काभ्रेपलाञ्चोक:   बिपी राजमार्गमा भदौ १ गतेदेखि थप १५ दिन सवारी सञ्चालनमा रोक लगाइएको छ । जोखिमका कारण गत असार ७ गतेदेखि राति सवारी सञ्चालनमा रोक लगाउँदै आइएकोमा भदौ १५ गतेसम्म १२ घण्टा रोक लगाइएको ज...

हुम्ला:  हुम्लाको सर्केगाड गाउँपालिका ३ को देवकोटा आधारभूत विद्यालय केन्द्रमा मतदान पुन:सुरु भएको छ । झडप भएपछि तनावपूर्ण बनेको उक्त केन्द्रमा मतदान सुचारु भएको हो । वारेसनामा विवादका कारण सत्ता गढबन्धनका उम्मेदवार कार्चेन लामा र स्वतन्त्र उम्मेदवार मंगलबहादुर शाहीका कार्यकर्ताबीच झडप भएको थियो । त्यसक्रममा सहायक मतदान अधिकृत प्रेम भण्डारी र नेपाली सेनाका हुद्दा अर्जुन उपरकोटी घाइते भएका थिए । उनीहरुको टाउकोमा चोट लागेको छ । स्थितिलाई नियन्त्रणमा लिन प्रहरीले १७ राउन्ड हवाई फायर गरेको थियो ।

काठमाडौं:   निर्वाचन आयोगले दिउँसो १२ः४५ बजेसम्म ३२ प्रतिशत मत खसेको जनाएको छ । आइतबार दिउँसो पत्रकार सम्मेलन गरी आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले ३२ प्रतिशत मत खसेको प्रारम्भिक अनुमान गरेको गरेको जानकारी दिए । यो पटकको निर्वाचनमा विहानको समयमा मतदान गर्नेहरुको संख्या कम देखिएको उनले बताए । ‘चिसोका कारणले पनि होला विहान कम मत खसेको छ, काठमाडौंमा विहानको समयमा लाइन देखिएको छैन, १०र११ बजेपछि मात्र भिड बढेको छ’ प्रवक्ता पौडेलले भने ।

मनाङ:   प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनका लागि जारी मतदानमा मनाङमा दिउँसो १२:३० बजेसम्म ५१ प्रतिशत मत खसेको छ ।  जिल्ला निर्वाचन अधिकारी पुष्पराज शर्माका अनुसार दिउँसो १२:३० बजेसम्म यहाँ ५१ प्रतिशत मतदान भएको हो ।  कुल २९ वटा मतदान केन्द्र रहेको मनाङमा एक प्रतिनिधिसभा र दुई प्रदेशसभा निर्वाचन क्षेत्र छन् । यहाँ कुल छ हजार सात सय ७९ मतदाता छन् ।

काठमाडौं:  नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सूर्यविनायक नगरपालिकाको बालकोटमा मतदान गरेका छन् । उनले बालकोटस्थित महेन्द्र शान्ति विद्यालयको केन्द्रमा पुगेर मतदान गरेका हुन् । ओली झापा ५ बाट प्रतिनिधि सभाका उम्मेदवार हुन् । चुनाव प्रचारका लागि झापामा रहेका ओली मतदानका लागि बालकोट आएका हुन् । उनी बालकोटमा नै स्थायी रुपमा बस्दै आएका छन् ।

काठमाडौं:    निर्वाचन आयोगले सामान्य विवादकै आधारमा मतदान स्थगित नगर्न मतदान अधिकृतहरुलाई निर्देशन दिएको छ । कतिपय जिल्लामा राजनीतिक दल, उम्मेदवार वा निर्वाचन बहिस्कार गर्ने पक्षका कारण मतदान स्थगित भइरहेको छ । तर आयोगले स्थगित भएको मतदान कार्य तत्काल सुरु गर्न र साँझ ५ गतेसम्म स्थगित भएको सूचना नटाँस्न निर्देशन दिएको आयोगले बताएको छ । आयोगले फेसबुकमा लेखेको छ, ‘‘साँझ ५ बजेसम्म स्थगित भएको सूचना टाँस नगर्न निर्वाचन आयोगले सबै मतदान अधिकृतहरूलाई निर्देशन दिएको छ । स्थगित गर्नैपर्ने भए निर्वाचन आयोगको पूर्वसहमति लिनुपर्नेछ ।’

