काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) नेपालले प्रदेश सरकारलाई प्रभावकारी र अधिकारसम्पन्न बनाउने नीतिसहित आगामी निर्वाचनका लागि पार्टीको चुनावी घोषणापत्र तयार गरेको छ । मङ्सिर ४ गते हुने सङ्घीय तथा प्रदेश निर्वाचनका लागि जसपाले सङ्घीयता, समावेशी समानुपातिक र लोकतान्त्रिक गणतन्त्रलगायतका मूलभूत विषयमा घोषणपत्र तयार गरेको जसपाका प्रवक्ता मनिस सुमनले जानकारी दिनुभयो । “प्रादेशिक सरकारलाई बलियो बनाउने गरी घोषणापत्रमा उल्लेख गरेका छौँ”, उहाँले भन्नुभयो, “सङ्घीय लोकतान्त्रिक गणतन्त्रलाई सुदृढ तुल्याउने र समानुपातिक समावेशिता र पहिचानको अधिकारलाई सुनिश्चित गर्ने विषयमा हाम्रो मुख्य ध्यान केन्द्रित रहेको छ ।” जसपाले सबै मित्रराष्ट्रसँग समान सम्बन्ध रहने अवधारणासहित घोषणापत्रमा समेटेको छ । कृषिको आधुनिकीकरण गरी आन्मनिर्भर उत्पादनलाई प्राथमिकता दिइएको छ । आगामी निर्वाचनका लागि तयार गरिएको पार्टीको चुनावी घोषणापत्र छठ सकिएलगत्तै सार्वजनिक गरिने प्रवक्ता सुमनले बताउनुभयो । जसपाले समतामूलक समाजको निर्माणसँगै समानता, स्वतन्त्रता, भाइचारा, सामाजिक न्याय तथा भ्रातृत्वको उच्चतम् अभ्यास गर्दै सङ्घीयता, समावेशी एवं सहभागितामूलक लोकतन्त्र, समानुपातिक प्रतिनिधित्व र समतामूलक समाज निर्माण गर्ने लक्ष्य लिएको छ । देशमा गरिबी बेरोजगारी र अशिक्षाको अन्त्य गरी शिक्षा, स्वास्थ्य, आवास, रोजगार र सुरक्षामा सबैको समान पहुँच र आधिकारको प्रत्याभूति गराउने, सामाजिक न्याय स्थापित गर्दै सबै जाति, भाषा, धर्म, संस्कृति र समुदायका जनताको हित रक्षाका लागि काम गर्ने घोषणापत्रमा उल्लेख छ । त्यस्तै सामाजिक न्याय र सुशासनको प्रत्याभूतिसहितको जनमुखी प्रशासन कायम गर्ने, आदिवासी जनजाति एवं पिछडिएका वर्ग र समुदायको उत्थान प्रवद्र्धन गर्ने जनाइएको छ । जसपाले सङ्घीयताको प्रभावकारी कार्यान्वयन गर्दै सङ्घले बृहत्तर नीति निर्देशन तथा ठूला अन्तर–प्रादेशिक पूर्वाधारको मात्र जिम्मा लिने र अन्य सबै नीति योजना निर्माण, कार्यान्वयन र स्रोत परिचालनको जिम्मा प्रदेश र प्रदेशमार्फत स्थानीय तहलाई दिने नीति लिएको छ । ठूला भौतिक पूर्वाधार, ऊर्जा, प्राविधिक शिक्षा आदिमा विशेष जोड र उद्योग÷पर्यटनलगायतलाई महत्व दिने जनाएको छ । ‘सङ्घीय समुन्नत समाजवाद’ को सैद्धान्तिक आलोकमा समावेशी विकास र समतामूलक समृद्धिको नीति कार्यक्रममार्फत ‘जनताको आवाज, अग्रणी परिवर्तनसहित समृद्ध समाज’ लाई सार्थक बनाउन प्रयास गरिने जसपाले उल्लेख गरेको छ । यस्तै, पहिचानसहितको सङ्घीयता संस्थागत गर्ने, समाजवादी अर्थ–राजनीतिक कार्यदिशा लागू गर्ने, सहभागितामूलक समावेशी लोकतन्त्र स्थापित गर्ने, सुशासन र सदाचारका माध्यमबाट आर्थिक तथा सामाजिक न्यायसहितको समतामूलक समृद्धि र मानवीय खुसी हासिल गर्ने नीति अघि सारिएको छ । लोसपाको घोषणापत्र कहिले ? लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) ले पनि चुनावी घोषणापत्रको तयारी गरिरहेको छ । लोसपाका कार्यकारिणी सदस्य केशव झाले चुनावी घोषणापत्रको अन्तिम तयारीमा रहेको र छठपछि सार्वजनिक गरिने बताउनुभयो । लोसपाले पनि प्रदेश सरकारलाई अधिकार सम्मपन्न बनाउँदै, समानुपातिक सहभागिता, पहिचान र अधिकारको सुनिश्चितता, उत्पीडित समुदायको पहिचान र अधिकारको सुनिश्चिततालगायत विषयलाई घोषणापत्रमा समेटेको छ । घोषणपत्रको तयारीसँगै चुनावी प्रचारप्रचारको दौरानमा दुवै पार्टीका शीर्ष नेताहरु निर्वाचन क्षेत्रमा घरदैलो अभियानमा केन्द्रित रहेका छन् ।
जनकपुरधाम। जनकपुरधामलगायत मिथिलाञ्चलमा आस्थाको महापर्व छठ औपचारिकरुपमा आजदेखि सुरु भएको छ । पर्वको पहिलो दिन आज ‘नहाय खाय’ विधि मनाइँदैछ । श्रद्धा र निष्ठापूर्वक मनाइने छठ पर्वका लागि जनकपुरधामलगायत तराई–मधेसको विभिन्न स्थानमा अन्तिम तयारी पूरा भएको छ । जनकपुरधाम उपमहानगरपालिकाका प्रमुख पोखरीका घाटलाई सिँगारेर पूजाको तयारी पूरा गरिएको हो । पोखरी नै पोखरीको सहरका रूपमा चिनिएको जनकपुरधामका पोखरीमा छठ पूजाका लागि यहाँका स्थानीय युवा क्लबले टेन्ट र पण्डाल लगाएको राम युवा समिति अध्यक्ष परमेश्वर साहले बताउनुभयो । जनकपुरधामको गङ्गासागर पोखरीका अतिरिक्त धनुषसागर, अङ्गराज सर, दशरथ तलाउ, जानकी सरोवर, गोरधोइ, अग्निकुण्डलाई स्थानीय युवा क्लबले सजाएका छन् । जनकपुर उद्योग वाणिज्य सङ्घका अध्यक्ष जीतेन्द्र महासेठले