काठमाडौं:  हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । शनिबार दिउँसो देशभर आंशिकदेखि साधारणतया बदली रहनेछ । जल तथा मौसम विज्ञान विभागका अनुसार कोशी, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेश ल...

  कास्की । कास्की कारागारमा कैद सजाय भोगिरहेका ७ जना कैदीबन्दीले आम निर्वाचनमा मतदान गर्ने पाउने भएका छन् । आगामी मंसिर ४ गते हुने प्रतिनिधि तथा प्रदेश सभा निर्वाचनमा ४ जना पुरुष र ३  जना महिला कैदीबन्दीले मतदान गर्ने भएका हुन् ।  उनीहरुले प्रतिनिधि सभाको समानुपातिक तर्फमात्रै मतदान गर्न पाउने कास्की कारागार प्रमुख भीमराज कोइरालाले बताए । ‘कैदीबन्दीले केन्द्रको लागि समानुपातिक तर्फमात्रै मतदान गर्न पाउने छन्, उनले भने, ‘जिल्ला निर्वाचन कार्यालय कास्कीले कैदीबन्दीको आवश्यक कागजात मागेपछि पठाएका थियौ, जस्मध्ये मतदाता नामावलीमा नाम रहेका ७ जनाले मात्रै मतदान गर्न पाउने भएका छन् ।’ कोइरालाका अनुसार मतदान गर्न पाउनेहरुमा लमजुङका नवराज तामाङ, कास्कीका प्रकाश गुरुङ, गोरखाका छ्योतक घ्यान्चोक लामा, मुस्ताङका सुक बहादुर विक, कास्कीकी भिम कुमारी विक र  मनु परियार, स्याङ्जाकी सुनिता थापा रहेकी छिन् । हाल कास्की कारागारमा महिला पुरुष गरि ८ सय ४८ कैदीबन्दी छन् ।

  पर्वत । जिल्ला ट्राफिक कार्यालय पर्वतले सडक सुरक्षाका लागि पर्वतको कुश्मा बजारमा जेब्राक्रसिङ बनाउने अभियान सञ्चालन गरेको छ । साविकको सदरमुकाम कुश्मा बजारभित्र सडक स्तरोन्नति भएसँगै सडकमा यात्रुलाईसमेत सहज रुपमा वारपार गर्नसमेत समस्या भएपछि ट्राफिक कार्यालय पर्वतको सक्रियतामा जेब्रा क्रसिङ बनाइएको हो । कुश्मा नगरपालिकाको सहयोगमा कुश्मा बजारभित्रका विभिन्न ६ स्थानमा ट्राफिक प्रहरीले जेब्राक्रसिङ बनाएको छ । विशेष गरी ग्रामीण क्षेत्रबाट सदरमुकाममा विविध काम लिएर आउने सर्वसाधरण बढी समस्यामा परेको गुनासो आएपछि जेब्रा क्रसिङ बनाइएको जिल्ला ट्राफिक कार्यालय पर्वतका प्रमुख सुमन न्युरेले जानकारी दिनुभयो । ट्राफिक प्रहरीले विशेष गरी बढीजसो सेवाग्राही जाने कार्यालयको सम्मुख र विद्यालय क्षेत्रमा जेब्रा क्रसिङ निर्माण गरेको छ । योसँगै पर्वतमा पछिल्लो समय ट्राफिक प्रहरीले सक्रियता बढाएपछि दुर्घटनासमेत न्यूनीकरण भएको छ । व्यवस्थित बसपार्क नहुँदा राजमार्गमा रोकेर राखिने गरिएका सवारी साधन स्थानीय तहको सहयोग र समन्वयमा ट्राफिक कार्यालय पर्वतले नै निर्माणाधीन बसपार्कमा अस्थायी रुपमा स्तरोन्नति गरी व्यवस्थापन गरेको न्यूरेले जानकारी दिनुभयो । पर्वतमा सञ्चालित साहसिक पर्यटकीय पूर्वाधारका कारण कुश्माबजारमा आन्तरिक तथा बाह्य पर्यटकको समेत चहलपहल बढ्दै गएको छ । बढ्दो जनघनत्वसँगै सवारी दुर्घटनासमेत बढ्ने भएकाले सडक सुरक्षाका लागि जेब्राक्रसिङ अत्यावश्यक भएको प्रहरीको भनाइ छ ।

  जोरपाटी  ।  छ वर्षको बीचमा चारपटक विभिन्न राजनीतिक दल र स्वतन्त्र उम्मेद्वार चन्द्रबहादुर खड्काका घरमा मत माग्न आइसकेका छन् । गोकर्णेश्वर नगरपालिका–३ मा बस्ने खड्का जस्ता हजारौँ मानिस दैनिक हिँड्ने जोरपाटी–सुन्दरीजल सात किमी सडक भने ठेक्का भएको नौ वर्ष पूरा हुँदा पनि निर्माण सम्पन्न हुनसकेको छैन । पटक–पटक मत माग्न आउने उम्मेदवारले भने सडक, खानेपानी, ढलको समस्या समाधान गरिदिने वाचा गर्छन् । विजयी भएर जानेले वाचा बिर्संदा दैनिक हजारौँ मानिसले प्रयोग गर्ने सडक हिउँदमा धुलो र वर्षामा हिलोले यात्रा असहज हुनेगर्छ । एक दशकअघिदेखि जोरपाटी–सुन्दरीजल सडकको निर्माण सम्पन्न हुनसकेको छैन । यो सडकमा हिँड्नेलाई लाग्छ यो राजधानी सहर होइन । कुनै दुर्गम जिल्ला हो । काठमाडौँ उपत्यका सडक विस्तार आयोजनाले विसं २०७२ मा सडक निर्माणका लागि ठेक्का गरेको थियो । जोरपाटी चोकमा गोकर्णेश्वर नगरपालिकाले सानो बजार चलाएर मासिक भाडा लिने ठाउँको सडकसमेत बन्न सकेको छैन ।    गत जेठमा कालोपत्र भएको केही सडक एक महिना नबित्दै भत्किएको छ । गोकर्णेश्वर महादेव मन्दिरअघि रत्न टेलर्स चलाएर बस्नुभएका रत्नबहादुर सूचीकार सडक बनाएको केही दिनमै भत्कँदा पनि जनप्रतिनिधिले निर्माण व्यवसायीलाई फेरि बनाउन नलगाएकामा दुःखी हुनुहुन्छ । ऐतिहासिक, पुरातात्विक, सांस्कृतिक एवं धार्मिक महत्व बोकेको गोकर्णेश्वर महादेव मन्दिरअघिको सडक केही दिनमै भत्किँदा यहाँ आउने धार्मिक पर्यटकमा नकारात्मक सन्देश प्रवाह भएको उहाँले सुनाउनुभयो ।  