पोखरा: नेपाली कांग्रेस गण्डकी प्रदेश संसदीय दलको नेतामा सुरेन्द्र पाण्डे विजय भएका छन । आज भएको मतदानमा भोजबहादुर अर्याललाई पराजित गर्दै संसदीयदलको नेतामा सुरेन्द्र पाण्डे विजयी भएका छन। पाण्डेले १८ मत पाए त्यस्तै अर्यालले ८ मत पाए भने १ मत बदर भएको छ । संसदीय दलको नेतामा सुरेन्द्र पाण्डे र भोजबहादुर अर्यालले उम्मेदवारी दिएका थिए । संस्थापन पक्षबाट विन्दुकमार थापाको प्रस्तावक र टकराज गुरुङको समर्थनमा सुरेन्द्र पाण्डेले संसदीय दलको नेतामा उम्मेदवारी दिएका थिए भने, संस्थापन इतरपक्षबाट महेन्द्र ध्वज जिसीको प्रस्तावक र पार्वती तामाङको समर्थनमा संसदीय दलको नेतामा उम्मेदवारी दिए । गण्डकी प्रदेश सभामा नेपाली कांग्रेसले प्रत्यक्षतर्फ १८ र समानुपातिक तर्फ ९ गरी २७ सिट जितेको छ । २७ सदस्यले निर्वाचनमा मतदान गरेका छन
काठमाडौं: नेकपा माओवादी केन्द्रले प्रदेश १ मा सरकारको नेतृत्वमा दावी गरेको छ । बुधबार बसेको प्रदेश १ समितिको पदाधिकारी बैठकले सरकारको नेतृत्वमा दावी गर्ने र त्यसका लागि अन्य दलहरुसँग छलफल अघि बढाउने निर्णय गरेको प्रदेश समितिका अध्यक्ष हर्कबहादुर नेम्वाङले जानकारी दिए । सरकार गठन र अन्य दलसँगको सहकार्यका लागि ३ सदस्यीय वार्ता टोली गठन गरेको छ । पार्टीका सचिव राम कार्कीको संयोजकत्वमा रहेको वार्ता टोलीमा इन्द्रबहादुर आङ्बो र हर्कबहादुर नेम्वाङ सदस्य छन् ।
सुर्खेत: कर्णाली प्रदेशसभा एमाले संसदीय दलको नेतामा यामलाल कँडेल सर्वसम्मत चयन भएका छन् । कँडेल एमालेका स्थायी कमिटी सदस्य एवं प्रदेश इन्चार्ज समेत हुन् । संसदीय दलको नेतामा प्रदेश कमिटीका अध्यक्ष समेत रहेका विनोदकुमार शाहले पनि दावी गर्दै आएका थिए । अन्तिम सयममा शाह पछि हटेपछि कँडेल सर्वसम्मत रुपमा दल नेतामा चयन भएका हुन् । ४० सदस्यीय प्रदेशसभामा एमाले १० सिटसहित तेस्रो दल हो । संसदीय दलको बैठकले पहिलो चरणमै एमालेको नेतृत्वमा सरकार गठनका लागि पहल गर्न समेत आग्रह गरेको कँडेलले जानकारी दिए । कर्णाली प्रदेशको मुख्यमन्त्रीमा माओवादी केन्द्रको पनि दाबी छ । यद्यपि एमालेले पाउने सम्भावना रहेको नेताहरु बताउँछन् ।
कैलाली: कैलालीको घोडाघोडी नगरपालिकाले बुधबारदेखि सडक क्षेत्रका संरचना भत्काउन सुरु गरिएको छ । नगरपालिकाले सडक अतिक्रमण गरी बनाइएका संरचना हटाउन पटक पटक सूचना गरेपनि नहटाएपछि आफै हटाउन सुरु गरेको हो । पूर्व–पश्चिम महेन्द्र राजमार्ग अन्तर्गत वडा नम्बर २ को सुक्तिकाँडादेखि सडक क्षेत्रका संरचना भत्काउन सुरु गरिएको नगर प्रमुख खडकबहादुर रावतले बताउनुभयो । ३५ दिने पहिलो सूचना त्यसपछि १५ दिने दोस्रो सूचना जारी गर्दासमेत हटाउन अटेर गरेपछि नगरपालिकाले एकदिन अगाडि आफै डोजर लगाउने जानकारी गराउँदै बुधबारबाट डोजर प्रयोग गरी संरचना हटाउन थालिएको नगरप्रमुख रावतले जानकारी दिनुभयो । सवारी दुर्घटना न्यूनीकरण कम गर्न तथा स्वच्छ, सफा र सुन्दर नगरपालिका बनाउन सडकमा रहेका सबै प्रकारका अतिक्रमण हटाउन सुरु गरिएको