छठका अवसरमा जनकपुरधाममा सरसफाइ अभियान सुरु गरिएको बताउनुभयो । महासेठले छठ पर्वका अवसरमा जनकपुरमा व्यापारिक चलहपहलसमेत बढेको बताउनुभयो । कात्तिक शुक्ल चतुर्थीको दिनदेखि सुरु हुने यो पर्व सप्तमी तिथिका दिन सम्पन्न हुन्छ । यो पर्वमा सूर्यदेवको उपासना गरिन्छ । हिन्दू धर्ममा सूर्य पूजाको परम्परा वैदिककालदेखि नै रहँदै आएको मानिन्छ । पहिलो दिन सूर्य देवतालाई अघ्र्य अर्पण गरिन्छ जसलाई मैथिली भाषामा ‘सझुँका अघ्र्य’ भनिन्छ । साँझका समयमा सूर्य देवतालाई प्रसादका रुपमा दिइने अघ्र्य नै पुनःबिहानको समयमा अर्थात् ‘भोरका अघ्र्य’ मा दिइने परम्परा छ । छठ व्रत गर्ने सबै जना चौथी तिथिका दिन नुहाइधुवाइ गरी चोखो भई ‘अर्वाअर्वाइन’ खाने गर्दछन् । यही तिथिका दिनदेखि छठ पर्व औपचारिकरुपमा प्रारम्भ हुने गर्दछ । यस दिन व्रत गर्ने महिला र पुरुष नुहाइधुवाइ गरी शुद्ध वस्त्र लगाई शाकाहारी भोजन खाने गर्दछन् । कात्तिक शुक्ल पञ्चमी तिथिका दिनभरि पर्व गर्ने वर्तालु उपवास गर्ने गर्दछन् । उक्त दिन साँझमा माटोले बनाइएको नयाँ चुल्होमा नयाँ माटोको भाँडामा अरबा चामलको खिर बनाउने गरिन्छ । सख्खर हालेर बनाइएको खिर देवीदेवतालाई प्रसादका रुपमा चढाइन्छ र उक्त प्रसादस्वरुप खिर वर्तालुका साथै घरका अन्य सदस्यले ग्रहण गर्दछन् । जसलाई मिथिलाञ्चलमा खरना भनिन्छ । कात्तिक शुक्ल षष्ठी तिथिका दिन व्रत गर्ने महिला डुब्दै गरेको सूर्यलाई अघ्र्य दिन्छन् । साँझका समयमा घण्टाँैसम्म जलमा रही नाङ्लो, कनसुप्ती, ढकना, सरबालगायतमा राखिएका प्रसाद लिएर डुब्दै गरेको सूर्यलाई अघ्र्य चढाउने गरिन्छ । उक्त दिन छठ व्रत गर्नेको घरका सबै सदस्य प्रायःरातभर पोखरीको घाटमा जाग्राम बस्ने गर्दछन् । छठको प्रसादमा ठकुआ, भुसवा, केरा, नरिवल, उखु, सुन्तला, कागती, सिँगार, फलफूल, पान, सुपारी, धूप, दीपआदि रहन्छ ।
काठमाडौँ । नदी र सूर्यदेवको श्रद्धा भक्तिपूर्वक आराधना र पूजा गरी मनाइने छठ पर्व सुरु भएको छ ।कार्तिक शुक्ल चतुर्थीदेखि सप्तमीसम्म छठ पर्व मनाइन्छ । आज सूर्योेदयकालमा तृतीया तिथि भए पनि मध्याह्न १२:२८ बजेदेखि चतुर्थी तिथि लाग्ने भएकाले आजैदेखि छठ पर्वको विधि सुरु गरिएको हो । कार्तिक शुक्ल चतुर्थीका दिन आज बर्तालु स्नान गरी चोखो खाएर बस्छन् । व्रतको पहिलो दिन घर एवं छठ पूजा स्थललाई सफाइ गर्ने परम्परा पनि छ । सूर्यदेवको आराधना, उपासना र पूजा गरेर मनाइने यो पर्व पूरा नहोउन्जेलसम्म बर्तालुले माछा, मासु, लसुन, कोदो, फापर, मुसुरो, आदि उपभोग गर्दैनन्। आज चतुर्थीका दिनलाई अरबाइन वा अरबा भनिन्छ । मनोकाङ्क्षा पूरा हुने विश्वासमा महिलाले छठमा कठोर व्रत गर्छन् । विशेषगरी तराईमा मनाइने मिथिला संस्कृतिमा आधारित यो पर्व विसं २०४६ पछि काठमाडौँलगायत पहाडमा पनि मनाउन थालिएको हो । विसं २०४६ देखि नै सरकारले यस पर्वका दिन सार्वजनिक बिदा दिँदै आएको छ । विसं २०६३ पछि भने काठमाडौँको थापाथली, गुह्येश्वरी, गौरीघाट र रानीपोखरीमा पनि विशेष महत्वका साथ यो पर्व मनाउन थालियो । यसअघिदेखि नै वाग्मती र विष्णुमती नदी किनारमा छठ मनाउने गरिन्थ्यो । रानीपोखरीमा भूकम्पपछि पुन:निर्माणका क्रममा पानी नभएकाले केही वर्ष छठ मनाउन रोकिएको थियो । विसं २०७७ असोजमा रानीपोखरी पुन:निर्माण सकिएपछि पनि त्यहाँ छठ मनाउन थालिएको छैन । यस वर्ष रानीपोखरीमा छठ मनाउन माग भएकाले दिने विषयमा छलफल भइरहेको काठमाडौँ महानगरपालिकाका प्रवक्ता नवीन मानन्धरले जानकारी दिनुभयो । व्रतको दोस्रो दिन कार्तिक शुक्ल पञ्चमीमा निर्जल उपवास बस्ने गरिन्छ । यस दिन बेलुकी घरमा खीर बनाएर चन्द्रमालाई अर्पण गरी एक छाक खाने गरिन्छ । यसलाई खरना भन्ने गरिएको काठमाडौँमा छठ मनाउँदै आउनुभएका रमेश झाले बताउनुभयो । “षष्ठीका दिन बर्तालुले ठेकुवा, फलफूल, मिठाई र रोटी सूर्य एवम् छठी मातालाई चढाउने गर्छन्, रोटीमा सूर्यको रथका पाङ्ग्रा अङ्कित गरिन्छ”, उहाँले भन्नुभयो । षष्ठीका दिन पकवान, फलफूल र नरिवललाई बाँसको टोकरीमा सजाएर माथिबाट कपडाले छोपिन्छ । साँझपख बत्ती बालेर माटाको घडाको साथ गीत गाउँदै नदी वा तलाउका किनारमा पुग्ने र डुब्न लागेका सूर्यलाई अघ्र्य दिई प्रणाम गरिन्छ । अघ्र्य दिएपछि तीनपटक पानीमा डुबुल्की मारी मनोरञ्जन गर्दै त्यहीँ रात बिताउने गरिन्छ । सप्तमीका दिन बिहान उदाउँदो सूर्यलाई दर्शन गर्न बिहान ४ बजेदेखि नै प्रतीक्षा गरिन्छ । उदाउँदो सूर्यलाई