ललितपुर:  प्रधानमन्त्री के पी शर्मा ओलीले नेपालमा सञ्चालन हुने सबै सामाजिक सञ्जाल कानुनी दायरामा आउनुपर्ने बताउनुभएको छ । आइसिटी फाउण्डेशनद्वारा आज आयोजित ‘डिजिटल नेपाल कन्क्लेभ २०२५’ को...

काठमाडौं  : सूर्यदेवको श्रद्धा भक्तिपूर्वक आराधना र पूजा गरी मनाइने छठ पर्व आज बिहान उदाउँदो सूर्यलाई अघ्र्य दिएपछि सम्पन्न भएको छ ।   उदाउँदो सूर्यलाई गाईको दूध, फूल र जलले अघ्र्य दिएपछि छठ सम्पन्न हुने धार्मिक विधि छ । यसरी घाटमा गरिने पूजालाई भिन्सरघाट भनिन्छ । बिहानै घाटमा गरिने पूजा भएकाले भिन्सरघाट भनिएको हो । सूर्योदयकालमा अघ्र्य दिई सूर्यको दर्शन गरेपछि छठ पूजा सकिन्छ । सूर्यको दर्शन गर्दा भक्तहरु लुगासहित कम्मरसम्मको पानीमा डुबेर सूर्य दर्शन गर्ने विधि छ ।    पृथ्वीमा भएका जीवको सञ्चालन र संरक्षण जल एवं सूर्यबाट भएकाले नदीलाई माता, सूर्यलाई सम्पूर्ण शक्तिको स्रोतका रुपमा मानी विशेष पूजा गर्ने गरिएको धार्मिक विश्वास छ । कार्तिक शुक्ल पक्षमा सूर्यको पूजा गर्नाले मनोकांक्षा पूरा भई इच्छाएको फल प्राप्त हुने धार्मिक विश्वासको चर्चा शास्त्रमा गरिएको धर्मशास्त्रविद् प्रा डा रामचन्द्र गौतमले बताउनुभयो । सूर्यषष्ठीसमेत भनिने कार्तिक शुक्ल षष्ठीमा सूर्यको पूजा आराधना गर्ने निर्देश शास्त्रमा गरिएको उहाँले जानकारी दिनुभयो ।   यस अवसरमा सूर्य पूजा र दर्शन गरी विवाहिता महिला, पुरुषले पति, पत्नीको दीर्घायु एवं अविवाहिताले सुयोग्य वर, वधु प्राप्तिको कामनाका लागि गर्छन् । सन्तान प्राप्तिको कामनाले यो पर्व मनाउनेको सङ्ख्या पनि धेरै छ । यो व्रतले मनले चिताएको पूरा हुने धेरै भक्तजनको विश्वास छ ।    कार्तिक शुक्ल चतुर्थीदेखि सप्तमीसम्म मनाइने सूर्यदेवको आराधना, उपासना र पूजाको पर्व शुक्रबारदेखि सुरु भएको हो । चतुर्थीमा स्नान गरी चोखो खाएर बसिन्छ । यस दिनबाट छठ पर्व नसकिएसम्म बर्तालुले माछा, मासु, लसुन, कोदो, फापर, मुसुरो, आदि नखाने विधि छ । कार्तिक शुक्ल सप्तमीका दिनअर्थात् आज बिहान उदाउँदो सूर्यलाई पूजासहित अघ्र्य दिएपछि यो पर्व सम्पन्न भएको हो ।       मनोकांक्षा पूरा हुने विश्वासमा विशेष गरी महिलाले छठमा कठोर व्रत गर्ने गर्छन् । विशेष गरी तराईमा मनाइने मिथिला संस्कृतिमा आधारित छठ पर्व विसं २०४६ पछि काठमाडौँलगायत पहाडी क्षेत्रमा समेत मनाउन थालिएको हो । विसं २०६३ पछि भने काठमाडौँको थापाथली, गौरीघाट र रानीपोखरीमा पनि विशेष महत्वका साथ मनाउन थालियो । विसं २०७२ वैशाख १२ गतेको भूकम्पपछि रानीपोखरीमा भने छठ हुन छोडेको छ । पछिल्लो समय कमलपोखरीमा भने भव्यरुपमा छठ हुन थालेको छ ।   