काठमाडौं । आसन्न प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि तीन वटा प्रदेशमा समानुपातिक निर्वाचन प्रणालीतर्फको मतपत्र ढुवानी सम्पन्न भएको छ । निर्वाचन आयोगका अनुसार आज दोलखा, रामेछाप, सिन्धुपाल्चोक, काभ्रेपलाञ्चोक, ललितपुर, भक्तपुर र काठमाडौं जिल्लामा मतपत्र ढुवानी भएको छ । प्रदेश १, मधेस र बागमती प्रदेशका सबै जिल्लाका सबै निर्वाचन क्षेत्रमा मतपत्र ढुवानी सम्पन्न भइसकेको छ । समानुपातिक निर्वाचन प्रणालीतर्फ दुई करोड २२ लाख २५ हजार मतपत्र ढुवानी भएको आयोगले जनाएको छ । प्रदेश सभातर्फ एक करोड १४ लाख ९९ हजार तथा प्रतिनिधिसभाका लागि एक करोड सात लाख २६ हजार मतपत्र रहेका छन् । ओखलढुङ्गा, सोलुखुम्बु, खोटाङ, भोजपुर, सङ्खुवासभा, धनकुटा, पाँचथर, ताप्लेजुङ, तेह्रथुम, इलाम, झापा, मोरङ, सुनसरी, उदयपुर, सिराहा, सप्तरी, धनुषा, महोत्तरी, नुवाकोट, रसुवा, धादिङ, चितवन, मकवानपुर, बारा, पर्सा, रौतहट, सर्लाही र सिन्धुली जिल्लामा यसअघि नै समानुपातिक निर्वाचन प्रणालीतर्फको मतपत्र ढुवानी भइसकेको आयोगले जनाएको छ । समानुपातिकतर्फ महिलाको सङ्ख्या ५५ प्रतिशत प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि समानुपातिकतर्फ महिला उम्मेदवारको सङ्ख्या ५५ प्रतिशत बढिरहेको देखिएको छ । प्रतिनिसभातर्फ समानुपातिक उम्मेदवारको कूल सङ्ख्या दुई हजार चार सय दुई छ । यसमा महिला उम्मेदवारको सङ्ख्या एक हजार तीन सय १३ छ, भने पुरुष उम्मेदवारको सङ्ख्या एक हजार ८९ छ । निर्वाचन आयोगले सार्वजनिक गरेको तथ्याङ्कअनुसार प्रदेशसभातर्फ महिला समानुपातिक उम्मेदवारको सङ्ख्या दुई हजार चार सय २६ छ । प्रदेशसभाको समानुपातिकतर्फ पुरुष उम्मेदवारको सङ्ख्या एक हजार छ सय २९ छ । प्रदेशसभाको समानुपातिकतर्फ कूल चार हजार ५५ जनाको उम्मेदवारी कायम भएको छ । प्रदेश १ मा चार सय छ महिला र दुई सय ५५ पुरुष, मधेसमा पाँच सय ७० महिला र तीन सय ७७ पुरुष, बागमतीमा चार सय ७१ महिला र तीन सय ५४ पुरुष, गण्डकीमा दुई सय २१ महिला र एक सय ४५ पुरुष, लुम्बिनीमा चार सय तीन महिला र दुई सय ५४ पुरुष, कर्णालीमा एक सय ३१ महिला र ९१ पुरुष तथा सुदूरपश्चिम प्रदेशमा दुई सय २४ महिला र एक सय ५३ पुरुष उम्मेदवार रहेका आयोगले जनाएको छ । आगामी मङ्सिर ४ गते देशभर एकै चरणमा प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचन हुँदैछ । सो निर्वाचनमा ९१ लाख ४० हजार आठ सय छ पुरुष, ८८ लाख ४७ हजार पाँच सय ७९ महिला र एक सय ८५ अन्य गरी कूल एक करोड ७९ लाख ८८ हजार पाँच सय ७० मतदाताले मतदान गर्दैछन् । देशभर १० हजार आठ सय ९२ मतदानस्थल र २२ हजार दुई सय २७ मतदान केन्द्र रहनेछन् ।
भादगाउँ । तिहार नजिकिएसँगै भक्तपुरका पुष्प व्यवसायीलाई फूल टिप्ने चटारो परेको छ । नजिकिँदै आएको तिहारका लागि सयपत्री, गोदावरी र मखमली फूल टिप्ने तथा माला उनेर बाहिरी जिल्लामा पठाउन चटारो परेको हो । तिहार फूलको पर्व हो । भाइटीकामा मखमली फूलको माला अनिवार्य छ भने नेवार समुदायमा लक्ष्मीपूजा, म्हपूजाका लागि सयपत्री, गोदावरी अनिवार्य चाहिन्छ । लक्ष्मी पूजाको दिन घरको मूलढोका सजाउन होस या पसल, कार्यालय, व्यावसायिकस्थल सिंगार्न तिहारमा सयपत्री फूलको माग उच्च हुने गर्दछ । मागअनुसार समयमै फूल पठाउनुपर्ने भएकाले अहिलेदेखि नै कामदार राखेर फूल टिप्ने गरेको भक्तपुरको चाँगुनारायण नगरपालिका–८ वागेश्वरीमा व्यावसायिकरुपमा पुष्पखेती गर्दै आएका युशव मताङ्गीले बताउनुभयो । उहाँले भन्नुभयो, “गएको वर्षमा भन्दा यसपाली फूलको माग बढी छ, तिहार आउन हप्ता दिनमात्र बाँकी छ, मागअनुसार बजारमा फुल पठाउन सकेको छैन, यसपाली बेमौसमी वर्षाले फूलखेतीमा धेरै क्षति पुगेको छ, त्यही भएर उत्पादन भएका फूलहरु समयमै टिपेर माला उनेर काठमाडौँ पठाएको हो ।” तिहारमा लक्ष्मी पूजाको दिन दिपावली गर्न घरको दैलो, झ्याल ढोका, कौशी, बरण्डालगायतका स्थानमा सयपत्री फूलको मालाले सजाएर दियो बाली झिलीमिली पार्ने परम्परा रहेको छ । तिहारमा नेवार समुदायले धनकी देवी लक्ष्मीको पूजा गर्दा लक्ष्मीलाई घरमा भित्र्याउन पालाको दियो राख्ने स्थानमा सयपत्री फूल, मखमली, गोदावरीलगायत पञ्चरङ्गीन फूलको टुक्रा, ताय, जुङ्गेधान र अबिर आसन राखेपछि मात्र दियो बाल्ने परम्परा रहेको छ । भक्तपुरको गुण्डु र ताथलीलाई मखमली, सयपत्री, गोदावरीलगायतका फूलको गाउँ भनिए पनि पछिल्लो समय भक्तपुरका चारै नगरपालिकामा व्यावसायिकरुपमा पुष्प व्यवसाय गर्नेको सङ्ख्यामा वृद्धि भएको छ । केही वर्ष पहिला तिहारका लागि भक्तपुरको बजारमा गुण्डु र ताथलीबाट मात्र फूल बेच्नका लागि आउँथे । अहिले यी दुई ठाउँका मात्र सीमित नभएर चारै नपाका विभिन्न ठाउँबाट बजारमा फूल बेच्ने व्यवसायीले बजार ओगटेको अर्को व्यवसायी श्रीमाया वनमाला बताउनुहुन्छ । पुख्र्यौली पेशा नै फूल व्यवसाय गर्दै आउनुभएका वनमालाले पछिल्लो समय तिहारमा आधुनिक फूलको मालाभन्दा सयपत्री फूलको मालाकै माग बढी रहेको बताउनुभयो । तिहारमा प्लाष्टिक र कपडाका रङ्गीचङ्गी फूलभन्दा किसानले उत्पादन गरेका सयपत्री र गोदावरी फूलको प्रयोग अत्यधिक हुने भएकाले माग झन झन बढ्दै गएको वनामाला बताउनुहुन्छ । “विभिन्न आधुनिक प्लाष्टिक र कपडाका रङ्गीन फूलभन्दा हामीले उत्पादन गरेका फूल चोखो, पवित्र र सुन्दर हुनुका साथै सुकेपछि यसलाई बीउकारुपमा पुनःप्रयोग गरी फूलको बोट उत्पादन गर्न मिल्ने भएकाले यसले बजार लिएको हो”, वनमालाले भन्नुभयो । भक्तपुरका पुष्प व्यवसायीले अहिले तिहारका लागि मात्र नभएर विभिन्न भोजभतेर, सेमिनार, पुष्पगुच्छा र विवाहमा गाडी सजाउन मिल्ने बाह्रमहिना उत्पादन हुने जातका सयपत्री, गोदावरी, जरवेरा र कार्नेश फूलखेती गरेको देखिन्छ । भक्तपुरमा उत्पादन गरिएका फूल यहाँका बजारमा मात्र सीमित नभएर काठमाडौँका थोक व्यापारीलाई बिक्री गर्ने र त्यहीँबाट सहरका विभिन्न स्थानमा बिक्रीका लागि जाने गरेको छ । त्यसैगरी यहाँ उत्पादन गरेका अधिकांस सयपत्री फूल पशुपतिमा पठाउने व्यवसायी बताउँछन् ।
दमौली । तनहुँको व्यास नगरपालिका–१ भादगाउँस्थित निर्मल माध्यमिक विद्यालयको प्राङ्गणमा दुई वटा बास्केटबल कोर्ट निर्माण हुँदा यहाँ राष्ट्रियस्तरको खेल सञ्चालन हुनेमा कमैलाई मात्र विश्वास थियो । बास्केटबल कोर्ट निर्माण हुँदा यहाँका स्थानीय खेलाडीले खेल्न पाउनेमा भने धेरै खुसी थिए । राष्ट्रिय खेलकुद परिषद्को लगानीमा विसं २०७७ मा विद्यालय प्राङ्गणमा दुई वटा कोर्ट निर्माण भएका छन् । उक्त बास्केटबल कोर्टमा दमौलीकै खेलाडीले खेल खेल्ने अवसर पाएका छन् भने केहीले प्रशिक्षण लिने अवसर पाएका छन् । निर्मलमा बनेको अन्तर्राष्ट्रिय मापदण्डअनुसारको कोर्टका कारण नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत महिला बास्केटबल प्रतियोगिता तनहुँले गर्ने अवसर