गाईको दूध, फूल र जलले अघ्र्य दिएर बिसर्जन गरिन्छ । यसरी घाटमा गरिने पूजालाई भिन्सरघाट भनिन्छ । बिहानै घाटमा गरिने पूजा भएकाले भिन्सरघाट भनिएको हो । सूर्योदयकालमा अघ्र्य दिई सूर्यको दर्शन गरेपछि छठ पूजा सकिन्छ । सूर्यको दर्शन गर्दा भक्तहरु लुगासहित कम्मरसम्मको पानीमा डुबेर सूर्य दर्शन गर्ने विधि रहेको गुह्येश्वरीस्थित छठ पूजा समितिका अध्यक्ष अनिल सिंहले बताउनुभयो । “पृथ्वीमा भएका जीवको सञ्चालन र संरक्षण जल एवम् सूर्यबाट भएकाले नदीलाई माता र सूर्यलाई सम्पूर्ण शक्तिको स्रोतका रुपमा मानी विशेष पूजा गर्ने गरिएको हो”, उहाँले भन्नुभयो । कार्तिक शुक्ल पक्षमा सूर्यको पूजा गर्नाले मनोकाङ्क्षा पूरा भई इच्छाएको फल प्राप्त हुने उल्लेख शास्त्रमा गरिएको धर्मशास्त्रविद् प्राडा रामचन्द्र गौतमले जानकारी दिनुभयो । सूर्यको उपासना गर्ने र शुद्धताको प्रतीक भएकाले तराईबाट सुरु भई हाल पहाड र हिमाली क्षेत्रसम्म पनि छठ मनाउन थालिएको छ । सूर्यको पूजा र दर्शन गरी विवाहिता महिला पुरुषले पतिपत्नीको दीर्घायु एवम् अविवाहित केटाकेटीले सुयोग्य वरवधु प्राप्तिको कामना गर्छन् । सन्तान प्राप्तिको कामनाले यो पर्व मनाउनेको सङ्ख्या पनि धेरै छ । यो पर्वमा मुस्लिम, बौद्ध र जैन धर्मावलम्बीको समेत सहभागिता रहने गरेको विसं २०६८ देखि कमलपोखरीमा छठ पूजाको नेतृत्व गर्दै आउनुभएका राजेन्द्र सिंहले बताउनुभयो । सर्वप्रथम छठीमाताले सूर्यदेवलाई खुसी पारेकीले यो पर्व मनाउन थालिएको धार्मिक विश्वास छ । महाभारतकालमा द्रोपदीसहित पाण्डवहरू अज्ञातवासमा रहँदा गुप्तवास सफल होस् भनी सूर्यदेवको आराधना गरेका थिए । पाण्डवहरू विराट राजाका दरबारमा बसेका बेला गरेको सूर्य पूजाका प्रभावले अज्ञातवास सफल भएको विश्वासमा यो पर्व मनाउन सुरु गरिएको एकाथरीको मत छ । सूर्य पुराणमा उल्लेख भएअनुसार सर्वप्रथम अत्रिमुनिकी पत्नी अनुसूयाले छठ व्रत गरेकीले उनले अटल सौभाग्य र पतिप्रेम प्राप्त गरिन् । त्यही बेलादेखि ‘छठ पर्व’ मनाउने परम्परा सुरुआत भएको अर्काथरीको भनाइ छ । राजधानीको गुह्येश्वरीदेखि गौरीघाटको वाग्मती किनारमा छठ घाट निर्माण भइरहेको छ । यसैगरी कमलपोखरीमा पनि छठको तयारी भइरहेको छ । दुवै स्थानमा कात्तिक १३ गते बेलुकी राष्ट्रपतिले विशेष पूजा एवं छठ पर्व अवलोकन गर्नुहुने कार्यक्रम रहेको बताइएको छ । यस वर्ष कात्तिक १३ गते बेलुकी अस्ताउँदो र कात्तिक १४ गते बिहान उदाउँदो सूर्यलाई अघ्र्य दिइने कार्यक्रम रहेको जनाइएको छ । छठ बर्तालु भने कार्तिक शुक्ल षष्ठीका दिन रातभर नदी किनारमै बस्छन् । नदी किनार एवं तलाउमा सूर्यका भजन एवं भक्ति सङ्गीतले वातावरण रमाइलो बनाउँछ ।
काठमाडौँ । साहित्यकार नरेश ज्ञवालीको शब्दमा रहेको ‘पत्थर जस्तो दिल’ नामक म्युजिक भिडियो सार्वजनिक भएको छ । यस म्युजिक भिडियोमा चर्चित गजल गायक थानेश्वर गौतमले सङ्गीत तथा स्वर प्रदान गर्नुभएको छ । गजललाई कमल सौरागले सङ्गीत संयोजन गर्नुभएको हो । मनोरञ्जनात्मक यस भिडियोमा एउटा युवाले एउटी युवतीलाई पहिलोपटक हेरेपछि उसको रुपको बयान गर्दै आफू नजिक हुन चाहेको र माया गर्न मन लागेको कुरालाई आकर्षक तरिकाले प्रस्तुत गरिएको छ । म्युजिक भिडियोमा सुधीर श्रेष्ठ तथा उषा उप्रेतीको अभिनय छ । रचनाकार ज्ञवाली निर्माता रहेको यस भिडियोलाई रामजी लामिछानेको कोरियोग्राफी तथा निर्देशनमा तयार पारिएको हो । गायक गौतमको आधिकारिक च्यानल ‘थानेश्वर गौतम’मार्फत भिडियो सार्वजनिक भएको छ । म्युजिक भिडियोमा ‘झट्ट हेर्दा तिमीलाई माया गरौँ, गरौँ भो’, ‘पत्थरजस्तो दिल मेरो नरम नरम भो’, ‘छिनेको कम्मर तिम्रो, मच्किने चाला’, ‘वैँशालु नजर ठूलै मलाई हेर्दा खेरी’, ‘तिम्रो नजिक मलाई सरौँ सरौँ भो’, ‘भेट्न तिमीलाई बेँशीतिर झरौँ झरौँ भो’लगायत बोलका गीत समावेश गरिएको छ । विगत १२ वर्षदेखि सपरिवार क्यानडा बस्दै आउनुभएका युवा साहित्यकार ज्ञवाली विदेशमा बसेर पनि नेपाली कला–साहित्यलाई अगाडि बढाउन प्रयासरत हुनुहुन्छ । उहाँका दर्जनौँ गजल र कविता सार्वजनिक भएका छन् ।
