काठमाडौँ। जल तथा मौसम विज्ञान विभाग अन्तर्गतको मौसम पूर्वानुमान महाशाखाले शनिबार विशेष मनसुन बुलेटिन जारी गर्दै आगामी दुई दिन देशका विभिन्न भागमा भारीदेखि अति भारी वर्षाको सम्भावना रहेको जनाएको छ। ...

काठमाडौं:   कृषि तथा पशुपन्छी विकास मन्त्रालयले देशभरका डिपोमा ४२ हजार मेट्रिकटन रासायनिक मल मौज्दात रहेको जनाएको छ । आइतबार मलको उपलब्धताबारे विवरण सार्वजनिक गर्दै मन्त्रालयले चालु आर्थिक वर्ष (आव) को ४ महिनामा ८६ हजार २४६ मेट्रिकटन रासायनिक मल बिक्री वितरण भएको र अझै ४२ हजार ९८३ मेट्रिकटन मल मौज्दात रहेको जनाएको हो । मन्त्रालयका प्रवक्ता प्रकाशकुमार सञ्जेलकाअनुसार कृषि सामग्री कम्पनीसँग ३५ हजार ४४९ मेट्रिकटन र साल्ट ट्रेडिङसँग ७ हजार ५३४ मेट्रिकटन मल मौज्दात छ । कृषि सामग्री कम्पनीसँग युरिया १५ हजार १७९ मेट्रिकटन, डीएपी १८ हजार ४३२ मेट्रिकटन र पोटास १ हजार ८३७ मेट्रिकटन मौज्दात छ । यस्तै साल्ट ट्रेडिङ कर्पोरेसनसँग ६ हजार ५८४ मेट्रिकटन युरिया, ८५४ मेट्रिकटन डीएपी र ९५ मेट्रिकटन पोटास मौज्दात छ । चालु आवको कात्तिकसम्म कृषि सामग्री कम्पनीले ५७ हजार २१२ र कृषि सामग्री कम्पनीले २९ हजार ३३ मेट्रिकटन रासायनिक मल बिक्री गरेको जनाएको छ । यस्तै ४५ हजार मेट्रिकटन युरिया मल आयातको चरणमा रहेको मन्त्रालयले उल्लेख गरेको छ ।१५ हजार मेट्रिकटन युरिया मल आयात भइरहेको र भारतसँग जीटूजीमा खरिद गरेको ३० हजार मेट्रिकटन युरिया मल पुस पहिलो हस्तासम्म आइपुग्नेगरी हाल प्याकिङ भइरहेको पनि मन्त्रालयले जनाएको छ ।

मकवानपुर:    राष्ट्रिय स्वतन्त्र पार्टी मकवानपुरका सभापति राजकुमार न्यौपानेलाई जिम्मेवारीबाट हटाउन माग गर्दै केन्द्रीय कार्यालयमा निवेदन दिइएको छ।  सभापति न्यौपानेलाई जिम्मेवारीबाट हटाउन माग गर्दै मकवानपुरका करिब ५० जनाले नेता, कार्यकर्ताले मंसिर १२ गते केन्द्रीय कार्यालयमा निवेदन दिएका हुन्।  जिल्ला सभापति न्यौपानेले चुनावका बेला पार्टीका समानुपातिक तर्फका उम्मेदवार नुरमान प्रजालाई अन्य पार्टीका उम्मेदवारसँग भेटाएको आरोप छ। न्यौपानेले अरू पार्टीका उम्मेदवारसँग समानुपातिक उम्मेदवार प्रजालाई भेटाएर आफूहरूको भोट नोक्सान गरेको राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवारहरूको आरोप थियो।  विवाद भएपछि आइतबार रास्वपाको जिल्ला कार्यसमिति बैठक बोलाइएको छ। आज अपरान्ह ४ बजे जिल्ला कार्यसमिति बैठक बस्ने सचिव रामप्रसाद आचार्य सुमनले जानकारी दिए। ‘सानोतिनो विवाद देखा परेको छ। आज बैठक बसेर मिलाउँछौं,’ सचिव आचार्यले भने। मकवानपुर १ मा राष्ट्रिय स्वतन्त्र पार्टीबाट टाकाराज थापा र मकवानपुर २ मा भरत पराजुली प्रतिनिधि सभा सदस्य उम्मेदवार थिए।

