पोखरा:  भौतिक पूर्वाधार तथा यातायात व्यवस्था मन्त्री प्रकाशबहादुर केसीले गण्डकी प्रदेशमा समावेशी, सन्तुलित र दिगो विकास सुनिश्चित गर्न मन्त्रालय प्रतिबद्ध रहेको बताउनुभएको छ । भौतिक पूर्वाधार विकास तथा य...

काठमाडौं : जिल्ला अदालत काठमाडौंले बलात्कार आरोपमा पक्राउ परेका क्रिकेटर सन्दीप लामिछानेलाई सात दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको छ ।   गत भदौ ५ गते १७ वर्षीया नाबालिगमाथि बलात्कार गरेको आरोप लागेका सन्दीपलाई २० असोजमा प्रहरीले पक्राउ गरेको थियो । तर दशैंको बिदा परेका कारण अदालत बन्द भएकाले आज मात्र उनलाई अदालतमा उपस्थित गराइएको हो ।   कतारको दोहाबाट बिहीबार बिहान काठमाडौंस्थित अन्तर्राष्ट्रिय विमानस्थल ओर्लिएलगत्तै सन्दीप पक्राउ परेका थिए ।   काठमाडौंको गौशालास्थित एक होटलको कोठामा राखेर सन्दीपले आफूलाई बलात्कार गरेको गरेको भन्दै ती नाबालिगले गत भदौ २१ गते प्रहरी वृत्त गौशालामा उजुरी गरेकी थिइन् । त्यतिबेला सन्दीप क्यारेबियन लिग क्रिकेट खेल्न नेपाल बाहिर थिए ।   उनीविरुद्ध उजुरी परेपछि नेपाल क्रिकेट संघ क्यानले सन्दीपलाई नेपालको राष्ट्रिय क्रिकेट टोलीको कप्तानबाट निलम्बन गरेको थियो । उनलाई पक्राउ गर्न नेपाल प्रहरीको आग्रहमा अन्तर्राष्ट्रिय प्रहरी संगठन (इन्टरपोल)ले डिफ्युजन नोटिस जारी गरेको थियो ।  इन्टरपोलको निशानामा परेलगत्तै उनी काठमाडौं फर्किएका थिए ।

गलकोट  :  निरन्तरको वर्षाका कारण बागलुङ नगरपालिका–८ सिगानाको स्वास्थ्यचौकी जोखिममा परेको छ ।   स्वास्थ्यचौकीमुनि निरन्तररूपमा जमिन भासिने र पहिरो जाने भइरहेकामा निरन्तरको वर्षाका कारण पुनः पहिरो गएका कारण स्वास्थ्यचौकी उच्च जोखिममा परेको हो । निरन्तरको वर्षाले स्वास्थ्यचौकी भवनमुनि पहिरो गएका कारण स्वास्थ्यचौकीको भवनसमेत चर्किएको छ । चार वर्ष पहिला निर्माण भएको स्वास्थ्यचौकीको भवन पहिराको कारण उच्च जोखिममा पारेको बागलुङ नगरपालिका–८ सिगानाका वडाध्यक्ष राजु कार्कीले जानकारी दिनुभयो ।    बागलुङ नगरपालिकाबाट लामाचौर हुँदै बौडैचौर जाने सडकको घुम्तीबाट दुई वर्षअघि पहिरो खसेको थियो । निरन्तरको वर्षाका कारण अहिले थप पहिरो गएर स्वास्थ्यचौकीसम्मकै भाग चर्किएको कारण स्वास्थ्यचौकी जोखिममा रहेको कार्कीको भनाइ छ ।   भिरालो जमिनमाथि स्वास्थ्यचौकी भवन निर्माण गरेका कारण अहिले उक्त स्वास्थ्यचौकी नै विस्थापित हुने अवस्थामा पुगेको छ । स्वास्थ्यचौकीको पहिराले बागलुङ बजारबाट सिगाना हुँदै लामीचौर जाने सडकसमेत पटक–पटक अवरुद्ध हुँदै आएको छ ।   गत वर्ष पहिरो रोकथाका लागि केही पूर्वाधार निर्माण गरे पनि अहिले उक्त संरचनासहित पहिरो गएको वडाध्यक्ष कार्कीले बताउनुभयो । कार्कीका अनुसार पहिरो मर्मतका लागि ठूलो रकम खर्च लाग्ने भएकाले बजेटका लागि नगरपालिकासँग पहल भइरहेको छ । “गत वर्ष पहिरो रोक्न केही काम गरेका थियौँ, अहिलेको पहिराले गत वर्षका काममा क्षति बनाएको छ, वडामा रु ५० लाखको बजेट छ तर त्यसलाई स्वास्थ्यचौकी संरक्षण अथवा अन्तै खर्च गर्ने भन्ने विषयमा छलफल भइरहेको छ”, उहाँले भन्नुभयो, “निरन्तरको वर्षापछि पहिराले स्वास्थ्यचौकीसम्मै क्षति पुर्‍याएको छ ।”   रु एक करोड ८२ लाखको लागतमा निर्माण गरिएको सो भवन वातावरणीय मूल्याङ्कनबिनैै निर्माण गर्दा समस्या भएको हो । स्वास्थ्यचौकीको झण्डै सय मिटर तलदेखि स्वास्थ्यचौकीसम्मै पहिरो गएर जमिन चिरा–चिरा पारेको स्वास्थ्यचौकीका प्रमुख शान्ता शर्माले बताउनुभयो । पहिराले स्वास्थ्यचौकी मुनिका तीन घरसमेत जोखिममा पार्दै आएको छ ।

