ललितपुर:  प्रधानमन्त्री के पी शर्मा ओलीले नेपालमा सञ्चालन हुने सबै सामाजिक सञ्जाल कानुनी दायरामा आउनुपर्ने बताउनुभएको छ । आइसिटी फाउण्डेशनद्वारा आज आयोजित ‘डिजिटल नेपाल कन्क्लेभ २०२५’ को...

  काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आगामी निर्वाचन नेकपा एमालेले नजिते देशले दुर्भाग्य भोग्नुपर्ने बताएका छन् । बुधबार काठमाडौं–१ मा पार्टीका उम्मेदवार किरण पौडेलको प्रचार कार्यक्रममा सम्बोधन गर्दै ओलीले एमालेलाई राष्ट्रिय शक्ति नबनाए देशले दुर्भाग्य खेप्नुपर्ने बताएका हुन् । ‘यसपल्ट नेकपा एमालेबाहेक अर्को त्यस्तो राष्ट्रिय शक्ति छैन । देशका लागि राष्ट्रिय शक्ति निर्माण गर्न एकदमै जरुरी छ । अहिले राष्ट्रिय शक्ति बनाइएन भने, एकल बहुमत आएन भने देश दुर्भाग्यमा जानेछ । दुर्भाग्य भोग्नुपर्छ’ उनले भने । ओलीले देश बिगार्न नदिन एमालेले जित्नुपर्ने भन्दै एमालेले जितेमात्र स्थायीत्व आउने जिकिर गरे ।

  काठमाडौं । निर्वाचन आयोगले प्रधानमन्त्री शेरबहादुर देउवाको डडेल्धुरा यात्रा स्थगित गर्न आदेश दिएको छ । प्रधानमन्त्री देउवा सरकारी खर्चमा निर्वाचन प्रचारप्रसारका लागि डडेल्धुरा जाने तयारीमा थिए । त्यसक्रममा प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले अनुमतिका लागि निर्वाचन आयोगमा पत्र पठाएको थियो । उक्त पत्रको सम्बोधन गर्दै निर्वाचन आयोगले सरकारी खर्चमा प्रचारप्रसारका लागि यात्रा नगर्नरनगराउन निर्देशन दिने निर्णय गरेको हो । ‘उहाँ सरकारी खर्चमा जाने तयारीका साथ अनुमतिका लागि चिठ्ठी आएको रैछ । हामीले बुझ्दा उहाँ सरकारी कामका लागि नभई प्रचारप्रसारकै लागि जान खोजेकोले अनुमति दिन नसक्ने भन्ने निर्णय भएको हो,’ स्रोतले भन्यो । आयोगले यसअघि प्रधानमन्त्री र मन्त्रीहरूलाई आफू उम्मेदवार भएको क्षेत्रबाहेक अन्यत्र प्रचारमा जान नदिने भनी आचारसंहितामा व्यवस्था गरेको थियो । चौतर्फी दबाबपछि सरकारी स्रोतसाधन प्रयोग नगर्ने गरी आयोगको अनुमतिबाट मात्रै जान पाउने व्यवस्था परिमार्जन गरेको हो । तर, सरकारी सवारी साधनबाटै जान खोजेपछि प्रधानमन्त्रीको यात्रामा रोक लगाएको स्रातले बतायो । प्रधानमन्त्री देउवा बुधबार नै आफ्नो निर्वाचन क्षेत्रसमेत रहेको डडेल्धुरा जाने तयारीमा थिए । बिहीबारदेखि उनको चुनावी कार्यक्रम तय गरिएको थियो ।

  विराटनगर । नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं मोरङ निर्वाचन क्षेत्र नं ६ का प्रतिनिधिसभा सदस्यका उम्मेदवार डा शेखर कोइरालाले संविधानको रक्षा गर्न निर्वाचनमा गठबन्धनले जित्नुपर्ने बताउनुभएको छ । विराटनगर महानगरपालिकाको जनपथ चोकमा आज आयोजित कोणसभामा उहाँले लोकतन्त्र सुदृढीकरण गर्न, भ्रष्टाचार नियन्त्रण गर्न तथा मुलुकमा सुशासन कायम गर्न निर्वाचनमा गठबन्धनले सफलता हासिल गर्नुपर्ने आवश्यकता औँल्याउनुभयो । शिक्षाबिना समाज र राष्ट्र सभ्य हुन नसक्ने भएकाले कांग्रेसले शिक्षालाई उच्च प्राथमिकता राखेको उल्लेख गर्दै डा कोइरालाले