प्राप्त गरेको छ । यसअघि महिला बास्केटबल पनि पोखरामै गर्ने तयारी भइसकेको थियो । तर, अनेकौ प्रयासका बीच महिला बास्केटबल यहाँ सञ्चालन भएको छ । “विद्यालयमा बनेको कोर्टका कारण राष्ट्रकै गौरवका रुपमा रहेको नवौँ खेलकुदको एउटा खेल तनहुँले सञ्चालन गर्न पाउनु गौरवको कुरा हो”, निर्मल माविका प्रधानाध्यापक गणेशचन्द्र बस्नेतले भन्नुभयो, “यसले समग्र तनहुँको इज्जत बढाएको छ, साथै विद्यालयको पनि नाम बढेको छ ।” देशभरका बास्केटबल खेलाडी तनहुँमा आएर खेल खेल्दा तनहुँको नाम विश्वमाझ परिचित हुन सक्ने बस्नेतले विश्वास व्यक्त गर्नुभयो । “निर्मलमा बनेको बास्केटबल कोर्ट तनहुँकै गहनाका रुपमा लिनुपर्छ, यसैका कारण आज देशभरका महिला खेलाडी तनहुँ आउने अवसर जुरेको छ, यसले गर्दा यहाँको प्रचारप्रसारमा पनि सहयोग पुगेको छ ।” राष्ट्रिय खेलकुद परिषद्को रु ४० लाख लगानीमा दुई वटा मापदण्डअनुसारको कोर्ट निर्माण भएको जिल्ला खेलकुद विकास समिति तनहँुका अध्यक्ष अनिल पाण्डेले जानकारी दिनुभयो । “पूर्वाधार नभएका कारण जिल्लामा अन्य खेल खेलाउनसक्ने स्थिति थिएन, यहाँको बास्केटबल कोर्ट मापदण्डअनुसारको थियो । तर, केही पूर्वाधार अभावका कारण खेल नहुने हो कि भन्ने चिन्ता थियो”, पाण्डेले भन्नुभयो, “स्थानीय सरकारको सहयोगमा केही पूर्वाधार बनाउन सहयोग पुगेपछि राष्ट्रियस्तरको खेल सञ्चालन गर्ने अवसर पायौँ ।” राष्ट्रिय खेलकुद परिषद्को टोलीले जिल्लामा विभिन्न पूर्वाधारको अनुगमन गरेको थियो । उक्त टोलीले निर्मलस्थित बास्केटबल कोर्टको निरीक्षण गरेको थियो । अन्य खेल जिल्लामा नहुने भएपछि महिला बास्केटबल खेलाउन सकिने निष्कर्ष निकालिएको थियो । परिषद्का सदस्य राजेश गुरुङले महिला बास्केटबल कोर्ट निरीक्षणका क्रममा भन्नुभएको थियो,“कोर्ट वरपरको मैदान सम्याउनका लागि व्यास नगरपालिकाले बजेट सहयोग गरोस्, खेल सञ्चालन हुन्छ ।” परिषद् र जिल्ला खेलकुद विकास समितिको आग्रहबमोजिम व्यास नगरपालिकाले कोर्टको वरपरको जमिन सम्याउन रु सात लाख बजेट सहयोग गरेको छ । सोहीबमोजिम कोर्टको नजिक रहेको जमिन ढलान गरी सम्याइएको छ । खेलमा सहभागी हुन आएका खेलाडी तथा प्रशिक्षकलाई जिल्लाका महत्वपूर्ण धार्मिकस्थल भ्रमणको व्यवस्था मिलाइएको छ । दमौली नजिक रहेका व्यासगुफा, छाब्दीवाराही मन्दिर, मानुङकोट भ्रमणको व्यवस्था मिलाइएको समितिका अध्यक्ष पाण्डेले बताउनुभयो । “नवौँ राष्ट्रिय खेलकुदले जिल्लाको पर्यटन प्रवद्र्धनका लागि सहयोग पुर्याएको छ”, पाण्डेले भन्नुभयो । लुम्बिनी प्रदेशबाट अफिसियलको रुपमा आएका दाङका बिपिन केसीले गण्डकी प्रदेशको एउटा सानो जिल्लामा पनि अन्तर्राष्ट्रिय मापदण्डअनुसारको कोर्ट बन्नु पनि निक्कै महत्वपूर्ण रहेको बताउनुभयो । खेलकुदको सामान्य पूर्वाधानर निर्माण हुदा पनि जिल्लालाइ राष्ट्रियस्तरमा खेलकुदमा चिनाउन र खेलक्षेत्रको गतिबिधी बढाउन सकिने उहाँले बताउनुभयो । बागमती प्रदेशबाट सहभागी खेलाडी अनुषा मल्लले आफ्नै जन्म ठाउँमा आएर खेल्न पाउँदा खुसी लागेको बताउनुभयो । “म जन्मेको तनहुँको भानुमा हो, अहिले काठमाडौँमा बस्दै आएको छु, अहिले पनि तनहुँमा मेरा आफन्तहरु हुनुहुन्छ”, उहाँले भन्नुभयो, “आफ्नै ठाउँमा आएर नवौँ खेलकुदमा सहभागी हुन पाउँदा खुसीको अनुभव भएको छ ।” अखिल नेपाल फुटबल सङ्घ (एन्फा) तनहुँका निवर्तमान वरिष्ठ उपाध्यक्ष मोहनकुमार श्रेष्ठ नर्वौँ खेलकुदको एउटा खेल तनहुँमा हुनु गौरवको कुरा रहेको बताउनुभयो । बास्केटबल खेलाडी एवं प्रशिक्षक कृष्णकुमार श्रेष्ठले नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिताले तनहुँको नाम देशभर चिनिन सहयोग पुगेको बताउनुभयो । श्रेष्ठले यहाँ रहेको कोर्टमा महिला खेलाडी उत्पादन गर्ने उद्देश्यसहित प्रशिक्षण सञ्चालन गर्दै आउनुभएको छ ।