काठमाडौं  :  नाबालिगमाथि जबरजस्ती करणी गरेको जाहेरीका आधारमा बिहीवार पक्राउ परेका क्रिकेटर सन्दीप लामिछानेलाई म्याद थपका लागि आज काठमाडौं जिल्ला अदालतमा उपस्थित गराइँदैछ ।    बिदाका कारण अदालत बन्द रहेकाले आजमात्रै म्याद थपका लागि अदालत लैजान लगिएको हो । कतारको दोहाबाट बिहीवार बिहान ११ बजे काठमाडौंस्थित अन्तर्राष्ट्रिय विमानस्थल ओर्लिएपछि प्रहरीले सन्दीपलाई पक्राउ गरेको थियो ।    १७ वर्षीया एक किशोरीले बलात्कृत भएको भन्दै उनीविरुद्ध २० भदौमा प्रहरी वृत्त गौशालामा किटानी जाहेरी दर्ता गरेकी थिइन् ।

काठमाडौं  ः आगामी मंसिर ४ गते हुने प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्य निर्वाचन अन्तर्गत आइतबार मनोनयन दर्ता गराएका उम्मेदवारहरुको विरोधमा आज उजुरी दिन सकिने निर्वाचन आयोगले जनाएको छ ।   कुनै उम्मेदवार कानुनी रुपमा अयोग्य छ भन्ने लागेमा त्यस्ता उम्मेदवारविरुद्ध उजुरी दिनका लागि आज बिहान १० बजेदेखि दिउँसो ३ बजेसम्मको समय निर्धारण गरिएको छ ।   त्यस्तै मनोनयपत्र र उजुरीउपर जाँचबुझ गरी निर्णय गर्ने समय असोज २४ गते अपरान्ह ३ बजेदेखि २५ गते साँझ ५ बजेसम्म तोकिएको आयोगको निर्वाचन कार्यतालिका उल्लेख छ ।   उम्मेदवारहरुको नामावली प्रकाशन गर्न असोज २५ गते साँझ ५ बजेदेखि ७ बजेसम्म छ । आइतबार मनोनयन दर्ता गराएका उम्मेदवारहरुले आफ्नो नाम फिर्ता लिने भए असोज २६ गते बिहान १० देखि दिउँसो १ बजेसम्मको समय दिइएको छ । त्यसपछि प्रतिनिधि सभा र प्रदेश सभा सदस्य निर्वाचनमा प्रत्यक्षतर्फ प्रतिस्पर्धा गर्ने उम्मेदवारहरुको अन्तिम नामावली २६ प्रकाशन गर्ने निर्वाचन आयोगले जनाएको छ ।   अन्तिम नामावलीमा रहेका उम्मेदवारहरुलाई २६ गते अपराह्न ४ बजेदेखि साँझ ७ बजेसम्म चुनाव चिह्न वितरण गरिने आयोगको कार्यतालिका छ ।

