काभ्रेपलाञ्चोक:   बिपी राजमार्गमा भदौ १ गतेदेखि थप १५ दिन सवारी सञ्चालनमा रोक लगाइएको छ । जोखिमका कारण गत असार ७ गतेदेखि राति सवारी सञ्चालनमा रोक लगाउँदै आइएकोमा भदौ १५ गतेसम्म १२ घण्टा रोक लगाइएको ज...

 ​चितवन:   चितवन क्षेत्र नं.२ का नेपाली कांग्रेस उम्मेदवार उमेश श्रेष्ठको कार भरतपुरमा तोडफोड भएको छ । बा ३ च २०५० नम्बरको प्राडो कारमा अपरिचित समूहले आज बिहान ११ बजेतिर तोडफोड गरेको हो । श्रेष्ठ भरतपुर महानगरपालिका वडा नं.१० पुरानो मेडिकल कलेज अगाडि चुनाव प्रचारमा थिए । गाडी रोकेर भेटघाटमा रहेको बेला तीन वटा मोटरसाइकल चढेर आएका ६ जनाको समूहले सिसा फुटाएर भागेको प्रहरीले जनाएको छ । प्रहरीले गाडी तोडफोडमा संलग्नको पहिचान नखुलेको र उनीहरुको खोजी भइरहेको जनाएको छ ।

काठमाडौं:  कलेज आइडिया हन्ट, २०२२ बाट चार विचार उद्यमका लागि छानिएका छन् । यो कार्यक्रम ‘सोचदेखि उद्यमसम्म’ नाराका साथ आठ वर्षदेखि सञ्चालन हुँदै आएको छ । कलेज आइडिया हन्टमा देशभरका चार सय कलेजबाट उद्यमको सोच प्राप्त भएको आयोजका संस्थाका कार्यकारी अध्यक्ष डा छिरिङ लामाले बताउनुभयो । प्राप्त भएकामध्ये २० विचारलाई १५ दिनको मार्गनिर्देश गरिएको थियो । छनोट भएका २० विचारलाई मार्गनिर्देशपछि १० उत्कृष्टलाई अन्तिम प्रक्रियाका लागि छनोट गरिएको थियो । अन्तिममा उत्कृष्ट चार विजेता छनोेट गरिएको उहाँले बताउनुभयो ।    छनोट गरिएका चार उत्कृष्ट उद्यम विचारमा बायो ग्रीन, वी फर नेचर, आहा बेङ्गलस् र मेहेनती डट कम छन् । कलेज आइडिया हन्टका चारै विजेतालाई रु एक लाख पुरस्कार प्रदान गरिएको छ । कलेज आइडिया हन्टका सबै विजेता आइडिया स्टुडियो सिजन–७ मा स्वतः सहभागी हुन पाउने आइडिया स्टुडियोले जनाएको छ । आइडिया स्टुडियो सिजन–७ मा सहभागी हुन चाहने इच्छुक व्यक्तिले यही कात्तिक २९ देखि आगामी पुस १७ गतेसम्ममा आवेदन दिइसक्नु पर्नेछ । आवेदकले आवेदनको प्रक्रिया, योग्यता तथा भिडियो निर्देशनका लागि https://ideastudio.org.np मा गएर हेर्न र आफ्नो आइडिया पठाउन सक्ने जनाइएको छ ।  आइडिया स्टुडियो नेपालले २०२२ नोभेम्बर १५ मा ‘आइडिया स्टुडियो सिजन–७’ का लागि आवेदन खुला गरेको हो । आइडिया स्टुडियो नेपाल सिजन–६ सम्म चार सय ५० भन्दा बढी नवीन विचारको आवेदन प्राप्त भएको थियो । त्यसमध्ये तीन सय ५० भन्दा बढी व्यवसाय सुरु भइसकेका छन् । आइडिया स्टुडियो नेपालबाट सुरु भएका व्यवसायमध्ये ६५ भन्दा बढी व्यवसाय सफलतापूर्वक सञ्चालनमा रहेको बताइएको छ । आइडिया स्टुडियो नेपालले हरेक सिजनमा नेपाली उत्पादनलाई प्रवद्र्धन गर्ने, सामाजिक रुपान्तरणमा योगदान गर्ने, प्रविधिसम्बद्ध तथा हरियाली र पर्यावरण प्रवद्र्धन गर्ने व्यावसायिक विचारलाई विशेष प्राथमिकता दिँदै ती विचारलाई उत्कृष्ट बनाउन सरसल्लाह, व्यावसायिक सञ्जाल, मार्गनिर्देश, रियालिटी टिभी सो साथसाथै वित्तीय पहुँचका लागि सहजीकरण गराउन मद्दत गर्दै आएको छ । हालसम्म आइडिया स्टुडियोले विभिन्न कार्यक्रमबाट मुलुकका सातवटै प्रदेशमा १६ देखि ६७ वर्ष उमेर समूहका व्यक्तिको सहभागिता जुटाउँदै आएको छ ।