छठका लागि आइबार गुह्येश्वरी, कमलपोखरी, थापाथलीलगायत स्थानमा निर्माण भएको छठ घाटलाई बेहुलीझैँ सिँगारिएको थियो । आज बिहान यी स्थलमा उदाउँदो सूर्यलाई अघ्र्य दिई छठ सम्पन्न भयो । आइतबार बेलुकी अस्ताउँदो सूर्यलाई जस्तै आज बिहान उदाउँदो सूर्यलाई अघ्र्य दिन पनि बर्तालुमात्र राजधानीका छठ घाट गएका थिए । धेरै बर्तालु रातभर गुह्येश्वरी गौरीघाट क्षेत्रमा जाग्राम बसेको छठ पूजा समितिका अध्यक्ष अनिल सिंहले जानकारी दिनुभयो ।   सर्वप्रथम छठीमाताले सूर्यदेवलाई खुसी पारी यो पर्व मनाउन थालिएको धार्मिक विश्वास छ । महाभारतकालमा द्रोपदीसहित पाण्डव अज्ञातवासमा रहँदा सफल होस् भनी सूर्यदेवलाई आराधना गरेका थिए । पाण्डव मिथिलाको विराट राजाका दरबारमा बसेका बेला गरेको सूर्य पूजाका प्रभावले अज्ञातवास सफल भएको विश्वासमा यो पर्व मनाउन सुरु गरिएको भन्ने भनाइ छ ।      सूर्य पुराणमा उल्लेख भएअनुसार सर्वप्रथम अत्रिमुनिकी पत्नी अनुसुयाले छठ व्रत गरेकी थिइन् । फलस्वरूप उनले अटल सौभाग्य र पतिप्रेम प्राप्त गरिन् । त्यही बेलादेखि ‘छठ पर्व’ मनाउने परम्पराको सुरुआत भएको जनविश्वास रहेको छ ।

तनहुँ : व्यास नगरपालिका–१० स्थित कुमालटारी, माथिल्लोबाटे गाउँका बोटेहरू यतिबेला नदी किनारमा सुन खोज्न नदीतर्फ लागेका छन् ।    नेपालीहरूको महान् पर्व दशैँ र तिहार चाड मनाउँदा लागेको ऋण तिर्न नदी किनारका बालुवा चालेर सुन खोज्न उनीहरू घरबाट निस्किएका हुन् । दशैँ र तिहार मनाउँदा करिब रु ३० हजार ऋण लागेकाले साहुलाई तिर्न सुन खोज्न नदी किनारतर्फ हिँडेको ५७ वर्षीय मेखलाल बोटेले जानकारी दिनुभयो ।    आर्थिक अवस्था कमजोर रहेका यहाँका अधिकांश बोटे दशैँ र तिहारमा मासु, नुन, तेल र छोराछोरीको लत्ता, कपडालगायत साहुसँग ऋण लिएर मनाउने गरेको उहाँले बताउनुभयो ।    साहुको ऋण तिर्नका लागि नदी किनारमा बालुवा चालेर फेला परेको सुन बिक्री गरेर तिर्ने गरिएको छ । उहाँले भन्नुभयो, “दुई ठूला चाडपर्व मान्दा लागेको ऋण बालुवामा सुन खोजेर बिक्री गरेर साहुलाई तिर्ने पुरानो चलन रहिआएको छ ।”   क्रसर उद्योगले नदी किनारमा थुप्रिएका बालुवा उठाइदिँदा पछिल्लो समय सुन पाउन कठिन हुने भएकाले साहुको ऋण कसरी तिर्ने भन्ने चिन्ता पनि उत्तिकै रहेको त्यस क्षेत्रका बोटेहरू दुःखेसो पोख्छन् ।    सीमान्तकृत बोटे समुदायको बालुवामा सुन खोज्ने पुख्र्यौली पेसा भएकाले यस कार्यलाई निरन्तरता दिँदै आएका छन् । काम गर्न सक्नेहरू ओढ्ने ओछ्याउने र पकाउने भाँडाकँुडाका गुन्टाहरू कसेर नदी किनारमा नै पाल टाँगेर बसेर सुन खोज्ने कार्यमा लाग्ने अस्मिता बोटेले जानकारी दिनुभयो ।    काम गर्न नसक्ने बूढाबूढी र केटाकेटीलाई घरमा छाडेर जाने  गर्दछन् । अधिकांश बोटे घरपरिवार गर्मी समयमा खेती गर्ने र हिउँद लागेपछि नदीमा सुन खोजेर जीविकोपार्जन गर्ने गर्दछन् ।     