काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देनले मुलुकमा विकास र जनतालाई समृद्धिको बाटोमा लैजान मतदाताले जनउत्तरदायी नेतृत्व निर्वाचित गर्नुपर्ने बताउनुभएको छ । पार्टीको २१ वडा एकाइद्वारा तिहार, नेपाल संवत् र छठपर्वका अवसरमा आयोजित शुभकामना आदान–प्रदान कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले मुलुक निर्माणका लागि इमान र त्यागको राजनीतिको खाँचो औँल्याउँनुभयो । उहाँले भन्नुभयो“ निर्वाचनमा जनताले गर्ने विवकपूर्ण निर्णयले देश विकास जनताको आर्थिक रुपान्तरण सम्भव छ । चुनावलाई राष्ट्र निर्माणमा ऐतिहासिक अवसरका रूपमा लिनुपर्छ ।” पार्टीका सहमहामन्त्री एवं काठमाडौँ निर्वाचन क्षेत्र नं ८ का प्रतिनिधिसभा सदस्यका उम्मेदवार प्रकाश रिमालले नेपाली राजनीतिमा अहिले बलियो राष्ट्रवादी शक्तिको आवश्यकता रहेको बताउँदै आगामी मङ्सिर ४ गते हुने प्रदेश तथा प्रतिनिधिसभाको निर्वाचनमा जनताले राष्ट्रवादी शक्तिलाई मतदान गर्ने विश्वास व्यक्त गर्नुभयो । काठमाडौँ निर्वाचन क्षेत्र नं ९ का प्रतिनिधिसभा सदस्यका उम्मेदवार तथा केन्द्रीय सदस्य देवेन्द्र प्रधानले विभिन्न पर्वका अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपालीलाई शुभकामना व्यक्त गर्दै पार्टीले अवलम्बन गरेका नीति तथा कार्यक्रमका कारण अहिले देशभर जनताको पार्टीप्रति आकर्षण बढेको विचार व्यक्त गर्नुभयो ।
काठमाडौं : निर्वाचन आयोगले आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि उत्कृष्ट टिकटक भिडियो बनाउनेलाई पुरस्कृत गर्ने घोषणा गरेको छ। निर्वाचन प्रचारप्रसार, निर्वाचन आचारसंहिता तथा निर्वाचन शिक्षाजस्ता विषयमा आधारित उत्कृष्ट टिकटक भिडिओ बनाउन आह्वान गर्दै आयोगले प्राप्त उत्कृष्ट भिडियोलाई पुरस्कृत गर्ने निर्णय गरेको हो। यसअघि शनिबार नै आयोगले चुनावसम्बन्धी गीत सामाजिक सञ्जालमा राखेको थियो। उक्त गीतबारे तीव्र आलोचना भएपछि उक्त गीतको भिडियो अहिले हटाइएको छ। टिकटक भिडियो प्रतियोगितामा सहभागी हुनेले २० सेकेन्डदेखि एक मिनेटसम्मको भिडियो बनाएर यही कात्तिक ५ देखि १५ गतेभित्र पठाइसक्नुपर्ने छ। आयोगले प्राप्त भएकामध्ये उत्कृष्ट पाँच भिडियोलाई जनही रू ५० हजारका दरले पुरस्कृत गर्ने जनाएको छ। उनीहरूलाई प्रशंसापत्रसमेत प्रदान गरिने बताइएको छ। त्यसका लागि आयोगले केही सर्तहरू पनि राखेको छ। आयोगका सर्तहरू यस्ता छन्। १. भिडियो प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्य निर्वाचन, २०७९ लक्षित हुनु पर्नेछ। २. भिडियो संवादमूलक, सन्देशमूलक हुनु पर्नेछ। आफ्नै मौलिक अडियो र अभिनय भएको भिडिओलाई प्राथमिकता दिइनेछ। ३. भिडियो प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्य निर्वाचनमा मतदाता जागरण हुने खालका विषयवस्तुहरूमा आधारित हुनुपर्नेछ। ४. निर्वाचनको सामान्य जानकारी, निर्वाचनको आवश्यकता र महत्व, मतपत्रमा छाप लगाउने सही तरिका, निर्वाचन आचारसंहिताको पालना, मतदाताको अधिकार र कर्तव्य, मतदाताले कस्तो उम्मेदवार छनोट गर्नुपर्छ भन्ने जानकारीलगायत निर्वाचन सम्बन्धी विषयमा आधारित भएर छुट्टाछुट्टै भिडियो बनाउन सकिनेछ। ५. कुनै एक व्यक्तिले एउटा विषयमा ५ वटासम्म भिडियो पठाउन सकिने छ। साथै दुई वा दुईभन्दा बढी व्यक्ति समावेश भएर निर्माण गरिएको ५ वटासम्म भिडियो स्वीकार गरिनेछ। ६. प्राप्त भिडियोहरूमा आयोगको अधिकार रहनेछ। भिडियो सन्देश आयोगले सामाजिक सञ्जाल लगायत डिजिटल माध्यमबाट प्रचारप्रसार र प्रसारणको निम्ति उपयोग गर्नेछ। ७. तोकिएका शर्तहरूको पालना नभएका र म्याद नाघी प्राप्त भएका भिडियोहरू स्वीकार गरिने छैन। ८. उत्कृष्ट भिडियोको छनोट स्वतन्त्र विज्ञ तथा आयोगका अधिकारी रहेको समितिबाट गरिनेछ। ९. उत्कृष्ट भिडियोहरूमध्ये छनोट समितिको सिफारिसमा रु। ५०,०००।– (पचास हजार) पुरस्कार र प्रसंशापत्र प्रदान गरिनेछ। १०. भिडियो २० सेकेन्डदेखि १ मिनेटसम्मको भएमा मात्र मूल्यांकनमा समावेश गरिनेछ। ११. आयोगले तयार गरेका निर्वाचन सम्बन्धी भिडियोहरूमा पनि टिकटक निर्माण गर्न सकिनेछ।