काठमाडौं । सत्तारुढ गठबन्धनले आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनमा गठबन्धनमा आबद्ध साझा उम्मेदवारलाई विजयी गराउन आग्रह गरेको छ । गठबन्धनमा आबद्ध दलका तर्फबाट आज जारी गरिएको संयुक्त विज्ञप्तिमा गठबन्धन दलका उम्मेदवारलाई विजयी गराउन मतदातालाई अपिल गरिएको छ । प्रधामन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपाल र राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले संयुक्तरुपमा जारी गर्नुभएको विज्ञप्तिमा केही स्थानमा देखिएको विवादलाई पनि छलफलका माध्यमबाट निष्कर्षमा पुर्याउने प्रतिबद्धता व्यक्त गरिएको छ । यस्तै गठबन्धनका तर्फबाट सहमतिका उम्मेदवारको सूची पनि सार्वजनिक गरिएको विज्ञप्तिमा उल्लेख छ । केही स्थानमा भने मित्रवत् प्रतिस्पर्धा गर्ने गरी तय गरिएको छ । ती स्थानमा एकआपसमा समान र सौहार्दपूर्ण व्यवहार गर्ने समझदारी भएका विज्ञप्तिमा उल्लेख छ ।
म्याग्दी । ग्रामीण क्षेत्रमा यातायातको पहुँच र विप्रेषणबाट प्राप्त आम्दानीका कारण कङ्क्रिटका पक्की भवन निर्माण हुनेक्रम बढ्दै गएपछि परम्परागत ढुङ्गे घर पातलिँदै जान थालेका छन् भने खरले छाएका घर लोप भएका छन् । डेढदशक अगाडिसम्म म्याग्दीका ग्रामीण क्षेत्रमा ढुङ्गा र खरले छाएर रातोमाटो र सेतो कमेरोलो पोतिएका घर बाक्लै देखिन्थे । पर्यटकीय जिल्ला म्याग्दीमा विदेश र सहर बजारबाट जो कोही गाउँमा पुग्दा ती घरले मनै लोभ्याउने गर्थे । रैथाने सीप र स्रोतको प्रयोग गरी परम्परागत रूपबाट निर्माण गरिएका ती घरले धेरैलाई आकर्षित गर्ने गरेको पाइन्थ्यो । उतिबेला गाउँमा यातायातको पहुँच पुगिसकेको थिएन । जब सडक विस्तार भएर गाउँमा यातायातका साधन पुग्न थाले तब रड र सिमेन्टको प्रयोग गरी गाउँमा पक्की घर निर्माणका क्रम बढेको स्थानीय बूढापाकाको भनाइ रहेको छ । सडकको प्रभावित पुराना परम्परागत घरमा परेको उनीहरुको बुझाइ छ । परम्परागत घर र ढुङ्गे घर गाउँबाट विस्तारै ओझेलिँदै छन् । अहिले गाउँमा धमाधम सिमेन्ट र कङ्क्रिटका घर ठडिँदै गएका छन् । सक्नेले पक्की पिल्लर घर बनाएका छन् त न्यून वर्गका नागरिकले खर र ढुङ्गाको छानो हटाएर जस्तापाताले घर छाउन थालेका छन् । यसले पुराना मौलिक घर विस्तारै विस्थापित हुने अवस्थामा पुर्याएको छ । म्याग्दीको बेनी नगरपालिका–२ ज्यामरुककोटा, मालिका गाउँपालिका–७ बिम, रघुगङ्गा गाउँपालिका–६ पाखापानीलगायतका विभिन्न बस्तीमा पाँच वर्ष अगाडिसम्म गाउँका अधिकांश घर ढुङ्गा र केही खरले छाइएका थिए । तर अहिले ती बस्तीमा पुग्यो भने सिमेन्टेड पक्की घर र विभिन्न रङका जस्तापाताले छाएर घर रङ्गीचङ्गी देखिन्छन् । कमेरो र रातोमाटोले पोतिएका घर कम पाइन्छन् । गाउँमा सडक आएपछि गाउँलेले सहर बजारियाले जस्तो सिकेर परम्परागत घरलाई भत्काएर नयाँ स्वरूपमा बनाउन थालेको बगरफाँटका बेदप्रसाद उपाध्यायले बताउनुभयो । उहाँले भन्नुभयो, “डेढदशक अगाडिसम्म गाउँमा धेरैजसो घर ढुङ्गा र खरले छाएका थिए, गाडी आउने बाटो पनि थिएन, अहिले ती सबै घर लोप भइसके ।” बेनी नगरपालिका–४ सिँगामा पनि करिब एकदशक अगाडिसम्म ढुङ्गे टन्नै थिए । तर अहिले ढुङ्गाका घरले भएका ठाउँमा ठूलाठूला कङ्क्रिटका घर ठडिएका छन् । सडक सिंगामान पुग्दा धेरैको घर ढुङ्गाले नै छाएको भए पनि अहिले धेरैजसोले पक्की भवन बनाउन थालेको स्थानीय केशव पौडेलले बताउनुभयो । उहाँले गाउँमा सडक आएपछि धेरै मानिसले बजारबाट सहजरूपमा घर निर्माण गर्ने सामान ल्याउनसक्ने भएपछि ठूलाठूला भवन बनाउन थालेको बताउनुभयो । पौडेलले यहाँका धेरैजसो मानिस विदेश भएको हुँदा उनीहरूले गाउँमा परम्परागत घर र ढुङ्गाको घर विस्थापित गरी पक्की घर बनाउन थालेको जानकारी दिनुभयो । विदेशमा कमाएको पैसा म्याग्दीमा धेरैजसो अनुत्पादक क्षेत्रमा नै खर्च हुने गरेको बैंक तथा वित्तीय संस्थाको तथ्याङ्क छ । घर, घडेरी र मोजमस्तीमा नै धेरैजसो पैसा खर्च हुने गरेको पाइएको छ । यहाँका मान्छे सबै विदेशमा छन्, विदेशमा कमाउने यहाँ ठूलाठूला घर बनाउने गरेका छन्, पहिलेको तुलनामा अहिले गाउँ निकै फरक भएको छ, दिनदिनै सिमेन्टका घर ठडिरहेका छन्, एक÷दुई वर्षमा यहाँ ढुङ्गाका घर पनि देख्न नपाइने स्थानीय बासिन्दाको अनुमान रहेको छ । सडक सञ्जालले यो ठाउँ जोडिएपछि पुराना घर विस्थापित भएको स्थानीयको भनाइ छ । सहरी तथा भवन निर्माण आयोजना कार्यालय म्याग्दीकाअनुसार मानिस सजक र सचेत हुँदै गएको हुँदा नयाँनयाँ प्रविधि प्रयोग गरेर घर तथा भवन निर्माण गर्न थालेका छन् । परम्परागत घर भूकम्पीय दृष्टिकोणले केही जोखिम हुने जनाउँदै नागरिकले सचेतता अपनाएर पक्की भवन बनाउन थालेको बताइएको छ ।