उहाँको भनाइ छ । सडक क्षेत्रमा पर्ने सबै प्रकारका अतिक्रमण हटाई सहयोग गरिदिन हुन उहाँले सबैमा आग्रह गर्नुभयो । नगरपालिकाभित्र पर्ने पूर्व–पश्चिम राजमार्गको दुवै साइड २५ मिटरभित्रका संरचना हटाइनेछ । बुधबार बिहानै सुरक्षाकर्मी, नगरप्रमुख, उपप्रमुख, वडाअध्यक्षलगायतको समूह अतिक्रमण हटाउने कार्यमा खटेको छ । घोडाघोडी नगरपालिका क्षेत्र रहेको पूर्व–पश्चिम राजमार्ग अन्तर्गत वडा नम्बर २ को सुक्तिकाँडादेखि वडा १० को आमखैयासम्मको सडक अतिक्रमण संरचना हटाइने जनाइएको छ । २०७४ मा समेत यस्तै सडक अतिक्रमण संरचना हटाउन सुरु गरे पनि सफल नभएको नगरपालिका यतिखेर भने जसरी पनि हटाउने पक्षमा रहेको छ । गोरखापत्र अनलाइन
काठमाडौं: नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड निवास पुगेका छन् । प्रचण्डलाई भेट्न अध्यक्ष ओली एक्लै पुगेको प्रचण्डका स्वकीय सचिव रमेश मल्लले जानकारी दिए । अहिले उनीहरूबीच वार्ता चलिरहेको छ । ओली दुई वर्षपछि प्रचण्ड निवास पुगेका हुन् । यसअघि बिहान प्रचण्डले एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाल र जनता समाजवादी अध्यक्ष उपेन्द्र यादवसँग पनि छलफल गरेका थिए । नेपाल र यादवसँगको छलफलपछि प्रचण्डले एमाले अध्यक्ष ओलीसँग वार्ता गर्न लागेका हुन् ।
काठमाडौं: प्रदर्शनीमार्ग स्थित आरआर क्याम्पसमा खुकुरी प्रहार गरेको आरोपमा प्रहरीले ४ जनालाई पक्राउ गरेको छ । नेकपा एमालेको भातृ संगठन अनेरास्ववियुको दुई समूहबीच बुधबार झडप हुँदा खुकुरी प्रहार भएको थियो । खुकुरी प्रहारबाट ३ जना घाइते भएका छन् । क्याम्पस इकाईका अध्यक्ष लोकेश खड्का र अनेरास्ववियु नेता समिप बडाल पक्षधरको बीचमा झडप भएको क्याम्पस ईकाइमा आबद्ध विद्यार्थीहरूले बताएका छन् । खुकुरी प्रहार गरेको आरोपमा ४ जनालाई पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौंका एकजना अधिकृतले बताए । पक्राउ पर्नेमा कृष्ण गिरि, झलक तामाङ, द्रुतराज लामा र सविन निरौला छन् ।
बाजुरा: बाजुराको छेडेदह गाउँपालिका–४ लिसाना निवासी हरि रावतको घर छेउबाटै सडक निर्माण भएपछि व्यापार व्यवसाय गर्न निकै सहज भएको छ । बूढीगङ्गा नगरपालिका–४ को भुक्तोली हुँदै लिसाना र बूढीगङ्गा नगरपालिका–७ र ८ को बेतालमाण्डौ, झाली हुँदै लिसाना बस्तीको चारै तिरबाट सडक सञ्जालले जोडिएपछि यहाँका स्थानीयलाई अहिले गाउँमै व्यापार गर्न सहज भएको रावतले बताउनुभयो । छेडेदह गाउँपालिका–४ लिसाना हरि रावतले, सडककै कारण व्यापार व्यवसाय गर्न म जस्तै अन्य गाउँका सबैलाई पनि सहज भएको छ । उहाँले पहिले दैनिक उपभोग्य सामान किन्न पसिना चुहाउँदै बूढीगङ्गा नगरपालिकाको बाम्का र बेतालमाण्डौ बजारमा धाउनुपर्दथ्यो अहिले सो वस्तु गाउँमै पाइन थालेको बताउनुभयो । पछिल्लो समय स्थानीय निकायले सबै वडा सडकले जोडेपछि स्थानीयबासीको जनजीवनलाई सहज मात्र छैन् दैनिकी समेत फेरिएको रावतले बताउनुभयो । बुढीगङ्गा नगरपालिका–२ को बल्दे हुँदै गोगडी थामलेख अन्तर्गतको सो सडक सुदूरपश्चिम