बोटेहरू कात्तिकदेखि वैशाखसम्म सुन खोज्न नदी किनार धाउने गर्दछन् । तनहुँका मादी, सेती नदीमा सुन पाउन छाडेपछि त्यस क्षेत्रका ४० घर बोटेमध्ये अधिकांश बोटे कालीगण्डकी, बूढीगण्डकी, मस्र्याङ्दी र त्रिशूलीको बालुवामा सुनका कण खोज्न किनारामा जाने गरेको अस्मिता बोटेले बताउनुभयो ।    नदी किनारमा जाँदा सुन चाल्न प्रयोग गरिने डुड, पार्टी, चनौटोलगायतका सामान लिएर सुन खोज्न जाने गर्दछन् । कुमालटारी क्षेत्रमा पाखे बोटे र पानी बोटे गरी करिब ९० घरपरिवार बसोबास गर्दै आएका छन् । पाखे बोटेले माछा मारेर र पानी बोटेले बालुवामा सुन खोजेर गुजारा चलाउँदै आएको सोममाया बोटेले जानकारी दिनुभयो ।    बोटेहरू माछा मार्ने जाली पनि साथ लिएर जान्छन् । नदीकै किनारमा बस्ने, माछाको परिकार बनाएर खाने र सुन खोज्ने कार्यमा तल्लीन भएर लाग्ने उहाँले बताउनुभयो । 

मकवानपुर  : छठ पर्वको तेस्रो दिन आज मकवानपुरको हेटौँडामा श्रद्धालु भक्तजनहरुले अस्ताउँदो सूर्यलाई अर्घ्य दिएर मनाएका छन् ।   आज बिहानै नुवाइधुवाई गरी निराहार व्रत बसेका बर्तालुहरूले हेटौँडा उपमहानगरपालिका–१ राप्ती नदीको किनारमा जम्मा भई अस्ताउँदो सूर्यलाई अर्घ्य दिनुभएको हो ।   सूर्यदेवकोे पूरा उपासनासँगै बर्तालुहरुले व्रत सङ्कल्प गरेको भाकलअनुसारको विभिन्न परिकार तथा फलफूल, दूध, माटाको हात्ती, ढकनी, चढाएका छन् । यसो गर्नाले आफ्नो मनोकामना पूरा हुने धार्मिक विश्वास रहिआएको छ ।   भक्तजनहरूलाई रातभरि जाग्राम बस्नका लागि छठ पूजा व्यवस्थापन समितिले छ सय फिट लामो पण्डाल र पाल टाँगेको समितिका संयोजक सुशील सनुरियाले जानकारी दिनुभयो ।   हजारौँको सङ्ख्यामा भक्तजनहरूको उपस्थिति हुने भएकाले सुरक्षा चुनौती नहोस् भन्नका लागि जिल्ला प्रहरी कार्यालय मकवानपुरसँग समन्वय गरी सिभिल र पोसाकमा बाक्लो सङ्ख्यामा प्रहरी खटाइएको समेत उहाँले जानकारी दिनुभयो ।

  जनकपुर । छठ पर्वका लागि मधेस–प्रदेशको राजधानी जनकपुरधाममा मात्र रु तीन करोड बराबरको केरा भारतबाट आयात गरिएको छ । छठ पर्वका बर्तालुका लागि केरा अत्यावश्यक मानिन्छ । केरा उत्पादनका लागि नेपाली भूमि राम्रो मानिए पनि यहाँको उत्पादनले कुनै वर्ष पनि पुग्दैन ।     छठ पर्वमा सिङ्गै केराको घरी नै भगवानलाई अघ्र्यकारूपमा चढाउने परम्परा छ । छठमा केराको माग उच्च हुने र आपूर्ति कम हुनेहुँदा हरेक वर्ष आयात गर्नुपर्ने जनकपुर फलफूल तथा तरकारी व्यवसायी समितिका अध्यक्ष विश्वेश्वर यादवले बताउनुभयो ।     स्थानीयस्तरमा मागअनुसार उत्पादन नभएपछि बाहिरबाट केरा मगाउनुपरेको उहाँले बताउनुभयो । अध्यक्ष यादवले अघिल्लो वर्ष पौने दुई करोड रुपैयाँभन्दा बढीको केरा जनकपुर भित्र्याइएको बताउनुभयो । “यस वर्ष भित्र्याइएका केरा झण्डै ६० ट्रक छन्”, उहाँले भन्नुभयो ।     जनकपुरमा गोपाल र वंशीभोग केरा नेपालको सप्तरी जिल्लास्थित भारदह, भन्टाबारी तथा इनरुवाबाट भित्र्याइएको छ । मालभोग, मिरिचमान, चम्पा केरा भारतको आसाम, गोहाटी, बङ्गाल, हाजिपुर, ठाकुरगञ्ज र चम्पारणबाट मगाउने गरिएको फलफूल तथा तरकारी व्यवसायी समितिका सचिव भुवनेश्वर पूर्वेले जानकारी दिनुभयो । छठ पर्वसँगै अघिल्लो वर्षको तुलनामा यस वर्ष २५ प्रतिशतले केराको भाउ महँगिएको पूर्वेले बताउनुभयो ।     पूर्वेले भन्नुभयो, “छठ पर्व मनाउने सङ्ख्या प्रत्येक वर्ष वृद्धि भएकाले केराको माग पनि बढेको हो । यसैले बजारको मागअनुसार गत वर्षको तुलनामा यस वर्ष १५–२० ट्रक बढी ६० ट्रकजति केरा मगाइएको छ ।”     फलफूल तथा तरकारी व्यवसायी समितिका अध्यक्ष विश्वेश्वर यादवका अनुसार १० चक्काको ट्रकमा एक हजार दुई सय घरी केरा आउँछ । प्रतिट्रक बराबर जनकपुरसम्म ल्याउँदाको खर्च रु छ लाख पर्छ । बजारमा प्रत्येक केराको घरीलाई पाँचसयदेखि एक हजार रुपैयाँभन्दा बढी मूल्यमा बिक्री गरिन्छ ।       नेपालको हरेक क्षेत्रमा स्थानीय जातका केरा उत्पादन हुन्छ । केरा उत्पादनका लागि तराई–मधेस वा समग्र नेपालको भूमि राम्रो मानिन्छ । तर केराको आवश्यकता हुने चाडपर्वका समयमा समेत भारतकै भरपर्नुपर्ने अवस्था छ । नेपालमा मालभोग, झापाली मालभोग, विलियम हाइब्रिड रोवस्टा, विलियम हाइब्रिडलगायत जातका केराखेती उत्पादन हुँदै आएको छ ।     सम्भावना हुँदाहुँदै पनि प्राविधिक समस्याका कारण केराको उत्पादन बढाउन नसकिएको व्यवसायीको भनाइ छ । देशभित्र यस्तो अवस्था छ भने उता भारतबाट आउने केराको मूल्य भने यहाँको भन्दा सस्तो पर्छ । भारतले किसानका लागि सहुलियत र विभिन्न प्याकेज दिने भएकाले उताको लागत कम परेको बताइन्छ ।

  तनहुँ । तनहुँको आँबुखैरेनी गाउँपालिकामा आरन सञ्चालन गर्दै आउनुभएका ५१ वर्षीय रामलाल विश्वकर्माले फलामलाई मार हान्न विद्युत्बाट चल्ने स्वचालित घन बनाउनुभएको छ । फलामको हतियार गाल्न विश्वकर्माले दुई वर्ष पहिले विद्युत्बाट चल्ने स्वचालित घन बनाएपछि उहाँको परिचय अहिले फेरिएको छ ।      फलामलाई आकार दिन घन हान्न बलियो मानिसको चाहिने भएकाले विकल्पका रुपमा स्वचालित घन बनाएको उहाँले बताउनुभयो । “फलाम गाल्न घन हान्नुपर्दा दुई जना चाहिने भयो”, आरानमा घरेलु औजार बनाउँदै गर्नुभएका रामलालले भन्नुभयो, “दिन रात उपाय खोजें र यो मेसिन बनाएँ ।”      