काठमाडौं:  हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । शनिबार दिउँसो देशभर आंशिकदेखि साधारणतया बदली रहनेछ । जल तथा मौसम विज्ञान विभागका अनुसार कोशी, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेश ल...

  रुपन्देही । गृहमन्त्री बालकृष्ण खाणले सरकारले योग्य व्यक्तिलाई पदक प्रदान गरेको बताउनुभएको छ । गृहमन्त्री खाणले निर्वाचनलाई प्रभावित गर्नेगरी आफ्नो जिल्लाका मानिसहरुलाई पदक वितरण गरेको विपक्षीको आरोपको खण्डन गर्दै उहाँले रुपन्देहीमा योग्य रहेकाले उनीहरुलाई पदक दिइएको बताउनुभएको हो ।     विश्व पोलियो दिवसमा रुपन्देहीमा क्रियाशील रोटरी क्लब एवं रोट्र्याक्ट क्लबले भैरहवामा आयोजना गरेको पोलियो शान्ति र्यालीको समापन कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री खाणले विपक्षीले रुपन्देहीका युवाको मूल्याङ्कन गर्न नसकेको समेत बताउनुभयो । “रुपन्देहीमा धेरै प्रतिभा रहेका छन्, रुपन्देही जिल्ला नै रचनात्मक रहेको छ”, उहाँले भन्नुभयो, “यहाँ पदक दिनुपर्ने अझ धेरै हुनुहुन्थ्यो तर समितिलाई छनोट गर्नुपर्ने बाध्यता रहेको थियो, भविष्यमा उहाँहरुलाई पनि समेट्ने छौँ ।”     रुपन्देहीको विकासमा रोटरी, रोट्र्याक्ट क्लबमा आबद्ध युवाको सहभागिता महत्वपूर्ण रहेको उहाँले बताउनुभयो । जिल्लामा विभिन्न सामाजिक काममा मात्र होइन विभिन्न विपद्का समयमा यस्ता क्लबको सहयोग प्रशंसनीय रहेको उहाँको भनाई थियो ।      पाँच दलीय गठबन्धनमा नेपाली कांग्रेसका तर्फबाट रुपन्देही क्षेत्र नं ३ को  प्रतिनिधिसभा उम्मेदवार रहनुभएका गृहमन्त्री खाणले नेपाल सरकार युवालाई कुलतबाट जोगाउन र आगुऔषधको नियन्त्रणमा लागे पनि एकल प्रयासले मात्र नपुग्ने बताउँदै यसमा युवाले पनि सहकार्य गर्न आग्रह गर्नुभयो ।      उहाँले रुपन्देहीमा गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलले अवसर बढाएकाले युवा विदेश जानुभन्दा यहीँ रचनात्मक व्यवसायमा लाग्न पनि आग्रह गर्नुभयो । गठबन्धनकै तर्फबाट लोसपाबाट प्रदेशसभा उम्मेदवार सन्तोष पाण्डेले रोटरी क्लब र रोट्र्याक्ट क्लबलाई सहरी क्षेत्रका साथै ग्रामीण केन्द्रमा पनि सामाजिक काममा लाग्न आग्रह गर्नुभयो ।      उहाँले अहिले सहरी तथा ग्रामीण क्षेत्रमा पनि लागुऔषध लगायतका कुलतमा युवा फस्दै गइरहेकाले यस्ता क्लबले दुवै क्षेत्रमा निगरानीका साथै सचेतनामूलक काम गर्न सुझाव दिनुभयो ।     ‘अक्टोबर २४’ का दिन विश्व पोलियो दिवस संसारभर मनाउने गरिन्छ । यस दिन पोलियो उन्मूलनका लागि चेतना जागृत गाराउने खालका कार्यक्रमहरु सञ्चालन गर्ने गरिन्छ । हाल विश्वमा पाकिस्तान, अफगानिस्तान र नाइजेरियाबाहेकका देशमा पोलियो रोग छैन । नेपालमा पनि सन् २०१० यता पोलियोका रोगी भेटिएका छैनन् ।          यसै दिवसको अवसर पारेर आज भैरहवामा पोलियो शान्ति ¥यालीको आयोजना गरिएको छ । भैरहवाको बुद्धचोकबाट सुरु भएको शान्ति ¥याली, नारायणपथ, बैंकरोड, नयाँ सडक हुँदै जनकपथमा समापन भएको रोटरी क्लबका राजकुमार गुप्ताले जानकारी दिनुभयो ।

   काठमाण्डौं । प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पाँच दलीय सत्ता गठबन्धन रहरले नभई संविधान र लोकतन्त्रको रक्षाका लागि बनेको स्पष्ट पार्नुभएको छ ।     वाम लोकतान्त्रिक गठबन्धनको बागमती प्रदेशस्तरीय कार्यकर्ता भेलालाई आज यहाँ सम्बोधन गर्दै उहाँले ठूलो सङ्घर्षपछि प्राप्त सङ्घीय लोकतान्त्रिक गणतन्त्र समावेशीसहितको संविधानको रक्षा गर्न गठबन्धन बनेको बताउनुभयो ।     प्रधानमन्त्री देउवाले भन्नुभयो, “नेपालको संविधान सच्चा मानेमा समावेशी छ । तसर्थ संविधानको रक्षा गर्नु हाम्रो पहिलो दायित्व हो । संविधानले भूगोललगायत सबै वर्ग, क्षेत्र र समुदायको प्रतिनिधित्व सुनिश्चित गरेको छ । यस्तो व्यवस्था विश्वमा विरलै पाइन्छ ।”     संविधानअनुसार सबैले आफ्नो हकअधिकारका लगि आवाज उठाउने समावेशी जनताको प्रतिनिधि थलो सबै तहका सरकारमा बनेको उहाँले बताउनुभयो । यसलाई भोलिका दिनमा अझ समृद्ध र परिष्कृतरुपमा अघि बढाउनसके सच्चा मानेमा संविधान कार्यान्वयन हुने उहाँको भनाइ थियो ।     प्रधानमन्त्री देउवाले गठबन्धन आवश्यकताले बनेको बताउँदै यो अपरिहार्य थियो, छ र रहनेछ भन्नुभयो । उहाँले स्थायी शान्ति र लोकतन्त्र, कसैले खोस्न नसक्ने तथा लोकतन्त्र कसैले हटाउन नसक्ने संविधानको रक्षा गरेर अघि बढ्नुपर्नेमा जोड दिनुभयो ।       