पोखरा : मंसिर ४ गते हुने प्रतिनिधि सभा निर्वाचनका लागि कास्की क्षेत्र नम्वर २ मा शिरीष गुरुङले स्वतन्त्र उम्मेदवारी दर्ता गरेकी छिन् ।    कास्की क्षेत्र नम्बर २ मा पाँच दलिय गठबन्धनबाट श्रीनाथ बराल , नेकपा एमालेबाट विद्या भट्टराईसँगै गठबन्धन विरुद्ध नेपाली कांग्रेसका नेता तथा पूर्व  राज्यमन्त्री महादेव गुरुङले बागी उम्मेदवारी दर्ता गरेका छन् ।    गठबन्धन, एमाले र बागी उम्मेदवारीसँगै शिरीष गुरुङले आइतबार लौरो चिन्ह लिएर निर्वाचन अधिकृतको कार्यालय गएर स्वतन्त्र उम्मेदवारी दर्ता गरेकी हुन् ।   

पोखराः हिन्दुहरुले भव्य रूपमा मनाउने दुर्गा पक्ष अर्थात् बडादसैँ पर्व धनधान्य एवं सम्पन्नताकी देवी महालक्ष्मीको पूजाआराधनासहित रात्रिमा जाग्राम बसेपछि आजदेखि समापन हुँदैछ ।   आश्विन शुक्ल पूर्णिमाका दिन मनाइने कोजाग्रत पूर्णिमा आज साँझ सम्पन्नताकी देवी महालक्ष्मीको पूजाआराधना गरी रातभर जाग्राम बसेर मनाएसँगै १५ दिन लामो दसैँ सकिने भएको हो ।   शास्त्रअनुसार गर्नुपर्ने सबै बलिपूर्ति अर्थात् अखिल बलिपूर्तिको काम पनि आजै समापन हुने नेपाल पञ्चाङ्ग निर्णायक समितिले जनाएको छ ।   अखिल बलिपूर्ति भएसँगै विजयादशमीदेखि सुरु भएको नवदुर्गाको प्रसाद स्वरूप टीका र जमरा लगाई मान्यजनबाट आशीर्वाद लिने क्रम पनि आजैदेखि समाप्त हुन्छ । आजै जमरालाई नजिकको नदी, तलाउ, पोखरी आदि तीर्थस्थलमा लगी सेलाइन्छ ।   आश्विन शुक्ल प्रतिपदाका दिनदेखि सुरु भएको दसैँ पर्व आम नेपालीले आ–आफ्नो गच्छे, मूल्यमान्यता र परम्परा अनुसार मनाउने गर्दछन् ।   आजको दिन सायंकालमा महालक्ष्मीको पूजा आराधना गरी राति जाग्राम बसेको मानिसका घरमा पृथ्वी भ्रमण गर्दै हिँडेकी महालक्ष्मी प्रवेश गरी धन, ऐश्वर्य दिई सम्पन्न बनाउँछिन् भन्ने धार्मिक विश्वासका आधारमा यो पर्व मनाउन सुरु गरिएको हो ।   माता दुर्गाका तीनवटा रूपमध्येको एक रूप महालक्ष्मीको पूजा गरेर आज दुर्गा पक्षलाई बिदा गरिन्छ ।

दाङको देउखुरीमा मोटरसाइकल दुर्घटना हुँदा दुई सशस्त्र प्रहरीको मृत्यु भएको छ ।   पूर्वपश्चिम राजमार्गअन्तर्गत राप्ती गाउँपालिका–३ मुसरियामा शुक्रबार राति करिब १० बजे लु४०प ४९२२ नम्बरको मोटरसाइकल दुर्घटना हुँदा त्यसमा सवार भालुवाङस्थित सशस्त्र प्रहरी बल ज्वालामाई गण २९ नम्बरमा कार्यरत दुवै सशस्त्र प्रहरीको मृत्युु भएको हो ।   मृत्यु हुनेमा लमही नगरपालिका–१ का लहानु चौधरी र राप्ती गाउँपालिका– ६ का सुलेश चौधरी रहेका छन् । दुर्घटनामा परी लहानुको घटनास्थलमै र सुलेशको उपचारका लागि कोहलपुर लैजाने क्रममा मृत्यु भएको सशस्त्र प्रहरी उपरीक्षक विनोद केसीले जानकारी दिनुभयो ।   मृतकद्वय लगातारको वर्षाका कारण देउखुरीका विभिन्न ठाउँमा उद्धारमा खटिएका र डिउटी सकाएर गणमा फर्किने क्रममा दुर्घटनामा परेका उहाँले जानकारी दिनुभयो । घटनाबारे थप अनुसन्धान भइरहेकोे बताइएको छ ।

