काठमाडौं: सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले प्रधानमन्त्री शेरबहादुर देउवा सत्तारुढ गठबन्धन जोगाउन सफल हुनुहुने विश्वास व्यक्त गर्नुभएको छ । आइतबार बिहान बसेको सत्तारुढ गठबन्धनको बैठकबाट माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल बाहिरिनु भएपछि कांग्रेस नेता समेत रहनुभएका मन्त्री कार्कीले त्यस्तो विश्वास व्यक्त गर्नुभएको हो । गठबन्धन मुलुकको आवश्यकता भएकाले त्यसलाई जोगाएर अघि बढ्न आफूहरू निरन्तर प्रयासरत रहेको उहाँले बताउनुभयो । माओवादी केन्द्रका अध्यक्ष दाहालले पहिलो पटक आफूलाई प्रधानमन्त्री बनाउन प्रस्ताव राख्नुभएपछि सहमति नहुँदा उहाँ बालुवाटार बैठकबाट बाहिरिनुभएको थियो । सञ्चारमन्त्री कार्कीले आजै गठबन्धन दलको बैठक बसी सहमति बन्ने विश्वास व्यक्त गर्नुभयो । मन्त्री कार्कीले भन्नुभयो, “गठबन्धन अहिले मुलुकको आवश्यकता हो, छलफल जारी छ । केही समय पछि फेरि बैठक बसेर सहमतिको प्रयास हुन्छ ।” गठबन्धनलाई जनताले अनुमोदन गरिसकेकाले गठबन्धन नटुट्ने उहाँले बताउनुभयो । पार्टीको आन्तरिक छलफल थप आवश्यक रहेको र गठबन्धनलाई जोगाई राख्न सबै प्रयास हुने उहाँको भनाइ छ । “प्रधानमन्त्रीजीले निरन्तर छलफल गरेर एउटा निष्कर्षमा पुग्नुहुनेछ, सहमति बन्छ भन्ने मलाई विश्वास छ” मन्त्री कार्कीले भन्नुभयो, “आफ्नो आफ्नो दलमा छलफल हुन्छ, सबै कुराको टुङ्गो अन्तिम घडीमा हुन्छ ।” नेपाली राजनीतिको परम्परा पनि सबै विषय अन्तिममा टुङ्गिने रहेको उहाँले बताउनुभयो । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रधानमन्त्रीमा बहुमतसहितको दाबी पेस गर्नका लागि आज ५ बजेसम्मको समय तय गर्नुभएको छ ।
काठमाडौं: अर्जेन्टिनाका कप्तान लियोनल मेस्सी अझै फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन (पीएसजी) मा बस्न सहमत हुनुभएको छ । ३५ वर्षीय मेस्सी पीएसजीसँग नयाँ सम्झौता गर्न सहमत भएपछि उहाँको फ्रान्स बसाई लम्बिने पक्का भएको हो । अर्जेन्टिनालाई विश्वकप उपाधि दिलाएर चर्चाको शिखरमा पुग्नुभएका मेस्सी पीएसजीसँग थप एक वर्षको सम्झौता गर्न तयार हुनुभएको हो । पीएसजीसँग मेस्सीको सम्झौता सन् २०२३ को जुनसम्म रहेको छ । मेस्सीले २१ वर्ष लामो बार्सिलोना बसाई टुङ्ग्याएर सन् २०२१ मा दुई वर्षको लागि पीएसजीमा अनुबन्ध हुनुभएको थियो । मेस्सीले पिएसजीका लागि ५३ खेल खेल्दै २३ गोल गर्नुभएको छ । एजेन्सी