काठमाडौं:  निर्वाचन आयोगले राष्ट्रिय खेलकुद परिषद्का सदस्यसचिव टङ्कलाल घिसिङलाई नेकपा (माओवादी केन्द्र) को प्रचारप्रसारमा संलग्न रहेको विषयमा स्पष्टीकरण सोधेको छ ।  सदस्यसचिव घिसिङले रामेछाप जिल्लामा सो दलको प्रचारप्रसारमा संलग्न रहेको विषयमा उजुरी परेपछि आयोगले २४ घण्टाभित्र निर्वाचन आयोगमा प्राप्त हुने गरी लिखित स्पष्टीकरण पेस गर्न पत्र पठाएको हो ।   निर्वाचन आचारसंहिता, २०७९ को दफा ७ को खण्ड (क) अनुसार नेपाल सरकार, प्रदेश सरकार र स्थानीय तहअन्तर्गतका निकाय, अर्धसरकारी तथा सार्वजनिक संस्था र सोमा कार्यरत कर्मचारीले कुनै राजनीतिक दल वा उम्मेदवारको पक्ष वा विपक्षमा प्रचारप्रसारमा संलग्न हुन वा प्रचारप्रसार गर्न हुँदैन । घिसिङलाई निर्वाचन आयोग ऐन, २०७३ को दफा २३ को उपदफा (३) बमोजिम जरिवाना र ऐनको दफा ४४ बमोजिम विभागीय कारबाही हुन सक्ने भएकाले उक्त कारबाही किन हुनु नपर्ने हो ? भनी स्पष्टीकरण सोधिएको छ ।

चितवन:  चितवन राष्ट्रिय निकुञ्जमा चार महिनाको अवधिमा ४९ वन्यजन्तुको मृत्यु भएको छ । मृत्यु हुनेमा सबैभन्दा बढी २८ चित्तल छन् ।  कुकुरको आक्रमणबाट १७ तथा सडक दुर्घटनामा र दलदलमा परेर एक–एक चित्तल मरेको निकुञ्जका सूचना अधिकारी गणेशप्रसाद तिवारीले जानकारी दिनुभयो । तिवारीका अनुसार चालु आर्थिक वर्ष २०७९/८० को साउनदेखि यता चितवन राष्ट्रिय निकुञ्जमा दुई दुर्लभ एकसिङ्गे गैँडा मेरका छन् । एउटा गैँडाको प्राकृतिक (उमेर पुगेर, बिरामी भएर, बाघको आक्रमणबाट आदि) कारणबाट र एउटा विद्युतीय करेन्ट लागेर मृत्यु भएको छ । त्यसैगरी एउटा सरकारी घरपालुवा र एउटा निजी हात्तीको प्राकृतिक कारणले मृत्यु भएको निकुञ्जको तथ्याङ्कमा उल्लेख छ । प्राकृतिक कारणले मृत्यु हुने जनावरमा तीन अर्ना, एक चितुवा, तीन गौँरीगाई, दुई कछुवा, एक लगुना र तीन घडियाल गोही रहेको तिवारीले जानकारी दिनुभयो । त्यस्तै एउटा प्राकृतिक कारण र एउटा कुकुरको आक्रमणबाट गरी दुई जरायोको पनि मृत्यु भएको छ । एउटा बँदेलको पनि मृत्यु भएको छ । निकुञ्जमा सबैभन्दा धेरै चित्तलको सङ्ख्या रहेको  प्रमुख संरक्षण अधिकृत हरिभद्र आचार्यले जानकारी दिनुभयो ।  