निर्वाचनको तयारीका लागि देशभर सम्पन्न भएका गठबन्धनका प्रादेशिकस्तरीय भेलामा अत्यन्त स्वःस्फूर्त जनताको सहभागिता रहेको देखिएको उल्लेख गर्दै उहाँले गठबन्धन दलबीच आपसमा सौहार्दपूर्ण वातावरण बनेको बताउनुभयो ।      प्रधानमन्त्री देउवाले सबै मिलेर गठबन्धनलाई जिताउन लाग्नुपर्ने बताउनुभयो । निर्वाचनमा सबैले टिकट पाउन कठिन भएको र त्यो समस्या सबै पार्टीमा रहेको बताउँदै उहाँले गठबन्धन सम्बद्ध पार्टीमा आन्तरिक समस्या भए पनि अहिले झगडा गर्ने बेला होइन भन्नुभयो । साथै उहाँले सबै मिलेर अहिले गठबन्धन टिकाउन र प्राप्त राजनीतिक उपलब्धिको रक्षा गर्नुपर्ने बताउनुभयो ।     विगतमा नेपाली कांग्रेस र तत्कालीन नेकपा (माओवादी) बीच विस्तृत शान्तिसम्झौतामा हस्ताक्षर भई मुलुकमा सदाका लागि शान्ति स्थापना भएको बताउँदै प्रधानन्त्री देउवाले अब देश विकासमा अघि बढ्ने बताउनुभयो ।     प्रधानमन्त्री देउवाले भन्नुभयो, “सबै प्रकारका विभेदको अन्त्य गरी हामी अघि बढ्नेछौँ । भोलिका दिनमा प्रजातन्त्र, राष्ट्रियता, समावेशीताको खिलापमा कोही जान नसक्ने गरी संविधान र लोकतन्त्रको रक्षा गर्नेछौँ ।” अहिलेको राजनीतिक व्यवस्थाअनुसार कुनै दलको एक्लै बहुमत आउने सम्भावना कम देखिएकाले अन्य पार्टीसँग मिलेर अघि बढ्नुपर्ने परिस्थिति बनेको उहाँको भनाइ थियो । गठबन्धनको संस्कृति अझ अघि बढाउनुपर्ने र निर्वाचनमा सबै एकढिक्का भएर लाग्नुपर्नेमा उहाँले जोड दिनुभयो ।

सुर्खेट :  ‘मखमली फूल्दा मार्सी धान झुल्दा बहिनी आउने छिन्, दैलाको तस्वीर छातीमा टाँसी आँसु बगाउनेछिन्’ प्रसिद्ध गायक नारायण रायमाझीले गाएको गीत हो यो । यो गीत सुन्दा अहिले पनि समय–सान्दर्भिक लाग्छ । शरद ऋतुको आगमनसँगै सहर बजार र गाउँघरतिर यो गीत धन्किन थाल्छ ।    यो गीत घन्किन सुरु भएसँगै हिन्दूहरुका चाडपर्व सुरु भएको सङ्केत पनि मिल्छ । दसैँ तिहारको समयमा बज्ने यो गीतले खेतीपाती भित्र्याउने चटारोसँगै नेपाली समाजलाई चाडपर्वले छपक्कै छोपेको आभास दिलाउँछ । पुराना पुस्ताले अहिले पनि भाइटीकामा मखमली र सयपत्री फूल नै खोज्ने गर्दछन् ।    दाजुभाइ र दिदीबहिनीबीचको सम्बन्ध प्रगाढ बनाउने भाइटीकामा दाजुभाइका लागि दिदीबहिनीले दीर्घायुको कामना गर्दै कहिल्यै नओइलाउने मखमली फूलको माला लगाइदिने चलन छ । कहिल्यै नओइलिने भएकाले मखमली फूलको मालालाई दीर्घायु र स्वस्थ जीवनको प्रतीकका रूपमा लिइन्छ । ‘दाई मेरो कहाँ गयो मखमली फूल ओइलायो’ गायक रायमाझीकै गीतका यी शब्द सुन्दा परदेशमा रहेका दाजुलाई सम्झेर बहिनीले मखमली फूल ओइलायो तर दाजु भाइटीकामा नआएको पीडा झस्काइदिन्छ । तिहारका अवसरमा दिदीबहिनीले दाजुभाइको लामो आयुको कामना गरी मखमली फूलको माला लागाइदिन्छन् ।   सयपत्री फूलसँग गाँसेर मखमली फूलको महत्वलाई जोगाइराख्न भाइटीकामा दाजुभाइलाई मखमली फूलको माला लगाइदिने गरिन्छ । पछिल्लो समय भने गाउँघरतिर मखमली फूल हराउँदै गएको छ । फूल जोगाउनतिर कसैको ध्यान छैन, बजारमा गएर प्लाष्टिकका माला किनेर ल्याउने बढेका छन् । “तिहारमा कुन फूलको माला लगाउने हो अबका पुस्ताले महत्व चिन्नै छाडेजस्तो लाग्यो”, वीरेन्द्रनगर नगरपालिका–४ का खगेन्द्र खनालले भन्नुभयो, “गाउँघरमा यो फूल पाउनै मुस्किल छ ।”    मखमली फूल लोप हुँदै गएकामा चिन्ता व्यक्त गर्दै उहाँले अहिले यो फूल गाउँघरमा पाइनै छाडेको पनि बताउनुभयो । “मखमली फूल सुन्दै तिहारको झल्को आइहाल्छ, पहिला–पहिला त घर वरपर दुई÷चार वटा बोट भए पनि मखमली फूल हुन्थ्यो, अहिले त फूलमा त्यति महत्व नदिदा गाउँघरमा यस्ता परम्परागत चलनचल्तीमा आएका पर्व विशेष महत्व राखेका मखमली लगायतका फूलको संरक्षण हुन नसक्दा लोप हुँदै गएको छ”, खनालले भन्नुभयो ।   दिदीबहिनी र दाजुभाइको प्रेमलाई पवित्र गाँठोमा बाँध्न सफल मखमलीको माला नेपालीका लागि तिहारको अभिन्न अङ्ग बनिसकेको छ । वीरेन्द्रनगर नगरपालिका–५ का प्रकाश आचार्य तिहारमा मखमली फूलको महत्व नबुझेर लोप हुन लागेकामा चिन्ता व्यक्त गर्नुहुन्छ । मखमली फूल हराउँदै जाँदा यसको संरक्षणमा कसैले चासो नदेखाएको उहाँले बताउनुभयो ।    