गण्डकी:  उत्तरपट्टि लस्करै मिलेका चाँदीजस्तै टलक्क टल्केका हिमाल । अन्नपूर्ण, धवलागिरि, मनासलुसहित माछापुच्छ्रे लगायत हिम चुचुरासँग नाङ्गा आँखा जुधाउन सकिन्छ । दक्षिण, पूर्व र पश्चिमतर्फ ठम्याउन सकिने नौवटा जिल्लाका रमणीय दृश्यहरू समेतलाई एकसाथ अवलोकन गर्न सकिनु तनहुँको शुक्लागण्डकी नगरपालिका वडा नं २ दगाम गाउँको परिचय हो ।   प्राकृतिक सौन्दर्य, स्वच्छ हावापानी, जैविक खाना, मौलिक लोक संस्कृति, स्थानीयको आत्मीय व्यवहारले दगाम गाउँको अर्को परिचय दिँदै आएको छ । सरल, निश्चल र सहयोगी गाउँलेहरूमा ‘अतिथि देवो भवस्’ भावना प्रस्ट झल्किन्छ । गाउँलेको निश्चल हाँसो, बोली र व्यवहारले टुटेपानी गाउँ पुग्ने जो–कोहीलाई लट्ठ बनाउने गरेको छ । दगाममा मगर र भुजिकोटमा गुरुङ जातिको बाहुल्यता छ । तेइस घरमध्ये २० घर मगर र तीन घर गुरुङ बस्छन् । यहाँबाट हिमाल, डाँडासँगै शुक्लागण्डकी क्षेत्रको अतिरिक्त पोखरा फेवातालसम्मको दृश्यले यहाँ आउने जो–कोही लोभिने गरेका छन् । प्रकृति, संस्कृति र आत्मियतासँग रमाउन आन्तरिक पर्यटक पुग्न थालेपछि पछिल्ला वर्षमा आफूहरूले घरबास (होमस्टे) सञ्चालन गरेको दगाम सामुदायिक होमस्टेका संयोजक नन्दराम थापाले जानकारी दिनुभयो । आफूहरूले घरबासलाई दगाम सामुदायिक होमस्टे नामकरण गरेको जनाउँदै उहाँले विसं २०६५ स्याङ्जाको सिरुवारि गाउँ अवलोकनपछि दगाममा घरबास कार्यक्रम सुरुआत गरेको अनुभव सुनाउनुभयो । “होमस्टे चलाउने भनेर विसं २०६३ देखि नै हामीले योजना बनाएका हौँ”, उहाँले थप्नुभयो, “सिरुवारि गएर सिकेपछि झनै सजिलो भयो अनि गाउँले मिलेर नै खोलियो ।” घरबास सञ्चालनमा आएसँगै पाहुनाहरूबाट प्राप्त सकारात्मक प्रतिक्रियाले आफूहरू उत्साहित बनेको उहाँको भनाइ छ । कोदो, मकैको परिकारसँगै लोकल कुखुराको मासु होमस्टेका पाहुनाको मुख्य रोजाइमा पर्ने गरेको दगाम सामुदायिक होमस्टेका अध्यक्ष तिला थापाले जानकारी दिनुभयो । “पाहुनालाई हामी भटमास, मस्याङ, गुन्द्रुक, ढिँडो, मह, सिम्लेलगायतका स्थानीय परिकार नै खुवाउने गर्छौँ”, उहाँले भन्नुभयो, “स्थानीय उत्पादन नै दगाम सामुदायिक होमस्टेको पहिचान हो भन्दा पनि हुन्छ ।” घरबासका लागि एक हजार चार सय रुपैयाँको प्याकेज उपलब्ध छ । यसमा दिउँसो र बिहानको खाजा, बिहान बेलुकाको खाना, मनोरञ्जन र आवासको सुविधा पाइने अध्यक्ष थापाले जानकारी दिनुभयो । दगाममा प्रत्येक दिन ४० जना पाहुना राख्न सक्ने क्षमता छ ।  दगाम गाउँको प्रत्येक घरमा मौरीका घार यहाँको अर्को विशिष्टता हो । त्यसैकारण पनि यहाँको अर्को आकर्षण मौरी र मह बन्न पुगेको छ । दगाम पुग्नेले त्यहाँको अर्ग्यानिक महको स्वाद लिन पाउँछन् । दगामको मह र मौरी देशका विभिन्न ठाउँमा पुगेको छ भने, मह विदेशसम्मै पुग्छ । पाहुना फर्किँदा स्थानीय मह कोसेलीका रूपमा लैजाने गरेको अध्यक्ष थापाले जानकारी दिनुभयो ।  मगर र गुरुङ जातिको संस्कृति यहाँको अर्को आकर्षण रहेको होमस्टे संयोजक नन्दराम थापा बताउनुहुन्छ । यहाँ कात्तिक–मङ्सिरमा बालन नाच, मङ्सिरदेखि माघसम्म नचरी, सोरठी र ख्याली, फागु पूर्णिमादेखि कौरा नाच देखाइने उहाँले जानकारी दिनुभयो । यी नृत्यका साथै घाँटुनाच पनि यहाँको अर्को मौलिकता हो । चैत–वैशाखमा वरपरका जङ्गलमा ढकमक्क फुल्ने लालीगुराँसले यहाँ आउने जो–कसैको मन लोभ्याउने गर्दछ । गाउँ पर्यटनमा प्रचुर सम्भावना बोकेर पनि पूर्वाधारको अभावका कारण दगाम ओझेलमा गरेको अर्का स्थानीयवासी तीलबहादुर थापामगर बताउनुहुन्छ । प्रकृति र संस्कृतिले सम्पन्न दगामलाई प्रवर्द्धनकै अभावमा पर्यटन बजारमा पुर्‍याउन नसकिएको उहाँको भनाइ छ । गाउँसम्म पुग्ने बाटो असजिलो भएकै कारण दगाम पछि पर्न थालेको स्थानीय लालबहादुर गुरुङले बताउनुभयो । दगामसम्म पुग्ने पदमार्ग र सडकको बाटो व्यवस्थित गर्न सके बाह्रमास पाहुना जान सहज हुने उहाँको भनाइ छ ।  सरकारी पक्षबाट सानो–तिनो सहयोग आए पनि त्यो आफूहरूका लागि पर्याप्त नभएको पूर्व वडासदस्य दानबहादुर थापाले गुनासो गर्नुभयो । यहाँका घरमा स्तरीय शौचालयको अभाव रहेको जनाउँदै यसतर्फ पनि ध्यान दिनु जरुरी रहेको बताउनुभयो । पछिल्ला समयमा यहाँको प्रवर्द्धनलाई विभिन्न सङ्घ संस्थाले जोड दिएका छन् । दगामका पर्यटकीय सम्भावनालाई उजागर गर्न हालै नेपाल आदिवासी जनजाति पत्रकार महासङ्घ ृफोनिजे गण्डकी प्रदेशले प्रवर्द्धनात्मक कार्यक्रम गरेको थियो ।  फोनिज गण्डकीका इन्चार्ज एमबी आस्थाले प्रकृति र संस्कृतिको बरदान दगाम गाउँ प्रवर्द्धनका पर्खाइमा रहेको बताउनुभयो ।

काठमाडौं:  नेकपा एमालेका नेता एवं काभ्रे २ बाट नवनिर्वाचित सांसद गोकुल बाँस्कोटाको भक्तपुरस्थित घर अगाडि भेटिएको शंकास्पद वस्तु नेपाली सेनाले डिस्पोज गरेको छ । प्रेसर कुकरमा शंकास्पद देखिने गरी राखिएको वस्तु सेनाको बम डिस्पोजल टोलीले निष्क्रिय पारेको जिल्ला प्रहरी परिसर, भक्तपुरका एसपी प्रजित केसीले बताए । कुकरमा विष्फोटक पदार्थ चाहिँ नभएको नेपाली सेनाका सहायक रथी नारायण सिलवालले बताए । सिलवालका अनुसार शंकास्पद वस्तुसँगै नेपालको राष्ट्रिय झण्डा र केही पर्चाहरु पनि भेटिएका छन् । प्रहरीका अनुसार एउटा पर्चामा कार्य