विसं २०७२ को संविधानपछि राज्य पुनःसंरचना भई तीन तहको सरकार बनेको छ । यहाँका नागरिकले भने सरकार भएको अनुभूति गर्न नसकेको खड्काको गुनासो छ । उहाँले भन्नुभयो,“विगत १५ वर्षदेखि यही निर्वाचन क्षेत्रमा मतदान गरिरहेको छु, यहाँका जनप्रतिनिधिले जुन जोगी आएपनि कानै चिरेका भन्ने नेपाली उखानलाई चरितार्थ गरेको मेरो अनुभव छ, राजनीतिमा युवा पुस्ताले ठाउँ पाएनन् ।” काठमाडौँ निर्वाचन क्षेत्र नं ३ मा पर्ने यहाँका मूल सडकको यो अवस्था छ भने भित्री सडकमा त हिँड्ने नसक्ने अवस्था छ । यही सडकबाट पर्यटकीयस्थल सुन्दरीजल र चिसापानी पुगिन्छ । विसं २०४६ पछि व्यवस्था फेरिए पनि काठ क्षेत्र धेरै पर्ने यहाँको अवस्था फेरिन सकेको छैन । काठमाडौँ उपत्यकामा वाग्मती स्रोतबाट सबैभन्दा बढी पानी निर्यात गर्दै आएको यो क्षेत्रका स्थानीयवासी भने काकाकूल बन्दै आएका छन् । खानेपानीका सम्बन्धमा यो क्षेत्र बत्तीमुनिको अँध्यारो जस्तो भएको छ ।  सुन्दरीजलमा पानीको दह बनाएर वर्षायाममा दैनिक रु १३ करोड र सुक्खायाममा दैनिक नौ करोड पानी काठमाडौँ उपत्यकामा पठाउने यो क्षेत्रका मानिस नै धारामा पानी नआउने गरेको गुनासो गर्छन् । गोकर्णेश्वर नगरपालिका–९ आरुबारीकी रीता तामाङ चुनावमा मत माग्न आउँदा उम्मेदवारले खानेपानीको व्यवस्था गर्ने प्रतिबद्धता जनाउने गरेपनि विजयी भएपछि कार्यान्वयन नभएको बताउनुहुन्छ । सिन्धुपाल्चोकको मेलम्ची खोलाबाट २७।५ किमी सुरुङ मार्ग भएर ल्याउने पानी पनि यही क्षेत्रमा प्रशोधन हुन्छ ।  मेलम्चीको पानी पनि यो क्षेत्रका अधिकांशको धारामा वितरण नहुँदा यस क्षेत्रका मानिस पानी खोज्दै परम्परागत कुँवा, पोखरी, सार्वजनिक धारा एवं वाग्मतीलगायत नदीमा जान समय खर्च गर्न बाध्य छन् । यस्ता परम्परागत पानीका स्रोतमा पानी लिन आउनेको लाम लाग्ने गरेकाले पानीका लागि घण्टौँ कुर्नुपर्ने बाध्यता राजधानीमै पनि रहेको छ ।  निकुञ्जभित्रका चिलाउने, ओखरेनी, मूलखर्क बस्तीको समस्या  यो क्षेत्रमा शिवपुरी नागार्जुन राष्ट्रिय निकुञ्भित्र रहेको बस्तीवासीले दशकौँदेखि विभिन्न समस्या भोग्दै आएका छन् । गोकर्णेश्वर नगरपालिका–१ मा पर्ने चिलाउने, ओखरेनी, मूलखर्क बस्तीका आदिवासी जनजाति तामाङ समुदायले खेतबारीमा लगाएको उब्जनी जङ्गली जनावरका कारण भित्र्याउन पाउँदैनन् । निकुञ्जभित्रको बस्ती भएकाले पूर्वाधार लैजान अझै कठिनाइ भएको छ ।  यो बस्तीमा मत माग्न जाँदा विभिन्न राजनीतिक दल र स्वतन्त्र उम्मेदवारले बस्ती सार्ने, बस्ती सार्न नसके पूर्वाधार लैजाने वाचा गर्न थालेको दशकौँ हुँदा पनि पूरा नभएको स्थानीय मङ्गली तामाङको गुनासो छ ।    यो क्षेत्रमा काठमाडौँ महानगरपालिका–६ बौद्ध, गोकर्णेश्वर नगरपालिका र कागेश्वरी मनोहरा नगरपालिका–१, २ र ३ पर्छन् । आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि यहाँ स्वतन्त्रसहित राजनीतिक दलका उम्मेदवार मत माग्न हिँडिरहेका छन् । प्रतिनिधिसभा सदस्यका लागि विभिन्न राजनीतिक दल र स्वतन्त्र गरी २३ जनाले उम्मेदवारी दिएका छन् ।    को को छन् राजनीतिक दल र स्वतन्त्रका उम्मेदवार   प्रतिनिधिसभाका लागि नेपाली कांग्रेसबाट सन्तोष चालिसे, नेपाल कम्युनिष्ट पार्टी (एमाले) बाट कृष्णबहादुर राई, नेपाल कम्युनिष्ट पाटी (माओवादी केन्द्र) बाट बद्रीप्रसाद बजगाइँ, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) बाट गणेश गिरी, जनता समाजवादी पार्टी (जसपा) बाट मोहनकुमार विश्वकर्मा, नेपाल मजदूर किसान पार्टीबाट विशोक डङ्गोल, मौलिक जरोकिलो पार्टीबाट समिना न्यौपानेले उम्मेदवारी दर्ता गरी प्रचारप्रसारमा लाग्नुभएको छ । यसैगरी मङ्गोल नेशलन अर्गनाइजेशनबाट कृष्णकाजी श्रेष्ठ, जनमत पार्टीबाट गोविन्द नेपाल, राष्ट्रियस्वतन्त्र पार्टीबाट दुर्गाविक्रम थापा क्षत्री, हाम्रो नेपाली पार्टीबाट द्वारिका अधिकारी, सङ्घीय लोकतान्त्रिक राष्ट्रिय मञ्च (थरुहट) बाट नुर्पु गेल्जेन शेर्पा, आमूलपरिवर्तन मसिहा पार्टी नेपालबाट नेत्रबहादुर तामाङ, लोकतान्त्रिक समाजवादी पार्टी नेपालबाट मोहनबहादुर बस्नेत र सामाजिक लोकतान्त्रिक पार्टीबाट रक्षकुमार राईले उम्मेद्वारी दर्ता गरी मत माग्दै जनताको घर आँगन डुल्ने गर्नुभएको छ । यो क्षेत्रमा आठ जनाले स्वतन्त्त उम्मेदवारी दर्ता गराउनुभएको छ ।  छ महिनाअघिसम्म नेपाली कांग्रेसमा क्रियाशील पार्टीको गोकर्णेश्वर नगर समिति सभापति भएर काम गरिसक्नुभएका श्रीकृष्ण ज्योतिले स्वतन्त्र उम्मेदवारी दर्ता गर्नुभएको छ । यसैगरी कविता विष्ट सुनार, केदारनाथ मिश्र, जगन्नाथ देवकोटा, दीनेश खनाल, नीरञ्जन पुडासैनी, राजेश विष्ट र विन्दु मगरले पनि स्वतन्त्र उम्मेदवारी दर्ता गरी प्रतिनिधिसभा सदस्य पद दाबी गर्नुभएको छ ।      