बागलुङ: बागलुङ ढोरपाटनका मीनबहादुर दर्जी मादल बनाउन निकै सिपालु हुनुहुन्छ । उहाँले मादल बनाएर जीविकोपार्जन गर्दै आएको २० वर्ष पूरा भयो । दर्जीले मादल व्यवसायबाटै नौ जनाको परिवार पाल्दै आउनुभएको थियो तर, अहिले मादल बिक्न छोडेपछि गिट्टी कुट्ने र बालुवा बोक्ने गर्नुहुन्छ । मादल व्यवसाय सङ्कटमा परेपछि दर्जीले पेसा बदल्नुपरेको हो । बाउ, बाजे र दाइहरुबाट सिकेको सीपले उहाँलाई सात वर्ष अगाडिसम्म परिवार पाल्न सहज थियो । अहिले छोराहरु विदेश पलायन भए भने छोरीहरु बिहे गरी सके । उहाँले आफूसँग भएको सिप नबिकेपछि पेसा परिवर्तन गर्नुपरेको दुखेसो गर्नुभयो । उहाँ भन्नुहुन्छ, “मलाई पाँचा÷सात वर्ष पहिलेसम्म परिवार चलाउन समस्या थिएन, मादल बिक्री गरेरै नौ जनाको परिवार चलाएको थिए, छोराछोरी पढाएको थिए, अहिले दुई जनाको पेट पाल्न पनि अरु काम गर्नुपर्छ, मादल बिक्री हुँदैन, बिक्री नहुने काम किन गर्ने भनेर त्यो काम गर्नै छोडेँ, अहिले गिट्टी बालुवा कुटेर पेट पालेको छु ।” पहिले बाह्रौँ महिना मादलको माग बढ्ने गरेको र पछि–पछि चाडबाडको बेला ग्राहक आउने गरेको जनाउँदै अहिले मादल बिक्रीनै नहुने उहाँको भनाइ छ । उहाँले कुनै बेला आफूलाई मादल बनाउन भ्याइनभ्याइ हुनेको गरेको स्मरण गर्दै अहिले केही ग्राहक आएपछि आफूले पहिले बनाएर राखेका मादल बेच्ने गरेको बताउनुभयो । अहिले मादलको मूल्यसमेत घटेको दर्जी बताउनुहुन्छ । “मेरो पसलमा पहिले बाह्रैमास मादल किन्ने आउँथे, हरेक महिना कम्तीमा पनि १० वटा मादल बिक्री ग¥थ्यौँ, मलाई मादल बनाउन भ्याइनभ्याइ हुन्थ्यो, बिहान उठेदेखि रातिसम्म नसुतुन्जेलसम्म मादल बनाइरहन्थे कमाइ पनि राम्रो हुन्थ्यो, वर्षमा झण्डै रु पाँच लाख कमाइ गर्थे, मूल्य पनि राम्रै पथ्र्यो”, उहाँले भन्नुभयो, “अहिले मादल किन्न बेला मौकामा एक÷दुई जना मान्छे आउँछन्, उनीहरुलाई पहिले बनाएको मादल दिएर पठाउँछु, पहिलेको जस्तो मूल्य पनि पर्दैन, मैले एउटा मादलको रु १२ सयदेखि पाँच हजारसम्ममा बेच्ने गर्थें ।” दर्जीले तिहारको बेला मादलको बढी माग हुने गरेको बताउनुभयो । गाउँ तथा सहरमा देउसीभैलो खेल्नेले मादल किन्ने गरेको भन्दै अहिले मादलको सट्टा ठूला–ठूलो साउण्ड सिस्टम किन्ने गरेको दर्जीको भनाइ छ । “तिहार आयो की मादल किन्नेको भीड लाग्थ्यो मेरो पसलमा, अहिले मादल किन्नभन्दा ठूला–ठूला स्पिकर किन्छन्, तिहारको गीत पनि गाउँदैनन्, कलाकारले गाएको गीत बजाएर नाच्ने गर्छन्, यसले त देउसीभैलो खेल्ने प्रचलनमा पनि विकृति ल्याएको छ”, उहाँले भन्नुभयो । निसीखोला गाउँपालिका–५ का कुलबहादुर नेपालीले पनि मादल व्यवसाय गरेको १४ वर्ष भयो । उहाँको पनि अचेल मादल कमै बिक्री हुन्छ । वार्षिक आठ सय बढी मादल बेच्ने नेपालीले अहिले ५० वटा पनि बिक्री गर्न नसकेको बताउनुभयो । पहिले आफ्नो पसलमा निसीखोलासँगै, ढोरपाटन, तमान, रोल्पा र रुकुमदेखि मादल किन्ने ग्राहक आउने गरेको स्मरण गर्दै अहिले पसल सुनासन रहेको बताउनुभयो । “चार वर्षौं भइसक्यो