काठमाडौं: गृहसचिव विनोदप्रकाश सिंहले हालसम्म देशभर ४६ प्रतिशतसम्म मतदान सम्पन्न भएको बताउनुभएको छ । आइतबार दिउँसो काठमाडौं उपत्यकाका (काठमाडौं, भक्तपुर, ललितपुर) का विभिन्न मतदान स्थलको अवलोकन गर्दै उहाँले देशभर ४६ प्रतिशतसम्म मतदान सम्पन्न भएको जानकारी पाएको बताउनुभएको हो । उहाँले अहिलेसम्म शान्तिपूर्ण र व्यवस्थित रुपमा मतदान भइरहेको पाएको बताउनुभयो । गृहसचिवले मतदान कार्य रोकिएका ठाउँमा पनि मतदान पुनः सुरु गराउन पहल गरिरहेको र कतिपय स्थानमा पुनः सुचारु भइसकेको जानकारी दिनुभयो । गृहसचिव सिंहले निर्वाचन सामग्री, निर्वाचन कर्मचारी, मतदाताहरु र उम्मेदवारलाई कुनै पनि किसिमको भौतिक क्षति अहिलेसम्म नपुगेको बताउनुभयो । उहाँले मतपेटिका ढुवानीका लागि आवश्यकता अनुसारका सवारीसाधन तैनाथ राखिएको पनि जानकारी दिनुभयो । उहाँले भन्नुभयो, ‘‘शान्तिपूर्ण र व्यवस्थित रुपमा मतदान भइरहेको हामीले पाइरहेका छौँ । मतदान कार्य रोकिएका ठाउँमा पनि मतदान पुनः सुरु गराउन हामीले व्यवस्था गरिरहेका छौँ । निर्वाचन सामग्री, निर्वाचन कर्मचारी र मतदाताहरु र उम्मेदवारलाई कुनै पनि किसिमको भौतिक हानि पुगेको छैन । हामीले सुरक्षा व्यवस्था कडा बनाएका छौँ । ४६ प्रतिशतसम्म मतदान भएको भन्ने जानकारी आएको छ । मतपेटिका ढुवानीका लागि आवश्यकता अनुसारका सवारीसाधन तैनाथ राखिएको छ ।’’ सचिव सिंहसहितको प्रमुख सुरक्षा अधिकारीहरुको टोलीले काठमाडौं, भक्तपुर र ललितपुरका विभिन्न मतदान केन्द्रहरुको स्थलगत अवलोकन गर्नुभएको छ । निरीक्षणका क्रममा मतदान स्थलमा मतदाताहरुले उत्साहित तवरबाट मतदान गरिरहेको पाएको बताउनुभयो ।
दार्चुला: दार्चुलामा चुनाव बिथोल्न खोजेको आरोपमा विप्लव समूहका दुई जना कार्यकर्ता पक्राउ परेका छन् । पक्राउ पर्नेमा विप्लव निकट विद्यार्थी संगठन दार्चुलाका अध्यक्ष जीवन विष्ट र सुरेन्द्र विष्ट रहेका छन् । लेकम गाउँपालिका १ स्थित समली मतदान केन्द्रबाट उनीहरुलाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।
बाजुरा: बाजुराको स्वामिकार्तिक खापर गाउँपालिका १ को भगवती आधारभुत विद्यालय मतदान केन्द्रको मतपेटिकामा आगजनी भएको छ । क केन्द्रमा रहेको प्रदेश सभा समानुपातिकतर्फको मतपेटिकामा आगजनी भएको प्रहरीले जनाएको छ । कसले आगो लगायो भन्ने जानकारी आउन सकेको छैन । मतपेटिका नै जलेपछि अहिले मतदान कार्य रोकिएको प्रहरीले जनाएको छ । कुल ८४० मतदाता रहेको उक्त मतदान केन्द्रमा ५२८ मत खसेको थियो ।
इलाम: यसपटकको निर्वाचनमा इलाममा ११५ वर्षीय ज्येष्ठ नागरिकले मतदान गरेका छन् । फाकफोकथुम गाउँपालिका वडा नम्बर ७ का ११५ वर्षीय वृद्ध मनबहादुर राईले मतदान गरेको हो । राईले स्थानीय सिंहदेवी मावि सिकारी भन्ज्याङको मतदान केन्द्रबाट मतदान गरेको जिल्ला प्रहरी कार्यालय इलामले जनाएको छ । राई वि.सं १९६४ मा साबिक एकतप्पा गाविस– ५ मा जन्मेको उहाँको नागरिकतामा उल्लेख छ ।
