डोटी: डोटीमा नेकपा एकीकृत समाजवादीका प्रेमबहादुर आलेले अग्रता बढाउँदै लगेका छन् । ११ हजार ४८ मत गणना हुँदा आलेले ६ हजार २३१ मत पाएका छन् । उनका प्रतिस्पर्धी नेकपा एमालेकी गौरी ओलीले ३ हजार ४०९ ल्याएकी छन् । स्वतन्त्र उम्मेदवारी दिएका नरेन्द्रबहादुर खड्काले ४८८, राप्रपाका अंकबहादुर खड्काले १४३ मत पाएका छन् । यो क्षेत्रबाट २०७४ सालमा नेकपा एमालेबाट प्रेमबहादुर आलेले निर्वाचित भएका थिए ।
सप्तरी: मधेश प्रदेशसभामा जनमत पार्टीले खाता खोलेको छ । सप्तरी २ (२) मा जनमत पार्टीका महेश यादव १३ हजार ३२५ मत ल्याएर निर्वाचित भएका हुन् । उनले सत्ता गठबन्धनको समर्थन पाएका माओवादी केन्द्रका उम्मेदवार उमेश यादवलाई पराजित गर्दै विजयी भएका हुन् । उमेशले जम्मा ७ हजार २३ मत मात्र पाएका छन् ।
काठमाडौं: नेपाली कांग्रेसका महामन्त्री एवम् काठमाडौं क्षेत्र नम्बर ४ का नवनिर्वाचित प्रतिनिधि सभा सदस्य गगनकुमार थापाले अब संसदीय दलको निर्वाचनको तयारीमा लाग्ने बताएका छन् । निर्वाचन मतपरिणाम घोषणा भएगलत्तै सम्बोधन गर्दै थापाले भने,’संसदीय दलको निर्वाचनको तयारीमा आजैदेखि लाग्छु । मतदाताको मनमा के छ । मनको कुरा पनि व्यक्त गर्नुभएको छ । त्यो पूरा गर्नुपर्छ ।’ उनले अहिले जनताले स्थायित्वमात्रै नभई नेपाललाई हाक्ने नयाँ चालक पनि खोजेको बताए । ‘त्यो चालक कांग्रेसभित्रै छन् । यो बहस पार्टीभित्र पनि भइसकेको छ । कांग्रेसले नयाँ नेतृत्व दिन जरुरी छ । देशभरबाटै यो विचार व्यक्त भएको छ,’ उनले थपे ।
गोरखा: गोरखा निर्वाचन क्षेत्र नम्बर १ को मतगणना पनि सुरु भएको छ । मंगलबार बिहान दश बजे बसेको सर्वदलीय बैठक पश्चात मतगणना सुरु गरिएको हो । जिल्ला समन्वय समितिको भवनमा रहेको मुख्य निर्वाचन अधिकृतको कार्यालयमा मतगणना जारी छ । सोमबार साँझ मात्र सो क्षेत्रका सबै मतपेटिका संकलन भएको थियो । सडक सञ्जाल नजोडिएको उत्तरी गोरखाको चुमनुव्री गाउँपालिकाका मतपेटिका हेलिकप्टर मार्फत ढुवानी गरिएको हो । गोरखा१ मा कुल ५९ हजार ८९ मत खसेको छ ।
चितवनः सञ्चारकर्मी महावीर विश्वकर्माको सवारी दुर्घटनामा निधन भएको छ । पूर्वी चितवनको राप्तीबाट काठमाडौँ जाँदै गरेको माइक्रोबस ट्रकमा ठोक्किएर उहाँको आज बिहान निधन भएको हो । जिल्ला प्रहरी कार्यालय चितवनले दिएको जानकारीअनुसार बा ४ ख ४१२ नम्बरको माइक्रोबस रोकिराखेको ना२ख ८५२२ नम्बरको पराल लोड भएको ट्रकमा बिहान ५ः३० बजे ठोक्किएको हो । माइक्रोको अगाडि भाग ट्रकको पछाडि भागमा ठोक्किएर कुच्चिएपछि घाइते विश्वकर्माको नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेनाको टोलीले उद्धार गरेको जनाइएको छ । ३५ वर्षीय विश्वकर्मा सञ्चारकर्मीसँगै वैज्ञानिक समाजवादी कम्युनिष्ट पार्टीका केन्द्रीय सदस्य एवं जनवर्गीय सङ्गठन जात व्यवस्था उन्मूलन मोर्चाका संयोजक हुनुहुन्थ्यो । दुर्घटनामा परी अन्य पाँच जना घाइते भएका छन् । घाइतेको भरतपुरका विभिन्न अस्पतालमा उपचार भइरहेको छ ।
