काठमाडौं: राष्ट्रपति विद्यादेवी भण्डारी जनगणतन्त्र आइसल्याण्डको औपचारिक भ्रमण पूरा गरी शनिबार स्वदेश फर्कंदै हुनुहुन्छ । महिला राजनीतिज्ञको विश्वव्यापी सञ्जाल ‘वुमन पोलिटिकल लिडर्स’ (डब्लुपिएल) कार्यक्रममा सहभागी हुन राष्ट्रपति भण्डारी यही कात्तिक २१ गते आइसल्याण्ड जानुभएको थियो । गणतन्त्र आइसल्याण्डको राजधानी रेक्याभिकमा आयोजना भएको ‘रेक्याभिक ग्लोबल फोरम’ (वुमन लिडर्स) मा उहाँले विशेष सम्बोधनसमेत गर्नुभएको थियो । साथै उहाँले ‘वुमन पोलिटिकल ट्रेलब्लेजर अवार्ड’ समेत ग्रहण गर्नुभएको थियो । राष्ट्रपति भण्डारी आज आइसल्याण्डबाट प्रस्थान गरी नर्वेको राजधानी ओस्लो र कतारको राजधानी दोहा हुँदै भोलि शनिबार काठमाडौँ आइपुग्नुहुने कार्यक्रम छ ।
काठमाडौं । नाबालिकामाथि यौन दुरुपयोगको मुद्दामा नवलपुर जिल्ला अदालतबाट दोषी ठहर भएका अभिनेता पल शाहले यसविरुद्ध उच्च अदालत पोखरामा पुनरावेदन गरेका छन् । जिल्ला अदालतको फैसला उल्टाएर सफाइ दिनुपर्ने माग गर्दै शुक्रबार उच्च अदालतमा निवेदन दर्ता गराएको शाहका कानुन व्यवसायी कमलामोहन वाग्लेले जानकारी दिए । मुद्दाको दर्ता नम्बर दर्ता ०७९(सीएस)०३१२ रहेको छ । नाबालिकामाथि बलात्कारको आरोप लागेका शाहलाई नवलपुर अदालतले बालयौन दुरुपयोगमा दोषी ठहर गर्दै साढे दुई वर्ष कैद, २५ हजार रुपैयाँ जरिवाना र पीडितलाई १० लाख रुपैयाँ क्षतिपूर्तिको फैसला सुनाएको थियो । सोही प्रकृतिको मुद्दामा तनहुँ जिल्ला अदालतमा भने शाहको मुद्दा विचाराधीन छ । उनी हाल तनहुँ कारागारमा रहेका छन् ।
पोखरा: अन्नपुर्ण ४ सल्यानका सहिद कृष्णबहादुर गुरुङको स्मारकमा माल्यार्पण गर्दा एमाले उम्मेदवार दामोदर पौडेल बैरागीका आँखा एकाएक रसाए । मंसिर ४ गते हुने चुनाव केन्द्रित मतदाता भेटघाट कार्यक्रम अन्र्तगत अन्नपूर्ण ४ तथा साविक सल्यान ३ मा पुगेर सहिद कृष्ण गुरुङको स्मारकमा माल्यार्पण गर्ने क्रममा उम्मेदवार वैरागीका आँखा रसाएका हुन् । कास्की क्षेत्र नम्वर ३ बाट प्रतिनिधि सभा सदस्यका एमाले उम्मेदवार वैरागीले माल्यार्पण पछि भावुक हुदै सहिद कृष्ण गुरुङले सल्यानको विकास र सल्यानवासीका लागि देखेका सपनाहरु पूरा गर्ने प्रतिवद्धता जनाए । उनले भने ‘उहाँ त हामी माझ हुनुहुन्न, तर उहाँले यो ठाउँको विकास र यहाँका स्थानियहरुको समृद्धिका लागि जुन सपना देख्नुभएको थियो, त्यो सपना अव म पूरा गर्ने वाचा गर्छु ।’ उनले सहिदको सपना साकार पार्न आफूले जुकै कसरत गर्न पनि पछि नहट्ने बताए । तत्कालिन जिल्ला विकास समिति कास्कीका सदस्य एवं नेपाली काँग्रेस कास्कीका उपसभापति रहेका कृष्णबहादुरको द्वन्दकालमा तत्कालीन विद्रोही समूहले तड्पाएर हत्या गरेको थियो । हत्या भएको स्थानमा सहिद गुरुङको स्मारण निर्माण गरिएको छ । अर्को प्रसंगमा उनले आउँदो निर्वाचनमा सुर्य चिन्हमा मतदान गरी एमाले उम्मेदवारलाई विजयी गराउन अपिल गरे । उनले पाँच वर्षे कार्यकाल सल्यानको बाटो पिच गर्ने प्रतिवद्धता जाहेर गर्दै सल्यानमा देखिएको खानेपानीको समस्या पनि एक घर एक धारा अवधारणा अनुसार समाधान गर्ने बचन दिए । यी बाहेक स्थानिय स्तरमा देखिएका सानातिना समस्या तथा स्थानियका आवश्यकतालाई पूरा गर्ने उनको अठोट छ ।
पोखरा: यहाँको प्रतिभा माविले विद्यार्थीमा भएको क्षमता प्रस्फुटन गराउन एकदिने विज्ञान प्रदर्शनी आयोजना गरेको छ । कक्षा ८ देखि १२ कक्षासम्मका विद्यार्थीले यो प्रदर्शनीमा भाग लिएका छन् । ११ र १२ कक्षाका भने विज्ञान विषयका विद्यार्थी प्रदर्शनीमा सहभागि थिए । विद्यालयका निर्देशक किरण सापकोटाका अनुसार विद्यार्थीमा रहेको सिर्जनशिलता प्रस्तुत गराउन प्रदर्शनी आयोजना गरिएको हो । प्रदर्शनीमा विद्यार्थी आफैले बनाएका विज्ञान सामाग्री प्रस्तुत गरेका थिए । विद्यार्थीले बनाएका विभिन्न उपकरण उक्त प्रदर्शनीमा प्रस्तुत गरेका थिए । विद्यार्थीले आफ्नै खर्चमा ती सामान बनाएका हुन् । ६२ समुहले विज्ञानका ती सामाग्री प्रर्दशनीमा राखेका थिए । सापकोटाका अनुसार दसैं–तिहारको लामो बिदामा गृहकार्य मात्र नदिएर विद्यार्थीलाई सिर्जनशील बनाउनका लागि विज्ञानका विभिन्न शैक्षिक सामाग्री बनाउन प्रोत्साहन गरेको बताए । ‘किताबी गृहकार्य मात्र दिएर बोझ बोकाउनु हुँदैन । विद्यार्थीमा भएका आन्तरिक क्षमता पनि बाहिर ल्याउनुपर्छ,’ सापकोटाले भने, ‘विद्यार्थीमा रहेको ज्ञान र आन्तरिक क्षमता बाहिर ल्याउन शैक्षिक संस्थाको पनि दायित्व हो ।’ प्रदर्शनीको गण्डकी विश्वविद्यालयका कुलपति प्राडा गणेशमान गुरुङले उद्घाटन गरेका थिए । लामो समयदेखि शिक्षणसंस्थामा रहेर काम गरेको अनुुभव साट्दै कुलपति गुरुङले विद्यार्थीलाई अध्ययन अनुसन्धानमा लाग्नुपर्ने बताए । ‘विद्यार्थीले आफुभित्र लुकेको प्रतिभालाई प्रस्फुटन गराउनुपर्छ । अन्तरनिहित ज्ञानलाई भित्र लुकाएर राख्ने होईन,’ उनले भने । प्रतिभा एजुकेशन फाउन्डेसनका अध्यक्ष नारायणप्रसाद पौडेलले यस्ता विज्ञान प्रदर्शनीले विद्यार्थीलाई नयाँ कुरा सिक्ने अवसर दिलाउने बताए । ‘यो एउटा खोज पनि हो । विद्यार्थीले आफुभित्र लुकेको कुरालाई बाहिर ल्याउनुपर्छ । नयाँ कुरा सिक्नमा सधैं चाँसो दिनुपर्छ,’ पौडेलले भने, ‘यो मेहनतलाई आगामि दिनमा निरन्तरता दिनपर्छ । परिश्रम गर्नबाट कहिल्यै पछाडि हट्नुहुँदैन ।’ प्रदर्शनीमा सहभागि भएका विद्यार्थीको समुहबाट उत्कृष्ट समुहलाई पुरस्कृत गरिने निर्देशक सापकोटाले जानकारी दिए । सापकोटाका अनुसार हरेक समुहमा ३ जना विद्यार्थी सहभागि छन् । उनीहरुले विज्ञानसँग सम्बन्धित विभिन्न शैक्षिक सामाग्री निर्माण गरेका छन् । उत्कृष्टमध्ये प्रथम हुने समुहले २० हजार रुपैयाँ नगद पुरस्कार पाउनेछ । दोश्रो समुहले १५ र तेश्रो तथा चौथो समुहले ७ हजार ५ सय रुपैयाँका दरले नगद पुरस्कार सहित प्रमाणपत्र पाउनेछन् । कार्यक्रममा सहभागि विश्वविद्यालय पदाधिकारी सहितका पाहुनाले विद्यार्थीले बनाएका सामाग्रीको अवलोकन गर्दै आवश्यक जानकारी पनि लिएका थिए । विद्यालयले ११ र १२ कक्षाका व्यवस्थापन विषयका विद्यार्थीका लागि शनिबार ‘व्यवसायिक योजना’ बारेको प्रस्तुती राखेको छ । यसमा ११ र १२ कक्षाका विद्यार्थीले एकअर्काबीच आफुले बनाएको व्यवसायिक योजना प्रस्तुत गर्नेछन् । पोखराको प्रतिभा माविमा शुक्रबार आयोजित विज्ञान प्रदर्शनीमा सहभागि विद्यार्थी ।
गोरखा । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष तथा गोरखा क्षेत्र नं २ बाट प्रतिनिधिसभा सदस्य उमेदवार पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बाँकी जीवन आर्थिक समृद्धिका समर्पित गर्ने बताउनुभएको छ । चुनावी प्रचार–प्रसारका क्रममा आज बिहान सिरानचोक गाउँपालिकाको जौबारीमा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै परिवर्तनलाई संस्थागत गर्न आर्थिक क्रान्ति आवश्यक रहेको बताउनुभयो । “मेरो बाँकी जीवन विकास र समृद्धिका लागि खर्च गर्नेछु”, उहाँले भन्नुभयो, “राजनीतिक परिवर्तनलाई संस्थागत गर्नका लागि पनि अब आर्थिक क्रान्तिको सुरुआत गर्नु जरुरी छ ।” उहाँले आर्थिक क्रान्तिको सुरुआत गोरखाबाट नै गर्ने दाबीसमेत गर्नुभयो । “म गोरखा आएको विषय सबैलाई थाहा पाइसकेको अवस्था छ, अब आर्थिक क्रान्तिको सुरुआत पनि गोरखाबाट नै गरेर सिङ्गो मुलुकको विकास गर्नेछु ।” गोरखा जिल्लामा संसारको ध्यान केन्द्रित भएको भन्दै उहाँले शान्ति प्रक्रियाका बाँकी काम पनि गोरखाको भूमिबाट पूरा गर्ने बताउनुभयो । उहाँले विस्तृत शान्ति सम्झौताको एउटा हस्ताक्षरकर्तामध्येको आफू पनि एक भएको भन्दै विचार र आस्थाका आधारमा कसैलाई पनि विभेद हुन नदिने दाबीसमेत गर्नुभयो ।
घोराही । दाङको घोराही सहरदेखि गाउँसम्म बिग्रिएका सडक बनाउनेदेखि नयाँ सडकको ट्रयाक खन्ने काममा व्यस्त हुनुहुन्छ, अनिता थारु । साना सवारीसाधन चलाउने महिलाको सङ्ख्याभन्दा ठूला सवारीसाधन चलाउने महिला न्यून छन् । तर अनिता भने विगत चार वर्षदेखि दाङलगायत ठाउँमा सडक तथा पुल निर्माण गर्न ग्रेडर मेसिन चलाउँदै आउनुभएको छ । उहाँ डेढ वर्षदेखि घोराही उपमहानगरपालिकामा ग्रेडर अपरेटरका रुपमा कार्यरत हुनुहुन्छ । अनिता पछिल्लो समय भने उपमहानगरपालिका भित्रका विकास निर्माणका काममा ग्रेडर मेसिन चलाउँदै आउनुभएको छ । बाह्र कक्षासम्म अध्ययन सकेर घरमै बसेको समयमा आफन्तको सहयोगमा उहाँ बर्दियाबाट दाङ आएर ग्रेडर मेसिन चलाउन थाल्नुभएको हो । “मैले यतै आएर चलाउन सकेकी हुँ”, चालक अनिता