आचार्यले भन्नुभयो, “तिहारजस्तो पर्वमा पनि दाजुभाइलाई मखमली फूलको माला पहिराउन नपाउँदा तिहार खल्लोजस्तो हुन्छ, पहिला त घर वरिपरि बारीका डिल, कान्ला जताततै मखमली फूलमात्रै हुन्थे, हिजोआज भेटिँदैनन् ।” अहिले बजारमा आएका सस्ता र कृत्रिम फूलका मालाले मखमली र सयपत्री फूल लोप हुँदै गएको पनि उहाँले बताउनुभयो ।    सुपारीजस्तो गोलाकार मखमली फूल पनि सयपत्री झैँ सयौँ फूलको पुष्पपुञ्ज हो । नामले मखमली भनिए तापनि यो फूल नरम, कोमल र कलिलो नभई खस्रो हुन्छ । वैजनी र प्याजी रङमा फूल्ने मखमली तिहारमा विशेष लोकप्रिय र महत्वपूर्ण मानिन्छ । संस्कृतमा रक्त मल्लिका भनिने यो फूल देख्दा पनि सुन्दर मानिन्छ । नझर्ने, नओइलाउने र वर्षौं पनि टिक्ने हुनाले यसको अजम्बरी प्रकृतिलाई आत्मसात् गरेर दिदीबहिनीले आफ्ना दाजुभाइलाई मखमली फूलको माला लगाइदिएर दीर्घायुको कामना गर्छन् ।    मखमली फूल नेपालीका लागि सांस्कृतिक महत्व बोकेको प्रसिद्ध फूल हो । सेता, गाढा कलेजी तथा हल्का रातो रङमा फूल्ने मखमली फूल भाइटीकामा विशेष प्रयोगमा आउँछ । छुँदा घोच्ने, मखमलको कपडाजस्तो सेता, गाढा कलेजी र हल्का रातो रङमा फूल्ने गर्दछ । यस फूललाई नरम मखमली नाम दिइन्छ । पछिल्ला वर्षका तिहारमा मखमली फूलको माला देखिनै छाडेको छ । अर्कोतर्फ मखमली फूलसँगै गाउँघरमा फूलने सयपत्री र गुर्धौली फूल पनि देखिन छाडेको वीरेन्द्रनगर नगरपालिका–४ का लोकप्रसाद रेग्मीको भनाइ छ ।   कृत्रिम मालामा उपभोक्ताको आकर्षण       पछिल्लो समय प्लाष्टिकका कृत्रिम मालाको प्रयोग बढेपछि सयपत्री, मखमली र गुर्धौली फूल लोपोन्मुख भइसकेको छ । पहिलाको तुलनामा सयपत्री फूल पनि कम पाइन्छ । प्राकृतिक फूलको महत्वलाई बिर्सँदै गएकाले गाउँघरमा ढकमक्क फूल फूले पनि देखाउनकै लागि प्लाष्टिकको माला प्रयोग गर्ने संस्कार बस्न थालेको छ ।    प्लाष्टिक तथा कृत्रिम मालाको प्रयोग बढ्दै जाँदा तिहारमा मखमली फूलले विशेष महत्व राखे पनि गाउँघरमा संरक्षण नगरिँदा हराउँदै गएको लोकप्रसाद रेग्मीको भनाइ छ । हिन्दू धार्मिक परम्पराअनुसार चाडपर्वमा सोहीअनुसारका फूल र माला प्रयोग गर्नुपर्ने भए पनि विश्वकर्मा बाबाको पूजादेखि तिहारसम्म पनि कतिपयले प्लाष्टिकका माला प्रयोग गर्ने गरेका छन् ।   सुर्खेतको बजारमा रहेका कस्मेटिक पसलदेखि सडक छेउका ठेलामा समेत रङ्गीचङ्गी कृतिम मालाको छ्याप्छ्याप्त देखिन्छन् । तिहार नजिकिँदै गर्दा बजारभरि कृत्रिम माला बिक्रीका लागि छ्याप्छ्याप्ती राखिएका छन् । सरकारले प्लाष्टिकका फूलका गुच्छाको उत्पादन, आयात, बिक्रीवितरणमा पूर्ण रोक लगाए पनि उपभोक्ताको आकर्षण भने कृत्रिम मालामै बढी देखिन्छ ।    चाडपर्वमा चाहिने जति फूलको माग धान्न नसकेर पनि छिमेकी देश भारतबाट हरेक वर्ष धेरै मात्रामा प्लाष्टिकका कृतिम मालाहरु भित्रिने गरेका छन् । सुर्खेतमा प्राकृतिक फूलले अभाव पूर्ति गर्नसक्ने अवस्था रहे पनि कर्णालीका पहाडी जिल्लामा भने अहिले पनि थानका थान भारतीय बजारमा बनेका प्लाष्टिकका कृत्रिम माला पुग्ने गरेका छन् ।   सुर्खेतमा लामो समयदेखि कस्मेटिक व्यवसाय गर्दै आएकी अमृता शर्मा न्यौपानेले कर्णालीका पहाडी जिल्लाबाट हरेक वर्ष चाडपर्वमा कृत्रिम मालाको माग बढ्ने गरेको बताउनुभयो । “चाडपर्वको सिजनमा पहाडी जिल्ला र सुर्खेतको पश्चिमतिरको व्यवसायीले अधिकांश माला लैजानुहुन्छ”, उहाँले भन्नुभयो, “पहिलेजस्तो पूmल नपाइने भएकाले कृत्रिम माला धेरै बिक्री हुन्छ ।” वीरेन्द्रनगरको तल्लो बजारमा रहेको फिरोज कस्मेटिक पसल पनि अहिले प्लाष्टिकका मालाले ढपक्कै ढाकिएको छ । दसैँ सकिएलगत्तै पूरै पसलभरि मालाले मात्रै ठाउँ पाएको छ । रु ५० देखि रु। एक हजारसम्म पर्ने कृत्रिम माला हरेक वर्ष तिहारका समयमा यसरी नै सजाएर बिक्री गर्दै आएको पसल सञ्चालक फिरोज खानले बताउनुभयो । “पहिलो कुरा त माला बनाउने फूल नै अभाव हुन्छ, पाइए पनि महँगो पर्छ”, उहाँले भन्नुभयो, “पैसा नहुनेले त चाडपर्वका बेला फूलमालामा खर्चिनुभन्दा बरु खानपिनमै खर्च गर्छन् ।” कृत्रिम माला नझर्ने, नओइलाउने, नसुक्ने र अर्को साल पनि बिक्री गर्न सकिने भएकाले पनि उपभोक्ताको आकर्षण रहेको पसल सञ्चालक फिरोज खानले बताउनुभयो ।   आर्थिकरुपमा पनि सस्तो पर्ने हुँदा कृत्रिम फूलमालातिर आकर्षण बढेको उहाँले बताउनुभयो । उहाँले रु ५० देखि रु एक हजार मूल्यसम्मका माला बेच्ने गरेको बताउनुभयो । प्राकृतिक फूलप्रतिको लगाव भए पनि बिक्रीका लागि सहज नहुँदा समयस्या भएको उहाँ बताउँछन् । प्राकृतिक फूल बिग्रिने र व्यापारमा घाटा लाग्ने भएकाले कृत्रिम फूलमाला बेच्ने गरेको उहाँको भनाइ छ ।    