कांग्रेसको नेतृत्वमा सरकार बनेमा मुलुकमा विकास हुने र बेथिति हट्ने विचार राख्नुभयो । ‘कोखदेखि शोकसम्म’ कांग्रेसले योजना बनाई कार्यान्वय गर्ने उल्लेख गर्दै उहाँले गरिबलाई शोकमा रु १० हजारसम्म किरीया खर्च दिने उद्घोष गर्नुभयो । कांग्रेसले सुत्केरी भत्तादेखि ज्येष्ठ नागरिकको उपचारलाई प्राथमिकता दिने बताउनुभयो । ् राष्ट्रियसभाका सदस्य एवं नेकपा (माओवादी केन्द्र)का नेता गोपी अछामीले मुलुकमा विकास र समृद्धिको यात्रा पूरा गर्न गठबन्धनका उम्मेदवार जित्नुपर्ने बताउनुभयो ।  क्षेत्र नं ६ (ख) का उम्मेदवार केदार कार्कीले विराटनगरलाई संरचनासहितको राजधानी बनाउने भएकाले गठबन्धनले जित्नुपर्ने बताउनुभयो । उहाँले विराटनगरको चक्रपथ व्यवस्थित गर्न कुनै कसर बाँकी नराख्ने उल्लेख गर्दै मतदाता र मतदाता शिक्षालाई व्यवस्थित गर्न कार्यकतालाई निर्देशन दिनुभयो ।

  रामपुर । अर्काको देशमा गएर सामाजिक कार्यमा आफ्नो जीवन समर्पण गर्ने व्यक्ति बिरलै हुन्छन् । मानिसले भरसक धन सम्पत्ति कमाउनका लागि आफ्नो जन्मभूमि छाडेर केही समयका लागि अन्यत्र जान्छन् । आफूलाई पुग्ने सम्पत्ति आर्जन भएपछि आफ्नै थाकथलोमा फर्केर घर जग्गा, गाडीलगायतका विभिन्न सम्पत्ति जोडेर आरामको जीवन जिउने प्रायः सबैको चाहना हुन्छ ।  जीवनलाई सुखसयलमा आनन्ददायकपूर्वक बिताउने सबैले सपना बुनेर बस्छन् । तर जापानी नागरिक काजुमासा काकिमी (ओकेबाजे) भने  तीन दशकदेखि नेपालमै बसेर सामाजिक कार्यमा समर्पित हुनुहुन्छ । उहाँ देश, परिवार, धन–सम्पत्ति, आफन्त छाडेर नेपालमा निस्वार्थभावले सामाजिक काममा संलग्न हुनुहुन्छ । उहाँ गरिब, दुःखीका आशा र भरोसाका केन्द्र बन्नुभएको छ । जापानमा जन्मनुभएका ओकेबाजे नेपाली भूमिलाई कर्मथलो बनाएर निरन्तर सामाजिक सेवामा खटिरहनुभएको छ ।  शिक्षा, स्वास्थ्य, आमा समूह, महिला समूहलाई सहयोग, अर्थाभावमा विद्यालय जान नपाएका बालबालिकालाई पठनपाठनको व्यवस्था, विभिन्न सङ्घसंस्थाको भवन निर्माणलगायत क्षेत्रमा ओकेबाज ठूलो सहयोग गर्नुभएको छ । उहाँकै सहयोगमा विद्यालय जान नपाएका बालबालिकाले राम्रो शिक्षा ग्रहण गर्न पाएका छन् । विशेषगरी ओकेबाजेले पाल्पामा रहेर यहाँको विविध समस्यालाई जापानका विभिन्न सङ्घसंस्थाको सहकार्यमा सहयोग गरी समस्याको निकास दिँदै आउनुभएको छ । शिक्षा, स्वास्थ्य, सिँचाइ, खानेपानी, भवन निर्माण, आमा समूहलगायतका धेरै क्षेत्रमा उहाँको सहयोग छ । उहाँले जापानस्थित साइतामा युनेस्को, रोटरी क्लब जापान, बाजिरा, ओके एसएसलगायत २० भन्दा बढी संस्थामार्फत समन्वय गरी यहाँको सामाजिक क्षेत्रमा रकम खर्चनुभएको छ । हँसिलो र जिज्ञासु स्वाभावका ओकेबाजे ग्रामीण भेगमा सबै उमेर समूहका व्यक्तिसँग बसेर छलफल गर्ने, समस्या बुझ्ने गर्नुहुन्छ । गाउँका नागरिकसँग बसेर त्यहाँको रीतिरिवाज, चालचलन, संस्कृतिबारे सोधखोज गर्ने, ग्रामीण जीवन जिउन बढी मन पराउने उहाँको स्वभाव छ । विसं २०५० देखि पाल्पालाई कर्मथलो बनाएर नितान्त सामाजिक क्षेत्रमा रहेर ठूलो सहयोग गर्दै आउनुभएका ओकेबाजे पाल्पाली गरिब, दुःखी, विपन्न, असहाय वर्गको साहारा बन्नुभएको छ ।  