बताउनुहुन्छ । “कमजोर आर्थिक अवस्थाका कारण पढाइलाई अघि बढाउन नसकेर घरमै बसेकी थिए”, उहाँले भन्नुभयो, “घरमा त्यसै बस्नुभन्दा ग्रेडर मेसिन चलाउन सिक्ने सोच बनाए र दाङ आएकी हुँ ।” घोराही–मुर्कुटी सडक बनाउने काममा अनिताका भिनाजुले ग्रेडर मेसिन चलाउनुहुन्थ्यो । उहाँसँगै उक्त सडक निर्माण गर्ने कम्पनीमा सहायक ग्रेडर अपरेटरका रुपमा एक वर्ष काम गरेपछि ग्रेडर चलाउन सक्ने भएको अनिता बताउनुहुन्छ । निर्माणको क्षेत्रमा काम गर्न कठिन भए पनि आत्मविश्वास र मेहनतले सफलता हासिल गर्दै गएको उहाँको भनाइ छ । करिब एक चलाउन सिकेपछि अनिताले उक्त मेसिन राम्ररी चलाउन सक्ने हुनुभयो । तर उहाँसँग सवारी चालक अनुमतिपत्र भने थिएन । यसका लागि २०७६ भदौमा तुलसीपुरमा परीक्षा दिनुभयो । परीक्षमा सहभागी १३ जनामध्ये उत्तिर्ण हुने अनिता भने एक्ली महिला हुनुहुन्थ्यो । “पहिलो प्रयासमै सवारी चालक अनुमतिपत्र लिन सफ भए”, अनिता भन्नुहुन्छ । उहाँले त्यसपछि जागीरका क्रममा दाङ र बर्दियाका विभिन्न ठाउँमा निर्माणसम्बन्धी काम गर्नुभयो । “ग्रेडर मेसिन चलाउन सक्थे, तर लाइसेन्स नहुँदा समस्या थियो”, उहाँले भन्नुभयो, “विसं २०७६ भदौमा लाइसेन्स खुलेपछि ट्रायल दिए । ट्रायलमा पास भएपछि मलाई काममा सहजता भयो ।” अन्य सवारी साधनभन्दा चलाउन कठिन भए पनि अनुभवले गर्दा सहज लाग्ने गरेको उहाँ बताउनुहुन्छ । “अन्य उपकरणभन्दा यो चलाउन निकै कठिन हुन्छ”, चालक अनिता भन्नुहुन्छ, “तर आफूभित्रको आत्सविश्वास र निरन्तरको मेहनतले मलाई अहिले सहज भएको छ ।” बेरोजगार बस्नुभन्दा कुनै पनि सीप सिकेर काममा लाग्न उहाँको अरु महिलालाई सल्लाह छ । निर्माणका क्षेत्रमा महिलालाई काम गर्न कठिनाइ भए पनि आफ्नो कामबाट आफू सन्तुष्ट रहेको अनिताको भनाइ छ । “निर्माणको क्षेत्रमा काम गर्न गाह्रो भए पनि मलाई यही पेसामा सन्तुष्टि छ”, अनिताले भन्नुभयो, “धेरै पढेको भए ठूलो अपेक्षा हुन्थ्यो र अरु काम खोजिन्थ्यो होला । पढ्न सकिएन । त्यसैले ग्रेडर अपरेटर नै मेरा लागि ठीक छ ।” अनिता परिवारका चार सन्तानमध्ये एक्ली छोरी हुनुहुन्छ । स्थानीय सूर्य माध्यमिक विद्यालयबाट १० कक्षा उत्तिर्ण गर्नुभएकी उहाँले बाँकेको कोहलपुरस्थित बागेश्वरी माध्यमिक विद्यालयबाट १२ कक्षा उत्तिर्ण गर्नुभएको हो । कमजोर आर्थिक अवस्थाका कारण अनिताले पढाइ छोडेर मेसिन चलाउन थाल्नुभयो । सुरुमा चलाउँदा महिलाले पनि ग्रेडर मेसिन चलाउँछन् भनेर धेरैले हेर्न आउने गरेको उहाँ सम्झिनुहुन्छ । “अहिले सबैलाई सामान्य लाग्न थालिसकेको छ”, अनिताले भन्नुभयो ।