अहिले वीरेन्द्रनगरका कस्मेटिक तथा फुटपाथका पसल रङ्गीबिरङ्गी ‘कृत्रिम’ मालाले सजिएका छन् । व्यापारीले कृत्रिम मालाले पसल झकिझकाउ पारेका छन् । रेशम, प्लाष्टिक र रङ्गिन कपडाबाट बनाइएका कृत्रिम मालाको व्यापार बढेको वीरेन्द्रनगरका अर्का कस्मेटिक पसल सञ्चालक प्रकाश गिरीले बताउनुभयो । यसरी बिक्री हुने माला स्वदेशी उत्पादन भने होइनन् । हाल बजारमा उपलब्ध सबै माला भारतबाट आयात गरिएका माला भएको गिरीले बताउनुभयो । यस वर्ष बजारमा भारतबाट आयातित प्लाष्टिकका मालाहरुको प्रभाव रहेको व्यापारी स्वयं स्वीकार गर्छन् ।    हरेक वर्ष दसैँ, तिहार जस्ता चाडबाडमा फूल र फूलबाट निर्मित माला भारतबाटै आउने गरेको छ । गाउँघरमा प्रशस्त मात्रामा फूलहरु नपाउनुसँगै फूलहरुको खेती पर्याप्त नहुँदा अहिले बजारमा रहेका कृतिम मालाको प्रयोग बढेको व्यावसायीहरु बताउँछन् । हिन्दू परम्पराअनुसार हरेक धार्मिक कार्यमा फूल अनिवार्य हुन्छ । पछिल्लो समय तिहारमा घरमै फूलेको फूलको मालाभन्दा पनि बजारमा पाइने कृत्रिम मालाको प्रयोग बढ्दै गएकोप्रति संस्कृतिप्रेमी चिन्ता व्यक्त गर्छन् । उहाँहरुका अनुसार आयातित फूल, माला, किन्नुभन्दा घर–आँगनमै फूल हुर्काउन सकिन्छ । बरु व्यावसायिकरुपमै फूलको खेती गरी मनग्य कमाउन सकिने तर्क उहाँहरुको छ ।    फूल विनाको तिहार कल्पना गर्न सकिँदैन । तिहारको अस्तित्व कृतिमतामा होइन, प्राकृतिकतामा छ । मखमली, गोदावरी, सयपत्री र हजारीलगायतका फूलहरु फूल्ने मौसममै तिहार पर्नु त्यसको प्रमाण हो । आधुनिकता र सहजताका नाममा पछिल्लो समय तिहारलगायतका विभिन्न चाडपर्वमा कृतिमताको प्रभाव बढ्दै गएको पाइन्छ । यसले नेपाली मौलिकपन हस हुनुका साथै कृत्रिम मालाका लागि करोडौँ रुपैयाँ भारत जाने गरेको बताउनुहुन्छ, सुर्खेत उद्योग वाणिज्य सङ्घका अध्यक्ष लक्ष्मण कँडेल । स्वदेशी उत्पादनलाई प्रवद्र्धन गर्न र प्लाष्टिकजन्य पदार्थको खपत घटाउनकै लागि सरकारले कृतिम फूलमालामा चर्को कर लगाए पनि आयातमा कमी आउन नसकेको अध्यक्ष कँडेलको भनाइ छ । 

बेनी: प्रायः शहरी क्षेत्रमा रहरमा कुकुर पाल्ने गरिन्छ । आर्थिकरुपमा सम्पन्न व्यक्तिले आफ्नो सोखका लागि कुकुर पाल्ने गर्छन् । यसरी पालन गरिने कुकुरको भूमिका खास नभए पनि ग्रामीण भेगका गोठमा पाल्ने कुकुर भने गोठालाका सुरक्षाको भरोसा बन्ने गरेका छन् ।   परम्परागत रुपमा घुम्ती गोठ राखेर गरिने पशुपालनमा कुकुर गोठालाका सारथी बन्ने गरेका छन् । अनकन्टार जङ्गल, पहाड र हिमालका बुकीसम्म नै घुम्तीरुपमा गरिने भेडापालन र गाईभैँसीका गोठमा कुकुरलाई मुख्य हेरालुको रुपमा पाल्ने गरिन्छ ।            अन्नपूर्ण गाउँपालिका–५ का भेडापालक युवा प्रकाश पुनले भेडीगोठमा रहेका भेडाको हेरालु र गोठको सुरक्षाका लागि कुकुर पालिएको बताउनुभयो । “हामी पनि गोठमा हुन्छौँ, तर कहिलेकाहीँ जङ्गली जनावरले गोठमा रहेका भेडामाथि आक्रमण गर्नसक्ने जोखिम रहन्छ, जङ्गली जनावरको आक्रमणमा प्रतिकार गर्न र पशुधनको रक्षा गर्न कुकुरले ठूलो सहयोग पुग्ने गरेको छ”, उहाँले भन्नुभयो ।   खोप्रा र खयर क्षेत्रमा व्यावसायिक भेडापालन गरेका हरेक गोठमा ‘भोटे’ जातका कुकुर रहेका छन् । अधिकांश समय जङ्गलमै बिताउनुपर्ने भएकाले कुकुरको सुन्ने र सुँधेर पत्ता लगाउन सक्ने शक्ति बढी हुने भएकाले गोठमा गोठाला र गोठका भेडाबाख्राको सुरक्षामा कुकुरलाई द्वारपालकको रुपमा लिने गरिन्छ ।            खासगरी पहाडी क्षेत्रमा घुम्ती चरनमा लैजाने गरी राखिने गोठका गाईभैँसीपालन र भेडाबाख्रासँगै गोठमा रहेका गोठाला र हेरालुका समेत सारथी र साथी कुकुर नै हुन् । चरन क्षेत्रको लागि गोठको दूरी टाढा–टाढा राख्ने भएकाले गोठमा सुरक्षाको भरोसा कुकुरमै निर्भर हुने गरेको धौलागिरि गाउँपालिका–५ मल्कबाङका भेडापालक कृषक हिमबहादुर छन्त्यालले बताउनुभयो ।   जङ्गलका बाघ, चितुवा, भालुलगायतका हिंस्रक जनावरको आक्रमणले भेडाबाख्रामा पार्ने क्षति न्यूनीकरण गर्न कुकुरले महत्वपूर्ण भूमिका खेल्ने गरेको उहाँले सुनाउनुभयो ।            “गोठदेखि जङ्गलमा चरन क्षेत्रसम्म नै कुकुरले भेडाबाख्रालाई घुमीघुमी रेखदेख गर्छन्, जङ्गली जनावरको आवाज र सङ्केत पनि कुकुरले नै छिटो थाहा पाउने भएकाले ठूलो स्वरमा भुकेर भगाउने गर्छन्, हामीगोठमा कुकुरकै भरमा हुन्छौँ”, उहाँले भन्नुभयो । करिब छ सय बढी भेडापालन गर्नुभएका छन्त्यालको गोठमा दुई जना हेरालु र चार कुकुरले भेडीगोठ धानेका छन् ।   चरन क्षेत्रमा समेत कुकुरले नै भेडाबाख्रालाई जोखिमपूर्ण ठाउँमा जानबाट रोक्ने र साँझ गोठतर्फ भेडाबाख्रा ल्याउन सहयोग गर्ने गरेको विगत ६० वर्षदेखि नै भेडापालनमा सक्रिय रहनुभएका अन्नपूर्ण गाउँपालिका–५ का ७८ वर्षीय लालविर तिलिजा बताउनुभयो ।            गोठका सारथी बनेका कुकुरलाई जङ्गली जनावरको आक्रमणबाट बचाउन कुकुरको घाँटीमा काँडेमाला लगाइदिने गरिन्छ । जिल्लाको लेकाली क्षेत्र समेटिएको क्षेत्रमा घुम्ती गोठ राखेर पशुपालन गर्ने प्रचलन रहेको छ । घरपालुवा गुनिलो र आज्ञापालक तथा सुरक्षामा भरपर्दो जनावरको रुपमा चिनिने कुकुरको महत्वलाई तिहारको अवसरमा गरिने कुकुर तिहारको पूजा आराधानाले थप बढाउने गरेको छ ।   यमपञ्चकअर्थात् दीपावलीपर्वको कार्तिक कृष्ण चतुर्दशीका दिन कुकुरलाई मीठामीठा परिकार खान दिए यमराजको ढोकामा द्वारपालका रुपमा बस्ने श्याम र सबल नामका कुकुरले यमलोक जाँदा बाटो छोडिदिने धार्मिक विश्वासका आधारमा कुकुर तिहार मनाउने गरिएको धार्मिक मान्यता छ ।        

काठमाडौं : नेपाली साहित्यका विराट प्रतिभा महाकवि लक्ष्मीप्रसाद देवकोटाको एक सय १४ औँ जन्मजयन्ती आज स्वदेश र विदेशमा विभिन्न कार्यक्रमको आयोजना गरी मनाइँदैछ ।    महाकवि देवकोटाको जन्म विसं १९६६ मा कार्तिक कृष्ण औँसीअर्थात् लक्ष्मीपूजाका दिन काठमाडौँको डिल्लीबजारमा भएको थियो । दश वर्षको उमेरमा कविता लेख्न सुरु गर्नुभएका देवकोटाका थुप्रै महाकाव्य, खण्डकाव्य, निबन्ध, कथा, नाटक, उपन्यास, गीत, समालोचना र फुटकर कविता प्रकाशित छन् । उहाँले नेपाली साहित्यलाई सयभन्दा बढी कृति दिनुभयो । यी कृतिका माध्यमबाट देवकोटाले नेपाललाई अन्तर्राष्ट्रियस्तरमा चिनाउनुभयो ।    नेपाली साहित्यमा आधुनिक महाकाव्य लेखनको थालनी गर्नुभएका देवकोटाको ‘मुनामदन’ खण्डकाव्य नेपाली भाषामा प्रकाशित हालसम्म सबैभन्दा बढी बिक्री भएको पुस्तक हो । नेपाली साहित्यमा स्वच्छन्दतावादी–प्रगतिवादी धाराका प्रवर्तक देवकोटाका रचनामा मानवतावाद, प्रकृतिप्रेम र क्रान्तिकारिता झल्कन्छ । उहाँका सिर्जनामा पूर्वीय र पाश्चात्य दर्शनको संयोजन पाइन्छ ।   भारतका महापण्डित राहुल साङ्कृत्यायनले देवकोटा एक्लैलाई भारतका महाकवि सुमित्रानन्दन पन्त, जयशङ्करप्रसाद र सूर्यकान्त निरालाको संयुक्तरूपसँग तुलना गर्नुभएको थियो भन्ने मान्यता छ । नाट्यसम्राट बालकृष्ण समले देवकोटा ‘मुनामदन’, ‘शाकुन्तल’ महाकाव्य र ‘पागल’ कवितासँगै तीनपटक जन्मेको बताउनुभएको थियो ।   विदेशी भाषामा नेपाली कृतिको अनुवाद र विदेशमा भएका विभिन्न सम्मेलनमा नेपालको प्रतिनिधित्व गरी नेपाली साहित्यको विश्वव्यापी प्रचारप्रसारमा समेत उहाँले महत्वपूर्ण योगदान दिनुभएको थियो । महाकवि देवकोटाले अङ्ग्रेजी साहित्यका फ्रान्सिस बेकन, चाल्र्स ल्यासजस्ता १५ जना गद्य लेखकका निबन्धको चयन गरी विसं १९९७ मा ‘प्रसिद्ध प्रबन्ध सङ्ग्रह’ प्रकाशित गर्नुभयो ।   विसं २०१६ मा उहाँ शिक्षा तथा स्वायत्त शासनमन्त्री हुनुहुँदा नेपालभर नेपाली भाषालाई अनिवार्य विषयका रूपमा लागू गर्नु–गराउनु भएको थियो । हाल त्रिभुवन विश्वविद्यालय कीर्तिपुरको जग्गा पनि उहाँकै शिक्षामन्त्रीत्वकालमा व्यवस्था गरिएको हो । जसले विश्वविद्यालयको पूर्वाधारका लागि काम गरेको छ । वर्तमान नेपाल प्रज्ञा–प्रतिष्ठानको स्थापनामा सक्रिय योगदान दिनु देवकोटाको अविस्मरणीय देन मानिन्छ ।      तीन महिनामा ‘शाकुन्तल’ महाकाव्य, दशदिनमै ‘सुलोचना’ महाकाव्य र एकै दिनमा ‘कुञ्जिनी’ खण्डकाव्य लेख्नुभएका देवकोटामा तुरुन्त कविता लेख्नसक्ने आशु कवित्वको क्षमता थियो । देवकोटाको कवि–प्रतिभा, कविताको गुणात्मक मूल्य र सङ्ख्यात्मक योगदान आज पनि अद्वितीय छ ।   चरम आर्थिक अभाव र पारिवारिक वियोगसँगै राजनीतिकरुपमा पनि देवकोटा पनि सक्रिय हुनुभएको थियो । यसका बाबजुद पनि उच्चस्तरका साहित्य नेपाल र नेपालीलाई प्रदान गर्नु उहाँको साहित्यिक विशेषता हो  । विसं २००२ मा किनेर २००४ सालमा देवकोटा सर्नुभएको मैतीदेवीस्थित घरलाई गत असोजदेखि महाकवि लक्ष्मीप्रसाद देवकोटा सङ्ग्रहालयका रुपमा स्थापित गरिएको छ ।   