प्रदेश सरकारको सहयोगमा स्तरोन्नति भइरहेको छ । स्थानीय निकायको पछिल्लो समयमा भइरहेको तीर्व विकासले बाजुराका चार नगर र चाँच वटा गाउँपालिकाले पनि सबै वडामा सडक सञ्जाल पुर्याउन जोड दिएका छन् । पछिल्लो समय यहाँका सबै स्थानीयबासीले गाउँ बस्तीमै सडक पुर्याउने पहिलो प्राथमिकता भएपछि अहिले बाजुराका प्रत्येक गाउँ बस्ती सडकको पहुँच रहेका हुन् । बर्खाको समयमा गाउँपालिकाका एक दुइ वडामा गाडी पुर्याउन कठिन भए पनि हिउँदको समयमा भने गाउँपालिका सबै वडामा गाडी पुग्ने गरेको छेडेदह गाउँपालिकाका सूचना अधिकारी मीरा जोशीले बताउनुभयो । उहाँले,गाउँपालिकाकै सहयोगमा जिल्लाकै दुर्गम बस्ती काँडा जयवागीश्वरी लगायतका बस्तीमा पनि सडक पहुँच भएपछि स्थानीयलाई सामान नुन तेल चालमलगायतका दैनिक उपभोग्यका सामान ढुवानी गर्न धेरै सहज भएको बताउनुभयो । त्यसै गरी बाजुराका हिमाली, जगनाथ, स्वामिकार्तिक, खगौमुल, गाउँपालिका र बुढीनन्दा, बडिमालिका, बुढीगङ्गा र त्रिवेणी नगरपालिका लगायतका स्थानीय तहका स्थानीयबासीलाई पनि गाउँमा जोडिएको सडक सञ्जालने दैनिक उपभोग्यका सामान ढुवानी गर्न सहज बनेको छ । स्थानीयको सहजताका लागि स्थानीय सरकारले पनि वडाका सबै गाउँ बस्ती बस्तीमा सडक सञ्जाल जोड्ने लक्ष्य राख्दै आएका छन् । बाजुरा पहिरोको जोखिम जिल्लाका रुपमा चिनिँदै आएको भए पनि स्थानीय तह भने आफ्ना सबै वडाका गाउँटोलमा डोजरको प्रयोग गर्दै सडक सञ्जाल जोड्ने प्रयासमै छन् । त्रिवेणी नगरपालिका –५ का सामाजिक अगुवा दिनेश सार्कीले भन्नुहुन्छ, “स्थानीय सरकारले वडाका प्रत्येक बस्ती बस्तीमा सडक सञ्जाल जोडे सँगै स्थानीयलाई गाउँमै व्यापार व्यवसाय गर्न सहज भएको छ ।” उहाँले, बर्खाका तीन महिना बूढीगङ्गा नदिमा पानीको बहाव बढ्ने भएकोले सवारी रोकिए पनि हिउँदमा भने किम्नी बाहेक अन्य सबै ठाउँमा यातायातको राम्रो सुविधा भएपछि गाउँमै व्यापार गर्न धेरै सहज भएको बताउनुभयो । त्रिवेणी नगरपालिका नगर प्रमुख कर्णबहादुर थापाले, गतका पाँच वर्ष गाउँमा सडक जोड्ने काम भए पनि अबका दिनमा गाउँमा जोडिएका ती सडकको स्तरोन्नति गर्ने कामलाई बढी प्राथमिकता दिंदै जाने बताउनुभयो । उहाँले, त्रिवेणीका अधिकांश वडामा सडक जोडिएको केही गाउँ बस्ती अँझै सडक सञ्जालको पहुँचबाट टाढा रहेकोले ती बस्तीमा पनि यो वर्षमा सडक जोडिने प्रयास भइरहेको बताउनुभयो । सडक पुगेको गाउँ बस्तीमा कालोपत्रे र सडक नपुगेको ठाउँमा अहिले सडक जोड्ने तयारी रहेको नगरप्रमुख थापाले बताउनुभयो । गोरखापत्र अनलाइन
ओखलढुङ्गा: ओखलढुङ्गाको मोलुङ गाउँपालिकामा पाँच् वर्षीया भान्जाको हत्या आरोपमा १२ वर्षीय मामालाई प्रहरीले पक्राउ गरेको छ । मोलुङ गाउँपालिका–६ का पाँच वर्षीय साङ्गे शेर्पाको हत्या आरोपमा मामा पर्ने १२ वर्षीय बालकलाई प्रहरीले पक्राउ गरेको हो । शुक्रबारदेखि अचानक बेपत्ता भएका शेर्पा आइतबार गाउँ नजिकैको जङ्गलमा स्थानियले मृत अवस्थामा फेला पारेका थिए । मृतक बालकको शरीरका विभिन्न भागमा चोट लागेकाले