ओकेबाजेले यहाँका न्यून आय भएका नागरिक, दलित, विपन्न वर्गका परिवारमा अभिभावकको जिम्मेवारी निभाउनुभएको छ । यसरी नेपालमा  काम गर्दै जाँदा करिब तीन दशकको समय बितेको उहाँलाई पत्तो छैन । यसरी नै काम गर्न पाउँदा उहाँ खुसी हुनुहुन्छ । आर्थिक समस्याले विद्यालयको हातासम्म पुग्न नसकेका बालबालिकालाई शिक्षाको ज्योति दिने, औषधोपचार, गाउँका विकास निर्माण, खानेपानी, शैक्षिक भवन निर्माण, अक्षयकोष स्थापना, पुस्तकालय स्थापना, आयमूलक काम, स्वास्थ्यलगायतका विभिन्न क्षेत्रमा ओकेबाजेले ठूलो धनराशि खर्च गर्नुभएको छ । ओकेबाजे जापानमा शिक्षण पेशाबाट सेवानिवृत्त भएपछि पाल्पामा रहेर सामाजिक क्षेत्रमा उहाँले काम गरिरहनुभएको छ । गाउँ–गाउँका गरिब, दुखी नागरिकलाई सेवा गर्न पाउँदा निकै आनन्द लाग्ने गरेको ओकेबाजेले बताउनुभयो । “गाउँका गरिब, दुःखी नागरिकलाई सेवा गर्न पाउँदा अत्यन्तै आनन्द लागिरहेको छ, समय मिलाएर जापान जान्छु, विभिन्न संस्था, व्यक्तिसँग रकम सहयोग मागी नेपालमा बसेर सामाजिक क्षेत्रमा खर्च गरिरहेको छु, मैले जे चाहेको छु, सबै कुरा पूरा हुँदै गएको छ”, उहाँले भन्नुभयो ।  नेपालभूमिमा गरेको योगदानको कदर गर्दै नेपाली परम्पराअनुसार २०७९ असोज २३ गते वैदिक परम्पराअनुसार पाल्पाको रामपुरमा चौरासी पूजा तथा नागरिक अभिनन्दन सम्पन्न भएको छ । नेपालमा बसेर गाउँको विकासमा तल्लिन रहने, गरिब विपन्न वर्गका नागरिकको उत्थानका लागि चिन्तन–मनन् गर्ने ओकेबाजे सबैका प्रियपात्र बन्नुभएको गङ्गा मावि रामपुरका प्रधानाध्यापक देवराज देवकोटा बताउनुहुन्छ । “ओकेबाजेका कारण पाल्पामा धेरै विकास निर्माणका काम भएका छन्”, उहाँले भन्नुभयो, “उहाँले गरेको लगानीले सही ठाउँमा सदुपयोग हुँदा पाल्पालीले धेरै लाभ लिन पाएका छन्, उमेर ढल्किँदै गए पनि उहाँको सामाजिक क्षेत्रमा काम गर्ने चाहना अझै बढ्दै गएको छ ।” पाल्पावासीमा पु¥याउनुभएको योगदानको कदर गर्दै ओकेबाजेलाई २०७० सालमा रामपुर नगरपालिकामा र २०७६ सालमा सदरमुकाम तानसेनमा पाल्पाका नागरिकद्वारा संयुक्तरूपमा अभिनन्दन गरिएको थियो । ओकेबाजेले मानार्थ नेपाली नागरिकताको अपेक्षा गर्नुभएको छ । त्यसका लागि प्रक्रिया अगाडि बढाइएको छ । जिल्ला प्रशासन कार्यालयले गृह मन्त्रालयलाई सिफारिस पत्र पठाएको छ । आवासीय भिसा भने उहाँले पाइसक्नुएको छ । “जीवनको अन्तिम समयसम्म नेपालकै भूमिमा नै बिताउन मन छ”, ओकेबाजे भन्नुहुन्छ । उहाँले आफ्नो केही जीवनको अवशेष छोराछोरीलाई जापान पठाउन आग्रह गर्नुभएको छ । पाल्पाली र समग्र नेपालीको मायालाई आफूले कहिल्यै पनि भुल्न नसक्ने उहाँ बताउनुहुन्छ । सबैलाई हँसाउने र खुसी पार्ने ओकेबाजे सबैका मन–मनमा बस्न सफल हुनुभएको छ । ओकेबाजेले सामाजिक क्षेत्रमा गर्नुभएको योगदानलाई यहाँका नागरिकले कहिल्यै भुल्न नसक्ने रामतुलसी मावि रामपुरका शिक्षक लेखनाथ शर्मा मरासिनी बताउनुहुन्छ । “अत्यन्तै सरल, निस्वार्थ स्वभाव, गरिब, दुःखी विपन्नको उत्थानका निम्ति उहाँको सहयोग योगदानले सबै उमेर समूहका मानिसलाई प्रभावित बनाएको छ”, उहाँले भन्नुभयो । आजभन्दा तीन दशकअघि पहिलोपटक पाल्पा आउनुभएका ओकेबाजे हालको पूर्वखोला गाउँपालिका–२ जल्पास्थित ढोलीमारामा पुग्नुभयो । उहाँ त्यहाँ पैदलयात्राका सहयोगी ढोलीमाराका तिलक आलेमार्फत पुग्नुभएको थियो । एक हप्ताको बसाइका लागि पुग्नुभएका ओकेबाजे स्वास्थ्यमा समस्या आएपछि केही दिनमै जापान फर्कनुभयो ।  ढोलीमारामा बस्ने क्रममा त्यहाँका समुदायका बालबालिका, नागरिकको अवस्था अत्यन्तै दयनीय देखेपछि उहाँले स्वास्थ्योपचार र  शैक्षिक क्षेत्रमा सहयोग गर्न थाल्नुभयो । “ढोलीमारामा बस्ने क्रममा कोही बालबालिका नाङ्गै छन्, कोही भोकै छन्, औषधि नपाएर नागरिक जीवनमरणको दोसाँधमा बाँचिरहेको देखेपछि केही सहयोग गर्न थालेको हुँ”, ओकेबाजेले भन्नुभयो । अर्थाभावमा विद्यालय नजाने बालबालिकालाई शैक्षिक सामग्री, पोशाकलगायत उहाँले सहयोग गर्न थाल्नुभयो । विशेषगरी यो क्षेत्र मगर समुदायको बाक्लो बस्ती रहेको र गरिब, विपन्न परिवारका नागरिक समस्यामा थिए । उनीहरूको अवस्थालाई मध्यनजर गर्दै ओकेबाजेले पाल्पामै बसेर सामाजिक क्षेत्रमा सहयोग गर्ने मनसाय बोकेर केही दिनको जापान बसाइपछि पुनः पाल्पा फर्कनुभयो । “मान्छे बिरामी छन्, उपचार गर्न उनीहरूसँग पैसा नभएको देखेपछि सहयोग गर्न थालेँ, उनीहरूको जीवनरक्षा र शिक्षाबाट बञ्चित बालबालिकालाई शिक्षाको मूलधारसम्म पु¥याउन दुर्गम गरिब विपन्न परिवारबाट सहयोग सुरु गरेको हुँ”, ओकेबाजेले भन्नुभयो ।   ओकेबाजेले ढोलीमाराबाट सुरु गरेको सामाजिक सहयोग अभियान अहिले पाल्पा र नवलपरासीका विभिन्न क्षेत्रमा निरन्तररूपमा अगाडि बढाइराख्नुभएको छ । पाल्पा र नवलपरासीमा गरी हालसम्म दुई सय बढी विद्यालयमा भवन निर्माण, शैक्षिक सामग्री र अक्षयकोष स्थापना गर्नुभएको छ । उहाँले दुर्गम र विकट क्षेत्रका नागरिकलाई गाउँ–गाउँमा आँखा उपचार शिविर आयोजना गरी औषधोपचार सेवा दिँदै आउनुभएको छ ।  ओकेबाजेले नेपाली भाषा मज्जाले बोल्नुहुन्छ । सुरुमा नेपाली भाषा नबुझ्दा गाउँका नागरिकले जे सोधे पनि अङ्ग्रेजीमा ओके भन्ने गरेका कारण उहाँको नाम ओकेबाजे रहन गएको हो । आफूलाई ओकेबाजे भनेर सम्बोधन गर्दा असाध्यै खुसी लाग्ने उहाँ बताउनुहुन्छ । जापानको टोकियो सहरमा सन् १९३९ जुन ८ तारिखका दिन बुवा साइस्के काकिमी र आमा उमे काकिमीको कोखबाट जन्मनुभएका ओकेबाजे बाल्यकालदेखि नै सामाजिक कामबाट प्रेरित हुनुहुन्थ्यो ।  अठ्ठाइस वर्षको उमेरमा श्रीमती कियोको काकिमीसँग विवाहबन्धनमा बाँधिनुभएका ओकेबाजेका एक छोरा र एक छोरी हुनुहुन्छ । उहाँले स्नातक तहसम्मको औपचारिक अध्ययन गर्नुभएको छ । सन् १९८८ मा पहिलोपटक ओकेबाजे सोलुखुम्बुमा पैदलयात्राका लागि नेपाल आउनु भएको हो । त्यसयता उहाँको नेपालयात्रा निरन्तर जारी छ । 

