कैलाली: कैलाली ३ को प्रदेश सभातर्फका दुवै सिट नागरिक उन्मुक्ति पार्टीले जितेको छ। प्रतिनिधिसभा सदस्यमा सो पार्टीका गंगाराम चौधरी, प्रदेशसभा १ मा घनश्याम चौधरी र प्रदेशसभा २ मा खुसीराम चौधरीले जितेका हुन्। बुधबार सम्पन्न मत गणनामा प्रदेश १ तर्फ घनश्याम चौधरीले १३ हजार ९ सय २३ मत ल्याए भने उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका उम्मेदवार खेमराज डगौथारुले ११ हजार ५ सय ७२ मत ल्याएका हुन्। प्रदेशसभा २ मा विजयी खुसीराम चौधरीले ७ हजार ५ सय ३९ मत ल्याउँदा निकटम प्रतिद्वन्द्वी नेकपा एकीकृत समाजवादीका अमर साउदले ६ हजार ६ सय १९ मत ल्याए। क्षेत्र नम्बर ३ मा प्रतिनिधि सभातर्फ मंगलबार नै नागरिक उन्मुक्ति पार्टीका गंगाराम चौधरीले २३ हजार १ सय २० मत ल्याएर विजयी भएका छन्। निकटतम् प्रतिद्वन्द्वी माओवादीका कृष्णकुमार चौधरीले १७ हजार ७ सय ४९ मत पाए।
हुम्ला: हिमाली जिल्ला हुम्लामा निर्वाचन सकिएको चार दिनपछि मतपेटिका सदरमुकाम ल्याइएको छ । सर्केगाड गाउँपालिकाको केन्द्रमा थन्किएको १३४ मतपेटिका आज नेपाली सेनाको हेलिकप्टरबाट सदमुकाम सिमकोट पुर्याइएको हो । प्रदेश १ का ३४ वटा मतदान केन्द्रको मतपेटिका हेलिकप्टरबाट सदमरमुकाम सिमकोट ल्याइपुर्याएको जिल्ला निर्वाचन कार्यालय हुम्लाका निमित्त निर्वाचन अधिकारी श्यामबहादुर रानाले जानकारी दिए । सबै केन्द्रका मतपेटिका संकलन भइसकेकोले आजै दिउँसो सर्वदलीय बैठक बस्ने तयारी गरिएको छ ।
गोरखा: गोरखाका चारवटै प्रदेश सभा निर्वाचन क्षेत्रमा गठबन्धन उम्मेद्वार विजयी भएका छन् । गोरखा १ (क) मा माओवादीका कृष्ण धिताल, १ (ख) मा कांग्रेसका नन्दप्रसाद न्यौपाने, २ (क) मा नेपाल समाजवादी पार्टीका फणिन्द्र देवकोटा तथा २ (ख) मा कांग्रेसका सुरेन्द्रराज पाण्डे विजयी भए । गोरखा १ (क) मा धितालले एमालेका सुरेन्द्र थापालाई हराएका हुन् । धितालले १४२७६ मत ल्याउँदा निकटतम प्रतिस्पर्धी थापाले ८८०२ मत पाएका छन् । १ (ख) मा न्यौपानेले एमालेका मोहन भट्टराईलाई हराए । न्यौपानेले १६२६५ मत पाउँदा भट्टराईले ७५३३ मत पाए । गोरखा २ (क) मा माओवादीको चुनाव चिन्हबाट लडेका देवकोटाले एमालेका राजु रानालाई पराजित गरे । देवकोटाको १०२४७ मत आउँदा रानाले ४२०४ मत पाए । (ख) मा कांग्रेसका पाण्डे अत्यधिक मतले विजयी भएका छन् । उनले एमालेका बसन्त गुरुङलाई हराएका हुन् । पाण्डेको १५२२९ मत आउँदा गुरुङले ४५२९ मत मात्रै पाए ।