तनहुँ । तनहुँको शुक्लागण्डकी नगरपालिका–८ बडहरे निवासी मन्जु श्रेष्ठले गत वर्ष थोरै मात्रामा सयपत्री फूलखेती सुरु गर्नुभयो । तिहारका समयमा उहाँलाई मागअनुसारको फूल पुर्याउन धौधौ भयो । परीक्षणका रूपमा फूलखेती सुरु गर्दा माग अत्यधिक भएपछि उहाँमा त्यही बेला अब व्यावसायिकरूपमा फूलखेती गर्छु भन्ने सोच पलायो । “गत वर्ष उत्पादन भएको फूल नजिकका आफन्तजन, साथीभाइलाई पनि पुर्याउन सकिनँ, तिहारका बेला फूलको धेरै माग हुन्छ”, उहाँले भन्नुभयो, “माग बढी भएपछि यस वर्ष भने दुई रोपनी क्षेत्रफलमा फूल लगाएको छु ।” उहाँले आफ्नै निजी दुई रोपनी जग्गामा यो वर्ष व्यावसायिकरूपमा सयपत्री फूलखेती गर्नुभएको छ । विगतमा तरकारी बेर्ना जमाएर बिक्री गर्ने उहाँले सयपत्री फूल विदेशबाट आउने गरेको थाहा पाएपछि स्वदेशमै उत्पादन गर्नुपर्छ भन्ने भावना विकास भएको बताउनुभयो । “हरेक सामान विदेशबाट आउँछ, हुँदाहुँदै फूल पनि विदेशबाट आउने गरेको देखेपछि आफैँलाई धिक्कार लाग्यो, हामी पनि फूलखेती गर्न सक्छौँ भन्ने सोच र आत्मविश्वास वृद्धि भयो”, उहाँले भन्नुभयो, “फूलमा आत्मनिर्भर गराउन मेरो पनि केही योगदान होस् भन्नका लागि फूलखेती गरेको हुँ ।” फूलमा नेपाललाई आत्मनिर्भर बनाउन सरकारले कृषकलाई सहयोग गर्ने नीति ल्याउनुपर्ने श्रेष्ठको माग छ । “गाउँघरमा जग्गा बाँझै छन्, त्यस्ता जग्गालाई सदुपयोग गर्दै फूलखेती गर्नेतर्फ सरकारले सहयोग गर्नुपर्छ”, उहाँले भन्नुभयो । तिहारका बेला फूलको माग बढी हुने गरेको र पु¥याउन मुस्किल पर्ने श्रेष्ठको अनुभव छ । “तिहार सुरु हुन लागिसक्यो, अब माग आउन थाल्छ, तिहारका लागि बजारको समस्या छैन”, श्रेष्ठले भन्नुभयो, “तिहार सकिएपछि पनि यसको बजारका लागि समस्या छ ।” गाउँघरमा हुने सहकारीका कार्यक्रम, अन्य सङ्घसंस्थाका कार्यक्रममा माला बिक्री हुने गरेको छ । “यो वर्ष तिहार छिटो परेकाले फूल उत्पादन हुनै बाँकी छ, तिहारमा समस्या हुँदैन, तिहारपछि भने फूलको बजार खोज्नुपर्ने अवस्था छ”, किसान श्रेष्ठले भन्नुभयो । उहाँले प्रतिथुङ्गा रु चारमा फूल बिक्री गर्दै आउनुभएको छ । फूलखेती गरेको बारेमा आफूले व्यक्तिगत सामाजिक सञ्जालबाट प्रचार–प्रसार गर्दै आएको उहाँले सुनाउनुभयो । “मेरो फूलखेतीका बारेमा त्यति धेरै प्रचार–प्रसार भएको छैन, वडा कार्यालयले पनि सामाजिक सञ्जालमार्फत प्रचार–प्रसार गरिदिएको छ”, उहाँले भन्नुभयो । सरकारले केही दिन अगाडि भारतबाट आयात हुने सयपत्री फूलमा प्रतिबन्ध लगाएको छ । तिहारमा करिब ८५ प्रतिशत सयपत्रीको माग आन्तरिक उत्पादन धान्ने गरेको भए पनि १५ प्रतिशत सयपत्री फूल आयात हुने गरेको छ । सरकारको यो निर्णयप्रति श्रेष्ठले समर्थन गर्दै भन्नुभयो, “विदेशी फूललाई प्रतिबन्ध लगाउने सरकारको निर्णय सकारात्मक छ । नेपाललाई फूलमा आत्मनिर्भर बनाउनेतर्फ लाग्नुपर्छ ।” भिमाद नगरपालिका–८ भागरमा तीन युवाले तीन रोपनी क्षेत्रफलमा सामूहिकरूपमा फूलखेती लगाएका छन् । तिहार नजिकिँदै गरेको ७० प्रतिशतमात्र फूल फुलेकाले लक्ष्यअनुसारको फूल बिक्री नहुने हो कि भन्ने चिन्ता लागेको सागर विकले बताउनुभयो । विकले भन्नुभयो, “बजारमा बिक्री केन्द्र राख्ने ठाउँसमेत पाउन मुस्किल परेकाले स्थानीय कृषकको समस्या समाधानमा सरोकारवालाले ध्यान पुर्याउनुपर्छ ।” वैदेशिक रोजगारीबाट फर्केका र स्वदेशमै केही गर्नुपर्छ भन्ने मान्यता राखेर फूलखेतीमा लाग्नुभएका विकसहित विष्णु राना र अमृत कुमालले स्थानीय सरकारले प्रोत्साहन नगरेको बताउनुभयो । फूल उत्पादनका लागि सहयोग गर्न वडा र नगरपालिकामा मौखिक निवेदन दिए पनि सकरात्मक प्रतिक्रिया नपाएको विष्णु रानाले बताउनुभयो । सोही ठाउँका गोविन्द अधिकारीले विगत केही वर्षदेखि फूलखेती गर्दै आउनुभएको छ । स्थानीयस्तरमा आयोजना कार्यक्रममा न्यून सङ्ख्यामा माला खपत भए पनि फूलको बजारमा समस्या रहँदै आएको उहाँको गुनासो छ । तिहारका बेलामा बजारको समस्या नभए पनि तिहारपछिको बजारमा भने समस्या हुँदै आएको उहाँ बताउनुहुन्छ ।