काठमाडौंः नवनिर्वाचित प्रतिनिधिसभा सदस्यको शपथग्रहण समारोहमा देखिएको विविधतायुक्त उपस्थितिले नेपाल बहुजातीय, बहुभाषिक, बहुधार्मिक, बहुसांस्कृतिक मुलुकको झझल्को प्रस्तुत गरेको छ । प्रतिनिधिसभाका दुई सय ७५ सदस्यमध्ये हिमालदेखि तराई मधेससम्मका आ–आफ्नै मौलिक जातीय पहिरनमा सजिएर आएका २६ जनाले १४ मातृभाषामा शपथ लिइरहँदा चार जात छत्तीस वर्णको फूलबारीकै भान भएको थियो । त्यसो त अघिल्लो प्रतिनिधिसभाका ४६ सदस्यले पनि ११ मातृभाषामा शपथ लिनुभएको थियो । विविधताबीचको एकता, सामाजिक–सांस्कृतिक ऐक्यबद्धता, सहिष्णुता र सद्भावाई संरक्षण एवं प्रवद्र्धनका साथ वर्गीय, जातीय, क्षेत्रीय, भाषिक, धार्मिक, लैङ्गिक विभेद अन्त्य गर्दै समानुपातिक समावेशी सिद्धान्तलाई आत्मसात गर्ने प्रतिबद्धताका साथ जारी भएको संविधानले उक्त अवसर जुटाइदिएको हो । जुम्लाकी विनिता कठायत, भोजपुरकी दुर्गा राई, पर्साका प्रदीपकुमार यादव, मोरङकी सोनु मूर्मू, सुनसरीका अशोककुमार चौधरी, धादिङका बिना लामा, चितवनका कल्पना मियाँलगायत नवनिर्वाचित सदस्य आ–आफ्नो जातीय वेशभूषासहित सदनमा आएर मातृभाषामा शपथ लिनुभएको हो । उहाँहरुले आ–आफ्नो क्षेत्र र समुदायबीचमा सीमित वेशभूषा र भाषा नेपाली जनताको सार्वभौमसत्ता सम्पन्न सर्वोच्च निकाय संसद्मा आएर देखाउन र सुनाउन पाएकामा गौरवको अनुभव भएको भनी खुसी व्यक्त गर्नुभयो । धनुषाबाट प्रतिनिधित्व गर्ने जनमत पार्टीका सांसद अनिता साह भन्नुहुन्छ, “हाम्रो क्षेत्रको पहिरन, बोलीचाली, भाषा बेग्लै छ, त्यस्तालाई राष्ट्रियस्तरमा ल्याएर सबैले हेर्न, सुन्न र देख्न पाउने अवसर मिल्यो, राष्ट्रिय सञ्चारमाध्यमले सबैलाई यो दृश्य देखाइदियो ।” उहाँले अरुका पहिरन र भाषा हामीले देख्यौँ, हाम्रो अरुले देख्न र सुन्न पाउनुभयो यो निकै खुसीको कुरा हो भन्नुभयो । निर्वाचनबाट गठन हुने राज्यका सबै तहमा नेपालको संविधानले आत्मसात गरेको समानुपातिक समावेशी सिद्धान्तले विविधतायुक्त प्रतिनिधित्वको सुनिश्चिता प्रदान गरेको छ । यसबाट हाम्रा राष्ट्रिय गानका श्रष्टा व्याकुल माइलाको परिकल्पना ‘सयौँ थुङ्गा फूलका हामी एउटै माला नेपाली, सर्वभौम भई फैलिएका मेची–महाकाली’ भनेझैँ हाम्रो प्रतिनिधिसभा सप्तरङ्गी बन्न पुगेको छ । यसैबीच सदनमा ३३ प्रतिशत महिला प्रतिनिधिसहित समाजका विभिन्न क्षेत्र तथा तह र तप्कालाई समेट्ने उद्देश्यले आत्मसात गरिएको समानुपातिक निर्वाचन प्रणालीको अभ्यासमा भने प्रारम्भदेखि नै प्रश्न उठ्दै आएको छ । संविधान निर्माणका बेला समानुपातिकमात्र लेखेर हुन्न पूर्ण समानुपातिक चाहिन्छ भन्ने दल र व्यक्तिबाटै पनि अहिले यो प्रणालीको दुरुपयोग भएको भनी आलोचनात्मक प्रतिक्रिया आएको पाइएको छ । प्रतिनिधिसभा र प्रदेशसभा सदस्यमा ६० प्रतिशत प्रत्यक्ष र ४० प्रतिशत समानुपातिक निर्वाचन प्रणालीबाट निर्वाचित हुने व्यवस्था छ । हाल प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनमा पहिलो हुने निर्वाचित हुने ९प्रत्यक्ष० र समानुपातिक निर्वाचन दुवै प्रणाली अवलम्बन गरिएको छ । मुलुकमा भएका पछिल्ला निर्वाचन अभ्यासमा प्रत्यक्षतर्फ पुरुष र समानुपातिकतर्फ महिला भन्ने देखाएको छ । यसो