घटना शंकास्पद देखिएको र मामा पर्ने बालकले उक्त घटना घटाएको हुन सक्ने परिवार र स्थानियको आशङ्कामा बालकलाई अनुसन्धानका लागि पक्राउ गरिएको प्रहरी निरिक्षक केशव अधिकारीले बताउनुभयो । प्रारम्भिक सोधपुछका क्रममा कुटपिट गर्दा बालकको ज्यान गएको पक्राउ परेका बालकले बताएको प्रहरी निरिक्षक अधिकारीको भनाइ छ । घटनाका विषयमा थप सुस्म अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय ओखलढुङ्गाले जनाएको छ ।
काठमाडौं: नयाँ सरकार गठनपछिको लगातार दोस्रो कारोबार दिन पनि सेयर बजारमा उच्च अंकको वृद्धि भएको छ । मंगलबार बजार परिसूचक नेप्से ५९.८७ अंक (३.११ प्रतिशत) ले वृद्धि हुँदा १९८३.९५ अंकमा बन्द भएको छ । सोमबार नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको नेतृत्वको सरकारमा नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेल अर्थमन्त्री बन्ने करिब निश्चित हुँदा नेप्से ३ प्रतिशत भन्दा माथिले वृद्धि भएको थियो । पौडेल अर्थमन्त्री भएसँगै मंगलबार लगातार दोस्रो दिन पनि ३ प्रतिशत माथिको वृद्धि भएको छ । नयाँ सरकार गठनपछिको दुई दिनमै नेप्से करिब ११७ अंकले बढेको छ । नेप्सेसँगै सबै उपसूचकमा हरियाली छाउँदा लगानी उपसूचक सर्वाधिक ६.४३ प्रतिशत, हाइड्रोपावर उपसूचक ४.६८ प्रतिशतले वृद्धि हुँदा वित्त कम्पनी र होटल तथा पर्यटन उपसूचक पनि ४ प्रतिशत भन्दा माथिले वृद्धि भएको छ । बजारलाई सपोर्ट गर्ने कुनै नीतिगत परिवर्तन नहुँदा पनि विष्णु पौडेले अर्थमन्त्री हुँदा सेयर बजार विगतमा पनि बढेको भन्दै समाजिक सञ्जालमा नै सेयर लगानीकर्ता सक्रिय देखिन्छन् । जसले बजार परिसूचकसँगै कारोबार रकम पनि बढेको छ । तर, बजारलाई सपोर्ट गर्नेगरी आर्थिक फन्डामेन्टमा भने कुनै परिवर्तन वा नीतिगत परिर्वतन भएको छैन । सोमबार नेप्सेमा १ करोड २० लाख २९ हजार ६०३ कित्ता सेयर किनबेच हुँदा ३ अर्ब ८८ करोड ४३ लाख ९७ हजारको कारोबार भएको छ । जुन कारोबार रकम पछिल्लो चार महिना यताकै उच्च हो । मंगलबार कारोबार भएकामध्ये लक्ष्मी बैंकको सर्वाधिक २० करोड ९४ लाख ९१ हजारको कारोबार हुँदा नेपाल दुरसञ्चार कम्पनीको १४ करोड २ लाख ८ हजार र हिमालयन डिस्टिलरीको १२ करोड १४ लाख ९७ हजारको कारोबार भएको छ । मंगलबार नेप्सेमा कुल २१२ सूचीकृत कम्पनीको सेयर कारोबार भएकोमा २०२ कम्पनीको सेयर मूल्य वृद्धि हुँदा ८ कम्पनीको सेयर मूल्यमा गिरावट भएको छ । त्यस्तै २ कम्पनीको सेयर मूल्य भने स्थिर छ । मंगलबार कारोबार भएकोमध्ये सिद्धार्थ इन्स्योरेन्स, मल्टिपपर्स फाइनान्स, अजोड इन्स्योरेन्स र सृजनशील लघुवित्तको सेयर मूल्य १० प्रतिशत तथा धौलागिरी लघुवित्तको सेयर मूल्य ९.९९ प्रतिशत, कालिका पावर कम्पनीको सेयर मूल्य ९.९८ प्रतिशतले बढेर सर्किट मूल्यमा बन्द भएको छ । आँधीखोला लघुवित्तको सेयर मूल्य सर्वाधिक २.६३ प्रतिशतले गिरावट हुँदा मिर्मिरे लघुवित्तको सेयर मूल्य २.२२ प्रतिशत र सीवाईसी नेपाल लघुवित्तको सेयर मूल्य १.८६ प्रतिशतले गिरावट भएको छ ।