एमालेका राई यसअघि २०७४ सालको संसदीय निर्वाचनमा निर्वाचित हुनुभएको थियो । कांग्रेसका चालिसे भने २०७४ सालको स्थानीय तह निर्वावचनमा गोकर्णेश्वर नगरपालिकाको नगरप्रमुख पदमा निर्वाचित हुनुभएको थियो । यसपटकको निर्वाचनमा यी दुई नेताबीच प्रतिस्पर्धा हुने देखिन्छ ।       गत वैशाखमा वडाध्यक्षले पाएको मतका आधारमा यो क्षेत्रमा कांग्रेस अघि छ । अन्य क्षेत्रमा गठबन्धन भए पनि काठमाडौँ ३ मा भने सबै दल एक्लाएक्लै प्रतिस्पर्धामा रहेका छन् । यहाँ सत्ता र प्रतिपक्ष दुवैले गठबन्धन गरेका छैनन् । यो क्षेत्रमा ८९ हजार आठ सय ८९ मतदाता रहेको मुख्य निर्वाचन अधिकृत मन्दिरा शाही बताउनुहुन्छ । क्षेत्र अन्तर्गत प्रदेश क्षेत्र १ मा महानगरपालिका–६, गोकर्णेश्वर नगरपालिका–५ र ९ का २३ हजार ७५ मतदाता छन् । यो प्रदेश क्षेत्रमा नौ जना चुनावी प्रतिस्पर्धामा छन् । कागेश्वरी मनोहरा नगरपालिका–१, २ र ३, गोकर्र्णेश्वर नगरपालिकाका–१, २, ३, ४, ६, ७ र ८ भने प्रदेश क्षेत्र २ मा पर्छ । यो प्रदेशसभा क्षेत्रमा विभिन्न राजनीतिक दल र स्वतन्त्र गरी १२ जना उम्मेदवार चुनावी प्रतिस्पर्धामा छन् ।

  बलेवा । बागलुङ बजारदेखि जिल्लाको दक्षिण केन्द्र कुश्मिशेरा बजार पुग्न एक घण्टा समय लाग्छ । २१ किलोमिटर सडकमध्ये २० किलोमिटर सडक कालोपत्र भएको छ ।      पक्की सडकमा २१ किलोमिटर यात्रा गर्दा भाडा कति लाग्छ होला ? जो–कोहीलाई लाग्न सक्छ पक्की सडकको भाडा सरकारले तोकेबमोजिम नै हुन्छ, तर यो सडक खण्डमा गुड्ने सवारीले तोकिएको भाडाभन्दा दोब्बर भाडा उठाउँछन् ।      केही महिना पहिले यातायात व्यवस्था कार्यालयसँग परामर्श गरेर जैमिनी नगरपालिकाले नगरपालिकाभित्रका सडकको भाडादर कायम गरेर सूचना प्रकाश गर्यो । नगरको सूचनाअनुसार बागलुङ बजारदेखि कुश्मिशेरा बजारसम्म यात्रा गर्दा रु दुई सय १० मात्रै भाडा लाग्नुपर्ने हो । अधिकांश निजी सवारी गुड्ने यो रुटमा यात्रुले एकतर्फी चार सय भाडा तिर्दै आएका छन् । यो त एउटा उदाहरण मात्रै हो ।      सार्वजनिक सवारी एकाध मात्रै चल्ने र निजी बोलेरो जिपहरु धेरै चल्ने बागलुङका अधिकांश ग्रामीण सडकमा भाडाको समस्या एकै खालको छ । बागलुङका १० वटै स्थानीय तहका यात्रुले तोकिएको भाडा तिर्न पाएका छैनन् । घरघरमै सुविधा पु¥याउने भएकाले यात्रु भाडाको विषयमा खुलेर बोल्दैनन् । निजी सवारीलाई निरुत्साहित गर्दा सार्वजनिक सवारीको पहुँच नभएकाले अप्ठयारो पर्ने यात्रुहरु नै बताउँछन् । यात्रुले महङ्गो भाडा मात्रै तिरेका छैनन् उनीहरुको यात्रा जोखिमपूर्णसमेत छ ।      अधिकांश निजी सवारीसाधनले यात्रु बोक्ने गरेकाले दुर्घटना बीमा, उपचार सुविधा लगायतका सुविधा यात्रुले नपाउने यातायात व्यवस्था कार्यालयका प्रमुख पारसिंह थापा बताउनुहुन्छ । कार्यालयले पछिल्लो समय अनुगमन गर्ने र निजी सवारीसाधनलाई यात्रु नबोक्न आग्रह गर्ने गरेको छ । “हामीले अनुगमन गर्दा यात्रु बोकेको भेटेपछि कि त सार्वजनिक यातायात बनाउने वा यात्रु नबोक्ने गर्न अनुरोध गरेका छौँ”, थापाले भन्नुभयो, “रातो प्लेट बनाउने र भाडा लिएर यात्रु बोक्नेहरु धेरै छन् ।”      थापाका अनुसार बागलुङ जिल्लाभर चल्ने तीन सय ५० बढी पिकअप भ्यानमध्ये अधिकांश रातो प्लेट भएका छन् । “निजी सवारीले न त तोकिएको भाडा लिन्छन्, न त हामीलाई अनुगमन गर्न सम्भव हुन्छ”, थापा भन्नुहुन्छ, “व्यक्ति व्यक्ति पुगेर अनुगमन गर्न सकिँदैन्, त्यसैले सरकारले तोकिएको मापदण्डमा चल्नुस् भनेका छौँ ।” थापाले निजी प्रयोजनका लागि दर्ता गरेका सवारीले भाडाका यात्रु बोक्न निरुत्साहित गरिने बताउनुभयो ।     कार्यालयले जिल्ला प्रशासन कार्यालय, उपभोक्ता मञ्च, ट्राफिक प्रहरीसँगको सहकार्यमा अनुगमन र सचेतना थालेको छ । पहिलो चरणमा नियम विपरीत यात्रु बोकेका २७ वटा पिकअप भ्यानका कागजात कार्यालयले लिएको छ । “रातो प्लेटमा भन्दा कालो प्लेटलाई राजस्व पनि कम लाग्छ, सरकारको आँखा पनि पुग्छ, यात्रुको जीवनसँग खेलबाड गरेर किन निजी गाडीले यात्रु बोक्नु”, कार्यालय प्रमुख थापा भन्नुहुन्छ, “तत्कालै कम्पनीमा दर्ता भएर सार्वजनिक यातायातका रुपमा नआए वा रातो प्लेटमै यात्रु बोके कारबाही गर्छौं ।”     निजी सवारीले यात्रु बोक्न रोक लागउने र ट्राफिक नियमको पूर्ण पालनाबाट सवारी दुर्घटना न्यूनीकरण गराउन यहाँ कार्यरत ट्राफिक प्रहरी पनि सक्रिय रहेको छ । कच्ची सडकमा चालक अनुमतिपत्र बिनाका व्यक्ति सवारीसाधन चलाउने, तोकिएभन्दा धेरै यात्रु बोक्ने कार्यमा सवारी चालकहरु सक्रिय हुन थालेपछि ट्राफिक प्रहरीले पनि निगरानी बढाएको हो । “हामीले नियमानुसारको कारबाही गर्छौं, निजी सवारीसाधनले यात्रु बोक्न पाइँदैन र बढी भाडा उठाउन पनि पाइँदैन्”, ट्राफिक प्रहरी प्रमुख राजकुमार केसीले भन्नुभयो, “यातायात व्यवस्था कार्यालयले निजीलाई सार्वजनिक सवारीमा रुपान्तरण गर्न सहजीकरण गर्ने छ ।” कच्ची र पक्की सडकमा भाडामा रहेको मनोमानी निजी सवारीले यात्रु बोक्न छोडेपछि स्वतः समाधान हुने केसीको विश्वास छ । विधि मिचेर व्यक्तिले निजी सवारीमा भाडा कायम गर्ने भएकाले समस्या भइरहेको केसीले बताउनुभयो ।