हुनुमा निर्वाचन प्रणालीको दोष नभई राजनीतिक दलबाट उम्मेदवार छनोटप्रतिको बुझाइमा त्रुटि रहेको राजनीतिक दलका नेताहरू नै बताउनुहुन्छ । प्रतिनिधिसभा सदस्यको मङ्सिर ४ गते सम्पन्न निर्वाचनमा यसपटक प्रत्यक्षतर्फ नौ महिला सदस्यले आफ्ना बलिया प्रतिस्पर्धीलाई पराजित गरी विजयी हुनुभएको छ । प्रत्यक्षतर्फ महिला उम्मेदवार छनोटलाई ठूला दल भनिएकैबाट पनि कन्जुस्याइँ गर्ने प्रवृत्तिले प्रत्यक्ष पुरुष तथा समानुपातिक निर्वाचन प्रणाली महिलाको भन्ने भान हुन पुगेको छ । जनआन्दोलन २०६२÷६३ को उपलब्धिका रूपमा दलहरूबीच सहमति भई यो निर्वाचन प्रणाली अपनाउने सुनिश्चिता गरिएको थियो । समानुपातिक निर्वाचन रुपान्तरणकारी र अग्रगामी भएको जनाउँदै दलहरूले यस प्रणाली अपनाउँदा निर्वाचनलाई खर्चिलो र भड्किलो हुनबाट रोक्ने विश्वास गरिएकामा पछिल्ला समयमा उम्मेदवार छनोटमै आफन्त र पैसाको मोलतोलमा परेको भनी गुनासो गरिएको छ । समानुपातिक निर्वाचन प्रणाली अपनाउँदा राजनीतिक दल विशेषले भोट प्राप्त गर्ने भएकाले व्यक्ति विशेषको खर्च नहुने मात्र नभई कसैको प्रभाव र दबाब नपर्ने धारणा राखिएको थियो । त्यसो त प्रत्यक्ष निर्वाचनबाट चुनिएर आएका तुलनामा समानुपातिकबाट चुनिएर आएका सांसदले आफूलाई दुई नम्बरको व्यवहार भएको भनी गुनासो गर्दैै आएको पनि सुनिएकोे छ । पछिल्ला निर्वाचनको नतिजाले एकाधबाहेक प्रत्यक्षतर्फ पुरुष र त्यस्तै समानुपातिकतर्फ महिला बन्न पुगेको छ । जनताले नपत्याएका तथा कहिलै चुनाव नजित्ने नेतृत्वको प्रभावमा मात्र त्यो प्रणालीमा अटाउन थालेको गुनासो यत्रतत्र सुनिएको छ । समानुपातिक प्रणालीबाटै भए पनि सोनु मूर्मू ९सन्थाल० विनिताकुमारी सिंह, छिरिङ लामा, बिना लामा, प्रदीपकुमार यादव, विनिता कठायत, कल्पना मियाँ, अशोककुमार चौधरी, दुर्गा राईलगायतको उपस्थितिले प्रतिनिधिसभालाई रङ्गीचङ्गी तुल्याएको छ । उहाँहरुमध्ये कतिपय लामो राजनीतिक जीवनयात्रा पार गरेर यहाँ आइपुग्नुभएको छ भने केही व्यक्तित्वको प्रभावले सदनमा प्रवेश पाउनुभएको हो । नवप्रवेशी सांसदले कानुन निर्माणका अतिरिक्त स्वास्थ्य, शिक्षा, रोजगारी, सुशासन र जनजीविकाका प्रश्नलाई प्रभावकारीरूपमा उठाएर इतिहास रच्ने प्रतिबद्धता जाहेर गर्नुभएको छ । संविधानमा लेखिएका मौलिक हक अधिकारका विषय कानुन बनाएर कार्यान्वयन गर्नेमा आफूहरूको जोडबल रहने उहाँहरूले प्रतिक्रिया दिनुभएको छ ।