सप्तरी: सप्तरी क्षेत्र नं २ मा जनमत पार्टीका अध्यक्ष चन्द्रकान्त (सीके) राउतको जित सुनिश्चित भएको छ । गन्न बाँकी मतभन्दा बढी उनको मतान्तर भएकाले उनको जित निश्चित भएको हो । सप्तरी क्षेत्र नं १ मा जनमत पार्टीका राउत र एमालेको समर्थनमा जसपा अध्यक्ष उपेन्द्र यादव प्रतिस्पर्धामा थिए । राउत यादवभन्दा दोब्बर बढी मतले अगाडि छन् । गणना जारी रहँदा राउतले ३१ हजार ९६३ मत पाएका छन्, जबकि उपेन्द्रको मत १५ हजार ५८६ छ । यो समाचार तयार पार्दासम्म यादव १६ हजार ३७७ मत अन्तरले पछि परेका छन् । नेपाली कांग्रेसका जयप्रकाश ठाकुरको मत ६ हजार ३६२ छ । अब गन्न बाँकी मत करिब ६ हजार छ । त्यो सबै मत प्रतिस्पर्धीले पाए पनि सीके राउतको जित निश्चित छ ।
सिन्धुली: सिन्धुली निर्वाचन क्षेत्र नं २ मा सत्ता गठबन्धनतर्फबाट नेकपा (माओवादी केन्द्र) का उम्मेदवार लेखनाथ दाहाल (राजन) प्रतिनिधिसभा सदस्यमा विजयी हुनुभएको छ । उहाँ पाँच हजार आठ सय ३० मतान्तरले विजयी हुनुभएको हो । दाहालले २७ हजार पाँच सय १७ मत प्राप्त गर्नुभएको मुख्य निर्वाचन अधिकृत उपेन्द्रप्रसाद गौतमले जानकारी दिनुभयो । दाहालका प्रतिद्वन्द्वी एमालेका उम्मेदवार मनोजजङ्ग थापाले २१ हजार छ सय ८७ मत प्राप्त गर्नुभएको छ । यसैगरी राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार अनोजकुमार दाहाल तेस्रो हुनुभएको छ । उहाँले एक हजार पाँच सय ५३ मत प्राप्त गर्नुभएको छ । राप्रपाका भीष्मराज श्रेष्ठ एक हजार तीन सय ४० मत प्राप्त गरेर चौथो हुनुभएको छ ।
डोल्पा: मङ्सिर ४ गते सम्पन्न प्रतिनिधि तथा प्रदेशसभाको निर्वाचनको लागि माथिल्लो डोल्पामा खटिएका कर्मचारी फर्कने साधन नहुदा रोकिएका छन् । उनीहरुको उद्धार गर्न मुख्य निर्वाचन अधिकृतको कार्यालय डोल्पाले निर्वाचन आयोगलाई आग्रह गरेको छ । माथिल्लो डोल्पामा पर्ने शे–फोक्सुण्डो, छार्काताङ्साङ र डोल्पोबुद्धका २२ मतदान केन्द्रमध्ये १२ मतदान केन्द्रका कर्मचारीलाई हेलिकप्टरबाट उद्धार गर्नुपर्ने अवस्था रहेकाले डोल्पाका मुख्य निर्वाचन अधिकृत बाबुराम सुवेदीले जानकारी दिनुभयो । उहाँका अनुसार मङ्सिर ४ गतेको निर्वाचनका लागि उनीहरुलाई हेलिकप्टरमै ती मतदान केन्द्रमा पुर्याइएको थियो । “गएको आइतबार सम्पन्न निर्वाचनका लागि डोल्पामा पाँच सय ११ कर्मचारी खटिएका थिए,” उहाँले भन्नुभयो, “२२ केन्द्रमा खटिएकामध्ये तल्लो क्षेत्रका केही कर्मचारी फर्किए पनि १२ मतदान केन्द्रमा खटिएका एक सय ३५ कर्मचारी थुनिएका छन् ।” आज बिहान हेलिकप्टरले तीन मतदान केन्द्रको मतपेटिकासहित १० कर्मचारीको उद्धार गरेको मुख्य निर्वाचन अधिकृत सुवेदीले बताउनुभयो । उक्त क्षेत्रमा हिउँ परेकोले चिसो पनि बढ्दै जादा केही कर्मचारी बिरामी भएको खबर आएकोले उनीहरुको छिटो उद्धार गर्नुपर्ने उहाँको भनाइ छ । कर्मचारीको जीवन सुरक्षा गर्नु सरकारको प्रमुख दायित्व भएको भन्दै उहाँले प्रमुख निर्वाचन आयुक्तलाई जतिसक्दो चाँडो उद्धार गर्न आग्रह गरेको बताउनुभयो । उहाँका अनुसार माथिल्लो डोल्पाबाट कर्मचारी आउन नसके मतगणनामा समेत जनशक्तिको अभाव