काठमाडौं । निर्वाचन आयोगले निर्वाचन व्यवस्थापनको सिलसिलामा कार्यस्थलमा हुने सबै प्रकारका दुव्र्यवहार र विभेदजन्य क्रियाकलापविरूद्ध शून्य सहनशीलता अपनाउने नीति लिएको छ । लैङ्गिक समानतामूलक तथा समावेशी निर्वाचनका माध्यमबाट लोकतन्त्रको सुदृढीकरणमा योगदान पु¥याउने लक्ष्यसहित आयोगले ‘निर्वाचन व्यवस्थापनमा लैङ्गिक तथा समावेशी नीति, २०७७’ जारी गरेको छ । निर्वाचनको अवधिमा हुने लैङ्गिकतामा आधारित हिंसा न्यूनीकरणका लागि सबै वर्ग, क्षेत्र, जातजाति, समुदाय र आर्थिक, सामाजिक हैसियतका कारण पछाडि परेका महिलाको संरक्षण, विकास, सशक्तीकरण, अवसर र पहुँचको निमित्त आयोग क्रियाशील रहने सो नीतिमा उल्लेख छ । नेपालको संविधानले अङ्गीकार गरेको शासन व्यवस्थामा समानुपातिक समावेशी सिद्धान्तलाई आत्मसात् गरी सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्था सुदृढ गर्ने राज्यको राजनीतिक उद्देश्य प्राप्तिमा सहयोग पु¥याउन सो नीति ल्याइएको देखिन्छ । सो नीतिमा लैङ्गिक तथा अपाङ्गतामैत्री एवं समावेशी कार्यस्थल, कार्यशैली र कार्य प्राथमिकताको वातावरणलाई ध्यान दिने, लैङ्गिकता तथा समावेशीकरणलाई प्रवद्र्धन गर्न महिला, ज्येष्ठ नागरिक, दलित, अपाङ्ता भएका व्यक्ति, यौनिक अल्पसङ्ख्यक, अन्य सिमान्तकृत समुदायको कार्यस्थलमा समान पहुँचको सुनिश्चितता प्रदान गर्ने व्यवस्था गरिएको छ । उक्त व्यवस्थाबमोजिम मतदाता शिक्षा कार्यक्रम र निर्वाचन व्यवस्थापनका हरेक काममा महिला, ज्येष्ठ नागरिक, दलित, अपाङ्गता भएका व्यक्ति, यौनिक अल्पसङ्ख्यक, अन्य सिमान्तकृत समुदायका संवेदनशीलतालाई ध्यान दिएर आयोगले गतिविधि गर्दै आएको सहायक प्रवक्ता भट्टराईले जनाउनुभयो । उहाँले मतदाता शिक्षाका कार्यक्रम तर्जुमा गर्दा पनि ती समुदायसँग पूर्वपरामर्श गरेर उहाँहरु अनुकूल हुने र भाषिक सहजता हुनेगरी गर्ने गरिएको बताउनुभयो । यस्तै निर्वाचनका सबै चरण र प्रक्रियामा कर्मचारी नियुक्ति, तालिम, स्वयंसेवक तथा पर्यवेक्षक छनोट र परिचालन आदिमा लैङ्गिक समानता तथा समावेशीकरणलाई प्रवद्र्धन गर्ने व्यवस्था गरिएको छ । निर्वाचन व्यवस्थापनका सबै प्रक्रिया र चरणमा आयोग र अन्तर्गत कार्यालय तथा अन्य सरोकारवालाबाट यौनजन्य दुव्र्यवहार, लैङ्गिकतामा आधारित भेदभावपूर्ण व्यवहार तथा सामाजिक विभेदपूर्ण उत्पीडन र व्यवहार हुन नदिन आयोग प्रतिबद्ध रहेको नीतिमा भनिएको छ । आयोगले निर्वाचन व्यवस्थापनमा लैङ्गिक तथा समावेशी नीति कार्यान्वयनका सन्दर्भमा कर्मचारी तथा अन्य सरोकारवालामा हुन सक्ने विभिन्न किसिमका आचरण, व्यवहार तथा कुनै पनि भेदभावविरूद्ध गुनासो तथा उजुरी सुनुवाइसम्बन्धी उपयुक्त व्यवस्था गरेको सहायक प्रवक्ता कमल भट्टराईले बताउनुभयो । मुलुकको सङ्घीय शासन व्यवस्थाको ढाँचा, मौलिक हकअधिकार, निर्वाचनसम्बन्धी संवैधानिक एवं कानूनी व्यवस्था, निर्वाचनसम्बन्धी विश्वव्यापी मान्यता, मानव अधिकारसम्बन्धी अन्तर्राष्ट्रिय महासन्धि एवं नेपालले जनाएका अन्य दस्तावेजप्रतिको प्रतिबद्धता तथा दिगो विकासको लक्ष्यसँग लैङ्गिक तथा समावेशी नीतिलाई आबद्ध गरिएको छ । निर्वाचन चक्रका सबै चरणमा लैङ्गिक तथा समावेशी सवाललाई योजनाबद्धरूपमा मूल प्रवाहीकरण गरी नीतिगत एवं कार्यगत परिपूरकता र सामाञ्जस्यता कायम गरी निर्णायक तहमा महिला तथा अन्य समावेशी समूहको नेतृत्व स्थापित गर्न उक्त नीति एक मार्गदर्शन हुन सक्ने आयोगको बुझाइ छ । सो नीतिबमोजिम आयोगले राजनीतिक दल एवं निर्वाचनका सरोकारवालाबाट हुने निर्वाचनसम्बन्धी क्रियाकलापमा लैङ्गिक समानता तथा समावेशीकरणको आन्तरिकीकरणमा सहजीकरण एवं मार्गनिर्देश गर्न नीतिले विभिन्न नीति र कार्यनीति तर्जुमा गरेको छ । नीतिको कार्यान्वयनका लागि निर्देशक समिति र कार्यान्वयन समिति पनि गठनको प्रबन्ध गरिएको छ ।
काठमाडौँ । प्रतिनिधिसभाको मुख्य काम कानुन बनाउने हो । नेपालको संविधान २०७२ अनुसार नेपाल नागरिकता ऐन, २०६३ संशोधन गर्ने काम सात वर्ष पूरा हुँदा पनि नभएकामा नागरिकता पीडितको असन्तुष्टि चुलिँदो छ । संविधानसभाबाट २०७२ सालमा जारी भएको नेपालको संविधानमा नागरिकतासम्बन्धी व्यवस्था त्यसअघिका संविधानको भन्दा प्रगतिशील छ । त्यसअनुसार कानून बन्न नसक्दा भने नागरिकले पूर्णरुपमा समानतामा आधारित हुन नसकेको गुनासो गर्दै आएका छन् । पुरुष र महिलाबीच समानताका लागि संविधानमै संशोधन हुनुपर्ने माग पनि उठ्दै आएको छ । संविधान जारी भएको करिब सात वर्ष पूरा हुँदासमेत विद्यमान नेपाल नागरिकता ऐन, २०६३ मा संविधानअनुरुप आवश्यक संशोधन हुन सकेको छैन । संसद्ले