  बागलुङ । मिर्गौला रोगबाट पीडित ताराखोला गाउँपालिका–५ करिमेलाका सङ्कल रोकाको उपचारमा रु १५ लाख ३५ हजार सहयोग जुटेको छ । पच्चीस वर्षीय उहाँको मिर्गौला प्रत्यारोपणका लागि गत साउनदेखि आर्थिक सहयोग अभियान चलाइएको हो । स्थानीय नवसिर्जना र असारे युवा क्लबको संयुक्त पहलबाट सङ्कलित सो रकम रोकाका परिवारजनलाई हस्तान्तरण गरिएको नवसिर्जना युवा क्लबका अध्यक्ष पूर्णभद्र न्यूरेले जानकारी दिनुभयो । त्यसमध्ये रु ६५ हजार बहराइनमा रहनुभएका जीवन रोका मगरको अगुवाइमा सङ्कलन भएको हो ।  मिर्गौला प्रत्योरापणका लागि अर्थाभाव भएपछि रोकाका परिवारजनले सहयोगको याचना गरेका थिए । परिवारको आग्रहमा स्थानीय दुई क्लब मिलेर चलाएको अभियानमा देश–विदेशबाट सहयोग रकम जुटेको हो । दुवै मिर्गौलाले काम गर्न छाडेपछि रोका अहिले सहिद धर्मभक्त मानव अङ्ग प्रत्यारोपण केन्द्रमा उपचाररत हुनुहुन्छ ।  दिदी पूर्णमायाको मिर्गौला रोकामा प्रत्यारोपण गर्ने तयारी भइरहेको जनाइएको छ । आफन्त र शुभेच्छुकहरूको सहयोगबाट आर्थिक जोहो भएपछि रोकाका परिवारजन अब उपचार सफल हुनेमा आशावादी छन् । उपचारका क्रममा थप रकम चाहिने भएकाले इच्छुकलाई सहयोग गर्न आग्रह गरिएको छ ।  नौ महिनाअघि रोजगारीका लागि विदेश जानुपूर्व स्वास्थ्य जाँच गर्दा रोकामा मिर्गौलाको समस्या देखिएको थियो । त्यसअघि तीन वर्ष कतार र एक वर्ष युएईमा काम गरेर फर्कुनभएका उहाँ पुनः रोजगारीका लागि बहराइन जाने तयारीमा हुनुहुन्थ्यो । अकस्मात मिर्गौलामा समस्या देखिएपछि उहाँ विदेश जान नपाइ घर फर्कनुपर्यो ।  कमाउन विदेश हिँड्नुभएका रोका उल्टै बिरामी परेर घर फर्केपछि परिवारमा पनि समस्या आइपरेको छ । रोकाको परिवारलाई आर्थिक सहायताका लागि सङ्कल रोकाका नाममा प्रभु बैंकमा रहेको खाता नं ०६००१५१२५३२०००१६ रकम जम्मा गर्न सकिने छ । 

सिन्धुपाल्चोक : सिन्धुपाल्चोकको जुगल गाउँपालिका–३ तेम्बाथानका जाङ्बु शेर्पाको बास वर्ष दिनमा नौ महिना उच्च हिमाली भेगमा बित्छ । घर खर्च चलाउनका लागि चौंरी  स्याहार्दै जङ्गली जनावरको समेत सामना गर्दै उहाँ बाँकी तीन महिनाका लागि मानव बस्तीमा झर्नुहुन्छ ।    हरेक वर्ष पुसदेखि कात्तिकसम्म शेर्पाले विकट हिमाली भेगमा रहेको चौँरी खर्कमा बिताउने गर्नुभएको छ । यो समयमा उहाँको सङ्गत आफ्नै परिवारका सदस्यका अलावा चौँरी र आसपासका चौँरीपालक किसानसँग मात्र हुन्छ । पुस्ताँैदेखि चौँरीपालन व्यवसाय गर्दै आउनुभएका शेपा मात्रै होइन, सिन्धुपाल्चोककै पारिगाउँको नामले चिनिने जुगल गाउँपालिका–३ गुम्बाका दर्जन बढी चौँरीपालक किसानको दैनिकी हो यो ।    चौँरीबाट हुने आम्दानीका लागि शेर्पाले नौ महिनासम्म दुःख गरेर आफ्नो जीविकोपार्जन धान्ने गरेका छन् । आफ्नो परिवारसमेत सँगै लैजाने गरेको उहाँले सुनाउनुभयो । “पढेको छैन, अरु सीप पनि छैन”, शेर्पा भन्नुहुन्छ, “परिवारको सदस्यलाई पाल्नसक्ने खर्चको जोहो गर्नकै लागि लेकको बास भएको छ ।”   