मोर्चाको नाममा ‘उपत्यकाका ठूला नेताहरुलाई बाहिर भगाऔं’ उल्लेख गरिएको छ । ‘तर्साउन मात्रै खोजिए जस्तो देखिन्छ, कसले राखेको हो भन्ने विषयमा अनुसन्धान गरिरहेका छौं’, केसी भन्छन् । बाँस्कोटाको यही घर निर्माणाधीन भएका बेला २०७६ फागुनमा पनि बिस्फोट भएको थियो । त्यतिबेला नेत्रविक्रम चन्द नेतृत्वको विप्लव समूहले घटनाको जिम्मेवारी लिएको थियो ।

दोलखा:   दोलखाको प्रदेश सभा दुईमा नेकपा एमालेका भरतबहादुर केसी निर्वाचित भएका छन् । मुख्य निर्वाचन अधिकृतको कार्यालय दोलखाका अनुसार केसी १९ हजार ४१४ मत प्राप्त गरी प्रदेश सभा सदस्य निर्वाचित भएका हुन् । उनका निकटत प्रतिद्वन्द्वी नेपाली कांग्रेसका बर्मा लामाले १७ हजार ५९५ मत पाए । नेपाली कांग्रेस दोलखाका सभापति समेत रहेका लामाले मतगणना सकिनु अघि नै हार स्वीकार गदै केसीलाई बधाई दिएका थिए । ’ लामाले कांग्रेसकै कारण आफूले चुनाव हारेको समेत बताए । उनले फेसबुकमा लेखेका छन्, ‘सूर्यमुखी कांग्रेसहरु जसले जित्दा जित्दैको निर्वाचन हराउन सफल हुनु भयो त्यसता नेता तथा कार्यकर्ता र पत्रकार जीहरुलाई समेत बधाई एवं शुभयात्रा भन्न चाहान्छु ।’ लामाको प्रदेश सभामा यो दोस्रो हार हो । यसअघि २०७४ सालको चुनावमा उनी नेकपा माओवादी केन्द्रका विशाल खड्कासँग पराजित भएका थिए । प्रदेश सभामा निर्वाचित भरत केसी भने भिमेश्वर नगरपालिकाका पूर्व मेयर हुन् ।

धनगढी:  बैतडीको पञ्चेश्वर गाउँपालिका–४ की २१ वर्षीया माया लुहारका हत्या आरोपी सशस्त्र प्रहरीका जवान महेन्द्रनगरबाट पक्राउ परेका छन् । मायाको हत्या गरेको आरोप लागेका शिवनाथ गाउँपालिका–४ का भरतराम कोली महेन्द्रनगरबाट पक्राउ परेको सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयले जनाएको छ । प्रदेश प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब महानिरीक्षक (डीआईजी) मोहनकुमार आचार्यले कोली महेन्द्रनगरबाट पक्राउ परेको पुष्टि गरे । उनले विस्तृत विवरण प्राप्त हुन बाँकी रहेको बताए । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी निरीक्षक पुष्कर पन्तले आइतबार बिहान महेन्द्रनगर बजारमा डुलिरहेको अवस्थामा कोलीलाई पक्राउ गरिएको जानकारी दिए । उनलाई बैतडी प्रहरीलाई बुझाइने पन्तले बताए । २२ वर्षीय कोली हुल तथा दंगा तालिम व्यवस्थापन शिक्षालय पोखरामा सशस्त्र प्रहरी जवानका रूपमा कार्यरत थिए । माया गत बुधबार शिवनाथ गाउँपालिकामा घाँटी रेटेको अवस्थामा मृत भेटिएकी थिइन् ।

