काठमाडौं: मंगलबार नेपाली बजारमा सुनको मूल्यमा सामान्य गिरावट आएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार अघिल्लो दिनको तुलनामा छापावाल सुन तोलामा २०० रुपैयाँ घटेर एक लाख रुपैयाँमा कारोबार भएको हो । सोमबार छापावल सुन प्रतितोला १ लाख २०० रुपैयाँ रहेको थियो । यस्तै मंगलबार तेजावी सुन प्रतितोला ९९ हजार ५०० रुपैयाँमा कारोबार भएको छ । यसैगरी चाँदी तोलामा १३९० रुपैयाँमा कारोबार भएको महासंघले जनाएको छ । हिजो पनि चाँदी सोही मूल्यमा कारोबार भएको थियो ।
काठमाडौं: रेशम चौधरीलाई रिहा गर्ने गरी सरकारले ल्याएको अध्यादेश राष्ट्रपति कार्यालय शीतल निवास पुगेको छ। राष्ट्रपति कार्यालयका संचार विज्ञ टीका ढकालले अध्यादेश आइपुगेको जानकारी दिए । आइतबार बसेको मन्त्रिपरिषद बैठकले राजनीतिक आन्दोलनमा सहभागी भएकाहरुको मुद्दा फिर्ता लिने गरी मुलुकी फौजदारी कार्यविधि संहिता संशोधन गर्न अध्यादेश ल्याएको थियो । उक्त अध्यादेश जारी गर्न राष्ट्रपतिसमक्ष पठाइएको हो । अध्यादेशमाथि राष्ट्रपतिको निर्णयबारे पूर्वानुमान गर्न नसकिने सञ्चार विज्ञ ढकाल बताउँछन् । ‘बल्ल अध्यादेश आएको छ,’ उनले भने, ‘सरकारले आफ्नो कुरा प्रष्ट पार्ला । राष्ट्रपतिले के गर्नुहुन्छ भन्नेबारे पूर्वमान गर्न सकिदैन ।’ सत्तास्वार्थका लागि कैलालीको टीकापुर घटनामा जन्मकैदको सजाय भोगिरहेका रेशम चौधरीलाई छुटाउन अध्यादेश ल्याइएको भन्दै सरकारको विरोध भइरहेको छ । सरकारले भने हिंसात्मक गतिविधिमा संलग्नलाई मूलधारमा ल्याउन अध्यादेश ल्याएको भन्दै बचाउ गरिरहेको छ।
काठमाडौं: राष्ट्रिय मानव अधिकार आयोगले फौजदारी मुद्दा फिर्ता लिन सहज हुने गरी ल्याउन लागेको अध्यादेशका विषयमा सरकारसँग जानकारी माग गरेको छ । सोमबार बसेको मन्त्रिपरिषद बैठकले टीकापुर घटना लगायत राजनीतिक प्रकृतिका घटनाको फौजदारी मुद्दा फिर्ता लिन सहज हुने गरी अध्यादेश ल्याउने निर्णय गरेको थियो । सरकारको निर्णयबारे सञ्चार माध्यमबाट थाहा पाएको भन्दै आयोगले यस विषयमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयसँग यथार्थ विवरण माग गरेको जनाएको छ । ‘आयोगले यस सम्बन्धमा यथार्थ विवरण माग गर्दै आज नेपाल सरकार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयलाई पत्राचार गरेको छ’ प्रवक्ता डा.टीकाराम पोखरेलले जारी गरेको विज्ञप्तिमा भनिएको छ ।
बागलुङ: बागलुङको एक होटलमा लगि तीन नाबालिगलाई जबरजस्ती करणी गरेको आरोपमा तीन किशोर पक्राउ परेका छन् । गण्डकी प्रदेश प्रहरीका प्रहरी वरिष्ठ उपरिक्षक शारदा प्रसाद चौधरीका अनुसार पोखरा बस्ने तीन नाबालकलाई बागलुङकै विभिन्न स्थानबाट पक्राउ गरिएको हो । पक्राउ परेका उनीहरुले गत २४ गते पर्वतको कुष्मा नगरपालिकाका तीन जना नाबालिगलाई बागलुङ नगरपालिका २ स्थित समिटचोकमा रहेको होटलमा लगेर जबरजस्ती करणी गरेको अनुसन्धानबाट खुलेको एसएसपी चौधरीले बताए । उनीहरुलाई जिल्ला प्रहरी कार्यालय बागलुङले हिजो ९आइतबार० बेलुकी ५ बजे पक्राउ गरि थप अनुसन्धान अघि बढाइएको गण्डकी प्रदेश प्रहरीले जनाएको छ ।