मादल निकै कम बिक्छन्, तिहार आउने बेला अलिअलि बिक्री त हुन्छ, यस बेला मात्रै मादल बेचेर दुई महिना पनि खान पुग्दैन, तिहारको बेला त मादल किन्ने ग्राहकको लाइन हुन्थ्यो, मादल पुराउनै सकिन्नथ्यो, अहिले हेर्नुस् त यति धेरै मादल बनाएँ, बिक्री नै हुँदैनन्” नेपालीले भन्नुभयो, “वर्षभरि मादल बनायो, बिक्री हुन्न, अब अरुनै काम गर्नुपर्ने भयो, अब यसबाट परिवार पाल्न सकिने भएन ।” नेपालीले सूचना र प्रविधिको विकासका कारण मादल बिक्रीमा कमी आएको बताउनुभयो । उहाँले मादल मौलिकता र परम्परासँग जोडिएको बाजा भएको भन्दै आधुनिकताले मादल व्यवसाय पनि सङ्कटमा पर्न थालेको बताउनुहुन्छ । अहिले चाडबाड तथा मेला महोत्सवमा मादल, बाजा बज्नै छोडे र बाजाको ठाउँमा ठूलाठूला स्पिकर र साउण्ड सिस्टमको प्रयोग हुन थालेको नेपालीको भनाइ छ । “आजभन्दा १० वर्ष पहिले गाउँमा मादलको महत्व निकै थियो, मेला महोत्सव, विवाह व्रतबन्धमा मादल घन्किने गर्थे, विद्युत्को पहुँच थिएन, माइक, स्पिकर र राउण्ड सिस्टमको आएका थिएनन्, अहिले गाउँ–गाउँमा बिजुली बलेका छन्, बिजुली आएपछि मादलको माग घट्यो”, उहाँले भन्नुभयो, “अब मादल र बाजा हराउँदै जाने सम्भावना छ, मेला महोत्सवमा पनि बाजा र मादल बज्न छोडे ।” गाउँ–गाउँमा सूचना प्रविधिको पहुँच पुगेपछि मादल व्यवसायी विस्थापित हुने अवस्थामा पुगेपछि बजारमा विद्युतीय सामग्रीको माग बढी रहेको व्यवसायी बताउँछन् । बागलुङको दोस्रो व्यापारिक केन्द्र बुर्तिबाङ बजारमा विद्युतीय सामग्री बेच्दै आउनुभएका जीवन शर्माले पछिल्लो समय ठूला–ठूला साउण्ड सिस्टम र माइकको माग निकै बढेको बताउनुभयो । उहाँले पहिले–पहिले चाडबाडको समयमा मादलको बिक्री अत्यधिक हुने गरेकोमा अहिले मादल कम र साउण्ड सिस्टम धेरै बिक्री हुने गरेको बताउनुभयो । उहाँ भन्नुहुन्छ, “अहिले बजारमा साना–ठूला साउण्ड सिस्टमको माग निकै बढी रहेको छ, अझ यो तिहारको बेलामा त झन बढी माग हुने गरेको छ, पहिले–पहिले मादल बेच्ने व्यापारीलाई भ्याइनभ्याइ हुन्थ्यो, अहिले उनीहरुको व्यवसाय सुक्दै गएको छ, अहिले त मेला महोत्सव जताततै साउण्ड सिस्टम घन्किन्छन्, मादल त बज्नै छोडे, केही वर्ष अगाडिसम्म त गाउँमा जाँदा मादल बाजा घन्किने गरेको पाइन्थ्यो, अहिले त जताततै साउण्ड सिस्टममा गीत मात्रै सुनिन्छन् ।”
काठमाडौं । अमेरिकाको ओहायो राज्यमा सम्पन्न नेपाली भाषीको सबैभन्दा ठूलो भलिबल प्रतिस्पर्धा ‘इन्ट्रा कप’ भलिबलमा सुदूरपश्चिम नेपाली समाज, टेक्सासको टिम पुरुषतर्फ प्रथम भएको छ । अमेरिकी समयानुसार आइतबार साँझ (नेपालको समयानुसार आज बिहान) सम्पन्न भएको फाइनल खेलमा सुदूरपश्चिमले पेन्सिलभेनिया राज्यको नेपाली भाषी टिम योङ ब्लडलाई पराजित गरेको थियो । पाँच सेटको निर्धारित खेलमा तीन–एक को सेटमा सुदुपश्चिम समाज विजयी भएको थियो । सो टिमको नेतृत्व नेपालको राष्ट्रिय भलिबल टिमका क्याप्टेन भइसकेका कैलाश भट्टले गर्नुभएको थियो । प्रथम हुने सुदूरपश्चिम टिमले आठ हजार पाँच सय अमेरिकी डलर पुरस्कार जितेको छ भने दोस्रो हुने योङ ब्लड टिमले छ हजार पाँच सय डलर पुरस्कार पाएको छ । यसैगरी महिलातर्फ आठ टिम सहभागी भएकामा बी वाइएससी, मिनिसोटाले फाइनलमा जीत हात पारेको छ । सो टिमले फ्रेन्डसिप क्लब कोलम्बसलाई लगातार तीन सेटमा पराजित गरेको थियो । विजयी टिमले तनि हजार पाँच सय अमेरिकी डलर पुरस्कार जितेको छ । दोस्रो हुने फ्रेन्डसिप क्लबले दुई हजार पाँच सय र तेस्रो हुने सर्भाभर क्लबले एक हजार डलर पुरस्कार प्राप्त गरेका छन् । प्रतियोगितामा मोष्ट भ्यालुएबल प्लेयरको उपाधि सुदूरपश्चिमका भट्टले नै जितेको थियो भने महिलातर्फ कोलम्बसकी भीमा मैनालीले जित्नुभयो ।