बाजुरा:   बाजुराको प्रतिनिधि सभा सदस्यमा नेपाली काङ्ग्रेसका उम्मेदवार बद्री पाण्डे विजयी हुनुभएको छ । उहाँले नेकपा (एमाले)का उम्मेदवार कर्णबहादुर थापाको भन्दा पाँच हजार ५४१ मत ल्याएर विजयी हुनु भएको हो । पाण्डेको ३१ हजार ७८९ मत छ , भने उहाँका निकटतम प्रतिद्वन्दी एमालेका उम्मेदवार कर्णबहादुर थापाको २६ हजार २४८ मत  रहेको मुख्य निर्वाचन अधिकृत ढाकाराम पौडेलले बताउनुभयो ।

पोखराः   नेपाली कांग्रेस कास्कीको अपाङ्ग समन्वय शाखाले विपी चोकमा दिप प्रज्वलन गरि अपाङ्ग दिवस मनाएको छ । ३१ औं अन्तरराष्ट्रिय अपाङ्ग दिवसको अवसरमा राखिएको दिप प्रज्वलन कार्यक्रमका प्रमुख अतिथि नेपाली कांग्रेस गण्डकी प्रदेशका सभापति शुक्रराज शर्माले मैनवत्ति बाली कार्यक्रमको उद्घाटन गरेका थिए । कार्यक्रममा बोल्दै शर्माले यो धर्तिमा पूर्ण भएर कोही पनि नजन्मने जानकारी गराएका थिए । उनले भने “यो धर्तिमा जन्मने जो कोही पनि अपूर्ण भएर जन्मन्छ, हामी सबै जन्मजात नै अपाङ्ग छौं । राष्ट्र निर्माणमा सबैको उत्तिकै दायित्व रहन्छ, यो वा त्यो वाहानामा कसैलाई पनि इष्र्या गर्ने, कमजोर ठान्ने अधिकार कसैको रहदैन ।” राष्ट्रियता प्रजातन्त्र र समाजवादको रक्षाको लागि सम्पूर्ण फरक क्षमता भएका नागरिकको पनि उत्तिकै योगदान रहने भएको हुँदा सँग सँगै हातेमालो गरेर राष्ट्र विकासमा अगाडि बढ्नुपर्ने बताउँदै  सभापति शर्माले, “अन्तराष्ट्रिय स्तरमानै फरक क्षमता भएका मानिसहरुले अवसर पाएमा विश्व किर्तिमान राखेको उदाहरणहरु छन् । उनिहरुलाई अवसरको खाँचो छ, राज्यले फरक क्षमता भएका आम नागरिकको प्रतिभाको कदर गर्दै राज्यले सम्मान गरि मनोभावना उच्च बनाउन विशेष योजना तर्जुमा गर्नु आवश्यक छ ।” त्यसैगरी प्रजातन्त्र विना राष्ट्रको विकासको कल्पना समेत नहुने र विपी कोइरालाले प्रजातन्त्र विना राष्ट्रको विकास नहुने स्मरण गराउँदै अरुपार्टी र नेपाली कांग्रेसको फरक भनेको प्रजातान्त्रिक सोंच हो, उनले भने, मानिस जन्मनु भन्दा अगाडिबाट नै पाउने अधिकार भनेको प्रजातन्त्र रहेको र उमेर पुगेर नागरिकता लिएपछि पाउने अधिकार भनेको लोकतन्त्र भएको प्रष्ट पार्दै समृद्ध राष्ट्र निर्माणमा प्रजातन्त्र विना असम्भव रहेको सभापति शर्माले उक्त कार्यक्रममा बताएका थिए । अपाङ्गता अधिकार प्रवद्र्धनका लागि दिप प्रज्वलन कार्यक्रममा नेपाली कांग्रेस गण्डकी प्रदेशका प्रवक्ता माधवप्रसाद बास्तोला (मधु), गण्डकी प्रदेश सदस्य तथा सूचना सञ्चार तथा प्रचार प्रसार विभाग उपप्रमुख शिरोमणी बराल, मुख्य सचिव पदम श्रेष्ठ, पोखरा महानगरपालिका वडा नं. ११ का वडाध्यक्ष प्रेम प्रसाद कर्माचार्य, केन्द्रीय महाधिवेशन प्रतिनिधि तथा कास्की जिल्ला सदस्य मोहन प्रधान, जिल्ला सदस्य विष्णु कार्की, क्षेत्रिय सदस्य विष्णु सिग्देल र प्रदेश प्रतिनिधि टंकप्रसाद बास्तोला लगायतको उपस्थिति रहेको थियो । नेपाली कांग्रेस कास्की जिल्लाका पूर्व सदस्य प्रेम परियारले सञ्चालन गरेको उक्त कार्यक्रम जिल्ला सदस्य तथा कार्यक्रम संयोजक अर्पण कोइरालाको अध्यक्षतामा समापन भएको थियो । 