काठमाडौं: साताको दोस्रो दिन सेयर बजार मापक बढेको छ । सेयर बजार मापक नेप्से परिसूचक करिब १७ अंकले बढेको हो । साताको पहिलो दिन भने बजार घटेको थियो । नेपाल स्टक एक्सचेन्ज (नेप्से) का अनुसार आज १५८ कम्पनीका सेयरको मूल्य बढेको छ भने ४१ कम्पनीका सेयरको मूल्य बढेको छ । ४४ लाख ७० कित्ता सेयर १ अर्ब ३६ करोड रूपैयाँमा खरिद बिक्री भएका छन् । नेप्सेका अनुसार आज समिट लघुवित्त र सीवाईसी नेपाल लघुवित्तको सेयर मूल्य १० प्रतिशत बढेको छ । यस्तै, नेपाल टेलिकमको सेयर मूल्य ७.४६ प्रतिशतले बढेको छ । आज मूल्य धेरै घट्नेमा ग्लोबल आईएमई व्यालेन्स फण्ड १ को ९.९३ प्रतिशत र कुमारी धनबृद्धि योजनाको ५.७१ प्रतिशतले मूल्य घटेको छ । सबैभन्दा धेरै रकमको सेयर कारोबार भने नविल बैंकको २१ करोड ३२ लाख रूपैयाँ बराबरको सेयर कारोबार भएको छ । नविल बैंकको सेयर प्रतिकित्ता ८१५ रूपैयाँमा कारोबार बन्द भएको छ । यस्तै, कुमारी बैंकको १० लाख ७७ हजार कित्ता प्रमोटर सेयरको पनि आज कारोबार भएको छ ।
पाल्पा: पाल्पा जिल्लामा अघिल्लो वर्षको तुलनामा यस वर्ष धान उत्पादन बढेको छ। यस वर्ष जिल्लामा ३२ हजार १९ मेट्रिक टन उत्पादन भएको कृषि ज्ञान केन्द्र पाल्पाका प्रमुख कामना अधिकारीले बताए। जिल्लामा यस पटक आठ हजार दुई सय १० हेक्टर क्षेत्रफलमा धानखेती गरिएको हो। 'उत्पादन लिने समय केही ठाउँमा रोग किराको महामारीका बाबजुत धेरै ठाउँमा उत्पादकत्वमा वृद्धि र यस वर्ष क्षेत्रफल विस्तार भएकाले उत्पादन बढेको छ, उनले भने,‘धान स्याहार्ने समयमा धान बालीलाई रोग किराले सताउँदा पनि उत्पादनमा सोचेभन्दा कम असर परेको छ।’ गत वर्ष जिल्लामा आठ हजार दुई सय छ हेक्टर क्षेत्रफलमा ३१ हजार चार सय २८ मेट्रिक टन धान उत्पादन भएको ज्ञानकेन्द्रले जनाएको छ। धानखेतीमा आधुनिक प्रविधिको प्रयोग बढ्नु, कृषि प्राविधिकले सिफारिस गरेका उन्नत जात तथा हाइब्रिड जातको बीउ प्रयोगजस्ता कारणले उत्पादन बढेको ज्ञानकेन्द्रका सूचना अधिकारी मिलन गैरेले जानकारी दिए। गत वर्षको उत्पादन हेरेर यस वर्ष दुई प्रतिशतले उत्पादन बढेको पाइएको छ। यहाँका कृषकले सावित्री, हाइब्रिड, साँवा मन्सुली, युएस–३१२, शान्ति, खुमल, सिरिज, खुमल–३, सुक्खा धान लगाउँदै आएका छन्। रैथाने जात भने पछिल्ला वर्षमा कमै लगाइन्छ। उत्पादन धेरै लिन कृषकले उन्नत जात लगाउने गरेका हुन्। धान लगाउने समयमा पर्याप्त वर्षा, नहर कुलोका संरचना पक्की बन्ने क्रम बढेकाले बाँझिएका जमिनमा धान लगाउने किसान बढेका छन्। धान स्याहार्न थ्रेसर मेसिन, रोप्ने बेला ट्र्याक्टरको सुविधाले खेती गर्न सजिलो भएपछि हिजो धान नलगाएर खाली राखिएका जमिनमा धान फलाउने क्रम जिल्लामा बढ्दो देखिन्छ।
काठमाडौं: माइक्रो ब्लगिङ साइट ट्वीटरबाट साढे एक अर्ब ट्वीटर अकाउन्टहरु डिलिट हुने भएका छन् । ट्वीटरका सीईओ एलन मस्कले शुक्रबार एक अर्को महत्वपूर्ण निर्णय लिने क्रममा डेढ अर्ब वटा खाता हटाउने घोषणा गरेका हुन् । मस्कले १५० करोड ट्वीटर अकाउन्ट डिलिट गर्नुपर्नाको कारण पनि उल्लेख गरेका छन् । ट्वीटरमा स्पेस फ्री गर्नका लागि वा ठाउँ खाली गराउनका लागि करोडौं अकाउन्ट डिलिट गर्नुपरेको मस्कले ट्वीटमार्फत् बताएका छन् । ट्वीटरबाट कस्ता कस्ता अकाउन्टहरु डिलिट गरिनेछ भन्ने पनि मस्कले प्रष्ट पारेका छन् । आफ्नो अघिल्लो ट्वीटमा रिप्लाई गर्दै उनले कैयन् वर्षदेखि लगइन नै नगरिएका वा कुनै ट्वीट नगरिएका अकाउन्टहरू डिलिट गरिने मस्कको भनाइ छ । यसरी वर्षौंदेखि निष्क्रिय रहेका ट्वीटर खाताहरु अब डिलिट हुनेछन् । एजेन्सी