काठमाडौंः राष्ट्रपति विद्यादेवी भण्डारीले आगामी नयाँ सरकार गठनका लागि आह्वान गर्नुभएको एक साताको समय आज सकिँदै छ । गत मङ्सिर ४ गते सम्पन्न प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको निर्वाचनपछि नयाँ सरकार गठन गर्न राष्ट्रपतिले यही पुस ३ गते एक साताको समय निर्धारण गरी आह्वान गर्नुभएको थियो । पाँचदलीय सत्तागठबन्धन दलहरूले आफ्नै नेतृत्वमा आगामी नयाँ सरकार गठन गर्ने निर्णय गरी विभिन्न प्रयासमा जुटिरहेका छन् । त्यसका लागि नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी), राष्ट्रिय जनमोर्चालगायत दलका शीर्षनेताहरूले द्विपक्षीय, बहुपक्षीयरूपमा छलफल जारी राखेका छन् । गठबन्धनको नेतृत्वकर्ता दल कांग्रेसले आफ्नै नेतृत्वमा नयाँ सरकार गर्नका लागि पहल गर्ने निर्णय गरेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा शनिबार भएको गठबन्धनका शीर्षनेताको बैठकमा आगामी सरकार गठन सम्बन्धमा सकारात्मक छलफल भएको र आज बिहान पुनः बैठक बस्ने प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । निर्वाचनमा कुनै पनि दलले स्पष्ट बहुमत प्राप्त गरेको नदेखिएकाले राष्ट्रपतिले नेपालको संविधानको धारा ७६ को उपधारा ९२० बमोजिम प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने दुई वा दुईभन्दा बढी दलहरूको समर्थनमा बहुमतप्राप्त गर्न सक्ने प्रतिनिधिसभाको सदस्यलाई प्रधानमन्त्री नियुक्त गर्नका लागि पुस १० गते साँझ ५ बजेभित्र दाबी पेस गर्न आह्वान गर्नुभएको थियो । हालै सम्पन्न निर्वाचनअन्तर्गत प्रतिनिधिसभाका दुई सय ७५ सिटमध्ये कांग्रेस ८९, नेकपा ९एमाले० ७८, नेकपा ९माओवादी केन्द्र० ३२, राष्ट्रिय स्वतन्त्र पार्टी २०, राष्ट्रिय प्रजातन्त्र पार्टी १४, जनता समाजवादी पार्टी नेपाल १२, नेकपा ९एकीकृत समाजवादी० १०, जनमत पार्टी छ, लोकतान्त्रिक समाजवादी पार्टी चार, नागरिक उन्मुक्ति पार्टी तीन, राष्ट्रिय जनमोर्चा र नेपाल मजदुर किसान पार्टी एक–एक स्थानमा तथा पाँच स्वतन्त्र उम्मेदवार निर्वाचित हुनुभएको छ ।
काठमाडौंः पूर्व मन्त्री एवम् बुद्ध एअरका संस्थापक सुरेन्द्रबहादुर बस्नेतको निधन भएको छ । बुद्ध एअरले आज विज्ञप्ति निकालेर बस्नेतको निधन भएको जनाएको हो । भोजपुरको दिङ्गला साल्मामा १९८४ साल साउन २७ गते जन्मिएका बस्नेतले बनारस हिन्दु विश्वविद्यालयबाट एमए एलएलबी अध्ययन गरी सरकारको विभिन्न उच्च पदमा रहेर काम गर्नुभएको थियो । उहाँ सर्वोच्च अदालतको न्यायाधीश, निर्वाचन आयोगको प्रथम प्रमुख आयुक्त, विभिन्न कालखण्डमा कानुन तथा न्याय, शिक्षा, अर्थ, उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री, नेपाल प्रेस काउन्सिलको प्रथम अध्यक्ष समेत हुनुभएको थियो । उहाँले ७० वर्षको उमेरमा बुद्ध एअर स्थापना गरेर नेपाल र नेपालीलाई हवाई सेवामार्फत् जोड्ने कार्यको सुरूवात गर्नुभएको थियो ।