  काठमाडौं । सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य अघिल्लो कारोबार मूल्यका तुलनामा प्रतितोला रु तीन सयले घटेर रु ९४ हजार तोकिएको छ । सुन अघिल्लो दिन प्रतितोला रु ९४ हजार तीन सयमा कारोबार भएको थियो ।  नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरणानुसार आज तेजाबी सुनको मूल्य प्रतितोला रु ९३ हजार पाँच सय छ । यसको मूल्य अघिल्लो दिन प्रतितोला रु ९३ हजार आठ सय थियो ।      त्यस्तै आज चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यका तुलनामा स्थिर रही  प्रतितोला रु एक हजार एक सय ६५ कायम रहेको महासङ्घले जनाएको छ ।

  वालिङ । आगामी मङ्सिर ४ गते हुन लागिरहेको प्रतिनिधिसभा तथा प्रदेशसभाको निर्वाचनलाई लक्ष्य गर्दै यहाँका राजनीतिक दलहरुले चुनाव केन्द्रित गतिविधिलाई तीव्रता दिएका छन् ।     जिल्लामा क्रियाशील रहेका राजनीतिक दलहरु नेपाली कांग्रेस, नेकपा (एमाले), नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी), राप्रपा, राष्ट्रिय जनमोर्चा, राष्ट्रिय स्वतन्त्र पार्टी, राष्ट्रिय जनमुक्ति पार्टी, मङ्गोल नेसनल अर्गनाइजेसन, हाम्रो नेपाली पार्टी, नेपाल कम्युनिष्ट पार्टी (माओवादी समाजवादी), नेपाल कम्युनिष्ट पार्टी माक्र्सवादी (पुष्पलाल), एकीकृत शक्ति नेपाल, मौलिक जरोकिलो पार्टी, नेपाली कांग्रेस बिपीसहितका अन्य स्वतन्त्र दल तथा व्यक्तिहरुले चुनाव चुनाव केन्द्रित गतिविधिलाई तीव्र बनाएका हुन् । दल तथा उम्मेदवारहरुले सम्पर्क कार्यालयहरु खोल्ने, पत्राचार गर्ने, घरदैलो तथा मतदाता भेटघाटका साथै टोलटोलमा पुगेर कोणसभाजस्ता चुनावी गतिविधि बढाएका हुन् ।     स्याङ्जा क्षेत्र नं २ को प्रतिनिधिसभामा कांग्रेसका केन्द्रीय उपसभापति धनराज गुरुङ र एमालेकी केन्द्रीय सचिव पद्माकुमारी अर्याल, मङ्गोल अर्गनाइजेसनका चोकबहादुर गुरुङ, नेपाल कम्युनिष्ट पार्टी माक्र्सवादी (पुष्पलाल) का डोलराज विक, राष्ट्रिय जनमुक्ति पार्टीका रिमिसरा गाहा राना, राष्ट्रिय स्वतन्त्र पार्टीका टिकराज गुरुङ, नेपाली कांग्रेस (बिपी) का गणेशप्रसाद पाण्डेय, राष्ट्रिय प्रजातन्त्र पार्टीका लालगोपाल अर्याल, एकीकृत शक्ति नेपालका नरबहादुर खड्काथोकीसहित स्वतन्त्रका सागर ढकाल, डालप्रसाद पाण्डे, चिरञ्जीवी पाण्डेय गरी १२ जना चुनावी प्रतिस्पर्धामा छन् ।     त्यस्तै प्रदेश (क) तर्फ नेपाली कांग्रेसका भोजराज अर्याल, नेकपा एमालेका मोहनप्रसाद रेग्मी, मङ्गोल नेसनल अर्गनाइजेसनका राजु गुरुङ, राष्ट्रिय जनमोर्चाका हुमबहादुर विश्वकर्मा, राष्ट्रिय प्रजातन्त्र पार्टीका सागर गैह्रे, नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) का रामचन्द्र भट्टराई र स्वतन्त्र धनबहादुर गुरुङ उम्मेदवार छन् । त्यस्तै प्रदेश (ख) तर्फ नेपाली कांग्रेसका महेश भट्टराई, नेकपा (एमाले)का बुद्धिमान श्रेष्ठ, मङ्गोल अर्गनाइजेसनका खर्कबहादुर थापा, राष्ट्रिय जनमुक्ति पार्टीका खड्कबहादुर झेंडी, राष्ट्रिय प्रजातन्त्र पार्टीका कमलप्रसाद डुम्रे, मौलिक जरोकिलो पार्टीका तोयानाथ ढकालले नतिजा आफ्नो पोल्टामा पार्ने गरी गतिविधिहरु अगाडि बढाएका छन् ।     क्षेत्र नं २ मा नेपाली कांग्रेसका केन्द्रीय उपसभापति गुरुङ र नेकपा एमाले केन्द्रीय सचिव अर्यालबीच प्रतिस्पर्धा हुने देखिन्छ  । केन्द्रीयस्तरमा आ–आफ्नो पार्टीमा प्रभाव पार्ने दुई नेताबीचको प्रतिस्पर्धालाई रोचकताका साथ हेरिएको छ । देशमा जरा गाडेर बसेकोे भ्रष्टाचार अन्त्यका लागि आफ्नो उम्मेदवारी रहेको नेता गुरुङले बताउनुभयो । भ्रष्टाचार विरुद्ध  आफ्नो उम्मेदवारी भएको उहाँको जिकिर थियो । नेता गुरुङ पहिलोपटक प्रत्यक्ष निर्वाचनमा होमिनुभएको हो । जबसम्म भ्रष्ट प्रवृत्ति  र आचरण अन्त्य गर्न सकिँदैन तबसम्म विकास निर्माण हुन नसक्ने भएकाले भ्रष्टाचार अन्त्यका लागि चुनावी मैदानमा उत्रिएको उहाँले बताउनुभयो ।     यसअगाडि अधुरा रहेका विकास निर्माण र राष्ट्रिय हितका लागि आफ्नो उम्मेदवारी रहेको एमाले नेत्री अर्यालले बताउनुभयो । स्याङ्जा क्षेत्र नं २ मा वालिङ नगरपालिका, गल्याङ नगरपालिका, चापाकोट नगरपालिका, भिरकोट नगरपालिका र कालीगण्डकी गाउँपालिका पर्छन् । वालिङका १४ मध्ये १२ वडा, गल्याङका सबै ११ वडा, चापाकोटका सबै १० वडा, भिरकोटका नौमध्ये पाँच वडा र कालीगण्डकीका सात गरी ४५ वडा यो क्षेत्रमा पर्छन् ।     गत स्थानीय तहको निर्वाचनमा वालिङ नगरपालिकाको प्रमुखमा नेकपा एमालेका कृष्ण खाँण र उपप्रमुखमा नेपाली कांग्रेसकी कविता तिवारी विजयी हुनुभएको थियो । प्रमुखमा विजयी खाँणले १३ हजार सात सय ७६ मत ल्याएर कांग्रेसका दिलीपप्रताप खाँणलाई पराजित गर्नुभएको थियो । पराजित खाँणले भने ११ हजार पाँच सय ९३ मत ल्याउनुभएको थियो । उपप्रमुखमा कांग्रेसकी गैह्रेले १२ हजार आठ सय २२ मत ल्याएर  एमालेकी खगिसरा थापालाई पराजित गर्नुभएको थियो । थापाले १२ हजार तीन सय ४० मत ल्याउनुभएको थियो ।     वालिङका १४ वडामध्ये नेपाली कांग्रेसले ६ वडा र एमालेले ८ वडामा विजय प्राप्त गरेको थियो । गल्याङ नगरपालिकाको प्रमुख र उपप्रमुखमा नेपाली कांग्रेस विजयी भएको छ । प्रमुखमा कांग्रेसका गुरुप्रसाद भट्टराईले नौ हजार ६ सय २१ मत ल्याई विजयी हुँदा एमालेका सूर्यप्रसाद गैह्रेले आठ हजार नौ सय २२ मत ल्याई पराजित हुनुभएको थियो । उपप्रमुखमा कांग्रेसकी हेमा न्यौपानेले नौ हजार एक सय १८ मतसहित विजयी हुँदा एमालेकी देवी थापाले नौ हजार ५५ मत प्राप्त गर्नुभएको थियो । एघार वडामध्ये छ वडामा नेपाली कांग्रेस, पाँच वडामा एमाले विजयी भएको थियो ।     चापाकोट नगरपालिकाको प्रमुख र उपप्रमुखमा नेपाली कांग्रेस विजयी भएको थियो । प्रमुखमा कांग्रेसका देवबहादुर खाँणले सात हजार चार सय ९० मतसहित विजयी हुँदा एमालेका राजु कोइरालाले छ हजार पाँच सय ५५ मत ल्याउनुभयो । उपप्रमुखमा कांग्रेसकी इशा रानाले सात हजार चार सय १३ मत प्राप्त गरी विजयी हुँदा एमालेकी सृृष्टि मल्लले छ हजार तीन सय ७६ मत प्राप्त गर्नुभएको थियो । कांग्रेसले पाँच वडा र एमालेले पाँच वडा जितेका थिए ।    भिरकोट नगरपालिकाको प्रमुख र उपप्रमुखमा कांग्रेस विजयी भएको थियो । वडा नं १, २, ३ र ४ स्याङ्जा क्षेत्र नं १ मा पर्छन् भने ५, ६, ७, ८ र ९ वडा क्षेत्र नं २ मा पर्छन् । भिरकोट नगरपालिकामा वडा नं ६ को अध्यक्षबाहेक अरू सबै वडाध्यक्ष तथा सदस्यहरु नेपाली कांग्रेसले जितेको थियो ।     कालीगण्डकी गाउँपालिकाको अध्यक्ष र उपाध्यक्षमा नेकपा एमाले विजयी भएको थियो । अध्यक्षमा खिमबहादुर थापा र उपाध्यक्षमा साबित्रा कोइराला विजयी हुनुभएको थियो । थापाले छ हजार सात सय  र कोइरालाले छ हजार दुई सय २३ मतसहित निर्वाचित हुनुभएको थियो । अध्यक्षमा पराजित कांग्रेसकी माया रानाले पाँच हजार ५५ र उपाध्यक्षमा पराजित जनमुक्ति पार्टीका बमबहादुर लामिछानेले चार हजार तीन सय ३० मत प्राप्त गर्नुभएको थियो । सातवटा वडामध्ये कांग्रेसले चार र एमालेले तीन वडामा जितेको थियो । क्षेत्र नं २ मा ४५ वडामध्ये नेपाली कांग्रेस २५ वडा र नेकपा एमाले २० वडामा विजयी भएको थियो ।     नेपालको कानुनमा भ्रष्टाचारसम्बन्धी छिद्रहरु रहेको हुँदा समसामयिक ऐन संशोधन गरी भ्रष्टाचार विरोधी अभियान कार्यान्वयनका लागि नेपाली कांग्रेसका उम्मेदवारलाई विजयी बनाउनु आवश्यक रहेको नेपाली कांग्रेस स्याङ्जा क्षेत्र नं २ का क्षेत्रीय सभापति दिलीपप्रताप खाँणले बताउनुभयो । नागरिकको पहुँचमा पुग्ने गरी सरकारका बजेटहरु निर्माण गर्न र जनतालाई न्याय दिलाउनाका साथै देशको समृद्धिका लागि कांग्रेसका उम्मेदवारहरुलाई जिताउनु पर्नेकमरिवारवाद, आफन्तवाद, राजनैतिक कुसंस्कार र भ्रष्टाचारका विरुद्धमा आवाज उठाउँदै आउनुभएका कांग्रेसका केन्द्रीय उपसभापति गुरुङलाई प्रतिनिधिसभामा, भोजराज अर्याल, महेश भट्टराईलाई प्रदेशसहित समानुपातिकका उम्मेदवारहरुलाई विजयी गराउने गरी

  बागलुङ । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले आफूले यसपटकको निर्वाचन १५ हजार मतान्तरले जित्ने दाबी गर्नुभएको छ । आज बागलुङको ताराखोलामा आयोजित चुनावी अभियानलाई सम्बोधन गर्दै मन्त्री पौडेलले अहिलेको लडाइ प्रतिगमनकारीविरुद्ध भएकाले सबै एकजुट हुनुपर्ने बताउनुभयो ।  प्रतिगमनकारीहरु लोकतन्त्रलाई समाप्त पार्न खोजेको आरोप लगाउँदै उहाँले उनीहरु संविधान विरोधी भएको समेत बताउनुभयो ।  बागलुङ क्षेत्र नम्बर २ बाट पाँचदलीय गठबन्धनका साझा उम्मेदवारसमेत रहनुभएका मन्त्री पौडेलले भन्नुभयो, “पाँच दल एकै ठाउँमा नआएको भए प्रतिगामीहरुले मुलुकलाई अँध्यारो सुरुङभित्र हालिसक्थे ।” पाँचदलीय गठबन्धन चुनावका लागि मात्र नभइ लोकतन्त्र र संविधान रक्षाका लागि बनेको हो उहाँको भनाइ छ । अघिल्लो कार्यकालमा सुरु गरेका योजना पूरा गर्न र यस क्षेत्रको मुहार फेर्नका लागि आफू फेरि एकपटक चुनावमा होमिनुपरेको मन्त्री पौडेलले जिकिर गर्नुभयो ।