दुईपटक पारित गरेर प्रमाणीकरणका लागि पठाएको विधेयक राष्ट्रपतिबाट प्रमाणीकरण नहुँदा धेरै नेपाली नागरिकताविहीन हुनु परेको सरोकावालाको भनाइ छ । समसामयिक संशोधनका लागि नेपाल नागरिकता ऐन संशोधन विधेयक, २०७५ प्रतिनिधि सभामा पेश भएको थियो । विसं २०७५ असार ७ गते ऐन संशोधन विधेयकको प्रतिवेदन राज्य व्यवस्था तथा सुशासन समितिबाट बहुमतले पारित गरी असार ९ गते प्रतिनिधिसभामा छलफलका लागि पेश गरिएको हो । समितिले पारित गरेको विधेयकसम्बन्धी प्रतिवेदनले नेपाल नागरिकता ऐनमा रहेका धेरैजसो समस्याको सम्बोधन गर्न सफल भए पनि केही समस्या अझै समाधान नहुने देखिएको ‘नागरिकताको अधिकारका लागि नागरिक समाज सञ्जाल’ को ठम्याइ छ । यही व्यवस्थाको विधेयकमात्र पारित भएको भएपनि धेरै नागरिकता पीडितको समस्या समाधान हुने अवस्था रहेको अधिवक्ता सविन श्रेष्ठ बताउनुहुन्छ । समितिको प्रतिवेदनभन्दा फरकरुपमा भए पनि धेरै पीडितका समस्या समाधान हुने गरी आएको नागरिकता विधेयक संसद्को दुवै सदनले पारित गरे पनि राष्ट्रपतिले रोक्दा समस्या समाधान हुन नसकेको पीडितको गुनासो छ । लामो समयदेखि समाधान हुन नसकेको नागरिकता समस्या समाधानका लागि यो विषय आगामी निर्वाचनको घोषणापत्रमा समावेश गर्न पनि नागरिकता पीडितले आग्रह गरेका छन् । अझै पाइँदैन आमाको नाममा नागरिकता संविधानको धारा १२ मा आमाको नाममा नागरिकता लिन पाउने स्पष्ट व्यवस्था गरेको सात वर्ष पूरा हुँदासमेत गोकर्णेश्वर नगरपालिका–५ मा बस्ने यवेश अधिकारीले नागरिकता पाउन सक्नुभएको छैन । आमाको नामबाट नागरिकता प्राप्तिका लागि उहाँले पटकपटक प्रयास गरिसक्नुभएको छ । आमाको नामबाट थर, ठेगानासमेत राखेर नागरिकता लिन चाहँदा नपाएको गुनासो उहाँले महिला, कानून र विकास मञ्चमा गराउनुभएको छ । आमाको नाममा नागरिकता नपाउने यवेश एक्लो भने हुनुहुन्न । सर्लाहीकी अञ्जली साह छ महिना हुँदै बाबुले छोडेर हिँडेपछि आमाको नामबाट नागरिकता लिन पटकपटक गरेको प्रयास असफल हुँदै आएको गुनासो गर्नुहुन्छ । नागरिकता नभएकै कारण साहले विदेश गएर पढ्न पाउनुभएन । नागरिकताकै कारण रुचि नभएको विषय पढ्नु परेको उहाँको दुःखेसो छ । नागरिकता नहुँदा काम गर्न नपाएको साहले सुनाउनुभयो । आमाको वंशजको नागरिकता भए पनि अञ्जलीले नागरिकताकै लागि भौँतारिएर हिँड्नुपरेको छ । बाग्लुङ स्थायी घर भएका अञ्जलीका बाबुले छ महिनामै आमालाई छोडेर बेपत्ता भएपछि अहिले उहाँ समस्यामा पर्नुभएको हो । साहका बाबुको पनि नेपाली नागरिकता छ । भरतपुर महानगरपालिका–१ का विकास नेपालीले आमाका नाममा नागरिकता नपाउँदा आमा बितेपछि दलालले आमाको नामको जग्गा हडपेका छन् । “विद्यालय र क्याम्पसमा अध्ययनका क्रममा प्रथम भएँ, दोस्रो हुने साथीले बैंकमा प्रबन्धकको जागिर खाएका छन्, म नागरिकता नभएकैले अलपत्र छु, आमाले जोडेको सम्पत्तिमाथिसमेत अरुले अधिकार जमाउन खोजेका छन्”, नागरिकता नहुँदाको पीडा पोख्दै उहाँले भन्नुभयो । मञ्चका कार्यकारी निर्देशकसमेत रहनुभएका अधिवक्ता श्रेष्ठ सरकारले संविधानसभाबाट बनेको संविधान कार्यान्वयन भयो भनी दाबी गर्ने गरे पनि नागरिकताका विषयमा पूरा हुन नसकेको बताउनुहुन्छ । संविधानको धारा ३८ र धारा १२ मा गरिएको नागरिकतासम्बन्धी नयाँ व्यवस्था नागरिकता ऐनमा संशोधन हुन नसकेकाले कार्यान्वयन नभएको उहाँले सुनाउनुभयो । गणेशमान सारनाथ नगरपालिका–३ धनुषाका इन्द्रजीत साफीले साहुसँग रु पाँच लाख ऋण लिएर इञ्जिनियरिङ अध्ययन गर्नुभयो । अध्ययन पूरा गरेपछि निजीस्तरबाट सञ्चालित एक जलविद्युत् आयोजनामा काम गर्न सुरु गरेको केही समयमा उहाँसँग नागरिकता माग गरियो । नागरिकता पेश गर्न नसकेपछि साफीले पाउनुभएको रोजगारीबाट हात धुनुपर्यो । अध्ययन गर्न लिएको ऋणको ब्याज बढ्दै गएपछि उहाँको परिवार चिन्तामा डुबेको छ । “साहुको ऋण बढेर रु १५ लाखभन्दा बढी भएको छ, रातदिन पैसा माग्न आउँछन्, नागरिकता नभएकै कारण मैले पाएको निजीस्तरको जागिरसमेत गुमाउनुपर्यो, अब मैले कसरी ऋण तिर्ने ?, संसदले पारित गरेर पनि राष्ट्रपतिबाट प्रमाणीकरण नहुँदा हामीलाई थप चिन्तित बनाएको छ”, नागरिकताको प्रमाणपत्र नपाउँदाको पीडा सुनाउँदै उहाँले भन्नुभयो । साफीका चार भाइले १२ कक्षासम्मको अध्ययन गरेका छन् । बहिनीले स्नातक अध्ययन गरेकी छन् तर कसैसँग पनि नागरिकता नभएकाले कसैले पनि सामान्य रोजगारीसमेत पाउन सकेका छैनन् । नागरिकता नपाएकैले परिवारका सबै सदस्य