म्याग्दी । म्याग्दीमा सत्तारुढ दलको गठबन्धन र नेकपा (एमाले)का उम्मेदवार मंसिर ४ गते हुने प्रतिनिधि र प्रदेशसभा सदस्य निर्वाचनमा मुख्य प्रतिस्पर्धीका रूपमा देखिएको छ । प्रतिनिधिसभामा एक र प्रदेशसभामा दुई क्षेत्र रहेको म्याग्दीमा तीन पदका लागि १९ जना चुनावी मैदानमा छन् । प्रतिनिधिसभामा तीन जना स्वतन्त्रसहित नौ, प्रदेशसभा क्षेत्र (क) र (ख) मा पाँच–पाँच उम्मेदवार छन् । विसं २०५६ मा नेपाली कांग्रेस, २०६४ मा नेकपा (माओवादी केन्द्र), २०७० र २०७४ मा एमालेले जिल्लामा प्रतिनिधिसभा सदस्य निर्वाचन जितेका छन् । प्रजातन्त्र पुनःस्थापनापछि २०५६ अघिको संसदीय चुनाव पनि एमालेले जितेको थियो । विसं २०७४ मा एकवटा प्रदेशसभा माओवादी र एकवटा एमालेले जितेका थिए । पाँच वर्षअघिको संसदीय चुनावमा एमाले–माओवादी र कांग्रेस–राप्रपाले तालमेल गरेका थिए । एमाले विरासत जोगाउने र अन्य दल गठबन्धनको बलमा जित निकाल्ने रणनीतिमा छन् । गत स्थानीय तह निर्वाचनमा एमालेले चारवटा पालिका प्रमुख, तीन उपप्रमुख, २२ वडा, कांग्रेसले दुई अध्यक्ष, एक उपाध्यक्ष, १७ वडा, माओवादीले दुई उपप्रमुख र छवटा वडा जितेका थिए । स्थानीय चुनावमा एमालेका वडाध्यक्षका उम्मेदवारले २३ हजार ९०, कांग्रेसले १९ हजार आठ सय ७० र माओवादीले आठ हजार पाँच सय ९२ मत ल्याएका थिए । प्रतिनिधिसभामा कांग्रेस– एमालेको प्रतिस्पर्धा प्रतिनिधिसभा सदस्यमा एमालेका हरिकृष्ण श्रेष्ठ र गठबन्धनबाट कांग्रेसका खमबहादुर गर्बुजा ९खम्बिर० उम्मेदवार हुनुहुन्छ । कांग्रेसका जिल्ला सभापति गर्वुजा तेस्रोपटक चुनावी मैदानमा उत्रिनुभएको हो । यसअघि दुई चुनाव हारेका गर्बुजालाई यसपालि सत्तारुढ दल माओवादी केन्द्र, नेकपा (एकीकृत समाजवादी) र राष्ट्रिय जनमोर्चाको साथ छ । गठबन्धनसँग एकल प्रतिस्पर्धा गर्न एमालेले प्रतिनिधिसभा सदस्यका लागि दुई कार्यकाल जिल्ला अध्यक्ष भएका प्रदेश कमिटीका सचिवालय सदस्य श्रेष्ठको नाम एकल सिफारिस गरेको थियो । “जिल्ला कमिटीले प्रतिनिधिसभा सदस्यका लागि सर्वसम्मत एकल नाम सिफारिस गरेकाले कार्यकर्तामा उत्साह छ”, श्रेष्ठ भन्नुहुन्छ, “विसं २०७४ मा दुईवटा मात्र स्थानीय तह जितेका थियौँ । गत चुनावमा चारवटा पालिका जितेका छौँ । यो पनि हाम्रो जितको आधार हो ।” जिल्ला सदरमुकाम बेनी बजार अवस्थित तत्कालीन अर्थुङ्गे गाविसको एक कार्यकाल अध्यक्ष भएका श्रेष्ठले बेनी खानेपानी, रेडक्रस, म्याग्दी पुस्तकालयलगायत सामाजिक सङ्घसंस्थाको पनि नेतृत्व गर्नुभएको थियो । सदरमुकाम बेनीका बासिन्दा श्रेष्ठ र रघुगङ्गा गाउँपालिका–४ दग्नामका गर्बुजाको उमेर समान ५७–५७ वर्ष छ । कांग्रेस म्याग्दीको दोस्रो कार्यकालका लागि बाहलवाला सभापति रहेका गर्बुजा बेलायती सेनाबाट सेवानिवृत्त भएपछि करिब २० वर्षदेखि राजनीतिमा सक्रिय हुनुहुन्छ । स्थानीय तह निर्वाचनमा गठबन्धनका दलहरू बेनी नगरपालिकाको प्रमुख–उपप्रमुखसहित पाँच वडामा र धवलागिरि गाउँपालिकाको सबै पदमा तालमेल गरेका थिए । जिल्लाव्यापी तालमेल नहुँदा स्थानीय तह चुनावमा अपेक्षाकृत नतिजा हासिल गर्न नसकेको ठहर गरेका नेपाली कांग्रेस, माओवादी र एकीकृत समाजवादी गठबन्धनको बलमा यसपालि नतिजा आफ्नो पक्षमा पार्ने रणनीतिमा छन् । “स्थानीय तहको चुनावमा गठबन्धनको मत एमालेको भन्दा धेरै छ । जिल्ला, पालिका र वडा तहसम्म संयुक्त चुनावी अभियानमा छौँ”, गर्बुजाले भन्नुभयो, “२०७४ को चुनावमा कम्प्युनिष्ट पार्टीहरूबीचको तालमेल भएको अवस्थामा म्याग्दीमा कांग्रेसले कडा प्रतिस्पर्धा गरेको हो । अहिले माओवादी, एकीकृत समाजवादी, जनमोर्चाको साथ छ । मतदाताको परिवर्तित मनोभावनाले पनि गठबन्धनलाई सहयोग पुग्छ ।” एकै वडाका दुई उम्मेदवार प्रदेशसभा क्षेत्र (क)मा एमालेका देवेन्द्रबहादुर केसी र गठबन्धनबाट नेकपा (माओवादी केन्द्र)का हरि भण्डारी रघुगङ्गा गाउँपालिका–२ भगवतीका बासिन्दा हुन् । नाताले केसी मामा र भण्डारी भान्जा पर्नुहुन्छ । भगवती प्रदेश (ख)मा धेरै मतदाता हुने वडामध्येमा पर्दछ । एमालेका जिल्ला अध्यक्ष केसी यसअघि जिल्ला समन्वय समितिका प्रमुख र विसं २०५४ को चुनावबाट भगवती गाविसको अध्यक्ष बन्नुभएको थियो । केसीसँगको प्रतिस्पर्धामा गठबन्धनले ३९ वर्षीय युवानेता भण्डारीलाई अगाडि सारेको छ । माओवादीको रघुगङ्गा गाउँपालिका अध्यक्ष रहेका भण्डारी विसं २०७४ को चुनावमा गाउँपालिका उपाध्यक्षको उम्मेदवार बन्नुभएको थियो । विदेशबाट फर्किएपछि बेनीमा व्यवसाय गर्दै आएका भण्डारी जेसिजलगायत सामाजिक सङ्घसंस्थामा आवद्ध हुनुहुन्छ । प्रदेश (ख) मा एमाले–माओवादी प्रदेशसभा क्षेत्र (ख)मा एमालेका यामबहादुर गर्बुजा र गठबन्धनबाट माओवादीका रेशम जुग्जाली (सुविन) मुख्य प्रतिस्पर्धी हुन् । धवलागिरि गाउँपालिका–६ मराङमा जन्मिएका एमालेका प्रदेश कमिटी सदस्य गर्बुजाको बसोबास हाल काठमाडौँमा छ । उहाँ एमाले नेता थममाया थापा महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री हुँदा उहाँको सचिवालयमा बसेर काम गर्नुभएको थियो । गठबन्धनबाट माओवादीका उम्मेदवार ३९ वर्षीय जुग्जाली सो पार्टीको म्याग्दी जिल्ला संयोजक हुनुहुन्छ । द्वन्द्वकालमा भूमिगत भएका जुग्जालीका दाजु जितबहादुर ‘जनयुद्ध’का सहिद हुन् । विसं २०७४ को स्थानीय तह चुनावमा स्वतन्त्र उम्मेदवार बनेर मालिका गाउँपालिका–७ को वडाध्यक्षमा निर्वाचित भएका जुग्जाली गत स्थानीय तह चुनावमा सोही पालिकाको अध्यक्षको उम्मेदवार बन्नुभएको थियो । अहिलेको व्यवस्थाको सूत्रधार माओवादी भएको, गत चुनावमा एमाले र कांग्रेससँग प्रतिस्पर्धा गर्न सक्ने आधार खडा गरिएको जुग्जाली बताउनुहुन्छ । “गणतन्त्र, सङ्घीयता, समावेशी, संविधानलगायत माओवादी आन्दोलनबाट स्थापित मुद्दा तथा पार्टीले गरेका काम तथा भावी योजना लिएर जनतामाझ छौँ”, उहाँले भन्नुभयो, “म्याग्दीको राजनीतिमा माओवादीको मत निर्णायक हो । स्थिरता, संविधानको रक्षा र समृद्धिका लागि बनेको गठबन्धनलाई जिताउन म्याग्दीका लागि अहिले अवसर मिलेको छ ।” गाउँ पसे उम्मेदवार छवटा स्थानीय तह रहेको जिल्लामा ८२ मतदानस्थल र एक सय १९ मतदान केन्द्र छन् । बेनी नगरपालिका, रघुगङ्गा र अन्नपूर्ण गाउँपालिकालाई समेटेको ४९ मतदानस्थलमा ६८ वटा केन्द्र रहेको प्रदेशसभा क्षेत्र (क) मा ४८ हजार चार सय ७२, मङ्गला, मालिका र धवलागिरि गाउँपालिका समावेश ३३ स्थलमा ५१ केन्द्र रहेको प्रदेशसभा क्षेत्र (ख) मा ३७ हजार छ सय ४८ मतदाता छन् । राजनीतिक दलका नेता र उम्मेदवार ग्रामीण क्षेत्रमा पुगेर घरदैलो गरी मतदाता भेटघाट र कार्यकर्ता भेला तथा प्रशिक्षणमा जुटेका हुन् । निर्वाचन आचारसंहिताले सभा, माइकिङमार्फत भड्किलो प्रचार–प्रसारमा कडाइ गरेपछि प्रचार शैली फेरिएको छ । सभाको विकल्पमा घरदैलो गरेर मतदाता भेटघाट र कार्यकर्ता भेला गरी प्रशिक्षण तथा परिचालनमार्फत चुनाव प्रचार गर्न थालेका हुन् । निर्वाचन आयोगले कात्तिक १७ गतेपछि मात्र चुनावीसभा गर्न पाउने आचारसंहिता बनाएको छ । पहिलो चरणमा मतदाता भेटघाटसँगै टोल–टोलमा कार्यकर्ता भेला गरी प्रशिक्षण दिएर परिचालन गरेपछि चुनावी रौनक बढेको छ । सभाका क्रममा पुग्न नसकिने टोल तथा भौगोलिकरूपमा विकट क्षेत्रका बस्तीमा पहिलो चरणको घरदैलो गरेका हुन् । मतदाताका गुनासा, सुझाव र अपेक्षा सुन्ने, आफ्नो प्रतिबद्धता सुनाउने, कार्यकर्ता भेला गरेर मतदातालाई आकर्षित गर्ने रणनीति बनाउनमा केन्द्रित भएका छन् ।
ढोरपाटन : पर्वत ग्याँदीकी धनमाया नेपाली आजभोलि बागलुङ बजारको चोकचोक र गल्लीगल्लीमा भेटिनुहुन्छ । काँधमा डोको र हातमा पोकापुन्तुराका साथमा भेटिने उहाँले फलफूल बेच्नुहुन्छ । उहाँको कथा भने नमीठो छ । उहाँले चोकचोक र गल्लीगल्लीमा बसेर फलफूल बेच्न थालेको १६ वर्ष भयो । यसरी फलफूल बेच्नु उहाँका रहर होइन । पोखराबाट सुरु भएको फलफूल बेच्ने यात्रा म्याग्दीको बेनी हुँदै बागलुङ बजार आइपुगेको छ । एक दश पोखराका विभिन्न ठाउँमा फलफूल बेच्ने र जुत्ता सिउने काम गर्नुभएकी उहाँ बागलुङसम्म आउनुभएको छ । पोखरा छाडेर म्याग्दीको सदरमुकाम बेनी आउनुभएकी उहाँले करिब