हुनेछ । माथिल्लो डोल्पामा पर्ने शे–फोक्सुण्डो गाउँपालिका– १ कोवासस्थित शहीद दशरथचन्द आधारभूत विद्यालयमा रहेको मतदान केन्द्रमा खटिएका कर्मचारी कमल बोहोराले चिसोका कारण पाँच कर्मचारी बिरामी परेको राससलाई जानकारी दिनुभयो । कर्मचारीलाई चिसोका साथै खान र बस्न पनि समस्याका भएको छ,” उहाँले भन्नुभयो, “समयमै सदरमुकाम दुनै नझारिए धेरै कर्मचारी बिरामी हुने खतरा बढेको छ ।” उनीहरुलाई टाउको दुख्ने, वाक्वाकी लाग्ने र सास फेर्न गाह्रो भएको बोहोराले जनाउनुभयो । उहाँका अनुसार चुनावका लागि खटिएका दुई महिलासहित ४३ कर्मचारी, ४४ प्रहरी र ४८ जना म्यादी प्रहरी मङ्सिर १ गतेदेखि चिसोका कारण रोकिएका छन् । डोल्पाका प्रमुख जिल्ला अधिकारी वेदनिधि अधिकारीले आज बिहान डोल्पाका बाँकी मतपेटिका र १० जना कर्मचारीलाई हेलिकप्टरबाट ल्याइएपछि बाँकी कर्मचारी ल्याउने तयारी भएका तर, हुम्ला प्रदेश सभा २ मा एक सय ३६ मतपेटिका ढुवानीका लागि गएकोले अलपत्र कर्मचारीको उद्धार हुन नसकेको बताउनुभयो । त्यसको लागि पहल भइरहेको पनि उहाँले बताउनुभयो ।
सर्लाही: सर्लाही निर्वाचन क्षेत्र नं १ को प्रतिनिधि सभा र प्रदेश सभाको दुवै तर्फ गठबन्धनका उम्मेदवाको अग्रता रहेको छ । वामलोकतान्त्रिक गठबन्धनको तर्फबाट लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) नेपालका प्रतिनिधि सभा सदस्यका उम्मेदवार रामप्रकाश चौधरी नौ हजार तीन सय ८३ मतका साथ अग्रस्थानमा रहनुभएको जिल्ला निर्वाचन कार्यालय निर्वाचन अधिकारी निर्मल पोखरेलले जानकारी दिनुभयो । उहाँका प्रतिस्पर्धी स्वतन्त्र उम्मेदवार मानबहादुर खड्का आठ हजार एक सय ७२ मतका साथ दोस्रो स्थानमा रहनुभएका छन् । यता सर्लाही निर्वाचन क्षेत्र नं १ (१) मा प्रदेशसभा तर्फ वामलोकतान्त्रिक गठबन्धनका तर्फबाट लोसपाका उम्मेदवार उपेन्द्र महतो अग्रस्थानमा रहनुभएको छ । त्यस्तै सर्लाही निर्वाचन क्षेत्र नं १ (२)मा प्रदेशसभा तर्फ गठबन्धनका तर्फबाट नेकपा एसका उम्मेदवार बेचि लुङ्गेलीको जीत नजिक पुग्नु भएको छ ।
काठमाडौँ: अहिले प्रतिनिधिसभा तथा प्रदेशसभाको निर्वाचनको मत परिणाम आइरहेको छ । मत परिणामलाई लिएर विभिन्न टिप्पणी र अनुमानहरु गर्न थालिएको छ । यो निर्वाचनमा नागरिकको नैराश्यता मतपेटिकामा प्रस्तुत हुने अनुमान निर्वाचनपूर्व नै धेरैले गरेका थिए । यही अपेक्षालाई आधार मानेर केही नयाँ पार्टीहरु पनि जन्मिए भने स्वतन्त्र रुपमा पनि थुप्रै उम्मेदवारहरुले प्रतिस्पर्धा गरे । परिणामले मतदानपूर्व गरिएको अनुमानलाई केही हदसम्म सत्य साबित गरिदिएको छ । निर्वाचनलाई वैधानिक ढङ्गबाट परिवर्तन गर्ने एउटा माध्यमका रुपमा पनि लिइन्छ । परिवर्तनको अपेक्षा गर्नु मानवीय गुण नै हो । हरेक निर्वाचन होस् वा क्रान्तिहरुले सधैँ परिवर्तनको अपेक्षा गरेका हुन्छन् र त्यस्तो अपेक्षा गर्न नागरिकलाई प्रेरित पनि गरिरहेका हुन्छन् । सधैँ परिवर्तनको अपेक्षा गरिरहेका नागरिकले निर्वाचनका समयमा यस्तो अपेक्षा गर्नुलाई स्वाभाविक रुपमा ग्रहण गर्नु पनि पर्दछ । परिवर्तनका लागि हिंसा वा हडतालको बाटो पकड्नुभन्दा मतपेटिकाको उपयोग गर्ने चेतनाको विकास हुनु आफैँमा सकारात्मक कुरा हो । नेपाली समाज अब मतपेटिकामार्फत नै क्रान्ति हुन्छ भनेर विश्वास गर्ने तहमा पुगेको छ भनेर विश्लेषण गर्ने आधार पनि यो चुनावले दिएको छ । युवाहरु टायर बाल्ने र सडक बन्द गर्ने अभ्यासलाई अस्वीकार गर्दै लोकतान्त्रिक विधिबाट परिवर्तनको पक्षमा उभिनुपर्छ भन्ने मान्यता राख्दछन् भन्ने सन्देश यो चुनावमार्फत प्रकट र स्थापितसमेत भएको छ । यो चुनावले दिएका यी कुराहरु अत्यन्तै सकारात्मक पक्ष हुन् । लोकतन्त्रको सबलताका लागि पनि यी पक्षहरुले योगदान दिनेछन् । त्यति मात्रै हैन, निरन्तर लोकतान्त्रिक अभ्यास हुँदै गर्दा कैयौँ यस्ता नागरिक भावनाहरुलाई सम्बोधन गर्न सक्छ भन्ने कुरा पनि स्थापित भएको छ । निरन्तरको निर्वाचनलाई अपेक्षाअनुसारको परिवर्तनका रुपमा उपयोग गर्न सकिन्छ नै । यति मात्रै होइन, यो चुनावले अन्य महत्वपूर्ण सन्देशहरु पनि दिएको छ । परम्परागत शक्तिलाई आफ्नो कार्यशैली परिवर्तन गर्न चेतावनी नै दिएको छ । उम्मेदवार छनोटको निश्चित विधि बनाउन बाध्य हुन सिकाएको छ । राजनीतिमा दलाल वर्गको उपस्थितिलाई निरुत्साहित गर्न चुनौती दिएको छ । पैसा र बलको राजनीतिक अभ्यासलाई अस्वीकार गर्न अपिल गरेको छ । इतिहासको मात्र होइन, सम्भावना र योग्यताको कदर गर्ने कुरालाई प्राथमिकतामा राख्न भनेको छ । समग्रमा सुशासनको छाताभित्र बसेर राजनीतिक कर्म गर भन्ने आक्रामक अभिव्यक्ति पनि दिएको छ । यो चुनावमार्फत मतपत्रहरुमा व्यक्त भाव भनेकै सुशासनतर्फ प्रतिबद्ध बन भन्ने नै हो । सुशासनको अवस्थामा सुधार आउन नसकेकै कारण राजनीतिप्रति नागरिकको नैराश्यता र उदासीनता चुलिँदै गएको हो । खासगरी सहरी क्षेत्रहरुमा मतदाताले त्यो भावना अभिव्यक्त पनि गरेका छन् । चुनावमा मत प्रतिशत कम हुनु, मतदानका क्रममा उत्साह पनि खासै नदेखिनु पनि नैराश्यता प्रदर्शनकै एउटा तरिका थियो । दललाई मत हाल्ने समानुपातिक निर्वाचनको मतपत्रमा समेत फरक चुनाव चिन्न खोज्नेको सङ्ख्या ठूलो देखियो । यो पनि परम्परागत शक्तिहरुसँगको एउटा विद्रोह हो । राजनीतिमा नागरिकहरु अझ त्यसमा पनि युवाको चासो बढेन, अग्रसरता देखिएन र आवश्यक परेमा हस्तक्षेपकारी भूमिकामा उभिन सकेनन् भने त्यो राजनीति एउटा निश्चित वर्गमा सीमित हुन्छ र वैयक्तिक वा समूहगत स्वार्थ पूर्तिको माध्यम मात्र बन्छ । यो अवस्थामा लोकतान्त्रिक शक्तिहरु पनि क्रमशः कुलीनतन्त्रको