पोखराः   लेखनाथ क्योकुशिन–कान कराते डोजोले आयोजना गरेको लेखनाथ डोजो जुनियर  फुल कन्ट्याक्ट कराते च्याम्पियनमा पुरुष ५० के.जी तर्फ रोशन गुरुङले गौरव थापालाई पराजित गर्दै स्वर्ण हात पार्दा साजन नेपाली र शुभम थापाले कास्यमा चित्त बुझाए । पुरुष ४५ के.जी तर्फ सम्येक प्रधानले कृष्ण रम्तेललाई पराजित गर्दै स्वर्ण जित्दा अभिशेक पुन र सुबिन श्रेष्ठले कास्य पदक हात पारे । पुरुष ४० के. जी तर्फ बसन्त थापाले युकेश गुरुङलाई स्तब्ध पार्दै स्वर्ण जिते भने किस्मत परियार र आयुष सुनारले कास्यमा चित्त बुझाए । ३५के.जी तौल समुह पुरुष तर्फ अमर थापाले प्रतिक घलेलाई पराजित गर्दै स्वर्ण जिते भने मनोज राना  र सञ्जन गुरुङले कास्यमा चित्त बुझाए । ३० केजी तौल समूहमा पुरुष तर्फ शिषिर थापा पहिलो,अगम भुजेल दोस्रो भए भने रिजस गुरुङ्ग र अनमोल गुरुङले तेस्रोमा चित्त बुझाए । २५ केजी तौल समूहमा एन्स रोका पहिलो रायन नेपाली दोस्रो भने सुलभ बिक र कमल तामाङ तेस्रो भए ।  प्रतियोगितामा महिला तर्फको ३० के.जी तौल समुहमा साङ्छु तामाङ लाई पराजित गर्दै प्रिन्स्मा नेपालीले स्वर्ण जित्दा ज्योत्स्ना थापा र क्रिस्टिना गुरुङले कास्यमा चित्त बुझाए । महिला ४० के.जी तर्फ सुहाना श्रेष्ठले दिलमाँया बुढा मगर लाई हराउँदै स्वर्ण पदक हात पार्दा  सुवाली श्रेष्ठ र आयुषा पन्थी तेस्रो भए । महिला ५० के.जी तर्फ पल्लबी नेपाली प्रथम हुँदा मन्दिपा के.सी दोस्रो भईन साथै दिप्ती थापा र खुस्बु पुन तेस्रो भए । उक्त कार्यक्रममा नवौं राष्ट्रिय खेलकुद प्रतियोगितामा पदक विजेता खेलाडी महिला ५५ केजी तौल समूहकी धनि रानामगर र ४० केजी तौल समूहका अभिषेक तामाङलाई स्वर्ण पदक विजेता बिजेता भएकोमा  सम्मान गरिएको थियो । त्यस्तै ६० केजी तौल समूहका मोसेस कुमाल र ४५ केजी तौल समूहका भाग लिएका नारायण विकले कास्य पदक र प्रतियोगिताका सहभागी भएका सरगम कुमाललाई पनि सम्मान गरिएको थियो । स्वर्ण पदकलाई २ हजार, कास्य लाई १ हजार पाँच सय र सहभागिलाई १ हजार नगद, खादा र सम्मान पत्रद्धारा सम्मान गरिएको थियो ।   प्रतियोगितामा विनोद नेगी, मदन केसी, मुना पुन, सम्राज सेन, मसोसे कुमाल, सरगम कुमाल, राजन विक, अषिम गोर्खाली निर्णयकको भुमिकामा थिए । प्रतियोगितामा ६० जना खेलाडी सहभागी रहेका थिए ।