वर्षमा पाँचभन्दा बढी ठाउँमा चौँरीको गोठ सार्नुपर्छ । साथसाथै चौँरीपालकले आफ्ना बालबच्चाको आश्रय पनि परिवर्तन गरिरहेका हुन्छन् । जुगल हिमालको बेसक्याम्प रहेको पुम्बासेर्पु, नेपेमासालसम्म उनीहरूले चौँरीको गोठ सार्छन् । पुम्बासेर्पु समुद्री सतहबाट चार हजार पाँच सय मिटरमा पर्छ । ‘बाबु हजुरबादेखि थाहा भएसम्म यही पेसा गरेँ, खर्कमै हुर्किएँ अनि मैले पनि यही पेसालाई निरन्तरता दिएँ”, जुगल हिमालको फेदीमा पर्ने ङिमाल्हा खर्कमा भेटिएका जाङ्बुले भन्नुहुन्छ, “चाँैरी चराउने, दुहुने, छुर्पी र घिउ बनाउने दिन यसरी नै बित्छ”, बच्चैदेखि हिमाली भेगमै बसेकाले जङ्गली जनावरको डर नलाग्ने उहाँ बताउनुहुन्छ ।   खर्कका पुरुष सदस्य अन्न सकिएपछि गाउँमा खाद्यान्न लिन जाने भए पनि महिला र बालबालिकाले नौ महिनाको अवधिमा कुनै घर र नौला मान्छे देख्न पाउँदैनन् । सारा संसार खर्क नै हुन्छ । उनीहरु जाडो बढ्दै गएपछि केही समय मानव बस्तीको नजिक पुग्ने भए पनि बाँकी समय फराकिलो खर्कको सीमित व्यक्तिसँगको सहकार्यमै रमाउँछन् ।    छ जनामध्ये चार जनाको परिवारसहित खर्कमा भेटिएका पेरोम्जी शेर्पा वर्षभरि दुःख गरेर रु दुई लाखसम्म आम्दानी हुने बताउनुहुन्छ । “आफँै बजार पुग्न भ्याइँदैन, खर्कमै आएर ठेकेदारले दिएको मूल्यमा छुर्पी र घिउ बेच्नुपर्छ”, शेर्पा भन्नुहुन्छ, “दुःख धेरै आम्दानी कम भए पनि चित्त बुझाउनुपरेको छ ।” शेर्पाका पछिल्ला दुई सन्तान आफन्तकामा बसेर पढ्दै गरेको भए पनि अघिल्ला एक छोरी र छोराले भने खर्कमा आफूलाई सघाउनुपर्दा पढ्न पाएका छैनन् ।   बाबु–आमालाई सघाउन खर्कमा बसेकी १७ वर्षीया फूर्पा शेर्पालाई गाउँ जाँदा आफ्ना उमेरका साथीहरूको व्यवहार अनौठो लाग्छ । खर्कमा जन्मिएर खर्कमै हुर्किएकी फूर्पालाई वर्षको तीन महिना गाउँ नजिक हुँदा गाउँले जीवनले लोभ्याउँछ तर पनि उहाँ चौँरी, खर्क र आफ्नो परिवारको घेराबाट निस्कन सक्नुभएको छैन ।    “गाउँ पुग्दा साथीहरूले के–के कुरा गर्छन्, म त केही बुझ्दिनँ”, मुस्किलले थोरै मात्र नेपाली भाषा बोल्ने फूर्पाले भन्नुभयो, “बा–आमालाई सघाउनुपरेकाले गोठमै बस्नुपर्छ, गाउँका कुरा केही थाहा हुँदैन ।”   साविक गुम्बा गाविसको तेम्बाथान र दिपुबाट पुसमा गोठ सार्न थालेपछि यहाँका चाँैरीपालक किसान निमाला, दोङ्जाङमा, चाँसीखर्क, थालदर, नेपेमासाल हुँदै जुगल हिमशृङ्खलाको बेसक्याम्प पुम्बासेर्पुसम्म गोठ सार्छन् । तेम्बाथान र दिपुलगायत गाउँका शेर्पाहरूको प्रमुख आयस्रोत नै चौँरी व्यवसाय हो ।

  काठमाडौं । आसन्न निर्वाचनका लागि नेकपा (एमाले)ले आज सार्वजनिक गरेको घोषणापत्रमा ‘पूर्ण साक्षर देश, उद्यमशील शिक्षित युवा’ प्रतिबद्धता व्यक्त गरिएको छ । आगामी दुई वर्षमा मुलुकलाई पूर्ण साक्षर बनाइने र विद्यार्थी भर्नादर शतप्रतिशत पुर्याउने घोषणापत्रमा उल्लेख छ । घोषणापत्रमा एमालेले शिक्षण पेसालाई मर्यादित र सम्मानजनक जीवन जिउन पुग्ने तलब दिने र आर्थिक दूरावस्थाका कारण विद्यालय जानबाट वञ्चित हुने वा बीचैमा पढाइ छोड्नुपर्ने अवस्थाको अन्त्य गर्नेसमेत प्रतिबद्धता व्यक्त गरेको छ । एमालेले सबै विद्यालयलाई सूचना प्रविधिका पूर्वाधारसँग आबद्ध गरी डिजिटल शिक्षण आरम्भ गर्ने घोषणा गरेको छ ।   