पोखरा । एथलेटिक्सको ट्रयाक इभेन्टमा त्रिभुवन आर्मी क्लबले वर्चश्व जमाएको छ । पोखरा रंगशालामा सोमबार बिहान भएका ३ इभेन्टमध्ये २ वटामा आर्मीले स्वर्ण आफ्नो पोल्टामा पारेको छ । ११० मिटर हर्डल्स पुरुषमा आर्मीका जीवन चौधरीले स्वर्ण जिते । उनले निर्धारित दुरी १५.०३ सेकेन्डमा पार गरे । नेपाल पुलिसका चन्द्रदेव जोशीले १५.८१ सेकेन्डमा दुरी पार गर्दै रजत पदक जिते । आर्मीकै रामप्रसाद थारु १९ सेकेन्डमा दुरी पार गर्दै काँस्य पदक जिते । १०० मिटर हडल्स महिला आर्मीकी जयरानी थापाले स्वर्ण पदक जितिन् । उनले १ सय मिटर दुरी १५.६९ सेकेन्डमा पूरा गरिन् । रजत पदक आर्मीकी निर्मला थापाले १६.२५ सेकेन्डमा पार गर्दै हात पारिन् । एपीएफकी भगिरथी कुमारी थारुले १९.१३ सेकेन्डमा पूरा गर्दै काँस्य पदक जितिन् । ३ हजार मिटर स्टीबल चेष्टमा आर्मीका दुर्गबहादुर बुढाले कीर्तिमानसहित स्वर्ण जिते । उनले ८ मिनेट ५५.१९ सेकेन्डमा दुरी पार गरे । अजित यादवले ९ मिनेट २१.१० सेकेन्डमा पुरा गर्दै रजत पदक जिते । काँस्य पदक त्रिभुवन आर्मीका सुवास कार्कीले प्राप्त गरे । उनले ९ मिनेट २२.१५ सेकेन्डमा पार गरे ।
चितवन । दशैँ र तिहारजस्ता पर्वमा सबै रमाइरहँदा नेपाल प्रहरी भने झन बढी सजगताका साथ काममा खटिनुपर्छ । सार्वजनिक बिदा होस् वा पर्व उनीहरुका लागि जुनसुकै बेला काममा जाने मनस्थितिमा तयारी रहनुपर्छ । सबैले घरघरमा पर्व मनाइरहँदा उनीहरु सडकमा जनता र देशका लागि सुरक्षा दिइरहेका हुन्छन् । यसरी खटिने प्रहरीले न शुक्रबारको आधा दिन मात्रै काम गरे पुग्छ, न बिदा र चाडपर्वमा अन्य कर्मचारीसरह बिदा पाउँछन् । यसो त अन्य समयमा पनि जुनसुकै बेला कामका लागि तयारी हुनुपर्दछ । परिवार सँगसँगै रहेर सेवा गर्ने मौका उनीहरुलाई कमै मात्र पाउँछन् । सरकार तलब भत्ता खुवाउने फौजीबाहेकका सबै कर्मचारीको भन्दा पृथक र कडाइका साथ उनीहरु खट्नु पर्छ । यसरी खट्दै गर्दा अन्यको भन्दा धेरै पारिश्रमिक पनि उनीहरुले पाउँदैनन् । थोरै पारिश्रमिकमा आफ्नो जीवनको उर्वर समय उनीहरुले राष्ट्रलाई दिइरहेका हुन्छन् । उनीहरुले पाउने पारिश्रमिक श्रमका आधारमा नगण्य हुने गर्दछ । घरपरिवारबाट टाढा रहेर रातदिन खट्ने प्रहरी जवानको पारिश्रमिक रु २६ हजार ८२ मात्रै रहेको छ । यो उनीहरुको परिश्रमको आधारमा न्यून हो । यही सङ्गठनले आज ६७ औँ स्थापना दिवस विविध कार्यक्रम आयोजना गरी मनाउँदै छ । एउटा उत्सवको रुपमा प्रहरी दिवस मनाइरहँदा जिल्ला प्रहरी कार्यालय चितवनमा कार्यरत प्रहरी सहायक हवल्दार भीमबहादुर लायोमगर निकै उत्साहका साथ दिवसलाई सफल बनाउन लागि रहनुभएको छ । उहाँले भन्नुभयो, “हाम्रो लागि प्रहरी दिवस एउटा उत्सव हो । यसलाई रमाइलो गरेर मनाउनुपर्छ ।” प्रहरी सङ्गठनभित्र काम गर्दा पाउने दुःखलाई बिर्सिएर उत्सवको रुपमा दिबस मनाउने गरेको उहाँले सुनाउनुभयो । उहाँले थप्नुभयो, “२४ घण्टा कार्यक्षेत्रमा रहँदा हुने हरेक किसिमका समस्यालाई समाधान गर्ने बानी परेको छ ।” जुनसुकै कामलाई पनि सकारात्मक रुपमा लिएर काम गर्दा सहज हुने उहाँको भनाइ छ । आफूले पाउने