मेसिन बनाउन रामलालले मोटर, नट बोल्ट, चेन, पुल्ली, घिर्नी, फलामका पाता र काठको प्रयोग गर्नुभएको छ । मेसिन बनाउन करिब रु ३० हजारका सामान खरिद गरेको उहाँले बताउनुभयो । युट्युब हेरेर बनाएको सो मेसिन तेस्रो पटकको प्रयासमा सफल भएको उहाँले जानकारी दिनुभयो । फलामलाई पातलो बनाउन दुई वर्षदेखि विश्वकर्माले सो मेसिन नै प्रयोग गर्दै आउनुभएको छ । करिब ५० हजार रुपैयाँ खर्च गर्नसके अझ राम्रो र कम आवाज आउने स्वचालित घन बनाउनसक्ने क्षमता आफूसँग भएको उहाँले बताउनुभयो ।      कोइलामा तताएर रातो बनाइएको हतियारलाई पातलो र निश्चित आकार दिनुपर्दा विद्युत् अन गरी दुई वटा घनको बीचमा लैजानु पर्दछ । खुट्टाले थिचेपछि स्वचालित घनले दबाब दिन्छ र घनको चाललाई नियन्त्रण र बन्द पनि खुट्टाबाटै गर्न सकिन्छ । स्वचालित घन प्रयोग गर्दा महिनामा करिब एक हजार रुपैयाँ विद्युत् महशुल उठ्ने गरेको उहाँको भनाइ छ ।      चितवन पदमपुर घर भई हाल घुमाउनेघाट बस्दै आउनुभएका विश्वकर्माले आरन दर्ता गर्नु भएको छैन । आरान दर्ता गर्ने प्रक्रियाबारे आफूलाई केही थाहा नभएको उहाँले बताउनुभयो । निर्वाहका लागि मात्र आफूले आरान सञ्चालन गरेको उहाँ बताउनुहुन्छ ।      करौती, हँसिया, बञ्चरो, खुर्पा र कोदालो बनाउने गर्दै आउनुभएका विश्वकर्माले घरायसी हतियार अरचापेको (धार लगाएको) ५० रुपैयाँदेखि दुई सय रुपैयाँसम्म लिने गर्नुहुन्छ । नयाँ घरेलु हतियारको प्रकारअनुसार चार सय रुपैयाँदेखिमाथि पर्ने विश्वकर्माले बताउनुभयो ।      आफूले घरेलु हतियारको अलावा ट्र्याक्टरको डिब्बालगायत लेथका कामसमेत गर्नसक्ने उहाँले जानकारी दिनुभयो । ठूलो ग्रिल कारखाना सञ्चालन गर्ने उद्देश्य भए पनि आर्थिक अभावमा त्यो पूरा गर्न नसकेको उहाँको भनाइ छ । “ठूलो ग्रिल उद्योग सञ्चालन गर्न आर्थिक अवस्था कमजोर हुँदा सकिन ।” सामान्य लेखपढ गरेका विश्वकर्मा राज्यले केही सहयोग गरेमा आफूले व्यवसायलाई थप विस्तार गर्नसक्ने बताउनुहुन्छ । आरनको कमाइबाट घरको दैनिक जर्गो टार्दै आउनुभएको छ ।      विश्वकर्माको क्षमता, खुबी र लगनशीलता देखेर आफूहरुले घुमाउने घाटमा आरान राख्न करिब एक आना जग्गा निःशुल्क प्रदान गरिएको छ । आफूहरुले हँसियादेखि कुटो कोदालोसम्म बनाउन र अरचाप्न परे विश्वकर्मालाई नै लगाउने गरेको घुमाउने घाटकी ५६ वर्षीया सन्सरी गुरुङले बताउनुभयो । घुमाउने, साराङघाट, मास्दीघाटलगायतका छ÷सात वटा गाउँका बासिन्दाले उहाँको आरनबाट सेवा लिँदै आएका छन् । 

  काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले कमलपोखरीमा निर्माण गरिएको छठ पूजास्थलमा गई आज छठी माताको पूजा आराधना गर्नुभएको छ ।      काठमाडौँ महानगरपालिकाको संयोजनमा तयार गरिएको सो पूजा स्थलमा पुगी उहाँले अस्ताउँदो सूर्यलाई अर्घ्यदान गर्नुभयो । त्यसअघि राष्ट्रपति भण्डारीले पशुपति क्षेत्रस्थित गुह्वेश्वरी मन्दिर अघि बाग्मती किनारमा निर्माण गरिएको छठ पूजास्थलमा गई सूर्यसहित छठी माताको पूजा आराधाना एवं अर्घ्यदान गर्नुभएको थियो ।      