पाँच वर्ष फलफूल तथा तरकारी बेच्नुभयो । बेनीमा राम्रो कमाइ नभएपछि चार महिनादेखि बागलुङ बजारमा फलफूल बेचिराख्नुभएको छ । यहाँबाट पनि उहाँलाई काम गर्ने वातावरण सहज छैन । “पढेलेखेको छैन, मैले काम पाउने भनेको होटलमा जुठो भाँडा माझ्ने हो, त्यहाँ पनि अरुको गाली खानुपर्छ, त्यही भएर मैले फलफूल बेच्न थालेको हुँ, मैले यसरी बाटोबाटोमा फलफूल बेच्न थालेको १६ वर्ष भयो”, उहाँले भन्नुभयो, “ज्यान पाल्न प¥यो, काम नगरी पाल्न सकिन्नँ, जसोतसो चलेकै छ, दुःख भन्ने कुरा त्यस्तै हो, चोर्न ढाँट्न जानेको छैन, यस्तो काम गर्न नपरोस्, कामजस्तो भए पनि गर्छु, सानो–ठूलो मानिँदैन ।” चालिस वर्षीया धनमायाले १० वर्ष पोखराका सडक र गल्लीमा बसेर फलफूल बेच्ने र जुत्ता सिलाउने काम गरेको स्मरण गर्दै महानगरले सडकबाट हटाएपछि बेनी पुगेको बताउनुभयो । उहाँले पोखरामा राम्रो कमाइ भए पनि काम गर्न नपाएको दुःखेसो पोख्नुभयो । बेनीमा पाँच वर्ष काम गर्दा कमाइ नभएपछि बागलुङ आएको उहाँको भनाइ छ । यहाँ आएर काम गर्दादेखि नै अवरोध भइराखेको उहाँले बताउनुभयो । “पोखरामा राम्रो कमाइ हुन्थ्यो, त्यहाँ धेरै मान्छेको आवतजावत पनि भएको हुँदा फलफूल पनि राम्रै बिक्री हुन्थ्यो, मैले पोखरामा जुत्ता पनि सिलाउँथे, पछि धेरै मान्छेले नराम्रो नजरले हेरे, काम गरेको रिस गरेपछि मैले जुत्ता सिलाउन छाडेँ, फलफूल बेच्न पनि महानगरले दिएन, सडकबाट ढोकोसँगै उठाइदियो, त्यही भएर म बेनी आएँ”, नेपालीले भन्नुभयो, “बेनीमा फलफूलसँगै टमाटर पनि बेच्थेँ, बुढाले कोट सिलाउनुहुन्थ्यो अरुको टेलरमा, कमाइ राम्रो नभएपछि बागलुङ आएका हौँ, यहाँ आएको पनि तीन–चार महिना भयो, बाटोमा बेच्न हुँदैन भनेर नगरपालिकाले भनिराखेको छ, दुःख गरेर खान पनि दिएनन् ।” धनमायाको चार जनाको परिवार छ । दुई छोरी र श्रीमान् रहेको नेपालीको परिवार यसरी फलफूल बिक्री गरेर चल्दै आएको छ । दुई छोरीले पोखरा पढ्ने र श्रीमान्ले यहाँको एक टेलरिङ सेन्टरमा कपडा सिलाउने काम गर्ने गरेको उहाँको भनाइ छ । “हाम्रो अरू केही छैन, यही काम गर्ने खाने हो, श्रीमान्ले कोट सिलाउनुहुन्छ, छोरीहरूले पोखरा बसेर पढ्छन्, व्यापार खासै छैन, दसैँका बेला राम्रो भयो, अहिले कम छ”, उहाँले भन्नुभयो । नेपालीले स्याउ, सुन्तला र मौसमअनुसारका फलफूल बेच्ने गर्नुहुन्छ । यो सिजन स्याउ, अम्बा र सुन्तालको भएको अन्दै खुद्रा पसलबाट खरिद गर्ने र बजारको दरमा बिक्री गर्ने गरेको उहाँको भनाइ छ । फलफूल बेचेर दैनिक रु पाँच सयदेखि एक हजारसम्म कमाउने भन्दै कहिलेकाहीँ रु एक हजार पाँच सयसम्म आम्दानी हुने गरेको बताउनुहुन्छ । “अहिले खासै नाफा छैन, फलफूल बेच्दा कहिले चार सय हुन्छ, कहिलेकाहीँ एक हजार पनि हुन्छ, महिनाभरिको हिसाब गर्दा त्यही रु १५ देखि २० हजारको कमाइ हुन्छ, आफ्नो घर छैन, भाडा तिर्नुप¥यो, खानुप¥यो, छोरीलाई पढाउनुप¥यो, खर्च बढेकोबढयै छ, कमाइ घट्दो छ”, उहाँले भन्नुभयो “अब कता गएर के गर्ने हो, केही काम पाइँदैन, यहाँ पनि नगरपालिकाले सडकमा बसेर नबेच्न भनेछ, केही काम दिए त गर्नुहुन्थ्यो, काम नगरेसम्म खान–लाउन पुग्दैन ।” धनमायाका श्रीमान् कुमार नेपालीले बागलुङ बजारको एक सिलाइकटाइ पसलमा काम गर्दै आउनुभएको छ । उहाँले आफूहरू दुई अनपढ भएको हुँदा भौतारिनुपरेको बताउनुभयो । कुमारले पढेलेखेको भए केही जागिर गर्न सकिने भन्दै अनपढ भएका कारण जस्तो काम पनि गर्न तयार हुनुपर्ने बताउनुहुन्छ । दुई जनाको मेहेनतले परिवार चल्दै आएको उहाँको भनाइ छ । “सानोमा गरिबीका कारण पढ्न पाइएन, पढेको भए अहिले केही सानोतिनो जागिर खाइन्थ्यो होला, अहिले काम पनि पाइँदैन, कहिले जुत्ता सिलाउने, कहिले फलफूल बेच्ने काम गरेर गुजारा चलेको छ, उनले (धनमाया) सडकमा बेचेर र मैले कपडा सिलाएर थोरैथोकै कमाउँछौँ, जसोतसो महिनाभरि खानलाउन पुगेको छ”, कुमारले भन्नुभयो । उहाँले लामो समयदेखि यसरी सडकमा बसेर काम गर्दै आएको सुनाउँदै स्थानीय सरकारले कुनै पनि विकल्प नदिइ सडकबाट हटाउँदा आफूहरू समस्यामा परेको गुनासो पोख्नुभयो । उहाँ भन्नुहुन्छ, “सरकारले केही विकल्प दिएर सडकबाट हटाएको भए हामीहरूलाई जिउ पाल्न सजिलो हुन्थ्यो, जता भए पनि काम गर्ने थियौँ, पोखरामा राम्रै थियो, हटाउनुभयो, बेनीमा कमाइ नै हुन नसकेपछि अहिले बागलुङ आएका छौँ, यहाँ पनि बाटोमा व्यापार नर्गन भन्दै हुनुहुन्छ रे, हामीजस्ता गरिब, दुःखीले अब के गरेर ज्यान पाल्ने रु” उहाँले आफू एक्लैको कमाइले परिवार चलाउन गाह्रो हुने सुनाउनुभयो । काम पाए आफूहरूले जस्ता ठाउँमा पनि गर्न सक्ने बताउनुभयो । बागलुङ नगरपालिकाले बजार क्षेत्रका सडकमा यत्रतत्ररूपमा राखिएका सामान हटाउन थालेको छ । यसले गर्दा ठेला व्यापारी समस्यामा परेका हुन् ।
काठमाडौं : कात्तिक कृष्ण त्रयोदशीका दिनमा मनाइने काग तिहार पर्व आज बिहान यमराजको दूतका रूपमा कागलाई मीठा/मीठा चिजबीज खान दिएर मनाइँदैछ । बिहान सूर्योदयकालमा त्रयोदशी भएको दिन काग तिहार मनाउनुपर्ने भएकाले शास्त्रसम्मतरूपमा आज आइतबारलाई यो पर्व मनाउनुपर्ने निर्णय गरिएको नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका अध्यक्ष प्रा श्रीकृष्ण अधिकारीले राससलाई जानकारी दिनुभयो । यमराजले लोकको खबर कागका माध्यमबाट थाहा पाउने भएकाले कागलाई यमदूतका रुपमा मान्ने शास्त्रीय विधान रहेको छ । कागले यमराजसमक्ष राम्रो खबर लगिदियोस् भनेर आजका दिन कागलाई पूजा आराधनासहित मीठा–मीठा खान दिई खुसी पार्ने गरिएको हो । लोक व्यवहारमा काग घरमा आई कराएमा शुभ बोल, शुभ बोल भनी भन्ने प्रचलनसमेत रहेको छ । काग घर वरपर आई कराएमा उसले केही खबर लिएर आएको विश्वाससमेत गर्ने गरिन्छ । ‘काकेन दधि भक्षितम्’ अर्थात् कागलाई दही भात मीठो लाग्ने भएकाले आजको दिन कागलाई दही भात खुवाएमा यमराजसमक्ष राम्रो सन्देश लगिदिने भएकाले कागलाई दही भात खुवाउने प्रचलन रहिआएको छ । यस अवसरमा कागेश्वरी मनोहरा नगरपालिका वडा नं १ स्थित कागेश्वरी महादेव मन्दिरमा आज विशेष पूजा आराधना हुने गर्छ । यसैगरी हनुमानढोकास्थित कागेश्वरी मन्दिरमा पनि कागको विशेष पूजा आराधना गरिन्छ । दुष्कर्म गर्नेलाई यमराज भएर दण्ड दिने र सत्कर्म गर्नेलाई धर्मराज भएर रक्षा गर्ने विश्वाससित पनि तिहार पर्व गाँसिएको छ । यम यातनाबाट मुक्तिका लागि परिवारका सबै सदस्यका नाममा यम दीपदान गर्ने क्रम भने शनिबार साँझदेखि नै सुरु भएको छ । यम दीपदान दक्षिण फर्काएर गर्नुपर्ने वैदिक सनातन शास्त्रीय विधि रहेको छ । यमदीप दान गरे यमयातनाबाट मुक्ति पाइने शास्त्रीय मान्यता छ । यस वर्ष तिथिको घटबढका कारण सायंकालमा कार्तिक कृष्ण त्रयोदशी परेका दिन सुरु हुने यमपञ्चक शनिबार बेलुकीदेखि नै सुरु भएको हो । यसैगरी लक्ष्मी स्थिर राख्नका लागि गरगहना एवं तामाका भाँडाकुँडा किन्ने धनतेरस पर्व पनि शनिबार नै मनाइएको छ । यस दिन गरगहना तथा भाँडाकुँडा किनेमा लक्ष्मी घरमै स्थिर भई बस्ने धार्मिक मान्यता छ ।
काठमाडौं : कार्तिक कृष्ण त्रयोदशीको साँझ आज यमदीपदान सुरु गरेसँगै यस वर्षको तिहार अर्थात् यमपञ्चक आरम्भ भएको छ । कार्तिक कृष्ण त्रयोदशीदेखि कार्तिक शुक्ल द्वितीयासम्म यमयातना भोग्नु नपरोस् भनी यमदीपदान गरिन्छ । यमदीपदान परिवार सदस्य सङ्ख्याका आधारमा प्रत्येकको छुट्टछुट्टै दिनुपर्ने धर्मशास्त्रविद् प्रा डा रामचन्द्र गौतमले बताउनुभयो । यमदीपदान सुरु भएसँगै आजैदेखि घर, व्यापारिक प्रतिष्ठानलगायत स्थानमा दीपावली गरिएको छ । तिहारलाई दीपको पर्व पनि भनिन्छ । यो नेपालीको दोस्रो ठूलो चाड हो । यमदीपदान गरी आज सुरु भएको तिहारको दोस्रो दिन आइतबार कागको पूजा गरी मीठा, मीठा कुरा खाना खान दिइन्छ । सोमबार बिहान जलाशय, नदी, कुवामा गई स्नानसहित बत्ती बालेर बगाइन्छ । यसलाई नरक चतुर्दशी पनि भनिन्छ । यसै दिन बेलुकी लक्ष्मीपूजा गरिन्छ । चौँथो दिन मंगलबार गाईको पूजा गरिन्छ । चौथो दिन बुधबार गोवद्र्धनपूजा, बलीपूजा, हलितिहार, गोरुको समेत पूजा गरेर मनाइन्छ । पाँचौँ दिन बिहीबार दिदी बहिनीले दाजुभाइलाई टीका लगाएपछि पाँच दिन लामो तिहार पर्व समापन हुन्छ । नयाँ भाँडा