बागलुङ:  मंसिर ४ गते हुने प्रतिनिधि सभा तथा प्रदेश सभा निर्वाचन बहिष्कारको कार्यक्रम गर्ने नेपाल कम्युनिष्ट पार्टी (मशाल)का नेता कार्यकर्ता बागलुङको कुश्मिसेराबाट पक्राउ परेका छन् । मंगलबार कुश्मिसेरा बजारमा नेकपा (मशाल)ले आयोजना गरेको चुनाव बहिष्कार कार्यक्रमको कोणसभाबाट नेकपा (मशाल)का पोलिटब्युरोे सदस्य ७० वर्षीय कृष्णराज पौडेल सहित १३ जनालाई पक्राउ गरि अनुसन्धान सुरु गरेको जिल्ला प्रहरी कार्यालय बागलुङका एसपी दयानिधी ज्ञवालीले बताए । कुश्मिसेरा प्रहरी चौकीबाट खटिएको प्रहरी सहायक निरीक्षक मिनबहादुर खत्रीको टोलीले उनीहरुलाई निर्वाचन विरोधी पर्चासहित कोणसभा कार्यक्रम गरेको स्थानबाट पक्राउ गरेको हो । पक्राउ पर्नेमा अखिल भारत नेपाली एकता समाजका केन्द्रिय अध्यक्ष ५३ वर्षीय देबबहादुर लामिछाने, केन्द्रिय सदस्य ४६ वर्षीय सुर्यबहादुर थापा, जैमिनी नगर सदस्य ५४ वर्षीय रमाकान्त शर्मा, रत्तिम सांस्कृतिक अभियानका केन्द्रिय उपाध्यक्ष ५२ वर्षीय दलबहादुर विक छन् । यस्तै नेकपा (मशाल)का कास्की जिल्ला प्रवक्ता ४३ वर्षीय विक्रम थापा, बागलुङ जिल्ला सदस्य ४२ वर्षीय दिपक गुरुङ, काठमाडौ महानगर अध्यक्ष ४६ को खगेश्वर शर्मा, समर्थक ३९ वर्षीय लालबहादुर नेपाली, ३५ वर्षीय सागर कुँवर, ४८ वर्षीय आकाश गौतम र ३० वर्षीय पहाड विष्ट र पार्टीका केन्द्रिय प्रतिनिधि ४७ वर्षीय नारायण सापकोटा पनि पक्राउ परेका छन् । उनीहरुलाई कुश्मिसेरा प्रहरी चौकीमा राखिएको छ ।