काठमाडौं: एमाले नेता भीम रावलले अहिले सरकारले अध्यादेश ल्याउन खोज्नु कानुनी शासनको धज्जी उडाउनुसरह हुने बताएका छन् । हत्या अभियोगमा जेलमा रहेका रेशम चौधरीसहितका व्यक्तिलाई आम माफी दिनेगरी सरकारले अध्यादेश ल्याउन खोजेपछि रावलले आपत्ति जनाएका हुन् । ‘सरकारमा सहभागी दलहरूले कानुनी शासनको धज्जी उडाउँदै अध्यादेशद्वारा सत्ता स्वार्थ पूर्ति गर्न खोज्नु खेदजनक छ,’ नेता रावलले भनेका छन्, ‘यो नेपाली जनताको जनादेशको समेत घोर अपमान हो ।’ जिल्ला अदालतमा विचाराधीन मुद्दा मात्रै सरकारले फिर्ता लिन सक्ने व्यवस्थामा संशोधन गरी सरकारले जुनसुकै अदालतमा विचाराधीन मुद्दा पनि फिर्ता लिन सक्नेगरी अध्यादेश ल्याउने निर्णय गर्नु कुशासन बढाउन काम भएको उनको भनाइ छ ।
पोखराः कैलालीको लम्कीचुहा नगरपालिकाकी मेयर सुशिला शाहीले पत्रकारलाई बन्धक बनाई समाचार प्रयोजनार्थ खिचिएको भिडियो डिलिट गर्न लगाएकी छिन् । पछिल्लो समय सवारीसाधन खरिदमा आलोचित भएकी मेयरले आइतबार न्यूज २४ टेलिभिजन रिपोर्टर खेम ढुंगानालाई बन्धक बनाएकी हुन् । नगरपालिकाको सवारी साधन निजी घर निर्माणमा प्रयोग गरेको दृश्य ढुंगानाले कैद गरेपछि मेयर शाहीले उनलाई नजिकैको होटलमा २ घण्टा बन्धक बनाएकी बनाएकी हुन् । बन्धक बनाएपछि भिडियो फुटेज डिलिट गर्न लगाएको पत्रकार ढुंगानाले बताएका छन् । घटनाबारे जानकारी पाएर पुगेका इलाका प्रहरी कार्यालयका प्रहरी निरीक्षक भरत शाहकै उपस्थिति जबर्जस्ती भिडियो डिलिट गराइएको हो । भिडियो लिइरहेकाबेला शाहीले ‘अझैपनि भिडियो खिचिराख्छस्, अझै रेकर्ड गरिराख्छस्’ भन्दै मोबाइल फोन खोस्ने प्रयास गरेकी थिइन् । यस घटनापछि मेयर शाहीले मोबाइल फोन स्वीच अफ गरेकी छिन् भने कार्यालयको नम्बर पनि सम्पर्क हुन नसक्ने बनाइएको छ । त्यस्तै, अन्य नम्बरमा सम्पर्क गरी जानकारी लिने क्रममा साढे ११ बजेसम्म पनि शाही कार्यालयमा अनुपस्थित छिन् । आइतबार भएको घटनाबारे उपमेयरले भर्खरै जानकारी पाएको भन्दै आफु सुगरका बिरामी भएकाले केहि छिनपछि कार्यालय गएर बुझ्ने प्रतिक्रिया दिएकी छिन् । घटनापश्चात् प्रेस चौतारी नेपाल, कैलालीले विज्ञप्तीमार्फत मेयर शाहीकोे रवैयाप्रति ध्यानाकर्षण भएको जनाएको छ । रिपोर्टिङ् गर्न गएका बेला बन्धक बनाएर सञ्चार सामाग्रीहरु समेत नियन्त्रणमा लिएको घटनाप्रती प्रेस चौतारी नेपाल कैलालीको गम्भीर ध्यानाकर्षण भएको छ,’ सचिव जनक विष्टले जारी गरेको विज्ञप्तीमा भनिएको छ, ‘उनलाई हातपात गर्दै नियन्त्रणमा लिइ नजिकैको होटलमा दुई घण्टासम्म बन्धक बनाएर गुन्डागर्दी शैलीमा सबै भिडियो डिलिट गराउनु पत्रकारमाथि दुव्यर्वहार र अपमान मात्र नभई प्रेस स्वतन्त्रता र लोकतन्त्रमाथिको प्रहार हो भन्ने हाम्रो ठहर छ ।’ मेयर शाही नेपाली कांग्रेसबाट निर्वाचित हुन् ।