पारिश्रमिकको हिसाब नगरी कर्म क्षेत्रमा खटिने गरेको उाहँ बताउनुहुन्छ । लायो मगरले भन्नुभयो, “बाहिर हेर्दा आहा भए पनि भित्र काममा हुने दुःख कस्ले बुझेको छ र ।” न कुनै चाडपर्व, न कुनै समय सधै जनताको सेवामा लाग्नु पर्दा पाईने दुःखलाई बाहिरका कस्ले बुझ्ने रु उहाँले प्रश्न गर्नुभयो । जे भए पनि प्रहरी सङ्गठनमा लागेर जनता र राज्यको सेवा गर्न पाउनु खुसीको कुरा रहेको उहाँले बताउनुभयो । यस्तै उत्साही देखिँदै हुनुहुन्थ्यो प्रहरी सहायक हवल्दार चिजकुमार श्रेष्ठ । उहाँ प्रहरी सेवामा लागेको १६ वर्ष भएछ । उहाँमा प्रहरी सङ्गठनप्रतिको मायाँ उत्तीकै छ । उहाँले भन्नुभयो, “सङ्गठनले दिएको जिम्मेवारी हर हालतमा पूरा गर्छांै ।” जस्तोसुकै दुःखमा पनि काम गर्ने बानी सङ्गठनले बनाइदिएको उहाँको भनाइ छ । प्रहरी सेवा भनेको नै कठिनभन्दा कठिन काम गर्नका लागि भएको उहाँले बताउनुभयो । उहाँले भन्नुभयो, “प्रहरीमा प्रवेश गर्न सुरुआती कठिन हुन्छ । त्यसपछि तालिम र कार्यक्षेत्रमा खटिँदा झनै कठिन हुन्छ ।” बाहिर देख्नेले सहज देखे पनि संगठनको नियम कानुनमा बसेर काम गर्न कठिन हुने उहाँले बताउनुभयो । उहाँले भन्नुभयो, “चाड पर्ब, मेला, महोत्सव भन्ने कुरा सम्झने हो ।” देश र जनताको सेवामा लाग्न पाउनु नै खुसीको कुरा रहेको उहाँको भनाइ छ । कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक विजयराज पण्डित अन्य क्षेत्रमा भन्दा फौजीको काम कठिन नै हुने बताउनुहुन्छ । यहाँ काम गर्दा पर्ने हरेक समस्यालाई सहजताका साथ लिन सके हरेक काम गर्न सकिने उहाँले बताउनुभयो । कुनै पनि फौजमा बाहिर देखेभन्दा कठिन हुने उहाँको भनाइ छ । घाम–पानी, घर–परिवार नभनी देश र समाजको सुरक्षामा खटिनु गर्वको कुरा भए पनि यहाँ काम गर्दा आइपर्ने समस्या बाहिरकाले बुझ्न कठिन हुने उहाँले बताउनुभयो । उहाँले भन्नुभयो, “२४ घण्टा कार्यक्षेत्रमा खटिनु पर्दा जटिल कति हुन्छ रु” यसलाई उचित व्यवस्थापन गरेर अघि बढ्नुपर्ने उहाँको भनाइ छ । व्यवस्थापन गर्नसके प्रहरी पेसा राम्रो रहेको उहाँले बताउनुभयो । कार्यालयका प्रमुख प्रहरी उपरीक्षक नवराज अधिकारीले नेपाल प्रहरीले चाडपर्व, बिदा भन्न नपाउने बताउनुहुन्छ । अन्य कर्मचारी घरमा चाडपर्व मनाइरहँदा आफूहरु सडक वा ब्यारेकमा रहेर सेवामा जुट्नुपर्ने उहाँको भनाइ छ । उहाँले भन्नुभयो “परिश्रमको आधारमा पारिश्रमिकलाई तुलना गर्न सकिँदैन ।” सरकारका अन्य कर्मचारीले दैनिक घडी हेरेर काम गर्न पाउने भए पनि प्रहरी जुनसुकै बेलामा पनि काममा खटिनुपर्ने उहाँको भनाइ छ । प्रहरी दिवसका अवसरमा प्रहरीको मनोबल बढाउनुपर्ने उहाँले बताउनुभयो । थोरै जनशक्तिले धेरै काम गर्नुपर्ने बाध्यता आफूहरुसँग रहेको उहाँको भनाइ छ ।
पोखरा: बक्सिङ प्रतियोगिताको दोस्रो दिनमा पनि विभागीय टोलीकै हावी देखिएको छ । पोखरा रंगशाला अन्तर्गत बक्सिङ हलमा सञ्चालन गरिएको प्रतियोगितामा महिला र पुरुषतर्फ विभागीय टोली नै अगाडि छ । पुरुषतर्फ पहिलो चरणमा भएको खेलमा आर्मीका सुशील थापाले ४.१ नम्बर ल्याएर कर्णालीका मोहन गुरुङलाई पराति गरे ।३.२ अंक प्राप्त गर्दै लुम्बिनीका सुरज ओलीले सुदूरपश्चिमका चिरन्जीवी खड्कालाई पराजित गरे । अंक सहित एपीएफका प्रदीप महर्जनले कर्णालीका जीवनकुमार पुनलाई पराजित गरेका छन् । सुदूरपश्चिमका रन्जन भट्टलाई हराउँदै बागमतीका लालप्रसाद उप्रेतीले ५ नम्बर ल्याए । पुलिसका शम्भुराज बंशीलाई हराउँदै आर्मी क्वलका प्रेम चौधरीले ५ नम्बर ल्याए । बागमतीका सुरज महर्जनलाई हराउँदै एनआरएनका शिवु थापा विजयी भए । आर्मीका सुदीप श्रेष्ठलाई हराउँदै गण्डकीका बुद्ध ग्याम्जो लामा, प्रदेश १ का बलबहादुर पुनलाई हराउँदै गण्डकीका निश्चल गुरुङ, पुलिसका निकेश देशाहीलाई हराउँदै आर्मीका पुरन सुनुवार विजयी भए ।