काठमाडौैः क्रिश्चियन धर्मका संस्थापक येशु ख्रीष्ट जन्मेको दिनको सम्झनामा आज यस समुदायले क्रिसमस डे मनाउँदैछन् । आजभन्दा दुई हजार २२ वर्षअघि डिसेम्बर २५ तारिखका दिन येशु ख्रीष्टको जन्म इजरायलको वेथलेहेममा भएको थियो । पवित्र आत्माबाट गर्भवती भई कुमारी मरियमबाट जन्मनुभएका येशु ख्रीष्टले तीन मुख्य खुसीयाली दिनुभएको नेपाल ख्रिष्टियन महासङ्घका अध्यक्ष सिबी गहतराजले राससलाई जानकारी दिनुभयो । उहाँले मुक्ति, प्रेम र शान्ति दिनुभएको विश्वासमा क्रिश्चियन समुदायले आजको दिनलाई तीनवटै दिवसका रूपमा मनाउने गरेका छन् । मानिसलाई प्रेम गरेर आएकाले प्रेम दिवस, शान्ति स्थापना गर्न आएकाले शान्ति दिवस र मुक्ति दिन आएकाले मुक्ति दिवसका रूपमा आजको दिनलाई मनाउने गरिएको उहाँले सुनाउनुभयो । विश्वका धेरै मानिसले मनाउने क्रिसमस डे नेपालमा भने विसं २०६३ पछि महासङ्घले महोत्सवका रूपमा मनाउन थालेको हो । दिवसका अवसरमा विसं २०६३ देखि २०७४ सम्म सार्वजनिक बिदा दिइएको थियो । यस अवसरमा विसं २०७५ देखि २०७७ सम्म भने क्रिश्चियन धर्मावलम्बीलाई मात्र बिदा दिइएको थियो । विसं २०७८ देखि यस अवसरमा फेरि सबैलाई सार्वजनिक बिदा दिन थालिएको छ । हाल नेपालमा ३० लाख क्रिश्चियन धर्मावलम्बी रहेको महासङ्घको दाबी छ । तेह्र हजारभन्दा बढी चर्च बनिसकेको पनि महासङ्घले बताउँदै आएको छ । महासङ्घ मूल समारोह समितिको आयोजनामा आज दिउँसो क्रिसमस महोत्सव २०७९ आयोजना गरिएको जनाइएको छ । कार्यक्रममा सरकारका प्रतिनिधि, मानवअधिकारवादीलगायतको उपस्थिति रहने अध्यक्ष गहतराजले बताउनुभयो । पछिल्लो समय मुख्य सहरका प्रमुख स्थलमा क्रिसमस ट्री सजाउने गरेको देखिन्छ । विशेषगरी क्रिश्चियन समुदायका विदेशी पर्यटकलाई आकर्षित गर्न साज सज्जा गरिएको छ । पर्यटकीय क्षेत्र ठमेल, बौद्ध, पोखरा, सौराहालगायत स्थलमा क्रिसमसको रमझम बढी देखिएको छ ।
काठमाडौं: सत्ता गठबन्धनको बैठक बालुवाटारमा सुरु भएको छ। प्रधानमन्त्री पदको टुंगो लगाउन गठबन्धन बैठक बसेको हो। बैठकमा पाँच दलका नेताहरू सहभागी भएको प्रधानमन्त्री शेरबहादुर देउवाका प्रेस सल्लाहकार गोविन्द परियारले जानकारी दिए। कांग्रेस सभापति देउवा र माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रधानमन्त्री पदको अडान नछोडेपछि अन्तिम टुंगो लगाउन बैठक बसेको हो। आफ्नै नेतृत्वमा सरकार गठनका लागि कांग्रेस र एमाले दुवै दलले हस्ताक्षर संकलन सुरू गरिसकेका छन्।
सुर्खेत: नेपाल पत्रकार महासङ्घले आचारसंहिताको पूर्ण पालना गरेर जिम्मेवार र मर्यादित पत्रकारिता गर्न आह्वान गरेको छ। कर्णाली प्रदेशको राजधानी सुर्खेतमा सम्पन्न केन्द्रीय साधारणसभा पछि ‘सुर्खेत घोषणा–२०७९’ जारी गर्दै महासङ्घले सञ्चारकर्मीलाई आचारसंहिताको पूर्ण पालना गर्न आह्वान गरेको हो। ‘पत्रकार आचारसंहिताको सञ्चारकर्मीलाई पूर्ण पालना गर्दै जिम्मेवार र मर्यादित पत्रकारिता गर्न सबै सञ्चारकर्मीलाई पुनः आह्वान गर्दछ’, सुर्खेत घोषणा–२०७९ मा भनिएको छ। नेपालको संविधानले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको पूर्ण प्रत्याभूति गरे पनि त्यसपछि गठित