मनाङः हिमाली जिल्ला मनाङमा जाडो बढ्दै गएको छ । यहाँ जाडो याममा बस्न प्रतिकूल हुन्छ । त्यसैले मनाङवासी जाडो छल्न बेसी झर्ने गर्दछन् । तर यस पटक भने मनाङवासी जाडो छल्न बेसी झर्ने बेलामा जिल्ला भित्रिँदै छन् । आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि मनाङवासी मतदान गर्न जिल्ला फर्किने क्रममा छन् । मनाङमा चिसो बढ्न थालेपछि मनाङी काठमाडौँ, पोखरालगायत स्थानमा जाने अवस्थामा जिल्ला फर्किने क्रममा रहेको प्रमुख जिल्ला अधिकारी रवीन्द्रप्रसाद आचार्यले बताउनुभयो । “मनाङवासी मतदान गर्न यहाँ फर्किँदैछन्”, उहाँले भन्नुभयो । कात्तिक मध्यबाट जिल्लावासी जाडो छल्न बेँसी जाने समयमा निर्वाचन भएपछि जिल्ला आउने क्रममा रहेका हुन् । हिउँ पर्ने समय भएको छ । खानेपानी नै जम्ने अवस्थामा छ । तर निर्वाचनले जिल्लावासीलाई यहाँ आउन बाध्य बनाएको छ । एक प्रतिनिधिसभा र दुई प्रदेशसभा रहेको मनाङमा उम्मेदवारले निर्वाचनको प्रचारप्रसारलाई तीव्र पारिरहेको जिल्ला निर्वाचन अधिकारी पुष्पराज शर्माले बताउनुभयो । यहाँको मौसम जुनसुकै बेला प्रतिकूल हुनसक्ने भएकाले सुरक्षित व्यवस्थापन गरिएको उहाँले बताउनुभयो । मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनको लागि मतपत्र र ६१ प्रकारका सामग्री जिल्लामा आइसकेको शर्माले बताउनुभयो । “प्रत्यक्ष र समानुपातिकतर्फको मतपत्र र सामग्री मतदान केन्द्रमा पठाउनका लागि सटिङको काम भइरहेको छ । मङ्सिर १ गतेभित्र प्रत्येक मतदान केन्द्रमा मतदान अधिकृत, सहायक मतदान अधिकृत, कर्मचारी र मतपत्रसहित पठाउनेछौँ”, उहाँले भन्नुभयो । प्रतिनिधिसभा सदस्य पदमा नेपाली कांग्रेसका केन्द्रीय सदस्य टेकबहादुर गुरुङ र नेकपा (एमाले) का पाल्तेन छोपाङ गुरुङ चुनावी मैदानमा हुनुहुन्छ । कांग्रेसको तर्फबाट प्रदेश ‘क’ मा मुनिन्द्रजङ्ग गुरुङ र राजन गुरुङ चुनावी प्रतिस्पर्धामा हुनुहुन्छ । यसअघि नै प्रदेश ‘ख’ मा राजीव गुरुङ सर्वसम्मत निर्वाचित भइसक्नुभएको छ । निर्वाचनमा जित हासिल गर्नका लागि घरदैलोमा पुगेर उम्मेदवार मतदातालाई रिझाउन व्यस्त छन् । मनाङमा तीन हजार दुई सय ८१ पुरुष र तीन हजार चार सय ९८ महिला गरी छ हजार सात सय ७९ मतदाता छन् । नासोँ गाउँपालिकामा एक हजार आठ सय ४७, चामेमा सात सय ७७, मनाङ ङिस्याङमा तीन हजार छ सय ८७ र नार्पाभूमिमा चार सय ६८ मतदाता छन् । जिल्लामा कैदीबन्दीका लागि एक अस्थायी मतदान केन्द्र कायम गरिएको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ । अस्थायी मतादन केन्द्रसहित जिल्लामा २९ मतदान केन्द्र छन् ।
तनहुँ: पृथ्वी राजमार्ग सडक विस्तारको क्रम तीव्र रुपमा भइरहेको छ । सो क्रममा अब चार सय ६६ रुख काटिने भएका छन् । यसअघि मुग्लिन–पोखरा सडक आयोजनाले सडकका दायाँबायाँ रहेका चार हजार दुई सय पाँच रुख कटान गरिसकेको छ । आयोजनाका वातावरण विज्ञ युवराज ढकालका अनुसार ९० प्रतिशत रुख कटान भइसकेको छ । बाँकी रहेका रुखमध्ये पनि सकेसम्म बचाएर काट्ने योजना रहेको उहाँले