मानसिक तनावमा रहेको साफीको भनाइ छ । साफीका हजुरबा, हजुरआमा, बाबुको जन्मसिद्धको नागरिकता छ । माइला हजुरबाको भने वंशजको नागरिकता छ । आमाको पनि वंशजको नागरिकता छ । तर इन्द्रजीतका दाजुभाइ र बहिनीले नागरिकता पाउन नसक्दा परिवार नै समस्यामा फसेको छ । धनुषाकै चन्दन मुखर्जीले पनि नागरिकता नभएका कारण यस्तै समस्या भोग्नुपरेको छ । महोत्तरीका अर्जुन साहले पनि नागरिकता नभएकैले पढ्न पनि छोडेको सुनाउनुभयो । नागरिकतामा पटकपटक राजनीति हुँदै आएकामा पीडित दुःखी छन् । नागरिकता नभएका कारण खोटाङका २२ वर्षीय प्रतीक सुनारको समस्या पनि उस्तै छ । सुनारका बाबुको वंशजको नागरिकता भएपनि हाल हङकङमा रहेकाले सनाखत गर्न आउन नसकेर उहाँले नागरिकता पाउनुभएको छैन । आमा नेपालमै भएपनि सनाखतका लागि जिल्ला प्रशासन कार्यालयले बाबुलाई नै खोजेको छ । बाबुको नागरिकताको प्रमाणपत्रको प्रतिलिपिका आधारमा अरुले सनाखत गरेर पनि उहाँले नागरिकता पाउन सक्नुभएन । सनाखत गर्न पनि प्रमुख जिल्ला अधिकारीअनुसार फरकफरक व्यवहार हुने गरेको पीडितको गुनासो छ । झापाका २५ वर्षीय परहत बानुले राम्रो रोजगारी पाउने आशामा एयर होस्टेसको कोर्स गर्नुभयो । उहाँले पनि नागरिकताको अभावमा अहिले बेरोजगार भई भौँतारिन बाध्य हुनुपरेको छ । सानी छोरीलाई विद्यालयमा भर्ना गर्न जन्मदर्ता खोजेको र नागरिकता नहुँदा विवाह एवं जन्मदर्ताको प्रमाणपत्र पाउन नसकेकाले समस्या भोग्न बाध्य हुनुपरेको उहाँले सुनाउनुभयो । नागरिकता नपाएर पीडित हुने यी त प्रतिनिधि घटना मात्र हुन् । जन्मसिद्ध नागरिकता पाएकाका सन्तति पाँच लाख र एकल आमाका सन्तान छ लाख गरी ११ लाख नागरिक अहिले नागरिकताविहीन रहेको मञ्चका कार्यकारी निर्देशकसमेत रहनुभएका अधिवक्ता श्रेष्ठ बताउनुहुन्छ । यो समस्या समाधानका लागि आगामी निर्वाचनअघि जारी हुने घोषणापत्रका माध्यमबाट सम्बोधन गर्न आग्रह गरिएको पनि उहाँले सुनाउनुभयो । नागरिकता दिन पनि अपाङ्गता भएकालाई विभेद बारा जीतपुरका २५ वर्षीय राहुलकुमार साहको परिवारका सबैको नागरिकता छ, तर उहाँले पटकपटक आवश्यक कागजातसहित माग गर्दा पनि नागरिकता पाउन सक्नुभएको छैन । बाबुको जन्मसिद्ध, आमाको अङ्गीकृत र परिवारका अरु सदस्यको वंशजको नागरिकता भएपनि आफूले नपाउँदा राज्यले फरक व्यवहारको गरेको अनुभवले उहाँलाई सताइरहन्छ । कामका क्रममा ३३ हजार भोल्टको करेन्टले उहाँका दुवै हात गुमेका छन् । सबै कागजात जम्मा पारेर नागरिकता माग गर्दा पनि नपाएपछि साहलाई अपाङ्गता भएकैले राज्य संयन्त्रबाट फरक व्यवहार गरेजस्तो लाग्छ । नागरिकता भएकाले परिवारका सबै सदस्यको मतदाता नामावलीमा नाम समावेश गरिएको छ । राहुलले भने नागरिकता नपाएकैले २५ वर्ष पूरा हुँदा पनि मतदान गर्ने अवसर गुमाउँदै आउनुभएको छ । सर्वोच्चको आदेशमा भने दिइन्छ आमाका नाममा नागरिकता विसं २०७४ जेठ ३ गते सर्वोच्चले नागरिकता दिनु भनी आदेश दिएपछि योगेश अधिकारीले आमाको नाममा नागरिकता लिएको मञ्चका कार्यकारी निर्देशक श्रेष्ठले सुनाउनुभयो । तर यो फैसलाका आधारमा नजिर भई अन्यका हकमा कार्यान्वयन हुन सकेको छैन । नजिर नबनेकाले सहजरुपमा आमाका नाममा नागरिकता पाउनसमेत कानून नै बन्नुपर्ने भएको छ । नागरिकता पीडितले संसद्को प्रत्येक अधिवेशनबाट नागरिकता विधेयक पारित गर्न दबाब दिन थालेपछि दुवै सदनबाट पारित गरेर प्रमाणीकरणका लागि राष्ट्रपति कार्यालय पठाएकामा पहिलोपटक संसद्मै फिर्ता भयो । दोस्रोपटक फेरि संसद्ले पारित गरी राष्ट्रपति कार्यालय पठाएकामा संविधानले तोकेको १५ दिनभित्र पनि प्रमाणीकरण नगरेपछि चोतर्फी विरोध भइरहेको छ । यसअघि ५० भन्दा धेरै नागरिक संस्थाका तर्फबाट नागरिकता समस्या छिटो समाधान गर्न संसद्मा प्रतिनिधित्व गर्ने दलका प्रमुख सचेतकलाई ज्ञापनपत्र बुझाइएको थियो । मञ्चमा ५०० नागरिकताविहीनको अभिलेख छ । संसदको राज्य व्यवस्था तथा सुशासन समितिमै नागरिकता ऐन संशोधन विधेयक लामो समय रोकिएको थियो । नागरिकता विधेयक रोकेको घटनाप्रति अधिकारकर्मी दुःखी संसद्ले पहिलोपटक पारित गरेर राष्ट्रपतिकहाँ पठाएपछि एकपटक फिर्ता गर्ने अधिकार संविधानले दिए पनि दोस्रोपटक पनि प्रमाणीकरण नगरेर संविधानविपरीत काम भएको बताउनुहुन्छ मानव अधिकारवादी कृष्ण पहाडी । यस कदमको न्यायिक निरुपण गरिनुपर्नेमा पनि उहाँले जोड दिनुभयो । राष्ट्रिय मानव अधिकार आयोगका पूर्वसदस्य प्रा कपिल श्रेष्ठ संसद्ले दुईपटक पारित गरेर पठाएको विधेयक प्रमाणीकरण नगरेर संविधानको मर्म एवं भावनाको उल्लङ्घन गरेको आरोप लगाउनुुभयो । “यो कदम लोकतन्त्र र संविधानविरुद्ध छ, संवैधानिक विषयलाई पार्टीगतरुपमा हेरिनुहुन्न”, श्रेष्ठले भन्नुभयो ।