महाकवि देवकोटाले ‘पागल’ कवितालाई आफैँले अङ्ग्रेजीमा अनुवाद गर्नुभयो । उहाँले पाश्चात्य ग्रीसेली स्रोतबाट अनेकौँ गाथाको नेपालीकरण गर्नुभएको छ । विसं २०२४ मा प्रकाशित भएको ‘मायावीनी’ ‘सुन्दरी प्रोजर्पिना’ जस्ता खण्डकाव्य र ‘प्रमिथस’ महाकाव्य यसका उदाहरण हुन् । देवकोटाको एकमात्र उपन्यास ‘चम्पा’ हो ।   नेपाली साहित्यमा महत्वपूर्ण योगदान दिनुभएका देवकोटाको निधन २०१६ साल भदौ २९ गते भएको थियो । महाकवि देवकोटा जयन्तीका अवसरमा गत शुक्रबारदेखि नै साताव्यापी कार्यक्रम भइरहेको छ । यस अवसरमा आज पनि विभिन्न कार्यक्रम गरी देशभर देवकोटा जयन्ती मनाइने जनाइएको छ ।

पोखरा : नेपालमा अत्यन्त दुर्लभ मानिएको राज गोमन (किङ कोब्रा) सर्प पछिल्लो समय नेपालको मध्यपहाडी क्षेत्रमा फाटफुट देखिन थालेपछि सर्पसम्बन्धी विज्ञहरूले यसको संरक्षण गर्नुपर्ने भन्दै छलफल सुरु गरेका छन् ।    अत्यन्त विषालु प्रजातिको सर्प भए पनि नेपालमा भने यसले मानिसलाई टोकेको जानकारी नभएको विज्ञहरू बताउँछन् । वन्यजन्तु संरक्षणमा काम गर्दै आएका संस्थाहरू प्रकृतिका साथीहरू काठमाडौँ, सर्प संरक्षण समाज, नेपाल र पोखरा महानगरपालिका–२५ ले आइतबार पोखरामा किङ कोब्रा संरक्षणका लागि छलफल कार्यक्रम आयोजना गरे । राज गोमन एकमात्र सर्प हो जसले फुल पार्दा गुँडसमेत बनाउने गर्छ ।    सो अवसरमा प्रकृतिका साथीहरू नामक संस्थाका कार्यकारी निर्देशक राजु आचार्यले राज गोमनलाई नचलाउने, नजिस्क्याउने र नजिकमा नजाने हो भने यसबाट बच्न सकिने बताउनुभयो । “नेपालमा पाइने ८२ प्रजातिका सर्पमध्ये किङ कोब्रा अत्यन्त न्यून रहेको र यसले आहाराका रूपमा अन्य प्रजातिको सर्प खाने गर्छ”, आचार्यले भन्नुभयो, कहिलेकाहीँ आफ्नै प्रजातिको सर्पलाई पनि खाने गरेको अनुसन्धानबाट खुल्न आएको छ ।”    “नेपालको कानूनले यसलाई संरक्षित वन्यजन्तुको सूचीमा राखेको छ । गोमन सर्पले टोकेको हो भने गोमन सर्पकै विषबाट बनाइएको स्नेक एन्टिभेनम भाइल प्रयोग गर्नु राम्रो हुन्छ तर त्यस्तो स्नेक एन्टिभेनम नहुँदा पोलिभलेन्ट लगाउने गरिन्छ”, आचार्यले भन्नुभयो, “यो लाभदायक भए पनि स्वास्थ्यका लागि हानिकारक हुन सक्छ ।” नेपालमा पोलिभलेन्ट नै प्रयोग हुँदै आएको र पोलिभलेन्ट करेत, कमन कोब्रा र दुई भाइपर सर्प प्रजातिको विष सम्मिश्रण गरी तयार पारिने जानकरी सो अवसरमा दिइएको थियो ।    सर्पसम्बन्धी विज्ञ ऋषि बरालले नेपालमा २२ सर्प प्रजाति विषालु भएको र विषरहित र विषसहितका गरी नेपालमा ८२ प्रजातिका सर्प सूचीकृत भएको जानकारी दिनुभयो । नेपालमा प्रतिवर्ष १२ हजार मानिसलाई सर्पले टोक्ने र तीमध्ये दुई हजार मानिसलाई विषालु सर्पले टोक्ने गरेको तथ्याङ्क सो अवसरमा विज्ञहरूले दिएका छन् ।    “गोमन जस्ता विषालु सर्पले टोक्दा केही मिनेटपछि नै मानिसको शरीरमा विष फैलिएको लक्षण देखापर्छ, बिरामीले आँखा उघार्न सक्दैन, मुख बन्द हुन्छ, मुखबाट जिब्रोबाहिर निकाल्न सक्दैन, पानी निल्न असजिलो हुन्छ, हातखुट्टा तथा मांसपेशी  चल्न कठिन, मुखबाट ¥याल छाड्ने हुन्छ”, सर्पसम्बन्धी अनुसन्धान गर्दै आउनुभएका अभिषेक सापकोटाले भन्नुभयो, “विषलु सर्पले टोक्ने बित्तिकै बिरामीलाई जतिसक्दो अस्पताल पु¥याउनु पर्छ ।”    नेपालकै एक संस्थाको अध्ययनअनुसार सर्पको टोकाइबाट अधिकांश महिला र बालबालिकाको मृत्यु हुने गरेको छ । तराई क्षेत्रमा हरेक एक लाख मानिसमध्ये २२ जनाको सर्पको टोकाइबाट नै मृत्यु हुने गरेको तथ्याङ्क उक्त अध्ययनबाट खुल्न आएको छ । सर्पले अधिकांश मानिसमा घुँडाभन्दा तल्लो भागमा टोक्ने गरेको तथ्याङ्कमा उल्लेख छ ।    विश्वमा हरेक वर्ष २० लाखभन्दा बढी सर्पदंशका घटना हुने गरेको र यीमध्ये ८१ हजारदेखि एक लाख ३८ हजार मानिसले ज्यान गुमाउने गरेको तथ्याङ्क उक्त अवसरमा दिइएको थियो । नेपालमा पाइने २२ प्रजाति विषालु छन्, तीमध्ये गोमन, राज गोमन, करेत, रुसेल्स भाइपर स्नेक (कर्कट नाग) धेरै विषालु मानिन्छ ।    छलफल कार्यक्रममा जिल्ला वन कार्यालय, प्रदेश कार्यालय तथा वन मन्त्रालयका प्रमुख, स्थानीय जनप्रतिनिधि तथा सम्बन्धित संस्थाका प्रतिनिधिको समेत उपस्थिति रहेको थियो ।