अस्ताउँदो सूर्यको पूजा आराधना गर्न कमलपोखरीलाई झकिझकाउ पारिएको थियो । कमलपोखरीमा श्रद्धालु, बर्तालु र भक्तजनको बाक्लो उपस्थिति थियो ।     पूजास्थलमा आयोजित संक्षिप्त कार्यक्रममा राष्ट्रपति विद्यादेवी भण्डारीले ज्येष्ठ नागरिक, समाजसेवी, शिक्षासेवी, उद्योगी व्यवसायीलाई सम्मान गर्नुभएको थियो । पूजास्थलमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनराम श्रेष्ठ, पूर्वमन्त्री गगनकुमार थापा, काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन्द्र साह, उपप्रमुख सुनिता डङ्गोल, विभिन्न वडाका वडाध्यक्षलगायतको उपस्थिति थियो ।

  काठमाडौं । निर्वाचन आयोगले गण्डकी प्रदेशका युवा तथा खेलकुद मन्त्री एवं मनाङ (ख) का प्रदेश सभा सदस्य उम्मेदवार राजिव गुरुङ (दीपक मनाङ्गे)लाई स्पष्टीकरण सोधेको छ।  उम्मेदवार गुरुङले निर्वाचन खर्चका सम्बन्धमा अभिव्यक्ति र श्रव्यदृश्य सामग्री आयोगमा आएसँगै स्पष्टीकरण सोधिएको हो।  जुन अहिले निर्वाचन आयोगले  ३० लाख भन्दा बढी खर्च गर्नु हुँदैन भनेको छ‘‘३० लाखमा नेपालमा चुनाव जित्छ यार‘‘मनाङमा एक दिन नोमिनेसन गर्न जाँदा १५ लाखको त रक्सी खाइदिन्छ भनी दिएको अभिव्यक्ति र श्रव्यदृश्य सामग्री प्राप्त भएकाले स्पष्टीकरण सोधिएको आयोगले जनाएको छ।

  पर्वत । तनहुँदेखि मुस्ताङसम्मको यात्रामा निस्केका दश जना युवा हिजो शनिबार कुश्माको ‘द क्लिफ रिसोर्ट’मा भेटिए । ‘बञ्जीजम्प’ गर्ने योजनासहित कुश्मालाई ‘ट्रान्जिट प्वाइन्ट’ बनाए पनि उनीहरुले ‘बञ्जीजम्प’ गर्न भने पाएनन् ।  “एक साताअघिदेखि नै बुकिङ हुने रहेछ त्यसैले हाम्रो पालो आउने कुरै भएन”, समूहका एक सदस्य दीपेश पौडेलले भन्नुभयो, “त्यसको साटो ‘जिपलाइन’को अनुभव लियौँ ।” उहाँले शनिबार कुश्मामै बसेर आइतबार बिहानै मुस्ताङको यात्रा तय गर्ने बताउनुभयो । ् त्यसैगरी चितवनबाट आउनु भएकी शर्मिला गुरुङ पनि झोलुङ्गे पुलमा श्रीमान र छोरीसहित तस्बिर कैद गर्दै हुनुहुन्थ्यो । दसैँमा आउने योजना बनाए पनि झरीले योजना तिहारमा सफल भएको उहाँले बताउनुभयो ।  पछिल्लो समय कुश्मा पर्यटकीय गन्तव्य बन्दै गएको छ । मुस्ताङ जाने पर्यटक मात्रै नभइ पोखरासम्म पुग्ने पर्यटकहरु पनि बञ्जी, जीपलाइन लगायतको अनुभव लिन कुश्मासम्म पुग्न थालेका छन् ।  