तनहुँ:    प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचन अन्तर्गत तनहुँमा ११३ वर्षीया जेष्ठ नागरिकले मतदान गर्नुभएको छ। जिल्लाको भानु नगरपालिका ५ की गोपीमाया पोख्रेलले सोही वडाको सेपाबगैंचास्थित महादेवता प्राथमिक विद्यालय मतदान केन्द्रबाट मतदान गर्नुभएको हो । तनहुँका ३०५ वटै मतदान केन्द्रमा आइतबार बिहानदेखि मतदान सुरु भएको छ । तनहुँमा एक लाख १९ हजार ६५० जना पुरुष र एक लाख २८ हजार ८४५ जना महिला गरी कुल २ लाख ४८ हजार ४९५ मतदाता कायम भएका छन् ।  तनहुँमा प्रतिनिधि सभाका दुई र प्रदेश सभाका चार सिटका लागि निर्वाचनमा गठबन्धन र एमालेसहित ५७ जना उम्मेदवार चुनावी प्रतिस्पर्धामा छन् । जिल्लाभर स्थायी मतदान केन्द्रको सङ्ख्या भने ३०५ छ । जिल्लामा मतदानस्थल १४२ वटा छन् ।

काठमाडौं: अभिनेत्री करिश्मा मानन्धरले महाराजगञ्जस्थित काठमाडौं महानगरपालिका ३ को वडा कार्यालयमा रहेको केन्द्रबाट मतदान गरेकी छन् । उनले पति विनोद मानन्धरसँगै गएर प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनमा मतदान गरिन् । मतदानपछि  करिश्माले कलाकारले सक्रिय राजनीति गर्न आवश्यक रहेको बताइन् । ‘कलाकार पनि राजनीतिमा आउने लहर आएको छ, यो चुनावमा त्यो संकेत देखिएको छ । रेखा थापालगायत अरु उम्मेदवारहरुले यसपालि जित्नुपर्छ,’ उनले भनिन् । नेकपा एमालेमा आबद्ध रहेकी करिश्माले अर्को चुनावमा उम्मेदवार बन्ने इच्छा समेत व्यक्त गरिन् ।

रौतहट: रौतहटको दुई स्थानमा गोली चलेको छ । जिल्लाको गुजरा नगरपालिकामा स्थित मावी कनकपुरमा एक राउण्ड र गरुडा नगरपालिका स्थित प्रावि भवन अमरपटी बुथमा एक–एक राउण्ड हवाई फायर भएको जिल्ला प्रहरी कार्यालय रौतहटका प्रवक्ता एवं डीएसपी सुनिल मल्लले जानकारी दिएका छन् ।  जिल्लामा शान्ति पूर्ण अवस्था नरहेको  प्रहरी प्रवक्ता मल्लले बताएका छन् । रौतहटको क्षेत्र नं–३ मा पर्ने कनकपुर मावीमा बुथ मित्र झडप हुन थालेपछि अवस्था नियन्त्रणमा लिन प्रहरीले हवाई फायर गरेको प्रहरीले जनाएका छन् ।  यता रौतहट क्षेत्र नं–४ मा पर्ने गरुडा नगरपालिका स्थित प्रावि भवन अमर पटी बुथमा मतदान केन्द्र भित्र पोलि एजेन्ट राख्ने बिषयमा वादबववाद हुन थालेपछी प्रहरीले अवस्थगा नियन्त्रणमा लिन प्रहरीले हवाई फायर गरेको बुझिएको छ ।

काठमाडौं: अभिनेता राजेश हमालले काठमाडौंको लैनचौरस्थित जननाथ स्मृति मावि केन्द्रबाट मतदान गरेका छन् । मतदानपछि उनले अब आफू सक्रिय राजनीतिमा लाग्ने आशय व्यक्त गरे । अबको पाँच वर्षमा आफू पनि उम्मेदवारको रुपमा प्रस्तुत हुने उनले बताए । ‘अबको पाँच वर्षमा मलाई पनि उम्मेदवारको रुपमा देख्नुहुनेछ,’ उनले भने । हमालले यो चुनावले राजनीतिमा ठूलो परिवर्तन आउने संकेत समेत गरेको बताए ।