चरिकोट: दोलखाको जफेस्थित कालपानी मावि मतदान केन्द्रमा झडपपछि मतदान रोकिएको छ । एकै पटकमा धेरै मतदाता होहल्ला गर्दै मतदान केन्द्र भित्र प्रवेश गर्न थालेपछि विवाद भएको थियो । त्यसक्रममा स्थितिलाई नियन्त्रणमा लिन सुरक्षाकर्मीले ७ राउण्ड हवाई फायर गरेको छ । अहिले मतदान रोकिएको प्रहरीले जनाएको छ ।
रामेछाप: रामेछापको रामेछाप नगरपालिका वडा नं ८ डुम्रिखर्क भन्ने ठाउँमा २ युवकमाथि कुटपिट भएको छ । मतदान गरेर मोटरसाइकलमा घर फर्किदै गरेका वर्ष २१ का गोविन्द सुवेदी र वर्ष ४१ का देवीलाल सुवेदीमाथि कुटपिट भएको हो । सल्ले गाउँका ४ जना जनाको समूहले उनीहरुमाथि कुटपिट गरेको वडा नं ८ का निवर्तमान वडाअध्यक्ष केदार कार्कीले जानकारी दिनुभयो । घाइतेहरुको खुट्टा र टाउकोमा गहिरो चोट लागेको छ । उनीहरुको जिल्ला अस्पताल रामेछाप उपचार भइरहेको छ । घाइतेहरुको अवस्था गम्भीर रहेका कारण उनीहरुलाई काठमाडौं रेफर गर्ने तयारी भइरहेको छ । घटना के कारणले भएको हो भन्नेबारे अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय रामेछापका प्रमुख राजकुमार थिङले बताए । घटनामा संलग्न भएको आरोपमा एक युवकलाई पक्राउ गरिएको र बाँकी ३ युवक फरार रहेको र उनीहरुको पनि खोजी भइरहेको प्रहरीले जनाएको छ ।
काठमाडौं: प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्य निर्वाचनमा अनुमती नलिई आज चलाइएका एक हजार ३४९ वटा मोटरसाइकललाई नियन्त्रणमा लिइएको ट्राफिक प्रहरीले जनाएको छ । ट्राफिक प्रहरी प्रवक्ता राजेन्द्रप्रसाद भट्टका अनुसार, एक हजार ३४९ वटा मोटरसाइकल र ८७ वटा चार पाङ्ग्रे सवारीलाई नियन्त्रणमा लिइएको छ
झापा: राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देनले मध्याह्नसम्म मतदाताको सहभागिता उत्साहपूर्ण नरहेको बताएका छन् । झापाको हल्दिबारी गाउँपालिका(१ को वडा कार्यालयमा मतदान गरेपछि उनले मतदाताको उत्साहपूर्ण सहभागीता नरहेको बताएका हुन् । अध्यक्ष लिङ्देनले भने, ‘१२ बजेसम्म मतदानको माहोल उत्साहपूर्ण छैन । अब बढ्दै जान्छ भन्ने अनुमान हो ।’ उनले नेपाली कांग्रेसका पूर्वमहानमन्त्री कृष्णप्रसाद सिटौलासँग चुनावमा प्रतिस्पर्धा गर्न पाउनु आफ्नो लागि ठूलो कुरा भएकोसमेत बताए । २०७४ को निर्वाचनमा झापा क्षेत्र नम्बर ३ मा सिटौलालाई हराएका लिङ्देन यसपटक पनि सिटौलासाग प्रतिस्पर्धामा छन् । दलका नेताहरुसँग असन्तुष्ट भएर धेरैजना स्वतन्त्र उम्मेदवार बनेको बताउँदै अध्यक्ष लिङ्देनले यस्तो हुनुको कारणबारे समीक्षा गर्ने बताए ।
गोरखा: नेपाल समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराईले मतदान गरेका छन् । पालुङटार नगरपालिका.१ खोप्लाङ स्थित अन्नपूर्ण माविको मतदान केन्द्रबाट उनले मतदान गरेका हुन् । मतदानका लागि आजै गोरखा आएका भट्टराईले बिहान ११ बजेर ५ मिनेटमा मतदान गरेका हुन् ।