तर कुश्मालाई नै गन्तव्य बनाउने आउने पर्यटकको संख्या भने निकै कम भएको रेष्टुराँ व्यवसायी मौसम केसीले बताउनुभयो । “कुश्मासम्म आए पनि बास बस्ने पर्यटकहरु कम हुनुहुन्छ,” उहाँले भन्नुभयो, “धेरै जसो पर्यटक निजी गाडीमा बञ्जी हेर्न आउने र पोखरा फर्कनुहुन्छ यसरी बजार प्रवद्र्धन हुँदैन ।” शनिबार मात्रै कुश्माको झोलुङुगे पुल तर्नेको संख्या  दुई हजारभन्दा बढी रहेको ‘द क्लिफ’ कम्पनीले जानकारी दिएको छ । पुल तर्न मात्रै प्रतिव्यक्ति रु पाँच सय तोकिएको छ । कम्पनीका अनुसार हाल औसतमा दैनिक ६० देखि ६५ जनाले बञ्जीजम्प गर्दै आएको सञ्चालक नेत्र पराजुलीले बताउनुभयो ।  “म बिहानैदेखि खटिएको थिए, शनिबार स्काइ साइक्लिङ, स्काइचियर, स्काइक्याफे, गुलेली पिङ खेल्नेहरुको भिड थियो”, उहाँले भन्नुभयो, “रिसोर्टमा बास बस्ने ‘टेन्ट’ पनि भरिभराउ थिए ।”

   बागलुङ । ढुङ्गाले बान्की मिलाएर छाएको छानो, ढुङ्गाकै गारो, रातो माटो र सेतो कमेरोले पोतेर श्रृङ्गार गरिएका घुमाउने घरहरु पछिल्लो समय ग्रामीण क्षेत्रबाट लोप हुँदै गएका छन् । एकाध भेटिए पनि जीर्ण अवस्थामा मात्रै भेटिन्छन् । कलात्मक शैलीका झ्याल तथा ढोका भएका र  मौलिकतासँग जोडिएका घुमाउने घर बनाउने सिकर्मी डकर्मीसमेत अचेल पाइँदैनन् । पछिल्लो समय आधुनिकता हावी हुँदा यस्ता मौलिक घर लोप हुँदै गएको स्थानीयहरुको बुझाइ छ । मगर र गुरुङ समूदायको पहिचानसँग जोडिएका यस्ता घुमाउने घर संरक्षण अभावमा लोप हुँदै गएको निसीखोला गाउँपालिका(१ का थिर्तराम गुरुङको भनाइ छ । उहाँले परम्परागतभन्दा आधुनिक शैलीका घर बनाउन सहज हुने भएपछि घुमाउने घर संकटमा पारेको बताउनुहुन्छ । “१२र१५ वर्ष अघिसम्म गाउँका धेरै स्थानमा घुमाउने घरहरु भेटिन्थे, अहिले १र२ वटा पनि भेट्याउन मुस्किल पर्छ, घुमाउने घर बनाउन सोही किसिमको सीप चाहिन्छ”, उहाँले भन्नुभयो, “तर अहिले सिमेन्ट, गिट्टी र बालुवा बनाउन सजिलो हुन थाल्यो ।” गुरुङ घुमाउने घर निर्माण गर्ने मिस्त्रीहरुको सीप पुस्तान्तरण नहुँदा लोप हुँदै गएको बताउनुहुन्छ ।  त्यस्तै, स्थानीय पूर्णबहादुर घर्ती मगरले भन्नुभयो, “घुमाउने घर मगर र गुरुङको पहिचानसँग जोडिएको छ, तर हामी नै यसको संरक्षण गर्न सकेका छैनौँ, आगामी दिनमा यसको संरक्षणमा काम गर्ने को नै होला र ?” निसीखोला गाउँपालिका(६ का नरसिंह बुढामगर घुमाउने घरको संरक्षण गर्न सक्ने हो भने आन्तरिक तथा बाह्य पर्यटक आकर्षित गर्न सकिने बताउहुन्छ । यस्ता घरहरुलाई नयाँ ढंगले संरक्षण र मर्मत गरी सञ्चालन गर्न पनि सकिने उहाँको भनाइ छ । गाउँ ठाउँमा भएका घुमाउने घरको तथ्याङ्क संकलन गर्ने र पुनःनिर्माण गरि संग्राहलयको रुपमा विकास गर्न सकिने उहाँको सुझाव छ ।  घुमाउने घर आधुनिक घरभन्दा न्यानो हुने हुँदा गुरुङ र मगरहरु यस्ता घर बनाउनमा बढी केन्द्रित हुने गरेको उहाँको भनाइ छ । उच्च पहाडी क्षेत्रमा जनजाति समूदायको बसोबास बढी हुने र त्यस्ता स्थानहरुमा बढी जाडो हुने हुँदा न्यानोका लागि घुमाउने घर बनाउने गरेको उहाँको भनाइ छ ।