  काठमाडौं: निर्वाचन आयोगले आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि मतदान केन्द्रमा क्यामरा, मोबाइल र अन्य निषेधित वस्तु रोक्ने सम्बन्धमा चार बुँदे निर्देशन दिएको छ। मतदानका दिन मतदान केन्द्रमा प्रवेश गर्ने मतदाता तथा अन्य व्यक्तिलाई सलाई, लाइटर, फोटो खिच्ने क्यामरा, मोबाइल तथा अन्य निषेधित वस्तु नलिई मतदान केन्द्रमा आउनको निम्ति प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचन निर्देशिका, २०७९ को दफा २१ बमोजिम सर्वपक्षीय बैठकमा समेत छलफल गराई आयोगले सार्वजनिक आह्वान र अनुरोध गरेको हो। आयोगले मतदाता वा अन्य व्यक्तिले मतदान केन्द्रमा आउँदा निषेधित वस्तु लिई आएको पाइएमा प्रचलित कानून बमोजिम तत्काल कारबाही गर्ने र सलाई, लाइटर, क्यामरा, मोबाइलजस्ता वस्तु लिई आएमा मतदान केन्द्रको प्रवेश विन्दुमा राख्ने व्यवस्था मिलाउने वा मतदान केन्द्र बाहिर निजलाई उपयुक्त लागेको स्थानमा राख्न लगाएर मतदान केन्द्रमा प्रवेश गर्न अनुमति दिने निर्देशन दिएको छ। कसैले फोटो खिच्ने क्यामरा वा मोबाइल आफ्नो स्थानमा साथमा लागि मत सङ्केत गर्ने स्थान मतदान कक्षमा गएमा तत्काल त्यस्तो क्यामरा वा मोबाइल जफत हुने व्यहोरा सर्वसाधारणलाई सूचीत गर्ने। आयोगको निर्देशनमा भनिएको छ, प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचन निर्देशिका, २०७९, निर्वाचन आचारसंहिता, २०७९ विपरीत उल्लिखित कार्य गर्ने मतदाता तथा अन्य व्यक्तिलाई कानुन बमोजिम कारबाही गर्न मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृतमार्फत मतदान केन्द्रमा खटिने सबै मतदान अधिकृत, सहायक मतदान अधिकृत तथा सुरक्षाकर्मीलाई जानकारी गराउने।

भोजपुर: आसन्न मङ्सिर ४ गते हुने प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनका लागि भोजपुरमा चुनावी सरगर्मी बढेको छ । चुनावी प्रचारमा साहित्यकार र कलाकारहरुको टोली भोजपुर आइपुगेको छ ।  योजना आयोगका पूर्वसदस्य डा शिवकुमार राई, भूपूगोर्खा सैनिक सङ्घ गेसोका अध्यक्ष कृष्णकुमार राई, उपाध्यक्ष मनिकुमार राई, वरिष्ठ कवि तथा गीतकार भूपाल राई, मदन पुरस्कार विजेता वरिष्ठ आख्यानकार तथा गीतकार राजन मुकारुङ, सङ्गीतकार पारस मुकारुङ, गायक भीषण मुकारुङ, गीतकार शुभ मुकारुङ, गायिका बबिना राई, गायक तथा हास्यकलाकार हिरण राई, गायक रवीन्द्र राई लगायतको टोली चुनावी कार्यक्रममा सहभागी भएका हुन् ।  भोजपुरे जनताले विकास र समृद्धिको बाटोमा लाग्ने जुझारु उम्मेदवारहरु अघि सारेका कारण ती उम्मेदवारका पक्षमा मत माग्न भोजपुर आएको उहाँहरुको भनाइ छ । उहाँहरुले गीतसङ्गीत, कविता, लेख, विभिन्न सामाजिक सञ्जालहरुको माध्यमबाट मत माग्दै अहिले भौतिकरुपमा नै जनताको घरदैलोमा पुगी गठबन्धनका उम्मेदवारहरुलाई मतदान गर्न आह्वान गरिरहनुभएको छ ।       भोजपुरमा गठबन्धन दलका तर्फबाट प्रतिनिधिसभाका लागि सुदन किराती, प्रदेशसभा (१) का लागि प्रदेश १ का मुख्यमन्त्री राजेन्द्र कुमार राई र प्रदेशसभा (२) तर्फ कांग्रेस भोजपुर सभापति विनोद राई उम्मेदवार रहनुभएको छ । नेकपा (एमाले)का तर्फबाट प्रतिनिधिसभाका लागि प्रदेश १ का पूर्वमुख्यमन्त्री शेरधन राई, प्रदेशसभा (१) का लागि केन्द्रीय सदस्य हरिबहादुर र प्रदेशसभा (२) मा प्रदेश कमिटी सदस्य खड्गबहादुर कार्की चुनावी प्रतिस्पर्धामा हुनुहुन्छ ।   भोजपुरमा प्रतिनिधिसभा निर्वाचनका लागि १२, प्रदेशसभा (१) मा सात र प्रदेशसभा (२) मा छ गरी २५ जना चुनावी मैदानमा हुनुहुन्छ । भोजपुरमा ६४ हजार एक सय २५ पुरुष, ५९ हजार दुई सय ५३ महिला र अन्य एक गरी कूल एक लाख २३ हजार तीन सय ७९ मतदाता छन् ।