  काठमाडौँ । प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन आउन अब १२ दिन मात्रै बाँकी छ । निर्वाचन नजिकिएसँगै उम्मेदवारहरु चुनावी एजेण्डा मतदाताका घर(घर पुर्याउन दिनरात खटिएका छन् । निर्वाचनमा मुख्य प्रतिष्पर्धा प्रायः राजनीतिक दलका उम्मेदवार बीच नै हुने हो । तर प्रजातान्त्रिक शासन व्यवस्थामा स्वतन्त्ररुपमा समेत उम्मेदवारी दिन कसैलाई पनि रोक नलगाएकाले यसपटकको निर्वाचनमा ‘स्वतन्त्र उम्मेदवार’हरुको लहर नै चलेको छ । वैशाखमा सम्पन्न स्थानीय तहको निर्वाचनमा धरानबाट हर्क साम्पाङ, राजधानी काठमाडौँमा बालेन शाह र धनगढीबाट गोपाल हमाललगायतका स्वतन्त्र उम्मेदवारहरुको आकर्षक जीत नै प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनमा स्वतन्त्र उम्मेदवारहरुको सङ्ख्या बढाउन सहयोगी बनेको हुनसक्छ । राजनीतिक दलहरुप्रतिको अविश्वास, गठबन्धनका कारण असन्तुष्ट मतदाता र कार्यकर्ता र स्थानीय तहमा मतदाताले स्वतन्त्र उम्मेदवारप्रति देखाएको लगावकै लोभमा आसन्न निर्वाचनमा स्वतन्त्र उम्मेदवारहरुको सङ्ख्या उल्लेख्य बढेको विश्लेषकहरुको भनाइ छ । काठमाडौँ उपत्यका अन्तर्गत पर्ने तीन जिल्लामा प्रतिनिधिसभाका लागि कायम १५ वटा सिटका लागि कुल तीन सय ६० उम्मेदवारमध्ये एक सय २८ जना त स्वतन्त्र उम्मेदवार नै छन् । जुन ३५ दशमलव ५५ प्रतिशत हो । त्यसैगरी तीन जिल्लामा प्रदेश सभाका ३० सिटका लागि तीन सय ४० जनाले उम्मेदवारी दिएका छन् जसमध्ये ११९ जना अर्थात् ३५ प्रतिशत स्वतन्त्र उम्मेदवार छन् ।  प्रतिनिधिसभा अन्तर्गत काठमाडौँ क्षेत्र नम्बर ७ मा राजनीतिक दलका उम्मेदवारभन्दा स्वतन्त्र उम्मेदवारी दिनेको सङ्ख्या बढी छ । यस क्षेत्रमा १६ जनाले स्वतन्त्र उम्मेदवारी दर्ता गरेका छन् भने राजनीतिक दलका उम्मेदवारको सङ्ख्या १३ मात्रै छ । त्यसैगरी प्रदेशसभातर्फ सबैभन्दा बढी ललितपुर निर्वाचन क्षेत्र नम्बर १ को प्रदेशसभा १ र २ मा १५ जनाले स्वतन्त्र उम्मेदवारी दिएका छन् । प्रतिनिधिसभा सदस्यका लागि काठमाडौँका १० निर्वाचन क्षेत्रमा २५७ जनाले उम्मेदवारी दिएकामध्ये ९७ जना स्वतन्त्र उम्मेदवार छन् । भक्तपुरका २ निर्वाचन क्षेत्रमा ४० जना उम्मेदवारमध्ये १५ जना स्वतन्त्र छन् भने ललितपुरका ३ निर्वाचन क्षेत्रमा ६३ जना उम्मेदवारमध्ये १६ जना स्वतन्त्र उम्मेदवार छन् ।  स्वतन्त्रको लहर ललितपुर निर्वाचन क्षेत्र नम्बर २ बाट प्रतिनिधिसभा सदस्य पदका स्वतन्त्र उम्मेदवार दीपेश कुमार केसी आफूहरुको लडाइ अभिव्यक्ति स्वतन्त्रताका लागि भएको बताउनुहुन्छ । निर्वाचनमा स्वतन्त्र उम्मेदवारको सङ्ख्या बढ्नुको अर्थ राजनीतिक दलहरु ‘सिन्डिकेट’को विरोध भएको उहाँको भनाइ छ ।  “राजनीतिक दलको ‘सिन्डिकेट’का कारण दलभित्रै पनि स्वतन्त्र विचारले स्थान पाउन छाडेपछि स्वतन्त्र उम्मेदवारहरु अगाडि आउनु परेको हो, परिवर्तनका नाममा धर्म र संस्कृति मास्ने काम हामीलाई स्वीकार्य छैन”, उहाँले भन्नुभयो ।  केसी समानुपातिक प्रणालीका नाममा ४० प्रतिशत स्वतन्त्र विचारलाई मास्ने काम स्वीकार्य नभएको दाबी गर्नुहुन्छ । “म स्पष्ट मिसन र भिजनका साथ राजनीतिमा आएको छु,” उहाँले भन्नुभयो, “अब मुलुकको जिम्मेवारी युवाको काँधमा आएको छ, सबैभन्दा माथि देश भन्ने विचारलाई अगाडि बढाउन मेरो उम्मेदवारी हो ।” यो निर्वाचन मात्रै नभइ वैचारिक स्वतन्त्रताको लडाइ समेत भएको उहाँको भनाइ छ । स्वतन्त्र उम्मेदवारहरुको देशैभरी फैलिएको लहर परिवर्तनको पक्षमा एउटा ठूलो धक्का भएको उहाँले बताउनुभयो । केसीको प्रतिस्पर्धा नेकपा (एकीकृत समाजवादी)का कृष्णलाल महर्जन र नेकपा (एमाले)का प्रेम बहादुर महर्जनका साथै आफू जस्तै अन्य सात जना स्वतन्त्रसँग हुनेछ । सत्ता गठबन्धनका साझा उम्मेदवार समेत रहनुभएका महर्जनले २०७४ सालमा नेकपा (एमाले)का उम्मेदवारकारुपमा २७ हजार सात सय १३ मत प्राप्त गरी विजयी हुनु भएको थियो । महर्जनसँग पराजित नेपाली काङ्ग्रेसका चन्द्र महर्जनले १६ हजार नौ सय ४५ मत प्राप्त गर्नुभएको थियो ।  त्यसैगरी काठमाडौँ क्षेत्र नं ९ बाट स्वतन्त्र उम्मेदवारी दर्ता गर्नुभएका राजेन्द्र प्रसाद पाठक संविधान प्रदत्त मौलिक हक स्वास्थ्य र शिक्षालाई पूर्णरुपमा निःशुल्क बनाउने आफ्नो एजेन्डा रहेको बताउनुहुन्छ । लामो समय कानून र पत्रकारितामा सक्रिय पाठक मौलिक हकको पूर्ण कार्यान्वयनमार्फत् जनताको आधारभूत आवश्यकता परिपूर्ति गर्ने योजनामा हुनुहुन्छ ।  “स्वास्थ्य र शिक्षाबाहेक पानी र बिजुलीसमेत निःशुल्क गर्ने मेरो एजेण्डामा छ”, उहाँले भन्नुभयो, “म निर्वाचित भए प्रत्यके महिनामा दुई पटक स्थानीय तहको समस्या बुझेर समाधानमा केन्द्रित हुनेछु ।”  पाठक सङ्घीय संरचना र धर्मनिरपेक्षता खारेज गर्ने पक्षमा आफूलाई उभ्याउनु भएको छ । लामो समयसम्म नेपाली काङ्ग्रेसको भ्रातृ संस्था नेपाल विद्यार्थी सङ्घ, नेपाल तरुण दलमा आवद्ध भइ काम गर्नुभएका पाठक पछिल्लो एक वर्षदेखि पार्टी परित्याग गरी स्वतन्त्र हुनु भएको छ ।  त्यसैगरी २०७४ को स्थानीय तहको निर्वाचनमा काठमाडौँ महानगरपालिका प्रमुखमा उम्मेदवारी दिएर चर्चा बटुल्न सफल रञ्जु न्यौपाने पनि यतिबेला स्वतन्त्र उम्मेवारका रुपमा काठमाडौँ क्षेत्र नम्बर ५ मा उम्मेदवारी दिनु भएको छ । न्यौपानले चुनावी मैदानमा नेकपा (एमाले)का वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल र नेपाली काङ्ग्रेसका युवा नेता प्रदीप पौडेलसँग प्रतिस्पर्धा गर्नुपर्ने छ । त्यसका साथै अभियन्ता हेमराज थापा पनि स्वतन्त्र उम्मेदवारका रुपमा चुनावी मैदानमा होमिनु भएको छ ।  न्यौपाने आफू निर्वाचित भए मानसिक स्वास्थ्यको क्षेत्रमा काम गर्ने बताउनुहुन्छ । “अहिले प्रत्येक घरमा मानसिक समस्या झेलिरहेका व्यक्तिहरु छन्, मानसिक स्वास्थ्यसँग सम्बन्धित नीति पनि समयसापेक्ष छैन, त्यसलाई सम्बोधन गर्ने मेरो पहिलो प्राथमिकता हुनेछ”, उहाँले भन्नुभयो ।  उसो त ‘लौरो’ चिन्हबाटै बालेन र हर्कले पाएको जीतबाट हौसिएका केही युवाहरुले ‘लौरो’ चुनाव चिन्हलाई अभियानका रुपमा अघि बढाएका छन् । लौरो अभियानलाई संगिठक स्वरुप दिँदै ‘हाम्रो नेपाली पार्टी’मार्फत् उनीहरु यतिबेला स्वतन्त्रकै शैलीमा निर्वाचनमा होमिएका छन् । काठमाडौँ क्षेत्र नं ७ बाट हाम्रो नेपाली पार्टीका तर्फबाट उम्मेदवारी दिनुभएका इञ्जिनियर आकर्षण पोख्रेल (प्रबेन्द्र पोख्रेल) आफू निर्वाचित भएमा नीतिगत कामलाई केन्द्रित दिने बताउनुहुन्छ ।  पोख्रेलले यस क्षेत्रमा आफू जस्तै १३ जना राजनीतिक दलका उम्मेदवारका अतिरिक्त १६ जना स्वतन्त्र उम्मेदवारसँग प्रतिस्पर्धा गर्नुपर्नेछ । यस क्षेत्रमा सत्ता गठबन्धनका तर्फबाट उम्मेदवार बन्नु भएकी नेकपा (माओवादी केन्द्र)की अस्मिता सिंह (मानुषि) यमि भट्टराई, नेकपा (एमाले)का श्यामकुमार घिमिरे र एमालेका बागी उम्मेदवार राम बिर मानन्धरसँग प्रतिस्पर्धा गर्नुपर्ने हुन्छ । लामो समय अमेरिकामा बसेर नेपाल फर्कनु भएका पोख्रेल निर्वाचन क्षेत्रमा जनताका धेरै ठूला माग नरहेका र ती माग सजिलै पूरा गर्न सकिने उहाँको दाबी छ । पोख्रेलले चुनावी एजेन्डामा १० वटा सङ्कल्प अगाडि सार्नु भएको छ ।  “यस क्षेत्रका जनतामा खानेपानी, सडक, खाल्डाखुल्डी, ट्राफिक, ढल, फोहोर, स्वास्थ्य उपचार र महङ्गीलगायतका कैयन समस्या छन्”, उहाँले भन्नुभयो, “यी यस्ता समस्या हुन् जुन सहजै समाधान गर्न सकिन्छ र मेरो प्रमुख प्राथमिकता पनि यसैमा हुनेछ ।” सुशासन, सरकारी अस्पतालबाट निःशुल्क स्वास्थ्य सेवा, गुणस्तरीय निःशुल्क शिक्षा, स्वच्छ खानेपानी, कृषिलाई आत्मनिर्भर बनाउन आधुनिक कृषि प्रणालीलाई अगाडि बढाउनु आजको आवश्यक भएको पोख्रेलको भनाइ छ ।  त्यसका साथै, ढल तथा फोहोर व्यवस्थापन नीति बनाइ पूर्णरुपमा कार्यान्वय गर्ने, कला, संस्कृति तथा सम्पदाको संरक्षण तथा प्रवद्र्धन गर्ने, सडक छेउछाउमा वृक्षारोपण गरेर हरियाली बनाउने, दक्षिण उत्तर पर्यटन राजमार्गको रुपमा अगाडि बढाउने र राष्ट्रिय पर्यटन नीति निर्माण गरी काम गर्ने आफ्नो प्राथमिकतामा रहेको उहाँको भनाइ छ ।  त्यसैगरी हाम्रो नेपाली पार्टीकै तर्फबाट काठमाडौं क्षेत्र नम्बर ८ बाट उम्मेदवारी दिनु भएका सुमन सायमी सडक बिस्तारको स्थानीयबासीका समस्या समाधानमा आफू केन्द्रित हुने बताउनुहुन्छ ।  गत स्थानीय तहको निर्वाचनमा काठमाडौं महानगरपालिकाको प्रमुखका रुपमा उम्मेदवार समेत रहनु भएका उहाँले तत्कालीन समयमा १३ हजार सात सय ७० मत प्राप्त गर्नुभएको थियो ।  स्थानीय तहमा प्राप्त गरेको मतले हौसिएर उहाँ यतिबेला प्रतिनिधिसभा सदस्यका लागि उम्मेदवारी दिनुभएको हो । सडक विस्तारका क्रममा विस्थापित बासिन्दालाई रोजगारीसहित पुनस्र्थापनाको मुद्दा उठाउँदै आउनु भएका सायमीले लालपुर्जा नपाएका व्यक्तिलाई लालपुर्जा दिलाउनु नै आफ्नो प्रमुख एजेन्डा रहेको बताउनुहुन्छ ।