ढोरपाटन : बागलुङको गलकोट नगरपालिका–७ मल्म र वडा नं १० पाण्डपखानी जोड्ने ग्रामीण सडक बर्खाको समयमा तीन महिना बन्द हुन्छ । सडक बन्द हुँदा स्थानीयले सास्ती खेप्नुपरेको थियो ।    अब यो सडक बर्खाको समयमा पनि चल्नेछ । सडकलाई बाह्रै महिना सञ्चालनका लागि स्तरोन्नतिको काम सुरु भएको छ । मल्मदेखि पाण्डवखानीसम्मको करिब पाँच किलोमिटर कच्ची सडक स्तरोन्नति हुने भएपछि स्थानीयसमेत खुसी भएका छ । ट्र्याक खुलेको १६ वर्षपछि सडक स्तरोन्नति हुन लागेको हो ।   यो सडकको २०६३ सालमा ट्र्याक खुलेको थियो । सङ्घीय सरकारले विनियोजन गरेको रु तीन करोड बजेटबाट अहिले सडक स्तरोन्नति गर्न थालिएको हो । सडक स्तरोन्नतिका लागि जागृति निर्माण सेवाले रु एक करोड ६३ लाखमा जिम्मा लिएको सडक डिभिजन कार्यालय बागलुङको सवइञ्जिनीयर विजय शर्माले जानकारी दिनुभयो ।    निर्माण कम्पनीले सडक डिभिजन कार्यालय बागलुङसँग सम्झौता गरेरे काम थालेको उहाँको भनाइ छ । अहिलेदेखि नै काम सुरु भएको भन्दै इञ्जिनीयर शर्माले माघ महिनासम्म स्तरोन्नतिको कार्य सम्पन्न हुने बताउनुहुन्छ ।      “सडक स्तरोन्नतिका लागि सम्झौता भएर काम सुरु भएको छ, निर्माण कम्पनीले तीव्ररुपमा काम गरेको छ, माघ महिनासम्म सक्नेगरी सम्झौता भएको छ”, इञ्जिनीयर शर्माले भन्नुभयो, “ग्रामीण सडक हो, अलिकति अप्ठ्यारो पनि रहेछ, निर्माण कम्पनीले रु एक करोड ६३ लाखमा सम्झौता गरेको छ, माघमै काम सक्छौँ भनेको छ ।”   उहाँले यसपटक सडकलाई नौ मिटर चौडा गर्ने, पर्खाल लगाउने र नाली निर्माण गरिने बताउनुभयो । सडकको केही खण्डमा निकै अप्ठ्यारो रहेको भन्दै पुरानो रुट परिवर्तन गरी नयाँ खोल्नुपर्ने भएको उहाँको भनाइ छ । अहिले तीन किलोमिटर सडक स्तरोन्नति गर्ने तयारी रहेको बताउनुभयो ।   “सडक निकै साँघुरो छ, यसलाई नौ मिटर चौडा गर्नु पर्नेछ, सडक तलदेखि वाल उठाउने र नाली निर्माण पनि हुने, केही ठाउँ निकै अप्ठ्यारो भएको हुँदा ५०० मिटरजति सडकको रुट नै परिवर्तन गरेर नयाँ खोल्नुपर्ने भएको छ”, उहाँले भन्नुभयो ।   यो सडक स्तरोन्नति नहुँदा यात्रुले जोखिम मोलेर यात्रा गर्न बाध्य भएको गलकोट नगरपालिका–७ मल्मकी स्थानीय ललिता थापाले बताउनुभयो । सडक निकै साँघुरो र खाल्डाखुल्डी रहेको हुँदा दुर्घटनाको जोखिमसमेत बढेको उहाँको भनाइ छ । स्तरोन्नति यात्रा र सामान ढुवानी गर्न सहज हुने बताउनुहुन्छ ।   “यो सडक खुलेको धेरै वर्ष भयो अहिलेसम्म साँघुरो छ, स्तरोन्नति हुन सकेको थिएन, अब हुन्छभन्दा निकै खुसी लागेको छ, सडक भरी खाल्डाखुल्डी छन्, साँघुरोसमेत रहेको हुँदा दुर्घटनाको जोखिम निकै थियो”, थापाले भन्नुभयो, “अब यात्रा गर्न सजिलो हुने भयो, सडक देख्दा गाडीमा यात्रा गर्न पनि डर हुन्थ्यो, अब सरर हुने भयो ।”   थापाले असारदेखि असोजसम्म सडक अवरुद्ध हुने गरेको भन्दै अब बाह्रै महिना सञ्चालन हुने अपेक्षा गर्नुभयो । बर्खामा गाडी नचल्दा गाउँलेले सामान बोकेर उपभोग गर्नुपरेको बताउनुभयो । अब यो समस्याको समाधान हुने थापाको भनाइ छ । “यो वर्ष पनि असारदेखि बन्द भएको सडक दसैँ अगाडि मात्रै खुलेको हो, यो सडक खुलेदेखि अहिलेसम्म बाह्रै महिना गाडी चलेको छैन”, थापाले भन्नुभयो ।

  काठमाडौं । नेपाली कांग्रेसका सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाले संविधान, लोकतान्त्रिक गणतन्त्र, सङ्घीयता बचाउन र विकास तथा समृद्धिका लागि पाँच दलीय गठबन्धन बनेको बताउनुभएको छ ।  पाँच दलीय गठबन्धन दलद्वारा आज धनगढीमा आयोजित सुदूरपश्चिम प्रदेशस्तरीय संयुक्त प्रशिक्षण भेलामा प्रधानमन्त्री देउवाले आउँदो चुनाव संविधान रहने कि नरहने तथा सङ्घीयताको संस्थागत विकास हुने नहुने विषयसँग जोडिएकोले संविधान र सङ्घीयताका पक्षमा एकताबद्ध भएर लाग्न निर्देशन दिनुभयो । प्रधानमन्त्री देउवाले गठबन्धनलाई पूर्ण रुपमा अगाडि बढाउँदै चुनावपछि पनि गठबन्धनकै सरकार र गठबन्धनकै वर्चश्व हुने गरी लाग्न निर्देशन दिनुभयो । देउवाले भन्नुभयो, “देशको विकास र समृद्धिका लागि गठबन्धन आवश्यक छ, पाँच दलीय गठबन्धनको मर्मअनुसार हिँड्न जरुरी छ ।” प्रधानमन्त्री देउवाले सुदूरपश्चिम प्रदेशबाट अघिल्लो निर्वाचनमा कांग्रेसको तर्फबाट आफू एक जनामात्र विजयी भएको प्रङ्सँग उल्लेख गर्दै अहिले गठबन्धनमा रहेका दलहरुको सहयोगमा आफू प्रधानमन्त्री बन्न पाएको उल्लेख गर्नुभयो ।  उहाँले गठनबन्धन गरेर चुनावमा जानुपर्ने परिस्थितिमा आउने चुनावमा सबैलाई टिकट दिने स्थिति नरहेको बताउँदै अहिले टिकट नपाएर अन्यायमा परेको भनिएकालाई चुनावपछि बन्ने गठबन्धनको सरकारले नयाँ अवसर दिने अश्वासन दिनुभयो ।  