कैलाली । कैलालीको टीकापुर नगरपालिका–२ का वीरबहादुर चौधरी तिहारका दिन निकै हतारमा हुनुहुन्थ्यो । हतारमा घरबाट निस्कनुभएका उहाँले टीकापुर र बर्दिया जोड्ने कर्णाली नदीको सन्कट्टीमा एक घण्टा कुर्नुपर्यो । डुङ्गा (स्टिमर)को भरमा नदी तर्नुपर्ने बाध्यताका कारण वीरबहादुरजस्ता कयौँ व्यक्ति समयमै आफ्नो गन्तव्यमा पुग्न सकेनन् । “भाइटीका दिन साइतमै पुगेर टीका लगाउने मनस्थितिले घरबाट निस्किएको थिएँ । एक घण्टाभन्दा बढी समयसम्म डुङ्गाको पालो पर्खिन लाग्यो । “उहाँ भन्नुहन्छ, “नदीमा पुल भइदिएको भए कसैले कसैका लागि पर्खनुपर्ने अवस्था आउने थिएन होला ।” एउटै डुङ्गामा सयौँलाई वारपार गराउनुपर्दा र यात्रुले पालो नपाउँदा समयमै गन्तव्यमा पुग्न पाएनन् । डुङ्गालाई एकपटक वारपार गर्न आधा घण्टा लाग्ने भएका कारणले पनि वीरबहादुरलाई गन्तव्यमा पुग्न समय लागेको हो । बर्दियाको पाताभारबाट टीकापुर आउनुभएका अनिश थारू पनि डुङ्गाको पालो पर्खेर बस्नुभएको थियो । निकै छट्पटी देखिनुभएका उहाँ निकै हतारमा हुनुहुन्थ्यो भन्ने कुराको भाव बाहिरै छल्किन्थ्यो । “तिहारको अघिल्लो दिन नै टीकापुर आएको थिएँ, दिदीले बर्दिया आउन नसक्ने भनेपछि टीका थाप्न आएको थिएँ”, अनिश भन्नुहुन्छ, “निकै ढिलो भयो । डेढ घण्टादेखि पालो पर्खेको अझै पालो आएको छैन । घरमा दिदीबहिनी टीका लगाउन मलाई पर्खेर बसेका छन् । कतिबेला पुगिन्छ थाहा छैन ।” कैलालीको लम्कीचुहा नगरपालिकाका मीनबहादुर धामीलाई पनि निकै हतार थियो । हतारमा सन्कट्टी पुग्नुभएका उहाँलाई कर्णाली नदी पार गर्न एक घण्टाभन्दा बढी लाग्यो । घरमा भएका दिदीबहिनीसँग टीका लगाएर बर्दियामा रहनुभएकी दिदीको हातबाट टीका लगाउनका लागि शान्तिबजार जान लाग्नुभएका उहाँलाई डुङ्गामा सवार गर्ने नागरिकको भीडले समयमै गन्तव्यमा पुग्न पाउनुभएन । “राजापुरबाट जाँदा एक घण्टा ढिलो हुने भएकाले यताबाट आएको हुँ । सन्कट्टीमा पनि अवस्था उस्तै रहेछ”, धामी भन्नुहुन्छ, “मानिसको निकै चाप छ, त्यसैमा पनि सवारीसाधनले भरिएको डुङ्गामा यात्रा गर्दा पारि पुग्न पाइन्छ कि पाइँदैन भन्ने ठूलो डर ।” चाडपर्वको समयमा नदी वारपार गर्ने नागरिकको निकै भीड लाग्ने गरेको छ । एकपटकमा १५ देखि २० जनासम्मलाई नदी तार्न सक्ने डुङ्गामा त्यहीँ मात्रामा सवारीसाधन पनि भरिएका हुन्छन् । नदी वारपार गर्ने अर्को विकल्प नहुँदा स्थानीयवासी जोखिम मोलेरै यात्रा गर्न बाध्य छन् । एउटा व्यक्तिले नदी तर्दा रु २५ र मोटरसाइकलको रु ५० तिर्नुपर्छ । नदीसम्म सवारीसाधन नभएकालाई पुग्न अझ कठिन छ । टीकापुरबाट नदीसम्म पुग्नका लागि एकमात्र विकल्प बनेको छ अटोरिक्सा । नदीसम्म पुगेको एक यात्रुको रु पाँच सयसम्म रिक्सा चालकले लिने गरेका छन् । टीकापुरका मनोज चौधरी विगत तीन वर्षदेखि त्यहीँ मार्गमा अटोरिक्सा चलाउनुहुन्छ । टीकापुरदेखि सन्कट्टीसम्म पुर्याएको रु पाँच सय लाग्ने गरेको छ । नदी तरेर पारि बर्दिया क्षेत्रमा पुगेपछि पनि अटोरिक्साभन्दा अर्को सवारीसाधनको विकल्प छैन । त्यहाँबाट शान्तिबजार पुगेको पनि रु पाँच सय तिर्नुपर्ने बाध्यता छ । अस्तव्यस्त सडकका कारण रिक्साको भाडा महँगो हुन गएको उहाँ बताउनुहुन्छ । “बाटो निकै अप्ठ्यारो छ, पेट्रोल महँगो छ । ”, मनोज भन्नुहुन्छ, “बाटो राम्रो भए समयमै यात्रुलाई पु¥याउन सकिन्छ, । बाटोकै कारण यात्रु मारमा परेका छन् तर हाम्रो पनि बाध्यता छ ।” बर्दियाको गेरुवा गाउँपालिका र राजापुर नगरपालिकासँग टीकापुरको सम्बन्ध पारिवारिक र व्यापारिकरूपमा नजिक छ । हुलाकी राजमार्गअन्तर्गत सत्तीमा पुल निर्माण भएको भए पनि त्यहाँको भन्दा बढी आवागमन सन्कट्टी र दौलतपुरबाट हुने गरेको छ । त्यहाँ दुवै क्षेत्रमा वर्षौँदेखि डुङ्गा सञ्चालन हुँदै आएको छ । स्थानीय सरकारले डुङ्गा सञ्चालन गरेवापत राजस्व सङ्कलन गर्दै आएको छ । सनकट्टीमा पुल निर्माणका लागि गत आर्थिक वर्षमा नै बोलपत्र आह्वान भएर ठेक्कासमेत भएको छ । ठेक्का भएको पुल निर्माणको कुनै प्रक्रिया अहिलेसम्म नभएको भन्दै स्थानीयवासीले गुनासो गर्दै आएका छन् । पुल निर्माण भएपछि सहजरुपमा आवागमन गर्न सक्ने भन्दै पुल निर्माणको काम समयमै सम्पन्न गर्न स्थानीयवासीको माग छ ।