । खेल हेर्न विभिन्न जिल्लाबाट दैनिक दुई हजार बढी दर्शक बेनी बजारमा आउने गरेका छन् । म्याग्दी नदी र कालीगण्डकीको सङ्गमस्थलमा अवस्थित बेनीबजार प्राकृतिक सुन्दरताले मात्रै होइन ऐतिहासिक दृष्टिकोणलेसमेत महत्वपूर्ण रहेको छ । इतिहासकारका अनुसार नेपाल एकीकरणका क्रममा गोरखा राज्यले बेनी कब्जा गर्ने बेलासम्म बेनीमा बस्ती थिएनन् । विसं १८४३ पछि मात्र बस्ती बस्न थालेको बेनी बजारमा तत्कालीन समयमा भोट, तिब्बत र मधेसको प्रमुख व्यापारिक नाकासमेत थियो । सो नाकापछि हाट बजारमा परिणत हुँदै अहिलेको बेनी बजार विस्तार भएको बताइएको छ । बेनी बजार प्राकृतिकरूपले अत्यन्त सुन्दर छ । म्याग्दीको प्रवेशद्वारका रूपमा बेनी बजार रहेको छ ।   पुनहिल, घोडेपानी, रुप्से झरना, अन्धगल्छी, गलेश्वर, धवलागिरि हिमालजस्ता विश्वप्रसिद्ध पर्यटकीयस्थल रहेको म्याग्दी जिल्लाको सदरमुकाम बेनी बजारमा तीन वर्षपछि पुनः चहलपहल बढेको स्थानीय व्यापारीले बताएका छन् । कोभिड–१९ को त्रासका कारण पर्यटक आउन सक्ने वातावरण नभएपछि सुनसान बनेका पर्यटकीयस्थलमा असोज सुरु भएपछि पर्यटकको भीड लाग्न थालेको छ । व्यापार व्यवसाय बढ्न थालेको छ । पर्यटकीयस्थल पर्यटकको प्रतिक्षा गरिरहेका छन् । विसं १८४३ सम्म बेनीमा लाग्ने हाट मेलाले वैदेशिक व्यापारको रूप लिएपछि व्यापार व्यवस्थित गर्नका लागि पर्वत राज्यले बेनीमा अस्थायी मुकाम राख्न थालेको मोहनबहादुर मल्लद्वारा लिखित ‘पर्वत राज्यको इतिहास’ नामक पुस्तकमा उल्लेख छ । इतिहासकार चन्द्रप्रकाश बानियाँका अनुसार त्यतिबेला पर्वत राज्यको राजधानी ढोलठानामा थियो । राजा दिलीपबम मल्ल ९डिम्ब मल्ल० गर्मीमा ढोलठान र जाडोमा बेनी झर्ने गर्दथे । जाडो छल्नका लागि मात्र ढोलठाना दरबार बेनी झर्न थालेको होइन भन्ने कुरा राजकुलो निर्माण गरेर दरबारले नै खेती गर्न थालेको सिङ्गा नझरेर बेनी झर्न थालेबाट स्पष्ट हुने उहाँले जानकारी दिनुभयो । पर्वत राज्यको इतिहासका जानकार बानियाँका अनुसार बेनीको पहिलो बस्ती कामीको हो । हतियार निर्माणका लागि उनीहरुलाई बेनी राखिएको हो । गोरखाले बेनी कब्जामात्रै गरेन, दरबारमा आगजनी गरेर ध्वस्त बनाएको थियो । दरबारको त्यही खरानीमा बेनीको बजार बसेको हो । उहाँका अनुसार विसं १८४३ पछि मात्र बेनी बजारमा बस्ती विस्तार हुन थालेको हो । बेनीमा नेवार बस्ती बसिसक्दा पनि बेनीको मुख्यबजार पारिबेनी थियो । बाग्लुङ मुस्ताङतिरको थोक बजार पारिबेनी नै थियो । बेनीमा स्कुल पाठशाला नखुल्दै पारि बेनीमा मिडिल स्कुल थियो । त्यही स्कुलपछि मल्लाज स्थानान्तरण भएको हो । पारी बेनीको स्कुल मल्लाज उक्ले पछि मात्र बेनीमा विद्यालय खुलेको इतिहासकार बानियाँले बताउनुभयो । बेनीमा विद्यालय खुलेपछि बस्ती विस्तार हुनेक्रम बढ्दै गएको उहाँको भनाइ रहेको छ । अहिले बजारको स्वरुप फेरिएको छ । जताततै कङ्क्रिट नै कङ्क्रिटका भव्य घर ठडिएका छन् । वैदेशिक रोजगारीका कारण गाउँबाट सहर झर्नेको क्रम तीव्ररूपमा बढेको छ । गाउँ खाली भए पनि बजार भरिएको छ । घरजग्गाको कारोबार गर्ने व्यापारीका अनुसार अब बेनीमा घडेरीका लागिसमेत जग्गा पाइन छोडेको छ । पर्यटकलाई लक्षित गरेर करोडौँको लगानीमा स्तरीय होटल, रेस्टुराँ निर्माण गरिएको छ । बैंक तथा वित्तीय संस्था मौलाएका छन् । यहाँको जीवनस्तरले काँचुली फेरेको छ । वार्षिक चार अर्बको हाराहारीमा विप्रेषण भित्रिने म्याग्दीमा पर्यटन व्यवसाय पनि उत्तिकै फस्टाउँदै गएको छ । होटल र यातायात क्षेत्रमा  यहाँका व्यवसायीले ठूलो लगानी गरेका छन् । बेनी नगरपालिकाको ७ र ८ गरी दुई वटा वडामा समेटिएको बेनीबजार पाँच सय १२ हेक्टर क्षेत्रफलमा फैलिएको छ । १४।४५ जनघनत्व रहेको बेनी बजारमा विसं २०६८ को जनगणनाको तथ्याङ्कानुसार दुई हजार घरधुरी र सात हजार जनसङ्ख्या रहेको छ ।