किनेर मनाइयो धनतेरस, गरियो कुबेरको विशेष पूजा यसैगरी कार्तिक कृष्ण त्रयोदशीकै दिन मनाइने धनतेरस पर्व आज सुन, चाँदी, तामा आदि धातुका नयाँ भाँडा कुँडा किनेर ल्याई घरमा राखी मनाइएको छ । यसैगरी आज धनका रक्षक देवता कुबेरको जयन्तीका अवसरमा कुबेरको विशेष पूजा आराधना पनि गरिएको छ । केहीले आज कुबेरको पूजा गरेपनि कुल परम्पराअनुसार कसैले भने लक्ष्मीपूजाकै दिन गर्छन् । आजको दिन ल्याइएको भाँडाकुँडामा कार्तिक कृष्ण औँसीका दिन लक्ष्मीपूजा गरिन्छ । यसरी पूजा आराधना गरेमा लक्ष्मी स्थिर भई बस्छिन् भन्ने वैदिक सनातन हिन्दू धर्मावलम्बीको परम्परादेखिको विश्वास छ । धनतेरसका दिन सुन चाँदीको गहना किनेर ल्याउने प्रचलनसमेत छ । धार्मिक विश्वासकै कारण आज भाँडाकुँडा एवं गरगहना किन्नेको भीड लाग्ने गर्छ । आजको दिनलाई धन त्रयोदशी, भाण्ड त्रयोदशी जस्ता नामले समेत चिनिन्छ । आजका दिन नयाँ भाँडा किनेमा लक्ष्मीले सधैँ घरमा बास गर्छिन् भन्ने धार्मिक विश्वास छ । यस विश्वासका आधारमा भाँडा पसलमा बिहानैदेखि ग्राहकको भीड लागेको थियो । भाँडा पसलमा एक साताअघिदेखि नै तामा, पित्तल लगायत धातुका भाँडा आकर्षक रुपमा साज सज्जा गरी राख्ने गरिन्छ । नयाँ भाँडा एवं गरगहना किन्ने क्रम लक्ष्मीपूजाका दिनसम्म जारी रहन्छ ।
बागलुङ । उम्मेदवारका चुनावी मुद्दा र जनताको माग अधिकांश मिल्दाजुल्दा हुन्छन् । चुनावको समयमा मतदाताको उम्मेदवारसँग अधिकांश माग भनेको शिक्षा, स्वास्थ्य, सडक तथा कृषिमा आधुनिकीकरणसँग जोडिएका सवाल हुन्छन् । तर, बागलुङका दक्षिण भेगका जनताले उम्मेदवारलाई यसपटक फरक माग सुनाएका छन् । बागलुङको दक्षिण भेग बलेवा, जैमिनी नगरपालिका तथा बरेङ गाउँपालिकाका जनताले यसपटक घर आगनमा भोट माग्न आएका उम्मेदवारलाई एक स्वरमा भनेका छन्, “यसपालिको भोट बाँदर नियन्त्रण गर्नेलाई ।” बागलुङको दक्षिण भेग नारायणस्थान, पैयुँपाटा, अमलाचौरसहित जैमिनी नगरपालिका र बरेङ गाउँपालिकाका केही भागमा बाँदरको आतङ्कले किसानले हैरानी खेपेका छन् । उनीहरूले बाँदरका कारण आफ्नो उठिबास लगाएकोे बताउँदै यसपटक हाम्रो उम्मेदवारसँगको एक सूत्रीय माग भनेको बाँदर नियन्त्रण गर्नेलाई भोट दिने बताएका छन् । बलेवा, कुस्मिशेरा, जैदी, छिस्ती, राङ्खानीलगायत क्षेत्रमा बाँदरका कारण यहाँका किसानले खेतीपाती गर्न नसकेको गुनासो गरेका छन् । चुनावी अभियानअन्तर्गत बागलुङ नगरपालिका–१४ गार्लुङका स्थानीयलाई भोट माग्न कोदो बारीमै पुग्नुभएको नेकपा ९एमाले०बाट बागलुङ क्षेत्र नम्बर १ प्रतिनिधिसभा सदस्यका उम्मेदवार बन्नुभएका डा सूर्य पाठकलाई यहाँका किसानले यस पटकको भोट बाँदर नियन्त्रणको वाचा गर्नेलाई दिने बताएका छन् । गार्लुङका स्थानीय सीता पौडेलले गलुवाको पहिरो र बाँदरले यहाँका जनताले सास्ती खेपेको बताउँदै बाँदर नियन्त्रणको योजनालाई समेटेर आउने उम्मेदवारलाई भोट दिने बताउनुभयो । “जनताको सेवा सुविधाका लागि मतदान गर्ने हो, यस पटक बलेवाबाट सङ्घीय र प्रदेशका लागि दुई जना उम्मेदवारले प्रतिनिधित्व गर्दै हुनुहुन्छ हामी खुसी छौँ तर हाम्रो अहिलेको मुख्य माग भनेको बाँदर नियन्त्रण हो”, पौडेलले भन्नुभयो, “सडक, शिक्षालगायत पूर्वाधार बन्दै गएका छन् तर यहाँका जनताले बाँदरकै कारण उठिबास लाग्ने बनाएको छ, उर्वर भूमि रहेको बलेवामा बाँदरका कारण भिर छेउको जग्गा बाँझै रहन गएको छ, कतिले बाँदरकै कारण बसाइँसराइ गरेर गए ।” सीता मात्रै हैन गार्लुङकै अनिता पौडेलले समेत बाँदर नियन्त्रण गर्न सके अहिले निर्वाचित हुने जनप्रतिनिधिले यहाँ अन्य काम नगरे पनि हुने बताउनुभयो । उहाँले बागलुङ नगरपालिका–१० स्थित गलुवाको पहिराले समेत बलेवासहित दक्षिण भेगका जनताले दुःख पाएको बताउनुभयो । “गलुवाको पहिरोका कारण हामीले भारी बोकेर करिडोर र कुस्मा पुगेर खाद्यन्न ल्याउन परेको छ”, अनिता पौडेलले भन्नुभयो, “अहिलेको भोट गलुवाको पहिरो नियन्त्रणका लागि पहल गर्ने र बाँदर नियन्त्रणको योजना ल्याउनेलाई दिने योजना यहाँका जनताको छ ।” गलुवामा पहाडै बगाउँदा