अभ्यासमा अभ्यस्त हुँदै जान्छन् । नेपाली राजनीतिमा देखिएको एउटा खतरा यो पनि थियो । युवाको हुँकारसहितको चासो र उपस्थितिले त्यस्तो अभ्यास गर्नबाट रोक्न सक्छ । यो चुनावमा युवाहरुको हुँकार पनि सही सुनिएको छ । अब संसद्मा र नीति निर्माणका अन्य संरचनाहरुमा पनि ठूलो स्वरमा त्यो हुँकार सुनाउन सक्ने ‘ग्राउन्ड’ यो निर्वाचनले तय गरिदिएको छ । नाता, परिवारमा सीमित, सम्पत्तिलाई नै लक्ष्य ठान्ने, विलासी शैली अपनाउने, शक्तिको दुरुपयोग गर्ने जस्ता विसङ्गतिको भीडबाट एक छिन पर उभिएर राजनीतिक रणनीति बनाउनका लागि प्रेरणाका रुपमा पनि चुनावलाई ग्रहण गर्न सक्नुपर्दछ । मतपत्रमा परेको स्वस्तिक छापको गन्ध बुझेर नयाँ पदचाप तय गर्ने दिशामा नेपाली राजनीतिलाई लैजाने क्षमता जसले देखाउँछ, उसँग मात्र नागरिकको अपेक्षा रहने निश्चित छ । शक्तिको दुरुपयोग गर्दै निश्चित वर्गको स्वार्थका लागि राजनीतिलाई बन्धक बनाउनेहरुको हातमा अब राजनीति रहन सक्दैन । निर्वाचनले संसद् त बनाउँछ नै । त्यो संसद्लाई कसरी गतिशील बनाउने भन्ने सन्देश पनि दिन्छ । यसपालिको निर्वाचनले संसद्लाई कसरी गतिशील बनाउने भन्ने सन्देशसमेत दिएको छ । त्यो आवाज संसद्का सबै सदस्यले सुन्ने क्षमता राख्छन् कि राख्दैनन् भन्ने दोस्रो कुरा हो, तर त्यसलाई नबुझ्न् वा नजरअन्दाज गर्नेहरु राजनीतिक खेलमा क्रमशः अस्वीकृत हुँदै जाने चाहिँ निश्चित छ । पाँच महिनाअघि जन्मेको पार्टीको जबर्जस्त उपस्थितिलाई व्यक्तिको उपस्थिति र उपस्थित व्यक्तिको सङ्ख्याका रुपमा मात्र व्याख्या गरिनु हुँदैन । निर्वाचनपछिको नेतृत्वले नागरिकमा उत्साह भर्ने र हाम्रै पालामा परिवर्तन सम्भव छ भन्ने सन्देश दिने ढङ्गले काम गर्नुपर्ने चुनौती बहन गर्नुपर्ने छ । यो चुनौतीको सम्बोधन गर्ने क्षमताको अपेक्षा अब आम नागरिकको पहिलो पर्खाइ हो । राजनीतिशास्त्रीहरुले राजनीतिलाई ‘कला पनि हो र विज्ञान पनि हो’ भनेर परिभाषित गरेका छन् । विज्ञानले परिणाम दिन्छ र कलाले परिणाम दिनका लागि काम गर्दछ । राजनीतिलाई कला पनि र विज्ञान पनि मान्ने हो भने राजनीतिमा सही कर्म गर्दै त्यस कर्मबाट सिङ्गो समाजलाई लाभान्वित गर्ने गरी राजनीतिकर्मीले काम गर्नुपर्ने हुन्छ । यसरी काम हुन नसक्दा नै नागरिक तहमा नैराश्यता थपिएको हो । एउटा प्रक्रियाको निरन्तरताका रुपमा मात्र राजनीतिक गतिविधिहरुलाई सीमित गर्दा राजनीतिसँग नागरिकको चासो छुट्दै गएको अवस्था हो । सिर्जनात्मक रुपमा आफ्नो ‘कला पक्ष’लाई सबल बनाउँदै परिणाम दिनका लागि आफूलाई प्रतिबद्ध बनाउने हो भने मात्र त्यस्तो राजनीतिक अभ्याससँग नागरिकको चासो बढ्दै जान्छ । शक्तिको प्रयोग, शक्ति सन्तुलन र बाध्यकारी निर्णयहरुमा राजनीतिक कर्मलाई सीमित गर्दा नागरिकका दैनन्य आकाङ्क्षाको