नेकपा (माओवादी केन्द्र)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विशिष्ट परिस्थितिमा गठबन्धन निकै ठूलो सङ्घर्षपछि बनेको भन्दै संविधान, लोकतन्त्र, समावेशी समानुपातिकको उपलब्धि धरापमा पर्ने खतरा पैदा भएकोले संविधान, लोकतन्त्र, परिवर्तनको रक्षा गर्दै देशलाई विकास र समृद्धिमा लैजान गठबन्धन गरिएको बताउनुभयो ।   अहिले देशमा अर्को पनि गठबन्धन बनेको उल्लेख गर्दै उहाँले भन्नुभयो,“त्यसको विचार उद्देश्य, संस्कार, संस्कृति छ ,त्यसले कहीँनकहीँ यो संविधानलाई डिरेल गर्ने, गणतन्त्रलाई उल्ट्याउने र सङ्घीयतालाई कमजोर पार्ने छ , त्योसँग हाम्रो बहस भइरहेको छ ।”  देशमा सात सालदेखि महत्वपूर्ण राजनीतिक परिवर्तन भए पनि राजनीतिक परिवर्तनसँगै आर्थिक परिवर्तन र सुशासनका लागि गर्नुपर्ने काम नहुँदा केही वर्षपछि राजनीतिक परिवर्तन पातलिँदै जाने र जनतामा निराशा बढ्दै गएको देखिएको भन्दै उहाँले भन्नुभयो,“यो गठबन्धन विजयी भएपछि आर्थिक विकास र समृद्धिको यात्रालाई अघि बढाएर राजनीतिक परिवर्तनलाई दिगो बनाउन सकिन्छ ।”     नेकपा ९एकीकृत समाजवादी०का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले गठबन्धनमा आवद्ध दलले समयमै कदम नचालेको भए राजनीतिक परिवर्तनपछि प्राप्त उपलब्धि सकिने भई देश पश्चगमनमा जाने खतरा थियो भन्नुभयो । पाँच दलीय गठबन्धनको प्राकृतिक र पवित्र उद्देश्य रहेको भन्दै उहाँले भन्नुभयो,“अपवित्र उद्देश्य राखेर गरिने गठबन्धन अस्वभाविक रहेको छ ।”      राजनीति, राज्यसत्ता, समाज र पार्टीमा रहेका विकृति विसङ्गति हटाउन गठबन्धन बनाउनु परेको बताउँदै नेपालले भन्नुभयो,“लोकतन्त्र र गणतन्त्रमा अझैँ खतरा रहेकोले आउने चुनावमा प्रतिगामी शक्तिलाई पराजित गरेर अग्रगमनकारी शक्तिलाई विजयी बनाउनुपर्छ ।” नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले संविधानलाई क्षतविक्षत् पार्ने प्रपञ्चकाविरुद्धमा यसको रक्षाका निम्ति यो गठबन्धन अभियान थालिएको बताउनुभयो ।    उहाँले भन्नुभयो,“यो चुनावी अभियान मात्र नभइ राष्ट्रलाई सङ्कटबाट जोगाउने संविधान र परिवर्तनलाई रक्षा गर्ने महाअभियान हो । उहाँले संविधानमाथि भइरहेको आक्रमणमा गम्भीर र सचेत हुनुपर्ने बताउनुभयो । राष्ट्रिय जनमोर्चाका कार्यकारी अध्यक्ष रश्मिराज नेपालीले संविधानको रक्षाका लागि गठबन्धन भएको बताउनुभयो । उहाँले प्रतिगमनको खतरा देखिएपछि आफ्नो पार्टी गठबन्धनमा लागेको बताउनुभयो ।

  म्याग्दी । म्याग्दीको जिल्ला सदरमुकाम बेनी बजारमा सडक अतिक्रमण हटाउन थालिएको छ ।  बेनी नगरपालिका–७ र ८ मा पर्ने बजार क्षेत्रमा सडक अतिक्रमण गरेर बनाइएका संरचना र सामग्री हटाउन थालेको हो । नगरप्रमुख सुरज केसीले बजारको सडक व्यवस्थित बनाउन सडकको क्षेत्राधिकारमा निर्माण भएका सामग्री र संरचना हटाउने अभियान थालेको बताउनुभयो ।  संरचना र सामग्री हटाउन अनुरोध गर्दै नगरप्रमुख केसीसहित वडा नम्बर ७ का अध्यक्ष रमेशकुमार श्रेष्ठ, ८ का अध्यक्ष उत्तमकुमार कर्माचार्य र म्याग्दी उद्योग वाणिज्य संघका अध्यक्ष बेलबहादुर कटुवालको टोलीले शनिबार बेनी बजारमा घरदैलो गर्नुभएको थियो ।  सडकपेटीमा राखिएका निर्माण र व्यापारिक सामग्रीका कारण पैदलयात्रु तथा सवारी आवत जावतमा समस्या हुने गरेको छ । दुर्घटनाको जोखिम पनि बढाएकाले सडकपेटीमा सामग्री नराख्न र बनाएका संरचना हटाउन अनुरोध गरिएको नगरप्रमुख केसीले बताउनुभयो । व्यापारी र सम्बन्धित घरधनीले सामान नहटाए नगरपालिकाले आफै हटाउने बताएको छ ।  यसैगरी सार्वजनिक जग्गामा सडकको क्षेत्राधिकारमा पर्ने ठाउँमा बनाइएका संरचना हटाउन पनि ताकेता गरिएको नगरपालिकाले जनाएको छ । बेनीका विभिन्न ठाउँमा पुल, सडक पुल, खोल्सा र सार्वजनिक पाखोमा व्यक्तिगत संरचना बनाएर अतिक्रमण गरेका छन् ।  बेनीमा यातायात ब्यवस्थापनका लागि एकतर्फी यातायात सञ्चालन, सवारी पार्किङ, कालीगण्डकी र म्याग्दी नदीको किनारै किनार वैकल्पिक सडक सञ्चालन, बहुउद्देश्यीय मैदानमा बसपार्क सञ्चालन गरिएको छ । साँघुरो सडकमा व्यापारीले सामान राख्ने र निर्माणाधिन घरका सामग्री थुपार्ने गर्दा आवत जावत र यातायात सञ्चालनमा असहज हुनुका साथै दुर्घटनाको जोखिम हुने गरेको छ ।