चार दिनदेखि निरन्तर परेको वर्षाका कारण मध्यपहाडी लोकमार्गअन्तर्गत बुर्तिबाङ–पूर्वी रुकम खण्ड पूर्ण रुपमा अवरुद्ध भएको छ ।   सडक खण्डको निसीखोला गाउँपालिका–४ जिरीखोला, कालापैराखोलालगायत दर्जनौँ स्थानमा माथिदेखि झरेको पहिराले सडक अवरुद्ध हुँदा सयौँ यात्रु अलपत्र परेका छन् । बुर्तिबाङ बजारदेखि छोटो तथा लामो दूरीमा सञ्चालन हुने सवारी साधानसमेत ठप्प बनेका छन् । लोकमार्गमा बिहीबारदेखि नै सवारी साधानहरु ठप्प भएका छन् भने आधा दर्जन गाडीहरु पहिरोमै फसेका छन् ।   पहिरामा फसेका सवारी साधन निकाल्ने प्रयास भए पनि निरन्तर वर्षा भइरहेको हुँदा निकाल्न नसकिएको बस चालक प्रकाश सेन्चुरीले बताउनुभयो । उहाँले आफू ३७ जना यात्रु लिएर रुकुमदेखि काठमाडौँ हिँडेको भन्दै कालापैराको पहिरामा फसेको बताउनुभयो । सेन्चुरीले दसैँ मनाएर काठमाडौँ फर्किएका यात्रु लिएर आएको बताउनुहुन्छ ।   “दसैँको अघिल्लो दिनदेखि परेको पानीले सडक हिलाम्मे बनाएको छ, मेरो गाडी पहिरामा फसेको दुई दिन हुन लाग्यो, ३७ जना प्यासेन्जर लिएर काठमाडौँ हिँडेको पहिरामा गाडी फसेर तनाव भयो”, उहाँले भन्नुभयो । रुकुमदेखि काठमाडौँ हिँड्नुभएका प्रेम पुन मगरले पहिराका कारण आफूहरु अलपत्र परेको बताउनुभयो ।   उहाँले सानो बजार नजिकै पहिरामा गाडी फसेपछि बास पाउनसमेत मुस्किल परेको बताउनुभयो । घर्ती भन्नुहुन्छ, “यस्तो समस्यामा परिन्छ भनेको भए त पानी बिदो भएपछि हिँड्ने थियौँ, काठमाडौँ पुग्न हतार थियो र हिँडियो, अहिले बीच बाटोमा अलपत्र परियो, यो पहिरो कहिले पन्छाएर बाटो खुलाउने हो, पानी परिरहेको छ, गाह्रो हुने भयो ।”   पहिराले सडक पूर्ण रुपमा अवरुद्ध हुँदा जिरीखोला र कालापैरा खोलाको पहिरो छेउमा सयौँको सङ्ख्यामा यात्रुहरु अलपत्र छन् । लोकमार्गको वैकल्पिक सडक पनि ठप्प हुँदा यात्रुहरु समस्या पर्नु परेको स्थानीय मनप्रसाद पौडेले बताउनुभयो । उहाँले लोकमार्गभन्दा पारिपट्टिको सडक खुलेको भए यात्रुहरु यसरी सडकमा अलपत्र पर्नुपर्ने बताउनुभयो ।   “गाउँपालिकाले पारिपट्टिको सडक सञ्चालन गर्नुपथ्र्यो, अहिले यसरी सयौँ मान्छेहरुबीच बाटोमा अलपत्र पर्नु परेको छ, पारिको सडक खुलेको भए त बुर्तिबाङ त पुग्न सक्थे नि”, उहाँले भन्नुभयो, “यो सडक खुल्ने कहिले हो, नखुल्दासम्म यात्रुहरुलाई धेरै समस्या हुने भयो, खुलाउने प्रयास त गरेका छन्, कति बेला खुल्ने हो अब ?”   बुर्तिबाङदेखि रुकुम र रुकुमदेखि काठमाडौँ, बागलुङ, पोखरा जाने गाडीहरु लोकमार्गको छेउछाउमा रोकिएका छन् भने यात्रुहरु भोकले ब्याकुल बनेका छन् । नजिक होटल तथा पसल नहुँदा आफूहरुले समस्या भोग्नु परेको यात्रु गोमा सुनारले बताउनुभयो । उहाँले पैसा भएर पनि होटल पसलहरु नजिक नहुँदा भोकै बस्नु परेको बताउनुभयो ।   “निकै समस्यामा परियो, दसैँ मानेर मात्रै पोखरा हिँडेको, पोखरामा आफन्तहरु हुनुहुन्छ, टीका लगाउन जान थालेको, हिजो दिउसोदेखि यहाँ आएर रोकिएको अहिलेसम्म यहीँ छौँ, नजिकमा होटल पसल पनि भेटिएन, भोकले मर्न लागियो, डोजरले बाटो खुलाउन त लागेको छ, यहाँ मात्रै रैनछ पहिरो धेरै ठाउँमा गएको रैछ”, सुनारले भन्नुभयो ।   निसीखोला गाउँपालिका–४ का वडाध्यक्ष टीकानिधि पौडेलले सडक खुलाउने प्रयास गरिरहे पनि वर्षाले गर्दा पहिरो खसिरहेको बताउनुभयो । उहाँले केही स्थानको पहिरो पन्छाए पनि अझै केही स्थानमा हटाउन बाँकी रहेको बताउनुभयो । वर्षा नरोकिँदा निरन्तर पहिरो झरिरहेको उहाँको भनाइ छ ।   “हिजोदेखि नै हामीहरुले सडक खुलाउन थालेका थियौँ, हिजो केही ठाउँमा खुलाएका थियौँ, रातभरिको वर्षाले फरि पहिरो झरेर सडक अवरुद्ध बनाएको छ, हामीहरु निरन्तर छाता ओढेर भए पनि सडक खुलाउन लागिरहेका छौँ”, अध्यक्ष पौडेलले भन्नुभयो, “वर्षा नै रोकिएन, यसले थप समस्या बनायो, यात्रुहरुलाई पनि निकै समस्या भएको छ, पानी रोकियो भने त सडक खुलाउन धेरै समय लाग्ने थिएन ।”