  नवलपरासी:  नवलपरासी (बर्दघाट सुस्ता पश्चिम)मा सशस्त्र प्रहरीले चिनी बरामद गरेको छ । भारतबाट नवलपरासीका सीमानाका हुँदै राजस्व छली गरी दैनिकरूपमा चिनी भित्रिने गरेको गुनासो बढेको बेला सशस्त्र प्रहरीले आज जिल्लाको रामग्राम नगरपालिका र प्रतापपुर गाउँपालिका क्षेत्रबाट रु ९० लाखको अवैध चिनी बरामद गरेको हो ।  सशस्त्र प्रहरी बल नेपाल हरपुर बिओपी र महेशपुर भन्सार कार्यालयबाट खटिएको संयुक्त टोलीले आज बिहान प्रतापपुर गाउँपालिका–२ बाट ना६ख २१९७ नंको ट्रकमा रहेको ४२० बेरा (२१ हजार केजी) र रामग्राम नगरपालिका–५ स्थित परासी–भैरहवा हुलाकी मार्गबाट लु१ख ९८७१ नंको ट्रकमा रहेको ४२० बोरा (२१ हजार केजी) गरी ४२ हजार केजी चिनी बरामद गरेको सशस्त्र प्रहरी बल नेपाल नं २६ गण बेलाशपुरका प्रमुख सशस्त्र प्रहरी उपरीक्षक रुपकुमार क्षेत्रीले राससलाई जानकारी दिनुभयो । बरामद चिनीको प्रारम्भिक मूल्य रु ९० लाख अनुमान गरिएको उहाँले बताउनुभयो । चिनीसँगैै ओसारपसारमा संलग्न दुईवटै ट्रकसमेत नियन्त्रणमा लिई आवश्यक कारबाहीका लागि महेशपुर भन्सार चलान गरिएको उहाँले बताउनुभयो । 

  काठमाडौं । जिल्ला अदालत काठमाडौँले बलात्कारको आरोप लागेका राष्ट्रिय क्रिकेट टोलीका पूर्व कप्तान सन्दीप लामिछानेमाथि अनुसन्धानका गर्न  चार दिनको म्याद थप गरेको छ ।  प्रहरीले आज लामिछानेविरुद्ध अनुसन्धान जारी रहेको उल्लेख  गर्दै  पुनः सात दिनको म्याद दिन अदालतसमक्ष आग्रह गरे पनि अदालतले चार दिनको म्याद मात्र थप गरेको छ ।  लामिछानेविरुद्ध १७ वर्षीया किशोरीलाई  बलात्कार आरोपमा गत असोज २० गते त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाटै प्रहरीले नियन्त्रणमा लिएर हिरासतमा राखी अनुसन्धान गरिरहेको छ ।

  पोखरा:  टेनिस मेन्स डवल्समा गण्डकीले स्वर्ण पदक जितेको छ । पोखरामा जारी नवौं राष्ट्रिय खेलकुद प्रतियोगितामा गण्डकीले स्वर्ण पदक हात पारेको हो ।  निकै प्रतिस्पर्धात्मक खेलमा गण्डकीका प्रदीप खड्का र अनिल शाहीको जोडीले विभागीय टोली आर्मीका प्रनभ खनाल र अकि जुवेन रावतको जोडीलाई फाइनलमा पराजित गरेको हो ।  सुपरटाइमा निर्धारण भएको नतिजामा पहिलो सेट गण्डकीको टिमले ७–५ ले जिते पनि दोश्रो सेट भने ४–६ ले गुमाउन पुग्यो । सुपरटाइमा गण्डकीले १०–८ ले आफ्नो पक्षमा पार्दै स्वर्ण पदक हात पारेको हो । यस अघि टिम इभेन्टमा गण्डकीले एक स्वर्ण हात पारिसकेको छ ।