असारयता मात्रै तीन महिना सडक बन्द भएको थियो । पहिरो नियन्त्रणका लागि मात्रै रु चार करोड खर्च लाग्ने भएपछि गलुवाको पहिरो चुनावी मुद्दा बनेको छ । बागलुङको राजनीतिमा आफ्नो पकट जमाउँदै आएको बलेवा क्षेत्रबाट नेकपा ९एमाले० र गठबन्धनबाट नेपाली कांग्रेसले उम्मेदवार उठाएको छ । निर्वतमान सांसदसमेत रहनुभएका एमालेका उम्मेदवार डा सूर्य पाठक प्रतिनिधिसभा र गठबन्धबाट कांग्रेसका युवा नेता डिल्लीराम सुवेदी बागलुङ क्षेत्र नम्बर १ प्रदेशसभा ९२० बाट चुनावी मैदानमा आउनुभएको छ । कांग्रेसका युवा नेता तथा प्रदेशसभा सदस्यका उम्मेदवार सुवेदीले यहाँका जनताको माग अन्य क्षेत्रको भन्दा फरक भएको बताउनुभयो । उहाँले बसाइँसराइ र बाँदरका कारण बागलुङको उर्वरभूमि दक्षिण भेग समस्यामा परेको बताउनुभयो । “म बागलुङको दक्षिण भेगको जनाताको घरदैलोमा पुग्दै गर्दा बाँदर नियन्त्रणका लागि जनताले धेरै आग्रह गर्नुभएको छ, शिक्षा, स्वास्थ्य, सडक तथा खानेपानीको माग त पुरानै हो, बाँदर नियन्त्रणका लागि कानुनी विषयमा समेत छलफल गर्नुपर्ने अवस्था आएको छ, म निरन्तर बाँदर नियन्त्रणका लागि आवश्यक उपायको खोजीका लागि आविस्कार केन्द्रको समेत सम्पर्कमा छु”, उम्मेदवार सुवेदीले भन्नुभयो, “अत्यधिक बाँदर लाग्ने स्थानमा अदुवा, बेसार, कागतीलगायत नगदेबाली लगाउने र बाँदर नियन्त्रणका लागि आवश्यक उपकरणको व्यवस्थापन गर्ने योजनामा छु ।” बाँदरलाई हत्या गर्न नपाइने भएकाले बाँदर नियन्त्रण गर्न समस्या भएकाले कानुन निर्माण गर्न आवश्यक रहेको एमाले उम्मेदवार डा पाठकले बताउनुभयो । बागलुङको दक्षिण भेगकै प्रतिनिधत्व गर्ने उम्मेदवार भएको हैसियतले मेरो जनतालाई पहिलो सुझाव बाँदर नियन्त्रणका लागि अब कानुनी सहयोग आवश्यक रहेको बताउनुभयो । “कानुनअनुसार बाँदरको हत्या गर्न पाइँदैन, धपाएका बाँदर पुनः फर्केर आउने समस्या पुरानै हो”, डा पाठकले भन्नुभयो, “बाँदरको उपयोगिताका विषयमा पुनर्विचार गर्ने समय आएको छ, मानिसको जीवनभन्दा ठूलो बाँदर हैन, बाँदरका कारण बस्तीनै रित्तिने अवस्थाको अन्त्य गर्न आफू लाग्ने बताउनुभयो । बागलुङको नारायणस्थान, पैयुपाँटा, अमलाचौर, कुश्मिसेरा, जैदि, छिस्ती, राङ्खानी, दमेक र बरेङ गाउँपालिकाको केही भेगमा बाँदरको समस्या बढी रहेको छ । तीन वर्षअघि बागलुङको जैमिनी नगरपालिकाले बाँदर नियन्त्रणका लागि बजेट नै छुट्टाएको भए पनि प्रभावकारी हुन सकेन । बाँदर नियन्त्रणका लागि रु पाँच लाग बजेट विनियोजन गरेर बाँदर धपाउने यन्त्र वितरण गरे पनि सुरुमा प्रभावकारी बनेको उपकरण पछिल्लो समय प्रभावकारी नबनेको जैमिनी नगरपालिकाका किसानको गुनासो छ ।
सुर्खेत । सुर्खेत जिल्ला प्रहरी कार्यालयले लागु औषध (ब्राउन सुगर)सहित पाँच जनालाई पक्राउ गरेको छ । सुर्खेतको मुख्य नाका सुब्बा कुनाबाट गाडी चालक वीरेन्द्रनगर नगरपालिका ११ निवासी ३० वर्षीय गङ्गे सुनार, ३९ वर्षीय दीपक ढकाल, ३० वर्षीय नवीन वक्स र डुङ्गेश्वर गाउँपालिका–३ दैलेख घर भई हाल वीरेन्द्रनगर नगरपालिका–१०मा बस्दै आएका १७ वर्षीय लोचन रावललाई दुई पुरिया ब्राउन सुगरसहित पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक सुरज कार्कीले जानकारी दिनुभयो । गए राति २३ः४५ बजे नेपालगञ्जबाट सुर्खेततर्फ आउँदै गरेको बा१७च ७९६९ नंको स्कार्पियो गाडी सुब्बा कुनामा जाँच गर्दा चालकको सिट पछाडि सिट कभरको खल्तीमा नापतौल नभएको दुई पुरिया ब्राउन सुगरसहित उनीहरुलाई पक्राउ गरिएको उहाँले बताउनुभयो । प्रनाउ कार्कीका अनुसार भारतको बहराइज नानपरा घर भई हाल जिल्ला सुर्खेत वीरेन्द्रनगर नगरपालिका–३ सुर्खेत गण्डकी लाइन बस्ने २६ वर्षीय लियाकत अलीलाई पनि तीन ग्राम ब्राउन सुगरसहित पक्राउ गरिएकोे छ । भेरीगङ्गा नगरपालिका–१२ सुर्खेतमा चेकिङमा खटिएका टोलीले नेपालगञ्जबाट सुर्खेततर्फ आउँदै गरेको बा५च ३७७२ नंको फोर्स गाडीमा जाँचका क्रममामा अलीलाई पक्राउ गरेको थियो । पक्राउ गरिएका पाँचै जनालाई हिरासतमा राखी थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।