पूर्ति र समस्याहरुको सम्बोधन सही ढङ्गले हुन सक्दैनन् । नागरिकका समस्या र चाहनालाई कसरी राजनीतिकर्मीहरुले लिन्छन् र सम्बोधन गर्छन् भन्ने कुरा महत्वपूर्ण हुन्छ । नेपालको लोकतान्त्रिक अभ्यासका क्रममा राजनीतिशास्त्रीले भनेको झैँ कला पक्ष र विज्ञान पक्षलाई सन्तुलित गर्न नसक्दा यस्ता तमाम समस्याहरु उब्जिएको मान्न सकिन्छ । स्थापित र परम्परागत शक्तिहरुका कतिपय व्यवहारले गर्दा नागरिकहरुमा हुर्किएको तीतो यथार्थ हाम्रासामु छ । पुस्ता हस्तान्तरणमा उदासीन, समकालीन समस्याहरुको पहिचानमा असक्षमता प्रदर्शन, आधुनिक विश्वसँग नेपाली समाजलाई जोड्ने प्रस्ट दृष्टिकोणको अभाव, बेरोजगारी समस्या सम्बोधनलाई प्राथमिकतामा नराखिनु, विचौलियाको बोलबाला बढ्दै जानु, अपारदर्शी सम्पत्ति कमाउने प्रवृत्तिको विकास, भ्रष्टाचार बिना कामै नहुने परिस्थिति बलियो बन्दै जानु, राज्यका संरचनाहरुप्रति नागरिकको विश्वास उड्दै जानु अहिलेका मुख्य प्रवृत्ति र चुनौती हुन् । यी प्रवृत्तिहरुबाट समाजले मुक्ति खोजिरहेको छ । ‘नो नट अगेन’ जस्ता अभियानहरु, पुस्ता हस्तान्तरणका लागि दिइएका दबाबहरु उल्लिखित प्रवृत्तिबाट मुक्तिका लागि नै चलेका हुन् । उनै पात्र, उनै सोचले नागरिकमा पुनर्ताजगी हुन सक्दैन । समानुपातिकतर्फका अधिकांश उम्मेदवारहरुको अनुहार हेरेर पनि नागरिकहरुले समानुपातिकतर्फको मतपत्रमा समेत फरक चिह्न खोजेकोसमेत पाइयो । यसले पात्र र प्रवृत्तिमा समेत परिवर्तन खोजिएको देखाएको छ । यी सबै पक्षहरुलाई केलाएर हेर्दा यो चुनावले संसद् मात्र बनाएन, थुप्रै नयाँ सन्देशहरु पनि दिएको छ । सन्देशको मुख्य भाव प्रस्ट छ– अहिलेकै तरिकाले राज्य सञ्चालन हुन सक्दैन, अब कामको शैली परिवर्तन गर्नै पर्दछ । सबै निर्वाचित सांसदहरुले यो सन्देश बुझ्न सकून् । लोकतन्त्रको भविष्यमा यसैमा निर्भर छ ।
डोल्पा: मङ्सिर ४ गते सम्पन्न प्रतिनिधि तथा प्रदेशसभाको निर्वाचनको मतगणनाको तयारी भएको छ । यसका लागि जिल्लामा सर्वदलीय बैठक बसेर मतगणनाको तयारी थालिएको निर्वाचन अधिकृतको कार्यालयले जानकारी दिएको छ । हेलिकप्टरबाट आज बिहानसम्म माथिल्लो डोल्पा क्षेत्रका सबै मतदान केन्द्रबाट मतपेटिका सदरमुकाम आइपुगेपछि सर्वदलीय बैठक बस्न थालेको डोल्पाका मुख्य निर्वाचन अधिकृत बाबुराम सुवेदीले जानकारी दिनुभयो । जिल्ला प्रशासन कार्यालय डोल्पाका प्रमुख जिल्ला अधिकारी वेदनिधि अधिकारीले अत्यन्तै जाडो मौसम र भौगोलिकताका कारण मतपेटिका सङ्कलनमा तीन दिनको समय लागेकोले मतगणनाकार्य ढिला हुनगएको बताउनुभयो । उहाँका अनुसार ढिलोमा आज २ बजेदेखि मतगणना सुरु हुनेछ । डोल्पामा कूल २२ हजार सात सय ७४ मतदातामध्ये १७ हजार सात सय ९७ मत खसेको जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।