  दाङ: दाङ क्षेत्र नं ३ बाट प्रतिनिधिसभामा वाम–लोकतान्त्रिक गठबन्धनका तर्फबाट उम्मेदवार  दीपक गिरी शनिबार दाङको विकट क्षेत्र गङ्गटे पुग्नुभयो ।  बबई गाउँपालिका–१ मा पर्ने सो स्थानमा नेकपा (एमाले) का उम्मेदवार कोमल वली गत कात्तिक १५ गते गङ्गटे पुग्नुभएको थियो ।  बबई गाउँपालिकाको केन्द्र हापुरेबाट गङ्गटेको दूरी २४ किलोमिटरमात्रै हो । तर त्यहाँ पुग्न यी दुवै उम्मेदवारलाई करिब साढे दुई घण्टा लाग्यो । किनकि त्यहाँको सडकको अवस्था निकै दयनीय छ । एकपटक उम्मेदवार जितेपछि होस् वा हारेपनि अर्कोपटक त्यहाँ पुग्ने गरेका छैनन् । चुनावका बेला पुग्ने तर अन्य समयमा चासो नदिने भएपछि त्यहाँका नागरिकले असन्तुष्टि व्यक्त गरेका छन् । “चुनावका बेला नेताहरू आउनुहुन्छ, भोट हाल्न भन्नुहुन्छ”, स्थानीय उषा मगरले भन्नुभयो, “हामी भोट हाल्छौँ, तर जितेपछि फर्केर पनि आउनु हुँदैन ।” यी दुवै उम्मेदवारले अहिले भने गङ्गटेको विकासका लागि दत्तचित्त भएर लाग्ने प्रतिबद्धता जनाएका छन् । जिते पनि, हारे पनि बीच–बीचमा गङ्गटे पुग्ने प्रतिबद्धता जनाएका छन् । गङ्गटेलाई दाङको कर्णालीका रूपमा पनि लिइन्छ । त्यहाँ पुग्न सडक सञ्जालको अवस्था नाजुक भएकै कारण आधा घण्टामा पुग्नुपर्ने त्यो सडकमा गाडीमा जाँदासमेत साढे दुई घण्टा लाग्ने गर्छ । त्यो सडकको ट्रयाक खोलेको १० वर्ष पुगेको छ । तर त्यहाँको सडक स्तरवृद्धि हुनसकेको छैन । अहिले पनि वर्षात्को समयमा आवतजावत ठप्प हुन्छ भने अन्य समयमा धुलाम्मे हुने गरेको छ । गङ्गटेमा कक्षा १० सम्म पढाइ हुने एउटा विद्यालय छ । त्यो भन्दा माथिको शिक्षा लिनका लागि कि त तुलसीपुर, कि नेपालगञ्ज जानुपर्ने अवस्था छ । “यहाँ उच्च शिक्षाका लागि एउटा क्याम्पस पनि छैन, कि त नेपालगञ्ज कि तुलसीपुर नै पुग्नुपर्ने अवस्था छ”, स्थानीय गम्बर रोकाले भन्नुभयो, “यहाँ क्याम्पस नहुँदा धेरै जना कक्षा १० पढ्ने र त्यसपछि पढाइ छाड्ने गरेका छन् ।” त्यहाँ खानेपानी समस्या पनि उस्तै छ । नजिकमा पानीका मुहान हुँदैनन् । टाढा–टाढाबाट पानी बोकेर ल्याउनुपर्छ । खानेपानीका धारा ल्याउनका लागि पटक–पटक गङ्गटेवासीले माग गरे, तर ती माग सम्बोधन हुन सकेनन् । विद्युत्को त्यस्तै समस्या छ । गएको वर्ष बबई गाउँपालिकाले त्यहाँ विद्युत् पुगेको भनी उद्घाटन गर्यो । त्यो दिनमात्रै विद्युत् बल्यो, त्यसको अर्को दिनदेखि बल्न छाडेको त्यहाँका विद्युत् अहिलेसम्म पनि बलेन । गाउँ–गाउँमा विद्युत्का पोल गाडिएकै दुई वर्ष भइसक्यो, तर ती पोलमा तारसमेत जोडिएको छैन । पटक–पटक निर्वाचनका बेला त्यहाँ नेताहरू पुग्छन् । तर जिते पनि हारे पनि अर्कोपटक नेता त्यहाँ पुग्ने गरेका छैनन् । “हामीले यो भन्दा पहिले पनि धेरै नेतालाई जितायौँ, निर्वाचनका बेला गाउँमै आउनुहुन्छ”, स्थानीय उषा मगरले भन्नुभयो, “त्यसपछि एकैपटक अर्को चुनावमा मात्रै देखिनुहुन्छ ।” त्यहाँका बासिन्दाले पटक–पटक उम्मेदवारलाई सडक, विद्युत्कै माग राख्ने गर्छन् । तर लामो समय हुुँदा पनि उनीहरूका समस्या ज्यूँका त्यूँ छन् । त्यहाँको तीनतले भन्ने स्थानमा केही समयअघि टेलिकमको टावर निर्माण भयो । त्यही टावरले काम चलेको छ । त्यो भन्दा पहिले सञ्चारका हिसाबले पनि शून्य थियो । अहिले तीनतले टावरले काम गरिरहेको भए पनि प्रभावकारी नभएको भन्दै अझै अर्को टावर आवश्यक पर्ने स्थानीय श्याम केसीले बताउनुभयो । त्यहाँ स्वास्थ्यको पनि त्यस्तै समस्या छ । एउटा स्वास्थ्यचौकी छ, त्यसमा सामान्य खालको उपचार हुन्छ । त्यसपछि ठूला–ठूला उपचार गर्न पनि तुलसीपुर तथा नेपालगञ्ज नै जानुपर्छ । सडक नभएको अवस्थामा बिरामीलाई एक दिनभर बोकेर लैजानुपर्ने अवस्था हुन्छ । त्यहाँ बबई नदीमा तटबन्ध पनि छैन भने स्थानीय खोलामा पनि पुल बन्न नसकेको अवस्था छ । यसले पनि त्यहाँका नागरिकको जीवनस्तर कष्टकर छ । गङ्गटे विकट क्षेत्रमा भएपनि सडक पुगेपछि भने रमणीय ठाउँ छ । वरपर डाँडाकाँडा र बीचमा उपत्यका छ । बबई गाउँपालिका वडा नं १ मा पर्ने त्यो ठाउँमा मकै, धान, कोदो, तोरीलगायतका खाद्यान्न राम्रो उत्पादन हुने गर्छ । बबई नदी नजिक पर्ने भएकाले माछा मारेर पनि उनीहरूले जीवन निर्वाह गर्ने गर्छन्, वनजङ्गल पनि भएकाले दाउराको समस्या छैन । त्यहाँ ठूला–ठूला साललगायतका रुख सुकेर नष्ट भइरहेका हुन्छन् । तिनलाई निकासी गर्न कानुनीलगायतका समस्या भएपछि ती त्यसै सुकेर नष्ट हुने गरेका छन् । त्यहाँ पाँच हजारभन्दा बढी जनसङ्ख्यामा बसोबास छ । तर अधिकांश सुकुम्वासी छन् । त्यहाँको ३८ बिघा क्षेत्रफलमात्रै नापी छ । अरु सबै ऐलानी जग्गा रहेको छ । त्यहाँका यस्ता धेरै समस्या समाधान गर्न राज्यको ध्यान पुग्न नसकेको बताउँदै अबको पाँच वर्षमा देखिने खालका विकास गर्ने राष्ट्रियसभा सदस्य जगप्रसाद शर्माले बताउनुभयो । “गङ्गटेको सोचेअनुरुप विकास गर्न सकिएको छैन, राज्यको ध्यान पुग्न सकेको छैन”, उहाँले भन्नुभयो, “अब हामीले पाँच वर्षभित्र यसको ब्याजको स्याज तिर्नेछौँ ।”