काठमाडौंः कतारमाजारी फिफा विश्वकप फुटबल प्रतियोगितामा वेल्स र अमेरिकाले बराबरी खेल्दै अङ्क बाडेका छन् । कतारको अहमद बिन अलि स्टेडियममा आज बिहान सम्पन्न वेल्स र अमेरिकाले १–१ गोलको बराबरी खेल्दै अङ्क बाडेका हुन् । निकै प्रतिस्पर्धात्मक बनेको खेलमा सुरुआती अग्रता भने अमेरिकाले लियो । खेलको ३६ औँ मिनेटमा टिमोथी वेहले गोल गर्दै अमेरिकालाई सुरुआती अग्रता दिलाएका थिए । उनले पुलिसिकको पासमागोल गरेको थिए तर, खेलको ८२ औँ मिनेटमा वेल्सका कप्तान ग्यारेथ बेलले पेनाल्टीबाट गोल गर्दै खेललाई १–१ गोलको बराबरीमा ल्याए । अमेरिकाका वाल्कर जिमर म्यानले बेललाई फउल गर्दै पेनाल्टी क्षेत्रभित्र लडाएपछि वेल्सले पेनाल्टी पाएको थियो । यस खेलसँगै समूह ‘बी’मा रहेको वेल्स र अमेरिकाले समान एक एक अङ्क बाडेका छन् ।
मुस्ताङ: हिमालपारिको जिल्ला मुस्ताङमा प्रतिनिधिसभा तथा प्रदेशसभाको तीन स्थानमै नेपाली कांग्रेसका उम्मेदवार विजयी भएका छन् । २०७४ को निर्वाचनमा प्रतिनिधिसभा तथा प्रदेशसभा सबै जितेको एमाले शून्यमा पुगेको छ । यसअघि मुस्ताङमा प्रतिनिधिसभा र प्रदेशसभा (क) मा विजयी भएको कांग्रेसले मुस्ताङको प्रदेशसभा (ख) मा पनि विजयी हासिल गरेको छ । प्रदेशसभा (ख) मा विकल शेरचन दुई हजार ७२३ मतसहित विजयी हुनुभएको छ । शेरचनका निकटतम प्रतिद्वन्द्वी एमालेका चन्द्रमोहन गौचनले दुई हजार ५६५ मत प्राप्त गर्नुभएको छ । प्रदेश– (ख) मा राप्रपा नेपालका उम्मेदवार कर्म डोल्कर गुरुङले ५८ मत प्राप्त गरी तेस्रो बन्नु भएको छ । यसअघि प्रतिनिधिसभा सदस्यका लागि नेकपा (एमाले)का ६० वर्षीय उम्मेदवार प्रेमप्रसाद तुलाचनलाई पराजित गर्दै कांग्रेसका उम्मेदवार २९ वर्षीय योगेश गौचन थकाली विजयी हुनुभएको हो । मुस्ताङको विजयीसँगै १६५ स्थानका लागि भएको निर्वाचनमा कांग्रेसले जितको खाता खोलेको हो । गौचन मुस्ताङको थासाङ गाउँपालिका–३ लेते कालोपानीका बासिन्दा हुनुहुन्छ । गौचनले तीन हजार ९९२ मत प्राप्त गर्नुभएको छ भने उहाँका प्रतिद्वन्द्वी एमालेका उम्मेदवार प्रेम तुलाचनले तीन हजार ७८ मत प्राप्त गर्नुभयो । नवनिर्वाचित योगेश नेपाली कांग्रेसका जिल्ला सभापति एवम् पूर्वमन्त्री रोमी गौचन थकालीका छोरा हुनुहुन्छ ।त्यस्तै, मुस्ताङको प्रदेशसभा (१) मा कांग्रेसका उम्मेदवार नम्डु गुरुङ विजयी हुनुभएको छ । गुरुङ नेकपा (एमाले) का इन्द्रधारा विष्टलाई २५५ मतान्तरले पराजित गर्दै विजयी बन्नुभएको हो । गुरुङले एक हजार ४८ मत पाउँदा निकटतम प्रतिस्पर्धी विष्टले ७९३ मत ल्याउनुभएको छ ।
काठमाडौं: काठमाडौं क्षेत्र नम्बर ३ मा नेकपा एमालेलाई पछि पार्दै नेपाली कांग्रेसले अग्रता लिएको छ । यसअघिसम्म अग्रता लिइरहेका एमालेका कृष्णबहादुर राईलाई पछिल्लो मत परिणाम अनुसार कांग्रेसका सन्तोष चालिसेले पछाडि पारेका छन् । चालिसेले २,५६७ मत ल्याउँदा राईले २२३५ मत पाएका छन् । उक्त क्षेत्रमा राष्ट्रिय स्वतन्त्र पार्टीका दुर्गाविक्रम थापाले ९४५ मत ल्याएका छन् । २०७४ सालमा यो क्षेत्रबाट एमालेका राई नै निर्वाचित भएका थिए ।
इलाम: इलाम क्षेत्र नम्बर १ मा नेकपा एमालेका महेश बस्नेतले अग्रता लिएका छन् । बस्नेतले १ हजार २५८ मत प्राप्त गरेका छन् । उनलाई नेकपा एकीकृत समाजवादीका झलनाथ खनालले १ हजार ४१ मत ल्याउँदै पछ्याइरहेका छन् । खनाल सत्ता गठबन्धनका उम्मेदवार हुन् । उक्त क्षेत्रमा अहिलेसम्म ४ हजार मतगणना सकिएको छ ।