बताउनुभयो । “सबै रुख नकाटिन पनि सक्छन्”, उहाँले भन्नुभयो, “काट्नैपर्ने रुख मात्रै कटान गरेर बचाउन सकिने रुख बचाउनेतर्फ आयोजनाले योजना बनाएको छ ।” सडक विस्तार गर्न बिजुलीका पोल, पानीका पाइप र टेलिफोनका तार बाधक बनेका छन् । उक्त सडक खण्डमा दुई हजार चार सय बिजुलीका पोल र ३९ किलोमिटर खानेपानीको पाइप हटाउनु पर्ने उहाँले बताउनुभयो । सडक विस्तारका क्रममा सडकका दायाँबायाँ रहेका घर गोठ भत्काइँदा रु साढे आठ करोड क्षतिपूर्ति वितरण गरिसकेको ढकालले जानकारी दिनुभयो । व्यक्तिगत संरचना सात सय ६७ र हाउसहोल्ड आठ सय दश भत्काइएका छन् । आइपिएसमार्फत क्षतिपूर्ति रकम भुक्तानी गरिएको छ । उहाँले भन्नुभयो, “आर्थिक पारदर्शिताका लागि आयोजनाले उक्त प्रणाली अपनाएको हो ।” जग्गाधनी पुर्जा भएका र नभएकाबीच कुनै विभेद नगरी क्षतिपूर्ति दिइने योजना बनाइएको ढकाल बताउनुहुन्छ । क्षति भएका व्यक्तिलाई पुनर्वास योजनामा राखी आयमूलकतर्फ केन्द्रित गरिने उहाँको भनाइ छ । आयोजनाबाट विस्थापित भएका, सीमान्तकृत, दलित, आदिवासीलगायतलाई सीपमूलक तालिम प्रदान गरी आयआर्जनका लागि सबल बनाउने योजना रहेको ढकाल बताउनुहुन्छ ।
काठमाडौंः राष्ट्रपति विद्यादेवी भण्डारीले किराँत धर्मावलम्बीका महागुरु फाल्गुनन्द लिङ्देनको १३८औँ जयन्तीको अवसरमा सुख, शान्ति तथा समृद्धिको शुभकामना व्यक्त गर्नुभएको छ । राष्ट्रपति भण्डारीले फाल्गुनन्द जयन्तीका अवसरमा आज जारी गर्नुभएको शुभकामना सन्देशमा सबैमा सहिष्णुता, सद्भाव, अहिंसा एवं समाज सुधारको महान् अभियानमा लाग्ने प्रेरणा मिलोस् भन्ने कामना व्यक्त गर्नुभएको हो । “महागुरु फाल्गुनन्दले धार्मिक गुरु मात्र नभई एक सामाजिक अभियन्ताको रूपमा समाजमा विद्यमान अनेक विकृति र विसङ्गतिलाई हटाउनसमेत महत्वपूर्ण भूमिका खेल्नुभएको थियो”, सन्देशमा भनिएको छ, “उहाँले देखाएको बाटोमा हिँड्न सकेमा धार्मिक, सामाजिक तथा सांस्कृतिक विविधताबीच सहिष्णुता र सद्भाव कायम गर्दै राष्ट्रिय एकतालाई सुदृढ एवं सबल बनाउन सकिने विश्वास मैले लिएको छु ।” सामाजिक रूढीवादको अन्त्य गर्दै समाजलाई सही बाटो देखाउँदै आर्थिक अनुशासन कायम गर्न उहाँले दिनुभएको मार्गनिर्देशन अनुसरणीय रहेको र उहाँले अपनाउनुभएको दर्शन प्रेम र अहिंसामा आधारित रहेको हुँदा प्रेरणादायी उपदेश र मार्गदर्शनले समाजलाई सही बाटो दिनेछ भन्ने उहाँले विश्वास लिएको सन्देशमा उल्लेख छ । किराँत धर्म र संस्कृतिको मौलिक पहिचान र संरक्षणमा महत्वपूर्ण योगदान पु¥याउनुहुने राष्ट्रिय विभूति फाल्गुनन्द लिङ्देनले समाज सुधारका लागि खेलेको अहम् भूमिकाको कदर गर्दै पाँचथर, ताप्लेजुङ्ग, तेह्रथुम, इलाम र झापालगायत नेपालका पूर्वी जिल्लामा विभिन्न कार्यक्रमको आयोजना गरी उहाँको जन्मजयन्ती मनाउने गरिन्छ ।