सो पार्टीले पाँच वर्षमा विद्यालयको भौतिक पूर्वाधार व्यवस्थित गर्ने, विद्यालयमा पर्याप्त कक्षा कोठा, सुविधायुक्त फर्निचर, विज्ञान प्रयोगशाला, पुस्तकालय, सूचना प्रविधि प्रयोगशाला, स्वच्छ पिउनेपानी, शौचालय र सम्भव भएसम्म खेल मैदानको व्यवस्था गर्ने जनाएको छ ।   यस्तै दुर्गम क्षेत्रका, विपन्न र विद्यालय टाढा भएका विद्यार्थीका लागि आवासीय शिक्षाको व्यवस्था गर्ने र अपाङ्गता भएका विद्यार्थीलाई विशेष सुविधा र शिक्षाको व्यवस्था गर्ने एमालेको प्रतिबद्धता रहेको छ ।

  काठमाडौं । धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज उच्च अङ्कले वृद्धि भएको छ ।  नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक ५६ दशमलव १० अङ्कले उकालो लागेर एक हजार नौ सय ३० दशमलव ९७ मा पुगेको छ । त्यस्तै, ठूला कम्पनीको शेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक ११ दशमलव २८ अङ्कले उकालो लागेर तीन सय ८२ दशमलव १४ मा पुगेको छ । नेप्सेका अनुसार कूल दुई सय ३१ कम्पनीको ३९ लाख ७१ हजार पाँच सय ९४ कित्ता शेयर रु एक अर्ब २९ करोड छ लाख ६४ हजार छ सय ४२ मूल्यमा कारोबार भएको छ । कारोबार भएका १३ उपसमूहकै शेयर मूल्यमा वृद्धि भएको छ । निर्जीवन बीमा, जीवन बीमा, विकास बैंक र लघुवित्त उपसमूहको शेयर मूल्यमा उल्लेख्य वृद्धि भएको छ । मङ्गलबारको कारोबारपछि कूल बजार पुँजीकरण रु २७ खर्ब ७७ अर्ब ४७ करोड १९ लाख ५७ हजार एक सय ५४ बराबर रहेको छ । नेप्सेका अनुसार कारोबारका आधारमा एनआइसी एशिया बैंक शीर्ष स्थानमा छ । सो बैंकको रु छ करोड ६५ लाख ६० हजार दुई सय १५ बराबरको कारोबार भएको छ । त्यस्तै, नबिल बैंक रु पाँच करोड ९२ लाख ७० हजार, शिवम् सिमेन्ट रु पाँच करोड १७ लाख ८४ हजार दुई सय ९३, रिडी पावर कम्पनी रु पाँच करोड ३९ हजार दुई सय ९० र एभरेष्ट बैंक रु चार करोड ६८ लाख पाँच हजार बराबरको कारोबार भई शीर्ष पाँचभित्र पर्न सफल भए । नेप्सेका अनुसार न्यादी हाइड्रोपावरको शेयर मूल्यमा १० प्रतिशतले वृद्धि भई सकारात्मक सर्किट लागेको छ । युनिभर्सल पावर कम्पनी नौ, युनियन हाइड्रोपावर, आठ दशमलव ८२, माउण्टेन हाइड्रो नेपाल आठ दशमलव ७७ र दिव्यश्वरी हाइड्रोपावरका लगानीकर्ताले आठ दशमलव ६८ प्रतिशतले कमाएका छन् । त्यस्तै, एनसिसी बैंकको ऋणपत्र तीन दशमलव ९१, सिटिजन म्युचुअल फण्ड एक तीन दशमलव ७३, गरिमा विकास बैंकको ऋणपत्र दुई दशमलव ५८, एनआइसी एशिया ग्रोथ फण्ड दुई दशमलव २७ र एनआइसी एशिया ब्यालेन्स फण्डका लगानीकर्ताले दुई दशमलव शून्य पाँच प्रतिशतले गुमाएका छन् । 