  नवलपरासी:  प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले जनताले दिएको अभिमत पूर्णरुपमा पालना गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ । उहाँले लोकतान्त्रिक गठबन्धनलाई बहुमतले विजयी गराएर लोकतन्त्र र संविधानको रक्षा गर्न समेत आग्रह गर्नुभयो ।  पश्चिम नवलपरासीको क्षेत्र नं १ मा लोकतान्त्रिक वाम गठबन्धनले आज आयोजना गरेको चुनावी सभालाई सम्बोधन गर्दै प्रधानमन्त्री देउवाले लोकतन्त्र र संविधानको रक्षा गर्न गठबन्धनले निर्वाचनमा विजय हासिल गर्न आवश्यक भएको बताउनुभयो । पश्चिमनवलपरासी–१ मा सत्ता गठबन्धनका तर्फबाट नेपाली कांग्रेसका विनोद चौधरी उम्मेदवार रहनुभएको छ । देउवाले चौधरीलाई यस क्षेत्रबाट विजयी गराउन आग्रह गर्दै चौधरीको विजयले यस क्षेत्रको समस्या समाधान हुने आश्वासन दिनुभएको छ ।

   चितवन:  जिल्लामा साउन यता उपचारका लागि आएका ६ जनाको डेङ्गु रोगको सङ्क्रमणका कारण मृत्यु भएको छ । मृत्यु हुनेमा जिल्ला र जिल्लाबाहिरका रहेको स्वास्थ्य कार्यालय चितवनले जनाएको छ । कार्यालयका सूचना अधिकारी राम केसीका अनुसार हालसम्म १० हजार नौ सय ७४ जनाको परीक्षण गरिएकामा दुई हजार नौ सय ४९ जनामा डेङ्गुको सङ्क्रमण देखिएको छ । सङ्क्रमितमध्ये २० हजार ५० जना चितवनका हुन् भने अन्य बाहिरी जिल्लाका रहेका छन् । ठेगाना नखुलेका दुई सय ९१ र ठेगाना खुलेका ६ सय आठजना रहेको कार्यालयले जनाएको छ । जिल्लामा सबैभन्दा बढी डेङ्गु रोगको सङ्क्रमण भरतपुर महानगरपालिकामा देखिएको छ । जहाँ एक हजार चार सय ५० जनामा डेङ्गु रोग देखिएको केसीले बताउनुभयो । उहाँका अनुसार खैरहनी नगरपालिकामा एक सय ६४, माडी नगरपालिकामा ३५, रत्ननगर नगरपालिकामा दुई सय ४३ जनामा डेङ्गु रोग देखिएको थियो ।  यस्तै राप्ती नगरपालिकामा ९६, कालिका नगरपालिकामा ४८ र इच्छाकामना गाउँपलिकामा १४ जनामा डेङ्गुको सङ्क्रमण देखिएको थियो । कार्यालयका अनुसार जिल्लामा भेटिएका सङ्क्रमितमध्ये एक हजार एक सय ३६ पुरुष र नौ सय १४ जना महिलामा डेङ्गु रोगको सङ्क्रमण देखिएको उहाँले बताउनुभयो ।