बागलुङ । बागलुङमा जारी आइटिएफ तेक्वान्दो प्रतियोगितामा विभागीय टिम नेपाल आर्मी सात स्वर्ण पदकसहित अग्रस्थानमा छ । अहिलेसम्मका खेलमा बागमती प्रदेशले तीन र गण्डकीले एक स्वर्ण जितेको छ । एकल प्याटर्नमा ६ र टिम प्याटर्नमा एक स्वर्ण जित्दै आर्मीले जारी प्रतियोगितामा आफ्नो वर्चश्व कायम गरेको हो । आइतबार भएको पुरुष टिम प्याट्रनमा नेपाल आर्मी र महिला टिम प्याट्रनमा बागमती प्रदेशले स्वर्ण हात पारेको हो । पुरुष टिम प्याट्रनमा गण्डकी प्रदेश र महिलातर्फ नेपाल आर्मीले रजत पदकमा चित्त बुझायो । महिलातर्फ ‘ब्ल्याक बेल्ट’ दोस्रो डानमा आर्मीकी रिना धिमालले गण्डकी प्रदेशकी सुश्मिता थापालाई पराजित गर्दै स्वर्ण पदक हात पारिन् । गण्डकीकी थापा रजत पदकमा सीमित बनिन् । ‘ब्ल्याक बेल्ट’ तेस्रो डानमा बागमतीकी रुबिका खड्काले स्वर्ण र आर्मीकी निष्मा बस्यालले रजत पदक जितेकी छन् । ‘ब्ल्याक बेल्ट’ पहिलो डानमा बागमती प्रदेशका सचिना सुनुवारले स्वर्ण र नेपाल आर्मीका हिमा खड्काले रजत पदक हाँसिल गरेकी हुन् । पुरुषतर्फ ‘ब्ल्याक बेल्ट’ दोस्रो डानमा आर्मीका पूर्णबहादुर मगरले स्वर्ण पदक हासिल गरे । गण्डकी प्रदेशका राजन रेग्मीले रजत पदकमा चित्त बुझाए । ‘ब्ल्याक बेल्ट’ तेस्रो डानमा नेपाल आर्मीका सुमन मस्राङ्गी मगरले स्वर्ण र लुम्बिनी प्रदेशका वीरेन्द्र बुढा मगरले रजत पदक जितेका छन् । प्रतियोगिताको पहिलो दिन शनिबार भएका खेलमा आर्मीले तीन र गण्डकी प्रदेशले एक स्वर्ण जितेको थियो । ‘ब्ल्यू बेल्ट’तर्फ पुरुष एकल प्याटर्नमा आर्मीका धनसिंह परियारले स्वर्ण र लुम्बिनीका सफल परियारले रजत पदक हात पारे । ‘रेड बेल्ट’मा गण्डकी प्रदेशका भीम गाहाले स्वर्ण पदक जित्दा र लुम्बिनीका सन्देश सुनार रजत पदकमा सीमित बने । ‘ब्ल्याक बेल्ट’ पहिलो डानमा आर्मीका भीमबहादुर तामाङले स्वर्ण र गण्डकीका प्रविण बुढाले रजत पदक हात पारे । ‘ब्ल्यू बेल्ट’ महिलातर्फ गण्डकीकी मोनिका कुँवरलाई पराजित गर्दै आर्मीकी सुस्मिता श्रेष्ठले स्वर्ण पदक हाँसिल गरिन् । कुँवरले रजत जितिन् । अहिलेसम्म गण्डकी प्रदेशले एकल प्याटर्नमा एउटा मात्र स्वर्ण जित्न सफल भएको छ । बागमतीले भने एकलमा दुई र टिम प्याटर्नमा दुर्ई स्वर्ण हात पारेको छ । स्पाइरिङतर्फको पहिलो खेल आइतबार नै सुरु भए पनि समय नपुगेका कारण फाइनल खेलाउन नसकिएको नेपाल आइटिएफका महासचिव अञ्जु रावतले जानकारी दिइन् । आज हुने फाइनल खेलमा गण्डकी प्रदेशका खगेन्द्रबहादुर घर्ती र कर्णाली प्रदेशका मिलन धामीबीच प्रतिस्पर्धा हुने नेपाल आइटिएफका महासचिव अञ्जु रावतले जानकारी दिइन् । शनिबारदेखि सुरु भएको आइटिएफमा एकल स्पाइरिङ, टिम स्पाइरिङ, एकल प्याटर्न र टिम प्याटर्नका खेल भइरहेका छन् । प्रतियोगितामा सात प्रदेश र तीन विभागीय टिमका दुई सय ५० खेलाडी सहभागी छन् । आइटिएफमा ४५ स्वर्ण, ४५ रजत र ३० कास्य पदकका लागि खेलाडीहरू प्रतिस्पर्धामा छन् । स्थानीय बाङ्गेचौर खेल मैदानमा प्रतियोगिता चलिरहेको छ ।