नारायणी नदीको सतहले फेरि खतराको तह पार गरेको छ ।   बिहान घट्दो अवस्थामा रहेको नारायणी बिहान ११ः५५ बजेको समयमा फेरि खतराको तह पार गरेको छ । देवघाट मापन केन्द्रमा नारायणीका तह ९ दशमलब ०८ मिटर पुगेको छ । यस क्षेत्रमा ९ मिटरलाई खतराको तह मानिन्छ ।   यस्तै नारायणी नदी पुल क्षेत्रमा अहिलेसम्मकै धेरै पानीको सतह १२ मिटर पुगेको छ । यहाँ ११ मिटर पुग्नासाथ खतराको तह सङ्केत हुन्छ । पानीको तह निरन्तर बढिरहेको केन्द्रले जनाएको छ ।   जिल्ला प्रशासन कार्यालय चितवनले नदी आसपासका बासिन्दालाई सतर्क रहन सूचना जारी गरेको कार्यालयका सूचना अधिकारी आनन्दवंश न्यौपानेले जानकारी दिनुभयो । नारायणी नदीमा पानीको बहाव बढ्दा पश्चिम चितवन र नवलपुर क्षेत्रमा बाढीको खतरा हुन्छ ।   भरतपुर महानगरपालिकाले नदी तटीय क्षेत्रका स्थानीयलाई सतर्क रहन आग्रह गरेको छ । आपत्कालीन सञ्चालन केन्द्र तथा विपद् व्यवस्थापन शाखाका प्रमुख बालकृष्ण थपलियाले नारायणीमा पानीको सतह बढ्दै गएकाले उच्च सावधानी अपनाउन आग्रह गर्नुभयो ।   भरतपुर महानगरका २९ वडामध्ये १२ वडाहरु बाढीको जोखिममा छन् । राप्ती र नारायणी दुवै नदिको तटीय क्षेत्र भरतपुर २७ र २८ नं वडामा बढी जोखिम छ । वडा नं १, ३, ५, १६, १८, २६, २७, २८ वडाका नारायणी नदीको तटीय क्षेत्रमा पर्ने बस्तीहरुमा जोखिम रहेको छ ।   यस्तै वडा नं २२, २३, २४, २५ र २८ का राप्ती नदीको तटीय क्षेत्रका बस्तीहरु पनि जोखिममा छन् ।