    काठमाडौं । नेकपा (एमाले) आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनमा ‘राष्ट्रियहितको रक्षा र संवर्द्धन स् स्थायित्व, सुशासन र विकासको प्रवर्द्धन’ मुख्य सङ्कल्प बोकेर मतदातासमक्ष जाने भएको छ । अघिल्लो निर्वाचनमा नेपाली जनताले राजनीतिक स्थायित्व र समद्धिका लागि मत दिएर मुलुकको सबैभन्दा ठूलो पार्टी बनाएको घटनाको स्मरण गर्दै एमालेले आगामी निर्वाचनका लागि जारी गरेको घोषणापत्रमा एक मतले देशको भाग्य कोर्ने भएकाले अमूल्य मत खसाल्नुअघि गम्भीरतापूर्वक विचार गर्न अपिल गरेको छ ।   पार्टी अध्यक्ष केपी शर्मा ओलीले डिजिटल अनावरण गरी जारी भएको घोषणापत्रमा मुलुकमा न्याय, समानता र समृद्धिका जनआकाङ्क्षा पूरा गर्न एमालेले अविचलित निष्ठाका साथ लडिरहने सङ्कल्प गरेको छ । आगामी निर्वाचन विभिन्न सङ्कटको चक्रव्यूहबाट मुलुकलाई  मुक्त गर्ने निर्णायक अवसर भएको उल्लेख गर्दै अध्यक्ष ओलीले भन्नुभयो, “देशका समस्या देशभित्रैबाट समाधान गर्न हामी सक्षम छौँ भनी संसारलाई देखाउने अनुकूल समय हो ।” गम्भीर र संवेदनशील राष्ट्रिय परिस्थितिका बीचमा हुन गइरहेको निर्वाचनको विशेष महत्त्व रहेको उल्लेख गर्दै एमालेले भनेको छ, “हामीले खसाउने प्रत्येक मतले मुलुकको आगामी बाटो र भविष्यको फैसला गर्नेछ ।”  कोभिड महामारीको चुनौतीबीच पनि एमाले नेतृत्वको सरकार इतिहासकै सर्वाधिक गतिशील, उपलब्धिपूर्ण र सफल रहेको दाबी गर्दै छोटो अवधिमै संविधानको सफल कार्यान्वयन गरेको विषय घोषणापत्रमा समेटिएको छ ।   प्रदेश र स्थानीय सरकार गतिशील बनेको, संविधान निर्माण भएको तीन वर्ष र निर्वाचनको पहिलो वर्षभित्रै सङ्घीयताको सफल कार्यान्वयनको उदाहरण विश्वमै नौलो भएको, संविधानप्रति असन्तुष्ट दलसमेत सरकारमा सहभागी हुनु, संविधानको कार्यान्वयनमा सहमत बन्नु र संविधानको सर्वस्वीकार्यता स्थापित हुनुलाई त्यस अवधिका उल्लेख्य उपलब्धिका रूपमा घोषणापत्रमा चित्रण गरिएको छ ।   सार्वभौम समानता, पारस्परिक लाभ एवं सम्मान र अहस्तक्षेपका मान्यतामाथि आधारित भएर विदेश सम्बन्ध सदृढ गरिएको उल्लेख गर्दै घोषणापत्रमा भनिएको छ “कतिपय नसुल्झेका समस्या सुल्झायौँ र नयाँ कामअघि बढाई सम्बन्धलाई नयाँ उचाइमा पुर्यायौँ ।”  घोषणापत्रमा नयाँ नक्सा प्रकाशनमा ल्याएको, अतिक्रमित भूमि फिर्ताका लागि कूटनीतिक संवाद सुरु गरेको, नेपालले बाह्य सम्बन्ध विस्तार र सुदृढीकरणमा गुणात्मक विकास गरेको घटना स्मरण गरिएको छ । एमालेले राष्ट्रिय स्वाधीनता र स्वाभिमानको अभिवृद्धि गर्न जरुरी रहेको उल्लेख गरेको छ ।   एमाले नेतृत्वकालमा भूकम्पपछिको पुन:निर्माणमा अन्तर्राष्ट्रिय जगत्ले समेत प्रशंसा गरेको उदाहरणीय सफलताका रूपमा रहेको, सरकार निर्माणपछि लगातार सात प्रतिशतभन्दा माथिको आर्थिक वृद्धि गरेको, बाह्य लगानीमा ठूलो परिमाणमा वृद्धि भएको घोषणापत्रमा दाबी गरिएको छ । एमालेले ‘समृद्ध नेपाल सुखी नेपाली’को राष्ट्रिय आकाङ्क्षा हासिल गर्ने दिशामा प्राप्त उपलब्धिले जनतामा सुखद् भविष्यप्रति विश्वास बलियो र मनोबल उच्च बनाएको उल्लेख गरेको छ । घोषणापत्रमा आगामी निर्वाचनमार्फत गतिहीनता, अवरोध र उल्टो यात्रालाई रोकी देशलाई शान्ति, स्थिरता, स्थायित्व, भ्रष्टाचार नियन्त्रण र सुशासन तथा विकासको बाटोमा अग्रसर गराउन आवश्यक रहेको उल्लेख गरिएको छ ।