तीनै तहका सरकार तथा राजनीतिक दलले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको संवैधानिक हकलाई पूर्णतः कार्यान्वयनमा नल्याएको ठहर महासङ्घले गरेको छ। ‘यसप्रति नेपाल पत्रकार महासङ्घको केन्द्रीय साधारणसभा गम्भीर चासो र चिन्ता व्यक्त गर्दै प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामैत्री कानुन निर्माण गर्न तीनै तहका सरकारलाई पुनः आग्रह गर्दछ’, घोषणामा भनिएको छ, ‘साथै, नागरिक अधिकार, प्रेस स्वतन्त्रता र सूचनाको हक सुनिश्चित गर्न पनि माग गर्दछ।’
काठमाडौं: नेपाली कांग्रेसका सांसदहरुले नयाँ सरकार काँग्रेसकै नेतृत्वमा बन्नुपर्ने भन्दै प्रधानमन्त्रीलाई दबाब दिएका छन् । शनिवार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा भेला भएका सांसदहरुले सो दवाव दिएका हुन् । जनतासँग मत माग्न जाँदा देशको नेतृत्व कांग्रेसले नै गर्छ भनेर मत मागेको स्मरण गराउँदै जनतासँगको वाचा पूरा गर्न आगामी नेतृत्व कांग्रेसले नै गर्नुपर्नेमा जोड दिएको सांसदहरुले बताएका छन् । कांग्रेस वर्तमान अवस्थामा देशकै ठूरो राजनीतिक दल भएकाले गठबन्धनभित्र पनि कांग्रेसकै नेतृत्वमा सरकार निर्माण गर्न सुझाव दिएका हुन् । प्रधानमन्त्रीसँगको भेटपछि सञ्चारकर्मीसँग कुरा गर्दै कांग्रेस सांसद रमा पौडेलले अबको सरकार पनि कांग्रेसकै नेतृत्वमा बनाउन सझाव दिएको बताउनुुभयो । गबठन्धन देशको सुशासन, समृद्धि, स्थायित्वका लागि बनेकाले गठबन्धनमा आवद्ध दलहरुले कांग्रेस नेतृत्वमा सरकार गठन गर्नमा सहयोग गर्नुपर्ने उहाँको भनाइ छ । गठबन्धनले भोलिको लागि भागबण्डा भन्दापनि तत्कालको नेतृत्व नेपाली कांग्रेसलाई दिनुपर्ने आफूहरुले सुझाव दिएको उहाँले बताउनुभयो । सांसद पौडेलले भन्नुभयो, ‘अबको गठबन्धन १० वर्षसम्म जान्छ । यो गबठन्धन देशको सुशासन, समृद्धि, स्थायित्वका लागि हो । आज प्रधानमन्त्री एवम् पार्टी सभापति शेरबहादुर देउवालाई भेटेर हामीले त्यही सुझाव दिएका छौं ।’ प्रधानमन्त्री लिएर राष्ट्रपति पद पनि कांग्रेसले छाड्न नहुने सांसदहरुको सुझाव छ । सांसद पौडेलले भन्नुभयो, “कांग्रेसले प्रधानमन्त्री लिएर राष्ट्रपति छोड्नुपर्छ भन्ने होइन, मुख्यमन्त्री, सभामुख लगायतका पदहरु पनि छन् ।” कांग्रेसले प्रधानमन्त्री र राष्ट्रपति लिएर बाँकी पदहरु उपराष्ट्रपति, सभामुख, उपसभामुख, राष्ट्रिय सभा अध्यक्ष, उपाध्यक्ष, मुख्यमन्त्रीहरुको पदहरुमा गठबन्धनमा आवद्ध दलहरुसँग भागबण्डा हुनसक्ने उहाँले बताउनुभयो । राष्ट्रपति विद्यादेवी भण्डारीले नयाँ सरकार गठनका लागि भोलि १० गतेसम्मको समय निर्धारण गर्नुभएको छ । सत्ता गठबन्धनका शीर्ष नेताबीच सघन वार्ता भएपनि सहमति बन्न नसकिरहेको अवस्थामा कांग्रेसका सांसदहरु आज प्रधानमन्त्रीलाई भेटेर सुझाव दिन बालुवाटार पुग्नुभएको थियो ।

